Thursday, May 16, 2024

कतै गोत्र जुध्यो कि ( भाग- 3 )

बिहान करिब चार बजेतिर गद्रयाम्म  गर्दै ठुलो आवाजले मेरो निन्द्रा खुल्यो। यताउति छामछुम गरे। उनि बेडमा थिनन।' मल्लिका' भन्दै दुइ तिन पल्ट सम्म बोलाए। आवाज आएन। उठेर बत्ति बाले। कोठामा कतैपनि उनलाई देखिन। सिरानीको एका छेउमा उनको फोन थियो। म आत्तिदै बाथरुममा गए। भित्रबाट ढोका लक् भएको थियो। मैले पुन: ढोका ढकढकाउदै चिच्याए ,"मल्लिका, आर यु ओके ? '' कुनै आवाज आएन। मन निकै आत्तियो। तुरुन्त रिसेप्सनमा फोन गरे। फोन गरेको केहि मिनेटमा सेक्युरिटी कोठामा आयो। उसले पहिले बाथरुमको ढोकामा उभिएर 'हेलो हेलो ' भन्यो र आफुसंग भएको टुल प्रयोग गरेर ढोका खोल्यो। मल्लिका बाथरुमको भुइमा बेहोस अवस्थाले लढेकी थिईन। म अत्तालिदै सिपिआइ गर्न थाले।  उसले  ९११ कल गर्यो। त्यसको पाँच मिनेटमा  दुइतिनजना इमर्जेन्सी सेवाका मान्छेहरु भित्र आए। 

तिनीहरु मध्य एकजनाले बोलाउदै उनको आखाँ, मुख हेर्दै हामीलाई त्यहाबाट हट्न भन्यो। उतिबेलै दुइजना पुलिसहरु पनि त्यहाँ आइपुगे। उनीहरुले मलाई सोधपुछ गर्न सुरु गरे। स्वास्थ्यकर्मिहरुले उनको छातीमा डिफेब्रिलेटर टाँसेर स्वासप्रस्वास सुचारु गर्ने कोसिस गरे। त्यसपछि उनीहरुले अस्पतालमा लैजानको लागि स्ट्रेचरमा राखे। दुइजना प्रहरीमध्ये एकजना मसंगै एम्बुलेन्समा चढ्यो र अर्को त्यहि बस्ने भयो।  मेरो बिचारमा उनीहरुले मैले कुनै षड्यन्त्र गरेर मंजिताको हत्या गर्ने प्रयास गर्ने सक्ने भन्दै प्रमाणहरु खोजिरहेको झैँ मलाइ लागिरहेको थियो।  

मेरो दिमागले केहि सोच्न सकिरहेको थिएन। उनीहरुले हाम्रो रिलेसनको बारेमा बारम्बार सोधिरहेका थिए। उनि बिदेशी नागरिक भएको हुनाले अस्पताल लैजानको लागि पनि मेरो सहमति चाहिने रहेछ। मैले सहमति दिएँ। एम्बुलेन्स नायग्रा जनरल हस्पिटलको आपतकालीन ढोकामा रोकियो। उनीहरुले तुरुन्त भित्र लगेर उपचार गर्न सुरु गरे। म प्रहरीसंगै बाहिर बसे।  प्रहरीले पन्द्र मिनेटजति उनिसंग भेटभएदेखिको सबै जानकारी लियो र सानो नोटबुकमा टिप्यो। मेरो घरको ठेगाना र ड्राइभर लाइसेन्स समेतको जानकारी लिएर उ गयो। 

एकजना गोरी नर्सले मलाई काउन्टरमा बोलाएर बिरामीको कुनै स्वास्थ्य बिमा भएको नभएको बारेमा सोधी।  मलाई पनि उनको बारेमा सबै कुराको जानकारी त कहाँ पो थियो र। मैले जे कुरा सत्य हो त्यहि भनिदिए। उनको अस्पतालमा उपचार खर्च म तिर्छु भनेर मलाइ कागज गराई र एकहजार डलर डिपोजिट राख्न भनि।  मैले भबिस्यको परिणाम बारेमा केहि सोच्न सक्ने अवस्थामा थिइन। बर्तमानमा सबैभन्दा ठुलो कुरा मंजिताको ज्यान कुनै हालतमा पनि जोगाउनु पर्ने थियो।  मैले क्रेडिटकार्डबाट हजार डलर तिरे।  त्यसपछि आपतकालीन सेवाको बाहिर भिजिटरहरु बस्ने ठाउमा बसे। मंजितालाई भेन्टिलेटरमा राखेर उपचार हुदै छ भनेर एकजना नर्स आएर भनी। उनि खतरा मुक्त भए नभएको कुरा सोधे। तर उनले  धेरै कुरा गर्न चाहिनन। 

केहीबेरपछि आग्लो अग्लो पाकिस्तानी मुलको झैँ देखिने डाक्टर आएर मेरो नाम सोध्यो।  मैले आफ्नो नाम बताए र, मल्लिक  बारेमा सोधिहाले। उसले चश्माको फ्रेम बाहिरबाट मलाई निकै नियालेर हेर्यो, र भन्यो, 'सी  इस ब्रिदिङ्ग नॉव।" मलाइ संसार जिते झैँ लाग्यो। 

उसले सम्पूर्ण टेस्टको रिपोर्टहरु आइसकेपछि मात्र के कारणले बिहोस भएको बताउन सक्ने भन्यो र  त्यहाँबाट गयो।

 करिब चार घण्टा कुरेपछि मलाई डाक्टरको क्याबिनेटमा बोलाइयो। उसले ब्रेनमा ब्लड फ्लो कम भएको कारणले गर्दा उनि अङ्कन्सियस भएको बतायो। तर उनि भुइमा ढल्दा टाउको भुइमा ठोकिएको र त्यहाँ सुजन भएको हुनाले, तुरुन्त अर्को सिटि स्क्यान गर्नुपर्ने पनि बतायो। मैले मल्लिकालाई भेटगर्न अनुरोध गरे।  तर उसले उनि पूर्ण रुपले होसमा आइनसकेको हुँदा केहि समय कुर्नको लागि सुझयो।  

मेरो दिमागमा अनेक दृष्टान्तहरु नाँचीरहेका थिए। काममा जानु पर्ने। ढिलो भैसकेको थियो। कल गरेर बिरामी भएको बहाना गरे। त्यसको लागि पनि डाक्टरको एउटा पत्र बुझाउन पर्ने हुन्थ्यो। यता मल्लिकाको जिबनमरणको सवाल छ।  उता आफ्नो पेटको सवाल छ।  त्यसैमाथि मल्लिकाको उपचार खर्च के कति हुने हो थाहै छैन।  कस्तो घनचक्करमा फंसे, हरे शिब !

करिब चार घण्टापछि उनीहरुले मलाइ डाक्टरको क्याबिनेटमा बोलाए। डाक्टरले मल्लिकाको ब्रेनमा थोरै रगत जमेको र तुरुन्त अपरेसन गर्नु पर्ने भन्यो। अपरेसन खर्च बिस देखि पच्चिस हजारसम्म लाग्ने कुरा पनि पहिलेनै जानकारी गरायो। यो कुराले मलाई रिंगटा लाग्ला झैँ बनायो। उनीसंग के कति पैसा छ छैन त्यो पनि मलाई केहि थाहा थिएन। सोधु भने डाक्टरले अझै बोल्न दिएको छैन। मैले नै सबै कुराको निर्णय गर्नु पर्ने थियो। आफुसंग सेभिङ्ग जिरो छ।  काम गरेर खान बस्न जनतन पुर्याइरहेको अवस्थामा लाइन ओफ क्रेडिट नै सेभिङ्ग भइरहेको हुन्छ धेरैजसोको। म पनि त्यही वर्गको मान्छे न थिए। के गर्नु, कसलाई फोन गर्नु, को सँग सल्लाह लिनु, म निकै ठुलो धर्मसंकटमा परे। म संग कुनै उपाए थिएन।  मैले सहमति पत्रमा साइन गरे र अपरेशनको लागि अनुमति दिएँ। त्यहि दिन नै उनको सफल अपरेशन भयो। 

मैले हस्पिटलको सबै बिल तिरिदिए। डिस्चार्ज भैसकेपछि हामि टोरोन्टो फर्कियौ। उनले हस्पिटलमा लागेको खर्च के कति भयो भनेर सोधिन। मैले उनलाई सबै कुराको जनाकारी  दिए।  लाइन अफ क्रेडिटबाट सबै पैसो भुक्तानी गरेको पनि जानकारी गराए। उनि मलाइ गर्ल्याम्म अँगालो हालेर धेरैबेर सम्म रोइराखिन। मैले उनलाई सम्हालिनको लागि अनुरोध गरे। उनले भन्दै थिईन,' त्यति धेरै पैसो कसरि तिर्नुभयो। मैले हजुरलाई ठुलो दु:ख दिए।" 

त्योदिन बेलुका उनले आफुसंग दश पन्द्र हजार जति पैसा बैंक मा भएको र त्यो पैसा ट्रान्सफर गर्न चाहेको कुरा गरिन। त्यसले मलाई थोरै भएपनि राहत मिल्यो। उनलाई डाक्टरले कम्तिमा पनि पन्द्र दिन सम्मको लै कम्प्लिट रेस्ट गर्नको लागि सुझाएको थियो। उनि त्यो अवधिभर मेरै कोठामा बासिन। 

"मैले गर्दा हजुरलाई निकै गाह्रो भयो। म फर्किन्छु।  मलाई माफ गर्दिनु होला। यु एस फर्केपछि बाँकी पैसो पठाउने छु। हजुरले अनायासै ठुलो झन्झटमा पारे", एकदिन साँझ उनले भनिन। 

"मलाई लैजान्नौ ?", मैले जिस्काउदै भने। 

"यतै बस भन्न नसकेर 'मलाई लैजान्नौ रे ' हेर हेर कति बेला जाली झैँ भैसक्यो हैं",   उनले हाँस्दै भनिन। 

जिबनमा कतिपय यस्ता कठिन क्षणहरु आउछन कि जिस्किन न कै लागि बोलेका केहि शब्दहरु बम झैँ बिस्फोट भैदिन्छन र जिन्दगि भरको  सम्बन्ध नै तहसनहस पार्न सक्छ। यस्ता थुप्रै दृष्टान्तहरु मैले देखेको थिए। एकछिन चुप लागे। 

"तिमीले अप्ठेरो मान्दिनौ भने एउटा कुरो सोध्न मन लाग्यो। सोधौ ? " मैले भने। 

"के कुरामा अप्ठेरो मानेकी छु र प्रश्न  सोध्न पनि अप्ठेरो लाग्यो, हजुरलाई ', उनले हाँस्दै भनिन।  

"सजिलोसंग त के कुरा मानेकी छौ र ?" मैले हाँस्दै भने। 

"होला खुबै ! जे पी टि !

"तिमि यतिका दिन मसंग हुँदा कहिले पनि आफ्नो बुढाको बारेमा कुरा गरिनौ। कता हुनुहुन्छ ?", मैले सोधे। 

मेरो प्रश्नले उनको अनुहारको रंग परिबर्तन गर्यो। पुर्णिमाको जुन झैँ झलल्ल बलेको अनुहार एकएक ग्रहण लागे जस्तो देखियो।  उनि झ्यालबाट बाहिर हेरिरहिन।  बोल्दा पनि बोलिनन।

"मैले कतै तिम्रो मन त दुखाइन ?", मैले पुन सोधे। 

मेरो कथा लामो छ। मेरो आँशुको कथा भएर हजुरकोसंगको यो स्वर्णिम क्षणलाई म निराश बनाउन चाहन्नथे। हजुरले सोधिहाल्लु भयो। त्यसो भए जानुस एक बोतल भोड्का लियर आउनुस।  अनि म कथा शुरु गरौला। 

उनको कुराले म त तीनछक परे। हिंजोसम्म बियर सम्म पिउन आनाकानी गर्नेले एकैचोटी भोड्का रे। पहिले त जिस्केकी होलिन झैँ लाग्यो। तर उनले त साँचिकै भनेकी रहेछन। रक्सि पनि कस्तो अचम्मको जिनिस रहेछ गाँठे, खुशी हुँदा नि तिमि, दुखि हुँदा नि तिमि। माने प्रभु।  म हिंडे एल्सिबियो तिर भोड्का लिनलाई। 





























0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home