Tuesday, August 31, 2021

केनडी सबवेमा धेरै बेर रोकियो ऊ। बाटो बिराएको बटुवा झैँ यताउती भलाक्यो।  सिडी चढेर तल माथि गर्यो। भित्त्ताहरुमा टाँसिएका नक्साहरु हेर्यो। उसको कुनै गन्तब्य थिएन। जागिर खोज्नको लागि निस्किएको थियो। कसैले उसलाई भनेको थियो "भाई घरमा बसेर जागिर पाइन्न।  जाऊ जागिर खोज्न।"

नेपाल प्रहरीको सब-इन्स्पेक्टर थियो केहि दिन अघिसम्म ऊ। त्यो पनि राम्रै माल हात लाग्ने ठाँउमा।इन्स्पेक्टर हुदासम्म कतिपयले काठमाण्डौमा घर ठडाएका हुन्थे। उनीहरुका श्रीमतीहरु टाउको  निउरिने गरेर गहनाहरु लगाउथे।  छोराछोरीहरु महँगा स्कुलमा पढ्थे।   महँगा मोटर्साइकल चढ्थे। पदम सिङ्गले  न घर नै ठडाउन सक्यो न श्रीमतीको लागि महँगा गरगहना किन्न। छोराछोरीको त कुरै छोडौ। इमान्दार कर्मचारीले  सरकारी तलबबाट के पो गर्न सक्थ्यो र घरखर्च चलाउनु बाहेक। त्यो पनि बडो मुस्किलले। यदि उसले चाहेको भए आफुले पनि अरुहरुले जस्तै काठमान्डौमा  घर बनाउन नसक्ने चै होइन।गैरकानुनी तरिकाले पैसा जोड्ने कुरा उसले कहिले सोच्न सम्म पनि सकेन।

 'माकसम भ्रस्टाचार गरेर घर बनाउनु भन्दा गाउको झुप्रो नै सहि', उसले दाँया बंगारा  चपाउदै भन्थ्यो।

पदमसिङ्ग धेरै दिनसम्म त खुब सानसँग छाती खोलेर भ्रस्टाचारको बिरोध गर्यो। तर तिनै भ्रस्टचारीहरु राजनैतिक शक्तिको आडमा आफूभन्दा माथिल्लो पोस्टमा पुगे। काठमान्डौ  मै जमेर बसे। काठमान्डौका  महंगा महंगा रात्रि क्लबहरुमा सुरा र सुन्दरीहरुसंग झुम्न थाले। बिदा लिएर परिबारसँग कहिले थाईल्याण्ड त कहिले त कहिले दुबई घुम्न जान थाले।

उसको अठोटले ऊ आफैलाई घाटा गराइरहेको थियो। संग संगै जागिर खाएकाहरु तथा समान आर्थिक हैसियत राख्नेहरुपनि एकदुई पल्ट हात मार्ने ठाउमा परे भने राम्रै माल गोजीमा पार्दथे। भित्र भित्र घरघडेरी जोडजाड गर्थे। छोराछोरिहरुलाई महँगा स्कुलहरुमा भर्ना गर्थे। 

'हेर पवन नैतिकता भन्ने कुरा कागतमा लेखेर टेबलमा राख्ने कुरा हो। मान्छेसंग  हैन,' उसको असाध्यै मिल्ने साथि पदम ले बारम्बार भन्थ्यो।

 'सरकारी  तलबले त आफुलाई पुग्दैन परिवारलाई कसरि चलाउने?  केटाकेटीलाई कसरि पढाउने? परिबारमा कोहि बिरामी परे भने उपचार कसरि गर्ने? श्रीमतीका पनि रहर हुन्छन। मौका आएको बेला चौका हान्नु पर्छ। तेरो इमान्दारिताको केहि मूल्य पर्दैन।  पछि पछुताउलास् , अर्को कर्मचारी मित्र हरिबोलले ले भन्यो। 

तर पनि उसलाई अनैतिक काम गर्न कहिले पनि मन लागेन र गरेन पनि।

 एकदिन पवन   घरमा बसेर छुट्टी  काटिरहेको  थियो परिबारसँग। श्रीमती सुनिताले  एक्कासी गुनासो पोखी,   'सबैका परिवार बिदा मनाउना बिदेश जान लागे। थाईल्याण्ड, सिंगापुर कता कता जान्छन रे। खै तिमीले त जाबो घरबाट बाहिर पनि निकाल्दैनौ। ' 

' अरुले जे जे गर्छन त्यहि त्यहि त्यहि  गर्न पर्छ भन्ने के छ ? अरुले घोडा चढे भनेर आफु गदा माथि चड्ने? ' पवनले  रिसाउदै भनेको थियो।

"हेर, बुढी  घुस सुस खाएर थाईल्याण्ड छुट्टी मनाउन जान भन्दा इमान्दारीका साथ काम गरेको पैसोले बोइलर कुखुरो खाएर घरै बिदा मनाउछु । बाबा इन्डियन आर्मीमा हुदा मलाई पनि उतै भर्ति गर्न जोडबल गर्नु भएको थियो। मैले आफ्नै देशको लागि केहि गर्छु भनेर नेपाल सरकारको जागिर रोजेको हुम्।  मैले नेपाल आमालाई धोखा दिनु हुदैन,' पवनसिंहले भन्यो। 

"भो भो धेरै देशप्रेमी नबन। भोको पेटले  भात माग्छ पहिले, भक्तिगान हैन। छोराछोरीहरुलाई अलि राम्रो स्कुलमा हाल्न सक्यो भने भोलि उनीहरुले केहि गरेर ज्यान पाल्छन। देशको लागि के के न  गर्छौ भनेर कुर्लने नेताहरुका छोरा छोरीहरु बिदेशका महंगा महँगा स्कुलमा पढ्छन। करोडौको भ्रटाचार गरेर बिदेशमा पैसो जम्मा गर्दछन। तिमि एकजनाले गरेर केहि हुदैन।"

" त्यस्तो भनेर हुदैन सुनिता। सबै जनाले यस्तै भनेर त देश झन् पछि झन् खत्तम हुदै गैरहेको छ। आज मैले राम्रो गरे भने भोलि अर्कोले सिक्छ, पर्सि  अर्कोले सिक्छ। अरुलाई दोष लाएर मात्र के गर्ने।  परिबर्तन गर्नलाइ शुरुवात आफै बाट गर्नु पर्छ।"

"भो भो तिम्रो फिलोसोफी तिमिसंगै राख। सधै भरि यसरि बसेर सकिदैन। जसरि भएपनि एकदुई बर्षमा एउटा घर र गाडी  जोड्नुपर्छ", सुनिताले हातमा समातेको फोन सोफामाथि फाल्दै भनिन।

पवन उठेर कोठातिर गयो। उसलाई किन किन आफ्नो घर बिरानो लाग्न थाल्यो। मनभरि कुरा खेल्न थाले। आफ्ना सबै साथिभाईहरुहरु पनि बिराना जस्ता लाग्न थाले। प्रहरीमा भर्ति हुदा सच्चा देशभक्त हुन्छु भनेर बाआमाको कसम खाएको ऊ, आज किन किन बाआमालाई भन्न सकिरहेको छैन कि 'सच्चा देशभक्त भन्ने, कुरा मात्र रहेछ, काम गर्नलाई एउटा व्यक्ति होइन पुरा संरचना परिबर्तन हुन पर्छ।जुन देशमा कानुन बनाउनेहरु भ्रष्ट हुन्छन्, त्यो देशका जंगली जनावर पनि चोर भैदिन्छन। '

त्यो दिन पछि पवनमा  एकखालको अनौठो परिबर्तन देखापर्छ। उसलाई आफुले खाएको कसम, आफुले गरेको निर्णयमाथि ग्रहण लागेको देख्छ। श्रीमतिसंगको किच किच, सामाजको  बेथिति, भ्रष्टहरुको बिगबिगी, बढ्दो महंगी, छोराछोरीहरुको स्कुलको महंगो फिस सबै सबै कुराहरु एक एक गर्दै उसको मानसपटलमा फनफनी घुम्न थाल्छन्। उसंग दुइवटा मात्र विकल्प छन् अब, एक - 'जसो जसो बाहुन बाजे उसो उसो स्वाहा! अर्को जागिर छोडेर विदेशतिर जा।"

पवनले दोश्रो उपाय रोज्यो। जागिर छोड्यो। पासपोर्ट बनायो। काठमान्डौमा एउटा एजेन्ट संग सल्लाह गर्यो। उसले एक सेमिनारमा  क्यानाडा लैजाने भयो। उसले भनेजति पैसो जम्मा गर्यो। पैसो जम्मा गर्न पनि त्यति सजिलो कहाँ थियो र उसलाई। ऋण काढ्यो। आफ्नो अंशमा परेको एउटा घडेरी थियो। त्यो पनि बेच्यो। 

"लौ, तिम्रै इक्षाले गर्दा म बाहिर जाँने भैहाले। ऐले खै एउटा सेमिनारमा जाने हो। त्यसपछि त्यतै शरणार्थी बनेर नागरिकता हात पारेपछि तिमीहरुलाई पनि बोलाउला। अब त खुसि भयौ नि। " 

"मेरो राजा! म हजुरप्रति कहिले पो दुखि थिए र। बरु उता गएपछि गोरीहरुको पछि लाएर मलाइ बिर्सिने हैन नि।"

"कल्ले कल्लाई बिर्सिन्न्छ त्यो त समयले बताउला काली। तर तिमीले चाँही आफ्नो र परिबारको राम्रो ख्याल गर्नु। सरसरी भयो भने त दुइ तिन बर्षमा कागज बनाएर लिन आइहाल्छु। 

एकबर्ष भित्रमा पवन  क्यानाडा उड्यो। 

सेमिनार त एउटा माध्यम मात्र थियो उसको क्यानाडा छिर्ने।  एजेन्टले एकजना भारतीय मुलको वकिलसंग कनेक्सन मिलाइदिएको थियो।  ऊ सुटुक्क त्यतै बस्यो र वकिलकै रायसल्लाह अनुसार शरणार्थीको लागि आबेदन दियो। उसले नेपालि नागरिकता, पासपोर्ट सबै च्यात्यो। तर नेपालि मन, मुटु र मस्तिष्क भने च्यात्न सकेन। 

दलालहरुकै सहयोगबाट क्यानाडामा काम गर्ने इजाजत पायो। एउटा  रेस्टुरेन्टमा काम गर्न थाल्यो। शिप केहि नभएकोले सरसफाई गर्ने ,भाडा धुने गर्दथ्यो ।  तरपनि उसले चित्त दुखाएन। नेपालिहरु बिदेश गएर भाडा माज्दछन भन्ने त उसले धेरै पहिले सुनेको थियो, तर आज ऊ आफैले भोग्दै थियो। काम जे सुकै गरेपनि बाँकी समय स्वतन्त्र पुर्बक बिताउन पाएकोमा आनन्द मान्यो। कसैले के काम गर्छस भनेर पनि निधिखुदी गरेनन। 

कसै संग पनि उसलाई खुलेर कुरा गर्न मन लाग्दैनथ्यो।  तर दिन प्रतिदिन सबै कुराहरु थाती राखेर खुरु खुरु काम गर्न थाल्यो।  अलि अलि पैसो बनाएर नेपालमा ऋण तिर्न र परिबारको खर्चको लागी पठाउथ्यो। बचेको पैसोबाट वकिलको फिस, डेरा भाडा र ग्रोसरी गर्दा ठिक्क हुन्थ्यो।

एकदिन वकिलले पवनलाई कथा लेखेको पैसो माग्यो। ऊ छक्क पर्यो। उसले सोध्यो," के को कथा ?' 
"तपाइको कथा।  शरणार्थी बन्नको लागि एउटा कथा चाहिन्छ। नेपालमा बस्ने स्थित छैन। माओबादीले उठिबास लगायो भनेर कथा लेख्नु पर्छ। त्यो कथा तपाइले घोकेर वकिललाई सुनाउनु पर्छ। तपाइको केस हेर्ने वकिलले त्यसलाई ट्रांसलेट गरेर यहाँको सरकारी वकिललाई सुनाउछ", वकिलले भन्यो। 

वकिलका कुरा सुनेर ऊ झनै छक्क पर्यो। "साला कुन परिबन्द भित्र फँसियो। भ्रष्टहरुले उठिबास लागएर यहाँ आउदा पनि अर्को भ्रष्टहरुको सहयोगबाट यहाँको नागरिक बन्नुपर्ने। 

समय मान्छेले रोकेर रोकिने पनि होइन, दौडाएर दौडिने पनि होइन। आफ्नै रफ्तारमा हिडिरहेको समयले पवनको  परिवारलाई पनि क्यानाडा झरालिदियो। उनीहरुलाई क्यानाडा सम्म झार्नलाई के सम्म गर्न परेन उसलाई। जे जति परेशानी भोग्नु परेपनि परिवारलाई साथमा पाउदा एकदम खुसि थियो ऊ।अलि अलि थोपा थोपा गरेर जम्मा गरको पैसो बैना राखेर एउटा दुइ कोठा भएको घर पनि जोड्यो।  त्यो पनि पच्चिश बर्षभित्र ऋण तिर्ने सर्तमा। हिजो सम्म परिवारलाई झिकाउने रहरमा   अहोरात्र दुख गर्यो।  उनीहरु आएको भोलिपल्ट देखि अझैँ थपियो दुखको भारि।क्यानाडा उसको लागि "नखाँउ  भने दिनभरिको शिकार, खाऊ भने कान्छा बाउको अनुहार जस्तै भयो।  न उ फर्केर नेपाल जान सक्थ्यो, न खुशी संङ्ग रमाएर बस्न सक्दथ्यो। खालि दोधारमा हुन्थ्यो उसको मन।  काममा कसैले अर्डर गरेको दिन अर्थात ठाडो स्वरमा केहि भनेको दिन उसको मन सारै दुखेर आउथ्यो।  रात भर निधाउन पनि सक्दैन्थ्यो।  सबै कुराहरु कसैसंग सेयर गर्दा सायद मन हलुङ्गो त हुन्थ्यो होला उसको, तर आफ्नै श्रीमती संग पनि सेयर गर्न सक्दैनथ्यो।  पुरुष मन ढुंगा झैँ कठोर बनाएर बाच्नु पर्ने भएको थियो।  

एकदिन उसको भेट एक भुटानी मुलका नेपालि 







Saturday, August 7, 2021

सम्पन्न र भब्य शहर। काखमा लमतन्न परेर सुतेको बिशाल तलाऊ र तलाउको कन्चन पानीमा गगनचुम्बी सिसामहलहरुको  ढुलमुल गर्दै गरेको प्रतिबिम्ब। तलाउको किनारै किनार बनेको दुई तले सडक। माथिबाट गार्डनर हाइवे र तलबाट लेकसोर बुलोभार्ड। सडकको दायाँबाँया लहरै आँकाश छुदै गरेका भवनहरु। अनि शहरको बिचमा अग्लो धरहरा, सी एन टावर। 

अग्लो, पातलो शरीर। छुस्स बाङ्गा टिङ्गा दारी उम्रेको ख्याउटे अनुहार। इगोर ट्राफिक लाइटमा रातो बत्ति बल्नासाथ् देब्रे खुट्टो घिसार्दै लेकसोर र पार्लियामेन्ट सडकको इन्टरसेक्सनमा लहरै रोकिएका गाडीहरुको बिचमा छिर्छ। टिमहर्टनको रित्तो कप ड्राइभरको झ्यालतिर सोझ्याउदै भन्छ 'लुनी प्लिज।’ 

एक दयालु ड्राइभरले गाडीको कपहोल्डरबाट दुइवटा पच्चिस सेन्टका सिक्का झिकेर गर्बका साथ् उसको कपमा खसाल्दिन्छ। ठिक त्यति नै बेला हरियो बत्ति बल्छ। विनम्रताका साथ् धन्यबाद दिदै ऊ पुन सडक किनारातिर फर्किन्छ। 

आधुनिक सभ्यता र सम्पन्नताको प्रतिक गगनचुम्मि भवनहरु गमक्क परेर निरन्तर आकाश तिर हेर्दै छन्। लाखौ करोडौ मान्छेहरुको सपनाको श्रीपेच सी एन टावर लेकशोर  र गार्डनर  हाइवेमा तछाड मछाड गर्दै कुदिरहेका भी सिक्स र भी एट इन्जिनहरुको प्रतक्षदर्सी बनेर बर्षौ देखि ठिङ्ग उभिएको छ। सडकमा प्रहरी छ। सडकमा प्रशासन छ। एम्बुलेन्स, दमकल यताउता कुदिरहेका छन्। त्यसैको अलि तल शान्त तलाउमा बिस्तारै पानीको लहर बढ्दै किनारासम्म आइपुग्छ, छ्प्लङ्ग किनारका ढुङ्गाहरुमा ठोक्किन्छ र पुन: फर्किन्छ शान्त तलाउतिरै  । यो क्रम निरन्तर चलिरहन्छ।  

पुन: रातो बत्ति बल्छ। ऊ देब्रे खुट्टो लतार्दै गाडीको भिडमा पस्छ र  झ्यालहरुबाट भित्र चिहाउछ। फाट्ट फुट्ट केहि सिक्काहरु कपभित्र  छिन्द्रिङ्ग बज्छन। रातो र हरियो बत्तिबिच चल्ने यो प्रक्रिया उसको लागि जागिर, ब्यबसाय र बाध्यता जे पनि हुन सक्छ। निधारमा देखिएका धर्साहरुले उसको उमेरले  जिबनको आधा हिस्सा काटीसकेको संकेत गर्छ। सेतो छाला घामले डढेर, पानीले मक्केर छिर्केमिर्के देखिन्छ। 

मध्यान्नतिर ऊ बाटोको अलि कुनापट्टी जान्छ र कपमा जम्मा भएको सिक्काहरु भुइमा घोप्टाएर गन्न सुरु गर्छ। अहिलेसम्म जम्मा भएको सबै पैसा प्यान्टको दाइने पकेटमा घुसार्छ र सरासर पार्लियामेन्ट सडकको भित्रपट्टि एउटा भट्टीमा पस्छ। एक सट टकिला आँखा चिम्म गरेर घुट्काउछ। अर्को सटसंग एउटा बर्गर मुर्काउछ र पुन: फर्किन्छ पुरानै जक्सनमा। 

जक्सन भन्दा अलि तल सानो झाडी छ। त्यसभित्र एउटा हरियो टेन्ट छ। टेन्ट भित्र दुइवटा रक्सिका खाली बोतल, म्याकडोनाल्ड र सबवेका रित्ता कन्टेनरहरु र केहि बियरका क्यानहरु यत्र तत्र छन्। अर्को कुनामा खैरा आँखा गरेकि, गोरी महिलाको मैलो फोटो छ र संगै छ एउटा थोत्रो डायरी।  त्यसैको नजिक केहि थान मैला कपडाहरु छन्।

 इगोर अर्थात् त्यहि ख्याउटे मानब  खोच्याउदै टेन्टभित्र छिर्छ। 'क्र्याक्क' बियरको क्यान खोल्छ र घटघट आवाज निकाल्दै एकैछिनमा क्यान खालि गर्छ। कुनामा गएर फोटो हातमा लिन्छ र एकटक संग हेर्छ। सडकको पोलमा भएको बत्तीले चियाएको प्रकासमा डायरीको पाना पल्टाउछ। 

                                                                      ******

इगोरको हजुरबा  सन् १८९६ मा सुनको खोजि गर्दै अलास्काबाट युकोन  पुगेका थिए। सन् १८६७ सम्म अलास्का रुसको भूभाग थियो। त्यहि बर्ष यो भूभाग अमेरिकाले रुससँग किन्यो। त्यसको लगतै थुप्रै रसियनहरु युकोन प्रबेस गरे। इगोरका हजुर बुवा  लगाएत उनिसंगै गएका  कैयौ साथीहरु हाइपोथर्मिया र भोकमरीले  बाटोमै  मोरे। इगोरको बाबु इभान सानै थियो। उसलाई लिएर इगोरकी हजुरआमा क्लोनडैक पुगिन। त्यसको केहि बर्ष पछि उनको पनि हिउको पहिरोमा  पुरिएर मृतु भयो। सुन खोजेर मनग्य पैसा कमाउने उनीहरुको सपना साकार हुन पाएन। टुहुरो इभानलाई  एउटा आदिबासी परिबारले आफूसंगै राखेर हुर्कायो। उसको बिहे पनि तुत्चोनेजातको केटिसंग भयो। यसरि रसियन बाबु र तुत्चोन जातकी आमाबाट इगोरको जन्म भएको थियो। 

इगोर हुर्कदै गर्दा आदिबासीहरु संगै युकोन नदिमा माछा मार्न सिक्यो। कैराबु र ठुलो हरिणको शिकार गर्न सिक्यो। सालमन र रंगिन ट्रौट जातको माछाहरु समात्न पल्कियो। यसरि प्रकृतिसंग खेल्दा खेल्दै ऊ कतिबेला बयस्क भयो पत्तै पाएन। 

एकदिन  बल्छी खेल्दै गर्दा एउटा रंगिन माछा उसको बल्छीमा अल्झिन पुग्यो । त्यो माछा देखेर उ यति खुसि भयो  कि त्यो माछा  कसैलाई देखाउन पाए हुन्थ्यो भनेझै गरेर यताउति हेर्न थाल्यो।  त्यहीबेला अलि परपट्टि  एकजना युवती  पुतली झैँ हिउमा तलमाथि गरेको देख्यो । उ ढुंङ्गामाथि उठेर हात हल्लाउदै चिच्यायो। ति युवती दगुर्दै उ भएको ठाउमा आई। इगोरले  मुस्कुराउदै रंगिन माछा देखायो।केटीले पनि  रोमाञ्चित हुदै माछालाई बिस्तारै खेलाउन थालि। उनीहरुले एकआपसमा चिनजान गरे।यसरि उनीहरुको बीच  प्रेमको श्रीगणेश भयो। 

त्यो दिनपछि  तिनीहरुको  भेट नियमित युकोन नदीको किनारतिर हुन थाल्यो।  इगोरले ति युवतीलाई पानिमा बल्छी कसरि खसाल्ने र चारोलाई यताउति डुलाउने भनेर सिकायो। उनीहरु संगसंगै दौडिएर हरिणलाई भाला बर्साउथे, कैराबुलाई धरापमा पारेर शिकार गर्थे। समरका दिनहरुमा सालमन र ट्रौट  माछा समातेर भण्डार गर्थे। उनीहरुको आफ्नो रंगिन संसार थियो। खोलामै भेट भयो। खोल्सा खाल्सी र झाडीभित्र एकअर्कालाई अंगालोमा कसेर माया साटे।अग्ला पहाडहरुको टापुमा बसेर आकासमा बादलको लुकामारी हेरे। इग्लु अर्थात् हिऊको घर बनाएर भित्र लडिबुडी खेले। कुसवा तलाउमा निर्बस्त्र पौडी खेले। यसरि उनीहरुले कैयौ  दिनहरु संगसंगै  बिताए।

                                                                         ****** 

एकाबिहानै बाटोमा गाडीहरुको चाँप बढ्दै जाँदा टायरको घर्षणले निस्केको एकोहोरो सुस्याहटले इगोरको आँखा खुल्छ। पहिले पहिले  ऊ जागेपछि नजिकको कुनै रेस्टुरेन्टमा गएर सौचकर्म पुरा गर्थ्यो र त्यही दुकानबाट एक कप कफी किनेर दिनको सुरुवात गर्दथ्यो। आजभोलि रेस्टुरेन्टहरुले पेटमा हाल्ने बस्तु मात्र उपलब्ध गराउछन। अतिरिक्त सुबिधा बन्द गरेकाले उ त्यहि झाडीभित्रै आफ्नो कर्म पुरा गरेर निस्कन्छ। नजिकैको टिमहर्टनको पार्किङ्ग लटमा गएर उभिन्छ। कफी किन्न भित्र छिर्दै गरेकाहरुसंग हात पसारेर ' डु यु ह्याब चेन्ज फर कफी ' भन्दै पहेला दाँत देखाउछ। जम्मा भएको पैसाले कफी किन्छ र लाग्छ आफ्नो जक्सनतिरै। 

ऊ बस्दै गरेको शहर ठुलो छ। शहर सम्पन्न छ। शहरका गगनचुम्बी घरहरुमा डिजिटल मान्छेहरु बस्छन। उनीहरुको सबैकुरा डिजिटल छ। घर नम्बर, कोठा नम्बर, परिचय पत्र नम्बर, सोसल इन्सोरेन्स नम्बर, बैक खाता नम्बर,  क्रेडिट कार्ड नम्बर, आम्दानि नम्बर, हेल्थ कार्ड नम्बर, डिभोर्स नम्बर यस्तै यस्तै थुप्रै डिजिटहरु थिचीएका छन् उनीहरु।हरेक गाडीभित्र यात्रीक मानब कुदिरहेको छ।यस्तो लाग्छ एउटा यन्त्रले अर्को यन्त्र बोकेर कुदेको कुदै छ। उसको हरेक कुराहरु यान्त्रिक  छन्। खुशी यान्त्रिक, प्रेम यान्त्रिक, मनोरंजन यान्त्रिक, परिवार यान्त्रिक, संबन्ध यान्त्रिक। 

इगोरसंग माथिको कुनै पनि डिजिट छैन।ऊ यान्त्रिक पनि हुदै होइन।  बिगतमा यदि कुनै डिजिटल परिचय पत्र थियो भने पनि अहिले   छैन। थियो भन्ने पनि  कुनै प्रमाण छैन। प्रमाणबिना कसैले चिन्दैन उसलाई यो शहरमा। न पुलिश, न प्रशासन, न रोजगार दाता कसैले पनि चिन्दैनन्  उसलाई। उ संग केवल एउटा थोत्रो डाएरी र एउटी  सुन्दर युबतिको फोटो छ। मक्किएको एउटा मानब आकृति छ। यदि मानब आकृतिलाई बिर्सने हो भने ऊ  यहि शहरको छेउछाउ बस्ने रकुन र कायोटिक जस्तै कुनै प्रजातिमा बिलिन पनि हुन सक्छ। 

इगोर आज अलि बिरामी छ।  उसको छाती बिहानै देखी भारि भएको छ।  बेला बेलामा खोकी पनि लाग्छ। अपरान्ह सम्म जम्मा भएको केहि सिक्का बोकेर उ बियर स्टोरमा पस्छ।  एक केस आइस बियर किनेर देब्रे खुट्टो घिसार्दै आफ्नो झुपडीमा फर्किन्छ। थोत्रो डायरीबाट फोटो झिकेर छातीमा टाँस्छ। केहीबेरमै उसको आँखाको कोछबाट आँशु रसाउन सुरु हुन्छ।

आज उसले अरुबेला भन्दा अलि धेरै नै पिउछ। बियरको क्यान हातमा समातेर चुम्बन  गर्छ र यसरि सधै उसको साथ् थिएकोमा धन्यबाद पनि दिन्छ। टेन्टको प्वालबाट बाहिर चिहाउछ। नजिकैको घरको बार्दलीमा अर्धनंग्न जोडी चुम्बन गरिरहेको देख्छ। भुइको माटो मुट्ठीमा कसेर पुन भुइमै छोद्दिन्छ। फोटो समाउछ र ओठमा लगेर टाँस्छ। आकाश जोडसंग गर्जिन्छ। एउटा सानो लोखर्के अत्तालिदै टेन्टको भित्र बाहिर गर्छ। 

                                                                           ******

उसले सधै छातीमा टाँसेर सुत्ने फोटोको नाम हो सिजिया। सिजिया इगोरको लागि सबथोक थिई कुनै बेला। इगोरका बाउआमा छुट्टिएर अलग अलग बस्थे। सिजिया निकै चुलबुले केटि थिइ। इगोरलाई असाध्यै माया गर्थी। उनीहरु संगै शिकार गर्न जान्थे। संगै खोलामा माछा समाउथे। काठको पिर्का बनाएर संग संगै हिंउमा चिप्लेटी खेल्थे।कैयौ दिन उनीहरु घर नफर्की जंगलमै बिताउथे। 

 जुनको महिना थियो।एकदिन उनीहरु अदका पर्ब मनाइसकेपछि  जंगलमा शिकार गर्न गए। दिनभरी डुल्दा डुल्दा समेत उनीहरुले कुनै जंगली जनावरलाई भेट्न सकेनन्। अध्यारो पर्दाले धुपी सल्लाघारीलाई छोप्दै गर्दा सिजियाले तल पहाडको गल्छीमा ठुलो मृगलाई देखी। त्यसपछि दुबैजनाले छेको हानेर मृगलाई आफ्नो पाशामा पार्ने कोशिस गरे। यसरि मृगको पछि पछि भाग्दै गर्दा  सिजिया अचानक पहाडको गल्छीमा खसी। इगोरले उसको घाइते शरीर काँधमा बोकेर बस्ति सम्म पुग्यो। दुर्भाग्यबस बाटैमा सिजियाको  मृतु भैसकेको थियो। यस्तो अकल्पनीय दुर्घटनाले गर्दा उसको मानशिक अबस्थामा  ठुलो आघात पर्यो। त्यसपछि उसले शिकार गर्न पनि छोड्यो। 

त्यसको केहि महिना पछि इगोर युकोन छोडेर प्रिन्स एडवार्ड आइल्याण्ड गयो। त्यहाँ उसले आलुखेतिमा काम गर्न थाल्यो।काममा आफुलाई ब्यस्त राख्ने कति कोशिस गर्दा पनि उसले सिजियालाई बिर्सन सकेन। संगै खेतमा काम गर्ने साथीहरुले उसलाई पिउन सिकाए। सुँघ्न सिकाए। बिस्तारै उसमा पनि पिउने र सुँघ्ने कुराको लत बस्दै गयो।अन्तत उसले सबैकुरा भुल्न सक्यो तर सिजियालाई भुल्न सकेन। अलिअलि  लेख्न र पढ्न सक्ने भएकोले साथमा सधै एउटा डायरी राख्थ्यो र डायरीको बिचमा सिजियाको एउटा फोटो। सधै रातमा यहि फोटो अगाडी राखेर पिउन बस्थ्यो। पिउदा पिउदै मनको पिर डायरीमा रित्याउथ्यो। 

यसरि ऊ रक्सीको एडिक्ट भयो। पिउन नपाउदाको दिन उसको हात खुट्टा काम्न थाले। ऊ काम गर्न नसक्ने भयो। काम गर्न नसकेपछि उसले बस्ने बाँस र खाने गाँस दुवै गुमायो। त्यसपछि दिनभरी बजारमा डुल्ने र सडकमै बास बस्ने गर्न थाल्यो। पछि एउटा सामाजिक संस्थाले रिह्याबको लागि टोरोन्टो पठायो। दुई बर्षसम्म किन्ग्सटन रोडको रिह्याबिलिटेसन सेन्टरमा बस्यो। दुइबर्ष पछि एकदिन ऊ त्यहाँबाट समेत भाग्यो र डाउनटाउनको विभिन्न गल्लीहरुमा बसेर माग्न थाल्यो। तर उ जहाँ जहाँ गए पनि साथमा एउटा सुर्के झोला हुन्थ्यो र त्यसभित्र एउटा डायरी र उसको प्रेम। 

                                                                   ******


इगोरको छाती बेस्सरी दुख्न थाल्यो। जति धेरै पिडा हुन्थ्यो त्यति धेरै सिजियाको फोटो छातीमा टाँस्थ्यो ऊ। केहिबेरपछी आकास गर्जिन थाल्यो। एकैछिनमा हावाहुरी सहित ठुलो पानि पर्यो। सडकको छेउछाउ थुप्रिएको धुलो सहित हावाको झोक्का टेन्ट भित्र छिर्यो। धेरैबेरसम्म हावाहुरी र मुसलधारे पानीले चन्डिनाच प्रश्तुत गरिरह्यो। उसको छातीको दुखाई झन् झन् बढ्दै गयो।उसले चारैतिर निष्पट अध्यारोमात्र देख्यो। डायरीको साथमा फोटो हातमा बेसरी अठ्याएर  खुट्टा तनक्क तन्कायो। चारैतिर केवल सुन्य बाँकी रह्यो। 

भोलिपल्ट जक्सनमा यात्रुहरुले इगोरलाई देखेनन्। सधैभरि त्यहि बाटो हुदै यात्रा गर्नेहरुले सोंचे अर्को ठाँउमा मुभ भयो होला। बाटोको छेउमा टिमहर्टनको रित्तो कप घोप्टिएको थियो। 

बाटोबाट उ बस्ने  टेन्टको आधा भाग मात्रै देखिन्थ्यो। बाटोको छेउबाट साइकल कुदाउनेहरुले उ टेन्टभित्र सुतेको होला भन्ठाने कि कसैले सोधेन। कसैले खोजेनन। उसलाई खोज्ने को नै पो  थियो र।  दुइदिन सम्म कसैको आँखा पुगेन। टेन्टभित्र झिंगाहरु अलि धेरै जम्मा हुदैगर्दा नजिकैको अपार्टमेन्टमा बस्ने एकजना बुढी आमाले बाटोमा हिड्दै गर्दा उसलाई हलचल नगरी घोप्टो परेर सुतेको देखिछन। उनलाई  संका लागेछ।  नजिकै गएर कैयौ चोटी बोलाइन। तर इगोरको जवाफ आएन। ऊ घोप्टो परेकोले अनुहाँर देख्न सकिदैनथ्यो। उनले तुरुन्त इमर्जेन्सीमा फोन गरिन। केहीबेरमै एम्बुलेन्स, फायर ट्रक र पुलिशका भ्यानहरु एकैचोटी जम्मा भए। 

मेडिकल टोलीले उसको शरीरलाई उत्तानो पारे। उसको हातमा सिजियाको फोटो थियो। वरिपरि बियरका रित्ता क्यानहरु थिए। पुलिशले सबैको फोटो खिच्यो। मेडिकल टोलीको नाइकेले स्वाभाविक मृतु भएको घोषणा गर्यो। स्वाभाविक मृतु घोषणा भएकोले प्रहरिले पनि त्यहाँको एरियालाई सुरक्षित राख्नु आबश्यक ठानेन। उनीहरुले आफ्नो तर्फबाट एउटा रिपोर्ट तयार पारे। इगोरको त्यो ख्याउटे अनुहार सदाको लागि अस्तायो। संगसंगै सिजियाको हिउजस्तै उज्यालो अनुहार पनि हावाको बेगसंगै सधैको लागि क्षितिजमा बिलिन भयो।