दशलाख भिसा लागेपछि बुझाउला
'बा’ले अंश लाएर दिदा बाटामुनिको खेतमा पैतिस मुरी धान हुन्थ्यो। खोलाले काट्दै काट्दै अहिले पच्चिस मुरी धाँन फल्दैन। आँपको बुटामुनी लाग्ने कुलो बाटोले पुर्यो। सबैले घडेरी भन्दै खेत बँजाएका छन्। भनेको बेला काम गर्ने मान्छे पाइन्नन्। पाइहाले पनि छोइसक्नु छैन। अति चर्का भए। तिघ्रामा बल हुदा सम्म सकीनसकी गरेकै थियौ हामि बुढाबुढीले। तिघ्रा झोलिदै गएपनि आँट पनि मोर्दो रैच’, शिबुरामले छोराको अनुहारमा हेर्दै गनगन शुरु गरे।
‘आफुले गर्न नसकेपछि कसैलाई अधिया गर्न दिने कि ? एकपल्ट दाईलाई पनि सोधौ। मैले पनि भर्खर पढाई सकाएको छु। काम पनि खोज्दैछु। काम पाइयो भने राम्रै भयो। पाइएन भने बाहिर तिर पनि ट्राइ गर्नु पर्ला। यत्रो खर्च गरेर पढियो। यतिकै घरमा बसेर भएन,’ शिबुरामको छोरा यमनले भन्यो। काठमान्डौको एउटा प्राइभेट कलेजबाट भर्खरै आइटीमा ब्याचलर सकाएको थियो यमनले।
‘आफैले रेखदेख गर्दा त धाँन भन्दा धेरै साँबो देखिन्छ खेतमा। आलि किराले खोलेर खेतको पानि एकछिन अडिन्न। अरुलाई दियो भने के हालत होला। दाईपनि फर्केर आउला जस्तो लाग्दैन मलाई।’
अम्रिका गएका कोइपनि फर्किनन् भन्चन सबै। हाम्लाई पिर मान्चन भनेर होला केरे छोरा छोरी कलेज पढ्ने भए भने त्यतै आउने हो भन्च ,' यमनकी आमा लक्ष्मी पनि संगै थिइन्। उनले पनि बाबाको कुरामा कुरो थपिन। ’
यमनले बाउआमाले भन्न खोजेको कुरा बुझ्यो।एकछिनसम्म केहि बोलेन। चुप्प लाएर बस्यो।
‘श्रीधर पण्डितको छोराले गाउमै स्कुल पढाउन थालेको छ। उसले पनि पोखरामा मस्तै पढेर आएको रे। खेतीपाती गर्न पनि भ्याएकै छ। शहराँ मात्र नोकरी खोजेर हुन्न। ऐले त गाँउमा पनि मान्छेले नोकरी पाँछन’, लक्ष्मीले कुरा थपिन।
‘हजुरहरुले त्यसो भन्नुहुन्छ भने ठिकै छ मैले पनि यतै कुनै जागिर खोजौला। तर यहाँ आइटीको काम पाइन्छ जस्तो लाग्दैन मलाई। मेरो काम कम्प्युटरमा प्रोग्राम बनाउने हो। स्कुलमा पढाउनलाई पनि त्यहाँ मेरो बिषय छैन’, यमनले भन्यो। उसले बा’आमाको चित्त दुखाउन चाहेन।
‘श्रीधरले छोराको बिहेको लागि केटि खोज्दै पो हिड्या छन् रे। यसैसितको हैन र गोकुले ?’
‘दुई मैनाले जेठो हो ऊ। ऊ बैशाकको हो केरे। यो अषारको। यो जन्मिदा पुछारको खेत रोप्नको मार्चो थ्यो। कम्ता दुख पाइहैन मैले , लक्ष्मीले छोराको अनुहारमा मायालु आँखाले हेर्दै भनिन।
त्यसैबेला आगनको छेउमा भएको नास्पातिको हाँगामा एकजोडी गौथली कतैबाट भुर्र उडेर आए। मुखभरि माटो बोकेर आएका उनीहरु पालैपालो मुलढोकाको देब्रे पट्टि दलिनमा भुर्र भुर्र गर्दै बन्दै गरेको गुँडमा माटो थपे। पोहोरसाल बनाएको गुँड आँधा भन्दा बेसी भत्किएको थियो। उनीहरुले सोहि ठाँउमा पुनर्निर्माणको काम थालेका थिए।
यमन गौथलीको साबधानी पुर्बक भैरहेको कामलाई निकै रोचक मुन्द्रामा हेरिरहेको थियो। धेरै बर्षदेखि गौथालिले सोहि ठाँउमा आफ्नो घर बनाउदै आएपनि उसले यति ध्यान दिएर पहिले कहिले हेरेको थिएन। खै किन हो आज गौथलीको घर बनाउने कलाले उसको ध्यान खिचेको छ।
त्यसैबेला माथिल्लो गाँउको रामबहादुर टुप्लुक्क घरमा आइपुग्यो। दश बर्ष मलेशिया बसेर घर फर्केको ऊ गाँउका केटाहरु मलेसिया पठाउने काम गर्छ भन्थे सबैजना। तर कसैलाई पनि उसले के गर्छ भन्ने चुरो कुरो थाहै थिएन। प्रायजसो हरियो टिसर्टमाथि खरानी रङ्गको क्याजुवल कोट र जिन्स लगाएर हिड्ने ऊ सधै फुर्तिलो देखिन्थ्यो। मलेसिया जानुभन्दा पहिले ऊ नामुद जिल्लास्तरिय भलिबल खेलाडी थियो। हँसमुख भएको ऊ पढाईमा एसएलसी मै सिमित भएपनि अनुभबले निकै पाको र तार्किक कुरा गर्दथ्यो।
‘हैन माईला बा, के को घरसल्लाह हुदैछ छ हो सबैजना एकैठाउँ बसेर। भाई पनि आएका रैछन। मलाई त थाहा पनि थिएन’, उसले निहुरियर शिबुरामको खुट्टा छोयो र नजिकै खाटमा बस्यो। बस्दै गर्दा उसले लक्ष्मीलाई पनि नमस्ते गर्यो।
‘के घरसल्लाह हुनु बाबु यसै गन्थन गर्दै छौ। हाम्रो पनि अब बुढेसकाल शुरु भैगयो। काम गर्न सकिन्न। जेठो आफ्नो दुनो सोझ्याएर बाटो लाग्यो। हामि बुढा बुढी यसैसंग गुनासो पोख्दै छम्’, शिबुरामले भने।
‘सबैको घरमा यस्तै छ अहिले बुवा। मगरका छोराहरु जन्मदै पुसअप र सिटाप शुरु गर्छन। सके ब्रिटिश नसके इन्डियन आर्मीमा भर्ति हुन्छन्। अलिकति पढेलेखेकाहरू कति काठमान्डौ तिर छन् कति अस्ट्रेलिया, युरोप, अमेरिका लागे। त्यता जान नसक्नेहरु खाडितिर छन्। गाँउमा त माखो पनि छैन। हाम्रा दमालीहरु पनि सबै बाहिर बाहिरै पो छन्’, रामबहादुरले भने।
उनीहरुले गफ गर्दा गर्दै लक्ष्मीले चिया लियर आइन। दुवैजनाले चिया सुरुप्प सुरुप्प पार्न सुरु गरे।
पुर्बदिशामा कालो बादल गजधम्म परेर बसेको थियो बिहानै देखि। अहिले पश्चिमतिर पनि बादल कालो हुदै गयो। हेर्दा हेर्दै पानि दर्किन थाल्यो। आगनमा सुतिरहेको बिरालो पुच्छर घुमाउदै लक्ष्मीको गोडामुनि गएर बस्यो।
रामबहादुरलाई पहिले देखि नै दाई भनेर बोलाउथ्यो। एकैछिन उनीहरु घरपछाडी गएर केहि कुराकानी गरे।
केहीबेरमै पानी एकछिन रोकिदै पुन: पर्दै गर्न थाल्यो। पानी अलिक मथ्थर भएपछी रामबहादुर पनि घर फर्के।
यमनलाई एकहप्ता घरमा नबस्दै दिक्क लाग्न थालिसकेको थियो। छरछिमेकमा भेट्ने जतिले 'के गर्छस् ? कैले जान्छस ? ‘ भनेर सोधेर हैरानी पार्थे। घाँसको भारि बोकेर हिड्दा बाटोमा चिनेकाहरूले एकापसमा खासखुस गरेको देख्थ्यो।चाहिने भन्दा बढी अर्काको चासो राख्ने गाँउलेहरुको ब्यबहारले पनि उसलाई शहर फर्किन मन लागिरहेको थियो।
खेतमा रोपाइँ सकेर यमन पुन: काठमान्डौ फर्कियो। सबैतिर कामको लागि एप्लिकेसन हाल्यो। धेरै ठाँउहरुबाट त उसलाई इन्टरभिउको लागि समेत बोलाइएन। बोलाएको ठाँउमा पनि कामको अनुभब नपुगेको भन्दै काममा लिएनन। काम खोज्दै महिनौ बित्यो। अहँ उसले कुनैपनि काम भेटाउन सकेन। उसंगै पढेका आफूभन्दा कमजोर साथीहरु राम्रै प्रोजेक्टहरुमा काम शुरु गरेका पनि थिए। त्यसको लागि आफ्नो मान्छेको पहुँच हुनुपर्ने रहेछ भन्ने उसले थाहा पायो। कतै नेताको पहुच, कतै आफ्नाको पहुच। स्वतन्त्र प्रतिष्पर्धामा एउटा कोटा खोल्यो भने सयौ जनाको लाइन। ऊ बिहानै उठ्छ। पत्रिकाजति सबै हेर्छ। कहाँ कहाँ बिज्ञापन खुलेको छ सबै आफ्नो डायरीमा टिप्छ। त्यसपछि पालै पालो अप्लाई गर्छ। कहिलेकाँही आफ्नो अनुभब नपुगेर भन्दा पनि लकले साथ् नदिएको हो जस्तो ठान्छ आफैले। बिस्तारै बिस्तारै पत्रिकामा छापिने बिज्ञापनप्रति उसको बिश्वास हराउदै जान्छ।
घरमा बुढाबुढी आमाबुवालाई एक्लै छोडेर काठमान्डौमा एक्लै यसरि बेरोजगार भएर बस्दा उसमा एकखालको फ्रस्टेसन हुन्छ। उसले साथीहरुसंगबाट मलेसियामा आइटी सम्बन्धि काम सजिलै पाइने र पैसा पनि मनग्य कमाइने कुरा सुनेको थियो। रामबहादुरले पनि मलेसियामा आइटी पढेकाहरुले राम्रो पैसो कमाउन सक्ने कुरा पछिल्लो भेटमा सुनाएका थिए। तर बुवाआमको मन भने ऊ गाँउमा फर्केर उतै केहि गरोस भन्ने थियो। ऊ सारै अन्योलमा पर्यो। अस्ट्रेलिया, युरोप, अमेरिका पढ्न जानलाई धेरै खर्च लाग्ने। तर मलेसिया तथा खाडी मुलुकमा कम पैसामा जान पाइने तथा कम्पुटर सम्बन्धि काम पाइयो भने तलब पनि धेरै हुने कुरा उसलाई जानकारी थियो।
‘एकपल्ट मलेसियाको लागि ट्राइ गर्नुपर्यो। पैसा राम्रो कमाउन सकियो भने चार पाँच बर्षमा नेपालमा फर्केर पनि केहि गर्न सकिएला’, उसले मनमनै बिचार गर्यो। मलेसिया जानको लागि पनि दश पन्द्र लाख जुटाउनु पर्ने भएकोले एकपल्ट घरमा सल्लाह नगरी उसले निर्णय लिन सकेन।
अर्कोदिन ऊ घर फर्कियो। बेलुका खानपिन भैसकेपछि उनीहरु चिसो हावा खानको लागि बाहिर पिडीमा गुन्द्रीमाथि बसे। कुरा सुरु गर्दै यमनले भन्यो, ‘म मलेसिया जाने सोच बनाउदै छु। ‘युरोप, अमेरिका झैँ उतै बस्नको लागि होइन। पाँच बर्ष जति बसेर फर्किहाल्छु। त्यतिन्जेल अलिकति पैसो पनि जम्मा हुन्छ। त्यसपछि यतै एउटा कम्प्युटर सम्बन्धि कुनै बिजनेस गरेर बस्ने गरेर फर्किन्छु। तलब पनि राम्रो हुन्छ रे। ‘
उसको यो कुराले बुढाबुढीको रक्तचाप अकस्मात बढ्यो। एकछिन सम्म दुबैजना मुख हेरा हेर गरे। उनीहरुको मस्तिष्क सुन्य भयो। धेरैबेरमा शिबुरामले भने, ‘ पढेर जागिर नै गर्नु पर्छ भन्ने पनि केहि छैन हेर। यो सम्पति सबै तेरै हो। बिजनेसको लागि पैसा चाहियको छ भने आँपको बुटामुनिको खेत घडेरी बनाएर बेच्दिम्ला। सबैले बेचेकै छन्। तर विदेश सिदेश जानी कुरा नगर। विदेश गएकाहरुपनि अहिले धमाधम फर्केकै छन्।’
यमनको मन किन किन बिचलित भैसकेको थियो। उसको दिमागमा एकपल्ट बाहिर गएर कामको अनुभब र अलिकति पैसा जोडेर मात्र नेपाल फर्किने र उता सिकेको शिप र जम्मा भएको पैसाले बल्ल यता राम्रो बिजनेस गर्ने भन्ने कुरा चलिरहेको थियो। उसले बारम्बार गरेर बुवाआमालाई मनाइ छाड्यो।
रामबहादुरले काठमान्डौको एकजना मलेशिया पठाउने एजेन्टको नम्बर दिएको थियो। काठमान्डौ फर्केपछि ऊ तुरून्त एजेन्टलाई भेट्न गयो। सुदिप नाम गरेको त्यो एजेन्टको धुम्बाराईमा अफिस रहेछ। उनीहरुबीच मलेशियाको लागि अप्लाई गर्नेबारे सल्लाह भयो।
"क्वालालम्पुरमा रहेको सुमिदेन इलेक्ट्रोनिक्समा आइटीको कोटा छ। जम्मा खर्च बाह्र लाख लाग्छ। दुइलाख अहिले जम्मा गर। बाँकी दशलाख भिसा लागेपछि बुझाउला। तलब मासिक एकलाख पचास हजार सम्म हुन्छ’, सुदीपले कम्प्युटरमा मलेसियाको एउटा वेबसाइट देखाउदै भन्यो। यमनको दिमागमा बाह्रलाखतिर बढी केन्द्रित भएकोले होला अन्य कुराहरुमा त्यति ध्यान दिएन उसले। एकपल्ट घरसल्लाह गर्ने भनेर ऊ त्यहाँबाट निस्कियो।
छोराको मनसाय बुझेर शिबुरामले पनि मन्जुरी जनाए। आँपको रुखामुनिको खेत बेच्न खोजेपनि तुरुन्त बिकेन। श्रीधर पण्डितसंग बाट अलिकति ऋण काडे। आफुसंग भएको निथारनिथुर गरेर पैसो जम्मा गरे। नजिकै आएको दशैँको टिकासमेत नलगाई यमन मलेसिया उड्यो।
क्वालालम्पुर इन्टरनेसनल एअरपोर्टमा उसलाई लिनको लागि अजित पहिले नै आइसकेको रहेछ। भारतीय मुलको करिब चालिस बर्षजतिको देखिने अजितले हिन्दि मै आफ्नो परिचय दियो र गाडीमा बसालेर सरासर कम्पनीकै क्वाटरमा पुर्यायो। त्यहाँ पुगिसकेपछि कम्पनीको कन्ट्रयाक्ट पत्रमा साइन गर्न पठायो। तलब सत्रसय रिङ्ग्गिट थियो। उसले तुरुन्त नेपालीमा कतिहुन्छ भन्ने थाहा नपाएपनि त्यो रकम नेपालि एकलाख भन्दा धेरै कम हो भन्ने उसले बुझ्यो। नेपालमा सुदिपसंग तलबको बारेमा भएको कुराको बारेमा उसले सुनायो। तर अजितले त्यो रकम ओभरटाइम गरेर कमाउन सकिने जानकारी गरायो। ऊ संग कुनै उपाए थिएन सबै कागजहरुमा साइन गर्यो। अजितले पासपोर्ट मागेर आफैसंग राख्यो।
भोलिपल्टबाट उसको काम शुरु भयो कम्प्युटरको चिप्सहरु बनाउने डिपार्टमेन्टमा। तिस डिग्रीको गर्मीमा पी पी ई लगाएर एकैठाउ उभिएर काम गर्नु पर्दथ्यो। आठ घण्टा मात्र काम गर्दा खान र बस्ने खर्च कटाएर दुई चार हजार मुस्किलले बच्दथ्यो।त्यसले गर्दा पनि ऊ बाह्र देखि सोह्र घण्टासम्म लगातार काम गर्न बाध्य भयो।बस्नको लागि एउटा साँघुरो कोठा दिएको थियो कम्पनीले। खाना आफै किन्नु पर्थ्यो। छुट्टीको दिनमा समेत काम गर्नु पर्ने बाध्यताले गर्दा उ कहिले कम्पाउण्डबाट बाहिर समेत निस्कन पाएन।
दुइ बर्ष सम्म खटिएर काम गर्दा समेत आफु आउदाको ऋण तिर्न नसकेपछि यमनले नेपाल फर्कने सोच बनायो।एकदिन यो कुरा कम्पनीको म्यानेजरसंग राख्यो। कम्पनीको म्यानेजरले कन्ट्रयाक तोडेबापत झन्डै दश लाख जरिमाना लाग्ने कुरा सुनायो। यो सुन्दैगर्दा उसको छातीको धड्कन एक्कासी बढिसकेको थियो। स्वास रोकिएला झैँ भयो। ऊ केहि बोल्न सकेन। दिनको अठार घण्टा काम गर्नु सिवाय ऊ संग कुनै बिकल्प थिएँन। एकैछिन यसरी ठगिएर काम गर्नु भन्दा दलालको टाउको छिनालेर जिन्दगीभर जेल बस्नु परे पनि त्यहि ठिक जस्तो लाग्यो उसल्लाई। तर बुढा बुढी बुवाआमाको अनुहार झल्झल्ती आयो। नर्कमै बसेर भएपनि पाँच वर्ष बिताउन बाध्य भयो ऊ।
यता शिबुरामका बुढाबुढी कान्छो छोरो फर्केर आउने दिन गन्दै बस्न थाले। छोराले पैसो पठाउन नसकिरहेको अवस्थामा खेत बेचेर ऋण तिरे। उनीहरुलाई छोरो दलालको चंगुलमा फसेकोले गर्दा घर फर्कन नसकेको भन्नेबारे पत्तै थिएन। उनीहरु शाँझ बिहान भगवानसंग प्राथना गरिरहेका थिए।
शिबुराम बेला बेला बुढीसंग गुनासो पोख्थे " छोराहरुको लागि भनेर हाम्ले दुख गर्नु पनि बेकारै रहेछ। उनीहरुलाई होला भनेर आँपको रुखमुनीको खेत खाइ नखाई जम्मा गरेको पैसाको जोडेका थियौ। बस्नको लागी पक्कि घर बनायौ। सकी नसकी खेत कोर्यौ। तर उनीहरुलाई हाम्रो सम्पति भन्दा बिदेशीको गुलामी ठुलो लाग्यो। आफ्नो सम्पतिको मालिक हुनमा गर्ब गर्न नसकेर कहाँ न कहाँ गएर बस्नु राम्रो लाग्यो। यदि उनीहरुलाई बिदेशी भुमि नै प्यारो लाग्छ भने हामिले यहाँ सुर्ता गरेर केहि फाइदा छैन। भएको सम्पति बेचिदिउ। आएको पैसा बैंकमा फिक्सडिपोजिट राखौ। ब्याजले खान पुग्छ। सावा जल्ले काजक्रिया गर्ला उसैले खाला।"
तर लक्ष्मी भने सधै यो कुराको बिरोध गर्थिन। उनलाई लाग्थ्यो कुनै दिन उनका दुवै छोरहारु फर्केर आउनेछन। उनलॆ हरेक रात सुत्नु भन्दा पहिले छोराहरुलाई सम्झिन्थिन। कतै लड्छन कि, कसैले गालि गर्यो कि, भोकाए कि भन्ने पिरै पिरमा हुर्काएका दिनहरु आँखा अगाडी झल्झल्ती आउथे। पछ्यौराको टुप्पोले सुटुक्क आँशु पुछथिन। राति कतिखेर आँखाका ढकनी बन्द हुन्थे उनले कहिले हिसाब किताब राखिनन्। छोराहरुको यादमा रात जाग्राम बितेपनि कुनै गुनासो थिएन उललाई। रात उनको लागि एक पर्खाइ थियो 'कतिबेला उज्यालो होला र छोराहरुको फोन आउला।' कहिलेकाँही रातमा पनि घरि घरि फोन हेरिरहन्थिन उनि। बेट्री सकिएर हो कि फोन नआएको भन्दै घरि घरि चार्जमा जोडेर राख्थिन फोन। हप्ता दिनसम्म पनि फोन आएन भने तल दुकानमा झरेर 'मेरो फोन बिग्र्यो कि बाबु हेर्देउ न ' भनेर पशलेलाई सोध्थिन।
यमन बधुवा मजदुरको रुपका दिनको अठार अठार घण्टा काम गर्न थालेको तेस्रो बर्ष चल्दै थियो। मलेसियाको बिध्युतिय सामाग्रीहरु धेरै अमेरिकामा जान्थ्यो। अमेरिकाले त्यस्ता सामग्रीहरु खरिद गर्दा बिदेशी कम्पनिहरुसंग गरेको सम्झौता अनुरुप एम्प्लोइहरु अर्थात् कामदारहरुको अधिकार हनन भएको छ छैन, आठ घण्टा भन्दा बढी काम गरेबापत पैसा दिएको छ छैन, कामदारहरुको इक्षाबिपरित काम गरेको छ छैन भनेर जाच्ने एउटा संगठनले यमनलाई गोप्य अन्तरबार्ता लियो। अन्तरबार्ताको क्रममा यमनले आफुले नेपालबाट एउटा सम्झौता गरेको तर त्यहाँ अर्को काम गर्न बाध्य भएको, तलब पनि नेपालमा गरेको सम्झौता भन्दा फरक भएको, आफुलाई बाध्यतामा पारेर कन्ट्रयाक्ट साइन गर्न लगाएको साथै पासपोर्ट समेत उनीहरु रहेको कुरा सुनायो। यस्तै कथाहरु थिए अन्य मजदुरहरुको पनि। दुइ महिना सम्म चलेको अनुसन्धान पश्चात अमेरिकाले सुमिदेन इलेक्ट्रोनिक्स बिरुद्द मुद्दा चलायो। यमनलाई त्यहाँ बाट निकालेर नेपाल पठाउने व्यवस्था समेत त्यहि संथाले मिलायो।