Tuesday, April 23, 2024

 विश्व पुस्तक दिवसको दिन विवेक ओझाको ऐठन पढेर सके। पढ्दै गर्दा बीच बीचमा रिंगटा लाग्ला झैँ बनायो।बिचैमा छोडौ झैँ नभएको पनि हैन। तर लेखकले कठालोमा समातेर अन्तिमसम्म नपुर्याई छोडेनन्। पढ्न झ्याउ लाग्यो भने धेरै किताब बिचमै छोडिन्छ। तर ऐठन झ्याउ लागेर हैन। डर लागेर हो। प्राकथनको दृष्य नै यति बिभत्स देखाइन्छ कि अगाडी झन् कस्तो होला भन्ने डर र कौतुहलता संगसंगै आउछ। कथाको  मुख्य पात्र बबनकुमार एक भब्य अस्पतालमा सिन्जोफ्रेनिया नामक मानशिक रोगको उपचार गराइरहेको हुन्छ। त्यो बेला उसले महाभारत पढ्ने गरेको हुनाले सपनामा ऊ कुरुक्षेत्रको लढाईमा घाइते हुन्छ। उसका दुवै हात गिडिएर भुइमा लढिरहेको अवस्थामा चिल आएर उसको छातीमा बस्छ। धपावस भने दुवै हात छैनन्। उसले निरिह भएर मृतु कुर्दै गर्दा चिलले ऊ संगैको लासको आखाँमा तिखो चुच्चोले घचघच पारेर नसासँगै डल्लो निकाल्छ। त्यो दृश्यले मलाई भनन रिंगटा लाग्ला झैँ बनायो। यस्तो विभत्स चित्र कसरि कल्पना गर्न सकेका होलान लेखकले भन्ने लाग्यो। अर्को मनले सोंच्यो लेखकले त कल्पना मात्र गरे, तर युद्दको बेला यस्ता घटनाहरु कल्पना हैन सत्य थिए। किताब पढ्दै जाँदा यस्तो लाग्यो कि युद्दको बारेमा लेखिएका किताबका पानाहरुमा मृतकका आत्माहरु लुकेर बसेका हुँदारहेछन।जब पाठकले पढ्छन, ति आत्मा जीवित बन्छन र पढुन्जेल पाठकलाई आफै मृतुको भयङ्कर कथा सुनाएर तर्साइरहन्छन । 

दाङ्गमा भएको दोहोरो भिडन्तमा बबनसिंहले श्रीमती उर्मिला र छोरा प्रल्हादलाई एकैचोटी गुमाउन पुग्छ। त्यो पनि बैबाहिक बर्षगाँठको दिन। आँखै अगाडी छोरालाई छापामारहरुले जिउदै गाडीदिन्छन  र उसलाई बन्दी  बनाउछन। बन्दी बनाइसकेपछि आफूसंगै लिएर जान्छन। यसरि छापामारको टोलिसंग हिड्दै गर्दा उसले कैयन क्रुर र अमानबिय बिभत्स घटनाहरु देख्न पुग्छ। कतै गाँउले महिलाहरु छापामारका कमान्डरहरुबाट बलात्कृत हुन्छन भने कतै राज्यको सेनाबाट। कैयौ युद्दबन्दीहरुलाई दुवै पक्षका सेनाहरुले चरम यातना दिएर मार्छन। रुखमा बानेर हातखुट्टा गिड्ने, ढुङ्गाले खुट्टा थिच्दिने, बानेर भीरबाट खसाल्ने, बन्चरोले छप्काउने जस्ता दृश्यहरु यत्रतत्र छन्। ज्वाला नाम गरेको छापामार कमान्डरले एक प्रहरी बन्दीलाई छातीमा भालाले चिरेर, हात गिडेर खुर्सानीको धुलो सम्म हालेको दृश्यले कमजोर मुटु हुनेलाई सुताउन बेर लाग्दैन। यी सबै दृश्यहरुको प्रत्यक्षदर्शी बबनले आफुपनि कतिबेला त्यस्तै गरि मोर्नु पर्ने हो भन्ने डरले छटपटीरहेको हुन्छ । राज्यका सैनिकहरुले आफु तथा आफ्नो परिबार प्रति गरेको ज्याजतिको बदला लिनकै लागि कतिपय बिद्रोही पार्टी भित्र  प्रवेश गरेका हुन्छन। तिनै मान्छेहरु झन् क्रुर बनेको यथार्थलाई देखाएका लेखकले देखाएका छन्। बन्दी बनाइएको गोकुल पछि छापामारमा लागेर सबैभन्दा क्रुर नरभंशी बन्न पुग्छ। 

कथाको कलाइमेक्स आछामको सदरमुकाम मगलसेन आक्रमण हो जस्तो लाग्यो मलाई। त्यहाँ पुगुन्जेल बबन्सिङ्ग छापामारकै एक हिस्सा बन्न पुग्छ। त्यहाँ उसलाई घाइतेहरु ओसार्ने जिम्मा दिइएको हुन्छ। त्यो घटनाको दृश्य महाभारतमा बर्णन गरिएको कुरुक्षेत्रको भन्दा विभत्स हुन्छ। बुको चिउरा खाएर सलह झैँ छापामारहरु आर्मी क्याम्पभित्र प्रवेश गर्छन र अन्ध धुन्द आक्रमण गर्छन। त्यहाँ सुतिरहेका, आत्मसमर्पण गरेका सबै सैनिकहरुलाई उनिहरुले लाइन लगाइएर गोलिले उडाउछ्न। त्यतिमात्र नभई दरबारमा रहेका कर्मचारीहरु समेतलाई बन्चरोले दाउरा चिरे झैँ टाउको चिर्छ्न। जिउदोलाई मारे मारे, मोरिसकेकालाई पनि चिन्न नसकिने गरि लाशलाई क्षतविक्षत बनाउछन। त्यो दृष्य कम्बोडियाको पोलपोटको जेनोसाइट, हिटलरले  ग्यास चेम्बरमा हालेर  यहुदीहरू पोलेको तथा इदिअमिनले मान्छेहरुको  मुटुकलेजो खाएको दृश्य भन्दा कम थिएन। 

 उपन्यासको अन्त्यतिर लेखकले यस्तो समाजको कल्पना गरेका छन् जहाँ भात खानु पनि मान्छेहरुको लागि ठुलो कुरा हुन्छ। रेस्टुरेन्टमा मान्छेको माशुबाट बनेका परिकारहरु पाइन्छन। हरेक मान्छेहरुमा केहि न केहि खोट हुन्छ। कसैको हात हुदैन, कसैको खुट्टा, कसैको कान त कसैको आँखा। मार्गरेट आटउडको 'हेन्डमेडस् टेल" उपन्यासको आधारमा बनाइएको टेली सिरिज यस्तै भिभत्स दृश्यले गर्दा मैले पुरै नहेरी बिचमै छोडेको थिए। यसमा युद्धको असरले गर्दा सिर्जेको समाजमा महिलाहरुलाई बच्चा जन्माउनकै लागि बन्दक बनाएर चरम भन्दा चरम यातना दिइएको दृश्यहरु देखाइएको छ। यो किताबलाई युएस तथा क्यानाडाका धेरै स्कुलहरुमा ब्याण्ड समेत गरिएको छ। ओझाले यो उपन्यासमा युद्दको ट्रमाले गर्दा बबन्सिहको दिमागमा परेको असर र थेरापिस्ट संग कुरा गर्दा उसले सम्झेको घटनाहरुको बर्णनलाई शुरुदेखि नै समानान्तर किसिमले अगाडी बढाएका छन्। यो प्रयोग आफैमा चुनौतीपूर्ण पनि छ। उनै  क्यानेडियन लेखिका  मार्गरेट आटउडले अर्को विश्व प्रशिद उपन्यास "एलिस ग्रास" मा यो शैलीको प्रयोग गरेकी छन् जसमा उपन्यासको मुख्य पात्रले थेरापीष्टसंग बिगतमा भएका बिभत्स घटनाहरुको  बर्णन गर्दछिन। 

लेखकले बिषयबस्तुलाई रोचक किसिमले प्रस्तुत गरेका छन्। युद्धको नेचरको बारेमा बर्णन गर्न चेस खेलको एनालोजी प्रयोग गरेका छन्। बिद्रोही संगठनको  राजाको लागि छापामारहरु सैनिक र दरबारको राजाको लागि शाहीसेनाले ज्यान आहुति दिन परेको अथार्थ चित्रण गरेका छन्। त्यो बाहेक उनले बिचबिचमा कतै मिथक प्रयोग गरेका छन् भने कतै यौन मनोविज्ञान घुसाएका छन् जसले गर्दा कथा बाचन रोचक बनेको छ।एकदिन राति बबनसिंहले सपनामा उर्मिलासंग छोरा प्रल्हादको बारेमा सोध्छ। उर्मिलाले छोराले समग्र आधुनिक हतियारलाई निस्तेज पार्ने मेशिन हो या शुत्र बनाउदै छ भन्छिन्। यसले के देखाउछ भने लेखकले प्रल्हादलाई भविष्यको एक आशाको प्रतिकको रुपमा प्रतुत गरेका छन्। उनि चाहन्छन भविष्यमा कुनै यस्तो प्रविधिको बिकास होस् जसले सम्पूर्णखाले हतियारलाई निस्तेज पार्न सकोस। तर यस्तो गम्भीर कुरा गर्दा गर्दै उट्पट्याङ्ग पनि  फ्याट्ट घुसाउछ्न कि उर्मिलाले कुरा गर्दा गर्दै उसको गुप्ताङ्गलाई च्याप्प समातेर भन्छे ,' साइन्स मास्टरको छोरा ठ्याक्कै बाउजस्तो छ। के सोंचेर घोच्याथेउ कुन्नि ?"  यस्तै यस्तै कुराहरुले कैयौ पल्ट आँशुलाई बिचमै रोकेर खित्का छोडेर हँसाउन समेत सफल छन् लेखक। 

समग्रमा यो उपन्यास युद्धको बिरुद्दमा तथा शान्तिको पक्षमा उभिएको स्तम्भ हो। धर्मयुद्ध, विश्व युद्द तथा गृहय युद्द जेसुकै भएपनि त्यसले गरेको जन धनको तुलनामा त्यसका उपलब्धिहरु नगन्य हुन्छन। यदि दशबर्षे जनयुद्दको परिणाम राम्रो हुन्थ्यो भने आजको नेपालि समाज यति कुरुप हुदैनथ्यो। लेखकले उपन्यासको अन्यमा सिर्जना गरेको 'डिस्टोपियन' समाज जस्तो हुदैनथ्यो। युटोपियन समाजको कल्पना गरेर शुरु भएको माओबादी द्वन्दले आखिर अपाङ्ग समाजको निर्माण गर्न पुग्दछ। 

भाषा उत्कृष्ट छ।घटनाहरु काल्पनिक हुन् या सत्य तथ्यको आधारमा लेखिएका हुन् त्यो लेखक आफैलाई थाहा होला। यो इतिहाँस हैन, उपन्यास हो। इतिहाँस शक्तिको बलमा लेखिन्छ। सत्य तथ्य आबश्यकता अनुरुप तोडमोड गरिन्छ। यसमा बिम्बहरुको प्रयोग बेजोड छ। पढ्दै जाँदा युद्दको बारेमा बनाइएका डकुमेन्ट्री वा कुनै हलिउडको सिनेमा हेरे झैँ लाग्छ। उपन्यासको अन्त्यतिर लेखक कतै अलमलाएका हुन् कि जस्तो भाँन भयो मलाई। तर मैले कुरो नबुझेको पनि हुन सक्छ। चन्द्रकलाको कथा अलि बढी नै हाइपोथेटिक  भयो कि भन्ने लाग्यो। समग्रमा यो  उपन्यास दमदार छ।  त्यसैले त  "ऐठन" ले विसं २०७९ को मदन पुरस्कार समेत जित्न सफल भयो। पढ्नेको मुटु काप्यो, लेख्नेको हात काप्यो कि काँपेन होला भन्ने पढुन्जेल लागिरह्यो। 







0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home