Tuesday, December 7, 2021

प्रेम, द्वन्द र मिलन

"जैले सुत्ने बेलाँ 'लभ यु'  भनेर चाटेर मात्र माया हुन्छ ? माया गर्न पनि जान्न परो नि। न कहिले के छ, कस्तो छ भनेर सोधेको छ, न कहिले  घरको काममा सघाएको छ। खालि उही चाहिने बेला मात्र मुसार्ने, अरु बेला मतलब छैन। यस्तालाई के भन्छन थाहा छ ? महास्वार्थी। आफु बिरामी परेको बेला बुढा तातो पानि देउ न प्लिज भनेरमाग्नु पर्छ। न छोरा छोरी बिरामी हुदा वास्ता छ। यस्ता मान्छे त एक्लै बस्नु पर्छ", बन्दनाले  बुढाको हात आफ्नो छातीबाट हटाउदै अर्को तर्फ फर्की।

"हैन किन त्यतिकै रिसाएकी हँ। मैले मायाँ गर्न नजाने तिमिले सिकाउ न त। के भो फेरी आज ?", भन्दै आफ्नो दाइने हाँत बुढीको कोखिलोमुनि घुसाउन खोज्छ आदित्यले। 

तर बन्दनाले उसको हाँत काखिमुनिबाट निकालेर फाल्दिन्छे र दुवै हात खुम्चाएर  आफ्नो छाती लुकाउछे। उसले  धेरै बेर सम्म कोशिष जारि राख्छ। तल, माथि कतैबाट पनि माया गर्न नसके पछि अन्त्यमा हार मानेर ब्ल्याकेट तानेर अर्कोतिर फर्किन्छ।

धेरैबेर सम्म भित्तामा झुन्डिएको भित्ते घडीको एकोहोरो 'छक् छक् छक्' मात्र सुनिन्छ कोठामा। अर्को कोठामा सात बर्षको छोरा प्रनित सुतेको छ। 

"आफुले भनेको बेला पाएन भने कति छिटो उठ्छ रिस। अरुको पनि इच्क्षा, चाहना हुन्छ होला नि। आफुलाई मनलागेको बेला लुकुक्क पर्दै चाट्न आउने, मन लागेको छैन भने घन्टौ ल्यापटप र मुबाईलमा झुन्डेर बस्ने। हिजो को को संग च्याट गर्दा चाई बोलाएको पनि सुन्ने होइन।एकोहोरो फोनमा गत न पतसित अरुका कुरा काटेर बस्यो। अझ आइमाईलाई दोष लाउछन् अर्काको कुरा काट्ने जात भनेर। केटाहरु झन् केटिहरुले भन्दा तीनगुना बेसी अरुको कुरा काट्छन्", बन्दना भुन्भुनाउदै थिई।

आदित्यले कुनै रेस्पोन्स गरेन। एकछिनसम्म बन्दना एक्लै गन्गनाई। 

निन्द्रा  त कहाँ लागेको थियो आदित्यलाई, तर बुढीलाई घुर्की देखाईरहेको थियो। कहिलेकाँही एकछिन घुर्की देखाएपछि बुढी लुसुक्क पर्दै फर्किन्थी  र उसको छातीमा गएर टासिन्थी। आज पनि सायद त्यस्तै सोचेको थियो होला उसले तर सोचे जस्तो भएन।

धेरैबेरसम्म एक्लै गुनासो पोख्दै थिई बन्दना। बुढाको कुनै प्रतिक्रिया नआएकोले ऊ ओक्षानबाट जुकुक्क उठी र सरासर अर्को कोठामा गई। आदित्यले साँचेर राखेको झिनो आँस पनि मार्यो। ऊ  धेरैबेर सम्म ओल्ट्याई पल्टयाई गरिरह्यो। धेरैबेरसम्म  निन्द्रा नलागेपछि नजिकैको शिरानीमुनिबाट मुबाइल झिक्यो र किशोर कुमारको 'आनेवाला पल, जानेवाला है' गित बजायो। 

अर्को दिन बिदा थियो। उनीहरु अबेर सम्म सुते। छोरो उठेर  खेलौनाहरुसँग खेल्न थाल्यो। आदित्यले छोरालाई आफुसंग  बोलायो। ऊ पनि हातभरी खेलौनाहरू बोकेर  गयो र सिरकभित्र घुस्यो।  आदित्यले कथा सुनाउन थाल्यो "पुन्टे र बयर।" छोराले कति बुझ्यो कति बुझेन त्यो चाहि थाहाभएन तर कथा सकिउञ्जेल चुप्प लागेर सुनिरह्यो। उसले  बेला बेला इङ्ग्लिसमा उल्था पनि गर्दिन्थ्यो ।

 धेरैबेरसम्म बाउछोरा चल्दै बसिरहे। बन्दना उठेर बाथरुम छिरी। फर्केपछि छोरालाई ब्रेकफास्ट तयार गरि। बुढालाई चिया बनाई र उनीहरुलाई बोलाई। धेरैबेरसम्म  कोठाबाट निस्केन आदित्य।  सधैजसो बिहानै उठ्ने, योगा गर्ने र एकछिन भएपनि बाहिर निस्केर जम्पिङ्ग ज्याक गर्ने बुढो अबेर सम्म कोठामै बसेको देखेर बन्दनालाई कारण बुझ्न गाह्रो भएन।  चियाँ लगेर कोठामै राखिदिई। नबोलीकनै फर्केर सरसफाई गर्न लागि।


                                                                            ******


चार वर्ष अघि ठुला ठुला लगेजहरु घिसार्दै  एरपोर्टको बिजुली भर्याङ्ग चड्दा  धुलो र धुवाको  जिन्दगि, अभाबै अभावको जिन्दगि सिस्डोलमै  छोडेर आएजस्तो लागेको थियो उनीहरुलाई। उसले सोचेकी थिई, "अबको बसाई भनेको झन्झटरहित हुन्छ। थुलो, धुवा  र फोहोरोको डुंगुरले भरिएको काठमान्डौको गल्लीमा मास्क लगाएर हिड्नु पर्दैन। आबस्यकता भन्दा बढी नै अरुको बारेमा चासो राख्नेहरु संग भेट हुदैन।

नर्स थिई बन्दना  बिर अस्पतालको। साथिहरुसंग भन्थी," अस्पतालभित्र छिर्दा पनि नाकै समातेर छिर्नु पर्ने छि छि छि कति फोहोरो। म त कहिले भिसा लाग्ला र त्यो नर्कबाट निस्कुला भनिकी थिए।"दुइ चार बर्ष पहिले छिरेका उसका साथीहरु केहि नबोली उसका कुरा सुनिदिन्थे। उनीहरुले आफ्नो कथा भन्न चाहेनन् सायद उसको ओठको लालित्यलाई पुछ्न चाहेनन्। "काम त पाइन्छ नि यहाँ ?" उसले सबैलाई प्रश्न गर्थी। "सबैले काम गरेकै छन्। काम त पाइहाल्छ नि ढिलो चाँडो", उनीहरु कुरा नलम्बाईकनै भन्थे।

नर्थफेसको ज्याकेट, निलो जिन्सको पाइन्ट र काने टोपी लगाएर क्यानडाको चिसो संग जुध्न एअरपोर्टबाट निस्कदै गर्दा आदित्यका आँखा तनक्क तन्केका थिए। फनक्क घुमेर चारैतिर हेरेको थियो।  चिल्लो भुइँ , छुदै मयल लाग्ला जस्ता  भित्ता, अग्ला र सलक्क ज्यान परेका मान्छेहरु देख्दा आफुलाई ठिङ्ग बुख्याचा उभिए झैँ ठानेको थियो उसले।

पाँच पाँचवटा लगेज साथैमा राखेर फोयरको बीचोबिचमा उभिएका थिए उनीहरु। उनीहरुको पनि के दोष, अजयले नै बाहिर निस्कने गेटको भित्रपट्टि उभिनु भनेको थियो। ऊ लिनलाई त्यहि आउदै थियो। मान्छेहरु यताउति गर्ने बाटोमै उभियकोले गर्दा होला  सबैले उनीहरुको उनुहारमा हेर्थे र मुसुक्क हाँस्दै आफ्नो बाटो लाग्थे।  

धेरैबेरको कुराई पछि अजय आइपुग्यो।  उसलाई देखेपछि ढुक्क भएको थियो आदित्य।  गाडीमा बसाल्यो तीनैजनालाई र ब्रिटानिय रोड हुदै टोरोन्टो डाउनटाउनतर्फ हान्नियो ऊ। 

एक दुइ दिन अजयले नै बिहान साँझ गरेर उनीहरुको ग्रोसरी लगाएतका सामानहरु किनमेल गर्न सहयोग गरेको थियो। बस्ने अपार्टमेन्टको व्यवस्था पनि उसैले गरिदिएको थियो। स्कुलदेखिकै कुस्ती खेल्ने साथि थियो ऊ। 

अजय धेरै  ब्यस्त थियो। अरु साथीहरु पनि थिएनन् अजय बाहेक।आदित्यले आफुले चिनेका जति सबैलाई सोधीखोजी गरेर सम्पर्क गर्यो। धेरैसंगको सम्पर्क पहिलो र अन्तिम भएको थियो एकैपल्ट। 

चिनेकाहरुले  छुट्टीकोबेला बोलाएर भात खुवाएर पठाए। तर कसैले पनि उसलाई "जागिर खोज्नलाई यसो गर, उसो गर " भनेर उपाए बताएनन्। बरु सबैले भन्थे "आतिनु हुदैन जागिर पाइहालिन्छ नि ढिलो चाडो।"

 बैंकमा खाता खोल्न, सोसल इन्सुरेन्स नम्बरको लागि आबेदन भर्नकोलागि भने अजयले नै सहयोग गरेको थियो। 


पछि आदित्यले जर्ज ब्राउन कलेजबाट 'अप्लिकेसन डेभलपर'को दुइबर्षे कोर्स गर्यो र एउटा प्रतिष्ठित बैंकमा जागिर सुरु गर्यो।  बन्दनाले पनि नर्सको लाइसेन्स निकालेर सेन्ट जोसेफ हस्पिटलमा काम सुरु गरेकी थिई। 

एक बर्ष भएको थियो उनिहरूले नर्थयोर्कमा घर किनेर सरेको। 


                                                                        *******


सरसफाईको काम सबै सकाउदा समेत आदित्य कोठामै थियो। त्यो दिनभर दुबैजना बोलेनन्।

सरोज, उदय, बिनोद र जिबनको एउटा म्यारिज ग्रुप थियो। छुट्टीको दिन सितन पानिको व्यवस्था गरेर पालै पालो सबैको घरमा बस्थे उनीहरु। आज आदित्यको घरमा बस्ने प्लान थियो। घरको माहौल पहिलेनै तातेकोले अझै दाउरा थप्न चाहेन। जिबनलाई फोन गरेर उसको घरमै बस्ने योजना बनायो। नबोलीकनै खाना खायो र निस्क्यो घरबाट। 

फ्रिजमा सबै कुरा रित्तिएको थियो। ग्रोसरी गर्न जाने योजना थियो बन्दनाको। केटाकेटी लिएर एक्लै ग्रोसरी गर्न जान गाह्रो थियो उसलाई। खाने तेल, दाल, चामल सबै रित्तिएको थियो। केटाकेटीलाई खाजा खुवाउनको लागि केहि थिएन।   'केटाहरुको जात घरमा के छ के छैन केहि मतलब छैन। आठ घण्टा काम गरे भने आफ्नो जिम्मेबारी पुरा भएको ठान्छन। उनैलाई केहि भन्न हुदैन एकैचोटी पटका झैँ पट्कीन्छन' भाँडा धुदै गर्दा तिनैसंग गुनासो पोखी उसले। 

बेलुका सात बजेतिर बल्ल घर फर्कियो आदित्य। सिधै गएर सोफामा बस्यो।  नेटफिलिक्समा अमेरिकन क्राइम सिरिज नार्कोस लगायो। बन्दना खाना बनाउदै थिई। उसलाई हेर्दा पनि हेरेन। छोरा प्रनित बाबाको नजिकै गएर बस्यो। क्राइम सिरिज ड्रग्सको अबैध कारोबार गर्नेहरुको बारेमा थियो। हिंसात्मक शो थियो त्यो।  बन्दनाले छोरालाई उठाएर बेडरुममा लगी। 

'छोरालाई पनि त्यस्तै देखाउनु, आफुपनि त्यहि काम गर्न जानु नि अब।  केहि कुराको मतलब छैन', उसले  बेडरुमबाटै सुनाई। आदित्य  सुनेको नसुने झैँ गरेर बसिराख्यो। केहीबेरमा निस्केर बन्दनाले खाना पस्केर टेबलमा राखीदी र छोरालाई खुवाउन थालि। छोराले खाइसक्दा समेत उ सोफाबाट उठेन। पस्केको भात चिसो भैसकेको थियो। 

'खाना नखाने भए अघि नै भन्नु नि। मैले खानै बनाउने थिन। सधै फाल्नु पर्छ खाना' भन्दै उसले आफुलाई थोरै भात थालमा राखी र खान बसी। आदित्यले एकोहोरो टिभीमा मात्र हेरिरह्यो। बुढिको कुरामा कुनै मतलब राखेन। 

खाना टेबुलमै छोडेर बन्दनाले जुठोभाँडो गरि र आफ्नो कोठातिर लागि।  धेरैबेरमा उठेर दराजबाट ग्रेगुज झिकेर आधा गिलास जति खनायो। अलिकति पानि मिसायो। फ्रिजमा बाँसी पोलेको कुखुराको खुट्टा थियो। निकालेर ततायो र सितन बनायो। 

त्यो रात पनि उनीहरु अलग अलग नै सुते। बोल्दा पनि बोलेनन्।

बन्दनालाई रातभर निन्द्रा लागेन। एकमनले सोच्थी 'यी केटाहरुको को जात सधै आफु ठुलो हुन पर्ने। हाँ त्यसैको लागि त हो रिसाएको। रिसाएर आफ्नै टाउको दुखाउनु भन्दा मै गैदिन्छु।' एकछिन पछि सोच्थी,' यी केटाहरु संग कति ठुलो इगो हुन्छ। ऊ आएपनि त हुन्छ। के सधै मै जानु पर्छ र?  म पनि हेर्छु नि कति दिन सम्म नचाहिने रैछ।'  निन्द्रा पटक्कै लागेन। 

'बिहे गरेको एकदुई बर्षसम्म कति धेरै ख्याल राख्थ्यो। कपडा लगाउदा पनि नोट गर्थ्यो। गुलाबी रंगको कुर्ता उसलाई असाध्यै मन पर्ने।  नाक चिमोट्दै 'लुकिङ्ग गोर्जियस' भन्थ्यो। खानेकुरामा पनि कहिले दोष लगायन। तर प्रनित जन्मेपछि कति धेरै परिबर्तन। यहाँ आएपछि जस्तो कपडा लगाउदा पनि देखेको नदेखे झैँ गर्छ। म प्रति कुनै इन्ट्रेस्ट नै छैन। के सबै लोग्ने मान्छेहरु यस्तै हुन्छन ?' 

राति घद्रयाक्क गर्दै  मास्टर बेडरुमको ढोका खुल्यो। सोची  फकाउन आउदै छ। मनमनै खुसि पनि भै 'बल्ल आज आफै आउने भयो' भन्दै। सिरकले मुख घप्लक्क ढाकी र भित्तातिर फर्की। धेरैबेरमा आदित्य बाथरुमबाट निस्कियो र सरासर आफ्नै कोठामा गयो। बन्दना निरास भै। धेरैबेरसम्म सुक्क सुक्क मात्र गरिरही। 

 

सिरानीमुनिबाट मुबाइल झिकेर समय हेरी। बिहानको तिन बजिसकेछ। आँखा काचै थिए। झिमिक्क पनि गरेकी थिइन ऊ । 

"यदि उसले मलाई साच्चैकै  माया गर्छ भने, उसलाई थाहा हुदैन कि म के चाहन्छु ? अहँ! उसले मलाई हैन मेरो  शरीरलाई हो माया को नाटक गरेको। यो छालाको माया छाला प्राप्तिको लागि हो। जुनदिन मेरो कसिलो छाला खुम्चिन थाल्छ, छाती झोलिन थाल्छ त्यसै दिन देखि उसको प्रेमको बहाना पनि झोलिना थाल्छ। 

'मलाई के मन पर्छ ? म के चाहन्छु ? अँह कुनै मतलब छैन उसलाई। समय मिल्यो कि साथीहरु चाहियो। जब सुत्ने बेला हुन्छ तब उसलाई मेरो आबश्यकता पर्छ। मेरो कुनै कुराको प्रशंसा गर्नु पर्यो भने घाँटीमा गाँड झुन्डिन्छ। मैले के लगाएकी छु कस्ती देखिएकी छु अँह कुनै मतलब छैन। काम कस्तो छ ? दिन कस्तो बित्यो कुनै दिन सोधेको छैन। अरुका बुढीहरुको  कुरा गर्दा चेपा जस्तो हुन्छ थुतुनो।'सोच्दा सोच्दै उसलाई रिंगटा लागेजस्तो हुन्छ। उठेर किचनमा जान्छे र पानि पिउछे। 

फर्केर अलिकति झ्याल खोल्छे कोठाको। हिउँ ले पुरेर घर पछाडिका रुखहरु हिमसृन्खला जस्तै देखिन्छन्। बत्तिको प्रकाशमा पैयुको फुल झैँ नाच्दै झरेको देखिन्छ हिउँ। 'कति मुलायम देखिन्छ। कति कोमल छ  बिल्कुल फुल जस्तै। तर यथार्थमा कति कठोर र निर्दयी छ। किन होला सबै बस्तुहरु जस्तो देखिन्छन वास्तबमै त्यस्तो हुदैनन्', उसले मनमनै सोची।

'आदित्य देख्नमा कति सुन्दर छ। आँखा कति निर्दोष देखिन्छन्। अरुसंग बोल्दा सधै हाँसेकै हुन्छ। त्यसैले त होला बिहेको अर्को दिन बैनिहरुले मलाई जिस्काउदै भनेका थिए 'कति भाग्यमानि होस् के त त्यस्तो राम्रो खसम पाइस्।' अहिले थाहा पाउदैछु म कति भाग्यमानि रैछु भन्ने।'

'कैयौ पल्ट ऊ रिसाउदा पनि म नै पहिले बोलिदिन्छु। हाँ! टाउको दुखाएर बस्नु भन्दा सानै भएको ठिक भन्दै। भरे केहि नराम्रो भयो भने पनि समाजले सबभन्दा पहिले मलाई नै दोषी देखाउछ। आफ्नै बुवा आमाले त 'तिम्रो बानीले होला भन्दै प्रश्न तेर्साउनुहुन्छ भने पराइको के कुरा गरौ। त्यसैले स्विकारिदिन्छु नगरेको गल्ति। सायद त्यसैले पनि होला उसको आँट बढेको।'

जति जति सोच्दै जान्छे उति उति पुराना घटनाहरु उसको आँखा वरिपरि नाच्छन। 'सधै कमारी जस्तै गरेर बस्नु भन्दा एक्लै बस्छु। मार्था, जेनी, रिकी  सबै बसेकै छन् एक्लै। जो होगा देखाजाएगा। '

'हैन मार्था, जेनी र रिकी जस्तो पारिबारिक संरचना हाम्रो हैन। रिकी आफ्नो स्टेप फादर संग बस्छे। मार्थाको आमाको तेस्रो बिबाह हो रे। उनीहरुको केटासाथीहरु छन्। जेनी बिबाह नगरेको केटासंग कोठा सेयर गरेर बस्छे।' 

' तर हाम्रो पारिबारिक संरचना फरक छ। दश पन्द्र वर्षमा बिहे गरेको बुवाआमा अहिले सम्म संगै हुनुहुन्छ। मेरो अलग्गिने निर्णयले मलाई भन्दा गहिरो घाऊ बुवा आमालाई पर्ने छ। मैले त केहि दिनमा बिर्सिदिउला यो घटना।  तर बुवा आमाले कसरि सक्नुहोला बिर्सन। हैन यस्तो कुरा सोच्नु हुदैन।' पुन कोल्टे फेर्छे ऊ।

बिहे भएको अर्को साल बुढाले हिराको पथ्थरजडित  औठी गिफ्ट दिनेबेला उसको मुलायम रौ मुसार्दै निधार, आखाँ र ओठमा कसरि चुम्बन गरेको थियो। नाक समातेर 'कति राम्री हौ के तिमि ' भन्दै गर्लम्म अँगालोमा कसेको थियो। प्रेमको स्वर्गीय अनुभब गराएको थियो उसले। तर अर्को दिन म ढिलो घरमा पुग्दा उसको स्वरुप द्रोपदीलाई घिसार्दै गरेको दुशासनको भन्दा कम थिएन। किन आउछ यति ठुलो परिबर्तन यत्ति छिटै। कतै बाइपोलर त छैन ऊ ?' मनमनले सोच्छे उसले। 

अर्को दिन ऊ काममा गई। 

जेनी उसंगै काम गर्थी। 'यु लुक स्याड ब्यान्ड्यना। इज एभ्रीथिङ्ग ओके ?' उसले सोधी। 

कहिले पनि बुढाको बारेमा कुरा नगर्ने बन्दनाले जेनीसंग सबै कुरो खोलि।

'माई एक्स वाज अ बिग आस्होल' नाउ आई रेग्रेट फर दोज टु इयर्स।अल मेन आर पर्भर्ट।' उसले उसका अरु साथीहरुको बारेमा पनि सुनाई। 

रिकीले पनि भर्खरै पन्द्र बर्षको बिबाहलाई अदालतमा लगेर बुझाएकी थिई। उनीहरुको कुरा सुन्दै बन्दनाको मन डराउथ्यो। कति कुराहरुमा ऊ अझै बुढासंगै डिपेन्ड थिई। काम र किचन बाहेक अरु धेरै कुराहरु थाहा थिएन उसलाई। बैंकको काम देखि अन्य अफिसियल कामहरु सबै आदित्यले गर्थ्यो।

 'ब्रेक द रिलेसन बिफोर इट इज टू लेट' अल मेन आर फ़किङ्ग बुल' जेनीले  स्ट्रेस दिदै भनि। 


                                                                        ******


आदित्यको मनमा पनि कुराहरुको महामारी नै चलेको थियो। बन्दनासंग बिबाहपछिका  दिनहरु फिल्मको रिल घुमे झैँ फनफनी घुमिरहेको थियो। 

दिउसो जीवनले भनेको सम्झ्यो 'मु..  मैले ठोकेर भन्छु स्वास्नीको माया पैसो हुन्जेल हो। तिम्रो चेकिङ्ग एकाउन्टमा महिनामा कति आउछ मायाको मात्रा  पनि त्यहि हो। पैसा घट्यो कि माया पनि घट्यो। पैसा बढ्यो अनि थाहा हुन्छ माया भन्ने चिज।

 'एउटीले त लोटरी परेको एक सातामै दश बर्षे सुमधुर बैबाहिक सम्बन्ध तोड्न डिभोर्स फाइल गरि अरे भर्जिनियामा  ,' विनोदले भन्यो।  

'माकसम आइमाइहरु आफुलाई चै  नचाहिने झैँ गर्छन। जतिबेला पनि केहि न केहि बाहाना निस्की हाल्छ। ', उदयले थप्यो। 

'छोड यार सबै कुरा। बिजनेस गर्न पर्छ मिलेर। जागिरले पैसो कमाइन्न। पैसो नकमाऊदा सम्म न हामि खुशी न हाम्रा भोगिनिहरु खुशी। खातामा टन्न पैसो नहुन्जेल सधै किचकिच हो साथीहरु ' बिनोदले भन्यो। 

'मिस्टर ज्याकल एण्ड मिस्टर हाइड' नामक किताब उसको सिरानी मै थियो। हिजो मात्र पढेको थियो। तिनै कुरा सम्झ्यो ' साला सबै पाखण्डी छ जिन्दगि। मन नपरी नपरी पनि बाहुनको जनै झैँ सधै भिर्नु पर्ने सम्बन्ध। अरुको लागि हाँस्नु पर्ने। अरुकै लागि बाँच्नु पर्ने।अरुको भन्दा ठुलो घर चाहिने।अरुको भन्दा राम्री श्रीमती चाहिने। अरुको भन्दा राम्रो गाडी चाहिने। त्यसैको भारीले थिचेर घाइते भएको देखाउन नहुने। खोक्रो आडम्बर देखाउन हुने। थुक्क साला जिन्दगि। सयमा एकजना समाजको आँखामा सफल ठहरिन्छ। अनि सबैले त्यसैको बारेमा लेख्छन, त्यसैलाई पुजा गर्छन। त्यसैको चाकडी गर्छन। हप्तौ घरमा नबोलेका बुढाबुढी पनि अरुको अगाडी मुना मदन बनेर उभिन्छन। आखिर कहिले सम्म मन्चन गर्ने हो यो नाटक। सेक्सपियरले त्यसै भनेको हैन 'जिन्दगि एक नाटक हो' भनेर।  

'आखिर किन हाम्रो बिचमा सधै मनमुटाब हुन्छ?  के सबै बिबाहित जोडीहरुको यहि दशा हो ?'

'अँह यो हुनै सक्दैन। कैयौ साथीहरुको देखेको छु। कति प्रेम गर्छन आफ्ना श्रीमानहरुलाई। कति इज्जत त आदरभाव प्रकट गरेर बोल्छन। जहिले च्याठियर बोलेकी छे। हैन कति हेप्न सकेकी यसले। जहिले चाट्न जानु पर्ने।' 

रातभर यस्तै  कुरा खेलाएर जाग्राम बस्यो आदित्य । 

बिहानै  उठेर बाहिर निस्क्यो।गाडी स्टार्ट गरेर भिक्टोरिया स्ट्रीट हुदै उडवाइन बीच पुग्यो र गाडी रोक्यो । पश्चिम दिशाबाट बहदै गरेको चिसो हावाले लेक ओन्टारियोको सतहको पानीमा तरङ्ग ल्याइरहेको थियो।आफ्नो मनभित्र उठेका तरंगहरु र पानीमाथि उठेका तरंगहरुको बीच कुनै मेल देखेन उसले। किनारै किनारा करिब एक किलोमिटर जति हिड्यो। धेरैबेर सम्म बाटो छेउको ढुंगामा बसेर लेकको छेउछाउ चर्दै गरेका पानीहाँसहरुलाई हेर्यो। 

आफूभन्दा धेरै खुशी देख्यो पानि हाँसका जोडीहरु। 


बन्दनाले पनि छोरालाई स्कुल छोडेर काममा गई। संबन्ध सुध्रेला भन्दा झन् बिग्रेर गैरहेको थियो। बिहान घरबाट निस्के देखि उसले फोन पनि गरेको थिएन। 'कता हो ?'  भनेर टेक्स्ट गरेकी थि बन्दनाले तर कुनै रेस्पोन्स गरेन उसले। 

 "इज एभ्रीथिङ्ग ओके ?' जेनीले बन्दनालाई देख्ना साथ् सोधी। 

मार्था पनि संगै थिई । राति नसुतेको र खाना पनि नखाएकोले गर्दा बन्दनको अनुहारको रंग उडेको थियो। उनीहरुको अनुहारमा दयाको संकेत प्रष्टै देखिन्थ्यो। 

'इफ यु डिभोर्स हिम,  द गभर्मेन्ट विल गिभ यु अ गुड मोनी', मार्थाले सुनाई।

 किन किन उनीहरुको दयाभाव  उसलाई पटक्कै मन परेको थिएन। उसले रोक्न खोज्दा खोज्दै पनि आँखा भोरियो। घोप्टो परेरै बाथरुम गई। धेरै बेरसम्म रोई। ऐनामा अनुहार हेर्दा आफैलाई उदेक लागेर आयो। दुइदिनदेखि मेक अप गर्न पनि छोडेकी थिए। त्यसमाथि अनिन्द्रा र स्ट्रेसले गर्दा आँखाको तलपट्टि कालो देखिएको थियो। आँखा राता र सुनिएका थिए। छुट्टी मागेर छिट्टै घर फर्की। 

बेलुका छोरो सुतिसके पछि ऊ आदित्यको सामुन्ने गएर उभिई। ह्विस्की पिउदै थियो उसले। 

नबोल्दै उसका आँखाबाट आँशु खसे। 'म बस्दिन यो घरमा सधै नोकर्नी झैँ भएछ। सक्दिन म हजुरजस्तो निष्ठुरी बनेर बस्न। जहिले रुवाएको छ', भन्दै सुक्क सुक्क गरि। 

'नबसे गए भयो। कसले छेकेको छ बाटो। जहिले ठुस्स परेकी छ। बिनासित्ती रिसाएकी छ। घरमा आएर तेरो बिग्रेको थुतुनो हेर्न भन्दा  घरै नआउ जस्तो हुन्छ। अरु घरमा आउदा त तेरो ओठ च्यातिएर कानसम्म पुग्छ नि। मलाई देख्दा किन खुम्चिन्छ कुन्नि तेरो निधार ? 


बन्दनाले यो भन्दा धेरै सुन्न सकिन। रुदै बाथरुम भित्र छिरी। पानीको धारो खोलेर धेरैबेर सम्म मनको पिर पखाली।

 

केहीबेरमै अचानक ठुलो आवाज आयो। केहि भत्के जस्तो। ऊ  हतारिदै लिभिङ्ग रुममा आई। आदित्य कुर्चीबाट भुइमा ढलिसकेको थियो। उसका  खुट्टा तनक्क तन्कियका  थिए। टाउको भित्तातिर फर्केको थियो भने आँखाले एकोहोरो ट्वाल्ल परेर हेरेजस्तो देखिन्थ्यो। तलामाथिको दाँत बानेको थियो। मुखमा फिज निस्केको जस्तो देखि उसले। 

छाती जोडजोडले उफ्रिन लाग्यो। 'बुडो' भन्दै उठाउन खोजि। तर आदित्यको शरीर सम्पूर्ण रुपमा चेतानासुन्य भैसकेको थियो। एकछिनसम्म के गर्ने के नगर्ने सोच्नै सकिन। उसलाई भननन रिंगटा लाग्यो। टेबुलको खुट्टा समातेर बल्ल बल्ल उठी र फोन समातेर इमर्जेन्सी नम्बरमा कल गरि। 

करिब पाँच मिनेटभित्रै  एम्बुलेन्स आयो।

मेडिकल टिम आएर आदित्यको प्राथमिक चेकजाँच गर्यो।  त्यसपछि तुरुन्त मेट्रो सिटि अस्पतालमा लगे उनीहरुले। 

छोरा प्रनित सुतेको थियो। उसलाई घरमा एक्लै छोडेर जाने अवस्था रहेन बन्दनाको। रातको समय भएकोले फोन गरेर बोलाउने कोहि थिएन। छिमेकी नाम मात्रको थियो। उनिहरुसंग परिचय त थिएन अरु कुरा के गर्नु। रात भर बन्दना रुदै बासिन छोरा संग।  अर्को दिन बिहानै छोरालाई साथीको घरमा छोडेर ऊ अस्पताल पुगी। 

आदित्यको अवस्था सामान्य भैसकेको थियो। अधिक  स्ट्रेस र रक्सीको कारणले गर्दा ब्रेनमा अषर पर्न गएको कुरा डाक्टरहरुले बताए। आदित्यको अनुहार असमन्जस्याताले झुकेको थियो।  हिजो र आजको स्वरुपमा आँकास जमिनको फरक पाई उसले।

काखको दुधे बालकलाई झैँ गरेर उसको टाउको मुसारी। हेर्दा हेर्दै आदित्यको आँखा रसाए। यो भन्दा पहिले यस्तो निहत्था कहिले देखेकी थिइन आदित्यलाई। नबोलेरै प्रेमले निथ्रुक्क भिजाइदिई उसलाई। 

अस्पतालको कागजी प्रक्रिया सकेर उनीहरु घर फर्के। डाक्टरहरुले आदित्यलाई अल्कोहलको मात्रा कम गर्न भनेका थिए।  स्ट्रेस नलिन सुझाएका थिए । सकेसम्म छुट्टीमा केहि समयको लागि बाहिर घुम्न जाने सल्लाह पनि दिएका थिए। 

भोलिपल्टै आदित्यले  कम्पनिको म्यानेजरलाई इमेल गरेर एक महिनाको लागि छुट्टी मिलायो। 

साँझ बन्दनालाई आफु सुतेको कोठामा बोलायो। उसलाई आफ्नो छेउमा बस्न लगायो। छोरा प्रनित पनि संगै थियो।  उतिखेरै बाबासंगै सिरक भित्र  घुस्रियो। बन्दनाका आखाँ अझै ओझिला थिए। आदित्यले दाइने हातको बुढी औलाले आशु पुछिदियो। मुलायम औलाहरु मुसार्दै भन्यो,

 'होंठो से छु लॊ तुम

 मेरा गित अमर कर्दो 

बनजाओं मित मेरे 

मेरी प्रित अमर कर दों  '

'छि छोरो त्यहि छ के भनेकोहोला' भन्दै उसको हातबाट आफ्नो हात छुटाई बन्दनाले ।

 'तिमि पनि खालि डर मात्रै मान्छेउ। बुझ्नु सुझ्नु छैन।  त्यो मलाई मन पर्ने गजल बजाउ पो भनेको  स्पिकरमा ' उसले हाँस्दै भन्यो। 

'नबुझ्नेलाई पहिले बुझाउनु पर्यो नि ' उसले आँखा तर्दै भनि। 

' तिमीले माया गर्न सिकाउन त पहिले। त्यसपछि मैले अर्थ बुझाउला ' आदित्यले बन्दनाको मुलायम केश मुसार्दै भन्यो। 

सेतोपाटी 

घ्याम्पेले रोकेको डिभोर्स