Tuesday, June 23, 2020

नियुरो र नेपालि

                             
बडीगाड खोलाको असला माछा र तिरतिरे खोलाको नियुरो सम्झदा आज पनि मुख रसाउछ। सायद धेरै नेपालीहरुको यस्तै यस्तै खोला, असला र नियुरोको अनुभब होला अहिले जहाँ बसेपनि। त्यसैले त होला  बसन्त ऋतुको शुरुवाद संगै रसिया, जर्मन, अमेरिका, क्यानाडा लगाएतका मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुले भेडाबाख्रा झैँ जंगलमा छिरेर नियुरो टिप्दै गरेको फोटो छाती खोलेर फेसबुकमा पोस्ट गरे। टिकटकमा भिडियो अप्लोड गरे।

यसो गर्नेमा बर्षौदेखि बसोबास गर्दै आएका हाई प्रोफाइलवाला देखि बिदेशी भूमिमा भर्खर बाँय सर्दै गरेका मनुष्यहरु परे। यसरि जंगलमा पसेर नियुरो टिप्नेहरू प्राय पहिलो पुस्ताका नेपालिहरु नै थिए। कतिपयले नियुरो टिपेको कुरा नेपालमा भएका आफन्तहरुलाई घन्टौ लगाएर सुनाए रे । कहिले निउरो टिप्ने मौका नपाएका साथीहरुसंग आफुले नियुरो टिपेको कुरा बडो रोचकसंग सुनाए  रे,  अलि अलि त चखाए पनि रे।

म पनि तिनै नेपालिहरुमध्यको एक हुँ। अल्बर्टा पाँच बर्ष सम्म बस्दा न कतै ग्रोसरी स्टोरमा नियुरो देखे, न कतै जंगलमा भेटे। यसरि यहाँका जंगलहरुमा नियुरो पाइन्छ भन्ने कुरा समेत थाहा थिएन । पहिले नै  थाहा हुन्थ्यो भने साएद साइकल चलाउदै जंगल जंगल हिड्दा पक्कै पनि कतै न कतै देखिन्थ्यो होला। एडमन्टनमा कसैले पनि नियुरो पाइन्छ, खाइयो भनेको सुनिएन।नेपाल छोड्दा मनपर्ने धेरै कुराहरु उतै छोडेर आइयो भन्ने मध्य एउटा जिनिस निउरो पनि हो। असाध्यै मनपर्ने तरकारी। तर गतबर्ष टोरोन्टो बसाई सरेपछि भने शुरुदेखि नै यसको चर्चा चल्यो। साथीहरुको घरमा खाना खाँदा नियुरोको अचारले खुबै चर्चा पाउथ्यो। यहाँ स्प्रिंग शुरु हुदै साथीहरु नियुरो टिप्न  सुरु गर्दा रहेछन।

पोहोर साल एकदिन हामि खाना खान एउटा दिदीको घरमा गएका थियौ।उहाँले निउरोको अचार बनाउनु भएको रहेछ। ‘यो बेसिजनको निउरो कहाँ भेट्नु भो दिदी’, भनेर सोधेको थिए। ‘पोहोरको निउरो हो।हामि त बर्षभरिलाइ पुर्याउछौ’, सुमित्रा दिदीले  भनिन्। 'हल्का नुनपानिमा हाफ बोइल गरेर एकछिन चिसो पानीमा डुबाउने र दश मिनेट पछाडी  जिपलक् ब्यागमा प्याक गरेर फ्रिजरमा राख्यो भने यो जिनिस जिउ का तिउ  रहन्छ। पानीमा डुबाउदा अलि कालो कालो हुन्छ। आइसमा राख्यो भने जस्ताको तस्तै रहन्छ’, उनले निउरो भण्डारण गर्ने तरिका सिकाउदै भनिन्। 

खोलाको छेउ छाउ वर्षायामको शुरुवाद मै उम्रिने टाउको बटारिएको यो जिनिसको प्रकार पनि धेरै हुदो रैछ। हाम्रो घरतिर पाउने नियुरो अलि मोटो मोटो र जुसिलो हुन्थ्यो। हामि त्यसलाई डौडे भन्थ्यौ। कतै कतै यसलाई कालो निउरो त कतै पानि निउरो पनि भन्दा रहेछन। यता मध्य र उत्तरी अमेरिकामा पाइने जातलाई भने 'अस्ट्रीज फर्न 'भनिदो रहेछ। 'रोयल फर्न' जातको नियुरो एसिया, युरोप र अमेरिकाको प्रायजसो ठाउहरुमा भेटिन्छ रे। एसियामा व्यापक रुपमा पाइने निउरोको जातलाई 'भेजिटेबल फर्न' को नामले चिनिदो रैछ। उत्तर अमेरिकाको मध्य र पुर्बी भागमा पाइने नियुरोलाई 'लेडी फर्न' र 'सिनामोन फर्न' को नामले चिनिदो रैछ।
 
नियुरोलाई अंग्रेजीमा 'फिडलहेड’ भनेता पनि ठाँउअनुसार बिभिन्न नामले चिनिएको पाइयो। यसलाई तरकारीको रुपमा होस् या अन्य कुनै परिकारको रुपमा संसारका धेरै मान्छेहरुले युगौ युग देखि खादै आइरहेका छन्।

एकदिन खोलाको किनारतिर लुकी लुकी नियुरो टिप्दै थिए। म भन्दा अलिकति माथिल्लो भागमा दुइजना फिलिपिनो केटा र केटीले पनि टिप्दै रहेछन। उनीहरुले हामीले जस्तो जरै बाट भने भाच्दा रहेनछन। माथिको एक तिहाइ मात्र चुट्दा रहेछन। मैले 'तिमीहरुले कसरि पकाउछौ' भनेर सोधे। उनीहरुले 'घुम्रेको भागलाई तातो पानीमा पन्द्र मिनेट जति उसिन्ने र बाफिएको निउरोलाइ गोलभेडा र उसिनेको अन्डासंग मिलाएर सलाद बनाएर खान्छौ’, भने।

एकैछिनमा केटीले मलाई पनि सोधी 'हाऊ यु गाइज कुक?' मलाई पनि सानामा आमाले उसिनेको निउरोमा  मुही हालेर पकाएको याद थियो त्यहि बताए। कुरो बुझी बुझिन थाहा भएन तर 'वाओ! चाही भनि।  अर्को पल्ट नियुरो टिप्दै गर्दा एउटा गोरे मान्छेले पनि टिप्दै गरेको देखे। उसले चाही निकै माया गरेर बटारिएको टाउको मात्र टिप्दै थियो। 'तिमिहरु पनि खान्छौ नियुरो' भनेर सोधे। उसले हाँस्दै भन्यो, 'मैले ग्रोसरीबाट किन्थे। आज यहाँ टिप्दै छु। खान्छु खादिन अझै निधो छैन।' उसले नै मलाई ओन्टारियोमा नियुरोको ब्यबसायिक खेति हुने गरेको कुरा सुनायो।

"न्यु ब्रुन्स्कविक"को 'टेड हेड 'भन्ने ठाऊलाई विश्वकै नियुरोको राजधानी मानिदो रहेछ। पुर्बी क्यानाडाको  मलेशित र पेनबस्कोट आदिबासीहरुले बर्षौ देखी तरकारीको रुपमा खादै आएको र अठारौ सताप्दिमा फ्रेन्च एकाडीयनहरुलाई खान सिकाएको कुरा पनि बतायो उसले।

त्यसपछि झोला भोरेर लेक ओन्टारियोतिर झर्दै थिए बाटोको तलपट्टि एउटा हुल मान्छेहरु बाख्रा झैँ झाडीमा चर्दै थिए। नो फ्रिलका झोला हातमा झुन्डाउदै चर्दै गरेकाहरु अरु कोहि नभएर हाम्रै नेपालि दाजुभाई तथा दिदि बैनीहरु रहेछन। हेरा हेर भयो तर बात चाही भएन। धन्न नेपालीहरु अलि झाडीको भित्रतिर लुकेर त टिप्छन। भियतनामी र चाइनिजहरु त बाटाको छेउछाउ नै टिप्दा रहेछन। त्यहिनिर सिटि ओफ टोरोन्टोको बोर्ड लगाएको थियो  "नियुरो टिप्न मनाई छ। टिप्नेहरुलाई पाँच हजार सम्मको जरिवाना हुने छ ' भनेर तर त्यहि बोर्डको तल नियुरो टिपेको देख्दा कति बहुमुल्य रहेछ त्यो जिनिस भन्ने लाग्यो मनमा।

 अरु बनास्पतिहरु भन्दा छिटो उम्रने नियुरो एकपल्ट  हिउले सबै मोर्यो। हिउ पग्लेको एकहप्तामा पुन हर्लक्क बढेछ। केहि साथीहरुले रहर गरेकोले पालै पालो देखाउन पनि लगे। पछि पछि त रुखहरुमा समेत "नियुरो टिप्न निषेध गरिएको छ। हामीले नियुरो तिप्नेहरुलाई चार्ज गरेका छौ" भनेर पो छौ भनेर टाँसेको रहेछ चित्र समेत कोरेर। एकजना दाजुले भन्नु भयो 'यो पक्कै पनि नेपालिको काम हो। ' नेपालीले त किन त्यसो गर्थ्यो र सायद उहालाई लाग्यो होला नेपालीहरु फट्याई गर्नमा माहिर छन्। अरुले नटिपोस। आफुले मात्र टिप्न पाइयोस भनेर त्यसो गरेको हुन सक्छ। एकदिन जिबन भाइले पनि भन्दैथिए," दाई यार मलाई त एकजना मान्छेले 'तलाई म दिनदिनै जसो देखेको छु। अब टिपेको देखे भने पुलिसलाई कल गर्दिन्छु भनेर थर्कायो।' हुन सक्छ बनको रेखदेख गर्नेले पनि त्यसो भनेको हुन्छ। हुन त जंगलभित्र होमलेस क्याम्पहरु थिए। कतै कतै कुकुर राखेर सुतेका पनि देखिन्थे।

एकदिन अटवा युनिभर्सिटीमा पी एच डी गर्दै गरेका मित्र संग कुरा भयो। के छ हालचाल भनेर सोध्नु भयो। काम धन्दा नभएको बेला केहि गरेको देखाउन पर्यो भनेर नियुरो टिपेको कुरा सविस्तार सुनाए। एक दुइ फोटाहरु पनि सेन्ड गरे। उहाँ पनि के कम अर्को दिन अटवा खोलाको छेउ छाउको जंगलमा छिर्नु भएछ।  दुई बोरा भोरेर टिप्नुभएछ। पछि फोन गरेर भन्दै हुनुहुन्थ्यो 'तपाइले भनेको भएर मन थाम्न सकिन र गए यार। बहुत मजा आयो।' उहाले अरु पी एच डि हरुलाई पनि चखाउनु भएछ।मैले सोधे "कुन जातको नियुरो टिप्नु भयो डाक्टर साप?' 'के को जात हो निउरो टिप्यो नि' भनेर घतलाग्नि गरेर हास्नुभयो। उहाँको हाँसो पनि मिलियन डलरको हो जस्तो लाग्छ मलाई। त्यसरी दिल खोलेर हाँस्ने नेपालीहरु कमै भेटेको छु मैले। त्यसमाथि बोराका बोरा नियुरो टिपेर आएको बेला हाँसोको रौनक नै फरक थियो।भोलिपल्ट अर्को मित्रले हमिल्टन निउरोको फोटो मेसेन्जरमा पठाउनुभयो। उहाले टिपेको नियुरो र मैले टिपेको नियुरोमा धरै फरक थियो। उहाले भन्नु भयो 'सर तपाईले टिपेको नियुरो पानि नियुरो हो। मैले टिपेको चाही सेतो नियुरो हो। नेपालि मै पनि थुप्रै प्रजातिहरू हुदा रैछन भनेर मैले पहिलो पल्ट थाहा पाए। पानि नियुरो, कालो नियुरो, सेतो नियुरो, डौडे आदि। अरुपनि थुप्रै नाम हुन सक्छन। कतिपय नियुरोहरु बिषालु हुन्छन पनि भन्ने सुनिन्छ। हेल्थ क्यानाडाको वेबसाईटमा भने नियुरो राम्रो संग पकाएर खाएन भने मात्र फुड पोइजनिङ्ग हुने बताएको छ। तर कुनैपनि जातको फिडलहेड बिषालु भएको पुष्टि गरेको छैन। नियुरोको झुसिलो बोक्रा फालेर तातो पानीमा पन्द्र मिनेट उमालेर मात्र खान सुझाएको छ हेल्थ क्यानडाको वेबसाइटमा। यदि राम्रो संग नपाकेको नियुरो खानाले टाउको दुख्ने, झाडा पखाला लाग्न सक्ने कुरा लेखेको छ।
बसन्त श्रीतुको सुरुवादमा सबैभन्दा पहिले निस्किने बनस्पतिमा पर्छ नियुरो। सायद त्यहि भएर पनि होला हिऊ पग्लिन नपाइउदै जुकाजस्तै टाउको निकाल्छ नियुरोले क्यानाडामा। त्यो बेला नियुरो टिप्न सजिलो पनि हुन्छ।टाढा टाढा सम्म पनि प्रस्ट देखिन्छ। त्यो बेला कतै बनका कर्मचारिहरुले देख्छन कि भन्ने डर हुदो रैछ। तर अलि पछि पछि अन्य रुखहरुमा पात पलाउन शुरु भएपछी भने झाडीभित्र छिरेर निर्धक्क संग टिप्न मिल्ने रहेछ।

एकदिन साइकल बाटोको छेउमा राखेर जंगलभित्र छिरे नियुरो टिप्नलाई। त्यहाँ त दुई  तिन ग्रुप नेपालीहरु पहिलेनै झोला भोरेर बसेका रहेछन। बाँकी रहेछ "टिक टक " बनाउने कर्म। एउटाले महिलाले हातमा नियुरो समातेर खै के के भन्दै थिइन। एकजना बरिष्ट जस्तै देखिने अधबैशे पुरुषले भन्दै थिए  "नेपालिले चानस पायो भने गर्च , के गर्च भने लुकी लुकी भए पनि नियुरो टिप्ने काम गर्च।" त्यहाँ भएका महिलाहरु गलल हास्दै थिए। हामि यसो रुखको छेउमा छलिएर हेर्दै र टिप्दै थियौ। त्यहि बेला एउटा कुकुर भुक्यो। पछि फर्केर हेरको 'जर्मन सेपर्ड ' जातको कुकुर लिएर एउटा सेतो छाला भएको मान्छे हामितिरै आउदै थियो। मेरो साटो पुत्लो गयो। अब यो बनको कर्मचारी होला। कति फाइन तिराउने हो? पुलिशलाई रिपोर्ट गर्ने होला। कतै "नियुरो टिप्दै गर्दा नेपालीहरु क्यानाडामा पक्राउ" भन्दै नेपालि पत्रिकाको हेडलाइन बन्ने हो कि? यस्तै यस्तै कुराले टाउको घोच्न थाल्यो। तर त्यो मान्छे हामीसम्म नआईकन करिब तीनसय मिटरको दुरीमा भएको काठको झुपडी भित्र पो पस्यो। त्यहाँ उसले सुकेका रुखका हाँगाहरु जम्मा गरेर एउटा झुपडी जस्तो बनाएको थियो। हट्टाकट्टा गोरे पनि यसरि घरबार बिहिन भएर एउटा कुकुरको साथ् जंगलभित्र बसेको देख्दा मन कस्तो कस्तो भयो। यस्ता "होमलेस' मान्छेहरु धेरै जसो या त गोरेहरु नै छन् या नेटिभ अर्थात् आदिबासीहरु। कुकुर भुक्न साथ् टिक टके साथीहरु कता बिलाए मैले पत्तो समेत पाइन। त्यो दिन गुरिल्ला स्टायलमै  नियुरो खोजेर घर आइयो।

नियुरो टिप्दा जंगल सफारी गरे झैँ आनन्द पनि आउदो रैछ। कतै मृग, हरिण चर्दै गरेको दृश्य देख्न मिल्छ भने कतै जुत्तामुनि सर्प चिप्लिदै गरेको। अनेकौ चरा चुरुन्गीहरुको चिरबिरे आवज, पोथ्रा पोथ्रामा चराहरुको गुड, न्याउरी मुसा, साना साना खरायोहरुले मन सारै प्रफुल्लित बनाउदो रहेछ। दिनभरी घरमा बस्दा, बितेको भुतकाल र देख्दै नदेखेको भबिष्यकालको सोचमा झोक्रियर  घरमा बस्नु भन्दा जंगलभित्र पसेर एकैछिन भएपनि चरा चुरुंगी र जंगली जनावरहरुलाई साथि बनाउदा स्वर्गीय आनन्द आउदो रहेछ। तर बेला बेला भने कानुनको डरले भने मनभित्र भने ढुक ढुक चाही भैरहन्छ। एकदिन एकजना मित्रलाई कसैले भनेछ "तलाई मैले सधै यो टिपेको देखेको छु। ऐले भर्खरै पुलिशलाई कम्प्लेन गर्दिन्छु।"  मित्रको होश हवस् उडेछ। रुन्चे स्वरमा माफी मागेर टाप कसेछन् त्यहाँबाट। पहिलो पल्ट गएका ति मित्रलाई घरि घरि देखेको छु भनेको सुन्दा लाग्यो साना साना गाँठीका सबै नेपालीहरुलाई उस्तै देख्दो रहेछ उसले। नियुरो टिप्नलाई कानुनि रुपमा बन्देज गरेको छ। कारण जे पनि हुन सक्छ। जंगलको फलफुल होस् या यस्तै यस्तै नियुरो,सिस्नो, च्याऊ परीक्षण नगरी खानाले स्वास्थ्यमा समस्या हुन सक्छ। कसैलाई अलर्जी हुन सक्छ। त्यो कारणले पनि यसरि सिधै जंगलबाट टिपेर खान हेल्थ क्यानाडाले मनाई गरेको छ। नेपालमा हुदा ऐसेलु, चुतुरो, गुयेली, भकिम्लो, बयर, बेल, भोगटे, जामुन, म्याल जस्ता फलफूलहरु सिधै जंगलबाट टिपेर राम्रो संग नधोई खाइन्थ्यो। अझ चराले चाखेको फल मिठो हुन्छ भनेर जुन चराले ठुगेको छ त्यहि खाने चलन थियो। चराले खाएको बेलौती त कति खाइयो कति। अहिले जे मा पनि भाइरस छ जस्तो लाग्न थाल्यो।

'जति जान्यो उति गारो, झन् जान्यो झन् झन्  गारो "भनेको यस्तै भएर रैछ। कुनै बेला दिनभर मलखाद सोरेर हात नधोई पुछपाछ गरेर पनि कोदाको रोटि तिनै हातले भाँचेर खाइयो। नङभित्र कालै हुदा तिनै हातले मुई र आटो सप्काइयो। कहिलै केहि भएन। अहिले आएर दिनको सत्रपल्ट साबुनपानिले हात धोयो, स्यानीटाईजर दल्यो। अझै मन सन्तुस्ट हुदैन। भातखाने बेला हतियार मुखभित्र छिराउनै पर्छ। बनमा उम्रेको स्याउको फल समेत मान्छेहरुले टिपेर खादैनन्। बरु स्टोरमा गएर महिनौ फ्रिजमा राखेको किनेर खान्छन।  मैले पहिलो दिन नियुरो टिपेर ल्याउदा एकजना मित्रलाई चखाउन पर्यो भनेर दिए। अर्को दिन आएर सोध्नुभयो " तपाईहरुले हिजो निउरो खानु भयो ?" मैले भने "खाइयो, तपाइहरुले खानुभएन ? उहाँले भन्नुभयो 'हामीलाई त डर लागेर खाएका छैनौ, अब अचार बनाएर खानुपर्ला।' मलाई कुरो बुझ्न गारो भएन। दुनिया स्वार्थी हैन, सचेत छ भन्ने लाग्यो। तर पछि उनले जरैसंग उखेलेर ल्याउनु भएछ र घरको पछाडी को खाली ठाउमा निउरोको सानो सानो बगैचा नै बनाउनु भएछ। यहाँ घरमै खेति गर्न थालेकाहरु पनि थुप्रै नेपालिहरु छन्।

नियुरोको माहिमा तरकारी र अचारमा मात्र सिमित छैन। प्राचिन कालदेखि नै नियुरोलाई म्यजिकल प्लान्ट अर्थात् जादुई बनस्पतिको रुपमा मानिदै आएको छ। नियुरोको बियाँ देखिदैन। बियाँ नभएको बनस्पति कसरि बनैभरि फैलिन्छ भनेर धेरै बर्षसम्म खोज अनुसन्धान पनि भयो। शेक्सपियरको नाटक 'Henry IV भाग १ मा  चोर पात्र गडशिलले आफुले नियुरोको बियाँले अदृश्य बनाएको बताएको छ। त्यस्तै कैयौ दन्ते कथाहरुमा पनि नियुरोको पात हातमा राख्दा म्यजिकल कुराहरु भएको उल्लेख गरिएको छ। जोन फ्लेचरको 'द फेयर मेड अफ द इन'मा नियुरोको जादुको बारेमा उल्लेख गरेको छ। ननेटे  रिच्फोर्डको 'फिडल हेड एण्ड फेरिज' मा पनि नियुरोको चमत्कारी माहिमाहरुको उल्लेख गरेको छ। न्यु ब्रुन्च्विक बाट "फिडलहेड" नामको साहित्यिक जर्नल निस्कन्छ।
खयर जे सुकै होस् नियुरोको जादु हाम्रो स्वास्थ्य संग राम्रो संग जोडिएको छ। यसबाट एन्टीअक्सिडन्ट, ओमेगा -३, ओमेगा- ६  र फ्याटी एसिड पाइन्छ। नियुरोको तरकारीमा प्रशस्तमात्रमा आइरन र फाइबर पाइने कुरा बैज्ञानिकहरु बताउछन। यसको स्वादको माहिमा नेपालि चुलो चुलो सुन्न सकिन्छ चाहे त्यो अमेरिका र युरोपका आधुनिक चुला हुन् या नेपालि गाँउबस्तीका धुँवा सहित र धुँवा रहित चुलोमा। नेपालिहरु र नियुरोको बीचको संबन्ध संसारकै तागतले पनि टुटाउन नसक्ने कुरा यथार्थ हो भन्दा पनि फरक नपर्ला।
समर सिजन सुरु हुदा नहुदै सबै निउरो फुलेर भालु लुक्ने झाडी बन्यो। कोरोनाले काम धन्दा अझै शुरु हुन सकेको थिएन। केहि साथीहरु मिलेर त्यतै घुम्न निस्कियौ। निउरोको झाडी भित्र मिर्ग पो चर्दै रहेछन।  एकजना मित्रले भने "हैन साथीहो यसको पाठोलाई बोरामा हालेर लान पाए मज्जाले सुप बनाएर खान हुन्थ्यो।  कोरोना त चैट् पार्छ होला। " सबै गलल हाँसे। " हामि मात्रै हैन त्यो बाटोमा हिड्ने धेरै जसोले मिर्गको जोडी हेर्दै रमाईरहेका थिए।  अर्को साथीले भने "यहाँ नजिकै घर किन्ने हो भने रातिमा आएर मिर्ग छोपेर लैजादा कसैलाई पत्तो सम्म हुन्न होला। " " मिर्ग सिर्ग चै हैन नजिक घर हुने हो भने नियुरोको तरकारी भने जति पनि खान पाइन्थ्यो", मैले कुरो नियुरोमै लगेर टुंगाए।

अलिपर गोरेका छोरा छोरीहरु लुकामारी खेल्दै रहेछन। बाउआमा बाटोमा बसेर हेर्दै थिए। हामि भए सर्प, भालुको डर देखाएर छोराछोरीलाइ  झाडी भित्र छिर्नै दिदैनथ्यौ। उनीहरुले खासै कन्ट्रोल गर्दैनन्।  केटो झाडीमा लुक्न गएपछि केटिले हातमा नियुरोको पात राखेर आँखा चिम्म गर्दिरहेछ। हामि पनि त्यसै टहल्दै थियौ। बाउ चाहिले भन्दै थियो 'सी इस ट्राइङ्ग म्याजिक।' उनीहरुलाई नियुरोको बारेमा तरकारी भन्दा म्यजिकल प्लान्ट भन्ने कुरा थाहा भएको भन्यो।  आफुलाई तरकारी बाहेक अरु केहि थाहा थिएन। ओमेगा भन्ने पनि अस्ति भर्खर थाहा भएको हो। सानो हुदा प्रोटिन र भिटामिन त किताबमा मात्र पढीन्थ्यो। खानेबेला कहिले ध्यान दीइएन।  खाली पेट भर्ने कुरालाई ध्यान दिईयो। "मिठो पाए तिन थाल, नमिठो भए फालाफाल" भन्ने चलन थियो।   जे होस नेपालीको र नियुरो बिचको संबन्ध भनेकै मिठोको संबन्ध हो।











Sunday, June 7, 2020

महामारी र मान्छे

आषारको महिना थियो। दुइ दिन सम्म लगातार झरी पर्यो। भकारोमा दुइहल गोरु थिए। तिनिहरु  दाम्लोबाट निस्कन पाएनन्। भकारोमै पानि खुवाए र खरको मुठो खोलेर घाँस हाल्दिए। तेस्रो दिन अलिअलि घाम लाग्यो। दिउसो एघार बजेतिर म गोरु चराउन भनेर गोठमा पुगे।मलाई देख्न साथ चारवटै गोरु दाम्लो चुडाल्लान जस्तै गरेर तंग्रिए। मैले बल्ल बल्ल दाम्लो के खोलिदिएको थिए तिनीहरु ब्रुकुसी मार्दै लागे बाटो तिर। न मैले बोलेको हँ हँ काम लाग्यो, न लौरोको निर्देशन। जता मन लाग्यो उतै दौडिए। स्वतन्त्ररुपमा उफ्रिदै तल र माथि गर्दैरहे धेरै बेरसम्म |

अहिले लकडाउनले गर्दा मान्छेहरु महिनौ सम्म घरभित्र बधुवा भएका छन्। बस्तुभाउलाई दाम्लोमा बर्षौ बाधेर राख्ने मान्छे अहिले आफुलाई एक महिना घरभित्रै बस्नु पर्दा निसासिएको छ। कति स्वर्थी छ मान्छे भन्ने कुरा यसैबाट थाहा लाग्छ। क्यालिफोर्नियाको बीच होस् या टोरोन्टोको ट्रिनिटी बेलवुड पार्क मान्छेहरुको  भिडले न सरकारको कुरा सुन्यो, न स्वास्थ्यकर्मीहरुको। मास्कको कुरा छोडौ शरीरमा भएको कपडा समेत खोलेर घाँमका किरणहरुसंग नुहाई रहे। बालुवा पल्टिरहे अँगालो मारेर।  हरियो घास माडिरहे प्रेमको उत्सर्गमा भाइरस नामको जस्तुलाई धुलो चटाउदै।  उनीहरुलाई स्वतन्त्रता आफ्नो जिबन भन्दा प्यारो भयो। दृश्यहरु हेर्दा यस्तो लाग्थ्यो कि कोभित -१९ को महामारी कुनै एकादेशको कथा भयो। सामाजिक दुरी भन्ने पनि थियो र कुनै जमानामा? त्यहाँ अल्लारे ठिटा ठिटीहरुमात्र थिएनन्। भर्खरै अण्डाबाट निस्केका भुराभुरी देखि सत्तरीको दशक काटेका बृदा जवानहरु थिए। नियम कानुन नै नजान्ने नपढ्ने देखि लिएर, नियम र कानुन बनाउनेहरु पनि त्यहाँ उपस्थित थिए। यस्तै दृश्यहरु आइरहेका थिए संसारभरीबाट, अमेरिका र क्यानाडाबाट मात्र होइन।

कोरोना भाईरसले मानबजगतलाई नयाँ पाठ शिकाइरहेको रहेको थियो। मान्छे जतिसुकै भब्य महलभित्र बसोस, उसलाई बास्तबिक आनन्द भनेको घर बाहिर अर्थात प्रकृतिको काखमा नै आउदो रहेछ। समुन्द्रको किनारमा गएर बालुवामा नाङ्गो शरीर सेकाउनमा जुन आनन्द आउथ्यो त्यो आनन्दमोहले महामारीको भयलाई धुलो चटाईदियो। युवा युबतिहरुले मृतुको भयलाई सामान्य रुपमा लिए। मास्क नलगाई सडकहरुमा निस्के। स्वतन्त्रताको अधिकारलाई सरकारको आदेशले छुन सकेन। मान्छे मोर्न तयार भए तर मुखमा मोलो लगाउन र घर भित्रै बस्न चाहेनन्। आफ्ना प्रेमी प्रेमिकासंग भेट नभई बस्नु पर्ने बाध्यताले  मनाबअधिकारको हनन गर्यो।छाती खुल्लै राखेर सार्बजनिक ठाउमा हिड्न पाउनु पर्छ भन्ने  पश्चिमी मुलुकका महिलाबादीहरु मुख छोपेर हिड भनेपछि के टेर्थे उनीहरुले। बसन्त ऋतुको सुरुवात संगै क्लब, बार, बीच, बिभिन्न सांगीतिक मेलाहरुमा जमघट गर्ने, विभिन्न पार्कहरुमा जम्मा भई बार्बेक्यु गर्ने, स्विमिङ्ग गर्ने बेलामा घरभित्र उकुसमुकुस भएर बस्नु पर्ने बाध्यताले मान्छेहरुमा निराशा पैदा गर्यो। एक महिना त चुप्प लागे। तर अर्को महिनामा दाम्लो चुडाली हाले। त्यसो त कतिपय मान्छेहरु वोर्कोहोलिक छन्। उनीहरु काम नगरी बस्न सक्दैनन्। कोहि काम नगरी माम पाउदैनन।

यो महामारीले मान्छेहरुको  अशली रुप देखाइदिएको पनि छ। कतिपय मान्छेहरुले आफुले पाएको सरकारी राहत बास्तबिक खान नपाउनेहरुको लागि भनेर फिर्ता गरेका छन् भने कतिपयले कामबाट नगद तलब बुझेर सरकारसंग बाट पनि बेरोजगारी भत्ता बुझेका छन्। कुनै मान्छेले आफ्नो व्यक्तिगत सम्पति बेचेर खान नपाउनेको लागि सहयोग गरेका छन् भने कसै यहि मौका हो पैसो कमाउने भनेर कालो बजारी गरिरहेका छन्। मास्क र सानिटैजरको कालो बजारी गर्नेहरु नेपालदेखि लियर अमेरिकासम्म भेटिए। कतिपय देशका सरकारलाई लाश व्यवस्थापन गर्न गाह्रो भयो। इटाली, इराक, ब्राजिल जस्ता देशहरुमा कैयौ दिनसम्म मोरेको ठाउबाट लाश उठाउने मान्छे भएन। एउटै सिनियर होम अर्थात् बृदा आश्रममा एकै दिनमा चालिस पचास जनाको मृतु भएका घटनाहरु सुनिए। संक्रमणबाट मोर्नेहरुको संख्या बुढा बुढीहरुको ज्यादा भएपनि यो महामारीले भर्खरै जन्मेको दुधे बालक देखि लिएर सय वर्ष माथिका मान्छेहरुलाई लियर गयो। यति हुदा हुदै पनि मान्छेले आफ्नो स्वर्थलाई त्याग्न सकेन। लुटतन्त्र मचिरह्यो। शक्तिमा बसेकाहरु र बल, पैसा हुनेहरुले नहुनेहरूका लागि सोचेनन।चाहे त्यो राज्यको ढुकुटीबाट होस् या ग्रोसरी स्टोर बाट किन नहोस हुनेले नहुनेको लागि सोचेन।

मृतुले मानवता सिकाउछ भन्थे तर होइन रैछ। मान्छे रोगले मोरिरहेको बेलामा मानवता कतै पनि देखिएन। भारतमा  मजदुरि गर्न गएका हजारौ नेपालीले  घर फर्कनकोलागि सवारी साधन पाएनन्। हप्तौ सम्म बाटोमा हिड्दा कसैले दया गरेर पानी  सम्म पनि दिएनन। गर्भवती महिला घिसृदै घिसृदै राज्यको सिमानासम्म आउदा समेत आफ्नो माटोमा टेक्न पाइनन। दुधे बालक कोखिलामा च्यापेर हिड्दै गरेकी महिलालाई पत्रकारले हेडलाइन बनाएर पैसा कमाए तर उनले आफ्नो बच्चाको लागि दुध होइन पानी  समेत पाइनन। कतिपय हिड्दा हिड्दै बाटोमै मोरे। कोहि एकान्तबास बनाइएका स्कुलहरुमा थला परे। पैसा हुनेहरु घरमै बसेर टि भी मा दृश्यहरु हेरिरहे। आखिर के रहेछ त जिन्दगि ? आपत परेको बेला न राज्यले हेर्छ र आफन्तले। मानवत सबै स्वार्थमा परिबर्तन हुन्छ।  लक् डाउन गर्नु भन्दा पहिले के राज्यले सोच्नु पर्दैन? संक्रमण बढ्दै जादा आर्थिक संकट पर्दै गरेको राज्यलाई थाहा हुदो रहेछ तर लक्डाउन गर्दै गर्दा सर्बसाधरण जनतामा पर्ने अषर उसले महशुस गरेन। सडकको छेउमा चिया बेचेर परिवारको हातमुख जोड्ने दिलमायाको कथा उसले थाहा पाएन। बसमा खलासी गरेर बिहान बेलुका मुखमा माड हाल्ने हजारौ मजदुरहरुलाई कसैले देखेन। आफ्नै देशको सडक पेटीमा व्यापार गरेर गुजारा गर्ने जनताको मर्म नदेख्ने सरकारले भारत लगाएत अन्य मुलुकमा अलपत्र परेका आफ्ना नागरिकलाई कसरि देखोस। कलम चलाउन सक्नेले चलाए। सोसल मिडियामा पहुच हुनेहरुले कमसेकम आफ्नो आवाज सुनाए। तर आवाजविहीन लाखौ जनताहरु भोक भोकै मोर्दा कसले पो हेर्दो रैछ र? 
महामारीले राजा र रैती, धनि र गरिब, काले र गोरे, बाहुन र कामि, हिन्दु र मुसलमान भनेर छुट्याएन।कतिपयले कोरोना भाइरसलाई "धनि मान्छेहरुको रोग"भनेर पनि भने। हुनपनि जो जो मान्छेहरु बिजनेसको सिलसिलामा चीनको उहाँन शहरमामा गए उनीहरुले नै संसारभर रोग फैलाएको आरोप लाग्यो। पानीजहाजमा यात्रा गर्नेहरु धनि मान्छे नै हुन्। हवाई जहाजमा उड्नेहरु पनि धनि मान्छे नै हुन् प्राय। गरिबहरुलाई आफ्नो ठाउँ छोड्ने न फुर्सद हुन्छ न उपाए। त्यसैले पनि होला अन्तराष्ट्रिय सभा सम्मेलनमा भाग लिन पुगेका कैयौ मन्त्रिहरु कोरोना भाइरसबाट संक्रमित हुन पुगे। त्यसैले पनि होला म्याक्सिकोको एकजना राज्य मन्त्रीले भनेका थिए," यदि तिमि धनि छौ भने कोभिद -१९ को उच्च जोखिममा छौ। यदि तिमि गरिब छौ भने तिमीलाई कुनै खतरा छैन। तिमीसंग रोग प्रतिरोधात्मक शक्ति छ।" तर रोगले भने धनि र गरिब भनेन।  फरक के देखियो भने धनि मान्छेलाई भयो भने उसको चर्चा परिचर्चा हुन्थ्यो।  गरिबलाई लाग्यो भने टेस्ट नै नभई या त चिलिम हुन्थ्यो या थाहै नपाइ निको हुन्थ्यो। गरिबलाई बेलायतको मन्त्रिलाई जस्तो सुबिधा कहाँ मिल्थ्यो र।  न धनि मान्छेहरु जस्तै आफ्नो भब्य मलमा महिनौ सम्म एकान्तबास बस्न सक्थे। सार्बजनिक यातायात उनैलाई चढ्नु पर्थ्यो। कुम कुम जोडेर काम उनैले गर्नु पर्थ्यो। बेलामा टेस्ट गर्ने पहुच थिएन उनीहरुलाई। रोग लागिसकेपछि भेन्टिलेटर थिएनन उनीहरुको लागि। त्यसैले त लक्षण धनि मान्छेहरुमा बढी देखियो, मोर्नेहरु गरिब भए। अमेजनको गोदाममा कामगर्ने मजदुरको मृतु भयो तर यसको मालिक सुरक्षित भए।कैयौ माशु प्रशोधन गर्ने केन्द्रहरुमा मजदुरहरु कोविद -१९ को कारणले मोरे तर कुनै पानि कम्पनीको मालिक मोरेको छैन। यसले के देखाउछ भने यो धनीहरुले बोकेर गरिबहरुलाई सार्ने र मार्ने रोग हो।

कोभिद -१९  शुरुमा एक डरलाग्दो बिम्ब बनेर आयो। एउटा भयानक मृतु। कम्प्युटरमा बसेर काम गर्नेहरुलाई घरमै बसेर काम गर्ने मौका मिल्यो। आफ्नै घरको सोफामा विभिन्न परिकारहरु खादै काम गर्दै गर्दा कामको उत्पादकत्व बढेर आयो। कम्पनीका मालिकहरुले नयाँ ढंगले सोच्न थाले। लाखौ भाडा तिरेर खोलेको अफिसबाट भन्दा घरबाटै राम्रोसंग काम हुन्छ भने किन व्यर्थमा पैसा खर्च गर्ने। यहि मौकामा उनीहरुले आफ्ना कर्मचारीहरुलाई कम्तिमा दुइ वर्ष सम्मलाई घरबाटै काम गर्ने अनुमति दिए। यो अवसर सबैले कहाँ पाउनु। स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको लागि यो भयानक गुरिल्ला युद्ध भैदियो। न उनीहरुको लागि घरमै बसेर काम गर्ने अवसर मिल्यो, न काम छोडेर घरमै बसी बसी सरकारी भत्ता खाने मौका। शारीरिक र मानशिक रुपमा नै उनीहरु मारमा परे। कैयौ स्वाथ्यकर्मीहरुले आत्महत्या गरे। कैयौ मानशिक रोगको शिकार हुन पुगे। कैयौ रोगीको सेवा गर्दा रोग आफुमा सरेर त्यहि रोगका कारणले मृतुको मुखमा पुगे। डाक्टर, नर्स, पी एस डब्लुमा काम गर्नेहरु आफ्नै घरको ग्यारेजमा क्याम्प बनाएर सुत्न बाध्य भए। आफ्नै छोरा छोरीको गालामा चुम्मा गर्न पाएनन्। अंगालोमा कस्न सकेनन। सडकमा गाडीको हर्न बजाएर त कतै बार्दलीबाट ताली बजाएर उनीहरुको स्वागत गरियो। तर यो स्वागतले उनीहरुमा बास्तबिक खुशी दिएन। किनभने अझै पनि कैयौ मान्छेहरु सामाजिक दुरी कायम गरिरहेका थिएनन्। संक्रमितहरु बढ्दै गए। अस्पतालहरु अस्तब्यस्त भए। शक्तिशाली रास्ट्रहरु अमेरिका, क्यानाडा, जर्मन जस्ता देशहरुमा सामान्य मास्कको आपूर्ति माग बराबर हुन सकेन। यसैमा राजनीति शुरु हुन लाग्यो। अर्कोथरि कर्मचारीहरु, मजदुरहरु जो ग्रोसरी स्टोरमा काम गर्थे उनिहरु यो माहामारीको चपेटामा परे।उनीहरुलाई पनि घरमा बस्ने सुबिधा मिलेन। हजारौ मान्छेहरुको भिडमा बिना प्रोटेक्सन काम गरे त्यो पनि मिनिमम ज्यालामा।कुनै कुनै कम्पनीहरुले दुइ चार प्रतिशतका दरले भत्ता थपे पनि बास्तबमा यसले खासै राहत दिएन उनीहरुलाई। एकाथरी मान्छेहरु घरमै बसेर उनीहरुले भन्दा धेरै पैसो राहतको रुपमा बुझिरहेका थिए जसले गर्दा उनीहरुको मानशिकता खस्किन पुग्यो।

संसारभर फैलिएको यो माहामारिले विभिन्न देशहरुको बीच कसले आफ्ना नागरिकहरु बढी भन्दा बढी शुरक्षा दिने भन्ने कुरामा पनि होड चल्यो। धनि मुलुकहरुले आफ्ना नागरिकहरुलाई कम्तिमा पनि खाने र बस्नेको शुबिधा दिए। साना ब्यापार बिजनेस गरेकाहरुको लागि पनि राहतको प्याकेजहरु ल्याए। बिना ब्याज ऋण सहुलियत प्रदान गरे। बृदाहरुको लागि पनि केहि राहत प्रदान गरे। निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरे। संक्रमित परिवारको लागि पनि राहतको व्यवस्था गरे। यसको अनुशरण गर्दै गरिब मुलुकहरुले पनि निम्न स्तरका मजदुरहरुको लागि भएपनि राहतको प्याकेज ल्याए। तर ति मुलुकहरुमा बास्तबिक पिडितहरुको पहिचान गर्ने बैज्ञानिक माध्यम नभएको कारणले गर्दा लोभी, पापी र स्वार्थीहरुको खल्ती भोरियो। कुनै देशहरुले एक महिना भन्दा बढी थाम्न सकेनन। अमेरिका जस्तो राज्यले त अर्थतन्त्र ध्वस्त हुने भन्दै दुइ महिना नहुदै ब्यापार बिजनेस खोल्न आदेश जारि गर्यो। कोभिद -१९ कै उपचारको क्रममा काला जातिहरुमाथि अन्याय भएको, रंगकै आधारमा पक्षपात भएको र काला जतिको मृतु अन्यको तुलनामा धेरै भएको भनेर बिरोधका स्वरहरु निस्किन थाले। एकजना काला जातिको ब्याक्तिलाई अमेरिकन पुलिशले आठ मिनेट सम्म घाटि थिचेर बेहोश पारेको र पछि त्यसैको कारणले उसको मृतु भएको घटनाले अमेरिकी शहरहरुमा आगो सल्कायो। यो आगो बिस्तारै संसारभर फैलिदै गयो।जर्मनको बर्लिन, बेलायतको लन्डन र क्यानाडाको अटवामा लाखौको संख्यामा मान्छेहरु सडकमा उत्रिय। सामाजिक दुरीको डिस्कोर्स फितलो हुदै गयो।

संक्रमण बढ्दै जाँदा नेपालले पनि लक्डाउनको घोषणा गर्यो। यहि बेलामा कालापानी र लिपुलेकमा भारतीय बिस्तारबादको संक्रमण बढ्यो। राज्यमाथि आफ्नो भूभाग शुरक्षित गर्नुपर्ने दबाब बढ्दै गयो। दुई देशहरुबीच आधिकारिक बार्ता हुने सम्भावना नदेखियपछि नेपाल सरकारले लिपूलेक समेतको नयाँ नक्सा सार्बजानिक गर्यो। यसले भारतीय पत्रकारहरुमा एकखालको तरङ्ग ल्यायो। पत्रकारहरु बिना आधार चाइनाले नेपाललाई उस्काएको भन्दै भुक्न थाले। भारतका बरिष्ट जानकार भानिएका प्रोफेसर एस डी मुनिले  समेतले बिबादित भूभाग भारतकै हो भन्दै नेपाल चीनको प्रभाबमा परेर यसो गरेको हो भने। नेपालि राजनीतिज्ञहरुसंग गरेका भारतीय सम्बाद कार्यक्रमहरुमा पनि निकै तुच्छ शब्दहरु प्रयोग  गरीए। तर दुई देशका राष्ट्र प्रमुखहरुको बीच संबाद हुन सकेन।देशभित्र पनि राजनीतिक फोहोरी खेल चलिरह्यो। शहरबाट गाँउ फर्कनेहरूको हुल बढ्न थाल्यो। एक गाँउबाट अर्को गाँउ जाने बाटोमा मान्छेहरुले तगारो हालेर थुनछेक गरे। भोज, भतेर, जन्ति, पार्टीहरु एकाएक ठप्प भए। होटल र रेस्टुरेन्टहरु थला परे। यसै बिचमा एउटा भयाबह क्रुर घटना घट्यो जाजरकोटमा। नबराज बि क लगाएत छ जनाको जातिय विभेदका कारण जधन्य हत्या गरियो। एउटा कथित मल्ल थरकी छोरीसंग दलित थरको केटाको माया प्रेम भएपछी बाबुआमाको सहमति बिना भागि बिबाह गर्ने केटा र केटिले निधो गरेछन।  सल्लाह बमोजिम नबराज आफ्ना साथीहरु सहित घरमा पुग्दा पुरै गाँउ मिलेर लिन गएका केटाहरुलाई कुटी कुटी भेरी नदीमा खसालेर हत्या गरेछन। यो घटना सामान्य थिएन। अमेरिकामा  एक जना अश्वेत व्यक्तिको हत्या पुलिशले घाँटी थिचेर गरेको हुदा संसारभर रंगभेद बिरुद्द आन्दोलन चर्क्यो। 

यता भने  नेपालमा छ छ जना युवाहरुको बर्बर तरिकाले हत्या हुदा समेत राज्य लुतेकुकुर झैँ राजनीतिक भाषणमै कुई कुई गरिरह्यो। केहि मानाबधिकारबादीहरू र दलित संगठनहरुले महामारीको डरलाई घरमै थन्काएर सडक तताए।यस्तो घटनालाई अन्तरास्ट्रियकरण गर्ने पहुच पुगेन।एकातिर दिन दिनै जसो संक्रमिकहरुको संख्या बढिरह्यो भने अर्कोतिर हत्या, हिंसाका घटनामा तिब्रता आयो।समग्रमा भन्दा कोभिद-१९ ले आम मानब जातिमा एकखालको क्रमभंगता ल्यायो। स्कुल, अस्पताल, व्यापार, ब्यबसाय र मनोरन्जनको क्षेत्रमा ठुलो चुनौती ल्याइदियो। अन्तराष्ट्रिय हवाई उडान लंगडो भयो। काम गर्ने शैली सधैका लागि परिबर्तन हुने देखियो। मान्छेहरु भिडमा होइन एकान्तमा रमाउनु पर्ने स्थिति देखा पर्यो।विदेशबाट घर फर्केका मान्छेहरु होस् या एउटा प्रदेशबाट अर्को प्रदेश प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्ने काम भयो। सरकारी स्कुलहरुलाई क्वारेन्टाइन बनाइयो। आफु पढ्ने स्कुलमा संक्रमितहरुलाई राखेको सुन्दा बिध्यार्थीहरुलाई कस्तो मानशिक असर पर्छ होला त्यो सायद कसैले सोचेहोला। सोच्थे पनि किन? आफ्ना छोराछोरीहरुलाई निजि स्कुलमा पढाउछन निर्णायक मन्डलहरु। कति समयसम्म भाइरस जीवित वा  सक्रिय रहन्छ भन्ने बैज्ञानिक आधारहरु नभैसकेको अवस्थामा बिद्यालयमा संक्रमितहरुलाई राख्नु उचित हुदैनथ्यो। उनीहरुलाई अस्थाई टहराहरु बनाई राख्न सकेको भए उत्तम हुन्थ्यो। काठमाण्डौमा पैसा हुनेहरु दिनको पन्द्र बिश हजार तिरेर तारे होटललाई क्वारेन्टाइन बनाए। पैसा नहुनेहरु कतै गाई गोठ त कतै छाना चुइने स्कुलहरुमा। उनीहरुलाई ब्यबस्थिक गर्न नसक्नु पनि स्थानीय निकाएको मात्रै नभई केन्द्रिय सरकारको पनि कमजोरी देखिन्छ। यसै मौकामा जहाज चार्टर गर्न पर्नेहरु पनि मारमा परेको सुनियो। कतिपयले डबल पैसामा प्लेन चार्टर गर्नु परेको गुनासो गरे।

कलियुग हो। कलियुगमा मान्छे महामारी, झैझगडा, काटमार गरेर सिधिन्छ भन्थे हो रैछ भन्नेहरु पनि धेरै देखिए। कतिपयले त कोरोनामाईको पुरा गरेको, स्तुति गान गाएको सम्म पनि सुनियो। बैज्ञानिकहरुले पत्ता लागाउन नसकेको, डाक्टरहरुले उपचार गर्न नसकेको रोग कतिपयले झारफुकले निको हुन्छ सम्म भन्न भ्याए। हाम्रा बहुप्रतिभाशाली प्रधानमन्त्रीले बेसार पानीले निको हुन्छ सम्म पनि भ्याए। कोरोनाको संका लाग्ना साथ बेसार पानि खानेहरु पनि धेरै भए चाहे ति अमेरिकाको न्युयोर्कमा बस्ने नेपालि हुन् या क्यानाडाको टोरोन्टोमा। गाँउका मान्छेहरु अन्धविश्वासी हुन्छन भन्नेहरु पनि कोरोनामाईको पुजा गरेको सुन्दा के शहर के गाँउ जताततै कोरोनाको सन्त्रास छायो। विश्वका शक्तिशालि राज्यहरुको समेत हावा टाइट गर्न सफल भयो कोरोना।

बर्षदिन पुग्न लागिसक्यो कोरोनाले  साम्राज्य बिस्तार गर्न लागेको। लगभग १. १५ मिलियन मान्छेहरु कोभित -१९ को कारणले ज्यान गुमाइसके। अझै सम्म मान्छेहरुले उत्साहजनक जित हात पार्न सकेका छैनन।  कहिले र कसरि जित हात पर्छ त्यो पनि भन्न सक्ने स्थिति छैन। अहिले सम्मको इतिहास हेर्दा ठुलो क्षति बेहोरेर पनि मान्छेले जितेको रेकर्ड छ। ४३० BS को प्लेग अफ एथेन्स पाँच बर्ष सम्म लगभग १००,००० मान्छेको ज्यान लिएको थियो। १६५-१८० AD मा एन्टोनिया प्लेगले रोमन साम्राज्यमा पचास लाख भन्दा बढी मान्छे मारेको थियो। १३४६ -१३५३ सम्म फैलिएको 'ब्ल्याक डेथ' नामक महामारीले २५ मिलियन (लगभग युरोपको एक तिहाई जनसंख्या) घटाएको थियो। १६औ सताप्दिमा फैलिएको 'द अमेरिकन प्लेग' नामक महाँमारिले झन्डै ९० प्रतिशत आदिबाशि समुदायका मान्छेहरु मारेको थियो। सन्  १९१८-१९२० सम्म फैलिएको 'स्पेनिस फ्लु'ले ५०० मिलियन मान्छेको ज्यान लिएको थियो।सन्  १९८१ मा शुरु भएको  एच आई भी एड्सले अहिलेसम्म ३५ मिलियन मान्छेको ज्यान लिईसकेको छ।  त्यस्तै अरु पनि थुप्रै महामारिहरु झेल्दै र परास्त गर्दै आएको छ मान्छेले। यसरि सरसर्ती इतिहाँस हेर्ने हो भने अझै पनि दुइचार वर्ष कोभित-१९ले संसारभरी उदण्ड मचाइरहने कुरामा दुईमत छैन। 

यस्तो जटिल परिस्थितिमा राज्यको दाइत्व के? हामि सर्बसाधारण जनताको दाइत्व के?  भन्ने बुझ्नु अतिआबश्यक छ। यस्तो अबस्थामा राज्यको दाईत्व भनेको महामारीलाई रोक्न र कम गर्नको लागि केन्द्रिय सरकार, प्रान्तीय सरकार र स्थानीय तहका निकाएहरुलाई एकताबध्द  बनाएर रोगको रोकथाम तथा नियन्त्रणमा काम गर्नु हो। साथसाथै  जनताको जिबन रक्षा गर्नु  उसको प्रमुख कर्तब्य हो।  यदि 













Thursday, June 4, 2020

परिबर्तन


रगत सबैको रातो हुन्छ भन्दैमा
छाला सबैको उस्तै हुदैन
अधिकार सबैको बराबर हुन्छ भन्दैमा
आधार सबैको उस्तै हुदैन
मान्छे सबै  समान हुन् भन्दैमा
बुद्धि सबैको समान हुदैन
गाँस, बाँस र कपास भन्दैमा
मानो र छानो सबैको समान हुदैन

बलियोले निर्धोको घाँटी
रेटेको रेटै छ उहिले देखि
कहिले बल
कहिले बन्दुक
कहिले भोट
कहिले नोट
चलायमान छ यहाँ
कानुन बन्छ निर्धोलाई
बन्दुक ताक्छ निर्धोलाई
हातकडी र जेल निर्धोलाई

संबिधानमा अधिकार समान
कानुनमा न्याय समान
किताबमा जाति, धर्म र भाषा समान
चुनाबमा धनि गरिब समान
काले र गोरे समान
निच र उचो जाति समान
सबै देशको गरिमा समान

तर बास्तबिकता भने फरक फरक
अधिकारमा आधिकारिकता फरक
न्यायमा पहुच फरक
किताब र समाजमा ब्याबहार फरक
रंग रंग जाति जातिमा फरक
शक्तिशाली र शक्तिहिन देशहरुमा फरक

त्यसैले त कालेलाई घाँटी थिचेर मरिन्छ
दलितलाई खोलामा हेलेर मारिन्छ
तोराबोरामा बम खसालिन्छ
नालापानी र लिम्पियाधुरामा सिमा मिचिन्छ
कोरोनाले काले, मजदुर र गरिब मोर्छन्

त्यसैले रगत रातो भएर हुदैन
तातो पनि हुनु पर्छ
नम्र भएर न्याय पाइदैन
 लडाई पनि लड्नु पर्छ
इतिहास खोलेर हेर
परिबर्तन त्यसै भएको छैन  हेर
कैयौ जिबन शहिद बनेको छ