Sunday, May 30, 2021


कहिल्लै भुल्न नसकेको रात्रि बसको यात्रा 

रातिको दश बजिसकेको  थियो । वामीटक्सारबाट बुटवल जादै गरेको लु ए क २५२५ नम्बरको बस जलगैडा  झैँ मजुवा खोलाभित्र पस्यो। बस धुलोले पुरै छोपेको थियो। खोलाको संग्लो पानि एकैछिनमा धमिलियो।  बस भित्रका यात्रीहरुको परेला, आँखी भौ र टाउकोको रौ बाटो तलमाथिका बोट बिरुवा झैँ धुलोले लपक्कै ढाकेको थियो। कसैको पनि असली अनुहार देखिदैनथ्यो। खोला तर्दै गर्दा बस कहिले दायाँ त कहिले बाँया ढलफल ढलफल गर्दै अघि बढिरहेको थियो। 

बसको एक नम्बरको सिटमा काखमा झोला च्यापेर झ्यालबाट बाहिर हेर्दै बसेको  थिएँ म । त्यसैबेला कसैले मेरो दाँया पाखुरीमा च्याप्प समात्यो। एकैछिनमा ति हातहरु बिस्तारै त्यहाँबाट हटे। म झसङ्ग भए। मुन्टो घुमाएर दाँयातर्फ हेंरे। भर्खरै मजुवा बजारबाट चढेकी एक  अपरिचित यात्री थिइन् उनी। राम्रो सँग मुख समेत नदेखाएकी ति युवती कलेजी रङ्गको पछौराले टाउको पुरै छोपेर  मेरो छेउको सिटमा बसेकी थिईन। एकदम शान्त र मौन थिइन् उनी । त्यसपछि मैले  उनको अनुहारमा हेर्ने कैयौ कोशिस गरे। कसै गरे पनि उनको मुहार  देख्न सकिन। उनी ढोकातिर फर्केर बसिरहिन्। 

यदि अपरिचित ब्याक्तिलाई झुकिएर छोइयो भने सबभन्दा पहिले 'सोरी भन्ने शब्द प्राय सबैको मुखबाट निस्किने गर्छ। सायद मैले पनि त्यहि शब्दको अपेक्षा गरेको थिएँ  होला ? तरपनि खै किन किन उनि असभ्य होलिन झैँ पटक्कै लागेन। चिटिक्क परेकी युवती छेउमा बस्दा तरुण मन रोमाञ्चित नहुने त कुरै भएँन। अनुहारै नदेखे पनि एउटा सुन्दर रुपको चित्र मेरो मस्तिकमा बसिसकेको थियो। गोरो छाला, डिम्पल परेको गाला, चिटिक्क परेको नाक, लामा लामा परेला भित्र हाँसिला आँखा र छातीमा लुकेका एकजोर मार्फाली स्याउ। यस्तै यस्तै कल्पना गर्दै बस चोरकाटे पुगेको पत्तै भएन। बजारको पल्लो छेउको एउटा भट्टी अगाडी पुगेर बस रोकियो। 

'ल ल भात खान झर्नुस। तातो तातो मासु भात खानुस,' भन्दै बसको सहयोगी ढोकामा उभिएर चिच्याउदै थियो। मान्छेहरु पहिले देखि नै गल्लीमा उभिएका थिए। एकै छिनमा बस खालि भयो। त्यसपछि दुवै खुट्टा गल्लितिर फर्काएर ति युवतीले मलाइ बाहिर निस्कने बाटो दीइन। 

'तपाई नझर्ने ?', मैले सिटमा उठेर सोधेँ।

कुनै प्रतिक्रिया आएन। म सकेसम्म उनलाई  नछोइकनै सिटबाट निस्कने कोशिस गर्दै थिएँ। तरपनि उनको नरम जंघासंग संग मेरो घुँडा छोइन पुग्यो। मैले 'सोरी ' भने। तर  कुनै रेस्पोन्स आएन। सबै यात्रुहरु झैँ म पनि थकाली भान्सा घर भित्र छिरे। हात धोइहुरि बाटोतिर फर्केर टेबुलमा बसे। बस्दै गर्दा मनमनै सोंचे 'ति युवती आएर यहि टेबुलमा बसेपनि हुन्थ्यो।

तर उति नै बेला अर्कै भ्यात्त भुँडी उछिट्टियको अधबैसे आएर मेरो अगाडी बस्यो। गोजीबाट सिसि निकाल्यो। एकछिन हल्लायो र क्र्याक्क पार्दै बिर्को खोल्यो। रक्सीको गन्ध नाकैमा  आएर ठोक्कियो। नमिठो तरिकाले ठुस्स गनायो। एकैछिनमा होटलकी रुपवती नानीले भात र खसीको मासु ल्याएर टक्राइन। भोकले तिरिमिरी झ्याई पारिसकेको थियो। दायाँ बायाँ नहेरी एकैछिनमा भात तुरे र बाहिर निस्केर बाटोको छेउमा उभिए। 

धेरैबेर पछि ति युवती पनि बसबाट झरिन । करिब पाँच फुट चार इन्च अग्ली उनी  तिघ्रा टपक्क समाएको रातो कुर्तामा औसत केटीहरुभन्दा धेरै राम्री देखिएकी थिईन। सबैका आँखा उनीमाथि घोप्टिएका थिए। हेर्दा हेर्दै उनी  ठिक पारिपट्टिको एउटा पशलमा छिरिन। एक पोका लेज र एक बोतल पानी किनिन्। 

सबै यात्रुहरुले खान खाइसकेपछि बसको कन्डक्टरले सबैलाई बसभित्र जान आग्रह गर्यो। एकैछिनमा सबैजना बसभित्र छिरे। युवतीले सायद मलाइ अगाडी  जावस भन्ने चाहन्थीन्  होला, उनी  अर्कोतिर फर्केर उभिएको देखे। मेरो सिट झ्यालतिर भएकोले पनि म अगाडी बसमा छिरे। त्यसपछि बल्ल उनि छिरिन तर कसो कसो गरेर आफ्नो अनुहार नदेखाई सिटमा बासिन।

 हाम्रो ठिक माथि सानो टिभी थियो। कन्डक्टरले  एउटा पुरानो हिन्दि फिल्म 'भुलभुलैया' लगायो। सबैले टिभीमा आँखा गाडे। मैले पनि अप्ठ्यारोसंग माथि फर्केर हेरिरहेको थिए।  तर ति युवती भने सलले पुरै टाउको घुप्लुक्क ढाकेर आफ्नो सिटमा गुटुमुट परेर सुतिन। फिल्ममा  अक्षकुमार र अमिसा पटेलको लिड  रोल थियो। हेर्दै जाँदा पो थाहा भयो यो त एक खालको 'हरर सिनेमा' रहेछ। भुतमहलमा कसैको आत्माले बदला लिएको जस्तो डरलाग्दो  फिल्म। हेर्दा हेर्दै शरीरमा जिरिङ्ग काँडा पो उठ्न थाल्यो। मैले पनि हेर्न छोडे बिचैमा। बस कतिबेला साघाट कटिसकेछ पत्तै भएन। 

रिडी पुग्ने पुग्ने बेलामा गुरुजीले गाडी रोके। सबैजना पिसाब फेर्न निस्किए। मेरो छेउमा सुतेकी ति युवती चलमल गरिनन्। दुइ पल्ट सम्म 'एक्स्क्युज्मी' भने अँह उनि चलमलाइनन्। अलि अलि लागेको पिसाब च्यापेर सिटमै बसे। केहीबेरमै सबैजना पुन: बसभित्र छिरे। गाडी ढलफ़लाउदै ओरालो लाग्यो। रिडी बजारका केहि भट्टीहरु बाहेक सबै सुनसान थियो। बसपार्कबाट केहि मान्छेहरु बसमा चढे। धेरैबेर नरोकी बस अगाडी बढ्यो। कन्डक्टरले टिभी बन्द गर्यो। भित्रको सबै लाइट अफ गर्यो। सबैजना आफ्नो सिट ढल्काउदै सुत्न थाले। 

मैले पनि झोलाबाट टाबेल झिके र मुख ढाकेर झ्यालमा मुन्टो अडाएर सुते। एकैछिनमा मेरो काधमा भारि महशुस भयो। मुन्टो उठाएर हेरे। ति युबतिको टाउको मेरो काँधमा अडिएको थियो। अनुहार अझै पनि ढाकिएकै थियो। मनमनै सोंचे 'सल खोलेर अनुहार त हेरु।  अध्यारोमा अरु कसैले देख्ने पनि होइनन्। बिस्तारै दाहिने हाँत माथी उठाएँ। खै मनले के सोच्यो उठेको हातलाई सिरानी बनाएर पुन आँखा चिम्ले।  

बस अर्गलीबाट उकालो चढ्दै गर्दा चिसो सिरेटो झ्यालका चरचरबाट ठेलमठेल गर्दै भित्र पस्यो। ति युबतिको टाउको अझै मेरो देब्रे कुममाथि अडिएको थियो। सोचें 'काखमै सुताईदिऊ कि? बोलाउदा समेत नबोलेकी अपरिचितलाई कसरि काखमा सुताउनु?  निकै असमन्जस्यमा पर्यो मन। हात बिस्तारै लगेर उसको थाइमाथि राखें। चिसो हात एकैछिनमा रनक्क तात्यो। बस हार्थोकमा पुगेर रोकियो।

बस रोकिनासाथ दुइजना मान्छे पुलिस बर्दीमा हातमा बन्दुक बोकेर भित्र छिरे। मैले हत्तपत्त केटीको थाईबाट हात झिकें। 

'बत्ति बाल', अग्लो अग्लो सिकुटे पुलिसले राता राता बल्ढ़ेङ्ग्रे आँखा घुमाउदै भन्यो।

 बसका सहचालकले सबैतिरको बत्ति बाले। पुलिसहरु सरासर पछाडिको सिट सम्म पुगे। सबैको अनुहारमा अपराधीलाई झैँ गरेर हेरे। ढोकैमा भएकोले हो कि किन हो, उनीहरुको नजर हाम्रो सिटमा परेन। क्याबिनतिर टर्चलाइट घुमाएर बसबाट ओर्ले उनीहरु । केहि यात्रुहरु पनि उनीहरुसंगै  बसबाट ओर्ले। एकैछिनमा बस अगाडी बढ्यो। 

बस बतासेडाँडाबाट ओरालो झर्दै गर्दा तानसेनबजारको नाइटभिजन अत्यन्त सुन्दर देखिएको थियो। भिरालो ठाउमा बसेको बाक्लो बस्ति रातमा जुनकिरी झैँ पिलपिल देखिने बत्तिहरुले  केहिबर्ष पहिले भ्रमण गरेको दार्जलिङ्ग बजारको तस्बिर मेरो मानसपटलमा झुल्कियो। सायद गाँउका मान्छेहरु उठ्ने बेला भएकोले होला पारि पारि गाँउहरुमा बत्तिहरु थपिदै थिए। हेर्दा हेर्दै तानसेन बजार पनि पछाडी छोडिएछ। 

पर्बास पुग्नै लाग्दा पछाडिबाट आइरहेको बसले जोडले हर्न बजायो। पोखरातिरबाट आएको रात्रि बस थियो त्यो।बाटो साँगुरो र घुमाउरो भएकोले गर्दा गुरुजीले बाटो दिन सकेनन्। धेरैबेर सम्म एकोहोरो हर्न बजाएकोले गर्दा गुरुजीले  बस अलिकति साइड गरेर गति कम गरे। पछाडीबाट आउदै गरेको  बस हुइकिदै अगाडी गयो। धेरै बेरसम्म हामि चढेको बस र त्यो बस अगाडी पछाडी भए।

केराबारी कटिसकेपछि एउटा निम्छरो घुम्ती बाट ड्याम्म केहि ठोक्किए जस्तो आवाज आयो। हाम्रो बसका चालकले उतिबेलै बस साइड गरेर रोके। बाटोको तलतिर बाट धुलो माथि चढ्दै थियो। भर्खरै हाम्रो अघि अघि गएको बस बाटोबाट तल खसेको पो रहेछ। 

बसका सबैजना तल झर्यौ र घटनास्थलतर्फ दौडदै गयौं। बस तल खोलामा पुगिसकेको थियो। बुटवलतिरबाट आउने र पाल्पातिरबाट जादै गरेका सबै यात्रुहरु उद्दारको लागि खोलातर्फ लागे। म पनि बल्लतल्ल तल झरे। तर स्थिति निकै भयाबह थियो। 

बस झर्दै गर्दा झ्यालबाट खसेका केहि मान्छेहरु रुखमा अड्केको अवस्थामा थिए भने कोहि ठुलै चोटले रन्थनिदै घिसृदै बाटोतिर उक्लने कोशिस गर्दै थिए। बसमा सवार यात्रुहरुमध्धे धेरैजसो बसमै अड्केका थिए। मेरो सम्पूर्ण शरीर पातिको झुसिलकिरो झैँ  काँपिरहेको थियो। म के गर्ने, कसो गर्ने कुनै मेलोमेसो पाइन। कतिपयले घाइतेहरुलाइ माथि बाटोतिर लैजादै थिए भने कसैले मरिसकेकहरुलाई बगरमा जम्मा गर्दै थिए। यस्तो बिभत्स दृश्य म सिनेमा पनि हेर्न नसक्ने मान्छे आफ्नै आँखा अगाडी देख्दा कस्तो भएहोला आफै विचार गर्नुस। 

बल्ल बल्ल म फर्केर बाटोमै पुगे। प्रायजसो सबै महिलाहरु बसभित्र थिए। म सरासर बसभित्र गएँ। रातभर मेरो छेउमा बसेर यात्रा गरेकी ति युवती त्यहाँ थिइनन्। बस भित्र तलदेखि माथि सम्म आँखा घुमाएँ,  अहँ कतै पनि थिइनन् उनी। त्यसपछि म पुन: तल ओर्ले। तीनजना सिकिस्त घाइतेहरुलाई हाम्रो बसमा हालेर बुटवल अस्पताल लैजाने कुरो बसका चालकले सुनाए।

बसको सहचालक र तिनै मेरो छेउमा बसेर यात्रा गरेकी युवतीले एकजना महिला घाइतेलाई दुइतिरबाट झ्याइकुटि पर्दै बसतिर ल्याउदै गरेको देखें। रगतले लतपतिएको ति घाइते महिलाको अनुहार हेर्न समेत सकिन मैले। रिंगटा लाग्ला झैँ भयो। तर ति युबतिको त्यो आँट देख्दा भित्रैबाट सम्मान जाग्यो। रातभर उनको बारेमा नानाथरि दृष्टिकोण एकैछिन अलाप भए। उनीहरुले ति महिला लाई बसभित्र राखेर अर्की महिला घाइतेलाई उठाउन पुन तर ओर्ले। 

धेरैबेरपछि बुटवलतिरबाट एम्बुलेन्स पनि आइपुग्यो। घिसृदै बाटोसम्म आइपुगेका र कतिपय ल्याइएकाहरुलाई बोकेर एम्बुलेन्स एकैछिनमा फर्कियो। कतिपय घाइतेहरुलाइ पाल्पाको मिसन हस्पिटल पनि पठाइयो। बाटोमा घाइतेहरुको चित्कार अझै बाँकी थियो। चालकले सबै यात्रुहरुलाई बसमा चढ्न आग्रह गरे। 

हामि पनि आफ्नो आफ्नो सिटमा बस्यौ। केहीबेर अघिको विभत्स दृश्यले दिमाग झङ्गकृत बनाइरहेको थियो।  छेउमा बसेकी युवती संग केहि त बोल्छु भन्दै उनीतर्फ फर्केर सोधे,  'बैनी कहाँसम्म होला जाने ?'

अहँ कुनै प्रतिक्रिया छैन। झनक्क रिस पनि उठ्यो 'कस्ती घमण्डी केटी रहेछ' भनेर। सिद्दबाबातिर फर्केर मनमनै भने,' एँ बाबा यी नानिलाई बोल्नेसम्म बनाइदेउ। '  मन्दिरका घन्टीहरु बज्न सुरु भैसकेको थियो। तल तिनहु नदि सुस्याइरहेथ्यो। बाटोको छेउछाउ मन्दिरतर्फ हिड्दै गरेका जोडीहरु तथा नवबिबाहित जोडीहरुको लर्को थियो। बस आफ्नै गतिमा कुदिरहेको थियो। 

गोलपार्क पुग्दा बिहानको सात बजिसकेको थियो। बसका चालकले  बाटोको देब्रेपट्टी बस रोके। सहचालक चिच्याउन थाले 'गोलपार्क झर्नुस है छिटो छिटो। बस सिधै बसपार्क जान्छ। '

ति युवतीले तनक्क घाँटी तन्कायर झ्यालबाट बाहिर हेरिन र सिटबाट उठिन। उनले मुख छोपेको सल घाँटीमा बेरिएकोले पहिलो पल्ट उनको अनुहार राम्रोसंग देख्न पाँए। हाम्रो आँखा पनि पहिलो पल्ट नै जुधे। उनि मुसुक्क हाँसिन।  लाग्यो, शिद्दबाबाले मेरो पुकार सुनेछन्।

"तिमि यहि झर्ने ?' मैले तुरुन्त प्रश्न सोधे।

उनले झोला झिकेर सिटमा राखिन र दाइने हातले कान र मुख देखाउदै मुन्टो हल्लाइन। म झसङ्ग भएँ। के भनु, के इसारा गरौ सोच्ने सकिन। रिंगटा लागे झैँ बनायो। उनले हाँस्दै हात हल्लाइन र बसबाट ओर्लिन। मैले पनि उनलाई एकोहोरो हेर्दै धेरैबेरसम्म हात हल्लाई रहे। झर्नु पर्ने गोलपार्क नै थियो मेरो पनि। होसै नपाई बसपार्क पुगेछु।   







Saturday, May 15, 2021

वाह ! मेरो सरकार, बाफरे बाफ !

गरिबीको कारणले कोही भोकै पर्दैन,

कोरोनाको कारणले कोही मर्दै मर्दैन 

यो त सरकारको प्रतिबद्धता हो

त्यसैले त,

किसानको बारीमा बिऊ, मल पुगिसक्यो 

सबैको घर घरमा

ग्यासको चुलो बोलिसक्यो 

मेलम्चीको पानि आइसक्यो 

पानिजहाज र रेल चलिसके

डाँडाकाँडाहरुमा केबुलकार झुन्डीसके 

बेरोजगार पत्तासाफ 

वाह ! मेरो सरकार

बाफरे बाफ !


मानब जिबन सबैभन्दा महत्वपूर्ण हो 

जनताको जिबन रक्षा सरकारको दाईत्व हो 

त्यसैले त बनिसके 

गाँउ गाँउमा आइसोलेसन सेन्टरहरु  

ठाँउठाँउमा अस्पतालहरु  

कन्टयाक ट्रेसिंग,

मास भ्याक्सिनेसन भैसक्यो 

अबदेखि कोरोनाले कोहि मर्दै मर्दैन 

अक्सिजनको अभाबमा कोहि ढल्दै ढल्दैन  

घाटहरूमा सामूहिक शव दहन हुने छैनन् 

प्रियजनको मृतुमा कोहि रुने छैनन्। 

वाह ! मेरो सरकार

बाफरे बाफ !


बस् अब एउटा मात्र पिर छ मलाई 

महाराजको कुर्सि नढलोस 

सक्षम  प्रधानमन्त्रि गुमाउन नपरोस

दुरदर्शी  रास्ट्रपति फेर्न नपरोस  

नेताहरुबीच चोचोमोचो चलिरहोस 

भ्रस्टचारी  जेल नपरुन 

कालाब्यापारी र तस्करहरुको

सदैब भलो भैरहोस् 

वाह ! मेरो सरकार

बाफरे बाफ !







Wednesday, May 5, 2021

किन गरी उसले आत्महत्याको प्रयास ?

                                                                        (१ )

‘दाई नमस्ते। हामीलाई त बिर्सनु भयो आजकल’, उज्यालो अनुहारमा मोति जस्तै सेता दाँत हसाउदै सोधी मनकुमारीले। एक महिला पहिले भेट्दा कुहिरोले ढाकेको थुम्को जस्तो देखिने अनुहार झलल बोलेको देखेर म पनि छक्कै परे।आन्तरिक कुराहरु धेरै थाहा नभएता पनि उसलाई डिप्रेसन भएको कुरा धेरैले सुनाएका थिए। सोमनाथ मेरो एकदमै मिल्ने साथि पनि  थियो। तर उसले यस बारेमा खासै कुरा गरेको पनि थिएन। 

‘कहाँ बिर्सनु, बिर्सेको छैन। अलि काम व्यस्तताले गर्दा भेटघाट कम भाको हो। घरि घरिको लक डाउनले गर्दा चाहेर पनि कहाँ भेट्न पाइयो र ’, मैले उसको आँखामा हेर्दै भने। उसको आँखामा पूर्ण आत्मबिस्वस देखिन्थ्यो। 

‘अब त भ्याक्सिन लगाईसक्नु भएको होला। भेटघाट गर्न त भैहाल्छ नि। यसो पस्दै गर्नुस न बिदा भएको बेला’, मनकुमारिले भनि। 

‘अनि तिमी त बिरामी थियौ रे त।  कोरोना लागेको हो कि अरु केहि नै हो ?’, मैले सोधिहाले। मेरो प्रश्नले उसलाई अलिक असहज बनायो। नसोध्नु पर्ने कुरा सोधेकी भनेर मन खिन्न भयो। 

‘हो नि दाई म बिरामी नै थिए। बिरामी पनि कस्तो भन्नु लाजैमर्दो। हस्पिटलको कामले म भित्र भित्रै डिप्रेसनमा गैसकेकी रहेछु। मलाई थाहै थिएन। सोमनाथ जी पनि बिरामी परेर हस्पिटलमा बस्नु पर्यो लामै समय। मैले पनि काम छोडे। यो बिचमा मलाई ठुलै तनाब भयो। पछि उहाँ डिस्चार्ज भैसकेपछि मलाई पुरानै काममा फर्कन अनुरोध गर्नु भयो। मैले अर्कै अस्पतालमा काम त सुरु गरे तर मेरो मानसिक अवस्था झन् बिग्रिदै गएछ। आखिर एकदिन अस्पतालमै भर्ना हुनु पर्यो’, ऊ भन्दा भन्दै रोकिई। 

‘सुरुमा त मलाई डिप्रेसन भनेको वाईघात जस्तो लाग्थ्यो, होइन रैछ। त्यसपछि निरन्तर मनोचिकित्सक संग परामर्स लिए। एन्टीडिप्रेसान्ट औषधि पनि खाइरहेकी छु। डाक्टरकै सल्लाह बमोजिम योग र ध्यान पनि गर्छु। अहिले त पुनार्जिबन मिलेजस्तो भैरहेको छ,’ ऊ मनचिन्ति खुलेर हाँसी। 

'के ले गर्दा त्यस्तो भयो तिमीलाई ? काम पनि राम्रै थियो।  परिवार पनि मिलेकै थियो', मैले सोधे। 

'देख्दा सामान्य जस्तै लाग्छ तर समयमै पत्ता लगाएर उपचार गरेन भने यो क्यान्सर भन्दा खतरा पो रैछ दाई। पहिले पहिले कसैले किन चिन्तित देखिन्छेस ?  किन तेरो मुड अफ देखिन्छ?  भन्दा खासै वास्ता पनि गरिन। बुढा, छोराछोरिसंग उल्टै झगडा गरे। तर यो त बेलामै थाहा भयो भने प्राकृतिक उपायहरु अपनाएर पनि निको हुदो रैछ। तर पछि अलि धेरै नै गाह्रो हुदो रैछ। मैले त रेगुलर औषधि खाइरहेकी छु।अब खानु पर्दैन भनेको छ।  मैले त पुनर्जिबन पाएँ दाई।  केनेडी स्टेसनमा हेल्प लाइन नभएको भए, सायद आज हाम्रो भेट हुने थिएन', उसले हाँस्दै भनी।  

अलि अलि लेख्न रहर गर्ने मान्छे म त्यो दिन  मनकुमारीको बारेमा एउटा कथा नै लेख्नु पर्ला  भन्ने लाग्यो। बेलुका सोमनाथलाई भेट्ने निहुमा उनीहरुको घरमा गएँ।  झन्डै आधाघण्टा उनिहरुसंग बसेर धेरै कुराहरु खोतलें। उनीहरुको अनुमतिबिना लेख्न उपयुक्त लागेन र सोधे लेखौ कि नलेखौ भनेर। दुवैजनाले मज्जाले हाँसेर 'हुन्छ' भन्नुभयो।  घरमा फर्केपछि तुरुन्त कम्प्युटरमा बसेँ । 


                                                                           (२ )

‘एक दिन होइन दुइ दिन हैन, बर्षौ बर्ष यसरि कसरी चल्छ? तिमि आफै भन मकु ।  तिमि ग्यारेजमा सुत्न थालेको पनि झन्डै डेढ बर्ष पुग्न लागिसक्यो। छोराछोरीले तिम्रो न्यानो काख नपाएको कति भयो? विदेशमा यसरि जागिर थाम्न कै लागि कतिदिनसम्म हामि अलक अलक बस्न सक्छौ ?’ सोमनाथले झर्किदै भन्यो।  

मकु अर्थात् मनकुमारी केहि प्रतिक्रिया नदिई त्यतिकै उभिरही । उसको अनुहारमा अन्योलको भाब प्रष्टै देखिन्थ्यो।पाँच बर्ष अघि क्यानाडा आएकी ऊ योर्क युनिभर्सिटीबाट नर्सिङ्ग पढेर टोरोन्टो अस्पतालमा काम सुरु गरेकी छ। स्थाई नियुक्ति लिएकै महिनाबाट कोरोनाको महामारी फैलियो। दिनहुजसो संक्रमितहरुको सेवामा खटिनु पर्दा, ऊ अलग्गै ग्यारेजमा आफ्नो कोठा बनाएर बस्न थाली। सुरुसुरुमा त दुइचार महिनामा सबै ठिक होला भनेर पनि लोग्ने ले काम छोड भन्दा पनि उसले मानिन। बल्ल बल्ल दुख गरेर पाएको जागिर आत्तिएर छोडिहाल्न पनि भनेजस्तो सजिलो थिएन। 

उनीहरुको सात बर्षको एउटा छोरी र पाँच बर्षको एउटा छोरा छ। ऊनिहरु  बाबासँग सुत्न थालेको पनि एक बर्ष बितिसकेछ। सोमनाथ टोयोटा कम्पनीमा सिस्टम अनालिस्टको  काम गर्छ। एकबर्ष देखि उसको काम पनि घरबाटै हुन्छ। बिहान उठेर ब्रेकफास्ट बनाउने, छोरीको लागि अनलाइन कक्षाको तयारि गर्ने, खाना बनाएर बुढीको लागि लन्च बक्समा राखिदिने, घरको सरसफाई गर्ने र अनलाइनमा बसेर अफिसको काम गर्ने उसको बर्षदिन यताको दैनिकी जस्तै भैरहेको छ। 

‘हेर मकु! घरबाटै काम गरेपनि मेरो पुरा तलब आएकै छ। भाडाबाट अलिअलि थपथाप गरेर मोर्गेज तिर्न पुगिहाल्छ। दुइचार महिनामा अलिकति साम्य भयो भने खोजौला जागिर। त्यतिन्जेलसम्म इमर्जेन्सी भत्ता आयो भने ठिकै छ। आएन भने पनि गुजारा चलाउला। यसरि अलग अलग भएर म  चाँही बस्न सक्दिन’,सोमनाथले झर्केको स्वरमा भन्यो। 

‘यतिका महिना काम गरिसके। अब दुइचार महिनामा  बिरामीहरुको संख्या पनि अलिक घट्छ। मैले पनि भ्याक्सिन लगाइसकेकी छु । त्यसपछि संगै बस्न पनि मिल्ला। यस्तो बेलामा काम छोड्नु मानबिय हिसाबले पनि ठिक होइन। हजुरले त्यसो भन्नुभयो भने मेरो आत्मबल झन् खस्किन्छ।’

‘आत्मबलको कुरा हैन काम छोडिदेउ भनेको। तिमीलाई मैले पहिले नै भनेको थिए नर्सिङ्गको सट्टा कुनै अरु कोर्ष  गर भनेर। बेलामा मैले भनेको कुरा मानेको भए तिमीलाई पनि सुख हुन्थ्यो, मलाई पनि हाउसवाइफ बन्नु पर्थेन। मलाई दिनदिनैको घरको कामले  गर्दा गर्दा दिक्क लागिसक्यो।’

‘हजुरले बुझेर पनि कस्तो नबुझे जस्तो कुरा गरेको। हजुरलाई गाह्रो भयो भने  डे केयरमा लगेर राखौला छोराछोरीलाई। अहिले यसैपनि अस्पतालहरुमा बिरामीहरुको बढेका बढै छन्। डाक्टरहरु, नर्सहरु नपुगेर अन्य प्रोभिन्सहरुसंग  सहयोग मागिरहेको छ। हामि नर्सहरुको धर्म भनेकै बिरामीहरुको सेवा गर्ने हो। यस्तो बेलामा काम छोड्ने भानिसिन्छ हजुर पनि' , उसले लोग्नेको आखाँमा आँखा जुधाएर भनि। 

सोमनाथले श्रीमतीले त्यसरी भन्ली भनेर सोचेकोसम्म थिएन। उसलाई लागेको थियो उसले जागिर छोड भन्दाको दिन सजिलैसंग छोड्ने छे। उसले मलिन अनुहार पार्दै भन्यो, 'तर कहिलेसम्म यसरि अलग अलग बस्न सकिन्छ। झन् पछि झन् नयाँ किसिमका भाइरसहरु देखिएका छन् भन्छन। पहिलो भन्दा दोश्रो पटक आएको लहर खतरनाक छ भन्छन्। तेस्रो लहर पनि आउछ रे। त्यो झन् छिटो सर्ने र घातक हुन्छ भन्छन। कैयौ डाक्टरहरु, नर्सहरु संक्रमित भएर ज्यान गुमाइसके। तिमि अझै जिद्दी नगर। तिमीलाई केहि भैहाल्यो भने हाम्रो अवस्था के होला?' 

'काम छोडेर घरमै बस्दा पनि सुरक्षित भैहालीन्छ भन्ने पनि केहि ग्यारेन्टी छैन नि हजुर। घर खर्च चलाउन पनि त केहि न केहि काम गर्नै पर्यो। सधैभरि सरकारले भत्ता त दिदैनहोला। त्यसमाथि हामि नर्सहरुले आफै काम छोडेर आपतकालीन भत्ता लिनु पनि मिलेन। हजुर आफै भानिसीयो त कसरि चल्छ घर? हजुर एकजनाको तलबले मोर्ट्गेज तिर्ने हो कि रासन किन्ने हो। जति ठुलो महामारी आएपनि खानु त पर्यो। '

'तिमि घर चलाउने कुराको टेन्सन नलेउ। भाडा आएको छ। त्यसैमा अलि अलि थपथाप गरे मोर्ट्गेज तिरौला। खाना खर्च ठुलो कुरा हैन, जसरि पनि चलिहाल्छ। ठुलो कुरो हो तिम्रो स्वास्थ्य। यहाँ आफ्नो भन्ने 'तिम्रो लागि म र मेरो लागि तिमि' बाहेक अरु कोहि हुदैन रैछ भन्ने त थाहा पाइहाल्यौ। धेरै जिद्दी नगर।'

मनकुमारी केहि बोलिन। छोराले उनीहरुको कुरा सुनिरहेको थियो बाहिरैबाट। ऊ  छोरा छोरीको अगाडी धेरै बादविवाद गर्न चाहिन। धेरैबेरसम्म मौनता छायो। बाटोमा घरि घरि एकोहोरो एम्बुलेन्सको साइरन बजेको आवाज सुनिन्थ्यो। फाट्टफुट्ट गाडीहरु बाहेक सडक सुनसान थियो। 


                                                                            (३)

हस्पिटलमा कोरोनाका बिरामीहरु थपिदै गैरहेका थिए। नर्सहरु रात दिन नभनी काममा खटिएका हुन्थे। उनीहरुले मृतुलाई नजिकबाट देख्दथे। स्वास फेर्न गाह्रो भएर  तड्पिदै गरेका बिरामीहरुको अत्यासलाग्दो अनुहारलाई नजिकबाट नियाल्थे। 

भर्भराउदो उमेरमा   जिबन गुमाउदै गरेको गरेका बिरामीहरु  र तिनका  आफन्तहरुको पिडा देख्दा मन थामिदैनथ्यो। तर पनि मनलाई दरो बनाएर इमर्जेन्सी वार्डमा भर्ना भएका बिरामीहरुको ज्यान बचाउनको लागि कुनै कसुर बाँकी राख्दैनथे।  एक जना बिरामीलाई स्क्रिनिंङ्ग गरेर अक्सिजनको मास्क नलगाउदै, अर्को बिरामी आइपुग्थ्यो। भेन्टिलेटरमा राखेको बिरामी कतिबेला आँखा चिम्लियो पत्तै हुदैनथ्यो।

 दिनभरी भागाभाग हुन्थ्यो कसैको खुसि जोगाउनको लागि, कसैको रोटि जोगाउनको लागि। अरुको खुसि र रोटि जोगाउने दौडमा उनीहरु आफ्नो रोटि र खुसि दुवै बिर्सिन्थे। त्यतिबेला उनीहरुलाई न घर सम्झिने फुर्सद हुन्थ्यो न छोराछोरी। कतिबेला आफ्नो सिफ्ट सकियो पत्तै पाउदैनथे।  थकित अनुहार र भाइरसको भय  बोकेर घर फर्किन्थे। अन्तिम स्वास लिदै  गरेका बिरामीहरुको अनुहारले रातभर तर्साइरहन्थ्यो। 

यस्तो बेलामा काम छोड्ने कुराले मनकुमारिलाई मानसिक रुपमा तनाब ल्याइदियो। काम नछोडोस घरमा श्रीमान रिसाउने, काम छोडोस्, आफ्नो नैतिकता, कर्तब्य र स्वाभिमानलाई ठुक्राउनु पर्ने। 'हामि महिलाहरुले पुरुषले भनेको मान्नै पर्ने ? के हामिसंग  निर्णय गर्ने अधिकार छैन ? म आफ्नो काममा सन्तुष्ट छु भने लोग्नेले भनेको किन सुन्ने ?' मनमनै प्रश्न गर्न थालि। 

एकैछिनमा उसले छोरा छोरीको अनुहार सम्झी। ' कोरोनाको महामारी सुरुहुनुभन्दा पहिले उनीहरु सधै आफुसंगै  सुत्दथे। कामबाट घरमा फर्कनासाथ् काखमा आएर लडिबुडी गर्दथे। तर वर्षदिन भैसक्यो उनीहरु नजिक पर्न समेत पाएका छैनन्। उनीहरुको पर्सनल केयर देखि लिएर सबै कुरा बाबु एक्लैले गरेको छ। पहिले घरको सरसफाई गर्न, खाना बनाउन अल्क्षी गर्ने लोग्ने अहिले घरको कामले निकै गलेको छ। लोग्नेमान्छेको मन हो कुन दिन बिग्रने हो के थाह?, मनमा कुरा खेल्न थाल्यो उसको।  मध्यरातसम्म पटक्कै निन्द्रा परेन। 


                                                                       ( ४ )


'ठिक छ तैले काम छोद्दिनस भने मलाई छोड। मैले आजै गएर डिभोर्स फाइल गर्छु। छोराछोरी म संगै बस्छन। पछि  तैले बखेडा झिक्न पाउदिनस्। ', सोमनाथ एक्कासी रन्कियो। आज उसले अलि धेरै पिएको पनि छ क्यारे। 

उतिबेलै एकजना काली, जलगैडाको जस्तो ज्यान भएकी महिला पछाडिको ढोकाबाट घरभित्र छिरेको देखि मनकुमारिले। पहिले त सोची डेरा गर्नेको कोहि साथि होला। तर उ सरासर बैठक कोठामा पो  छिरी। मनकुमारीलाई  कतै देखे देखे जस्तो लाग्यो उसको अनुहार। सम्झने हर कोशिस गरी ।  सकिन। 

हेर्दा हेर्दै सोमनाथले उसलाई गर्लम्म अङ्गालोमा हाल्न खोज्यो। उसको हातले आधा ज्यानसम्म पनि बेर्न  भ्याएन। तनक्क तन्केर देब्रे गालामा चुम्मा गर्यो। छोराछोरीले अलिक पर कुनाबाट डराएको अनुहार लगाएर हेरिरहेका थिए । सोमनाथले चर्को आवाजमा हकार्यो उनीहरुलाई र कोठाभित्र जान आदेस दियो। मनकुमारी रिसले आगो भैसकेकी थिई। नजिकैको टेबुलमा चियाको कप थियो। टिपेर कालीलाई झटारो हानी। हात ड्याम्म गर्दै भित्तोमा ठोकियो। ऊ जर्फ़राउदै उठी। 

'छाती जोडजोडसंग धड्किएको थियो। निधारमा चिटचिट पसिना उम्रेका थिए। शरीर तातेको थियो। नजिकै थर्मामिटर थियो। जिब्रोको तलपट्टि एकछिनसम्म राखी। शरीरको तापक्रम १०३ डिग्री फरेन्हाइट थियो। मन झसङ्ग भयो। नजिकै टेबुलमा पानि थियो गिलासमा राखेर पिई। उठेर ओक्षानमै बसिरही। टोरोन्टो मै  थुप्रै नेपालीहरुको डिभोर्स भएर छोराछोरीहरुको बिचल्ली भएको सुनेकी थिई उसले। मनमनै सोची 'छोराछोरीहरुको लागि भएपनि मैले जागिर छोड्नै पर्छ। '

बिहान पुन: एकपल्ट शरीरको तापक्रम जाँची उसले। अहिले १०० डिग्री भन्दा तल झरिसकेको थियो। फोन गरेर काममा जान नसक्ने कुराको जानकारी गराई। यहि मौकामा फेरी पनि राजिनामा दिन आग्रह गर्यो सोमनाथले। 

 यो पालि उसले आफ्नो जिद्दीको  कुनै अर्थ नहुने ठानी। जागिरको राजिनामा लेखेर म्यानेजरलाई इमेल गरी।

त्यो दिनभरी इमर्जेन्सी वार्डका बिरामीहरुको अनुहाँर मात्र घुमिरह्यो उसको मस्तिष्कमा। हतास आफन्तहरुले गरेको हारगुहारले तर्सिन्थी ऊ।  त्यसपछिका कैयौ रातहरुमा तर्सेर जाग्थी ऊ। मुटुको धड्कन एक्कासी छिटो छिटो चलेको हुन्थ्यो। ऊ डराएर सिरकभित्र गुटुमुटु परेर बस्थि। 

सामान्य ज्वरो बाहेक अरु कुनै समस्या नदेखिएकोले गर्दा कोभित टेस्ट नगराइकनै पन्द्र दिन आइसोलेसनमा बसी ऊ। त्यसपछि बल्ल ऊ आफ्नो बेडरुममा गई। छोराछोरीहरुलाई छातीमा कसेर माया गरि।किचनमा पसेर खाना बनाई। बर्षदिनपछि बुढीले पकाएर खान दिएकी थिई। सोमनाथ पनि  खुसि नै थियो। तर मनकुमारीले  भने उनीहरुको खुशीलाई नै आफ्नो खुशी मानेर चित्त बुझाई।

त्यसपछिका रातहरुमा मकु सोमनाथको अँगालोमा बेरिएर सुतेपनि कतिबेला फुत्त निस्किएर  हस्पिटलको इमर्जेन्सी वार्डमा पुग्थी।  बिरामीहरुलाई औषधि दिन्थी। अक्सिजन लेबल चेक गर्थी। कुनै वार्ड खालि हुनासाथ, अर्को बिरामीको लागि बेड तयार पारिदिन्थी। बेला बेलामा झस्केर अनायासै रोइदिन्थि। सोमनाथको पनि निन्द्रा खुल्थ्यो। बितेका कुराहरुलाई बिर्सिदेउ त भन्थ्यो सोमनाथ तर मकुको दिमागमा परेको असर बारेमा अनविज्ञ नै थियो ऊ । 


                                                                        ( ५ )

आज बिहानै देखि सोमनाथको घाँटी खसखस गर्न थाल्यो। मकुले पानि तताएर दिई। ज्वरो छ छैन भनेर उसको शरीरको तापक्रम पनि लिई। तापक्रम सामान्य थियो। दिनभरी सोमनाथको घाँटी खसखसाईरह्यो। त्यसदिन राति ऊ अलग्गै कोठामा सुत्यो। बिहान उठ्दा उसले छाती भारि भएको महशुस गर्यो। बुढीसंग थर्मामिटर मागेर आफैले ज्वरो जाच्यो। १०२ डिग्री फरेनहाइट पुगिसकेको रहेछ। आराम गरेपछि बिस्तारै कम होला भनेर ऊ अस्पताल जान पनि खोजेन।  दिनभरी उसलाई खोकी लाग्यो। सुत्नेबेला  बुढिले उसलाई ट्य्नेनोलको ट्याब्लेट दिई। यसले ज्वरो अलिकति कम गर्यो।  तर उसलाई स्वास फेर्न गार्हो हुन थाल्यो। बिस्तारै खानेकुराको स्वाद तथा गन्ध थाहा पाउन छोड्यो।

भोलिपल्ट  बिहानै उठेर ऊ स्वाब परिक्षण गराउन नजिकैको कोभित टेस्ट सेन्टर पुग्यो। नभन्दै रिजल्ट पोजिटिभ आयो। उसको लक्षणहरु सोधेर डाक्टरले घरमै आइसोलेसनमा बस्ने सल्लाह दिए। सुरुमा केहि सुधार होला जस्तो भएतापनि पाँचौ दिनको दिन उसलाई स्वास फेर्न धेरै नै गाह्रो भयो। जाँच गर्दा उसको अक्सिजनको लेबल सत्तरी भन्दा कम भैसकेको रहेछ।  तुरुन्त एम्बुलेन्स बोलाएर सोमनाथ अस्पताल भर्ना भयो। 

अस्पतालमा आफन्तहरु कसैलाई पनि प्रबेस दिदैनथ्यो। एम्बुलेन्सबाट झार्न बितिकै नर्सहरुले उसलाई भेन्टिलेटर वार्डमा पुर्याए। अक्सिजन सिलिण्डरमा रेगुलेटर जोडेर मुखमा मास्क लगाईदिए। त्यसपछि उसलाई स्वास फेर्न अलि सहज भयो। उसलाई बाथरुम देखि लिएर,खाना, औषधि खुवाउने सबै सेवा नर्सहरुले गरे। 

जिबन मरणको संघर्ष गर्दै गरेकाहरु कैयौ  बिचमै भगवानको प्यारो भैदिंन्थे। हस्पिटलका प्रत्यक वार्डहरुमा डाक्टर र नर्सहरुको टोलि अहोरात्र खटिएका थिए। एकछिन पनि आराम नगरी कहिले यता कहिले उता भागिरहेका नर्सहरुलाई देखेर सोमनाथले आफ्नी मकुलाई सम्झियो।

' मकुको झैँ उनीहरुको पनि घरमा माया गर्ने लोग्ने होलान।  कहिले मामु आउनुहुन्छ भनेर कुरेर बस्ने छोराछोरी होलान। कतिदिन भयो यिनीहरु राम्रोसंग निधाउन नपाएको, समयमा खान नपाएको’, उसले मनमनै सोच्यो। बिरामीहरुको खुशी बचाउन आफ्नो ज्यान थाति राखेर काम गरेका कैयौ कलिला, कैयौ जवान, कैयौ सिनियर नर्सहरुलाई देखेर उसले आँशु थाम्न सकेन। कर्कलाको बसेको सितको थोपा पल्टिए झैँ अक्सिजन मास्कको किनारै किनार बेडमा हामफाले। 


                                                `            (६)

लगातार बिसदिन सम्मको हस्पिटलको बसाइपछि सोमनाथ घर फर्कियो। मनकुमारी बुढाको पिरले दुब्लाएर हाडछाला मात्रै थिई। छोराछोरीहरु पनि बुवा घर फर्के पछि धेरै खुशी भए। तर ऊ घर फर्केको धेरै दिनसम्म पनि  साथीहरु कोहिपनि उसलाई भेट्न सम्म आएनन्। आफन्तहरुले पनि फोन गरेर टारे। सोमनाथले जिबनमा सबभन्दा एक्लो महशुस गर्यो। 

बिसदिनसम्म अस्पतालमा बस्दा नर्सहरुले दिएको सेवा, स्नेह उसको आँखामा झल्झली आइरह्यो। आफुले बुढीलाई जागिर छोड्न बाध्य बनाएकोमा पछुतो लाग्यो उसलाई। यदि सबैजना नर्सहरुले काम छोड्ने हो भने बिरामीको सेवा कसले गर्थ्यो। समस्या सबैका हुन्छन। उसलाई कैयौ दिनसम्म यो कुराले सताइरह्यो।

 मनकुमारीको स्वभावमा  पनि जागिर छोडे पछि धेरै परिबर्तनहरु देखिए। ऊ धेरै जस्तो एक्लै टोलाएर बस्थि। सधै मुस्कान छरेर बोल्ने ऊ, बोल्दा पनि झर्किन थालेकी छे। रातमा सधै तर्सेर जागिरहन्छे।

एकदिन  सोमनाथले बिहानको चिया नास्ता गर्दै गर्दा सोध्यो,' मकु, के तिमि पुरानै काममा फर्किन चाहन्छेउ त ?'

मनकुमारीले ट्वाल्ल परेर उसको अनुहारमा एकोहोरो हेरिरही।  हेर्दा हेर्दै उसको आँखाबाट तरर आँशु चुहिए। ऊ केहि बोलिन। 

'यदि तिमि आफ्नो काममा फर्किन्छौ भने, म तिमीलाई पूर्णरुपमा सहयोग गर्छु। नर्सहरुकै कारणले आज म बाँचेर घर फर्किन सके। तिमीलाई काम छुटाएर मलाई अपराधबोध  महशुस भएको छ। म त्यतिबेला एकदम स्वार्थी बनेको रहेछु। तिमीलाई पनि काम छोड्ने इक्षा थिएन। मेरै कारणले गर्दा काम छोड्यौ।  काम छोडेकै दिनदेखि तिम्रो अनुहारको खुशी पनि हरायो। मलाइ थाहा छ तिम्रो मनमा के बितेको थियो त्यो बेला। तर म पनि विवश थिए। '

मनकुमारी एकोहोरो भित्तातिर हेरिरहन्छे। बुढाको कुरामा कुनै प्रतिक्रिया देखाउदिन उसले। 

'हेर मकु तिमि यसरि चुप लागेर हुदैन।  जे भयो भयो, गएको कुरालाई बिर्सिदेउ।  म पनि बाँचेर फर्केको छु। मृतुसंग पैठजोरी गर्दा मलाई बल्ल थाहाँ भयो जिबनमा कुन कुरालाई प्राथमिकता दिने कुन कुरालाई नदिने भनेर। आफु भ्याँटिलेटरको ट्युबसंग नजोडीदासम्म लाग्थ्यो सबैले आफुलाई जे सजिलो हुन्छ त्यहि गर्नु पर्छ भनेर। तर त्यहाँ बस्दा थाहा भयो हस्पिटलको वर्डमा भोक भोकै भागिरहेका, अरुको स्वास बचाउनको लागि आफै स्वास लिन बिर्सेका सयौ नर्स र डाक्टरहरु, सरसफाई गर्न अहोरात्र खटिएका कर्मचारीहरुको कति योगदान छ भनेर। मोदर टेरेसा, फ्लोरेन्स नाइटेंगल, क्लारा बार्टन लगाएतका कैयौ नर्सहरुले देखाएको बाटोमा अहोरात्र खटिएका तिमीहरुलाई  मेरो सलाम छ। जाउ तिमि भोलिबाट काम शुरु गर। ‘

मनकुमारिका आँखामा मूल फुट्यो। आँशुको भल ढलफलाउदै भुइमा खस्यो। शब्दहरु रोकिए। 

श्रीमतीले केहि नबोलेको र एकोहोरो भित्तामा हेरेर रोइरहेको देखेर सोमनाथको मन दुबिधामा पर्यो। 'हुनत उसको अनुहार धेरै दिनदेखि ओइलाएको फुल झैँ भएको छ। उसले हाँस्न बिर्सेको जस्तो लाग्छ। खाना पनि राम्रो संग खाँदिनथी। साथीसंगीहरुसंग पनि बोल्दिनथी।  पहिले पहिले दिनको एकपल्ट नेपालमा बुवाआमासंग फोन गर्थी। त्यो पनि छोडेकी छ आजभोलि। खाली एकोहोरो टोलाएर बस्छे। रातिमा पनि घरि घरि जाग्ने सुत्ने गर्छे। छोरा छोरिहरुसंग पनि सानो सानो कुरामा झर्केर बोल्ने गर्छे,’ सोमनाथको दिमागमा फिल्मको दृश्य झैँ गरेर मकुको जिबनमा आएको परिबर्तन नाच्न थाल्यो। 

सोमनाथले एकपल्ट फेमली डाक्टरलाई देखाउने विचार गर्यो। तुरुन्त फोन गरेर अपोईन्मेंट बुक गर्यो। कोरोनाले गर्दा डाक्टरसंग भेट्न भनेको बेला पाइदैनथ्यो। एकहप्ता पछि उनीहरुले फोनमा  मनोचिकित्सक संग परामर्स गरे। डाक्टरले पनि मकुलाई पहिलेकै काममा फर्किनको लागी सुझायो। त्यसको अलावा आफुलाई सकेसम्म कुनै न कुनै काममा ब्यस्त राख्न र सकारात्मक सोचका केहि काइदाहरू पनि बतायो। 


                                                                (७)

केहि दिनपछि मनकुमारीले  स्कार्बोरो जनरल हस्पिटलमा काम शुरु गरी। उसले काम शुरु गरेको लगतै कोभित -१९ को दोश्रो लहर सुरु भयो। अस्पतालहरु कोभितका संक्रमितहरुले भरि भराउ भए। अस्पतालहरुमा स्टाफको कमीले गर्दा नर्सहरुले बाह्र बाह्र घण्टा काम गर्नु पर्यो। कहिलेकाँही उनीहरु चार घण्टामात्र आराम गरेर पुन: काम सुरु गर्थे। सहयोगको लागि अन्य प्रोभिन्सबाट पनि डाक्टर र नर्सहरुको टोलि आयो। 

पहिले देखि डिप्रेसनको लक्षणहरु देखा परेको मकुमा नयाँ कामको शुरुवादले केहि सुधार हुन्छ कि भन्ने सोचेको थियो सोमनाथले।  तर मनकुमारी अस्पतालको लागातारको कामले गर्दा र बिरामीहरुको भयाबह स्थितिले गर्दा रातहरुमा निधाउन सकिन। घरमा पनि ऊ आफुलाई एकदम एक्लो महसुस गर्न थाली । एक्लै कोठामा सुत्दा उसलाई जतिबेला पनि मनमा भय पैदा हुन थाल्यो। आफ्नो कारणले गर्दा बिरामीहरु मरेको भन्ठान्थी। डाक्टरहरुले आफुलाई मन नपराएको जस्तो लाग्थ्यो उसलाई। बिस्तारै आफुलाई कमजोर, मोटी, नराम्री देख्न थाली।  आफ्नै कारणले गर्दा छोराछोरीहरुले दुख पाएको, लोग्नेले आफूप्रति रुचि नदेखाएको जस्ता भाबहरु उसको दिमागमा खेल्न थाले। कतिबेला ऊ हातमा चियाको कप बोकेर बाथरुम छिर्थी भने कुनैबेला हातमा मोबाइल बोकेर धुन्धुन्ति मोबाईल खोज्थी। छोराछोरिसंग कुरागर्दा पनि ऊ एक्लो एक्लो महसुश गर्न थाली। 

एकदिन अस्पतालको सातौ तलाको वार्डमा मकुको रातको ड्युटी परेको थियो।  बिरामीहरुको अक्सिजनको  लेबल र प्रेसर  चेक गर्दा गर्दै ऊ  आफै आइसियुमा लडेको झझल्को उसको दिमागमा आयो। उ झसङ्ग भई। एकैछिनमा उसले झ्यालबाट तल पार्किङ्ग लटमा हेरी। 'यहाँबाट  हामफाल्यो भने सजिलै मरिन्थ्योहोला। हामफालेर तल पुगिसक्दा बिचमै उसको प्राण जाला कि नजाला ? बुढोले भोलि देख्यो भने के भन्ला ? छोराछोरीले थाहा पाए भने.…', उसको शारीर अनायासै काप्न थाल्यो। 

ऊ आत्तिदै स्टाफ रुममा गई। पानी पिई र एकछिन त्यहि बसेर आराम गरि। त्यो रात घरि घरि यस्तै नराम्रो नराम्रो  सोच आइरह्यो उसको मनमा।

 बिहान ड्युटी सकाएर  घर फर्कदै गर्दा बीच बाटोमै उसलाई घरमा जान मन लागेन।  त्यहि  बसबाट ओर्ली।  हुइकिदै आइरहेका गाडीको अगाडी जाँउ जाँउ लाग्न थाल्यो उसलाई।  ऊ हतार हतार  केनड़ी स्टेसन भित्र छिरी।

 स्टेसनको माथिल्लो तलामा ट्रेनलाई कुर्दै गर्दा उसका आँखा हेल्प लाइनको नम्बरमा पुग्यो। 'थिङ्ग्किङ्ग अबाउट सुसाइड! कल नाओ। ' इमर्जेन्सी फोंन थियो। उसले  ९११ मा फोन  गरि र आफुमा सुसाइड गर्ने खालको बिचारहरु आएको बताई। फोनमा कुरा गर्दा गर्दै दुइजना पुलिसहरु त्यहाँ उपस्थित भए।  उनीहरुले मनकुमारी संग बसेर सोधपुछ गर्दा गर्दै एम्बुलेन्स आइपुग्यो। मनकुमारिलाइ स्कार्बोरो अस्पतालकै आपतकालीन ट्रमा मुल्याङ्कन विभागमा भर्ना गरियो।   

त्यसपछि डा डेनियल जे को प्रतक्ष परामर्शमा घरमै बसेर मनकुमारिको उपचार सुरु भयो।