Thursday, April 11, 2024

 बेरोजगार भएको महिनादिन पुग्न लाग्यो। अर्को मैनाको एक तारिक भाडा तिर भनेर ढोकामुनि बाट कागजको चिर्कटो कराउदै भित्र छिर्छ। फ्रिज रित्तो छ। छोराको लागि दुध किन्न पनि टाउको कनाउन पर्ने भयो। हिजो दिनभरी काम खोज्न भनेर निन्च दाँत देखाउदै कहाँ कहाँ पुगिन। उनीहरुले पनि निच्च दाँत देखाएरै फर्काउछन। मेरो अनुहार देखेर बुढी पनि ठुस्किन लागिसकेकी छ। "अरुले त काम भेटेकै छन् , तपाइले चै किन नभेटेको ?"  छि ! कति रुखो स्वरमा सोधेकी। यत्ति कुरो राम्रै मुखले सोधेपनि त भैहाल्थ्यो। 

म फेरी काम खोज्न निस्के। हिजो प्रिन्ट गरेका दर्जन भन्दा बढी रिजुमीहरु सकिसकेछन्। चोकमा चाइनिजको फोटोकपी पशलले राम्रै ग्राहक भेटेको छ। मैले काम नभेटाउनु मै फाइदा छ जस्तो गरेर हेर्छ। निस्कदै गर्दा काने टोपी र असनको नर्थफेस ज्याकेट लगाएर अमर पनि छिर्यो भित्र। उसले पनि अझै काम भेटेको छैन। एकैदिन हिंउले ढाकिएको मदेश छिरेका हामि। उसले पनि एक दर्जन जति बायोडाटा फोटोकपी गर्यो। त्यसपछि बाघले लागेको  बाख्रा खोज्न लागे झैँ जागिर खोज्न। 

त्यहाँदेखि नजिकै रक्सिको दुकान रैछ लिक्वर स्टोर। भित्र छिर्यौ। 'काम छ भनेर सोध्नासाथ 'गो गो अदर स्तोर, नो जब', भन्दै हामीलाई जतिसक्दो त्यहाँबाट बाहिर पठाउन चाह्यो। हामि बाहिर निस्क्यौ। ढोकैमा प्लास्टिकको झोलाभरि बियरका रित्ता क्यान बोकेर एकजना बुढो बुढो मान्छे उभिएको थियो। 

" क्यान आई ह्याब अ सिगरेट, प्लिज", उसले हात हामीतिर सोझ्यौदै भन्यो। हामि त छक्क पर्यौ। यहाँ पनि यसरि माग्ने हुन्छन भनेर। "छैन" भनेर त्यहाँबाट फटाफट अगाडी गयौ। 'ह्याब अ ग्रेट डे", उसले चिच्याउदै भन्यो। 

'मागेकोबेला पैसा नदिदा हाम्रातिर त सत्तोसराप गर्थे माग्नेले, यता त उल्टै शुभदिन भन्दा रहेछन ' हैन त अचम्म', अमरले भन्यो। त्यसपछि सफेत धुलो नुन जस्तो हिंउलाई बुटले पन्छाउदै अगाडी बढ्यौ। सडकमा पेटिमा मान्छेहरु  खासै हिडेको छैनन्। बाटोमा भने गाडीहरु एकनासले कुदिरहेका छन्। सुनसान सडकको पेटीमा गाडी गुडेको आवाज खोला सुस्यायझैँ सुनिन्छ। हिड्दा हिड्दा एउटा कंगारुको साइनबोर्ड राखेको ठाउमा पुगिएछ। सिसाको भित्तोमा  भनेर हायरिङ्ग  लेखेको थियो।ढोकामा गएर घन्टी थिच्यौ। एकजना मोटो न मोटो मान्छे रातो टिसर्टमा ढोकामा आयो। हामीलाई देख्नासाथ् उसले कुरो बुझेछ क्यारे भित्र पनि बोलायो नसोधी। 

'यु गाइज लुकिङ्ग फर जब ', उसले हामीतिर आँखा डुलाउदै उसले भन्यो। हामीले उसलाई रिजुमी दियौ। राम्रोसंग नहेरी उसले हामीलाई भित्र एउटा कोठामा लगेर बस्न भयो। त्यहाँ एउटा प्लास्टिकको टेबुल र  चार पाँचवटाजति प्लास्टिक कै कुर्ची यात्र तत्र थिए। भित्तामा एउटा ह्वाइटबोर्ड समेत झुन्डिएको थियो। एकैछिनमा उसले हामीलाई एउटा कागतमा केही म्याथका प्रश्नहरु ल्याएर दियो। प्रश्नहरु सामान्य जोडघटाउ सम्बन्धि थियो। अन्तिममा एउटा कंगारुको तस्बिर थियो। त्यसको अर्थ लेख्न पर्थ्यो। दुबैजनाले गलत उत्तर लेखिएछ। पछि आएर उसले भन्यो, त्यो डोमो नाम गरेको पेट्रोल पम्पको लोगो हो जसको अर्थ पम्पमा कस्टमर देखेपछि कंगारु झैँ उफ्रिदै गएर गाडीमा तेल भोर्दिने। झ्यालका सिसा पुछिदिने हो। हामिलाई के काम हो मेसो नै थिएन त्यतिन्जेल। उसले त्यसो भएपछी तेल भोर्नि काम रहेछ भन्ने पक्का भयो। 

उसले हामीलाई बधाई दियो पास भएकोमा। त्यसपछि हामीसंग सिनकार्ड माग्यो, र एक एक वटा फर्म भर्न लगायो। उसले जे जे भन्यो त्यसै त्यसै गर्यौ। जागिर मिलेकोमा कुरै नबुझी मन खुशी भएको थियो। उसले भित्रबाट जुटका बोराजस्ता गरेका राता सिरदेखि पाउसम्म ढाक्ने कपडा लिएर दियो।  त्यसपछि एउटा कागतमा ठेगाना लेख्यो र भोलिपल्ट बिहान त्यहि  ठेगानामा जान भन्यो। हामि खुशी हुदै घरमा गयौ। 

अर्को दिन आठ बजे काममा पुग्न पर्ने। पाँच बजे नै निन्द्राले छोड्यो। बाहिरको तापक्रम माइनस पच्चिस डिग्री सेल्सियस थियो। बेलुका नै दुइचारवटा रोटी प्लास्टिकको डिब्बामा राखेको थिए। छेउमा अलिकति गोबीको तरकारी पनि।  त्यहि झोलामा राखेर निस्के।  बसलाग्ने ठाउ पुग्नलाई दश पन्द्र मिनेट जति लाथ्यो। गुगल म्याप हेर्ने बानि थिएन। बस लाग्ने ठाउमा पुगेपछि बाटोको कुन साइडमा बस्ने निकै दोधार हुदो रहेछ। छ बजे नै मेकावन युनिभर्सिटिको मेन गेटमा पुगे। एकछिन बस कताबाट आउछ भन्ने पत्ता लाउने सकिन। पाँचसय मिटरसम्म मान्छे त के चारो मुसो समेत थिएन। त्यातिकै वारिपारि गर्दै गरे। हावा तिब्र गतिमा चलेकोले सिरेटोले टाउको झनन बनायो। त्यतिबेला एकजना मान्छे चिच्याउदै त्यतै आयो। उसंग मेरो आँखा जुध्न गएछ। 'फकिंग इन्डियन भन्दै नराम्रो गालि गर्यो। अर्काको देश भर्खर भर्खर आएको छ के बोल्नु के नबोल्नु भयो। अलिक भित्तोतिर गएर अर्कोतिर हेरेर बसे। करिब पन्द्र मिनेट कुरेपछि बल्ल बस आयो। हातखुट्टा त झर्ला झैँ भएको थियो। बसमा चढेपछि बल्ल राहत मिल्यो। बसमा जम्मा दुइतिनजना मात्रै थिए। पछाडीको सिटमा गएर बसे। 

आठ बजे काममा पुग्नुपर्ने मान्छे सात बजे नै पुगे। बसबाट झर्नें बितिकै डोमो लेखेको कंगारु साइन देखियो। अब कता जाने ? त्यहि जाउ भने एक घण्टा पहिले के जानु। के भन्लान भन्ने लाग्यो। नजिकै बस स्टेसन रहेछ। त्यतै छिरे। जसरि भएपनि जाडोबाट बच्नु थियो। स्टेसन भित्र पनि खासै मान्छेहरु थिएनन्। उता नेपालमा स्टेसन भनेपछि त मान्छेको भिड हुन्छ। यता भने घरबास नभएकाहरु जाडो छल्नको लागि स्टेसन भित्र बस्दा रहेछन। उनीहरुको अनुहारमा झुक्किएर हेरिएला र अघिको झैँ गालि खाइएला भन्ठानेर उनीहरु भन्दा अलि टाढा गएर बसे। समय काट्न निकै गाह्रो भयो। आधा घण्टा पछि लागे काम गर्ने पेट्रोल पम्प तिरै। दुइ तीनवटा गाडीले तेल भोर्दै थिए। पेट्रोल पम्पको ढोकामा गएर यसो भित्र हेरे। दुइजना मान्छे मुस्किलले अटाउने काउन्टर भनौ या दुकानको स्पेस थियो। एकजना मोटी मोटी काली आइमाई ग्राहकसंग कुरा गर्दै थिई। एकछिन बाहिरै उभिए। ग्रहक गैसकेपछि भित्र हेरेर आफु काममा आएको बताएँ। उसले नाम सोधी र भित्र बोलाइ। त्यहाँ बस्नको लागि कुर्ची समेत थिएन। उ उभिएकी थिई। उसंगै ठोक्किए भित्र पट्टिको स्टोर प्लस ट्वाइलेट रुममा छिरे। त्यहि कुनामा झोला राखे, बल्ल बल्ल पहेलो जम्फ़रजस्तो बाक्लो न बाक्लो रातो ड्रेस लगाएँ।

 आइमाई हँसिली थिई। काली भएकोले मेरो दिमागमा त्यो कुनै अफ्रिकन देशकी होली भन्ठाने। परिचय गर्दै गर्दा उसले आफु जमैकन भएको कुरा गरी। अली बढी स्मार्ट हुन खोज्दा मैले कुरो बिगारे। उसले सोधेकी थिई पहिले, "डु यु नो द कन्ट्री जमैका?"  "यस, इट्स इन अफ्रीका।" पछि आफैलाई लाज लाग्यो। त्यसपछि यदि मैले कसैलाई "डु यु नो नेपाल?" भनेर सोध्दा 'थाहा छैन भन्दा कहिले पनि चित्त दुखेन। जसले पश्चिमा साहित्य पढेर, अफ्रिकन अमेरिकन साहित्यमा मास्टर्सको थेसिस लेखेर क्यानाडा सम्मको यात्रा तय गरिसकेको छ त्यसलाई जमैकाको बारेमा थाहा छैन भने इन्डिया र चाइनाको बिचमा लुकेको देशको बारेमा उनीहरुलाई थाहा नहुनु कुनै नौलो थिएन। 










0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home