Saturday, March 27, 2021

कथा "जुठेको डाक्टर बन्ने सपना "

 'ठुलो भएर के बन्चस हँ, जुठे ?' पिताम्बर काकाले देउराली चुरोटको धुवा सरर आँकासतिर फुक्दै सोधे। बिहानै देखि लागेको कुहिरोले गर्दा आँगनको वल्लो छेउबाट पल्लो छेउसम्म पनि राम्रोसंग देखिदैनथ्यो। त्यसैमाथि चुरोटको धुवामा उनको अनुहार मुस्किलैले चिनिन्थ्यो। 

'डाक्टर हुनीओं केरे', आकासे रंगको सर्ट र कालो जाँघे लगाएको, कपालमा तेल छापेर जुल्फी  लरक्क दाइनेतिर फर्काएको  जुठे स्कुल जाने हतारमा थियो। उसले सुर्के झोला पछाडी भिर्दै भन्यो।

 जुठेका बा पनि त्यहीबेला घाँसको भारि बोकेर टुप्लुक्क आगनमा आइपुगे। आगनको डिलमा भारि बिसाएर खुइय्य स्वास काट्दै जुठेलाई हकार्न थाले। 

 'हेरन यो खानको काल अझै स्कुल मुन्टेको छैन। हतारमा डोको पनि राम्रोसंग नभरि हिड्यो मुर्दार।'

'हैन किन गालि गर्छस्  हँ बिचरालाई ? डाक्टर बन्छु भनेको छ। यो गाँउमा डाक्टर पनि छैनन्। भोलिपर्सि यो डाक्टर भयो भने हाम्ले पनि उपचार पाम्ला केरे। कि कसो हो जुठे? ',  पिताम्बर काकाले कुटिल हाँसो छर्दै भने। 

'बन्छ यो मुजी डाक्टर? कस्ता कस्ता काँ गए, मुसाको छोरो दरबार। सात कक्षा सम्म पढो  भने जनतन, बाटाखर्च खोजेर डिल्लीतिर लखेट्दिने हो', धम्मनेले जुठेल्नामा ख्याक्क थुक्दै भन्यो। 

जुठे केहि नबोली प्याट्ट प्याट्ट हात्तीछाप चप्पल पट्काउदै स्कुलतिर लाग्यो। 

'हैन धम्मने तेरो छोरो पढ्नमा एक नम्मर छ रे भन्ने कुरो मैले सुनेको छु 'चाइनेभन्नपरो । पाँच कक्षामा फस्ट भयो रे त । पढाई छुटाउने कुरो चाँही नगर है।' 

'फस्ट भएर पेट भोरिन्न। कसैले फस्ट भैचस ला भनेर पैसा दिन्नन। जाँबो एउटो कापी लेर आथ्यो। त्यसले खान दिन्न केरे । साहुले लैनो भैसी फुकाएर हिडाले' धम्मनेले भारीबाट नाम्लो झिक्दै भन्यो। 

'अलि एक दुइ बर्ष कुर्न भानिनस र ? मानिहाल्थे पो कि। 

 एक दुइ वर्ष कुर्नुस। बाटो खन्न गएर भएपनि ब्याज तिर्दै गरम्ला। सकिन भने ज्याजेथा भएपनि बेचेर मिलाम्ला भनेँ । अँह फिटिक्कै सुनेनन्।'

'अलि अलि पैसो पनि त देका होलान, दिएनन् र ?' पिताम्बरले चाँसो दिदै सोधे। 

'के को दिन्थे। पाए उल्टै लान्थे होला। पापी हैचन्। भनेको बेलाँ घरको काम छोडेर भएपनि उनकोमा काम गर्न गएकै थिएँ । गरिब भएपछी  हेप्दा रैचन। 

'धेरै पिर नगर। भकारामा एउटो कोरली छदैछ। अहिलेको हिउदमा लारियो भने तेरा दिन फेरी फर्कन्छन' पिताम्बरले गोठतिर नजर लगाउदै भने।  

'ढिडो सेलाईसक्यो। हैन दुइजना के को फत्तुरा गाँसेर बसेको यतिबेर सम्म?' धम्मनेको श्रीमती चिच्याई भित्रबाट। 

पिताम्बर काका  ओरालो लागे। उनी आफ्नो घर जाने  पानीको पाइप जोड्न ट्यांङ्कि  सम्म पुगेर फर्कदै थिए। 

धम्मनेले आस्कोट खोलेर दलिनको किल्लामा झुन्ड्यायो र लोटामा पानि सारेर हात, खुट्टा र मुख धोयो। गाग्रोबाट अर्को एकलोटा पानि सार्यो र भित्र पस्यो। 

जुठेको क्लासमा रामचन्द्र सरको पहिलो घन्टी थियो। ऊ दुई मिनेटजति ढिलो पुग्यो। उनले जुठेलाई  कुखुरो बनेर  सबैको अगाडी एक फन्को लगाउन भने। आदेश बमोजिम उसले पनि घोप्टो परि  दुवै हाँत टाँङ्गमुनिबाट छिराएर कान समात्यो।ढलफल ढलफल गर्दै एक फन्को मार्यो। सबैजना उसलाई हेरेर गलल हाँसे। उसले झोला समात्यो र सबभन्दा पछाडिको बेन्चमा गएर बस्यो। 

रामचन्द्र सरले सामाजिक शिक्षा पढाउथे। हिजो लेखाएको प्रश्न उत्तर घोक्न लगाए सबैलाई र पन्द्र मिनेट नहुदै कक्षाबाट बाहिरिए। उनि कक्षाबाट निस्कनासाथ् हल्ला सुरु भयो। केहीबेरमै हेडसर रन्किदै आइपुगे। कोठा बाहिर निस्केका एकदुई जनालाई  लौरोले चाकको फिलामा सोठ्याई पनि हाले। त्यसपछि सुरुभयो सबैले भाका मिलाएर पाठ घोक्न। 

दोस्रो घंन्टीमा बिज्ञान बिषय थियो। अखिलेस झाँ धेरै दिनदेखि अनुपस्थित थिए। उनको सट्टा सधै जगेडा शिक्षक पठाउथे हेडसरले। कसैले पनि किताब खोलेर बिषयबस्तु पढाउदैनथेँ। डेस्कको एउटा छेउमा बसेर पालै पालो बिषयबस्तु भन्दा बाहिरको प्रश्नहरु  सोध्थे। 

'ल भन जुठे ठुलो भएर के बन्ने विचार छ ?' 

'डाक्टर बन्चु', उसले तत्कालै जवाफ दियो। 

'यल्ले त पाँच कक्षामा होल्फस्ट मारेको हो केरे। डाक्टर बन्ला पनि', दुर्गेले थप्यो।  

'अनि, त नि ?'

' म त भर्ति हुन्यो। सके ब्रिटिस आर्मीमा नसके इन्डियन आर्मीमा,' दुर्गेले तुरुन्तै जवाफ फर्कायो। 

केटीहरुले  'खै के बन्ने हो थाँ छैन' भन्दै मुन्टो लुकाए। 

घन्टी नबज्दै जगेडा शिक्षक पनि बाहिरिए। दिउसो आधा घण्टा छुट्टी हुन्थ्यो। कोहि धुलो माटोमा राज्य खेल्न थाले। कोहि मोजाको बलको फुटबल खेल्न। कोहि कटुस खोज्न जंगल पसे, भने कोहि चराको गुड खोज्न झाडीतिर छिरे। 

दिउसोको हाफ छुट्टी पछि सबैजना आफ्नो आफ्नो कक्षामा पसे। केहीबेरमा पाँच सात जनाको समुहमा मान्छेहरु स्कुलको गिराउनमा देखा परे।  चौध पन्द्र वर्ष उमेर समूहका  केटाकेटीहरु टाटेपाटे ड्रेसमा थिए। उनीहरुलाई देख्नासाथ सबै शिक्षकहरु अफिसभित्र छिरे। एकछिन गिराउनमै रोकिएर उनीहरुले केहि सल्लाह गरे। त्यसपछि एक एक जना गर्दै सबै कक्षाकोठामा छिरे। 

एक बर्ष अघि जुठेको दाई एकाएक घरबाट हराएको थियो। सबैले माओबादीमा गयो भने। पुलिसले धम्मनेलाई दुइदिनसम्म क्याम्पमै राखेर छोडेको थियो। सायद जुठेलाई माओबादी भन्ना साथ् दाईको याद आयो क्यारे। उसले जुरुक्क उठेर सोध्यो,' हाम्रो दाई पनि माओबादीमा गछ केरे, चिन्नुन्च?'

आफुलाई कम्रेड ज्वाला भनेर चिनाएको त्यो सिखुटेले 'पछि कुरा गरौला भन्दै उसलाई चुप बनायो र आफ्नो भासण दिन सुरु गर्यो। 

'यो ब्रुजुवा शिक्षा हाम्रो हितमा छैन। यो सामन्तीहरुको लागि हो। हामीले जनबादी शिक्षा पढ्नु पर्छ। त्यो हाम्रो अधिकार हो। त्यसको लागि हामि राज्यसंग युद्ध लद्धै छौ। तिमीहरुले पनि हामीहरुलाई साथ दिनुपर्छ', उसले एकदम आत्मविश्वासका साथ् भन्यो। 

'त्याँ पढेर डाक्टर बनिञ्च ?' जुठेले सोध्यो। 

'डाक्टर ब्रुजुवा शिक्षा हो। जनबादी शिक्षा भनेको क्रान्ति हो', उसले झन् ठुलो स्वरमा भन्यो। 

'क्रान्ति भनेको के हो ? पुलिसलाई मार्नी हो ?, दुर्गेले सोध्यो। 

'पुलिस सामन्ती राज्यसत्ताले पालेर राखेको हाम्रो दुश्मन हो। सबभन्दा पहिले तिनीहरुलाई सिध्याउन पर्छ। त्यसपछि बल्ल हाम्रो क्रान्ति सफल हुन्छ', उसले फरर भन्यो। सायद यस्तै घोकाएर पठाएको थियो पार्टीले।  

त्यहाँ न कसैले ब्रुजुवा भनेको के हो भन्ने कुरो बुझे न क्रान्तिको अर्थ। सबैले डरै डरमा उसको कुरा सुने। उसले एक एक गर्दै सबैजनाको नाम डायरीमा टिप्यो र अन्तिममा भन्यो 'अब तिमीहरु सबै अनेरास्ववियु क्रान्तिकारी भयौ। तिमीहरु डराउन पर्दैन। हामि तिमीहरुको साथमा छौ।'

त्यतिकैमा बाहिर बन्दुक पड्केको आवाज आयो। सबैजना डरले बेञ्चमुनि छिरे। कम्रेड ज्वाला निस्केर जंगलतिर छिर्यो। 

'साले माओबादी पढाउने स्कुल हो यो ? कता छ हेडमास्टर ? सालेहरू सबलाई समात', होचो होचो कद  गरेको सेनाको कमाण्डरले आदेस दियो। 

चारैतिरबाट  नेपाल आर्मीले स्कुल घेरा हालिसकेको थियो।  उनीहरुले जुठे लगाएत केहि बिद्यार्थीहरुलाई त्यहि राखे र अरुलाई घर घर पठाए। त्यो दिन आर्मीले त्यहाँका सबै शिक्षकहरु र केहि बिद्यार्थीहरुलाई सोधपुछ गर्ने भन्दै आर्मी क्याम्प तर्फ लगे जुन  स्कुलदेखि करिब आधा घन्टाको बाटोमा पर्दथ्यो। स्कुलदेखि पारिपट्टिको अग्लो पहाडको थुम्कोमा चार महिना पहिलेदेखि बस्दै आएको थियो सेना। 

अर्को दिन अपरान्हसम्म पनि  स्कुलबाट लगेको कसैलाई नछाडेपछि  पिडितहरुका  आफन्तहरु र  गाँउका अलि जान्ने सुन्ने मान्छेहरु भेला भएर उनीहरुको स्थिति बुझ्नको लागि क्याम्पतिर लागे। क्याम्पको बाहिर सेन्ट्रीमा बसेको जवानले उनीहरुलाई भित्र प्रवेश गर्न दिएन। उनीहरुले निकै बेरसम्म अनुरोध गरेपछि 'अबदेखि गाँउमा कुनै पनि माओबादी गतिबिधि हुन नदिने र यदि कोहि संकास्पद मान्छे देखिए तुरुन्त आर्मीलाई खबर गर्ने सर्तमा' सबैलाई दस्तखत गर्न लगाए। 

दस्तखत गरेको कागज मेजरलाई बुझाएपछि बल्ल उनीहरुलाई क्याम्पबाट छोड्यो। 'अर्को पल्ट स्कुलमा कुनै मावोबादी देखियो भने सबैजनालाई सिध्याइदिन्छौ', भन्दै राता आँखाले एकपल्ट सबैलाई हेर्यो मेजरले। 

भोलिपल्ट स्कुलमा चरो मुसो पनि देखा परेनन्। 'आफु दुवै पक्षबाट अशुरक्षित भएको भन्दै हेडमास्टर सदरमुकामतिर लागेछन् । केहि शिक्षकहरु तराइतिर झरे। स्कुल बन्द भयो।

त्यसपछि  कसैले छोराछोरी लिएर तराई तिर झरे। कोहि सदरमुकामतिर लागे। घर छोड्ने उपाए नभएकाहरुले अलि हुर्केका छोराहरुलाई दिल्लीतिर पठाए। एक एक गर्दै गाँऊ रित्तिदै गयो। स्कुलको गिराउनमा लुकामारी गर्दै  माओबादी र आर्मीका जवानहरु  परेड खेल्न थाले। 

धम्मनेले जुठेलाई आफ्नै भान्जा जल्बिरेको साथ् लगाएर दिल्ली पठायो। किताब बोक्ने झोलामा एकजोर कपडा र अलिकति मुलाको चाना बोकेर जुठे धुलोले पुरेको जिपमा चढ्दै गर्दा  पिताम्बर काकाले भने,' डाक्टर बनेर आयस् है जुठे। राम्रो संग गयेस्। 

उनि उज्यालो भएपछी लखर लखर जताततै  डुलेका हुन्थे। उनको बचनले  ' जुठेको छातीमा चस्स दुख्यो। सबैले जुठेलाई अनौठो मान्दै हेरे। सायद जुठेको  डाक्टर बन्ने अनुहार नै छैन। जुठे केहि नबोली चुपचाप पछाडिको सिटमा गएर बस्यो। 

दिल्ली पुगेपछि जुठेको  संसार करोल बागको एउटा दुइतले घर भयो। बिहान देखि बेलुकासम्म घरको काम गर्ने, मालिकको गाडी धुने, बगैचामा पानि हाल्ने काम गर्दै पछि घरको खाना समेत बनाउने काम गर्न थाल्यो।

महिनौ सम्म काम गर्दा समेत उसले मालिकबाट तलब पाएन। 'मैनाको भारु बाह्रसय मिल्छ तनखा। केहि नबोली खुरु खुरु काम गरेस्' भनेर छोडेको थियो जल्बिरेले।  पैसाको कुरा गर्दा मालिकले कहिले घर जाने बेला एकमुस्ट दिने भन्दै कुरा टार्थ्यो  भने कहिले  'भैयाको  दे चुके हैं' भन्थ्यो। तर उसलाई काममा लगाएपछि वर्षदिन सम्म पनि जल्बिरे देखा परेन। 

एकदिन  जुठेले आफु घर जाने भन्दै मालिकलाई पैसा माग्यो। तर उल्टै पैसा चोरेको आरोप लगाउदै पुलिस बोलाएर जेलमा पठाइदिने भन्दै धम्काउन थाल्यो। बेला बेलामा गाडी राम्रो संग धोइनस् भन्दै जानी जानी जुत्ताले खुट्टा कुच्ने, चुरोटको धुवा मुखतिर फुक्ने गर्न थाल्यो।दिनदिनैको सारीरिक तथा मानशिक यातनाले गर्दा  जुठे रातिमा समेत तर्सेर जाग्न थाल्यो। एक्लै चिच्याउन थाल्यो। 

घरको पारीपट्टी एउटा रेस्टुरेन्ट थियो। मालपुवा, मोतिचुर लड्डु, बर्फी, काजुकत्लि , जेलेबी बाहिर सजाएर राखेको थियो। जुठेले मन थाम्न सकेन। मालिक्नीको कोठामा सय रुपियाँ देखेको थियो ड्रेसरमा, सुटुक्क झिक्यो र मिठाई पशलमा गएर बर्फी र लड्डु किन्यो। तातो तातो जेलेबी पनि खायो। तर अर्को दिन मालिकले थाहा पाएछ र उसलाई नराम्रोसंग भकुरेछ।  

त्यसैको दुइदिन पछि, मध्यरातमा  ऊ केहि पनि नलिई त्यहाँबाट भाग्यो। नजिकैको करोलबाग मेट्रो स्टेसनमा रात काट्यो। उसलाई कहाँ जाने, के गर्ने कुनै मेसो भएन। अर्कोदिन हिड्दै हिड्दै ऊ हनुमान मन्दिर पुग्यो। मन्दिरको बाहिर भक्तजनहरुको  भिड थियो।  उसले कोहि नेपालि भेटिन्छ भनेर धेरैबेर सम्म कुरिरह्यो। तर ऊ संग कोहिपनि बोल्न चाहेनन्। नेपालीको अनुहार देख्ना साथ् दाई, दिदी भनेर बोलाउथ्यो तर सबैले 'यस्ता बाहाना बनाएर माग्नेहरू धेरै हुन्छन' भन्दै उसको कुरा नसकिदै हिड्थे। 

एक दिन दुइ दिन हुदै समयले भनौ या भोको पेटले उसलाई भिखारी बनाइदियो। ऊ दिनदिनै जसो मन्दिरहरुको आसपासका सडकहरुमा बस्न थाल्यो। मन्दिरको बाहिर भिख माग्नेहरू थुप्रै हुन्थे। तर त्यो भिडमा ऊ अलग्गै बस्थ्यो। हेर्दा सोझो र दयालु अनुहार देखेर होला उसलाई धेरैजसोले केहि न केहि दिएर जान्थे।

आफुहरुले भन्दा उसले धेरै पैसा पाएको देखेर एकदिन राति  मगन्तेहरुको ग्रुपले उसको सबै पैसा लुटे र नराम्रोसंग कुटेर त्यहाँबाट लेखेटे। त्यसपछि ऊ धेरै दिनसम्म दिल्लीका सडकहरुमा कुकुरहरु संगै सुत्यो। कसैले फालेको खानेकुरा टिपेर खायो। कसैले पाकेटमार भनेर कुटे, कसैले फोहोरी भनेर थुके। 

बास्तबिक भगवान हुन्छन कि हुदैनन् त्यो  उसलाई नै थाहा थिएन तर एकदिन कल्पना गरेजस्तै  भगवान बनेर आइन एक महिला जुठेको जिबनमा। 

सोनिया नाम गरेकी करिब पचास बर्ष उमेरकी ति महिलाले एउटा अनाथालय संचालन गरेकी रहिछन। उनले सडकमा दु:ख पाएर लडिरहेका बालबालिकाहरुलाई आफैले उठाएर घरमा लैजान्थिन र  आबश्यकता अनुसार उपचार पनि आफैले गरिदिन्थिन। उनको छोरा अशोक दिल्ली मेडिकल कलेजको बरिष्ट डाक्टर थिए। उपचारको सबै व्यवस्था उनले निशुल्क गरिदिन्थे। 

अनाथालयमा अरुपनि थुप्रै केटाकेटीहरु थिए। उनीहरुको उमेर समूह र मानशिक अबस्थाको मापदण्ड अनुसार अलग अलग समुहमा राखेको थियो। धेरै जसो नयाँ आउने र पुरानाहरू जाने क्रम चलिरहन्थ्यो। आउनेहरु सबै जसो सडकहरुबाटै आउथे।  तर जानेहरु कहाँ जान्थे त्यो कुरा अनाथालयको मालिकलाई भन्दा अरुलाई सायदै थाहा थियो होला। 

उनीहरुको पढाईलेखाई पनि त्यहि संथाले गर्दथ्यो। त्यहाँका केटाकेटीहरु नजिकैको एउटा स्कुलमा पढ्न जान्थे। जुठे अरुभन्दा अलिक कम बोल्ने, हरेक कुरामा रुचि राख्ने र भनेको कुराहरु पछिसम्म पनि सम्झन सक्ने खालको थियो। पढाईमा एकदम रुचि भएको र सिकाएको कुरा एकैपल्टमा सिक्ने गरेको देखेर स्कुलका शिक्षकहरु पनि उसंग प्रसन्न थिए। उसलाई कक्षा पाँचमा भर्ना गरिएको थियो।

 रिजल्टको दिन स्कुल प्रिन्सिपल अनुप राठौरले उसलाई अफिसमा बोलाएर सोधे 'क्या बन्न चाहते हो ?'

'डाक्टर', जुठेले निर्धक्कका साथ भन्यो। 

त्यसैबेला प्रिन्सिपलको ढोकै अगाडी दुइजना मान्छेहरु  देखा परे। उनीहरुले प्रिन्सिपलसंग केहि जरुरि कुरागर्नु छ भनि समय मागे। जुठे त्यहाँबाट बाहिर निस्क्यो। 

केहीबेरमा एक्कासी स्कुलमा प्रहरीले छापा मार्यो। अनाथालयबाट आउनेजति सबै केटाकेटीहरुलाई उनीहरुले  पक्राउ गरे। उता अनाथालय संचालक सोनिया पनि गिरफ्तारमा परिन। जताततै सोनियाले अनाथालयको नाममा मानब तस्करको काम गरेको भनेर समाचारहरु आउन थाले। उनले त्यहाँबाट अनाथ बालबालिकाहरुलाई अन्य मुलुकहरुमा ठुलो रकम लिई बेच्ने गरेको भन्ने समाचार देशैभरि भुसको आगो सल्के झैँ सल्कियो। अनुप राठौर समेतलाई प्रहरीले पक्राउ गर्यो। 

अनाथालयका सबैलाई उनीहरुको आफन्तहरु फेला पारेसम्म उनीहरुको जिम्मा लगायो। जुठेलाई प्रहरीले  नेपालि दुताबासको जिम्मा लगायो। अन्य चारजना अरु केटाहरु पनि उ संगै थपिए। माघ महिनाको बिहानीमा उनीहरु काठमान्डौ ओर्लिए।

नेपाल अनाथालय संस्थाले उनीहरुको जिम्मा लियो। जुठेले आफु आफ्नो घर जान चाहेको कुरा अनाथालयको संचालकलाई बतायो।  उसले घरको ठेगाना पत्ता लगाएर दुई जना कर्मचारीसंग  संचालकले उसलाई घर पठाए। दुइदिन लगाएर उनीहरु जुठेको घर त पुगे तर  घर भएको ठाँउमा बनमाराको झाडी थियो। नजिकै गएर हेर्दा  झाडी भित्र भत्केको घरको भित्तो मात्र देखिन्थ्यो। गाँउमा अन्य घरहरुपनि भुतघर झैँ   सुनसान थिए। 

अलि तल पिताम्बर काकाको घरमात्र ठाडो थियो। ऊ त्यतै गयो। कपाल  सेतै फुलेको, छाला चाउरिएर इन्द्रजाल जस्तै मुज्जा परेको, नजिकै टपरीमा माटो राखेर खकार थुक्ने गरेका निकै रोगि र  बुढा थिए पिताम्बर काका। जुठेले उनलाई प्रणाम गर्यो। तर पिताम्बरले उसलाई चिनेनन्। घरमा एक्लै थिए उनि। 

'म जुठे क चिन्नुभएन काका?'

उनले आँखा अलि तानेर हेरे। धमिलो पर्दामा  जुठेलाई नियाल्न खोजे। केहि बोल्न खोज्दै थिए लामो खोकी लाग्यो उनलाई। खोकी रोकिएपछि टपरीमा खकार थुक्दै भने 'डाक्टर बनेर आइस् जुठे। '

उसको मन निचोरियो। दुवै आँखाका कोछबाट आँशुका ढील्का जमिनतिर हाम्फाले। बर्षौ अघि पिताम्बर काकाले   "डाक्टर बन्छु भनेको छ। यो गाँउमा डाक्टर पनि छैनन्। भोलिपर्सि यो डाक्टर भयो भने हाम्ले पनि उपचार पाम्ला केरे। कि कसो हो जुठे?' भनेको उसको दिमागमा धेरैबेरसम्म  कम्पित भैरह्यो।