Sunday, February 21, 2021

हाम्रो घर मास्थिर कामी साइलोको सानो घरले छाएको झुप्रो थियो। हाम्रो नजरमा झुप्रो भएपनि उसको लागि ताज महल नै थियो त्यो घर। घरको आँगनसंगै मुलबाटो पर्दथ्यो। बाटोको देब्रेपट्टि  सानो एक पाखे छानो भएको आरन थियो।  हँसिया बोते हुदा होस् या भाँचिएर दुई टुक्रा हुदा हामी दगुर्दै उनको आरनमा पुग्थेउ। उनी प्रायजसो कालो जाँय, कालै आस्कोट र धैसीएर कालो भएको टोपी आधा तालु देखाएर लगाएका हुन्थे। छालाको रंग पनि झन्डै झन्डै आरनको कोइलासंग मिल्दो जुल्दो थियो। तर उनका दाँत भने हार परेर टम्म मिलेका इभोरी जस्तै सेता र चम्किला थिए। जहिले हेर्दा पनि ति दाँतहरुले उनको अनुहारमा कान्ति छरेको हुन्थ्यो। बुवा पनि महिनाको एकपल्ट  बन्चरो, फाली, कोदाली अर्जाप्न आफैले बोकेर त्यही जानुहुन्थ्यो। 

आरनको ठिक तलपट्टी उनको हाल्गौडी थियो। बेला बेला पुर्बदिशाबाट हावा चलेको बेला त्यहाँको दुर्गन्ध हिरिक्क हिरिक्क आरनमा मात्रै हैन मुलबाटो सम्मै पुग्थ्यो। बाटो हिड्ने बटुवाहरु पनि दुई औलाले नाकका पोरा च्यापेर दौडिन्थे। साइला दाईलाई बानि परेर होला भनौ  दिनभरी आरनमा बसिरहदा समेत कहिलै त्यहाँबाट हल्गौड़ी अन्त सारेनन्। त्यतिबेला सबैको हाल्गौडी बाटाको या त तलपट्टी हुन्थ्यो या माथिल्तिर। बाटो हिड्दा हल्गौडिको गन्धले मान्छेको घर पत्ता लाग्दथ्यो। कुनै कुनै बेला चिप्लियर कतै कसैको हल्गौड़ी भित्र छिरिने हो कि भन्ने डर लाग्दथ्यो। मकै पाक्ने बेलातिरको अवस्था झनै दर्दनाक हुन्थ्यो।  

मेरो मतलब साईला दाई फोहोरी थिए भन्ने पक्कै पनि हैन। कमसेकम उनको हल्गौडी घरदेखि सय मिटर टाढा त थियो। उनको घरदेखि तल्तिर बहिरो चुनार बस्थ्यो। गिठिका ठेकी असाध्यै राम्रो कुध्ने। बोलाएको भने फिटिक्कै नसुन्ने। कानैमा गएर चिच्याउद  समेत नसुन्ने। पैसट्ठी बर्षमा नयाँ दुलही भित्राएर एउटो घोर्ले छोरो पनी फ़ुत्काइसकेको थियो। त्यहि छोरोले  कानैमा गएर भन्यो भने चाहि उसले बुझ्थ्यो। त्यो कुरा भने हामीलाई अचम्म लाग्थ्यो। उसको घरको आगनमै गुँ का लेड पसारिएका हुन्थे। 

यी त प्रतिनिधि घर मात्रै हुन्। ओल्लो गाँउ, पल्लो गाँउ सबैको अवस्था त्यस्तै थियो। अलि सक्नेले खाल्टो सम्म खनेर जुटको बोराले ओरिपरिबाट बेर्थे। नसक्नेले बाटो को छेउछाउ वा नजिकैको जङ्गलमा गएर बिसर्जन गर्थे। मुत्र बिसर्जनको लागि दिउसोमा घरको कुलेसो र रातमा आगनको छेउ काफी हुन्थ्यो। बिहानको घाममा झिंगाहरु लेउलागेका ढुङ्गाहरुमा चिप्लेटी खेल्थे। सिगान छोडेका केटाकेटीहरुको नाकै भरि झुम्मिन्थे। आँखाका चिप्राहरुमा आक्रमण गर्थे। 

कामी साइली धेरैजसो हाम्रो घरमा आउथिन। कहिले नुन, भुटुन त मही र तरकारी माग्थिन। आमाले कहिले पनि निरास पारेर फर्काउनु भएन। तोरी छिन्दा होस् या कोदोको झार गोड्दा आमाले साइलीलाई बोलाउनुहुन्थ्यो। जहिले हेर्दा पनि पेट बोकेकी हुन्थी साइली। 

एकदिन बिहानै आमाले चुक चुक गर्दै भन्नु भयो, 'यसपाली पनि बचाउन सकेनन् बरा ! एकाबिहानै बुढा बुढीले डाँडापारि खाल्डो खनेर गाडेर आए।' म सानै थिए।  आमाका यी कुरा म त्यति राम्रोसंग बुझ्दैनथे। तर आमाको अनुहारमा असिम पिडा सल्बलाएको प्रस्ट देखिन्थ्यो। त्यो दिन मुही पारेर नौनीको डल्लो स्टिलको कचौरामा राख्दै आमाले भन्नुभयो, 'बाबु यो कामी साइलाको घरमा देर आइज।' 

म हातमा कचौरा समातेर दगुर्दै उनको घर गए। साइलादाईले जातोमा कोदो पिस्दै थिए। भित्र आगो बोलेको थिएन क्यारे चुलोमा। कुखुराले खरानी खोस्रिदै थियो। हामि ढोकाभित्र जादैनथियौ। संघारमा कचौरा राख्दै भित्र हेरे। एउटा कुनामा साइली मैलो सिरक ओडेर सुतेकी थिइन्। अनुहार नदेखे पनि पक्कै पनि उनी नै होलिन भनेर लख काटे। 

त्यो दिन साँझ बुवाआमा कुरा गर्दै गर्दा मैले सुने साइलीले नौ नौ वटा सन्तानहरु जन्माईसकेकी रैछन। ति मध्य दुइटा छोरीहरु मात्र बाँचेका रैछन। 'छोरो भन्दा भन्दै टुहुराले साइलीलाई मार्ने भो कुन दिन' आमाले चिम्टाले आगोको कोइला घोसल्दै भन्नु भयो। 

मकै पाक्नेबेला साईला दाइको घरमा बिहान देखि बेलुका सम्म आगो बोल्थ्यो , अर्थात घरको छानाबाट धुवा क्षितिजतिर उड्दै गरेको देखिन्थ्यो। त्यो देखेर आमाले भन्नुहुन्थ्यो, ' आज साइलाले बालीका मकै ल्याएछ। ' बालि भित्राएको दिन उसका दुइटी छोरीहरु पुट्ट उठेको पेट देखाउदै सिल्टीको कसौडी बोकेर महि माग्न आउथे। 'आज मुही पार्ने दिन हैन' भन्दा 'अमिलो भएपनि देनुस् क ठुलियाँ हाम्ले खान्चम' भन्दै निकै उत्सुकताकासाथ् झ्यालबाट भित्र हेर्थे। 

त्यो गाउमा हामि अलि सम्पन्न मध्यका थियौ क्यारे धान, मकै र कोदोका भकारीहरु कहिलै रित्ता हुदैनथे। आमाले भकारी रित्तो राख्न हुन्न सः जान्छ भन्नु हुन्थ्यो। गाँउघरका मान्छेहरु पैचो लिन आउथे। बुवाले माना पाथीले भोरेर दिनुहुन्थ्यो। सबैले पैचो फर्काउन सक्दैनथे। उनीहरुले खेतीपाती लगाउदा या स्याहार्द काम गरेर पैचो तिर्थे। कसैले तिर्न सकेन भने आमाले भन्नुहुन्थ्यो 'छोड्दिनुस, गरिबले खाएको भगवानले तिर्नुहुन्छ।

 साईलादाई खासै काम नपर्दा सम्म हाम्रो घरमा आउदैनथे। सायद उनलाई कहिल्यै फुर्सद हुदैनथ्यो। बिस्टहरुकोमा  गएर डोकाभरी हँसिया कोदालो बोकेर आउथे। जङ्गलमा गएर कोइला पोल्थे। दिनभरी ट्यांग ट्यांग घन ठोक्थे। भोलि फेरी तिनै सामान बोकेर बिस्टको घर घर पुग्थे। कहिलेकाँही कसैले तीनपाने चखायो भने देउरालीबाटै कुर्लिदै राति घर फर्किन्थे। फेरी साइलिको रजस्वला रोकिन्थ्यो।

साइली एकसरो पटुकिले सुन्निदै गरेको भुँडी अड्याएर घाँस, दाउरा, मेलापात गर्थीन। बिस्टको घर घर पुग्थिन। कसैले दया गरेर दिएको माना पाथी बटुल्थिन। त्यसैले परिवारको गर्जो टार्थिन। बारीको नाममा घरमुनि दुइवटा सुर्का थिए। मकै पाक्न नपाउदै पोलेर खाएर सकाउथे। कहिले खोले साग, कहिले सिस्नो र हलहले खोजेर तरकारीको गुजारा गर्थे। 

बिस्तारै साइली दुब्लाएर हाड छाला मात्रै भईन। उनको अनुहारको माशु सकिएर आँखा खोपिल्टा भित्र पसे। गालाको छाला झोलिएर हड्डीमा बेरिए। ब्लाउज को हुप चुडिएर हावा फुस्केको बेलुनजस्ता स्तनहरू बाहिरै झुन्डिएका थिए भने भ्यात्त निस्किएको भुडिले टेवा दिएको जस्तो देखिन्थ्यो। हातमा ढुङ्ग्रि झार जस्तै नसा बाहिरै देखिएका थिए। उसको नसुहाउदो किसिमले बढ्दै गएको पेट देखेर होला आमाले भन्नुहुन्थ्यो,' यो पालि त साइलीले  छोरो पाउली जस्तो छ, तर आफै सुइकिन बेर छैन। हब्बा प्राण केहि छैन। ' नभन्दै साइलीले मुट्ठीभरको छोरो जन्माई। आमाले एकमाना घिऊ सगाल्नु भएको रहेछ। बुवालाई थाहा नदिई सुटुक्क पठाइदिनु भयो। 

छैटीको दिन बिहानै साइला दाई अबिर दलेर तल्लो गाँउमा चामल किन्न गए। पाँच किलो चामल, एक किलो चिनी, दुइ पोका नुन उदारो लिएर फर्के। साँझ साइला दाइको घरको आगनमा बाजा बजे। ओल्लो गाँउ, पल्लो गाँउ, तल्लो गाँउ, माथिल्लो गाँउका तरुनी तन्नेरीहरू राम हेर्न आए। साइला दाई गालामा मुज्जा पार्दै खुट्टो उचाली उचाली नाचे। रमितेले भर्खर फुल्दै गरेको कोदो माडेर फर्के। 

अर्को दिन बिहानै साईला दाई गोल पोल्न तिरतिरेको बनमा पसे। खर्सुंगको जरोलाई बन्चरोले खोलै सर्याङ्ग सर्याङ्ग गरुन्जेल काटे।  खाडल खनेर काँचा दाउरामा आगो सल्काए। त्यसमाथि माटोले पुरे। दिनभरी धुवा जङ्गलमा रुमलियो। त्यो दिन साईला दाइले खाना पनि खाएनन्। साइलीले खाई कि खाइनन् त्यो त भगवान जाने। 

मलाई गोल पोलेको हेर्न रहर लाग्थ्यो। एक त जाडोको बेला त्यो वरिपरि तातो हुने, अर्को राता कोइलाहरुको बिचमा पानि हाल्दा निस्कने झ्वाइको आवाज। म बनमा पर्सेउला लिउने बहाना बनाएर गोल पोल्दै गरेको ठाँउमा गएँ। साईला दाइको ओठ कलेटी परेको थियो। सधै हाँसेर बोल्ने साईला दाई त्यो दिन हाँस्ने पनि जाँगर गरेनन। 

अर्को दिन आरनमा घन पिटेको आवाज सुनिएन। 'आज साइलो कता गएछ ?' भनेर  बाबाले आमासँग सोध्नुभयो। 'सुत्केरीलाई कुखुरा खोज्न गयो कि नौटुवातिर। हिजो त त्यहि पारी गोल पोलेको थियो', आमाले पनि साइलादाईको घरतिर भलाक्दै भन्नु भयो। एकैछिनमा साइलादाईकी छोरी आगनमै टुप्लुक्क आइपुगी। 

'बाजे बाजे बालाई सन्चो छैन। खरानी फुकेर दिनुस रे', भेन्चीले आत्तिदै भनी। आमाले भित्रबाट अगेनाको तिन खुट्टाको खरानी चिम्टाले झिकेर सालको दुनामा बाहिर ल्याइदिनुभयो। बुवाले टोपी झिकेर भुनभुन गर्दै खै के मन्त्र पढेर तिन पल्टसम्म बुढी औला र माझि औला जुदाएर प्याट्ट प्याट पार्दै खरानी फुकेर दिनुभयो। आमाले 'ला यो दुध लैदॆ आँमालाई, बाटामा पोख्लिस्नी फेरी ', भन्दै स्टिलको गिलासमा दुध दिनुभयो। उसले खरानी पोको पारेर कम्मरमा घुसाई र दुइटै हातले गिलास समातेर उकालो लागि। 

दुई तिन सम्म आरनमा घन ठोकेको आवाज नसुनेपछि बुवा साइलोदाइको घर जानुभयो। साईला दाई झन् गलेका रहेछन। पुरै शरीरको छाला पहेलो भैसकेको थियो रे। बाटामुनी कान्छा र देउरालीको माइलालाई बोलाएर अस्पताल पठाउने कुरो भएछ। त्यहाँदेखि तिन घन्टाको बाटोमा  'मल्ल मेडिकल' थियो। डोको आधा काटेर बिचमा लठ्ठी घुसारेर बिरामी बोक्ने बनाईदिनु भयो बुवाले। उनीहरुलाई दुई सय दाम पनि दिनुभयो  औषधिको लागि भनेर। दिउसो दुइबजेतिर उनीहरुले डोकोमा बिरामी बोकेर लाकुरी डाँडाबाट ओरालो लागे। गाँउका मान्छेहरु आगनको डिलमा उभिएर 'चुक् चुक् 'गर्दै उनीहरुले डाँडो काटुन्जेल हेरिरहे। 

सुत्केरी साइली बुढाको पिरले दिनभरी रोहिरही। गाउँका दिदिबैनिहरुले गएर सम्झाई बुझाई गरे। कसैले पाकेको ढिडो लैदिए, कसैले भैसीको दुध, साग पुर्याइदिए। काखको बिरालाको छाउरो जत्रो छोरो भोकले दिनभरि रोहिरह्यो। 'आमाले खान पाए पो बच्चाले पनि खान पाउछ बरा !' आमाले भन्दै नाम्लो हँसिया झिकेर घाँस काट्न खरबारी तिर जानुभयो। 

भोलि पल्ट साइलादाइलाई बोकेरै घर फर्काए। प्लास्टिकको झोलाभरि ट्याब्लेट र झोल दबाइका सिसि संगै बोकेर ल्याए। त्यसपछि बिस्तारै बौरिए साइलादाई।  पन्द्र दिन नहुदै घन ठोकेको आवाजले तिरतिरे खोला सर्याङ्ग सर्याङ्ग गर्न थाल्यो। भदौ महिना लाग्यो। सबैको बारीमा मकै पाके। साइलादाई डोको बोकेर बालि उठाउन हिडे। 

खै कसको सल्लाहमा हो कुन्नि साइला दाई खसी परेछन। चार पाँच महिनासम्म आरनमा पनि गएनन्। उनले दुख पाएपनि साइली ले अब बर्षेनी भुडी बोक्न परेन। बाह्रहाते पटुकाले कम्मर कसेर घाँसका मुठा बोक्न थालिन। भ्यात्त भुँडी उछिट्टिएको, ठुलो टाउको गरेको छोरो काले जहिले घाँसको मूठो माथि या अगाडी पेटमाथि झुन्डिएको हुन्थ्यो। 

समय बित्न कतिबेर लाग्दो रहेछ र। हेर्दा हेर्दै काले बाउसंगै आरनमा पंखा घुमाउने भयो। आमासँग डोकोमा घाँस बोक्न थाल्यो। वल्ला पल्ला गाउँका केटाकेटीहरु संग घरबारी तथा घर नजिकैको जंगलमा गएर चराका गुँड भेट्याउने भयो। अंगारले पाटि मसायर   स्कुल जाने भयो। दिदीहरु पनि भाइलाई स्कुल लैजान पाएकोमा भुइमा खुट्टो थिएन। पाँच कक्षा सम्म पुगेर कालेका दिदीहरुले स्कुल जान छोडे। त्यसपछि उनीहरु अरुको मेलापात काम गर्न जान थाले। काले स्कुल भन्दा धेरै बाउसँग आरनमै बस्न थाल्यो। 

ओल्लो पल्लो गाँउका धेरै मान्छेहरु दिल्ली, पन्जाब, मुम्बईमा नोकरी गर्न जान्थे। गाँउका केटाहरु दश बाह्र बर्षको नहुदै दिल्ली, पन्जाब, देहरादुनतिर कुदिहाल्थे। कोहि घरसल्लाह गरेर बाटोखर्च ऋण काढेर एकचोटी दिल्ली गएर आएकाहरुसंग पछि लाएर जान्थे भने कोहि अलि अलि पैसो चोरेर, बाकस फोरेर अर्थात् भागेर बम्बाई पुग्थे। लैजानेले कोठीमा काममा लगाइदिन्थे। एक दुइ बर्षमा दुइचार हजार भारती नोट कम्मरमा बानेर टिनको बाकस टल्काउदै दशैमा घर फर्किन्थे। सिगान पनि राम्रो संग पुछ्न नजानेका केटाहरु 'अच्छा लिकिन' भन्दै जुल्पी लर्काएर भर्किंथे। कुपोषणले सुकेको ज्यान पुट्ट पेट बाहिर निकालेर सेतो गन्जी लगाएर घरको आगनमा उभिदा वारिपारिका सबैले लाउरे आएको थाहा पाउथे। सक्नेले टेपरिकर्डर, नसक्नेले फिलिप्सको रेडियो घन्काउदै गाँउ डुल्थे लाउरेहरु। उनीहरुलाई हेर्दा साला लाउर नजाने मान्छे अभागी नै हो जस्तो लाग्थो। 

मगरहरुको लाउरे मोह भने अलि फरक थियो।  उनीहरु दिल्ली जानेहरुलाई तोरी लाउरे भनेर बोलाउथे। वास्तविक लाउरे भनेको इन्चिले छाती नापेर, पुसअप र सिटअप ठोकेर पल्टनमा भर्ति हुनुलाई मान्थे। भर्ति  हुनकोलागि बिहान बिहान दगुर्ने प्रयास गर्दथे। गोठका भकराहरुमा फलेक हालेर खुट्टामा नाम्लो बानेर सिटअप गर्थे। रुखको हाँगामा पिङ्गको लुठो झुन्डाएर त्यसैबाट तलमाथि गर्थे। सबभन्दा पहिले ब्रिटिश आर्मीको लागि भिड्थे। ब्रिटिश आर्मीमा दुइ चार चोटी फालीए पछि, इन्डियन आर्मीमा जान्थे। कतै केहि सिप लागेन भने नेपाल आर्मीतिर लाग्थे। केटीहरुले पनि सबभन्दा पहिले ब्रिटिश या सिङ्गापुरको लाउरे खोज्थे। त्यसपछि इन्डियन आर्मी। त्यो पनि पाइएन कोरिया, मलेसियातिर गएका केटाहरु खोज्थे। त्यो पनि पाइएन भने बुढी कन्या बस्थे। उनीहरुलाई 






Monday, February 1, 2021

मैले सुनेका तिन पुस्तकहरु (२०२१ जनवरी महिनामा )

मैले सुनेका तिन पुस्तकहरु  

मलाई नेपालि साहित्यको भोक जागेको धेरै नै भयो।  हालसालै लेखेका केहि नेपालि साहित्यहरु मैले आफै आउदा वा कसैसंग मगाएर राखेको छु र तिनीहरु सबैजसो पढीसकेको छु। म संग उपलब्ध नभएका अधिकांस किताबहरु मैले अडियो किताब उत्कृष्ट पुस्तक बाचक खगेन्द्र नेपालि र अच्युत शर्माको अडियो किताब खोजि खोजि सुन्ने गरेको छु। 

हालसालै मैले सुनेका किताबहरु रमेश विकलको 'अविरल बग्छ इन्द्रावती' गणेश राईको 'फोक्ल्यानको जर्नल' दौलत बिक्रमको 'च्यातियका अनुहारहरु' स्वामी आनन्द अरुणको 'सन्त गाथा ' आदि। 

'अविरल बग्छ इन्द्रावातिले' एक युगको प्रतिबिम्ब झल्काएको छ। नेपालि समाजमा लामो समयसम्म सोझासाजा जनताहरुलाई जुकाले झैँ चुसेर मोटाएका सानाकाजी र बारम्बार आफुलाई चुसाउन बाध्य बनेका भुमा माझिहरुको जिबन्त कथा छ यो किताबमा। लेखक बिकलले समाज परिबर्तनको दिशातिर उन्मुख हुदै गरेको केहि परिबर्तनका झिल्काहरु लालगेडी र सोबिते जस्ता पात्रहरुमार्फत देखाउन खोजेका छन्। यो पुस्तकमा माझीहरुको पुरानो पुस्ता जसले काजिहरुलाई सर्बेसर्बा ठानेर सदियौदेखि निर्बिरोध सेवा गर्दै आए र नयाँ पस्ता जसले समाजको यो भंगालो पुर्नको लागी अपरिहार्य ठान्यो, को  राम्रोसंग सामाजिक आर्थिक तथा मनोबैज्ञानिक तबरले चिरफार गरेका छन्। 


दौलतविक्रमको चपाइयेका अनुहारहरुमा विश्वयुद्धको बेला जंगलमा हराएका सेनाहरुको मनोबैज्ञानिक तथ्यहरुलाई प्रष्ट्याएका छन्। जिबन के हो ? यो के चाहन्छ ? भन्ने खोजका साथ् युद्धको समस्टिगत रुपमा पर्ने नकारात्मक तथ्यहरुलाइ राम्रो संग उठाएका छन्। 

'फोक्ल्यान्डको जर्नल' अर्को एउटा अत्यन्त सुन्दर साहित्य हो जसमा एक ब्रिटिश सिपाई तथा लेखक आफैले भोगेको अनुभवलाई निकै सरल र रमाइलो भाषामा पस्केका छन्। सन् १९८२ मा ब्रिटिश अधिनस्त भूभाग फोक्ल्यान्डको टापुमाथि अर्जेन्टिनाले आक्रमण गरेको थियो। त्यो युद्धमा लेखक गणेश राई आफै सम्मिलित थिए। त्यहाँ थुप्रै ब्रिटिश नेपालि सेनाहरुले ज्यान समेत गुमाउनु परेको थियो। लढाइको बेला एक निर्दोष सिपाइको मनोविज्ञान, डर र त्रासको राम्रो चित्रण गरेका छन्। त्यो बाहेक त्यँहाको बस्तुगत बर्णन अत्यन्त जिबन्त छ। 

लेखकले यो पुस्तकमा युद्ध अघिको बेनिङ्गको रमाइलो बसाई, युद्धको बेला भोगेको सास्ती र बिजयी भए पश्चात त्यहाँका बासिन्दाहरुले देखाएको असिम मायाँ र सम्मान साथै बेलायत फर्किसकेपछि बेलायति जनताले गरेको बिजय जुलुस सम्मको जर्नल जिबन्त बर्णन गरेका छन्। 

स्वामी अरुण आनन्दको 'सन्त गाथा' आध्यात्मिक चिन्तनका साथै, बिशिस्ट व्यक्तित्वहरु बारे चर्चा परिचर्चा गरेको एउटा अत्यन्त सुन्दर कृति हो। यो पुस्तकमा उनले स्वामी रामकृष्णको अदभुत क्षमताका साथै स्वामी बिबेकानन्द लगाएत ओशोको बारेमा बताएका छन्। 

एकातिर आनन्द अरुणले विभिन्न सन्त महर्षिहरुको बारेमा विश्लेषण गरेका छन् भने अर्कोतिर संसारभर आफुले घुमेका ठाउँहरुको सुन्दर बर्णन गरेका छन्। कुनै च्याप्टर पढ्दा लाग्छ यो बिशिष्ट व्यक्तिहरुको जिबन वृतान्त हो भने कुनै पढ्दा लाग्छ यो स्वमिजिको यात्रा वृतान्त हो। यो पुस्तक ज्ञानको भण्डार हो भने साहित्यको पराग।