मनबिरे निकै होंचो, पुड्को थियो।मान्छेहरु उसलाई बाउन्नबिरे भन्थे। स्कुल जाँदा कतै ऊ बाटामा भेटिन्छ की भनेर सबै डराउथे। ठुलो टाउको, त्यसमाथि हाँडी उतार्ने टालो जस्तै कालो मैलो र धुजा धुजा परेको टोपी, मैलोले छोपेर रङ्ग चिन्न नसकिने हाफ बाउले कमिज, र त्यै माथि घुँडा सम्म झुन्डिएको आस्कोट, प्वालै प्वाल परेको जाङ्गे, अनि खाली खुट्टा। उ गाँउभरी डुल्थ्यो। उसलाई पहिलो पल्ट देख्नेहरु रुखको ओजेल परेर उ हिडेको हेर्थे र हाँस्थे। केटाकेटीहरु चिच्च्याउदै बाआम भएको ठाँउतिर भाग्थे। बारीमा घाँस काट्दै गरेका र मेलापात गर्दै गरेकाहरु पनि पाटाको डिलमा उभिएर, दुवै हात कम्मरमाथि अड्याएर उसलाई हेर्थे। घरमा गएर केटा केटीहरु लाई तर्साउथे," भात खाइनस भने मनबिरेलाई बोलाउछु। उसैले झोलामा हालेर लैजान्छ।" त्यसपछि केटाकेटीहरु चुप लाग्थे।
एकदिन मनबिरे हाम्रो घरमा आयो। आँमाले मकैको पोस्करले बुनेको चकटी दिनुभयो बस्नलाई। ऊ पिडिमा घुँडा खुम्चाएर बस्यो। मैले ढोकाबाट चियाएर हेंरे। सप्रेको फर्सी जत्रो टाउँकोमा एकजोडी चिम्सा आँखा मतिर हेरे झैँ लाग्यो। म भित्र लुक्न गएँ। आमाले मकैको आँटो र मुई थालमा राखेर उसलाई दिनु भयो। अलिकति बुवाको लागि छुट्टै पकाएको भात बाँकी थियो क्यारे, त्यो पनि उसैलाई लगेर दिनुभयो। उसले नबोली नबोली खाइरह्यो। म चुलोमा लुकेको देखेर आँमा मसंग आएर भन्नु भयो," त्यो पनि हामीजस्तै मान्छे हो। किन डराउछस्।" यसो भन्दै हातमा समातेर बाहिर लैजानु भयो। म आमाको लुँगी समातेर उहाँसंगै उभिएर डराई डराई उसलाई हेरिरहें। आँमाले उसको परिवारको बारेमा सोध्नुभयो। पारिबारिक चिनजान थियो क्यारे। उसको स्वर केटीको जस्तै मसिनो थियो। तर राम्रो संग बोल्न, सुन्न र सोधेको प्रश्नको जवाफ फर्काउन सक्थ्यो। उसको देब्रे हात जतिबेला पनि आस्कोट्को गोजीभित्र हुन्थ्यो।
तलमाथि गाँउघरमा थुप्रै तरुनी तन्नेरीहरु थिए। अहिलेको जस्तो खडेरी थिएन उ बेला। उनीहरु दाउरा घाँस गर्नको लागि कहिले खम्तलेको भिर त कहिले तिर्तिरेको भिरतिर जान्थे। सुरिला भाकामा लोकगित गाउथे। चिलाउनेका चिल्ला पातहरु टिपेर मिठो धुनमा पिपिरी बजाउथे। तरुनी केटीहरु देखे भने गाँउका मगर केटाहरु बाटामा उभिएर चार औला मुखमा कोचेर सिठी फुक्दै इशाराले बोलाउथे। केटीहरु पनि के कम, पातलाई जिब्रोले च्यापेर जवाफ फर्काउथे। त्यो बेला आजको जस्तो मुबाइलको सुबिधा थिएन। सिठी र पेपरीबाटै धेरैको प्रेमको सुरुवाद हुन्थ्यो। घाँस दाउरा मेलापात बाटै कुन ठाँउमा भेट्ने तयारी हुन्थ्यो। यो मामिलामा भने लाउरेका छोराहरु नै दुइचार कदम अगाडी हुन्थे।
जवानीमा प्रेम साट्ने रहर कसको पो हुदैन र । मनबिरेको पनि त मन हो। उसको पनि त प्रेम गर्नको लागि ढुकुरे छातीभित्र ठुलै मुटु बसेको थियो। त्यसैले त होला ऊ चिहानडाँडाको चिलाउनेको रुखको ओछेल परेर बाटामुनी साइलीले घाँस काटेको हेरेर बस्थ्यो। भिरमा घाँस दाउरा गर्ने अरु पनि धेरै हुन्थे। तर किन उसले साइलीलाई नै मन परायो दैब जानुन।
साइलीको पनि त जवानी साउनमा फुटेको मूल झैँ थियो। छोटो ब्लाउज, घुँडासम्मको लुङ्गि र पछाडी रिबनले बानेको लामो कपाल। अचम्मै राम्री थिई।गाँउघरमा बिहे, बर्तबन्द, छैटि गर्दा बाजा बजाउने चलन थियो। त्यो त अहिले पनि छ। तर त्यतिबेला कार्यक्रम रातमा हुन्थ्यो। राम्रा राम्रा तरुनीहरुलाई चिलले चल्लो ताके झैँ तन्नेरी केटाहरु ताकेर बसेका हुन्थे। त्यस्तो मेला पर्वमा मनबिरेको के काम। आँपारुखेको दुकान बाहिर बसेर टुलुटुलु हेर्ने सिवाए। उल्टै बैशले उम्लेका केटाकेटीहरुले मनबिरेलाई नानाथरि भनेर जिस्काउथे। केटाकेटीहरुले साना साना ढुंगाहरुले हानेर आफ्ना बाबुआमा बसेको ठाँउतिर भाग्थे।
दशैको कालरात्रिको रात दुर्गाको मन्दिरमा पुजा हुन्थ्यो भने नजिकैको स्कुलमा नाटक। हामि कालरात्रिको दिन हुने नाटक र रक्तिम परिवारको संस्कृतिक कार्यक्रम कहिले छुटाउदैनथियौ। नाटकमा देबी भगवती दानबहरुसंग लढाई गरेको देखाइन्थ्यो। अमरे भन्ने गाँउकै एकजना दाइले दानबको रोल गर्थे। उनको मुखबाट आगोको ज्वाला निस्केको देख्दा हामि तीनछक पर्थे। त्यो वर्ष अमरेले मनबिरेलाई पनि राक्षसको रोलमा नाटक खेलाएका थिए। ऊ टेबुलमाथि चढेर भ्यागुतो उफ्रे झैँ उफ्रिरहेको थियो। होंचो पुड्को, ठुलो न ठुलो टाउको गरेको उसलाई मन्चमा देखेर दर्शकहरु निकै हाँसेका थिए। यसरि हाँस्नको कारण कलाकारिता नभई उसको शारीरिक बनोट तथा उसको ठुलो टाउको देखेर थियो।
नाटक सकिएपछि सबैजना घरतिर जादैथिए। मनबिरेले स्कुलको एउटा कक्षामा बाँकी रात बिताउने निर्णय गर्यो।सायद घरमा जान डरायो होला। एउटा कुनामा गएर ऊ सुत्यो। केहीबेर पछि एक जोडी युबा युवती त्यहि कोठाभित्र छिरेछन्। कोठा अध्यारो भएकोले उनीहरुले त्यहि रमाइलो गर्ने विचार गरेछन। उनीहरुको हल्लाले गर्दा मनाबिरेको निन्द्रा खुल्यो। उसले अर्को कुनामा केटाकेटी बोलेको सुन्यो। कता कता आवाज चिने जस्तो लागेछ। उसले नजिकै गएर नियालेर हेर्यो। अँध्यारोमा पनि उसले साइलिको अनुहार चिन्यो। आफुले मन पराएकी तरुनीलाई अरुले गिजोलेको देखेर उसलाई सहि नसक्नु भयो। उ बुरुक्क उफ्रियो र केटाको घाँटीमा दुइ हातले च्याप्प अठ्यायो। साइली डरले चिच्याउदै बाहिरतिर दौडी। केटो पनि बल्ल तल्ल मनबिरेको पन्जाबाट उम्किन सफल भयो र त्यहाँबाट कुलेलम ठोक्यो।
उनीहरु भागिसकेपछी मनबिरे रातभर त्यहि नै बस्यो। बिहान उज्यालोमा त्यहाँ उसले साइलिको पछ्यौरा भेटायो।
अर्कोदिन उ पछौरा बोकेर साँइलिको घर पुग्यो। उसको बा भर्खर पल्टनबाट छुट्टीमा घरमा आएका थिए। एकाबिहानै मनबिरेलाई आँगनमा देखेर उनि छक्क परे। "आज एकाबिहानै किन मुन्टीस है मुर्दार ?" उनले सोधे।
मनबिरेले जतनकासाथ् पटाएर राखेको सल उनको हातमा दियो, र सरासर त्यहाँबाट केहि नबोली घरतिर फर्कियो। पल्टने माइला छोरीको सल हातमा समातेर धेरैबेरसम्म त्यहि उभिए। साँइलिको लागि त्यो सल आफैले छुट्टीमा आउदा किनेर ल्याइदिएका थिए। धेरै बेरपछि उनि त्यो सल बोकेर साइलिको कोठामा गए। उ बिहान भालेको डाकातिर आएर सुतेकी थिई। छोरीलाई निन्द्रामा देखेर उनि केहि नभनी फर्के।
त्यो दिनभर उनको मनमा नानाथरी कुरा खेले। गाँउमा अरु केटीहरु नाजायज भुडी बोकेर कचहरीमा राखेर केटा पोल्ने गरेको कुरा आफु पल्टनमै हुँदा सुनेका थिए। यसले गर्दा गाँउको नै बद्नाम भैरहेको थियो। त्यसमाथि दुइफुटे मनबिरेले छोरीको सल घरमै ल्याएर दिंदा पल्टने माइलाको होस् हवस् उड्यो। उनको मनमा चिसो पस्यो। कतै आफ्नी छोरी त्यो जाबो बाउन्नबिरेसंग पो सल्की कि भन्ने ठुलो डर भयो। त्यहि दिन राती उसले बुढीलाई भन्यो," यहि छुट्टीमा आएको बेला साइलिको बिहे गर्दिएर जान पर्यो।अर्को छुट्टीमा आउने बेला सम्म के हो के हो।"
बुढीले पनि केहि प्रतिक्रिया देखाइनन्।चार छोरीहरुमध्ये जेठी र माहिली आफै पोइला हिडेका थिएँ। जेठी अघिल्लो बर्षको दशैँको पुर्णिमा मेलाबाटै हिडेकी थिई। माइलीको त्यो भन्दा पहिले नै जलन्धरे लाउरेसँग बिहे भएको थियो। कान्छी सानै थिई। आफै हिड्नु भन्दा एउटा राम्रो केटो खोजेर बिहे गर्दिन पाए हुन्थ्यो भन्ने उनको मनमा थियो। नभन्दै मङ्सिर महिनाको सुरुमै कुरो आयो। केटा भर्ति हुने तयारीमा रहेछ। दुइपल्ट ब्रिटिश आर्मीको छनौटबाट फालिएको केटा अबको पालो भने इन्डियन आर्मीमा भर्तिहुने पक्का पक्कि देखेका पल्टने माइलाले यो मौका उम्काउन चाहेनन्। साइलीले पनि बुवाको कुरा काटिन। त्यहि महिनामै उनीहरुको बिहे भयो।
बिहेको अघिल्लो दिन कटुवालले गाँउका सबैलाई निम्तो दिदै गर्दा मनबिरेको घरमा पनि पुग्यो। कुराकानी हुँदा मनाबिरेले सबै सुन्यो। साइलिको बिहे हुने कुरा सुनेपछि उसलाई निकै छटपटी भयो।त्यहि रात मनबिरे घरबाट निस्क्यो। ऊ कहाँ गयो परिवारलाई समेत थाहा भएन। भोलिपल्ट साइलिलाइ लिन बाजाबजाएर जन्ती आए। रातभर नाँचगान भयो। मध्यरातमा मानबिरे पनि टुप्लुक्क आइपुग्यो। उसलाई देखेर सानासाना केटाकेटीहरु तर्सेर भाग्न थाले। कतिपयले जिस्काउदै उसको मजाक उडाए। तर पनि ऊ कत्तिपनि बिचलित नभई भिडमा एकोहोरो कसैलाई खोजे झैँ यताउति भलाकी रहेको थियो। पल्टने माइलाले मनाबिरेलाई देख्नासाथ् उसको नजिकै गयो र तुरुन्त घर फर्किन भन्यो। मनबिरे घर फर्किनुको साटो घरको आगनतर्फ आगाडी बढ्यो। "तलाई गोजेक्ग्रा घर जान्छस कि लात्तै लात्ताले दिम", भन्दै पल्टने माइलाले उसलाई पछिबाट भुक्क एक लात्ती हान्यो। मनबिरे आगाडीमुख भुइमा लड्यो।उसको ओठबाट रगत बग्यो। त्यो देखेर जन्तीपट्टीको एकजना मान्छे नजिकै गयो र मनबिरेलाई भुइबाट उठायो। त्यतिकैमा अन्य मान्छेहरु पनि थपिए। मनबिरेलाई बिनासित्ती यसरि कुटेको देखेर जन्ती आएका मान्छेहरुले पल्टने माइलासंग प्रश्न गरे। यतिकैमा मनबिरेले भुइबाट हत्केला भरिको ढुङ्गा उठायो र पल्टनेलाई ताकेर हान्यो। तर ढुंङ्गाले अर्कैलाई लाग्यो। दुलाहाको कान्छोबाउको निधारबाट छर्र रगत बग्यो। माइतीका मान्छेले दुलाहपट्टिका मान्छेलाई पिटे भन्ने हल्लाले एकैछिनमा माहोल तातियो। रक्सीले मातेका थिए धेरै मान्छे एकैछिनमा कुटाकुट चल्यो। दुई पक्षको ल