सम्पन्न र भब्य शहर। काखमा लमतन्न परेर सुतेको बिशाल तलाऊ र तलाउको कन्चन पानीमा गगनचुम्बी सिसामहलहरुको ढुलमुल गर्दै गरेको प्रतिबिम्ब। तलाउको किनारै किनार बनेको दुई तले सडक। माथिबाट गार्डनर हाइवे र तलबाट लेकसोर बुलोभार्ड। सडकको दायाँबाँया लहरै आँकाश छुदै गरेका भवनहरु। अनि शहरको बिचमा अग्लो धरहरा, सी एन टावर।
अग्लो, पातलो शरीर। छुस्स बाङ्गा टिङ्गा दारी उम्रेको ख्याउटे अनुहार। इगोर ट्राफिक लाइटमा रातो बत्ति बल्नासाथ् देब्रे खुट्टो घिसार्दै लेकसोर र पार्लियामेन्ट सडकको इन्टरसेक्सनमा लहरै रोकिएका गाडीहरुको बिचमा छिर्छ। टिमहर्टनको रित्तो कप ड्राइभरको झ्यालतिर सोझ्याउदै भन्छ 'लुनी प्लिज।’
एक दयालु ड्राइभरले गाडीको कपहोल्डरबाट दुइवटा पच्चिस सेन्टका सिक्का झिकेर गर्बका साथ् उसको कपमा खसाल्दिन्छ। ठिक त्यति नै बेला हरियो बत्ति बल्छ। विनम्रताका साथ् धन्यबाद दिदै ऊ पुन सडक किनारातिर फर्किन्छ।
आधुनिक सभ्यता र सम्पन्नताको प्रतिक गगनचुम्मि भवनहरु गमक्क परेर निरन्तर आकाश तिर हेर्दै छन्। लाखौ करोडौ मान्छेहरुको सपनाको श्रीपेच सी एन टावर लेकशोर र गार्डनर हाइवेमा तछाड मछाड गर्दै कुदिरहेका भी सिक्स र भी एट इन्जिनहरुको प्रतक्षदर्सी बनेर बर्षौ देखि ठिङ्ग उभिएको छ। सडकमा प्रहरी छ। सडकमा प्रशासन छ। एम्बुलेन्स, दमकल यताउता कुदिरहेका छन्। त्यसैको अलि तल शान्त तलाउमा बिस्तारै पानीको लहर बढ्दै किनारासम्म आइपुग्छ, छ्प्लङ्ग किनारका ढुङ्गाहरुमा ठोक्किन्छ र पुन: फर्किन्छ शान्त तलाउतिरै । यो क्रम निरन्तर चलिरहन्छ।
पुन: रातो बत्ति बल्छ। ऊ देब्रे खुट्टो लतार्दै गाडीको भिडमा पस्छ र झ्यालहरुबाट भित्र चिहाउछ। फाट्ट फुट्ट केहि सिक्काहरु कपभित्र छिन्द्रिङ्ग बज्छन। रातो र हरियो बत्तिबिच चल्ने यो प्रक्रिया उसको लागि जागिर, ब्यबसाय र बाध्यता जे पनि हुन सक्छ। निधारमा देखिएका धर्साहरुले उसको उमेरले जिबनको आधा हिस्सा काटीसकेको संकेत गर्छ। सेतो छाला घामले डढेर, पानीले मक्केर छिर्केमिर्के देखिन्छ।
मध्यान्नतिर ऊ बाटोको अलि कुनापट्टी जान्छ र कपमा जम्मा भएको सिक्काहरु भुइमा घोप्टाएर गन्न सुरु गर्छ। अहिलेसम्म जम्मा भएको सबै पैसा प्यान्टको दाइने पकेटमा घुसार्छ र सरासर पार्लियामेन्ट सडकको भित्रपट्टि एउटा भट्टीमा पस्छ। एक सट टकिला आँखा चिम्म गरेर घुट्काउछ। अर्को सटसंग एउटा बर्गर मुर्काउछ र पुन: फर्किन्छ पुरानै जक्सनमा।
जक्सन भन्दा अलि तल सानो झाडी छ। त्यसभित्र एउटा हरियो टेन्ट छ। टेन्ट भित्र दुइवटा रक्सिका खाली बोतल, म्याकडोनाल्ड र सबवेका रित्ता कन्टेनरहरु र केहि बियरका क्यानहरु यत्र तत्र छन्। अर्को कुनामा खैरा आँखा गरेकि, गोरी महिलाको मैलो फोटो छ र संगै छ एउटा थोत्रो डायरी। त्यसैको नजिक केहि थान मैला कपडाहरु छन्।
इगोर अर्थात् त्यहि ख्याउटे मानब खोच्याउदै टेन्टभित्र छिर्छ। 'क्र्याक्क' बियरको क्यान खोल्छ र घटघट आवाज निकाल्दै एकैछिनमा क्यान खालि गर्छ। कुनामा गएर फोटो हातमा लिन्छ र एकटक संग हेर्छ। सडकको पोलमा भएको बत्तीले चियाएको प्रकासमा डायरीको पाना पल्टाउछ।
******
इगोरको हजुरबा सन् १८९६ मा सुनको खोजि गर्दै अलास्काबाट युकोन पुगेका थिए। सन् १८६७ सम्म अलास्का रुसको भूभाग थियो। त्यहि बर्ष यो भूभाग अमेरिकाले रुससँग किन्यो। त्यसको लगतै थुप्रै रसियनहरु युकोन प्रबेस गरे। इगोरका हजुर बुवा लगाएत उनिसंगै गएका कैयौ साथीहरु हाइपोथर्मिया र भोकमरीले बाटोमै मोरे। इगोरको बाबु इभान सानै थियो। उसलाई लिएर इगोरकी हजुरआमा क्लोनडैक पुगिन। त्यसको केहि बर्ष पछि उनको पनि हिउको पहिरोमा पुरिएर मृतु भयो। सुन खोजेर मनग्य पैसा कमाउने उनीहरुको सपना साकार हुन पाएन। टुहुरो इभानलाई एउटा आदिबासी परिबारले आफूसंगै राखेर हुर्कायो। उसको बिहे पनि तुत्चोनेजातको केटिसंग भयो। यसरि रसियन बाबु र तुत्चोन जातकी आमाबाट इगोरको जन्म भएको थियो।
इगोर हुर्कदै गर्दा आदिबासीहरु संगै युकोन नदिमा माछा मार्न सिक्यो। कैराबु र ठुलो हरिणको शिकार गर्न सिक्यो। सालमन र रंगिन ट्रौट जातको माछाहरु समात्न पल्कियो। यसरि प्रकृतिसंग खेल्दा खेल्दै ऊ कतिबेला बयस्क भयो पत्तै पाएन।
एकदिन बल्छी खेल्दै गर्दा एउटा रंगिन माछा उसको बल्छीमा अल्झिन पुग्यो । त्यो माछा देखेर उ यति खुसि भयो कि त्यो माछा कसैलाई देखाउन पाए हुन्थ्यो भनेझै गरेर यताउति हेर्न थाल्यो। त्यहीबेला अलि परपट्टि एकजना युवती पुतली झैँ हिउमा तलमाथि गरेको देख्यो । उ ढुंङ्गामाथि उठेर हात हल्लाउदै चिच्यायो। ति युवती दगुर्दै उ भएको ठाउमा आई। इगोरले मुस्कुराउदै रंगिन माछा देखायो।केटीले पनि रोमाञ्चित हुदै माछालाई बिस्तारै खेलाउन थालि। उनीहरुले एकआपसमा चिनजान गरे।यसरि उनीहरुको बीच प्रेमको श्रीगणेश भयो।
त्यो दिनपछि तिनीहरुको भेट नियमित युकोन नदीको किनारतिर हुन थाल्यो। इगोरले ति युवतीलाई पानिमा बल्छी कसरि खसाल्ने र चारोलाई यताउति डुलाउने भनेर सिकायो। उनीहरु संगसंगै दौडिएर हरिणलाई भाला बर्साउथे, कैराबुलाई धरापमा पारेर शिकार गर्थे। समरका दिनहरुमा सालमन र ट्रौट माछा समातेर भण्डार गर्थे। उनीहरुको आफ्नो रंगिन संसार थियो। खोलामै भेट भयो। खोल्सा खाल्सी र झाडीभित्र एकअर्कालाई अंगालोमा कसेर माया साटे।अग्ला पहाडहरुको टापुमा बसेर आकासमा बादलको लुकामारी हेरे। इग्लु अर्थात् हिऊको घर बनाएर भित्र लडिबुडी खेले। कुसवा तलाउमा निर्बस्त्र पौडी खेले। यसरि उनीहरुले कैयौ दिनहरु संगसंगै बिताए।
******
एकाबिहानै बाटोमा गाडीहरुको चाँप बढ्दै जाँदा टायरको घर्षणले निस्केको एकोहोरो सुस्याहटले इगोरको आँखा खुल्छ। पहिले पहिले ऊ जागेपछि नजिकको कुनै रेस्टुरेन्टमा गएर सौचकर्म पुरा गर्थ्यो र त्यही दुकानबाट एक कप कफी किनेर दिनको सुरुवात गर्दथ्यो। आजभोलि रेस्टुरेन्टहरुले पेटमा हाल्ने बस्तु मात्र उपलब्ध गराउछन। अतिरिक्त सुबिधा बन्द गरेकाले उ त्यहि झाडीभित्रै आफ्नो कर्म पुरा गरेर निस्कन्छ। नजिकैको टिमहर्टनको पार्किङ्ग लटमा गएर उभिन्छ। कफी किन्न भित्र छिर्दै गरेकाहरुसंग हात पसारेर ' डु यु ह्याब चेन्ज फर कफी ' भन्दै पहेला दाँत देखाउछ। जम्मा भएको पैसाले कफी किन्छ र लाग्छ आफ्नो जक्सनतिरै।
ऊ बस्दै गरेको शहर ठुलो छ। शहर सम्पन्न छ। शहरका गगनचुम्बी घरहरुमा डिजिटल मान्छेहरु बस्छन। उनीहरुको सबैकुरा डिजिटल छ। घर नम्बर, कोठा नम्बर, परिचय पत्र नम्बर, सोसल इन्सोरेन्स नम्बर, बैक खाता नम्बर, क्रेडिट कार्ड नम्बर, आम्दानि नम्बर, हेल्थ कार्ड नम्बर, डिभोर्स नम्बर यस्तै यस्तै थुप्रै डिजिटहरु थिचीएका छन् उनीहरु।हरेक गाडीभित्र यात्रीक मानब कुदिरहेको छ।यस्तो लाग्छ एउटा यन्त्रले अर्को यन्त्र बोकेर कुदेको कुदै छ। उसको हरेक कुराहरु यान्त्रिक छन्। खुशी यान्त्रिक, प्रेम यान्त्रिक, मनोरंजन यान्त्रिक, परिवार यान्त्रिक, संबन्ध यान्त्रिक।
इगोरसंग माथिको कुनै पनि डिजिट छैन।ऊ यान्त्रिक पनि हुदै होइन। बिगतमा यदि कुनै डिजिटल परिचय पत्र थियो भने पनि अहिले छैन। थियो भन्ने पनि कुनै प्रमाण छैन। प्रमाणबिना कसैले चिन्दैन उसलाई यो शहरमा। न पुलिश, न प्रशासन, न रोजगार दाता कसैले पनि चिन्दैनन् उसलाई। उ संग केवल एउटा थोत्रो डाएरी र एउटी सुन्दर युबतिको फोटो छ। मक्किएको एउटा मानब आकृति छ। यदि मानब आकृतिलाई बिर्सने हो भने ऊ यहि शहरको छेउछाउ बस्ने रकुन र कायोटिक जस्तै कुनै प्रजातिमा बिलिन पनि हुन सक्छ।
इगोर आज अलि बिरामी छ। उसको छाती बिहानै देखी भारि भएको छ। बेला बेलामा खोकी पनि लाग्छ। अपरान्ह सम्म जम्मा भएको केहि सिक्का बोकेर उ बियर स्टोरमा पस्छ। एक केस आइस बियर किनेर देब्रे खुट्टो घिसार्दै आफ्नो झुपडीमा फर्किन्छ। थोत्रो डायरीबाट फोटो झिकेर छातीमा टाँस्छ। केहीबेरमै उसको आँखाको कोछबाट आँशु रसाउन सुरु हुन्छ।
आज उसले अरुबेला भन्दा अलि धेरै नै पिउछ। बियरको क्यान हातमा समातेर चुम्बन गर्छ र यसरि सधै उसको साथ् थिएकोमा धन्यबाद पनि दिन्छ। टेन्टको प्वालबाट बाहिर चिहाउछ। नजिकैको घरको बार्दलीमा अर्धनंग्न जोडी चुम्बन गरिरहेको देख्छ। भुइको माटो मुट्ठीमा कसेर पुन भुइमै छोद्दिन्छ। फोटो समाउछ र ओठमा लगेर टाँस्छ। आकाश जोडसंग गर्जिन्छ। एउटा सानो लोखर्के अत्तालिदै टेन्टको भित्र बाहिर गर्छ।
******
उसले सधै छातीमा टाँसेर सुत्ने फोटोको नाम हो सिजिया। सिजिया इगोरको लागि सबथोक थिई कुनै बेला। इगोरका बाउआमा छुट्टिएर अलग अलग बस्थे। सिजिया निकै चुलबुले केटि थिइ। इगोरलाई असाध्यै माया गर्थी। उनीहरु संगै शिकार गर्न जान्थे। संगै खोलामा माछा समाउथे। काठको पिर्का बनाएर संग संगै हिंउमा चिप्लेटी खेल्थे।कैयौ दिन उनीहरु घर नफर्की जंगलमै बिताउथे।
जुनको महिना थियो।एकदिन उनीहरु अदका पर्ब मनाइसकेपछि जंगलमा शिकार गर्न गए। दिनभरी डुल्दा डुल्दा समेत उनीहरुले कुनै जंगली जनावरलाई भेट्न सकेनन्। अध्यारो पर्दाले धुपी सल्लाघारीलाई छोप्दै गर्दा सिजियाले तल पहाडको गल्छीमा ठुलो मृगलाई देखी। त्यसपछि दुबैजनाले छेको हानेर मृगलाई आफ्नो पाशामा पार्ने कोशिस गरे। यसरि मृगको पछि पछि भाग्दै गर्दा सिजिया अचानक पहाडको गल्छीमा खसी। इगोरले उसको घाइते शरीर काँधमा बोकेर बस्ति सम्म पुग्यो। दुर्भाग्यबस बाटैमा सिजियाको मृतु भैसकेको थियो। यस्तो अकल्पनीय दुर्घटनाले गर्दा उसको मानशिक अबस्थामा ठुलो आघात पर्यो। त्यसपछि उसले शिकार गर्न पनि छोड्यो।
त्यसको केहि महिना पछि इगोर युकोन छोडेर प्रिन्स एडवार्ड आइल्याण्ड गयो। त्यहाँ उसले आलुखेतिमा काम गर्न थाल्यो।काममा आफुलाई ब्यस्त राख्ने कति कोशिस गर्दा पनि उसले सिजियालाई बिर्सन सकेन। संगै खेतमा काम गर्ने साथीहरुले उसलाई पिउन सिकाए। सुँघ्न सिकाए। बिस्तारै उसमा पनि पिउने र सुँघ्ने कुराको लत बस्दै गयो।अन्तत उसले सबैकुरा भुल्न सक्यो तर सिजियालाई भुल्न सकेन। अलिअलि लेख्न र पढ्न सक्ने भएकोले साथमा सधै एउटा डायरी राख्थ्यो र डायरीको बिचमा सिजियाको एउटा फोटो। सधै रातमा यहि फोटो अगाडी राखेर पिउन बस्थ्यो। पिउदा पिउदै मनको पिर डायरीमा रित्याउथ्यो।
यसरि ऊ रक्सीको एडिक्ट भयो। पिउन नपाउदाको दिन उसको हात खुट्टा काम्न थाले। ऊ काम गर्न नसक्ने भयो। काम गर्न नसकेपछि उसले बस्ने बाँस र खाने गाँस दुवै गुमायो। त्यसपछि दिनभरी बजारमा डुल्ने र सडकमै बास बस्ने गर्न थाल्यो। पछि एउटा सामाजिक संस्थाले रिह्याबको लागि टोरोन्टो पठायो। दुई बर्षसम्म किन्ग्सटन रोडको रिह्याबिलिटेसन सेन्टरमा बस्यो। दुइबर्ष पछि एकदिन ऊ त्यहाँबाट समेत भाग्यो र डाउनटाउनको विभिन्न गल्लीहरुमा बसेर माग्न थाल्यो। तर उ जहाँ जहाँ गए पनि साथमा एउटा सुर्के झोला हुन्थ्यो र त्यसभित्र एउटा डायरी र उसको प्रेम।
******
इगोरको छाती बेस्सरी दुख्न थाल्यो। जति धेरै पिडा हुन्थ्यो त्यति धेरै सिजियाको फोटो छातीमा टाँस्थ्यो ऊ। केहिबेरपछी आकास गर्जिन थाल्यो। एकैछिनमा हावाहुरी सहित ठुलो पानि पर्यो। सडकको छेउछाउ थुप्रिएको धुलो सहित हावाको झोक्का टेन्ट भित्र छिर्यो। धेरैबेरसम्म हावाहुरी र मुसलधारे पानीले चन्डिनाच प्रश्तुत गरिरह्यो। उसको छातीको दुखाई झन् झन् बढ्दै गयो।उसले चारैतिर निष्पट अध्यारोमात्र देख्यो। डायरीको साथमा फोटो हातमा बेसरी अठ्याएर खुट्टा तनक्क तन्कायो। चारैतिर केवल सुन्य बाँकी रह्यो।
भोलिपल्ट जक्सनमा यात्रुहरुले इगोरलाई देखेनन्। सधैभरि त्यहि बाटो हुदै यात्रा गर्नेहरुले सोंचे अर्को ठाँउमा मुभ भयो होला। बाटोको छेउमा टिमहर्टनको रित्तो कप घोप्टिएको थियो।
बाटोबाट उ बस्ने टेन्टको आधा भाग मात्रै देखिन्थ्यो। बाटोको छेउबाट साइकल कुदाउनेहरुले उ टेन्टभित्र सुतेको होला भन्ठाने कि कसैले सोधेन। कसैले खोजेनन। उसलाई खोज्ने को नै पो थियो र। दुइदिन सम्म कसैको आँखा पुगेन। टेन्टभित्र झिंगाहरु अलि धेरै जम्मा हुदैगर्दा नजिकैको अपार्टमेन्टमा बस्ने एकजना बुढी आमाले बाटोमा हिड्दै गर्दा उसलाई हलचल नगरी घोप्टो परेर सुतेको देखिछन। उनलाई संका लागेछ। नजिकै गएर कैयौ चोटी बोलाइन। तर इगोरको जवाफ आएन। ऊ घोप्टो परेकोले अनुहाँर देख्न सकिदैनथ्यो। उनले तुरुन्त इमर्जेन्सीमा फोन गरिन। केहीबेरमै एम्बुलेन्स, फायर ट्रक र पुलिशका भ्यानहरु एकैचोटी जम्मा भए।
मेडिकल टोलीले उसको शरीरलाई उत्तानो पारे। उसको हातमा सिजियाको फोटो थियो। वरिपरि बियरका रित्ता क्यानहरु थिए। पुलिशले सबैको फोटो खिच्यो। मेडिकल टोलीको नाइकेले स्वाभाविक मृतु भएको घोषणा गर्यो। स्वाभाविक मृतु घोषणा भएकोले प्रहरिले पनि त्यहाँको एरियालाई सुरक्षित राख्नु आबश्यक ठानेन। उनीहरुले आफ्नो तर्फबाट एउटा रिपोर्ट तयार पारे। इगोरको त्यो ख्याउटे अनुहार सदाको लागि अस्तायो। संगसंगै सिजियाको हिउजस्तै उज्यालो अनुहार पनि हावाको बेगसंगै सधैको लागि क्षितिजमा बिलिन भयो।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home