च्यातिएको संबन्ध
प्रिय नामर्द पोई ! आज ठिक दश बर्ष पुग्यो। त्यो कालो रात अझै पनि मेरो मानसपटलमा सिनेमाको रिल घुमेझै फनफनी घुमिरहेको छ। म बिरामी थिए। त्यो दिन सन्चो नभए पनि तिम्रो सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै भगवान शिवको ब्रत बसेर तिमीलाई कुरिरहेकी थिए। तिमि मध्यरातमा घरमा आएका थियौ। याद छ कस्तो थियो तिम्रो स्वरुप।
सधै झैँ डराई डराई घरको गेट खोलेकी थिएँ। थोरै भएपनि भगवानमा बिस्वास गरेर सोचेकी थिए एक दिन त मेरो लागि भएपनि नधोकी आउलाउ भनेर। तर तिमि त साच्चिकै किचक बनेर आयौ।बिर्सेको छौ भने म सम्झाई दिन्छु। म लम्पसार परेकी थिए। आजको दिन त जबर्जस्ति नगर मरो पतिदेव। म बिरामी छु। छि: सम्झिदा नि घिन लागेर आउछ तिम्रो रुप।
रोक! एकछिन। नच्यात मेरो पत्रलाई किनकि यसले च्यातिएको संबन्ध नजोडे पनि च्यातिएको मन जोड्न सक्छ।
हुनत म प्रत्यक रात रोएर बिताउथे। याद छ कसरि प्रत्यक रात तिमि मातेर घर आउथ्यौ अनि रगत पिएको बाघ डुक्रे झैँ रात भर डुक्रिन्थ्यौ। नसाले बेहोस भै तिमीले मेरो घाँटी अठ्याउदा भागेर कैयौ रात ट्वाइलेटमा बिताएकी थिए। चुरोटको धुवा र मुतको गन्धले सास रोकिएला झैँ हुन्थ्यो। त्यति हुँदा समेत मनको कुनै कुनामा थोरै आशा साँचेर बर्षदिन नर्कको कालकोठरीमा बिताएकी थिए।
कैयौ चोटी भगवानसंग प्राथना गरे। तिमीले चिथोरेका घाउहरुमा क्रिम र पाउडरले ढाकेर आफुलाई अरुको अगाडी कहिले कम्जोर देखाइन। रातभरी मेरो चिच्याहट सुनेका डेरा गर्ने भाइहरुले बिहान अनौठो मानेर मेरो अनुहार हेर्थे। म हाँसेर पिडा लुकाउथे।
जब बिहान हुन्थ्यो। तिमीभित्रको राक्षस कहाँ भाग्थ्यो म अचम्म मान्थे। तिमि केहि नभएझै बाख्राको पाठो झैँ निर्दोष देखिन्थ्यौ। म अचम्म पर्थे कसरि भगवानले राक्षस र मान्छे जोडेर तिमीलाई सृजना गर्यो होला भनेर। सोच्थे के सबै पुरुषहरुको दुई रुप हुन्छ ?
याद छ कसरि बिहेको तस्बिर टुक्रा टुक्रा पारेर हिडेकी थिए त्यो दिन। त्यस्तै टुक्रा टुक्रा पार्न मन थियो तिमिलाई। किन किन मनले मानेन। आफै टुक्रिएर हिडे।
त्यो रात धेरै परसम्म जाँदा समेत मनमा लागेको थियो राक्षसै भएपनि तिमि मलाई रोक्न आउनेछौ।थप्पड हानेरै भएपनि घर फर्काउने छौ। तर गल्लिका एकथान कुकुरहरुले भुक्दै भुक्दै भएपनि मेरो पछि पछि चोभारसम्म आइपुगे। तर तिमि आएनौ।
त्यसपछि कतै खोज्यौ मलाई ? म कहाँ गए ? मोरे, बाँचे
सुन्न चाहन्छौ ?
एकैछिन प्लिज नच्यात यो निरिह कागतलाई। बोल्न देउ आज।
चोभारको गल्छीमा त्यो रात जीवनलाई बिस्राम दिने निधो गरि सकेकी थिए। तर मलाई म संगै आएका कुकुरहरुको मायाँले रोक्यो।
मेरो जाने ठाउँ कहिँ थिएन। कसैले पालेकी टुहुरी थिए। तिम्रो जिम्मा लगाए पछि उनीहरुले कहिले बोलाएनन्। म पनि कहिले गईन। मेरा बा आमा कहाँ छन् मैले कहिले खोज्दा पनि खोजिन।
रातभर बागमतीको सेतो फिज निस्केको पानि हेरर बित्यो। कतिपल्ट गल्छीबाट हामफाल्ने कोशिस पनि गरे। तर किन किन मलाई मेरो पछि पछि गएका कुकुरहरुले रोके। बास्तबमा मेरा भगवान भनेकै तिनै कुकुरहरु रहेछन।
म रातभर चोभारको बाटो हेरिरहन्थे। कतै तिमि हातमा बोतल बोकेरै भएपनि, मलाइ फर्काउन आउछौ भनेर। रातले बिस्तारै आफ्नो पर्दा उघार्दै गयो। घाँममा किरनहरुले बिस्तारै शितका थोपाहरु पागल्दै जान थाल्यो। सोचे प्रकृतिको नियम हो रात पछि दिन कसो नआउला र?
बागमतीको किनारमा ढुंगाको आडेस लगाएर बिहानभर झोक्राइ बसे। कतै पुलिसहरु मलाइ खोज्न आउछन कि भनेर डाँडाको पखेरातिर हेरे।
बिहान जलविनायक मन्दिरको घन्टीहरु बज्न थाले। जति जति घन्टीहरु बज्दै जान्थ्यो उतिउति मेरो मनमा पिडा भरिएर आउथ्यो। बागमतीको जलबाट उत्पति भएका विनायकलाई मैले पनि कैयौ पल्ट फुल प्रशाद चढाएकि थिए। सबैले भन्थे "तेरो मनकामना पुरा हुन्छ। " के यहि थियो मेरो मनोकामना ?
दिन ढल्किदै गयो। मान्छेहरु पुलतरेर वारी पारि गर्न थाले। शहरका जोडीहरु मुन्टो ढल्काइ ढल्काइ तस्बिर खिच्न थाले। तर कसैलेपनि म संग आएर बोल्ने आँट गरेनन् । बरु मलाइ देख्ना साथ् सबैले अन्तै हेर्न थाल्थे। सायद मेरो अस्त ब्यस्त कपाल, राता ताता आँखा र मानसिक तनावले थालिएको अनुहारले उनीहरुमा भय पैदा गर्थ्यो होला। उनिहरु मलाई पागल भन्ठाने होलान। सायद म पागल भैसकेकी थिएँ होला।
उज्यालो भएपछी कुकुरहरु पनि मन्दिर तिर उकालो लागेछन्। म पनि हिड्दै हिड्दै टौदह सम्म पुगे। धेरैबेरसम्म पोखरीको छेउमा बसेर टोलाइरहें। त्यहाँ पनि केहि थान भुस्याह कुकुरहरु मेरो छेउमा आएर लढीबुढी गर्न थाले। सायद यो धर्तीमा मान्छेको पिडा मान्छे भन्दा कुकुरले धेरै बुझ्छ जस्तो लाग्यो।
तिमि सायद मेरा कुराहरुले बोर भैसक्यौ होला। हुन त् तिमीसंग श्रीमतीका कुरा सुन्ने धैर्यता कहाँ हुन्छ र ? त्यो पनि भुतपुर्ब। जीवनबाट टुक्रियर उछेट्टीएको।
आज घरमा तिमि एक्लै भित्र बाहिर गरेको देखे। निधार खुम्चेको, गाला लत्रेको र अलि कुप्रो देखे। अर्की बिहे गरेनौ कि त्यसले पनि छोडेर हिंडी ?
त्यो दिन म हिड्दै हिड्दै दक्षिणकाली मन्दिर सम्म पुगेछु। मन्दिरहरुमा किन किन मलाइ जाने मन लागेन। फर्पिंगको एउटा पाटीमा रात बिताए। अर्कोदिन टाटासुमो चढेर हेटौडा बजार झरे। बाहिरि तापक्रम तातो भएपनि मनमा अलि शितल भयो।
अब त मैले तिमि आउछौ खोज्नलाई भन्ने आशा मारिसकेकी थिए। अरु त को नै थियो र मेरो दुनियाँमा। सायद तिम्रो र मेरो संबन्ध राम्रो भैदिएको भए मेरा पनि केहि साथीहरु हुन्थे होला। भएका साथीहरुले पनि बिर्सिसकेका थिए। म जहाँ जहाँ पुग्थें त्यहाँ त्यहाँ केहि कुकुरहरु मेरो छेउछाउ आउथे। सायद उनीहरुले मेरो पिडा बुझ्थे होला।
अब मलाइ बाच्नको लागि भएपनि केहि काम गर्नु पर्ने थियो। बसपार्कका होटेलहरुमा काम को लाइ निबेदन गरे। मेरो अस्तव्यस्त अवस्था देखेर कसैले पनि काममा राख्ने आँट गरेन। तर मेरो कसिलो शरीर देखेर र्याल चुहाउनेहरुको कमि थिएन। ' नारायणीमा हेलियर मर्छु तर शरीर बेच्दिन' भनि अठोट गरे। कैयौ दिन यतिकै भौतारीरहे। होटेलमा काम नपाउने होइन। तर मलाइ त्यहाँ काम गर्ने मनै थिएन। मान्छेहरु पहिला भाडा माझ्ने काम भन्थे। बस्ने ठाउँ छैन भन्ने बितिकै उनीहरुको दाउ अर्कै हुन्थ्यो। अन्तै कोठा खोजेर बस्ने पैसा म संग थिएन। त्यहाँ आउने हरेक मान्छेहरुको दृश्य मेरो निरिय छालामा पर्थ्यो।
मैले बाचा तोडे। जबरजस्ती बलात्कृत हुनु भन्दा मेरो शरीरलाई लगानी गरेर केहि पैसो जम्मा गर्ने निधो गरे। सुन्दा लग्दो हो कति घृणित काम। हरेक दिन, हरेक रात तिमीजस्तो बिहेको लाइसेन्स लिएर बलात्कार गर्नेहरु हाम्रो समाजमा गल्लि गल्लिमा छन्। आफ्नो इक्षा र चाहना बिपरित जिउदो लाश बनेर शरीर सुम्पनेहरु आवाज बिहिन छन्।
तर जुन दिन मैले मेरो ब्यापारको को सटर खोले, त्यसै दिन देखि अनेक खाले मान्छेहरु मेरो पशलमा आउन थाले। उनीहरु तिमीले जस्तो बलात्कार गर्दैनथे। डराई डराई नजिक आउथे। आफ्ना कुराहरु सुनाउथे। कति सत्य कति असत्य त्यो उनीहरुलाई नै थाहा होला। तर तिमीले जस्तो मुख थुनेर जबर्जस्ति गर्दैनथे। त्यो भन्दा मुख्य कुरा उनीहरुले मलाई छोए बापत पैसा दिन्थे। आखिर यो पुजीबादी समाजमा पैसा भन्दा अर्को कुनै कुरा ठुलो हुदो रैनछ।
आज एकचोटी तिम्रो अनुहार हेर्न मन लाग्यो र यता छिरेकी थिएँ। तिमि भित्र छिर्दै गर्दा मेरो मतिर फर्केर त हेरका थियौ। तिमीले हेर्ना साथ् मेरो शरीरमा सिउडिका झैँ काँडा उम्रेका थिए। तर तिमि डराउन पर्दैन।
तिमीलाई मैले गेटबाट भित्र जादै गरेको देखे। छि कति कुरुप र कमजोर भएछौ तिमि। टाउकाको रौ पाकेर घुम्रीसकेछ। अलिकति कुप्रो पनि भएछौ। तिमीलाई देखेर दयाँ लाग्यो।
तिमीलाई देख्ने बितिकै म गाडी बाट बाहिर निस्के। तर तिमीले म यसरि गाडीमा चढेर तिमि सामु आउछे भनेर कल्पना समेत गरेका थिएनौ। कल्पना नै नगरेको हाम्रो आँखाले देख्दा नि देख्दैन।
मैले केहिदिन होटेलमा काम गरेर केहि पैसा जम्मा भएपछी तरकारी पशल गर्ने विचार गरे। बसपार्क नजिकै तरकारी बजार थियो। त्यहाँ कैयौ महिलाहरु तरकारी बेचेर परिबार पालेको थाहा पाँए। म काम बाट फुर्सद पाउनासाथ त्यहाँ जान्थे र काखमा दुदे बालक राखेर ग्राहकहरु संग नरिसाई व्यापार गर्दै गरेका महिलाहरु देखेर, म मा पनि भित्रै देखि आँट आयो।
उनीहरुले मलाई बाटो देखाइदिए। मैले जम्मा गरेको पैसा लियर म तरकारी पशल शुरु गरे। खाली पशल राख्नको लागि खालि ठाँउ थिएन। एकजना दिदीले आलु बेच्नु हुन्थ्यो। उहाले आफ्नो छेउमा मलाइ पशल राख्न दिनुभयो। मेरा देउरानी र जेठानीहरु भन्दा उनीहरु सयौ गुणा दयालु र सहयोगी पाएँ। नजिकै कोठा भाडामा लिएर बस्न थाले।