Tuesday, February 26, 2019

मिरेम्बा

मिरेम्बा जुलुका। हिस्सी परेकी काली।   ठुला ठुला आँखा, ठुलो र टिलिक्क टल्केको निधार ,  चट्ट मिलेको नाक , जाली बुनेको कपाल, बिहानीको सितको थोपा संगै टल्केको लालिगुरासको फूलजस्ता गाला, मोति जस्तै सेता र अनारदाना जस्तै टम्म मिलेका दाँत।पुस्ट छाती। "तेती राम्री काली त मैले अझैसम्म देखेको थिइन। सधै मुस्कुराउनी हस्मुखी। हैन कालो छालाभित्र यति धेरै सुन्दरता कसरि कुदेका हुनन भगवानले", बिनयले मनमनै भनेको थियो।
युगान्डाको मासका भन्ने गाँउमा फुलेकी मिरेम्बासंग भएको बिनयको  पहिलो भेटले अफ्रीकी मुलुकमा खोरंडे कालाहरू मात्र हैन, मिरेम्बा जस्ता सुन्दरीहरु पनि छन् भन्ने विश्वास दिलाएको थियो। उसको बोलीमा पनि सोझोपन ठ्याक्कै गाउँमा हुर्केकी ठिटी जस्ती ।आँखामा आँखा जुधाएर कुरा गर्दा ऎना जस्तै उसको नजरमा  मन मुटु प्रस्टै देख्न सकिने। 'च्याप्प समातेर मुइ खाँउ खाँउ लाग्ने जस्ती," भन्थ्यो ऊ।
तर मिरेम्बा जति सुन्दरी थिई त्यस्तै सुन्दर थिएन उसको जिबन कथा। मिरेम्बा मासका गाउको एउटा किसान परीवारमा जन्मी।  गरिब परिवार तथा परम्परागत जिबनसैली।  पितृसतात्मक समाज जहाँ महिलाहरुलाई कुट्नु पुरुस प्रतिष्ठाको बिषय बन्दथ्यो।
 उसको बाबु अब्दि जुलुका। बिहान बिहानै घरबाट निस्कन्थ्यो।  दिनभरी गाउँको इँटा भट्टीमा काम गर्दथ्यो र छुट्टी भएपछि कोलानट को जुस पिउन लाग्थ्यो कालिको भाट्टीतिर। कोला संगै एकदुई सिसि वारागी लोकल रक्सि पनि पिउथ्यो र घरमा आएर बुडी संग निउ खोज्थ्यो। कहिले खाना मिठो भएन त कहिले दिनभरी को संग सुत्न गइस र ढिलो भयो खान बनाउन भन्दै।एकदुई मुक्का खानु वा एक दुइ लठ्ठी खानु सामान्य थियो मिरेम्बाको आमालाई।  तर पनि उ चुपचाप सहिदिन्थी र भन्थी "यो पिटेको त माया पो गरेको। तैले पनि पछि बुज्छेस मिरे।"
मिरेम्बालाई यसरि उसको बाउले आमालाई कुटेको कतिपनि मन पर्दैनथ्यो।  तर गाउघर जताततै स्वास्नी कुट्ने चलन थियो।  स्वास्नीलाई अनुशासनमा राख्नको लागि एकदुई मुक्का वा एकदुई लाठि ठोक्नै पर्छ भनेर कानुन निर्माताहरुले खुलेयाम सार्बजनिक समारोहमा भन्दै हिड्थे।
मिरेम्बा बाह्र सन्तानहरुमध्यकी  कान्छी छोरी थिई।तिन दिदि र दुइ दाजुहरु जन्मिने बितिकै खसेका थिए। मिरेम्बाकि जेठी दिदिलाइ उसको श्रीमानले आगोले पोलेर अनुहारभरि टाटै टाटा बनाइदिएको थियो।  अर्की दिदिको लाठीले हानेर उसकै बुडोले  हात भाचिदिएको थियो।  उनीहरु कसैले पनि पुलिसमा रिपोर्ट गरेनन। रिपोर्ट गर्नलाई पनि पुलिसहरुले सकेको पैसो घुस माग्थे। उसका तीनवटा दाईहरु बिद्रोही समुहमा भर्ति भएका थिए।
सानै उमेरदेखि  दिनदिनै जसो हत्या र हिम्साको इस्कुलिंगबाट हुर्केकी मिरेम्बा  बिद्रोही स्वभावकी थिई। पढाईमा पनि अब्बल थिई ऊ, तर गाँउमा हाइस्कुल थिएन।कक्षा आठसम्म पढेर सक्दा नसक्दै पन्ध्र बर्षकै उमेरमा उसको बिहे भयो। उसलाई सबै पुरुषहरु स्वास्नी पिटुवा, जड्याह, काम नलाग्ने डुलुवा कुकुर हुन् जस्तै लाग्दथ्यो। उसको लोग्ने  मटेंन्डोले बिहे भएको  सुरु सुरुका दिनहरुमा औधी माया गर्दथ्यो।  तरपनि मिरेम्बालाई त्यो सबै बनावटी जस्तो लाग्दथ्यो। ऊ सोच्थी यो सबै मायाको नाटक केवल सेक्सको लागि हो।   मटेंन्डोले उसको लागि कपडा किन्दा होस् या कुनै गिफ्ट जहिले पनि उ सोच्थी यो सबै क्षणिक स्वार्थपूर्तिको लागि मात्र हो।  उसले प्रसंशा गर्दा पनि बनावटी जस्तो लाग्दथ्यो मिरेम्बालाई ।  जसले गर्दा उ कहिले पनि खुसि हुन सकिन।  बिस्तारै  उनीहरुबीच सम्बन्ध चिसिदै जान थाल्यो। मटेंन्डो दिनभर आफ्नो काममा ब्यस्त हुन्थ्यो।  तर उ के गर्थ्यो, कहाँ काम गर्दथ्यो, कति पैसो कमाउथ्यो कसैलाई पनि थाहा हुदैनथ्यो।  उ बिहान सबेरै घरबाट निस्कन्थ्यो।  घरमा  मटेंन्डोको आमा र मिरेम्बा मात्र थिए।  उसको बाबु उ सानै हुदा समुन्द्रमा डुंगामा  डुबेर मोरेको थियो।
दिनहरु बित्दै गए। उनीहरुको दुइ सन्तान छोरीहरु जन्मे।  मिरेम्बा छोरीहरुको रेखदेख र खेति पातीमा ब्यस्त हुदै गई।  मटेंन्डोको स्वभावमा अस्वाभाविक परिबर्तनहरु आउन थाले। ऊ राति अबेर घर आउने। खान नखाने। नबोल्ने।  एक्लैएक्लै बस्ने। यौन सम्पर्क राक्ने बेला पनि अस्वाभाविक गतिबिधि गर्ने गर्न थाल्यो। उनीहरु बीच सधै जसो झगडा हुन थाल्यो।  एकअर्काले हिलो छ्यापा छ्याप गर्न थाले। बिस्तारै बिस्तारै उनीहरुको सम्बन्धमा डडेलो लाग्न थाल्यो।मटेंन्डो घरमा आउदा अत्यधिक नसामा आउथ्यो। कुनै बेला ऊ हप्तौ सम्म पनि घरमा आउदैनथ्यो।   यसरि बिस्तारै बिस्तारै उ लागु पदार्थको दुर्ब्यसनिमा फस्दै गयो। अब ऊ स्वास्नीलाई जथाभाबी आरोप लाउने,कुट्ने गर्न थाल्यो।
मिरेम्बालाई यो नौलो घटना थिएन। त्यसै पनि उसलाई आफ्नो लोग्ने प्रति कहिले पनि विश्वास जागेन। मटेंन्डोले औधी माँया गर्दा गर्दै पनि ऊ कहिले उसलाई  माँयाको पित्को सम्म भ्यालु दिइन। मिरेम्बाको  नजरमा उ सधै काम नलाग्ने अपराधि जस्तै थियो। मिरेम्बा न त ऊ संग घुम्न जान नै मान्थी, न संगै फिल्म हेर्न। किन किन ऊ आफ्नो बिहे प्रति खुसि थिइन। जीवन त्यसै लतारि। लातार्दा लतार्दै दुइ छोरीहरुको आमा बनी। तर लोग्ने प्रति माया र विश्वास जागेन। 
एकदिन घरबाट दुइ छोरीहरु लिएर भागी मिरेम्बा। दुइदिन सम्मको जंगलको बाटो हिडेर एउटा बस स्टप सम्म पुगी।  त्यहाँबाट सिधै कम्पला पुगी।  कम्पलामा उसका दिनहरु सहज भएनन्। साम्बिया नदि किनारमा त्रिपाल मुनि दुइ छोरीहरुलाई छोडेर दिनभर  मजदुरी गर्न थाली।  सलक्क जिउडाल परेकी, दुई दुई छोरीहरुको आमा भैसक्दा पनि उसको जिउ डाल असाध्य मिलेको थियो। मैला झुत्रे कपडामा पनि उसको सुन्दरता उतिकै लोभलाग्दो थियो। बिस्तारै  शहरका केटाहरुको आँखा पर्न थाले मिरेम्बा माथि। मिरेम्बा कुनै केटाहरुलाई विश्वास गर्दिन थि।  दिनहरु बित्दै गए।  जिबन झन् झन् कस्टकर बन्दै गयो। सुकुम्बासी बस्तीमा पुलिसहरुले घरि घरि दुख दिन्थे। छोरीहरुलाई स्कुल राक्ने बेला भैसकेको थियो। साम्बिया नदि किनारमा बसेर घन्टौ सम्म बर्बरी आशु मिसाउथी खोलाको पानि संगै ऊ ।
एकदिन उ छोरिहरुसंग इद अल अधा चाड मनाउन मस्जित गएको बेला आदम नाम गरेको केटो संग परिचय भयो। परिचयको क्रममा उसले आफु घरेलु हिंसाबाट छुटकारा पाउनको लागी घरबाट भागेको र नदि किनारमा सुकुम्बासी भै बसेको बताई। आदमले उसलाई हिंसामा परेका महिलाहरुलाई राख्ने संस्थामा पुर्याइदियो। 'फाइट फर वोमन राइट्स' भन्ने एउटा अन्तरास्ट्रिय संस्थाले मिरेम्बालाई शेल्टर दियो भने छोरीहरुलाई स्कुलको पनि व्यवस्था गरिदियो। उ सेल्टरमा हुदा आदम उसलाई भेट्न आउदथ्यो। बिस्तारै बिस्तारै आदमसंग उसको भित्रि मनदेखि मायाँ जाग्न थाल्यो। अब उसलाई सबै केटाहरु लम्पट ,स्वार्थी  र स्वानी पिटुवा मात्र हुदैनन् कि जस्तो आवास हुन थाल्यो।  शेल्टरमा बेला बेलामा महिला हकअधिकारको बारेमा प्रशिक्षण भैरहन्थ्यो। युरोप, अमेरिका तथा क्यानाडामा महिलाहरुको अवस्था, मानब अधिकार र महिला अधिकारको  बारेमा धेरै कुराहरु बुझी उसले। क्यानाडामा महिलाहरुको अवस्था अत्यन्त राम्रो र शरणार्थीको रुपमा जान सक्ने बुझेपछि उसले क्यानाडा जाने सपना देख्न थाली।
आदम एउटा सरणार्थी सिविरमा काम गर्दथ्यो।मिरेम्बालाई मनदेखि नै माया गर्दथ्यो ऊ। बेला बेलामा दुबैजना म्बुरो तालको छेउमा बसेर घन्टौ बिताउदथे।  लुबिरी दरबारको चौरमा छोरीहरुलाई छोडेर नजिकैको झाडीभित्र शिकार खेल्थे। मिरेम्बाले जिबनमा पहिलो पटक भित्रै देखि माया गर्न थालेकी थिई आदमलाई। मटेंन्डोले माया नगरेको चै कहाँ हो र  उसलाई तर मिरेम्बाको दिमागमा आफ्नो बाबु प्रतिको नराम्रो छाँप र दिदीहरुको अवस्थाले गर्दा उसमा नारी  समबेदनाहरु सबै मोरिसकेका थिए। आदम संगको भेट र उसले गरेको सहयोगले नारी स्वभाव जगाइदियो। बेला बेला मटेंन्डोको यादले चिमोट्न थाल्यो उसलाई। उसले खोज्यो खोजेन होला भन्ने पिरलोले पोल्न थाल्यो। छोरीहरुको अनुहारमा मटेंन्डोको आकृति नियाल्न थाली ऊ। बिहे गरेको दुई दुई बर्ष सम्म के गरेन र उसले मिरेम्बाको माया पाउन।  तर उसले कहिले पनि बुझ्न चाहिन। मिरेम्बाले शिविरमा धेरै महिलाहरुको कथा सुनी।  तर उसको कथा अरुहरुको भन्दा अलि फरक थियो। आदमसंग्को निकट सम्बन्धले उसको जिबनमा तुफानको काम गर्यो। अब उसले आदमलाई प्रयोग गरेर जसरि भएपनि क्यानाडा जाने निर्णय गरि।
आदम आफुपनि क्यानाडा जानको लागि प्रोसेस गरेकोले मिरेम्बलाई क्यानाडा पठाउदा फाइदै हुने देख्यो। सबैकुराको ताजोपाजो मिलाएर  उसले मिरेम्बालाई शरणार्थी कोटामा क्यानाडा पठायो।
तिन र चार बर्षका छोरीहरु साथमा लिएर अल्बेर्टा, क्यानाडा छिरी मिरेम्बा। त्यहाँको बस्ने र खाने व्यवस्था सबै क्यानडियन सरकारले गर्यो सुरुको दुइ वर्ष सम्म।  छोरीहरुको भत्ता पनि राम्रै आउथ्यो। एउटा छोरि स्कुल जान थाली। सुरुका दिनहरु पक्कै पनि सहज थिएनन् उस्कोलागी। तरपनि खान र बस्नको लागि समस्या थिएन। जब सरकारी सहयोग बन्द भयो, तत्कालै उसले काम खोज्नु पर्यो।  घरमा छोरीहरुको रेखदेख र बाहिर काम सहज पक्कै पनि थिएन। महिना को पहिलो दिन नै उसको बैंक खाता रित्तो हुन्थ्यो। घर भाडा, बिजुलीको बिल, पानि को बिल, फोन को बिल, इन्टरनेटको बिल, बस भाडा , ग्रोसरी।  अझै अरु के के हो केके।  आफ्नो भन्ने कोहि छैन।  ओल्लो पल्लो कोठाको मान्छे सँग पनि चिनजान छैन। पाँच पाँच महिना हिउ पर्ने।  चिसो उतिकै।  गाडी छैन।  पब्लिक बस कुर्न पर्यो कतै निस्कदा। उसले सुने जस्तो लागेन क्यानाडा। सोची,जीवन साथि भएको भए  जीवन अलि सहज त हुन्थ्यो कि ? फेरी पनि मटेंन्डोको याद आयो उसलाई।
 क्यानाडा आइसकेपछि आदमसंग धेरै कुरा भएन मिरेम्बको ।  सुरुसुरुमा अलि अलि सम्पर्कथियो।  पछि आदमको क्यानाडा को प्रोसेस क्यान्सिल भएपनि उ अमेरिका गयो।   सम्पर्क पनि छुट्यो।  उ संग केबल छोटो तर अविस्मरणीय याद बाकि थियो।
वर्ष दिन पछि उसले  पाउने सरकारी सहयोग पनि आउन छोड्यो। भाषा तथा ब्यबसाहिक ज्ञानको अभाबमा काम पाउनु निकै गारो थियो।  त्यसमाथि उसले दिनमा काम पाउनु लगभग असम्भव नै भयो। एक्लो मान्छेले छोरीहरुको सेवा गरुस कि काम।  बालुवामा फालेको माछा जस्तै छटपटाउन थाली मिरेम्बा। एकदिन  कसैले उसलाई इम्मिग्रेशन ब्यबस्थापन गर्ने सँस्थामा गएर अंग्रेजी भाषा सिक्न सुझाएछ। त्यसैदिन आएकी थिइ मिरेम्बा बिनयको अफिसमा।  त्यो नै पहिलो भेट थियो ति हिस्सी परेकी काली सँग।
" म अंग्रजी भाषा सिक्नको लागि तपाइको अफिस आइकी हु। के गर्नु पर्छ ? " उसले निकै अप्ठेरो मानेजसरी सोधेकी थिई।
"केहि पनि गर्नु पर्दैन। खाली तपाइँ आउनु पर्यो रेगुलर। कहिले आउनुभयो क्यानाडा ?" बिनयले सोध्यो।
" म आएको त दुइ वर्ष जति हुन लाग्यो।  पहिले पहिले त सरकारी भत्ता आउथ्यो। कसैले पनि भाषा सिक्न पर्छ भनेनन्। छोरीहरुले गर्दा कतै काम गर्ने फुर्सद पनि मिलेन।  अवसर पनि भेटिन। अहिले काम खोज्दा काम पाइदैन।  भाषा पनि राम्रो संग आउदैन। हिजो एउटा साथिसंग भेट भयो र उसैले भनेकी भाषा सिक्न गयो भने अलि अलि पैसो पनि आउछ।  भाषा सिकेपछि काम पनि पाउन सजिलो हुन्छ भनेर सम्झाई। उसैले अहिले यहाँ सम्म लेर छोडेकी हो ", उसले एकै सासमा भनेकी थिई। उसको यो सरल जवाफ भित्र धेरै कुराहरु अटेका थिए।
"तपाईको हसबेण्डले के काम गर्नुहुन्छ? " विनयले सोध्यो।
"म सिंगल हो", उसले खल्लो मुस्कान छर्दै भनि। उसले बिनयका आँखाबाट आफ्ना आँखा छुटाएर पर कुना कुना तिर हेर्न थाली। उसको कुराले बिनयलाई  कन्फ्युज्ड गरायो। उ आफ्नो जीवन देखि एकदम निरास देखिई।
" तपाइँ कहाँ बस्नुहुन्छ? साथीहरु छन् कि छैनन् ? उसले कुराको ननिरन्तरता दियो । उ केहि बोलिन एकैछिन।  उसले आफ्नो पर्शबाट पलास्टिकको फोल्डर निकाली र उसको टेबल माथि राखिदिई।
"मेरो सबै डकुमेन्टहरु सबै यहाँ छन्।  कृपया मलाई धेरै कुराहरु नसोध्नुहोला" उसले भनि।
बिनयले फोल्डर टेबल बाट उठायो र त्यसभित्र भएका कागजपत्रहरुमा आँखा डुलायो।  उसले मिरेम्बालाई अंग्रेजी कक्षाको लागि रजिस्टर पनि गर्दियो।
" मैले तपाइको फाइल तयार गरेको छु। ऐले जान सक्नुहुन्छ। क्लास सुरु भयो भने हामि खबर गर्छौ।  यदि तपाईलाई केहि सोध्नु पर्यो भने यो नम्बरमा फोन गर्नुहोला ," विनयले आफ्नो भिजिटिंग कार्ड मिरेम्बातिर सार्दै भन्यो।
बिनय पाँच बर्ष पहिले भारतको केरलाबाट क्यानाडा छिरेको थियो। सुरुको दुइ वर्ष अत्यन्त दुखका साथ बितायो उसले।  यहि बिचमा उसको श्रीमतीसंग पनि सम्बन्ध छुट्यो। कारण केहि थिएन छुट्टिनु पर्ने। बिनयले रातिमा काम र दिउसोमा कलेज जान्थ्यो। एकदिन श्रीमती प्रेगनेंट भएको थाहापाउदा एकदम खुसि भएको थियो ऊ।  तर त्यो खुसि धेरै दिन टिकेन।  त्यो दिन ऊ  काममा थियो।  श्रीमतीले बेथा लागेको भनेर फोन गरेपछि काम छोडेर घर आइ हतार हतार हस्पिटल भर्ना गर्यो।  जब श्रीमतीले च्या च्या गर्दै जुम्ल्या छोरीहरु जन्माई, ऊ भयनाक सपनाबाट बिउझेजस्तो भयो।  ति छोरिहरुको अनुहार हेर्न सकेन उसले। किनकि ति दुवै ठुला ठुला ओठ भएका, टाउकोमा रौ नभएका काला वर्णका थिए। आमा र बाबु दुवैको छालाको रंग संग उनीहरुको रंग मिलेन। ओठ मिलेन, टाउको मिलेन। थुतुनो मिलेन। त्यसै दिन हस्पिटलबाट घर ल्याएर छोडी  बिपत्ता  भएको थियो ऊ। बहुला झैँ हिड्यो ऊ सडक सडक। केहिदिनमै ऊ टोरोन्टो छोडेर एडमन्टन आएको थियो। सोचेन कसले स्यहार गरेहोला सुत्केरीलाई भनेर? कसले हेरचाह गर्यो ति चिचिलाहरुलाई भनेर?
एडमन्टनमा पनि सहज पक्कै भएनन् उसका दिनहरु। न घरको न घाटको भयो ऊ। तर पनि संघर्ष गर्न छोडेन। कानुनि रुपमा झंजट आइलाग्ने कुराले उसलाई सताइरहेको थियो तर एकदिन उसको साथीले छोडेकी स्वास्नी कालेले स्यारेको सुनाएपछी भने मन एकोहोरो भयो उसको । खुसि भयो कि दुखि थाहा पाएन उसले।
महिनौको संघर्स पछि  एउटा गैर सरकारी सँस्थासंग काम सुरु गर्यो। अहिले पनि त्यहि सँस्थामा काम गर्छ ऊ। क्यानाडा नयाँ आउने मान्छेहरु जसलाई अंग्रेजी  भाषा सम्बधि राम्रो ज्ञान छैन उनीहरुलाई भाषा सिकाउछ । मिरेम्बा जस्तै थुप्रै आउछन उसकोमा भाषा सिक्न। तर आज किन किन मिरेम्बको छोटो प्रस्तुतिले उसको मनलाई बिथोलिदिएको छ। उसलाई भित्रै देखि मिरेम्बालाई सहयोग गर्न मन लाग्छ। तेही हप्तामा सुरु हुन लागेको कक्षामा मिरेम्बलाई राखिदिन्छ। भोलिपल्ट अफिस पुग्न साथ उसलाई फोन गरेर जानकारी गराउछ।
कलास  सुरु भएदेखि नै उसले मिरेम्बालाई सक्दो सहयोग गर्छ। मिरेम्बपनि सबै समस्या बिनयालाई धक नमानी बताउछे। दोश्रो लेबल पुग्दा नपुग्दै उनीहरुबीच घनिष्टता बद्छ। बिनय मिरेम्बाको घरमै पुगेर सहयोग गर्न थाल्छ। मिरेम्बाले एकदिन उसलाई आफ्नो परिवार लिएर खाना  खान बोलाउछे। त्यतिबेला बिनायले मिरेम्बालाई आफ्नो बारेमा सबै बताउछ।  मिरेम्बाले पनि सबै कथा खोलिदिन्छे  छरपस्ट। त्यति बेला भनेको थियो विनयले, " मिरेम्बा तिम्रो र मेरो कथा उस्तै उस्तै रहेछ। जीवनको कुन मोडमा के हुन्छ त्यो कसैलाई थाहा हुदैन रैछ। तिमि राम्री पनि छौ। स्मार्ट पनि छौ। यहाँ कामको महत्व हुन्छ। तिमिलाई म जसरि भएपनि काम खोजिदिन्छु। "
" म सानै देखि केटाहरु स्वार्थी हुन्छन। हिंशा गर्छन। सेक्स को लागि मात्र प्रेम गर्छन जस्तो ठान्थे। जसले गर्दा मैले आफ्नो लोग्नेलाई कहिले विश्वास गरिन।  त्यसैको कारणले उ कुलतमा लाग्यो र मैले छोडेर भाग्न पर्यो। आज सोच्दा म नै गलत रैछु। तिम्रो सहयोगले मलाई  नयाँ जीवन जिउन भरोसा  मिलेको छ," मिरेम्बाले ओठ टोक्दै भन्छे।
केहिदिनमै बिनयले उसलाई क्याथोलिक  स्कुलमा सरसफाई गर्ने काममा लगाइदिन्छ। मिरेम्बा छोरीहरु लाई त्यहि स्कुलमा भर्ना  गर्छे। बिहान आफु संगै लिएर जान्छे भने बेलुका संगै लिएर फर्कंछे। सायद यो भन्दा अरु काम भैदेको भए उसलाई अत्यन्त गारो पर्दथ्यो।
मिरेम्बाको सरल स्वभाव र सुन्दरताले बिनायलाई भित्र भित्रै आकर्षण गरिसकेको हुन्छ। एकदिन उसले मिरेम्बालाई भन्छ," तिमि छोरीहरु हुर्किसके पछि एक्ली हुन्छेउ।  उनीहरु अठार वर्ष पुगेपछि आफ्नो आफ्नो गरि खान्छन।  तिमीलाई पनि साथीको खाचो हुन्छ। के सोचेकी छौ। "
" मिरेम्बा उसको हात समाउदै भन्छे, " तिमि छौ नि परेको बेला सहयोग गर्ने।  तिमि भए पुग्यो मलाई।  हैन र ?"
"त्यसोभए तिमि भोलि तिमि मेरो घरमा आऊ छोरीहरु स्कुल छोडेर। आजै स्कुलमा भोलिको लागि छुट्टी पनि माग। तिमीसंग केहि जरुरि कुरा गर्नु छ " यति भन्दै उसले मिरेम्बको नाकको टुप्पो समातेर यता उता गराइदिन्छ।
मिरेम्बा पनि उसलाई गर्लम्म अँगालो हाल्छे। केहि पनि बोल्दिन।  बाताबरण सुन्य हुन्छ केहीबेर।  विनयले उसलाई गाडीमा बस्न अनुरोध गर्छ।  गाडीमा बस्छन दुबैजना । विनयले गाडीमा  म्युजिक लागाउछ र गाडी अलि परको खाली पार्किङ्ग लट सम्म पुर्याउछ। गाडीको सिट पछाडी पल्टाएर विनयले मिरेम्बालाई आफ्नो सिट मा तान्छ र दुइ साप्राको बिचमा राक्छ।  बिस्तारै बिना रोकतोक उसका हातहरु थुम्का थुम्कीहरु तिर सलबलाउछन। दुइ हातले उसको गाला मुसार्छ। मेरेम्बाको छातीको धड्कन बढेको र स्वास तातेको महसुस गर्छ। अनि मिरेम्बको टाउको आफूतिर फ़र्काउछ र उसका पोटिला ओठहरु उखुको रस चुसे झैँ चुस्न थाल्छ।मिरेम्बाले पनि आफ्ना पुस्ट साप्राको बिचमा कन्सुत्लो चलेझै केहि चल्मलाएको महसुस गर्छे।  एकपल्ट त्यो कन्सुत्लोलाई बायाँ हातले निमोठ्दिन्छे। त्यतिबेला उसको दाँया हात हर्न मा ठोकिन्छ र जोडसंग बज्छ। दुबैजना सतर्क हुन्छन।
मिरेम्बा बिनयको काखबाट निस्केर आफ्नो सिटमा पुग्छे। बिनयले मिरेम्बाको कपाल मुसार्दै भोलि आफ्नो घर आउन पुन सम्झाउछ। मिरेम्बा केहि नबोली बस्छे। विनयले गाडी पुन पहिलेको ठाउमा ल्याउछ। दुवै जना एक अर्कालाई अंगालो मारेर छुटिन्छन।
  अर्को दिन छोरीहरुलाई स्कुल छोडेर उ विनयको कोठातिर लाग्छे। उसको घरमा कोहि हुदैनन। वरिपरि  छिमेकीहरुलाई सोध्छे तर कसैले पनि चिन्दैनन् उसलाई। त्यसपछि निरास भयर घर फर्कन्छे। "के आफ्नो गाडी सम्म पुर्याउन मात्रै माया देखाएको हो त उसले।  कि उसले हिजो गाडीमा मनलागेको कुरा गर्न  नपाएर मन मोड्यो उसले? केटाहरु आखिरमा उसले सोचेजस्तै सबै बेकामे धोकेबाज हुन् ?" उसले दिनभर मनमा कुराहरु खेलाई। पटक पटक फोन गरि। अहँ फोन उठेन। फेरी मनमा अर्कै कुरा खेल्न थाल्यो। "कतै बाटोमा गाडी दुर्घटना त भएन ? हैन कतै इमर्जेंसी काममा पो गयो कि ? जे होस् एकपल्ट भोलि बिहानै उसको घरमा जानुपर्ला।" मनभरी कुरा खेलाउदैमा रात बित्यो उसको।
 भोलिपल्ट नयाँ नम्बरबाट फोन आयो, " म पुलिस बोल्दैछु के तपाइँ बिनयलाई चिन्नुहुन्छ?"
ऊ एकछिन अलमल परि। फेरी पनि उही प्रश्न दोहिरियो " तपाइँ मिरम्बा हो ? बिनयलाई चिन्नुहुन्छ ?"
" हो , किन? कहाँ छ बिनय ? " उसले हड्बडाउदै सोधी।
पुलिसले विनयको गाडी दुर्घटनामा मृतु भैसकेको जानकारी गराउछ र उसलाई केहि प्रश्नहरु सोध्ने भदै पुलिस चौकीमा बोलाउछ। मिरेम्बालाई रिंगटा लाग्छ र भुइमा ढल्छे।
विनयको मृतु पश्यात उ डिप्रेसनमा गई। उपचार गर्नको लागि स्कुलले उसलाई एक महिनाको लागि तलबी बिदा दिन्छ। बिदा पछि ऊ घरमा एक्लै बस्दा झन् झन् डिप्रेसनले गाल्दै जान्छ। एकदिन उ एकाएक घरबाट हराउछे।  छोरीहरुलाई अबेरसम्म स्कुलमा लिन नआउदा उनीहरुले पुलिसलाइ खबर गर्छन।  पुलिसले जताततै उसको खोजि गर्छ तर  भेट्दैन कतैपनि।  छोरीहरु एउटा गैरसरकारी संस्थाले हेर्ने जिम्मा लिन्छ। अन्त्यमा एकमहिनाको पुलिस  अनुसन्धान पछि मिरेम्बाले सस्काचेवन नदीको पुलबाट आत्महत्या गरेको हुनसक्ने रिपोर्ट बनाउछ पुलिस।














Saturday, February 2, 2019

बसीर

कालो बर्ण, भेडाको ऊन जस्तै घुम्रियको कपाल, अग्लो कद, पातलो सरिर, मौरिले टोकेर सुन्यको जस्तो ओठ।
चिसो र स्थिर आँखा। अनुहार सधै निराश कालो बादलले छोपेजस्तो। उसलाइ देखेपछि मन कस्तो कस्तो भयो। अलिकति डर। अलिकति निरासा।

“ हेलो! मेरो नाम ब्रेडेन हो। म यो विल्डिङको म्यानेजर।तपाई भित्र आउन सक्नुहुन्छ,” मैले दाइने हात अघि बढाउदै भने।

“हाय! म बसिर। हिजो तपाइसंग फोनमा कुरा गर्ने म नै हो।”

“धन्यबात। म संग दुईवटा मात्र खालि अपार्टमेन्ट छन। तपाइलाई एक बेडरूमको अपार्टमेन्ट चाहियको हो कि दुइ?

“ एक बेडरूम भए  पुग्छ। के मलाई देखाउन सक्नुहुन्छ?” 

‘अफकोर्स’।

मैले उसलाई भुइतलामा भयको कोठामा लगे। किचन, बाथरूमहरू देखाए।

“ यो एकजना या दुइजनासम्मलाई ठिक छ। सस्तो छ। यो मुल्यमा कतैपनि पाइदैन। यदि कोठा मन पर्यो भने यो आबेदन फर्म भर्नुस र एक सय डलर पनि बुझाउनुस। यदि तपाइको अप्लिकेसन पास भयो भने म तपाइलाइ कल गर्छु,” मैले भने।

ऊ तलमाथि यताउति हेर्दै थियो। केहि बोलिरहेको थिएन। “ऊडुस त छैन”, उसले सोध्यो।

“छैन। साङ्लाहरू हुन सक्छन तर हामि बेला बेला आषधि छर्छौ।”

मैले साङ्लाहरू छैनन भन्न पनि सक्थे तर उसकै अगाडिबाट एउटा साङ्लो खुर्र दौडेर फ्रिजमुनी छिरेको उसैले देख्यो तर ऊ केहि बोलेन। बाध्यताहरू आआफ्ना हुन्छन। उसले एकसय डलर बुझायो र फर्म लियो। आफु भोलि फर्म बुझाउन आउने भन्दै निस्कियो।

भोलिपल्ट साँझ ५ बजे उ आयो।

“हामि मे को एक गते मुभ इन गर्छौ। हुने नहुने खबर छिटो पाउ” भन्दै ऊ गयो।

भोलिपल्ट फर्म बुझायो। उसैदिन मैले रिफ्रेन्स चेक गरे। सबै ठिकठाक थियो। बोलाएर लिज पेपरमा हस्ताक्षर गराए।

मे को एक तारिक उनिहरू मुभ इन गरे। सामानहरू खासै धेरै रहेनछ। एकपल्ट उसलाइ भेटेर “केहि सोध्नुपर्ने छ भने सोध”, भने।

“आर यू इन्डियन”, उसले नाक खुम्च्याउदै सोध्यो। सायद उसलाइ थाहाथिएन होला यसरि राष्ट्रियताको बारेमा सोध्नु उचित मानिदैन यहा भनेर। तर मैले सहजतासाथ भने, “ नो”।

उ एकछिन अलमलिएझै गर्यो। मैले कुरो अगाडि बढाउन चाहिन। उसले पनि मेरो मनसाय बुझ्यो होला अगाडि सोध्ने आट गरेन।

मलाइ भने पछाडि कुरो गरेको भए हुनेरहेछ भनेर थक्थकि लाग्यो। आखिर मैले पनि कति मान्छेहरूलाइ उनिहरूको राष्ट्रियता सोधेको छु। प्रायजसो इमिग्रान्टहरुले सोध्ने गर्छन आफ्नो देशको बारेमा। सेतो छाला हुनेहरुले झन बढि सोधेको पाइयो।

म काममा निस्कनेबेला होस या कामबाट फर्कनेबेला उ सधै ढोका बाहिर भेटिन्थ्यो। “हाई, हेल्लो “ भैहाल्थ्यो। तर मलाइ भने कताकता उसंग कुरो गरेर अफ्रिकि देशहरूको बारेमा केहि जान्न मन लाग्यो।

एकदिन उ ब्यकयार्डमा भएकोबेला म पनि निस्के बाहिर। उ फोनमा ब्यस्त थियो। केहिबेर पछि ‘हाइ, हेल्लो’ भयो।
“आर यू अन वर्कपरमिट अर पि आर?” मैले आइस ब्रेक गरे।

“रिफ्यूजि”, उसले मुख बङ्गाउदै भन्यो। सायद रिफ्युजि भन्दा आत्मग्लानी भयको हुन सक्छ।

खासगरि नाइजेरिया र इथियोपियाका मान्छेहरूलाई म उनिहरूको शारिरीक बनोट,ओठ र रंगको आधारमा चिन्दछु। सबै काला बर्णका अफ्रिकन हुदैनन् भन्ने कुरा काम सुरूगरेको पहिलो दिन नै थाहा पाएको थिए। त्यो दिन एक जमैकन महिलालाई ‘ मलाइ अफ्रिका मन पर्छ भन्दा’ उनले हासेर जमैका अफ्रिकन देश होइन’ भनेकी थिई।  म छक्क परेको थिए।

“वोयर आर यु फ्रम?” मैले सोधिहाले।

“ साउथ सुडान”, मेरो आखामा एक अपराधिलाइ जस्तै गरि हेर्यो उसले।

“आइ एम फ्रम नेपाल”, मैले अलिकति ओठ लेप्राउदै भने।

उ पनि फुर्सदमै रहेछ। उ संग करिब आधाघन्टा सम्म कुराकानि भयो।

मैले सोध्ने क्रममा उसले आफ्नो ब्यथा यसरि पोख्यो।

“म साउथ सुडानको नुबा पहाडमा जन्मे। जनतन हुर्कदै थिए। मैले अलिअलि जान्ने बुझ्ने हुदादेखि नै हत्या, हिंसा दिनदिनै जस्तो हुन्थ्यो। किन हुन्थ्यो अहिलेसम्म थाहा पायको छैन। हाम्रो परिबारमा चार दाजुभाई र तिन दिदिबैनी थियौ। बाबाको १९९० मा बमको छर्राले दाइने हात चुडिएको थियो। उहॉले जनतन एउटा हातले भयपनि केहि अन्न उब्जायर परिबार पाल्दै आउनु भयको थियो। कहिले कता, कहिले कता दिनदिनै जसो मान्छे मोरेको खबर सुनाउथे गाउलेहरु। हेर्दा हेर्दै सबैजसो युवाहरू नुबान बिद्रोहि ग्रूपमा भर्ति भयछन।”

“नुवान बिद्रोहिको माग चाहि के रहेछ?” मैले उसको कुरो बिचमै काटेर सोधे।

“ मैले अघि नै भनिसके त्यो युध्द किन भैराखेको छ मलाइ राम्रो संग अझैपनि थाहा छैन । बिद्रोहिहरू ठलाठुला हतियारहरू भिरेर दिनदिनैजसो देखा पर्थे। उनिहरू भन्थे यो माटो हाम्रो हो। पुर्खादेखि बसेका हामि अफ्रिकनहरुलाई अरबियनहरूले लखेट्न खोज्दै छ। हामि स्वतन्त्रता चाहन्छौ। १३७ भन्दा बढि जातजातिहरूको बसोबास भयको सुडानमा नुबान बिद्रोहि मात्र हैन अन्य थुप्रै हतियार बोकेका समुहहरू थिए। सबैले आफ्नो जातिय तथा धार्मिक अधिकारको माग राखेका थिए। तर सैन्य कु गरेर राष्ट्रपति बनेका वोमार अल बसिरले जबरजस्ति मुस्लिम धर्ममा परिबर्तन गराउने तथा बिद्रोहिहरूको इलाकामा जथाभाबी बम खसाल्ने काम गरे।”

“किन सुडान मुस्लिम देश हैन र?” मैले सोधिहाले।

“ देश कहिलेपनि मुस्लिम या क्रिचियन हुदैन। रह्यो जनताको कुरा। दक्षिण सुडानमा अशि  प्रतिसत भन्दा बढि क्रिचियन र अन्य धर्मका मान्छे बसोबास गर्छन भने उत्तरमा नब्बे प्रतिसत मुस्लिमहरूको बसोबास छ। तर साधनस्रोतले सम्पन्न दक्षिण सुडानमा भोकमरीको कारणले बर्षेनि हजारौको ज्यान गैराको हुन्छ।”सन् २००६ देखि हत्या, हिसा चरम बिन्दुमा पुग्यो। बमगोला केटाकेटीलाई खेलैना जस्तै भयो।”

उ केहिबेर चुप लाग्यो। म पनि उसलाई साथदिए ।

“ मेरा दुई दिदिहरू र एक भाई त्यहि बमसंगै टुक्रा टुक्रा भए। दुई दाजुहरू बिद्रोहि समहुभित्र छिरे। ज्युदो मर्दो थाह छैन्। बचेखुचेका हामि आकाशबाट कतिबेला बम खसाल्छ भन्दै हेर्दै बस्थ्यौ। जब आकाशमा डरलाग्दो आवाज सुनिन्थ्यो हामि घरछेउको खाडलभित्र पस्थ्यौ। पछि घरघरमा आएर आतंक फैलाए। एक रात अरबि सिपाईहरू घरभित्र छिरे। हाम्रै अगाडि एउटा आखो कानो भएको सिपाईले दिदिलाई बलत्कार गर्यो। मैले त्यो सिपाइको टाउकोमा दाउरोले हाने। पछि उसले धारिलो हतियारले दिदिको दुबै स्तन चुडाइदियो। दिदिको रगत बगेर त्यहि प्राण गयो। अर्कोले त्यहि दाउरोमाथि राखेर मेरो दायॉ हातको पाचवटा औलाहरू टुक्रायो।”

उसले दायॉ हात तन्कायो। उस्को सग्ला औलाहरू त प्लास्टिक पो रहेछन्। त्यो देखेर मन झिसिङ्ग भयो।एकमनले सोचे ‘भो अब धेरै नखोतलौ, खाटा परेको घाउ नकोट्याइदेउ।’ एकछिन केहि बोलिन।

“त्यसपछि हामिहरू घर छोडेर पहाडको खोचमा ओडारमा लुकेर बस्न थाल्यौ। त्यहि जंगलमा पाईने कन्दमुल, रूखको पात र बोक्राहरू खाएर कैयौ रात बितायौ।”, ऊ बोल्दै गयो।

“ ति ओडारहरू पनि सुरक्षित कहॉ थिए र। कैयौ मान्छेहरू बिषालु सर्पको टोकाइबाट मोरे। जताततै सर्पको काचुलि झुन्डियको हुन्थ्यो ढुङ्गाहरूमा। कैयौ आमाबाबूहरू आफ्ना केटकेटीहरूलाइ ओडारमुनि लुकाएर खानेकुरा खोज्न तल झर्थे। कतिपय कहिले फर्केनन्। उतै मारिए। कतिपय़ले फर्केर आऊदा छोराछोरी देख्न पाएनन्। उपचार गर्ने डाक्टर थियनन्। स्कुल, अस्पताल बमले ध्वस्त थिए। खोलाको आसपास लास कुहियको अबस्थामा हुन्थ्यो। त्यहि खोलाको पानि पिउदा झाडा पखलाले कति मोरे कति।”

उसले भन्दै गर्दा मेरो ज्यान नै सिरिङ्ग भयो। मैले दश बर्षे जनयुध्द सम्झे। उदेश्य जे भयपनि दुबैतिर मान्छे मारिएका थिय। कसैका टाउका गिडियका थिए भने कसैको हात र खुट्टा। जंगलमा लाश , खोलामा लाश , भिडन्त भएको ठाउ वरिपरी पनि लाशै  लाश । बिभत्स द्रश्य नाचिरह्यो आँखा वरिपरि।

“ आइ ह्याप टु गो ब्रो”, उसले भन्यो।

“ नाइस टकिङ टु यू,  सि यू देन”, भन्दै म पनि लागे कोठातिर ।

उसंगको कुराकानिले मनभित्र खुल्तुलि झनै बढाइदियो। यूट्यूबमा केहि भिडियोहरू हेरे। गुगलबाट केहि न्युज पढे। डार्फर, नुमा माउन्टेन,जुबा, नाईल नदिको छेउछाउ दिनहुजसो युध्द भैरहेको थियो। शासक कति सम्म क्रूर हुन्छन भन्ने हिट्लर पछिको उदाहरण थियो यो।

एकहप्ता पछि अचानक फोन आयो उसको।कोठामा हिटिङले काम गरेको रैनछ। साझ हिटिङ चेक गर्नको लागि उसको कोठामा पसे। कोठा एकदम अब्यव्स्थित थियो। लिभिङ रूममा एउटा पुरानो सोफा बाहेक केहि थिएन। बेडरूममा एक जना महिला ओक्ष्यान मिलाउदै थिइ। तातोपानिको पाइप चिसो थियो। पाइपको भल्भ हेरे। उपाय लागेन। पलम्बरलाई बोलाइदिने भन्दै निस्के। कुरा गर्न मन थियो तर बाताबरण भनेजस्तो थिएन।

भोलिपल्ट घरको बाहिर दुईजना केटा र एउटा केटी रूख मुन्तिर धेरैबेर यताउति गरे। केटाहरू कालो हुडि र जिन्समा थिए  भने केटी जिन्सको हाफप्यान्टमा। उनिहरूको क्रियाकलाप संकास्पद थियो। केटीलाई दुबैजनाले पालै पालो किस खाइरहे। केहिबेरमा पुलिसको गाडि देखा पर्यो। पुलिसले उनिहरूलाई  कब्जामा लियो र उनिहरूको शरिर र झोला खानतलासि गर्यो। एकै छिनमा सबैलाई भ्यानमा हालेर लग्यो पुलिसले।
भ्यान छुटेको एकछिन पछाडि वसिर देखापर्यो त्यहि ठाउमा एकजना केटिसंग। त्यो केटी मैले उसको कोठामा देखेको चाहि हैन। उनिहरू धेरैबेर त्यहि अलमलिए ।करिब बिस मिनेट पछि केटी उत्तरतिर लागी।
मलाई बसिरसंग अझै कुरा सोध्न मन थियो। दौडदै ऊ भएको ठॉउ पुगे। ऊ झस्केजस्तो गर्यो। मैले सहज बनाउन भने “इट इज अ बिउट्फूल डे”।

उसले मतिर हेर्दै भन्यो, “यस, इट इज”।

अनि मैले पहिलेकै संबादलाई जोड्न खोजे।  उसले पनि मेरो कुरो बुझिहाल्यो र पहिलेको घटनाको कुरा लाई जोड्यो।

“ हामिहरू अत्यन्त कष्टकर जिबन बितउदै थियौ। बाबा, आमा र म मात्र थियौ बचेको। रूखको बोक्रा र पात खादै ढुङ्गाको कोप्चेरोमा कैयौ रात बितायौ। एकदिन त्यो पहाडको छेउछाऊ लुकेर बाचेकाहरू हिड्यौ बेमेसै। कैयोले बटोमै छोडे र सदाका लागि बिदा भए। हामि रातदिन हिडेर इथियोपियाको बोर्डर पुग्यौ।बोर्डर काट्न नपाऊदै आमाको एक्कासि भिरबाट खसेर ज्यान गयो।बाबा र म भने जनतन बोर्डर काटेर त्यहा एक सरणार्थि सिबिरमा पुग्यौ। हामिभित्रको समबेदना मोरिसकेको रैछ भन्ने कुरो आमाको मृतु हुदा थाहा पाए।”

ऊ बोल्दैगर्दा निकै दुखि देखिन्थ्यो। मैले बेला बेला “ आइ एम सोरि, दिस इज पेनफुल” भन्दै साथ दिदै गए।
ऊसले पुन भन्दै गयो,

“करिब दुई बर्ष शिबिरमै बसियो। कैयौ रात भोकै बित्यो शिबिरमै पनि। बेलाबेला नौला मान्छेहरु आइरहन्थे। प्रश्नहरू सोध्थे। कतिपय पछि कहिले देखा पर्दैनथे।

एकदिन केहि मान्छेहरू आए। तिमिहरूलाई बिदेश लैजादै छ। कहॉ जाने भने। हामिलाई बाहिरी संसारको बारेमा केहि थाहा थिएन। सबै काम उनिहरूले नै गरिदिए । कैले कुन पेपर कहिले कुन पेपर दुइ बर्ष त त्यसैमा गयो। २००४ सालमा बाबा र म लगायत पन्ध्र जनाको टोलि क्यानाडा आइयो। यहा हामिहरूलाई पहिले खानबस्न दियो सरकारले। पछि त्यो सबै छुट्यो। बाबा बिरामि भइरहने। एक दिन हिऊमा चिप्लेर खुट्टा र ढाडमा चोट लाग्यो। पछि विलचेयरमा हिड्ने हुनुभयो। अहिले यउटा संस्थाले रेखदेख गर्छ।”

“ तिमि के काम गर्छौ त?” मैले सोधे।

ऊ केहि बोलेन। चुप लाग्यो। मैले दोहोर्याएर  सोधिन।

“नाइस मिटिङ विद यू बसिर”, म कोठातिर लागे।

ऊ त्यहि बस्यो धेरैबेर।

एक दिन डाउनटाउन सबवे स्टेसनमा देखे उसलाई अरू केटाहरूसंग। के गर्दै थियो थाहा भएन तर उसंग भएकाहरू सडकमा  ड्रग्सको लेनदेन गर्ने केटाहरू जस्तै  थिए। मलाइ देखेपछि ऊ  अर्कोतिर फर्क्यो।
अर्कोदिन एउटा गोरि केटिसंग घरभित्र छिर्दै गर्दा देखे।

दिन दिन नयॉ नयॉ केटा र केटीहरू देखा पर्न थाले घर वरिपरी। पुलिसको गस्ति बढ्दै गयो। राति पनि हल्ला बढि हुदै गयो।

एक दिन मध्यरातमा बाहिरको हल्लाले गर्दा बिउझे।स्लाङ शब्दहरू बोलेको टाठै सुनियो बेरूममा। केटीको आवाज चर्को चर्को आयो। पर्दा तानेर बाहिर हेरे। पोप्लर रूखको तलपट्टि केटी घासमा उत्तानो परेकि थिइ पाइन्ट तल झारेको अबस्थामा। माथिबाट एउटा केटो चढ्दै थियो। सडकको बत्तिमा अनुहार धमिलो धमिलो देखिन्थ्यो। केटो काले र केटी नेटिब। केटोले पान्टको फस्नर खोल्यो र केटीको पेन्टि तल सार्यो। केटी चिच्यउदै थिइ। ऊ नसामा भयको आभास मिल्यो। हातले केटीको मुख बन्दगर्दै आफ्नो काम तमाम गर्यो। त्यसपछि केटा सरासर उत्तरतिरको बाटो गयो। केटी रूदै उठी र ‘फ*’ ‘फ*’ गर्दै पश्चिमतिर लागी।

त्यो सबै यति छिटो घट्यो कि मैले पुलिसलाइ कल गरौ कि नगरौ भनेर सोच्दा सोच्दै उनीहरू आफ्नो बाटो लागे। रातभर निन्द्रा लागेन। आफ्नो आँखा अगाडि बलात्कार भएको थियो। नसामा मातिएर हिडेका दुबै जना होमलेस पनी हुन सक्थे। ब्वयफ्रेन्ड र गर्लफ्रेन्ड पनि हुन सक्थे। बहुलाईजस्ती त्यो नेटिब आमामाईलाई कालेले मौका छोपेको पनि हुन सक्थ्यो। तर जे भएको थियो त्यो अत्यन्त पाशबिक थियो।

आर्थिक मन्दीले गर्दा धेरै मान्छेहरूले रोजगार गुमाएका थिए अल्बर्टामा। काम गुमाए  लगतै कतिपय घरबारबिहिन भएका थिए । क्यानाडा जस्तो सम्पन्न मुलुकमा  मान्छेहरूको आर्थिक अवस्था यति कमजोर हुन्छ कि आधाभन्दा बढि जनसंख्या पे चेक टु पे चेक जिबन निर्बाह गर्दछन। गगनचुम्बी घरमुनि दर्जनौ मान्छेहरू आउने जानेहरूसंग एक खिल्लि चुरोट मागिरहेका हुन्छन। रेलबे स्टेसनतिर पनि लुनि र टुनी माग्नेहरू प्रसस्तै हुन्छन। यतिसम्म कि पुलिसको हेडक्वाटरको खुट्टामै टेकेर ड्ग्सको कारोबार हुन्छ। कमनवेल्थ स्टेडियम, कोलिसियम, क्यासिनो, स्ट्रिप क्लबहरू त लागुपदार्थको कारोबार गर्ने घोसित अड्डानै बनेका छन्। घरेलु हिंसा, स्टोर रबेरी, ग्याङ, कार चोरी, घर फोडेर लुटपाटका घटनाहरू सामान्य बनिसकेका छन यो शहरमा। केहि महिना अघि ग्यास स्टोरहरूमा गोलिकान्ड बढेकाले अल्बर्टा राज्य सरकारले अनिबार्य प्रिपेडको ब्यबस्था लागु गरेको छ।यिनै सिरिजहरूको एक दृश्य थियो यो बलत्कारको घटना।

रात बित्छ। उज्यालो हुन्छ। सडकमा गाडिहरू तछाडमछाड गर्दै चिप्लिरहेका हुन्छन। वल्लो घरमा घटेको घटना पल्लो घरलाइ थाहा हुदैन।मान्छेहरू भेला भयर चियो चर्चो गर्दैनन् कसैको। जसरि मेसिनका पाटपुर्जाहरू चल्छन त्यसैगरि चलेको छ यो शहर।

म पनि त एउटा मशिन बनिसकेको थिए।

माया, प्रेम, संम्बन्धहरू खुकुला छन्। कानुनले सबैलाई कसेको छ उम्किनै नसक्ने गरी। तर कहिलेकाही दुईवटा दाम्लोले बाधेको साडे पनि त उम्किन्छ। तिनै सॉडेहरूले खेद्दै हिड्छन मानसिक संतुलन गुमायका आईमाईहरू, ड्र्गसको लत बसेका तरूनिहरू जसको बास सडकमै हुन्छ। आखैले नदेखेसम्म र दरो प्रमाण नहुदासम्म केहि गर्न सक्दैन पुलिस।

एक दिन म बोईलरको मिटर रिड गर्न बेसमेन्टको मेकानिकल कोठामा जादै थिए बिहानको करिब आठ बजेतिर। बाटोमा लन्ड्रि कोठा पर्दथ्यो। परैबाट मान्छे घुरेको सूने जोडसंग। लाग्यो कुनै कोठाको टिनान्ट होला। तर लन्ड्रि रूममा एकजना अपरिचित मान्छे सुतेको पो रहेछ। त्यो होमलेस पनि हुनसक्छ।उसले राति ढोकाको चाबी तोडेर भित्र छिरेको होला भन्ने लाग्यो। अनुहार घोप्टो परेकोले राम्रो संग देख्न सकियन।उसको वरिपरी ड्रग्सको साना साना प्लास्टिकका पोकाहरू थिए। बिस डलरका दुईवटा नोट र बैङ्कको कार्डहरू पनि। मैले तुरून्त पुलिसलाई कल गरे। तर पुलिसहरू ब्यस्त भएकोले मेरो नाम पर्खनेहरुको सुचिमा पर्यो, त्यो पनि बाह्र नम्बरमा। ड्रगस ओभरडोज भयर मान्छेको ज्यान नै खतरामा पर्ने भएकोले गर्दा दुई मिनेटमै एम्बुलेन्स आइपुग्यो। लगतै दुईवटा फायर ट्रक या नि कि दमकल।

पछि थाहा लाग्यो त्यो मान्छे त कोठा नं चारमा बस्ने बसिर पो रहेछ।

ईमर्जेन्सी रेस्पोन्डरहरूले ऊसलाई एम्बुलेन्समा राखेर हस्पिटल तिर लगे। ऊनिहरूको काम ज्यान बचाउने हो त्यहि गरे। ड्रग्सको अनुसन्धान गर्ने पुलिस हो। पुलिसको कल आयो करिब बाह्र बजेतिर दिउसो। मैले सबै कुराहरू बताए। उनिहरूले सोधे,” डु यू स्टिल निड असिस्टेन्स?”

कुनै उत्तर थियन म संग। मैले भने “नो” आई एम गुड”।

पुलिसले गर्न पो के सक्थ्यो र बिना प्रमाण। मलाई पनि झझटमा फस्न मन लागेन।

 यो शहर बिश्वभरिका मान्छेहरूको रंगशाला हो। मेरो विल्डिङमा जम्माजम्मी तिसवटा अपार्टमेन्ट छन्। ति अपार्टमेन्टहरू पन्द्र भन्दा बढि देशका मान्छेहरू बस्छन्।

अरू कति होलान् यो शहरभरि।

धेरैजसो मान्छेहरू आफ्नो देश असुरक्षित भएकोले सुरक्षित मुलुकको खोजिमा यहॉ आएका हुन्छन। जात फरक, भाषा फरक, रूपरंग फरक, धर्म फरक , सोच फरक। अझै धेरै के के छन् फरक फरक। तर पनि उनिहरूलाई जोडेको छ एउटै मालामा यहॉको कानुन र  मानब धर्मले। जाती, धर्म, रंग र भाषाको आधारमा कसैमाथि भेदभाब गर्न मिल्दैन यहॉ। भेदभाब गर्ने माथि कडा कारबाहि हुन्छ। यिनै शुन्दर शहरमाथि नजर लाग्छ लागूपदार्थका तस्करीहरूको। तिनै गिरोहहरूको शिकार बन्न पुग्छन् सयौ युबाहरू दिनकै जसो। प्रतेकदिन सरदर दशजना युवा युवतीहरू अत्याधिक अबैधानीक ड्रग्स सेबनको करणले मृतु  हुन्छ यहाँ । मलाई लाग्यो बसीर पनि त्यसैको सिकार बन्न पुग्यो।

दुईदिन पछि ऊ घर फर्क्यो। ऊसको अनुहारमा नङ्ग्राले चिथोरेको जस्तो खतै खत थियो। आखॉ रातो र सुन्नीयको थियो। उसको नजिक जान पनि डर लाग्यो मलाई। मैले हेडअफिसमा बसीरको बारेमा रिपोर्ट गरे। ऊसलाई समयमा भाडा नतिरेबापत कोठा छोड्न सुचना दिईसकेको थियो। हेड अफिसले कुनैपनी हालतमा उसलाई निकाल्ने निर्णय गर्यो। घरधनीसंग भएको सम्झौता ऊल्लङ्घन भएकोले निकान्ने आधार पनी बनेको थियो।चौधदिने नोटीस जारी भैसकेको अबस्थामा उसलाई निकाल्नको लागी कोर्ट प्रोसेस हुदै थियो।

बसीर घर फर्केको केहिदिन पछि एक सॉझ घरको अगाडी केही जगल्टे, मुन्द्रे र ट्याटुवाले  जम्मा भए। हेर्दा हेर्दै ड्याङ ड्याङ गोलि चल्यो। लगत्तै भागे उनिहरू त्यहॉबाट भित्रीबाटोतिर।

कसैले पुलिसलाई कल गरेहोला दुई मिनेटमै तिनवटा पुलिस कार रोकिए  घर अगाडी। एम्बुलेन्स र फायरट्र्क्स पनि संगसंगै देखापरे। पुलिसहरू अत्यन्त साबधानीपुर्बक छिरे घर भित्र। ढोकाको सिसामा चार पॉचवटा प्वलहरू थिए। धन्न कसैलाई केहि भएन। सबैजसो कोठाभित्रै थिए त्यो बेला। प्रतक्ष्यदर्शिको हुलियाको आधारमा उनिहरूले बसीरलाई हातकडी लगायर लगे। उसको कोठाबाट एउटा सट गन र केहिमात्रमा लागु आषधी कोकेन पनि बरामत गर्यो पुलिसले। 

त्यसपछि बसीर फर्केन घरमा। ऊसको कोठाबाट सामानहरू निकालेर फालियो गार्बेज कन्टेनर भित्र। गोलिकाण्ड पछि एक एक गर्दै सबैले घर छोडे। घटनाबारे थाहा नपाएकाहरू आउदै गए। तेस्रो महिना आधा खालि भयो घर। मैले पनि छोडे जागिर। अहिले पनि म सोच्ने गर्छु बेला बेला त्यो घटना, उसको बिगत,बर्तमान र भबिष्य। एक जातिय युद्धको परिणाम।