Wednesday, July 14, 2021

दशलाख भिसा लागेपछि बुझाउला

'बा’ले अंश लाएर दिदा बाटामुनिको खेतमा पैतिस मुरी धान हुन्थ्यो। खोलाले काट्दै काट्दै अहिले पच्चिस मुरी धाँन फल्दैन। आँपको बुटामुनी लाग्ने कुलो बाटोले पुर्यो। सबैले घडेरी भन्दै खेत बँजाएका छन्। भनेको बेला काम गर्ने मान्छे पाइन्नन्। पाइहाले पनि छोइसक्नु छैन। अति चर्का भए। तिघ्रामा बल हुदा सम्म सकीनसकी गरेकै थियौ हामि बुढाबुढीले। तिघ्रा झोलिदै गएपनि आँट पनि मोर्दो रैच’, शिबुरामले छोराको अनुहारमा हेर्दै गनगन शुरु गरे। 

‘आफुले गर्न नसकेपछि कसैलाई अधिया गर्न दिने कि ?  एकपल्ट दाईलाई पनि सोधौ। मैले पनि भर्खर पढाई सकाएको छु। काम पनि खोज्दैछु। काम पाइयो भने राम्रै भयो। पाइएन भने बाहिर तिर पनि ट्राइ गर्नु पर्ला। यत्रो खर्च गरेर पढियो। यतिकै घरमा बसेर भएन,’ शिबुरामको छोरा यमनले भन्यो। काठमान्डौको एउटा प्राइभेट कलेजबाट भर्खरै आइटीमा ब्याचलर सकाएको थियो यमनले। 

‘आफैले रेखदेख गर्दा त धाँन भन्दा धेरै साँबो देखिन्छ खेतमा। आलि किराले खोलेर खेतको पानि एकछिन अडिन्न। अरुलाई दियो भने के हालत होला। दाईपनि  फर्केर आउला जस्तो लाग्दैन मलाई।’

अम्रिका गएका कोइपनि फर्किनन् भन्चन सबै।  हाम्लाई पिर  मान्चन भनेर होला केरे छोरा छोरी कलेज पढ्ने भए भने त्यतै आउने हो भन्च ,' यमनकी आमा लक्ष्मी  पनि संगै थिइन्। उनले पनि बाबाको कुरामा कुरो थपिन। ’

यमनले बाउआमाले  भन्न खोजेको कुरा बुझ्यो।एकछिनसम्म केहि बोलेन। चुप्प लाएर बस्यो। 

‘श्रीधर पण्डितको छोराले गाउमै स्कुल पढाउन थालेको छ। उसले पनि पोखरामा मस्तै पढेर आएको रे। खेतीपाती गर्न पनि भ्याएकै  छ। शहराँ मात्र नोकरी  खोजेर हुन्न। ऐले त गाँउमा पनि मान्छेले नोकरी पाँछन’, लक्ष्मीले कुरा थपिन।

‘हजुरहरुले त्यसो भन्नुहुन्छ भने ठिकै छ मैले पनि यतै कुनै जागिर खोजौला। तर यहाँ आइटीको काम पाइन्छ जस्तो लाग्दैन मलाई। मेरो काम कम्प्युटरमा प्रोग्राम बनाउने हो। स्कुलमा पढाउनलाई पनि त्यहाँ मेरो बिषय छैन’, यमनले भन्यो। उसले बा’आमाको चित्त दुखाउन चाहेन। 

‘श्रीधरले छोराको बिहेको लागि केटि खोज्दै पो हिड्या छन् रे। यसैसितको हैन र गोकुले ?’

‘दुई मैनाले जेठो हो ऊ। ऊ बैशाकको हो केरे। यो अषारको। यो जन्मिदा पुछारको खेत रोप्नको मार्चो थ्यो। कम्ता दुख पाइहैन मैले , लक्ष्मीले छोराको अनुहारमा मायालु आँखाले हेर्दै भनिन। 

त्यसैबेला आगनको छेउमा भएको नास्पातिको हाँगामा एकजोडी गौथली कतैबाट भुर्र उडेर आए। मुखभरि माटो बोकेर आएका उनीहरु पालैपालो मुलढोकाको देब्रे पट्टि दलिनमा भुर्र भुर्र गर्दै बन्दै गरेको गुँडमा माटो थपे। पोहोरसाल बनाएको गुँड आँधा भन्दा बेसी भत्किएको थियो। उनीहरुले सोहि ठाँउमा पुनर्निर्माणको काम थालेका थिए। 

यमन गौथलीको साबधानी पुर्बक भैरहेको कामलाई निकै रोचक मुन्द्रामा हेरिरहेको थियो। धेरै बर्षदेखि गौथालिले सोहि ठाँउमा आफ्नो घर बनाउदै आएपनि उसले यति ध्यान दिएर पहिले कहिले हेरेको थिएन। खै किन हो आज गौथलीको घर बनाउने कलाले उसको ध्यान खिचेको छ। 

त्यसैबेला माथिल्लो गाँउको रामबहादुर टुप्लुक्क घरमा आइपुग्यो। दश बर्ष मलेशिया बसेर घर फर्केको ऊ गाँउका केटाहरु मलेसिया पठाउने काम गर्छ भन्थे सबैजना। तर कसैलाई पनि उसले के गर्छ भन्ने चुरो कुरो थाहै थिएन। प्रायजसो हरियो टिसर्टमाथि खरानी रङ्गको क्याजुवल कोट  र जिन्स लगाएर हिड्ने ऊ सधै फुर्तिलो देखिन्थ्यो। मलेसिया जानुभन्दा पहिले ऊ नामुद जिल्लास्तरिय भलिबल खेलाडी थियो। हँसमुख भएको ऊ पढाईमा एसएलसी मै सिमित भएपनि अनुभबले निकै पाको र तार्किक कुरा गर्दथ्यो। 

‘हैन माईला बा, के को घरसल्लाह हुदैछ छ हो सबैजना एकैठाउँ बसेर। भाई पनि आएका रैछन। मलाई त थाहा पनि थिएन’, उसले निहुरियर शिबुरामको खुट्टा छोयो र नजिकै खाटमा बस्यो। बस्दै गर्दा उसले लक्ष्मीलाई पनि नमस्ते गर्यो। 

‘के घरसल्लाह हुनु बाबु यसै गन्थन गर्दै छौ। हाम्रो पनि अब बुढेसकाल शुरु भैगयो। काम गर्न सकिन्न। जेठो आफ्नो दुनो सोझ्याएर  बाटो लाग्यो। हामि बुढा बुढी यसैसंग गुनासो पोख्दै छम्’, शिबुरामले भने। 

‘सबैको घरमा यस्तै छ अहिले बुवा। मगरका छोराहरु जन्मदै पुसअप र सिटाप शुरु गर्छन। सके ब्रिटिश नसके इन्डियन आर्मीमा भर्ति हुन्छन्। अलिकति पढेलेखेकाहरू कति काठमान्डौ तिर छन् कति अस्ट्रेलिया, युरोप, अमेरिका लागे। त्यता जान नसक्नेहरु खाडितिर छन्। गाँउमा त माखो पनि छैन। हाम्रा दमालीहरु पनि सबै बाहिर बाहिरै पो छन्’, रामबहादुरले भने। 

उनीहरुले गफ गर्दा गर्दै लक्ष्मीले चिया लियर आइन। दुवैजनाले चिया सुरुप्प सुरुप्प पार्न सुरु गरे।  

पुर्बदिशामा कालो बादल गजधम्म परेर बसेको थियो बिहानै देखि। अहिले पश्चिमतिर पनि बादल कालो हुदै गयो। हेर्दा हेर्दै पानि दर्किन थाल्यो। आगनमा सुतिरहेको बिरालो पुच्छर घुमाउदै लक्ष्मीको गोडामुनि गएर बस्यो। 

रामबहादुरलाई पहिले देखि नै दाई भनेर बोलाउथ्यो।  एकैछिन उनीहरु घरपछाडी गएर केहि कुराकानी गरे। 

 केहीबेरमै पानी एकछिन रोकिदै पुन: पर्दै गर्न थाल्यो। पानी अलिक मथ्थर भएपछी रामबहादुर पनि घर फर्के। 

यमनलाई एकहप्ता घरमा नबस्दै दिक्क लाग्न थालिसकेको थियो। छरछिमेकमा भेट्ने जतिले 'के गर्छस् ? कैले जान्छस ? ‘ भनेर सोधेर हैरानी पार्थे। घाँसको भारि बोकेर हिड्दा बाटोमा चिनेकाहरूले एकापसमा खासखुस गरेको देख्थ्यो।चाहिने भन्दा बढी अर्काको चासो राख्ने गाँउलेहरुको ब्यबहारले पनि उसलाई शहर फर्किन मन लागिरहेको थियो।  

खेतमा रोपाइँ सकेर यमन पुन: काठमान्डौ फर्कियो। सबैतिर कामको लागि एप्लिकेसन हाल्यो। धेरै ठाँउहरुबाट त उसलाई इन्टरभिउको लागि समेत बोलाइएन। बोलाएको ठाँउमा पनि कामको अनुभब नपुगेको भन्दै काममा लिएनन। काम खोज्दै महिनौ बित्यो। अहँ उसले कुनैपनि काम भेटाउन सकेन। उसंगै पढेका आफूभन्दा कमजोर साथीहरु राम्रै प्रोजेक्टहरुमा काम शुरु गरेका पनि थिए। त्यसको लागि आफ्नो मान्छेको पहुँच हुनुपर्ने रहेछ भन्ने उसले थाहा पायो। कतै नेताको पहुच, कतै आफ्नाको पहुच। स्वतन्त्र प्रतिष्पर्धामा एउटा कोटा खोल्यो भने सयौ जनाको लाइन। ऊ बिहानै उठ्छ। पत्रिकाजति सबै हेर्छ। कहाँ कहाँ बिज्ञापन खुलेको छ सबै आफ्नो डायरीमा टिप्छ। त्यसपछि पालै पालो अप्लाई गर्छ। कहिलेकाँही आफ्नो अनुभब नपुगेर भन्दा पनि लकले साथ् नदिएको हो जस्तो ठान्छ आफैले। बिस्तारै बिस्तारै पत्रिकामा छापिने बिज्ञापनप्रति उसको बिश्वास हराउदै जान्छ। 

घरमा बुढाबुढी आमाबुवालाई एक्लै छोडेर काठमान्डौमा एक्लै यसरि बेरोजगार भएर बस्दा उसमा एकखालको फ्रस्टेसन हुन्छ। उसले साथीहरुसंगबाट मलेसियामा आइटी सम्बन्धि काम सजिलै पाइने र पैसा पनि मनग्य कमाइने कुरा सुनेको थियो। रामबहादुरले पनि मलेसियामा आइटी पढेकाहरुले राम्रो पैसो कमाउन सक्ने कुरा पछिल्लो भेटमा सुनाएका थिए। तर बुवाआमको मन भने ऊ गाँउमा फर्केर उतै केहि गरोस भन्ने थियो। ऊ सारै अन्योलमा पर्यो। अस्ट्रेलिया, युरोप, अमेरिका पढ्न जानलाई धेरै खर्च लाग्ने। तर मलेसिया तथा खाडी मुलुकमा कम पैसामा जान पाइने तथा कम्पुटर सम्बन्धि काम पाइयो भने तलब पनि धेरै हुने कुरा उसलाई जानकारी थियो। 

‘एकपल्ट मलेसियाको लागि ट्राइ गर्नुपर्यो। पैसा राम्रो कमाउन सकियो भने चार पाँच बर्षमा नेपालमा फर्केर पनि केहि गर्न सकिएला’, उसले मनमनै बिचार गर्यो। मलेसिया जानको लागि पनि दश पन्द्र लाख जुटाउनु पर्ने भएकोले एकपल्ट घरमा सल्लाह नगरी उसले निर्णय लिन सकेन। 

अर्कोदिन ऊ घर फर्कियो। बेलुका खानपिन भैसकेपछि उनीहरु चिसो हावा खानको लागि बाहिर पिडीमा गुन्द्रीमाथि बसे। कुरा सुरु गर्दै यमनले भन्यो, ‘म मलेसिया जाने सोच बनाउदै छु।   ‘युरोप, अमेरिका झैँ उतै बस्नको लागि होइन। पाँच बर्ष जति बसेर फर्किहाल्छु। त्यतिन्जेल अलिकति पैसो पनि जम्मा हुन्छ। त्यसपछि यतै एउटा कम्प्युटर सम्बन्धि कुनै बिजनेस गरेर बस्ने गरेर फर्किन्छु। तलब पनि राम्रो हुन्छ रे। ‘

उसको यो कुराले बुढाबुढीको रक्तचाप अकस्मात बढ्यो। एकछिन सम्म दुबैजना मुख हेरा हेर गरे। उनीहरुको मस्तिष्क सुन्य भयो। धेरैबेरमा शिबुरामले भने, ‘ पढेर जागिर नै गर्नु पर्छ भन्ने पनि केहि छैन हेर। यो सम्पति सबै तेरै हो। बिजनेसको लागि पैसा चाहियको छ भने आँपको बुटामुनिको खेत घडेरी बनाएर बेच्दिम्ला। सबैले बेचेकै छन्। तर विदेश सिदेश जानी कुरा नगर। विदेश गएकाहरुपनि अहिले धमाधम फर्केकै छन्।’

यमनको मन किन किन बिचलित भैसकेको थियो। उसको दिमागमा एकपल्ट बाहिर गएर कामको अनुभब र अलिकति पैसा जोडेर मात्र नेपाल फर्किने र उता सिकेको शिप र जम्मा भएको पैसाले बल्ल यता राम्रो बिजनेस गर्ने भन्ने कुरा चलिरहेको थियो। उसले बारम्बार गरेर बुवाआमालाई मनाइ छाड्यो।

रामबहादुरले काठमान्डौको एकजना मलेशिया पठाउने एजेन्टको नम्बर दिएको थियो। काठमान्डौ फर्केपछि ऊ तुरून्त एजेन्टलाई भेट्न गयो। सुदिप नाम गरेको त्यो एजेन्टको धुम्बाराईमा अफिस रहेछ। उनीहरुबीच मलेशियाको लागि अप्लाई गर्नेबारे सल्लाह भयो। 

"क्वालालम्पुरमा रहेको सुमिदेन इलेक्ट्रोनिक्समा आइटीको कोटा छ। जम्मा खर्च बाह्र लाख लाग्छ। दुइलाख अहिले जम्मा गर। बाँकी दशलाख भिसा लागेपछि बुझाउला। तलब मासिक एकलाख पचास हजार सम्म हुन्छ’, सुदीपले कम्प्युटरमा मलेसियाको एउटा वेबसाइट देखाउदै भन्यो। यमनको दिमागमा बाह्रलाखतिर बढी केन्द्रित भएकोले होला अन्य कुराहरुमा त्यति ध्यान दिएन उसले। एकपल्ट घरसल्लाह गर्ने भनेर ऊ त्यहाँबाट निस्कियो। 

छोराको मनसाय बुझेर शिबुरामले पनि मन्जुरी जनाए। आँपको रुखामुनिको खेत बेच्न खोजेपनि  तुरुन्त बिकेन। श्रीधर पण्डितसंग बाट अलिकति ऋण काडे। आफुसंग भएको निथारनिथुर गरेर पैसो जम्मा गरे। नजिकै आएको दशैँको टिकासमेत नलगाई यमन मलेसिया उड्यो। 

क्वालालम्पुर इन्टरनेसनल एअरपोर्टमा उसलाई लिनको लागि अजित पहिले नै आइसकेको रहेछ। भारतीय मुलको करिब चालिस बर्षजतिको देखिने अजितले हिन्दि मै आफ्नो परिचय दियो र गाडीमा बसालेर सरासर कम्पनीकै क्वाटरमा पुर्यायो। त्यहाँ पुगिसकेपछि  कम्पनीको कन्ट्रयाक्ट पत्रमा साइन गर्न पठायो। तलब सत्रसय रिङ्ग्गिट थियो। उसले तुरुन्त नेपालीमा कतिहुन्छ भन्ने थाहा नपाएपनि त्यो रकम नेपालि एकलाख भन्दा धेरै कम हो भन्ने उसले बुझ्यो। नेपालमा सुदिपसंग तलबको बारेमा भएको कुराको बारेमा उसले सुनायो। तर अजितले त्यो रकम ओभरटाइम गरेर कमाउन सकिने जानकारी गरायो। ऊ संग कुनै उपाए थिएन सबै कागजहरुमा साइन गर्यो। अजितले पासपोर्ट मागेर आफैसंग राख्यो। 

भोलिपल्टबाट उसको काम शुरु भयो कम्प्युटरको चिप्सहरु बनाउने डिपार्टमेन्टमा। तिस डिग्रीको गर्मीमा पी पी ई लगाएर एकैठाउ उभिएर काम गर्नु पर्दथ्यो। आठ घण्टा मात्र काम गर्दा खान र बस्ने खर्च कटाएर दुई चार हजार मुस्किलले बच्दथ्यो।त्यसले गर्दा पनि ऊ बाह्र देखि सोह्र घण्टासम्म लगातार काम गर्न बाध्य भयो।बस्नको लागि एउटा साँघुरो कोठा दिएको थियो कम्पनीले। खाना आफै किन्नु पर्थ्यो। छुट्टीको दिनमा समेत काम गर्नु पर्ने बाध्यताले गर्दा उ कहिले कम्पाउण्डबाट बाहिर समेत निस्कन पाएन। 

दुइ  बर्ष सम्म खटिएर काम गर्दा समेत आफु आउदाको ऋण तिर्न नसकेपछि यमनले  नेपाल फर्कने सोच बनायो।एकदिन यो कुरा कम्पनीको म्यानेजरसंग राख्यो। कम्पनीको म्यानेजरले कन्ट्रयाक तोडेबापत झन्डै दश लाख जरिमाना लाग्ने कुरा सुनायो। यो सुन्दैगर्दा उसको छातीको धड्कन एक्कासी बढिसकेको थियो। स्वास रोकिएला झैँ भयो। ऊ केहि बोल्न सकेन।  दिनको अठार घण्टा काम गर्नु सिवाय ऊ संग कुनै बिकल्प थिएँन। एकैछिन  यसरी ठगिएर काम गर्नु भन्दा दलालको टाउको छिनालेर जिन्दगीभर जेल बस्नु परे पनि त्यहि ठिक जस्तो लाग्यो उसल्लाई। तर बुढा बुढी बुवाआमाको अनुहार झल्झल्ती आयो।  नर्कमै बसेर भएपनि पाँच वर्ष बिताउन बाध्य भयो ऊ। 

यता शिबुरामका बुढाबुढी कान्छो छोरो फर्केर आउने दिन गन्दै बस्न थाले। छोराले पैसो पठाउन नसकिरहेको अवस्थामा खेत बेचेर ऋण तिरे। उनीहरुलाई छोरो दलालको चंगुलमा फसेकोले गर्दा घर फर्कन नसकेको भन्नेबारे पत्तै थिएन। उनीहरु शाँझ बिहान भगवानसंग प्राथना गरिरहेका थिए।

शिबुराम बेला बेला बुढीसंग गुनासो पोख्थे  " छोराहरुको लागि भनेर हाम्ले दुख गर्नु पनि बेकारै रहेछ। उनीहरुलाई होला भनेर आँपको रुखमुनीको खेत खाइ नखाई जम्मा गरेको पैसाको जोडेका थियौ। बस्नको लागी पक्कि घर बनायौ। सकी नसकी खेत कोर्यौ।  तर उनीहरुलाई हाम्रो सम्पति भन्दा बिदेशीको गुलामी ठुलो लाग्यो। आफ्नो सम्पतिको मालिक हुनमा गर्ब गर्न नसकेर कहाँ न कहाँ गएर बस्नु राम्रो लाग्यो। यदि उनीहरुलाई बिदेशी भुमि नै प्यारो लाग्छ भने हामिले यहाँ सुर्ता गरेर केहि फाइदा छैन।  भएको सम्पति बेचिदिउ।  आएको पैसा बैंकमा फिक्सडिपोजिट राखौ। ब्याजले खान पुग्छ। सावा जल्ले काजक्रिया गर्ला उसैले खाला।" 

तर  लक्ष्मी भने सधै यो कुराको बिरोध गर्थिन।  उनलाई लाग्थ्यो कुनै दिन उनका दुवै छोरहारु फर्केर आउनेछन। उनलॆ हरेक रात सुत्नु भन्दा पहिले छोराहरुलाई सम्झिन्थिन। कतै लड्छन कि, कसैले गालि गर्यो कि, भोकाए कि भन्ने पिरै पिरमा हुर्काएका दिनहरु आँखा अगाडी झल्झल्ती आउथे। पछ्यौराको टुप्पोले सुटुक्क आँशु पुछथिन। राति कतिखेर आँखाका ढकनी बन्द हुन्थे उनले कहिले हिसाब किताब राखिनन्।  छोराहरुको यादमा रात जाग्राम बितेपनि कुनै गुनासो थिएन उललाई। रात उनको लागि एक पर्खाइ थियो  'कतिबेला उज्यालो होला र छोराहरुको फोन आउला।'  कहिलेकाँही रातमा पनि घरि घरि फोन हेरिरहन्थिन उनि। बेट्री सकिएर हो कि फोन नआएको भन्दै घरि घरि चार्जमा जोडेर राख्थिन फोन। हप्ता दिनसम्म पनि फोन आएन भने तल दुकानमा झरेर 'मेरो फोन बिग्र्यो कि बाबु हेर्देउ न ' भनेर पशलेलाई सोध्थिन। 

यमन बधुवा मजदुरको रुपका दिनको अठार अठार घण्टा काम गर्न थालेको तेस्रो बर्ष चल्दै थियो। मलेसियाको बिध्युतिय सामाग्रीहरु धेरै अमेरिकामा जान्थ्यो। अमेरिकाले त्यस्ता सामग्रीहरु खरिद गर्दा बिदेशी कम्पनिहरुसंग गरेको सम्झौता अनुरुप एम्प्लोइहरु अर्थात् कामदारहरुको अधिकार हनन भएको छ छैन, आठ घण्टा भन्दा बढी काम गरेबापत पैसा दिएको छ छैन, कामदारहरुको इक्षाबिपरित काम गरेको छ छैन भनेर जाच्ने एउटा संगठनले यमनलाई गोप्य अन्तरबार्ता लियो। अन्तरबार्ताको क्रममा यमनले आफुले नेपालबाट एउटा सम्झौता गरेको तर त्यहाँ अर्को काम गर्न बाध्य भएको, तलब पनि नेपालमा गरेको सम्झौता भन्दा फरक भएको, आफुलाई बाध्यतामा पारेर कन्ट्रयाक्ट साइन गर्न लगाएको साथै पासपोर्ट समेत उनीहरु रहेको कुरा सुनायो।  यस्तै कथाहरु थिए अन्य मजदुरहरुको पनि। दुइ महिना सम्म चलेको अनुसन्धान पश्चात अमेरिकाले सुमिदेन इलेक्ट्रोनिक्स बिरुद्द मुद्दा चलायो। यमनलाई त्यहाँ बाट निकालेर नेपाल पठाउने व्यवस्था समेत त्यहि संथाले मिलायो। 





















Sunday, July 4, 2021

डेन्टोनिया पार्क र डायस्पोरिक चिन्तन

जुलाई महिनाको तेस्रो  दिन शनिबार परेको  थियो। बाहिरको तापक्रम बढेर करिब बाइस डिग्री सेल्सियस पुगिसकेको थियो । झन्डै दुइबर्ष जति महामारीको कारणले घरभित्र थुनिएका मान्छेहरु बिस्तारै बाहिर निस्कदै थिए।  भिक्टोरिया स्टेशन नजिकैको  डेन्टोनिया पार्कको दक्षिणपूर्वतिरको भाग  नेपालिहरुले भरिभराउ थियो। मौसम घमाइलो र बाताबरण रमाइलो थियो। बर्तमान  समय र स्थानलाई एकैछिन हिप्पोक्याम्पसबाट निकाल्ने हो भने यो ठाँउ  किर्तिपुर केन्द्रिय बिश्वबिध्यालयको कम्पाउण्ड अथवा कुनै बोर्डिंग स्कुलको गिराउनमा सिधै डिजल्भ भैदिन्थ्यो। 

त्यहाँ जम्मा भएका धेरैजसो हामीहरु  किर्तिपुर क्याम्पसबाट  दुइहजार साठी देखि पैसट्ठी सालमा विभिन्न संकायहरूबाट मास्टर्स सकाएर सरकारी तथा निजि संघसस्थाहरुमा काम गरेका, विश्वबिद्यालय देखि विभिन्न स्कुल क्याम्पसहरुमा अध्यापन गराएका खाट्टी नेपालिहरु थियौ।  खाट्टी यस अर्थमा कि न कसैको बोलिभाषामा परिबर्तन थियो त न छालाको रंग र गफ गर्ने कलामा। फरक यत्ति थियो कि कसैको पेटमा अलि बढी बोसो जमेको थियो त कसैको अनुहारको छालाको रङ्ग बर्षौ पुरानो पेन्टिङ्गको झैँ उत्रियको थियो। धेरैजसोको आँखाको कोछहरुमा मुज्जा प्रष्टै देखिन्थे र टाउकाको रौ धौलागिरि हिमाल झैँ हाँसिरहेका थिए। चिल्ला गाला गरेका पनि थिए कोहि कोहि। महिला टोलीहरु भने सानै समुहमा भएपनि चौरको अर्कोपट्टि गफ गर्दै थिए।  

लामो समय पछि यसरि भेट हुने मौका जुराएको थियो नेपालीहरुकै एउटा फुटबल संगठन ले। यो संस्थाको अग्रसरतामा नेपालि केटाकेटीहरुलाई प्रत्यक वर्ष जुलाई र अगष्ट महिनामा प्रशिक्षण दिइने रहेछ। विभिन्न उमेर समुहमा विभाजित गरेर सिकाइने फुटबल भन्दा विभिन्न ग्याजेटहरुमा लत्तियका केटाकेटीहरुलाई एकापसमा चिनजान गराउनु ,अग्रेजी मै किन नहोस एकापसमा कुराकानी गर्ने मौका दिनु र दुइ घण्टा कुदाउनु  नै ठुलो हो उपलब्धि हो। 

हामि नेपालीहरु चाँहे संसारको जुनसुकै कुनामा नपुगौ, हामीले आफ्नो संकार, बानी, काम गर्ने तौर तरिका संगै लिएर गएका हुन्छौ। नेपालिहरु भेट हुने बितिकै यहाँ जहाँसुकै बसोस, जे सुकै गरोस, सबभन्दा पहिले 'नेपालमा हजुरको घर कहाँ? के गर्नुहुन्थ्यो? टि यू को कतिको ब्याज हो तपाइँ ? जस्ता प्रश्नहरु चिनजान गर्ने शुरुवादी प्रश्नहरु हुन्छन्।  'फलानोलाई चिन्नुहुन्छ ? ढिस्कानो त अस्ट्रेलियामा छ ' हुदै कुरा अघि बढ्दै जान्छन। त्यसपछि कुरा प्रवेश हुन्छ नेपालको राजनीति र  नेताहरुको बारेमा टिकाटिप्पणी आदि इत्यादि। 

चिनजानलाई नबिकरण  गर्दै जाने क्रममा अग्रेजी बिषय एकदुई ब्याज तलमाथिका भूपू बिद्यार्थीहरुको बीच कुराको गुरुत्वआकर्षण बढ्दै गयो। कुरा सुरु भयो अभि सुबेदीको रसिला गफ, गुप्तोको ब्ल्याकबोर्डभरि छरिने दर्शनका बाछिटाहरु, पाण्डेले बेच्ने किताब र सन्जिब उप्रेतीको पढाउने शैली। सबैका आफ्ना आफ्नै अनुभब थिए। सबैका फरक फरक खास थिए। हामीहरु विभिन्न समयमा घटेका रमाइला घटनाहरुका टुक्राटाक्री जोड्दै र सुनाउदै थियौ। हामि सतप्रतिशत बिगतमा फर्किएका थियौ। त्यहाँ जम्मा भएकाहरु मध्य कसैले यहाँका यूनिभर्सिटिमा पढेका थिए। विभिन्न  संघ संस्थाहरुमा काम गर्थे। तर कसैले पनि न  यो अनुभब सुनाउन चाह्यो न कोहि सुन्न उत्सुक नै। नेपालकै स्कुल, कलेजहरुको कुरा गर्दा, आफ्ना गुरुहरुको प्रशंसा गर्दा होस् या आलोचना गर्दा छुट्टै किसिमको आनन्द आउदो रहेछ। 

गफ गर्दा गर्दै कार्यक्रमको  उद्घाटनको समय भएछ। त्यसैबेला युरोपियन मुलका झैँ लाग्ने गोरो छाला भएका  एक जोडी एक एकवटा बच्चा काखमा च्यापेर हामि जम्मा भएको ठाउँतिर आए।  केटो हाफ प्यान्ट र टिशर्टमा थियो भने केटि पनि  माथि  आधा कुम देखिने र तल कट्टु बराबरको रातो समर ड्रेसमा थिई। सुरुमा त लाग्यो यिनीहरु यतिकै केटाकेटीसंग घुम्न निस्केका होलान।तर पछि थाहा भयो केटो त्यहाँको  एम पी रहेछ। कार्यक्रम उद्घाटन गर्न आएको प्रमुख अथिति।  हाम्रा नेताहरुसंग पहिले नै चिनजान रहेछ। सबैले  कुर्चीमा बस्न अनुरोध गरे पनि उनीहरु कुर्सिमा बसेनन्। हामीहरु जस्तै धेरै बेर सम्म  उभिई रहे।  

"लौ हेरौ हाम्रा नेता र यिनीहरुमा कति फरक छ। हाम्रालाई अघिपछि सके बन्दुक, नसके डंठो समाएर अभिने मान्छे चाहिन्छ। आशेपाशेहरुको तछाड मछाड हुन्छ। नेतालाई  सुटेट बुटेट हुनुपर्छ। सबभन्दा विशिष्ट खालको बस्ने सोफा चाहिन्छ। हेर यिनीहरुलाई ?' एकजना मित्रले ठोकिहाले। सबैले हो मा हो मिलाइयो। तितो यथार्थता यहि नै हो। तर किन हाँमी हरेक कुरालाई नेपालसंग तुलना गर्छौ। यसरि औपचारिक कार्यक्रममा अनौपचारिक तबरले उपस्थिति हुनु राम्रो कि औपचारिक रुपले ? सायद "एभ्री बुक्स क्यान नट बि जज्ड बाई इट्स कभर। '

कार्यक्रमको शुरुवाद भयो खाट्टी नेपालि शैलीमा। च्याउझै उम्रियका नेपालि संगठनहरुका नेताहरुको  संबोधन, एन आर एन अध्यक्षको भाषण, एम पी को प्रशंशा, क्यानाडा  सरकारले नेपालाई विभिन्न समयमा गरेको सहयोगको लागि  धन्यबाद यस्तै यस्तै। उनीहरुले गरेको भाषण सायदै त्यहाँ उपस्थित बालबालिकाहरु बुझे होलान। मलाई लाग्यो ति कलिला बालबालिकाहरुलाई उनीहरुले बुझ्ने गरेर नेपालि भाषा, संस्कृति र फुटबल सिक्दै गर्दा बन्ने नेपालीहरु बिचको चिनजानले आफ्नो पहिचान बुझ्न कसरि मद्दत गर्छ भनेर भनेको भए अलिकति सान्दर्भिक हुन्थ्यो जस्तो लाग्यो। 

हुनत कुनैपनि कामको आलोचना गर्न जति सजिलो हुन्छ, काम गर्न त्यति गाह्रो हुन्छ। कयौ साथीहरु स्वयंसेबकको रुपमा खटिएका थिए। पानीका बोतलहरु, वाटर मेलनक डल्लाहरू, टिमहर्टनबाट चिया, कफीका जर्किनहरु बोकेर गिराउनसम्म पुर्याउने र ' ल है सरहरू चिया कफी लिउ' भन्दै सबैलाई अनुरोध गर्ने नेपालि सैलीमा कुनै फरक थिएन।  कुनै विदेशीहरुको कार्यक्रममा भएको भए आफुले कपमा कफी हालेपछि अरुलाई सोध्ने कुरै आउदैनथ्यो। सोधिहाले पनि हाम्रो जस्तो आत्मीयताकासाथ् 'कफी कपमा झिकेर हातमा पुर्याइदिने थिएनन्। घरि घरि 'लिनुस न लिनुस' भनेर अनुरोध पानि गर्ने थिएनन्।  

कफी समातेर पिउदै गर्दा उद्घोषकले सडकको पारीपट्टी पार्किंग गरेका कारहरु हटाउन सुचना जारि गरे। पार्कको छेउछाउ लहरै सुन्दर  घरहरु थिए। नेपालमा भएको भए ति घरहरुमा  किराना स्टोर  र चिया पशल हुन्थे। घरको बाहिर बसेर मान्छेहरुले केटाकेटीहरुको खेल हेर्थे। कैयौ बुवाआमाहरु गिराउनमै आएर दर्शक बन्नुहुन्थ्यो। तर त्यहाँ न हामीले कसैलाई घर बाहिर उभिएको देख्यौ। न कोहि आएर दर्शकदीर्घामा उभियो। उल्टै हामीहरुलाई भित्र भित्र डर थियो कि उनीहरुको घर अगाडी कार पार्क गर्दा पुलिस बोलाइहाल्ने हुन् कि भन्ने। हामि कति धेरै नियमकानुनभित्र  बाँधिएका हुन्छौ यहाँ। आफ्नो देशमा निरंकुस शाशन नै किन नहोस परदेशमा भन्दा धेरै आफ्नै देशमा स्वतन्त्र हुन्छौ जस्तो लाग्यो। 

साथीहरुबीच कुरा हुदै गर्दा कतिपयले टिम हर्टनको चियाँको लत बसिसकेकोले अरु ठाउँको कफी मिठो नहुने बताए। तर सबैले नेपालमा कलेज पढ्दा क्यान्टिनमा होस् या किर्तिपुरको  चोकमा पिएको चियाको स्वाद बिर्सिएका थिएनन्। 'किर्तिपुरमा डेरा गरेर बस्दा चुची संगै कान्तिपुर पत्रिका नपढेको दिन हुन्थेन', एकजना मित्रले टिमहर्टनको कफी सुरुप्प पार्दै सुनाए। हाँसका छोइला, चितवनको तास र बागबजारको  म:मको सम्झना भयो। कुरा हुदै गर्दा कहाँ खाशिको माशु राम्रो पाइन्छ भनेर साथीहरुले आआफ्नो अनुभब पनि सुनाए। पोहोर साल खसीको माशु लिन हामि पाँचजना साथीहरु टोरोन्टो दखि चालिस किलोमिटर टाढा  स्टफभिल्ले भन्ने ठाँउको फार्ममै पुगेका थियौ  झिसमिसे उज्यालो नहुदै। हामी नपुग्दै चार पाँचजना अरु नेपालिहरु पुगिसक्नु भएको रहेछ। कतिपय अगिल्लो दिन पालो नपाएर अर्को दिन बिहानै आएको भन्दै हुनुहुन्थ्यो। फार्ममै पुगेर खशीको माशु किन्ने चलन प्रायजसो सबै शहरहरुमा बस्ने नेपालिहरुको हुन्छ। 

दशैमा हामीहरुलाई खसीको माशु नै चाहिन्छ चाहे एल डी एल कोलेस्ट्रल हाइ नै किन नहोस। माशु पकाउदा जिरा, धनिया, लसुन पिधेरै राख्नु पर्छ।  तिहारमा सेलरोटी पकाउनै पर्छ। साथिभाइहरु घरमा आउदा कसैले पनि टिमहर्टन र म्याकडोनाल्डको कफी पिउदैनन। खाट्टी ताजमहल, रेडलेबल ब्राण्डका चियापत्ती हालेर बनाएको दुध चिया नै पाक्छ। सबैको घरमा दाल, भात, तरकारी पाकेकै हुन्छ। 'नेपालिहरु क्यालोरी गनेर खाना खादैनन्। पेटको साइज हेरेर खान्छन। एडमन्टनमा एकजना साथि छन् भटमास साँधेको अचार नभई नहुने। एकपल्ट रकी माउन्टेन घुम्ने क्रममा भात र झोल हालेको खसिको माशु खोज्ने चक्करमा भोकै एडमन्टन फर्केको अनुभब छ। पिजा, बर्गर खाएर पेट नै भोरिदैन।  'नानिदेखि लागेको बानि कहिले हट्दैन ' भन्नुहुन्थ्यो आमा हो रैछ। गर्मीमा दहि घोलेर महि नबनाउदा सम्म खाना खान बस्न मन नै लाद्दैन।  घर किन्दा सबैको चाहाना 'ब्याक  यार्डमा रायोको साग, फर्सीको मुन्टा र सिमि' फलाउने चाहाना हुन्छ। 

कुराकानी चल्दै जाँदा एकजना मित्रले भने ' माम्फुली र सुन्तला ल्याएर आउनुपर्ने, कि जाने हो लिनलाई ?' सबैजना गलल हाँसे। पुन: सबैजना बिगतमा फर्कियौ। किर्तिपुरको चउरमा होस् या रत्नपार्क र टुडिखेलमा बसेर माम्फुली खादै गरेको सम्झना गरे सबैले। किन किन साथिभाइहरु यसरि भेला हुदा बर्तमानमा अडिन सक्दै सकिदैनन्। बिगतमा पुगीहालिन्छ। टुडोको भन्दा वलीको कुरा बढी हुन्छन। पश्चिम क्यानाडाको गर्मि र आगलागी भन्दा धेरै  सिन्धुपाल्चोक, बेनी र ढोरपाटनको बाढी पहिरोको कुरा हुन्छन। स्कुले साथीहरु तथा आफन्तहरुलाई कोरोना लागेकोमा चिन्ता प्रकट हुन्छ। लाग्छ, ज्यान बुख्याचा झैँ ठिङ्ग उभिएको छ डेन्टोनिया पार्कमा र तन, मन, पुरुस्  नेपालतिरै छ जहाँ हाम्रो बचपना बित्यो, स्कुल, कलेज पढियो, प्रजातन्त्र, बहुदल हुदै गणतन्त्रको लागि लढियो। नेपालि लोकगित, गजल, जोकमा जुन मज्जा छ त्यो बियोंन्सी, र ब्रुनो मार्सको गित होस् या ट्रेभर नोहाको जोक्सले दिदैन। सन्तोस पन्तले चलाएको टेलीसिरियल 'हिजोआजको कुरा' सबैले सम्झिन्छन। कमेडी च्याम्पियन हेरेर सबैले मज्जा लिन्छन। 

धेरैले रुचाइएका क्यानेडियन लेखक रोहिन्तोन मिस्त्रीले 'अ फाइन ब्यालेन्स' मा  लेखेका  छन् ,' नो थिङ्ग इज एज फाइन एज ओन्स नेटिभ ल्याण्ड। ' भारतको मुम्बइमा जन्मेका मिस्त्री तेइश बर्षको उमेरमा क्यानाडा बसाई सरेका थिए। उनि जस्तै   थुप्रै इम्मीग्रान्ट क्यानेडियन लेखकहरुले आफ्नो बिगत् तथा जन्मथलोलाई बिषयबस्तु छानेका छन्। अर्का श्रीलंकन क्यानेडियन लेखक श्याम सेल्भादुराईले 'फन्नी बोय' मा श्रीलंकाको सिन्हाले र तामिल समुदायबिचको लढाई र त्यसले निम्ताएको पारिबारिक पलायनलाई जिबन्त पारेको छ। हामीहरु  बस्दै आएको टोरोन्टो स्कार्बोरोमा त्यो समय पलायन भएका थुप्रै श्रीलंकन क्यानेडीयनहरु बसोबास गर्छन। अर्का स्पेनिस क्यानेडियन  लेखक यान मार्टेलले पनि स्पेन र पर्चुगललाई आफ्ना कथा उपन्यासमा बेस बनाएका छन्।माइकल ओन्दाजेको 'रनिङ्ग इन् टु द फेमिली' त्यस्तै एउटा उदाहरण हो।  त्यता थुप्रै लेखकहरु छन् जसले आफ्नो जन्मभूमिलाई लेखनको आधार बनाएका छन्। डेन्टोनिया पार्कमा जम्मा भएका हामि सबैभित्र यस्तै कथाहरु थिए। मिस्त्री र सेल्भादुराईको झैँ डायस्पोरिक अनुभब थियो। हामिसबै यस्तै  उपन्यासका जिबन्त पात्र थियौ। 

गफ गर्दा गर्दै समय  बितेको पत्तै भएन। उद्घोषकले कार्यक्रम अन्त्य भएको घोषणा गरे। सबैजना भोलि फेरी यसरि नै जम्मा हुने बाचा गर्दै मुट्ठी ठोकेर, आआफ्ना भुराभुरिहरुलाई जम्मा गर्न लागियो। केटाकेटीहरुले पनि आफ्ना नयाँ तथा पुराना साथीहरुलाई हात हल्लाएर बिदा गरे। एकैछिनमा रित्तो भयो डेन्टोनिय पार्क साथिहरुसंग छुट्टिदाको हाम्रो मन जस्तै।