Wednesday, March 29, 2023

को थियो ऊ ?

 ऊ मेरो ठ्याक्कै अगाडिको सिटमा बसेको थियो। कानमा हेड्सेट, हातमा मुबाइल र काखमा मैलो स्कुले झोला थियो। कालो हुडी र त्योमाथि कालै भुक्क फुलेको ज्याकेटको टोपीले टाउको घुप्लुक्क ढाकेको ऊ आफ्नै सुरमा टाउको तलमाथि गराइरहेको थियो। माहुरीले टोकेर सुन्निय जस्तै देखिने आँखा, टिलिक्क टक्किने कालो छाला, र सेता दाँत गरेको उसको अनुहार अलि अध्यारोमा दाँत नदेखेसम्म छुट्याउन गार्हो पर्ने थियो। 

यात्रुहरु खचखच् भरिदै थिए। उसले भने आफ्नो साइडको सिटमा झोला राखेर अरुलाई बस्न दिएन। मान्छेहरु सिट नपाएर उभिरहेका थिए। उडबाइन स्टेसनमा ट्रेन रोकियो। यात्रुहरु झर्ने भन्दा चड्ने धेरै थिए। त्यहि भिडमा करिब पन्द्र सोह्र बर्षकी केटी सरासर पछाडी आई। सिटबाट झोला उठाई र बसी। केटाले फोनतिर घोप्टिएको अनुहार उठायो र केटीतर्फ हेर्यो। केटी उसलाई हेरेर मुसुक्क हाँसी। गोरो छाला, खुल्ला छोडेको कैलो कपाल, चिटिक्क पारेर मिलाएका आँखीभौ र परेलीले उसलाई कतै पुतली झैँ फुरफुर उढ्छे कि झैँ देखाएको थियो। हाँस्दा माथिल्लो पट्टिको दुइवटा दाँत बिचमा थोरै ग्याप देखिन्थ्यो। गाला पुक्क उठेका थिए। छातीमा  जवानीको प्रमाण पत्र प्रष्ट देखिने गरेर झुन्डिएको थियो। 

उसले केटाको टाउकोबाट हुडी हटाई र कानको लोतिमा समातेर तलतिर तानी। त्यसपछि केटाले कानबाट ठेटी निकाल्यो, कामुक नजरले केटीलाई हेर्यो। संगसंगै उसले केटीको हात समात्यो। केहीबेर पछि उसले हात छुटायो र पुन आफ्नो ज्याकेटको खल्तीमा हाल्यो। केटीले उसको झोला भित्र हात छिराई र एउटा खैरो प्याकेट झिकी र आफ्नो झोलाभित्र राखी। ट्रेन आफ्नै सुरमा कुदिरहेको थियो। यात्रुहरु आफ्नै धुनमा हराइरहेका थिए। ट्रेन भिक्टोरिया पार्क स्टेसनमा एकैछिन रोकियो। केटी केटालाई बाई भन्दै हतार हतार ट्रेनबाट बाहिर निस्की। केटाको झोलाले पुन: सिट ओगट्यो। 

ट्रेनको ढोका बन्द हुँदै गर्दा एक जना अधबैसे केटो हुत्तिदै भित्र पस्यो। कट्टुसंगै गाँसिएको धोक्रे जिन्स लगाएको उ ल्याटिनो मुलको झैँ देखिन्थ्यो। जिङ्ग्रिङ्ग परेको कपाल, महिनौ सम्म नधोएको जस्तो अनुहार र पहेला दाँत गरेको ऊ अन्दाजी बिस बाइस बर्ष जतिको थियो। ऊ  सरासर त्यहि केटाको नजिक गयो। खुट्टाले उसको अगाडी चारपल्ट सम्म प्याट प्याट गर्दै भुइमा ठोक्यो। बसिरहेको केटाले टाउको उठायो र सिटबाट झोला उठायो। केहीबेरपछि उनीहरुले झोला साटा साट गरे। ब्रोडभिउ स्टेसनमा ऊ झर्यो। प्रत्यक स्टेसनमा मान्छेहरुको चढ्ने र झर्ने क्रम जारि थियो। जाडोले गर्दा मान्छेहरुले सम्पूर्ण शरीरलाई लुगै लुगाले बेरेर यात्रा गरिरहेका थिए। ट्रेनले मान्छेहरु हैन कपडाको थुप्रो बोकेर हिंडेको हो कि झैँ लाग्थ्यो। 

त्यहाँ बसेका नब्बे प्रतिशत मान्छेहरुको  आँखा उनीहरुको मुबाइल फोनमा घोप्टिएका थिए। 


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home