Monday, March 25, 2024

समाजले नदेखेको संसार

ओलिभिया अटिस्टिक केटी हो। उ निकै खुशी देखिन्छे। उसलाई कसैको डर छैन। बिन्दास हाँस्छे। आँखा झिम्काइदिन्छे। उसलाई को ठुलो को सानो कुनै भेदभाब थाहा छैन। उमेरले बिश वर्ष पुगेकी उ बानीव्यहोरा हेर्दा बच्चा नै छ। बाबा आमालाई उसको पिर छ। सानो तिनो जागिर गरेर स्वतन्त्र किसिमले आफ्नो जिबन यापन गरोस भन्ने चाहना छ। त्यसैले उनीहरुले क्याथोलिक स्कुलमा अतिरिक्त कक्षामा भर्ना गरेका छन्। उसलाई जागिर लगाउनको लागि स्कुलले पनि विभिन्न ठाँउमा काम सिक्नको लागि पठाउने गरेको छ। अहिले उ सोपर्स ड्रग मार्ट नामक एउटा रिटेल पशलमा काम सिक्न जान्छे। त्यहाँ उसले समानहरु मिलाउने, डेट एक्सपायर भएका सामानहरु झिक्ने र भित्र स्टोरमा लैजाने, सकिएको ठाँउमा भित्रबाट ल्याएर मिलाएर राख्ने गर्छे।  उसले भनेको काम त गर्न सक्छे तर एक्लै त्यो काम गर्न उसलाई गाह्रो हुन्छ।  उसलाई कसैको सहयोग चाहिन्छ।  त्यसैले क्याथोलिक स्कुल बोर्डले जब कोच भनेर मान्छे हाएर गरेको हुन्छ।  उनीहरुले उसंगै बसेर काम गर्ने गर्छन।  उसालाई काम सिकाउछन। के गर्न उचित हुन्छ के गर्न हुदैन सम्झाउछन। 

दाँते उसको बोयफ्रेन्ड हो। उ पनि मान्छे जवान देखिए पनि बानिव्यहोरा पाँच बर्षे बालकको झैँ छ। दाँते ओलिभिया संगै एउटै स्कुलमा पढ्छ। ओलिभिया र ऊ संगै बस्छन। आखाँ शिक्षकतिर फर्काएका हुन्छन भने दिमाग र हात एकअर्काको शरीर स्पर्समा लागेका हुन्छन। "सार्बजनिक ठाउमा आफ्नो गर्लफ्रेन्ड नै भएपनि प्राइभेट अङ्गहरुमा हात हाल्नु हुदैन। बसमा बसेकोबेला आफ्नोमात्र स्वतन्त्रतालाई हेर्ने होइन, त्यहाँ बसेका अन्य मान्छेको बारेमा पनि सोच्नु पर्छ",  शिक्षक मार्टिनले भने। ओलिभियाले दाँतेको हातबाट आफ्नो हात छुट्टाई। दाँतेको अनुहारको रंग फेरियो। दाँते जुरुक्क उठ्यो र पछाडी गयो। दुई हातका औलाहरु जोड्यो र नाकैमुनि पुर्याएर सुघ्न थाल्यो। नजिकै सरिना बसेकी थिइ। 

सरिना पनि अटिस्टिक केटी हो। उसले आफ्नो फोनमा लगातार गीतहरु सुनिरहेकी हुन्छे। उसको दिमागमा अंग्रेजी गीतहरुको संग्रह नै छ। उसलाई कुन गित कसले र कहिले गाएको सबै कन्ठै छ। बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म उ ननस्टप गीतहरु सुन्ने र तिनै गीतहरुको बारेमा बनेका युट्युब भिडियोहरु हेर्ने गर्छे। शिक्षकले पनि उसलाई गीतहरुकै बारेमा शब्द मिलाउने काम दिन्छ। त्यो भन्दा अरु काम लगायो भने 'म बोर भैसके। मलाई शिक्षकले पढाएको मनपरेन। म मस्ती गर्न चाहन्छु ", भन्दै  कपाल हल्लाउन थाल्छे। होची र मोटी, गोलो अनुहार गरेकी सरिनाले  कसैको पनि आँखामा सिधा हेर्न सक्दिन। 

दाँते नजिकै गएको देखेर अगाडी बसेको म्यरियो पनि जुरुक्क उठ्यो र एउटो खुट्टो भुइमा खिसार्दै दाँते उभिएको ठाँउतिर गयो। म्यरियो आएको देखेर दाँते अगाडी गयो। म्यारियोले सरिनालाई पुलुक्क हेर्यो र हाँस्यो। सरिना भने आफ्नै दुनियामा थिई। उसलाई हेरिन। म्यारियो एकछिन बटारियो आफैमा सर्प बटारिय झैँ। त्यसपछि कंगारु उफ्रे झैँ उफ्रिदै अगाडी गयो। आफ्नो कम्प्युटर खोल्यो। स्क्रिनमा कार्टुन हेर्दै हाँस्न थाल्यो। 

त्यहाँ उनीहरु भन्दा अलि फरक स्वभाब भएको एउटा  बिद्यार्थी छ रेमन। उ छ फिट भन्दा अग्लो छ। खाइलाग्दो  ज्यान, ठुला ठुला सिसाका गुच्छा जस्ता आँखा, घुम्रिएको रौ गरेको रेमन हेर्दा भलाद्मी जस्तो छ। ऊ अटिस्टिक पनि हैन। तर उसको बानीव्यहोरा भने देखेजस्तो छैन। उसले कुनै कुरालाई पनि ध्यान दिदैन। प्रायजसो डेस्कमाथि टाउको अडाएर सुतिरहेको हुन्छ। केहि काम गर्न भन्यो भने 'मलाइ आउछ। गर्न पर्दैन,' भनिहाल्छ।  ओलिभिया, दाँते, सरिना र म्यारियोको गतिबिधि हेर्न मै व्यस्त देखिन्छ उ। 

शिक्षक आफ्नै धुनमा केहि न केहि त पढाई रहेका हुन्छन। तर त्यो पढाउनकै लागि पढाए जस्तो लाग्छ।  शिक्षकले पनि के गर्न सक्थ्यो। यो उनीहरुको अतिरिक्त पाठ्यक्रम अनुसारको पढाई हो। उनले पढाउने कुराहरु भनेकै सामान्य नागरिकले के गर्न हुन्छ के हुदैन, आफ्नो शरीरको स्याहार सुसार कसरि गर्ने, काम गर्दा आफ्नो सुरक्षाको ख्याल कसरि गर्ने। बसमा यात्रा गर्दा के के गर्न हुन्छ के गर्न हुदैन यस्तै यस्तै हो। शुरु शुरुमा मार्टिनले उनीहरुलाई विभन्न प्रश्नहरु सोध्थे। उनीहरु मन लागे जवाफ दिन्थे मन नलागे बालै दिदैनथे। यो सामान्य प्रक्रिया थियो। 

त्यसमा जोडिएको छ अर्को पात्र।  त्यो पात्र हो "म।"  बिद्यार्थीहरुको आनीबानी, स्वभाबहरुको बारेमा म जानकार छु। तिनीहरु कसैले पनि बोलेर आफ्नो समस्या बताउन सक्दैनन। उनीहरुले देखाउने व्यवहार नै उनीहरुको कुराकानी गर्ने माध्यम हो। यदि उनीहरुलाई पढाएको कुरा मन परेन भने त्यसै चिच्यौछन। केहि कुरा देखेर खुशी भए भने हात त मुन्टो संग संगै बटार्छन। कुनैलाई अलि ठुलो आवाज भयो भने निकै रिस उठ्छ। त्यो बेला नजिकै भएको मान्छेलाई मुक्का हान्न पनि सक्छन। कहिलेकाही उनीहरुले भन्न खोजेको कुरा बुझिएन भने आफैलाई पनि चोट पुर्याछन्। सकारात्मक बानि बसाल्ने, सामान्य रुपमा भएपनि सामाजिक हुन सिकाउने, नकारात्मक बानीव्यहोरालाई परिबर्तन गराउने काम शिक्षकको हो। अरु साधारण कक्षामा झैँ पढाउने मात्र काम होइन शिक्षकको। 

उनीहरु हाइस्कुल सकेर समाजमा रुपान्तरित हुनको लागि काम गर्नु पर्ने हुन्छ। त्यहि कारणले गर्दा सोमबार उनीहरुको कक्षामा शिकाई हुन्छ भने मंगलबर बुधबार र बिहिबार काम सिक्नको लागि भ्लुन्तियर गर्न पर्छ। त्यहाँ मेरो काम उनीहरुलाई काम सिकाउने भन्दा काम गर्ने तरिका, ग्राहकहरु संग गर्ने अचारणका साथै काम गर्दा ध्यान दिनुपर्ने सुरक्षित नियमहरु पालना गराउने हो। 

एकदिन दाँतेलाई कोच गर्न सिनेप्लेक्समा मेरो पालो पर्यो। उसको बानि भनेको राम्री केटि देख्यो कि नजिकै गएर बोलि हाल्ने, कति राम्री भनेर प्रशासा पनि गर्ने र सकेसम्म फोन नम्मर माग्ने थियो। फिल्म सकियपछि हलहरुमा गएर सफा गर्ने, कुनै सामानहरु बिग्रेको छ छैन चेक गर्नु पर्ने पालो थियो दाँतेको। त्यो दिन कतिको जिम्मेबारी ढंगले काम गर्छ भनेर मैले उसलाई एक्लै पठाए। पछि म्यानेजरले मलाइ बोलाएर दाँतेको बारेमा सिकायत गर्यो। उसले हलमा पुगेर सबैभन्दा पहिले निस्कदै गरेका केटीहरु संग गएर 'तिमीहरु कति राम्रा। मेरो गर्लफ्रेन भन्दा पनि राम्रा। के तिमीहरु मसंग फोटो खिच्न सक्छौ। मैले मेरो गर्लफ्रेनलाई इर्ष्यालु पार्नु छ ' भनेछ। उसको यस्तो हर्कतले केटीहरुमा असुरक्षित महशुस गराएर जादै गर्दा म्यानेजरलाइ रिपोर्ट गरेछन। यस्तो बानीले गर्दा उसले लब्लोबाट जागिर गुमाएको थियो। त्यसपछि उसले भ्यालु भिलेजमा काम गर्थ्यो। त्यहाँबाट पनि काम गुमायो। उसको बानि परिबर्तन गर्नको लागि उसलाई बारम्बार सम्झाउने, त्यसको असरको बारेमा बताउने गरेको पनि दुइदुइ महिना भएको थियो। संगै बस्यो भने मात्र गर्दैनथ्यो।  नत्र भने पुरानै बानि दोहोराउथ्यो। त्यो दिन म्यानेजरले उसलाई भोलिबाट नपठाउन भन्यो। 

अर्कोदिन फेरी उसको लागि रोजगारदाता खोज्ने काम सुरु भयो। धेरै ठाँउमा प्रयास गरेपछि नफ्रिलमा मिल्ने भयो।