भुक्क फुलेको पाउरोटी झैँ मुख लगाएर सोफाको एक छेउमा बसेका थिए फुरिलाल। आफुलाई निकै बरिष्ठ ठाँन्थे। कसैलाई हत्तपत्त्त नमस्ते गर्दैनथे। कसैले नमस्ते गर्यो भने आँखामा नहेरी टाउको हल्लाउथे। हुँदाखादाको मास्टरी जागिर छोडेर राजनीतिमा होमिएका यिनी आफैले पढाएको फिस्टे बिद्यार्थीले चुनाबमा हराएकोमा निकै लाब्जित थिए। चुनाब हारेपछि गाँउ नफर्केर सदरमुकाममै बसेका थिए।
सदरमुकामकै एक कार्यक्रममा जम्काभेट भयो फुरिलालसंग त्यै फिस्टे बिकुलको।
"नमस्कार" दुइ हात जोड्दै भन्यो बिकुलले । उनले राम्रोसंग अनुहारमा समेत नहेरी टाउको हल्लाए। अरुलाई त मुस्किलले हात जोडेर नमस्कार फर्काउने फुरिलाल आफैले पढाएको फिस्टोलाई के टेर्थे। त्यै माथि भर्खर चुनाबमा लगभग आधाभन्दा बढी मतले हराएको रिस मोरेकै थिएन।
"बधाई छ है बिकुल जी। दु:खै नगरी चुनाब जित्नु भयो। सोसल मिडिया आर्मीले राम्रै काम गर्यो, हैन त? ", बिरौटाको कर्नेले भन्यो। फुरिलाल नजिकै थिए। उनले कर्नेलाई छड्के आँखाले हेरे र नजानिँदो तबरले मुसुक्क हाँसे।
त्यहाँ बसेका दुइचारजना भने फुरिलालबाट राम्रै रकम लिएर चुनाब जिताउन कम्मर कँसेर लागेका मान्छेहरु थिए। रक्सी र राँगाको गन्ध अझै बाँकी थियो ज्यानाँ के गर्नु। बिकुललाई त्यहाँ देखेर उनीहरुलाई बसौ कि हिडौ भयो। फुरिलालले चुनाब जित्छन भन्ने ज्यादै चुरीफुरी थियो पहिले त उनीहरुमा।
"हैन मामा , किन नुन खाएको कुख्रो झैँ झोक्राउनु भाको? आफ्नै चेलाले चुनाब जित्दा बधाई त दिनुस् कमसेकम", फुरीलाललाई हेर्दै भन्यो अनन्तले। नाताले भान्जा पर्थ्यो क्यारे, तर चुनाबमा भने बिकुलको पक्षमा प्रचार प्रसार गरेकोले फुरिलाललाई निकै रिस पनि उठेको थियो।
"बधाई दिइसके मैले, तिम्ले भन्नु पर्छ गाँठे। उ पनि त मेरै चेला हो। जित्यो, राम्रै भो" यतिबेरसम्म गजक्क परेर मुख फुलाएर बसेका फुरिलाल फुरे।
कार्यक्रम भने एउटा गैर सरकारी संस्थाले आयोजना गरेको थियो। किन आयोजना गर्यो? किन जितेका र हारेका दुवै नेताहरुलाई बोलायो? बाहिरी उद्देश्य के ? भित्रि उद्देश्य के ? अझै त्यो भन्दा पनि भित्रि उद्देश्य के, कसैलाई थाहा थिएन।
धेरैले यो कार्यक्रममा फुरिलाल र बिकुल दुवैजनालाई एकै ठाँउ देखेर अफ्ठेरो मानिरहेका थिए।
मन्तब्य दिनको लागि बोलाएका सबैले खुलेर मन्तब्य दिए। संस्थाको प्रगतिको बारेमा जोडघटाउ गर्न लागेनन्। सिधै राम्रा कुराहरुलाई गुणन गरे। नराम्रा कुराहरु माइनस गरे। त्यतिकैमा बिकुलको बोल्ने पालो आयो।
"अग्रिम बक्ताहरुले तपाइहरुको संस्थाले गरेको कामको खुलेर प्रशंसा गर्नुभयो। धेरै चिल्लो घस्नु भयो। यस्तै कुराहरु सुन्नको लागि कार्यक्रम गर्ने र बोल्नेहरुले पनि अध्यन अनुसन्धान नै नगरी लहै लहैमा बर्बराउदै जाने हो भने न काम बिगार्नेहरु सुध्रिने मौका पाउछन न देशमा बिकाश नै हुन्छ।
संस्थाका पधाधिकारीहरु नै भन्नुस उहाँहरुले भने झैँ तपाइहरुले काम गर्नु भएको छ कि छैन ? तपाइहरुको संस्थाले लागु गरेका परियोजनाहरुले समग्र जनताको हित गरेको छ कि छैन ?"
" अब हामीले मुल्यांकन गर्ने बेला भएको छ।"
सबैले आँखा अलि ठुलो ठुलो पारे। संगसंगै कान पनि ठाडो पारे।
"ट्यांकी बनाएर टुटी जोद्दैमा पानि आउछ ? हेर्नुस सल्लेरी गाउको अवस्था। जनतालाई सिमेन्ट र बालुवा बोकाएर घरको छेउमा थुपार्दैमा गाँउ दिशा पिशाब मुक्त हुन्छ?' हेर्नुस देउराली गाँउको अवस्था। शुरु गरेको काम अन्त्य गर्नु पर्दैन", उसले भन्यो।
"बिदेशी डलरको बलमा सोझा गाँउलेहरुलाई दुइचार दिन रंगी चंगी सपना बाँडेर मात्र हुन्छ। बिकास भन्ने कुरा पानीको मूल फुटेझैँ भित्रैबाट फुट्नु पर्ने हैन ? त्यहाँको रहनसहन, चालचलन, धर्म संस्कृति, भातृत्व, सद्भावलाईलाई संरक्षण गर्ने कुरा विकास भित्र पर्छ कि पर्दैन?" उ अझै जोड जोडले भाषण गरिरहेको थियो।
"हैन, निकै चुरीफुरी पो छ त यसको ? बोलाएर गल्ति पो गरियो की ?" संस्थाका अध्यक्ष गम्भीरमान अलि गम्भीर भए।
"म बेथिति र भ्रस्टाचारलाई नियन्त्रण मात्र हैन निलम्बन गर्नको लागि चुनाब लढेको हुँ। सरकारी होस् या गैर सरकारी संघसंस्था कहिँ कतै आफ्नो स्वार्थको लागि जनतालाई दुख दिने काम भयो भने कानुनले कुनै रुपमा पनि उन्मुक्ति दिने छैन", गर्जियो ऊ।
फुरिलालले मनमनै विचार गरे, "कति दिन चल्दो रैछ यस्को चुरीफुरी हामि पनि हेर्छौ। "
अन्त्यमा सबैलाई धन्यवाद दिई बिकुल त्यहाँबाट बाहिरियो।
फुरिलालको पालो आयो। भर्खर अक्सिजनको मास्क निकाले जस्तो अनुहार बनाएर उनि मञ्चमा प्रवेश गरे। एकदम शालीन भाषामा सुस्तरी बोलेर सबैलाई सम्बोधन गरे। बिकुललाई पनि चुनाब जितेकोमा धन्यबाद दिए। आयोजक संस्थालाई पनि धन्यबाद दिए। चुनाब हारेको भएर होला हाँस्न खोज्दा पनि दाँतमात्र टल्कियो अनुहार टल्किएन।
भाषण सकेर लुतेकुकुर झैँ फुरिलाल मन्चबाट तल झरे र सरासर बाहिरिए। आयोजकले पनि दुवै नेताहरुलाई बोलाएर मन राख्न खोजेको थियो। तर बिकुलको भाषणले गर्दा संस्थाका मान्छेहरुलाई चिसो पस्यो। उनीहरुले जसरि आधाकाम गरेर विदेशबाट आएको पैसा पचाउथे त्यसरी अब नचल्ने देखे।
बिकुल भर्खर चुनाब जितेको त्यो पनि भारि मतले किन चुप लागेर बस्थ्यो। यो उसको लागि काम गरेर देखाउने सुनौलो अवसर पनि थियो। युबा पुस्ताहरु सबै विकुलको पक्षमा थिए। सोसल मिडिया सबैमा उसको राम्रो उपस्थिति थियो। उसले गरेको सानो तिनो कामलाई पनि उर्लापात गराएर देखाउथे मिडियामा। चारैतिर बिकुलको प्रशंशाको बिकुलनै बजेको थियो।
"मेरो क्षेत्रबाट कोहिपनि मान्छे विदेश जानु पर्दैन। युबा बेरोजगार हुनेछैनन् । कृषिमा आधुनिकीकरण गरेर कृषकको जिबनमा परिबर्तन गरिनेछ", दिनदिनै भाषणहरु आउन थाले। जिल्लाका कर्मचारीहरु पनि चनाखो बनेर काम गर्न थाले। गाँउगाँउमा मान्छेहरु अब दुखका दिनहरु जाने भए भनेर मख्ख परे।
फुरिलालको राजनीति ओझेलमा पर्यो। कमाएको सबै पैसा चुनाबमा खर्च गरेका फुरिलाल घर न घाटको भएका थिए। उल्टै मान्छेहरु उनलाई भ्रष्ट नेता भन्न छाडेका थिएनन्। राजनीति दलका सबै नेताहरु भ्रष्ट हुन्छन भन्ने मान्छेहरुमा गहिरो छाप परेको थियो।
बिकुलपनि चतुर नेता थियो। उसले जे गरेर बढी मिडियामा आउन सकिन्छ, जुन कामलाइ मान्छेहरुले देख्न सक्छन अथवा प्रत्यक्ष मुल्यांकन गर्छन त्यहाँ त्यहि त्यहि गर्थ्यो। सुरुमा सदरमुकाम, नगरपालीका र गाउपालिकाका कर्मचारीहरुलाई भेला गरेर भ्रष्टचार सुन्यमा झार्ने भन्दै अन्य दलका नेताहरुलाई विभिन्न खाले आरोप लगाउन थाल्यो। उसको अगाडी पछाडी घाँटी तन्काएर हिड्ने मान्छेहरुको कमि भएन। भुसतिघ्रेहरुको लाइन नै थियो। प्रहरी प्रशाशनले पनि साथ दिएको थियो। बिकुलका दिन आएका थिए। मान्छेहरु भन्थे 'नेता हुनु त बिकुल जस्तो हुनु।"
"धर्म, संस्कृति र सम्पदा हाम्रो पहिचान हो। गाँउ गाँउमा गएर जीण अवस्थामा भएका मन्दिर, पाटी पौवाहरुको डाटा संकलन गर्नुस। म बजेटको लागि पहल गर्छु", उसले स्थानीय निकायलाई आदेश दिन्थ्यो। "गाँउका स्कुलहरुको अवस्थालाई सुधार गर्छु। बाटो, पुल, अस्पताल बन्छन गाँउ गाँउमा। हैजाले अकालमा मोर्न पर्दैन। कोहि भोकै सुत्न पर्दैन। विदेश गएकाहरु गाउमा फर्कनेछन्," दिनदिनै फेसबुक, ट्वीटर, युटुब जताततै स्टाटस, भाषण आउन थाले। फेसबुकमा एउटा स्टाटस राखेको एक मिनेटमा एकहजार लाइक झ्याप्पै। चाइनामा बनेका पुल र बैंककका सडकहरुको फोटामा 'बिकुलले बनाए संसारकै अग्लो पुल' भन्दै टिकटक बने। "खाडी, मलेशिया होस् या अम्रिका अस्ट्रेलिया जताततैबाट कमेन्ट आउथ्यो "वाह बिकुल। यु आर द हिरो।"
अकडे माइलो पाँच बर्षजति मलेसिया बसेर गाँउ फर्केको थियो। गाउमा कुखुरा र बंगुर पालेर कमाएको पैसा सबै सहकारीमा जम्मा गर्थ्यो। "थोपा थोपा जम्मा भएर सागर बन्छ। तिमीहरु पनि बचत गर", भन्दै अन्य छिमेकीहरुलाई पनि सहकारीमा पैसो जम्मा गर्न लगाएको थियो। केहि महिनादेखि यता सहकारीको रकम हिनामिना गरेर संचालकहरु फरार थिए। अकडेको पैसा त डुब्यो डुब्यो उल्टै छिमेकी तथा आफन्तहरुले उसलाई नै दोषी देख्न थालेका थिए। सहकारीमा रकम जम्मा हुदै गयो भने छोराछोरीहरुले राम्रो स्कुलमा पढ्न पाउलान। आफूजस्तो मलेसिया जान नपर्ला भनेर खाइ नखाई जम्मा भएको पैसोको कुनै टुंगो नहुदा उसलाई निकै रिस उठेको थियो। सहकारीको संचालक होस् या कर्मचारी भेटे छप्काउछु भन्दै सिरुपाते खुकुरी साथमै बोकेर हिड्थ्यो। कसै कसैले त अकडे बौलायो समेत भन्थे।
गाँउमा बिकाश भयो भएन भनेर देख्नलाई पहिले त्यहाँ मान्छे हुन पर्यो । गाँउ सबै रित्तिदै गैरहेको थियो। गाउगाउमा गएको बजेट सबै बाटोमै पोखेका थिए। बर्षभरिको गाउलेको मेहनत र सरकारी बजेट एकदिनको झरीले स्वाहा पर्दथ्यो। बर्षौ देखि ब्यापार ब्यबसाय गर्दै आएका ब्यापारिक केन्द्रहरु जिप र ट्रकको धुलोले पुरिएका थिए। उनीहरुको ब्यापार त के लगाना समेत नउठ्ने अवस्था थियो। गाउमा युबाहरु छैनन्। शिक्षकहरु पेन्सन कुरेर बसेका छन्। घर तराइतिरै छ। छोराछोरीहरु बाह्र पढ़नासाथ अस्ट्रेलिया क्यानाडा जापान ताकेर बसेका छन्
उसको चुरीफुरी गर्दा गैरसरकारी संस्था कता हिडेछ पत्तै भएन।
एकदिन मौलाचौर गाउपालिकाका कर्मचारीहरुले बिकुलालाई गाँउमा एक कार्यक्रम गरेर अथितिको रुपमा बोलाए। कार्यक्रमको उद्द्उअ