डेन्टोनिया पार्क र डायस्पोरिक चिन्तन
जुलाई महिनाको तेस्रो दिन शनिबार परेको थियो। बाहिरको तापक्रम बढेर करिब बाइस डिग्री सेल्सियस पुगिसकेको थियो । झन्डै दुइबर्ष जति महामारीको कारणले घरभित्र थुनिएका मान्छेहरु बिस्तारै बाहिर निस्कदै थिए। भिक्टोरिया स्टेशन नजिकैको डेन्टोनिया पार्कको दक्षिणपूर्वतिरको भाग नेपालिहरुले भरिभराउ थियो। मौसम घमाइलो र बाताबरण रमाइलो थियो। बर्तमान समय र स्थानलाई एकैछिन हिप्पोक्याम्पसबाट निकाल्ने हो भने यो ठाँउ किर्तिपुर केन्द्रिय बिश्वबिध्यालयको कम्पाउण्ड अथवा कुनै बोर्डिंग स्कुलको गिराउनमा सिधै डिजल्भ भैदिन्थ्यो।
त्यहाँ जम्मा भएका धेरैजसो हामीहरु किर्तिपुर क्याम्पसबाट दुइहजार साठी देखि पैसट्ठी सालमा विभिन्न संकायहरूबाट मास्टर्स सकाएर सरकारी तथा निजि संघसस्थाहरुमा काम गरेका, विश्वबिद्यालय देखि विभिन्न स्कुल क्याम्पसहरुमा अध्यापन गराएका खाट्टी नेपालिहरु थियौ। खाट्टी यस अर्थमा कि न कसैको बोलिभाषामा परिबर्तन थियो त न छालाको रंग र गफ गर्ने कलामा। फरक यत्ति थियो कि कसैको पेटमा अलि बढी बोसो जमेको थियो त कसैको अनुहारको छालाको रङ्ग बर्षौ पुरानो पेन्टिङ्गको झैँ उत्रियको थियो। धेरैजसोको आँखाको कोछहरुमा मुज्जा प्रष्टै देखिन्थे र टाउकाको रौ धौलागिरि हिमाल झैँ हाँसिरहेका थिए। चिल्ला गाला गरेका पनि थिए कोहि कोहि। महिला टोलीहरु भने सानै समुहमा भएपनि चौरको अर्कोपट्टि गफ गर्दै थिए।
लामो समय पछि यसरि भेट हुने मौका जुराएको थियो नेपालीहरुकै एउटा फुटबल संगठन ले। यो संस्थाको अग्रसरतामा नेपालि केटाकेटीहरुलाई प्रत्यक वर्ष जुलाई र अगष्ट महिनामा प्रशिक्षण दिइने रहेछ। विभिन्न उमेर समुहमा विभाजित गरेर सिकाइने फुटबल भन्दा विभिन्न ग्याजेटहरुमा लत्तियका केटाकेटीहरुलाई एकापसमा चिनजान गराउनु ,अग्रेजी मै किन नहोस एकापसमा कुराकानी गर्ने मौका दिनु र दुइ घण्टा कुदाउनु नै ठुलो हो उपलब्धि हो।
हामि नेपालीहरु चाँहे संसारको जुनसुकै कुनामा नपुगौ, हामीले आफ्नो संकार, बानी, काम गर्ने तौर तरिका संगै लिएर गएका हुन्छौ। नेपालिहरु भेट हुने बितिकै यहाँ जहाँसुकै बसोस, जे सुकै गरोस, सबभन्दा पहिले 'नेपालमा हजुरको घर कहाँ? के गर्नुहुन्थ्यो? टि यू को कतिको ब्याज हो तपाइँ ? जस्ता प्रश्नहरु चिनजान गर्ने शुरुवादी प्रश्नहरु हुन्छन्। 'फलानोलाई चिन्नुहुन्छ ? ढिस्कानो त अस्ट्रेलियामा छ ' हुदै कुरा अघि बढ्दै जान्छन। त्यसपछि कुरा प्रवेश हुन्छ नेपालको राजनीति र नेताहरुको बारेमा टिकाटिप्पणी आदि इत्यादि।
चिनजानलाई नबिकरण गर्दै जाने क्रममा अग्रेजी बिषय एकदुई ब्याज तलमाथिका भूपू बिद्यार्थीहरुको बीच कुराको गुरुत्वआकर्षण बढ्दै गयो। कुरा सुरु भयो अभि सुबेदीको रसिला गफ, गुप्तोको ब्ल्याकबोर्डभरि छरिने दर्शनका बाछिटाहरु, पाण्डेले बेच्ने किताब र सन्जिब उप्रेतीको पढाउने शैली। सबैका आफ्ना आफ्नै अनुभब थिए। सबैका फरक फरक खास थिए। हामीहरु विभिन्न समयमा घटेका रमाइला घटनाहरुका टुक्राटाक्री जोड्दै र सुनाउदै थियौ। हामि सतप्रतिशत बिगतमा फर्किएका थियौ। त्यहाँ जम्मा भएकाहरु मध्य कसैले यहाँका यूनिभर्सिटिमा पढेका थिए। विभिन्न संघ संस्थाहरुमा काम गर्थे। तर कसैले पनि न यो अनुभब सुनाउन चाह्यो न कोहि सुन्न उत्सुक नै। नेपालकै स्कुल, कलेजहरुको कुरा गर्दा, आफ्ना गुरुहरुको प्रशंसा गर्दा होस् या आलोचना गर्दा छुट्टै किसिमको आनन्द आउदो रहेछ।
गफ गर्दा गर्दै कार्यक्रमको उद्घाटनको समय भएछ। त्यसैबेला युरोपियन मुलका झैँ लाग्ने गोरो छाला भएका एक जोडी एक एकवटा बच्चा काखमा च्यापेर हामि जम्मा भएको ठाउँतिर आए। केटो हाफ प्यान्ट र टिशर्टमा थियो भने केटि पनि माथि आधा कुम देखिने र तल कट्टु बराबरको रातो समर ड्रेसमा थिई। सुरुमा त लाग्यो यिनीहरु यतिकै केटाकेटीसंग घुम्न निस्केका होलान।तर पछि थाहा भयो केटो त्यहाँको एम पी रहेछ। कार्यक्रम उद्घाटन गर्न आएको प्रमुख अथिति। हाम्रा नेताहरुसंग पहिले नै चिनजान रहेछ। सबैले कुर्चीमा बस्न अनुरोध गरे पनि उनीहरु कुर्सिमा बसेनन्। हामीहरु जस्तै धेरै बेर सम्म उभिई रहे।
"लौ हेरौ हाम्रा नेता र यिनीहरुमा कति फरक छ। हाम्रालाई अघिपछि सके बन्दुक, नसके डंठो समाएर अभिने मान्छे चाहिन्छ। आशेपाशेहरुको तछाड मछाड हुन्छ। नेतालाई सुटेट बुटेट हुनुपर्छ। सबभन्दा विशिष्ट खालको बस्ने सोफा चाहिन्छ। हेर यिनीहरुलाई ?' एकजना मित्रले ठोकिहाले। सबैले हो मा हो मिलाइयो। तितो यथार्थता यहि नै हो। तर किन हाँमी हरेक कुरालाई नेपालसंग तुलना गर्छौ। यसरि औपचारिक कार्यक्रममा अनौपचारिक तबरले उपस्थिति हुनु राम्रो कि औपचारिक रुपले ? सायद "एभ्री बुक्स क्यान नट बि जज्ड बाई इट्स कभर। '
कार्यक्रमको शुरुवाद भयो खाट्टी नेपालि शैलीमा। च्याउझै उम्रियका नेपालि संगठनहरुका नेताहरुको संबोधन, एन आर एन अध्यक्षको भाषण, एम पी को प्रशंशा, क्यानाडा सरकारले नेपालाई विभिन्न समयमा गरेको सहयोगको लागि धन्यबाद यस्तै यस्तै। उनीहरुले गरेको भाषण सायदै त्यहाँ उपस्थित बालबालिकाहरु बुझे होलान। मलाई लाग्यो ति कलिला बालबालिकाहरुलाई उनीहरुले बुझ्ने गरेर नेपालि भाषा, संस्कृति र फुटबल सिक्दै गर्दा बन्ने नेपालीहरु बिचको चिनजानले आफ्नो पहिचान बुझ्न कसरि मद्दत गर्छ भनेर भनेको भए अलिकति सान्दर्भिक हुन्थ्यो जस्तो लाग्यो।
हुनत कुनैपनि कामको आलोचना गर्न जति सजिलो हुन्छ, काम गर्न त्यति गाह्रो हुन्छ। कयौ साथीहरु स्वयंसेबकको रुपमा खटिएका थिए। पानीका बोतलहरु, वाटर मेलनक डल्लाहरू, टिमहर्टनबाट चिया, कफीका जर्किनहरु बोकेर गिराउनसम्म पुर्याउने र ' ल है सरहरू चिया कफी लिउ' भन्दै सबैलाई अनुरोध गर्ने नेपालि सैलीमा कुनै फरक थिएन। कुनै विदेशीहरुको कार्यक्रममा भएको भए आफुले कपमा कफी हालेपछि अरुलाई सोध्ने कुरै आउदैनथ्यो। सोधिहाले पनि हाम्रो जस्तो आत्मीयताकासाथ् 'कफी कपमा झिकेर हातमा पुर्याइदिने थिएनन्। घरि घरि 'लिनुस न लिनुस' भनेर अनुरोध पानि गर्ने थिएनन्।
कफी समातेर पिउदै गर्दा उद्घोषकले सडकको पारीपट्टी पार्किंग गरेका कारहरु हटाउन सुचना जारि गरे। पार्कको छेउछाउ लहरै सुन्दर घरहरु थिए। नेपालमा भएको भए ति घरहरुमा किराना स्टोर र चिया पशल हुन्थे। घरको बाहिर बसेर मान्छेहरुले केटाकेटीहरुको खेल हेर्थे। कैयौ बुवाआमाहरु गिराउनमै आएर दर्शक बन्नुहुन्थ्यो। तर त्यहाँ न हामीले कसैलाई घर बाहिर उभिएको देख्यौ। न कोहि आएर दर्शकदीर्घामा उभियो। उल्टै हामीहरुलाई भित्र भित्र डर थियो कि उनीहरुको घर अगाडी कार पार्क गर्दा पुलिस बोलाइहाल्ने हुन् कि भन्ने। हामि कति धेरै नियमकानुनभित्र बाँधिएका हुन्छौ यहाँ। आफ्नो देशमा निरंकुस शाशन नै किन नहोस परदेशमा भन्दा धेरै आफ्नै देशमा स्वतन्त्र हुन्छौ जस्तो लाग्यो।
साथीहरुबीच कुरा हुदै गर्दा कतिपयले टिम हर्टनको चियाँको लत बसिसकेकोले अरु ठाउँको कफी मिठो नहुने बताए। तर सबैले नेपालमा कलेज पढ्दा क्यान्टिनमा होस् या किर्तिपुरको चोकमा पिएको चियाको स्वाद बिर्सिएका थिएनन्। 'किर्तिपुरमा डेरा गरेर बस्दा चुची संगै कान्तिपुर पत्रिका नपढेको दिन हुन्थेन', एकजना मित्रले टिमहर्टनको कफी सुरुप्प पार्दै सुनाए। हाँसका छोइला, चितवनको तास र बागबजारको म:मको सम्झना भयो। कुरा हुदै गर्दा कहाँ खाशिको माशु राम्रो पाइन्छ भनेर साथीहरुले आआफ्नो अनुभब पनि सुनाए। पोहोर साल खसीको माशु लिन हामि पाँचजना साथीहरु टोरोन्टो दखि चालिस किलोमिटर टाढा स्टफभिल्ले भन्ने ठाँउको फार्ममै पुगेका थियौ झिसमिसे उज्यालो नहुदै। हामी नपुग्दै चार पाँचजना अरु नेपालिहरु पुगिसक्नु भएको रहेछ। कतिपय अगिल्लो दिन पालो नपाएर अर्को दिन बिहानै आएको भन्दै हुनुहुन्थ्यो। फार्ममै पुगेर खशीको माशु किन्ने चलन प्रायजसो सबै शहरहरुमा बस्ने नेपालिहरुको हुन्छ।
दशैमा हामीहरुलाई खसीको माशु नै चाहिन्छ चाहे एल डी एल कोलेस्ट्रल हाइ नै किन नहोस। माशु पकाउदा जिरा, धनिया, लसुन पिधेरै राख्नु पर्छ। तिहारमा सेलरोटी पकाउनै पर्छ। साथिभाइहरु घरमा आउदा कसैले पनि टिमहर्टन र म्याकडोनाल्डको कफी पिउदैनन। खाट्टी ताजमहल, रेडलेबल ब्राण्डका चियापत्ती हालेर बनाएको दुध चिया नै पाक्छ। सबैको घरमा दाल, भात, तरकारी पाकेकै हुन्छ। 'नेपालिहरु क्यालोरी गनेर खाना खादैनन्। पेटको साइज हेरेर खान्छन। एडमन्टनमा एकजना साथि छन् भटमास साँधेको अचार नभई नहुने। एकपल्ट रकी माउन्टेन घुम्ने क्रममा भात र झोल हालेको खसिको माशु खोज्ने चक्करमा भोकै एडमन्टन फर्केको अनुभब छ। पिजा, बर्गर खाएर पेट नै भोरिदैन। 'नानिदेखि लागेको बानि कहिले हट्दैन ' भन्नुहुन्थ्यो आमा हो रैछ। गर्मीमा दहि घोलेर महि नबनाउदा सम्म खाना खान बस्न मन नै लाद्दैन। घर किन्दा सबैको चाहाना 'ब्याक यार्डमा रायोको साग, फर्सीको मुन्टा र सिमि' फलाउने चाहाना हुन्छ।
कुराकानी चल्दै जाँदा एकजना मित्रले भने ' माम्फुली र सुन्तला ल्याएर आउनुपर्ने, कि जाने हो लिनलाई ?' सबैजना गलल हाँसे। पुन: सबैजना बिगतमा फर्कियौ। किर्तिपुरको चउरमा होस् या रत्नपार्क र टुडिखेलमा बसेर माम्फुली खादै गरेको सम्झना गरे सबैले। किन किन साथिभाइहरु यसरि भेला हुदा बर्तमानमा अडिन सक्दै सकिदैनन्। बिगतमा पुगीहालिन्छ। टुडोको भन्दा वलीको कुरा बढी हुन्छन। पश्चिम क्यानाडाको गर्मि र आगलागी भन्दा धेरै सिन्धुपाल्चोक, बेनी र ढोरपाटनको बाढी पहिरोको कुरा हुन्छन। स्कुले साथीहरु तथा आफन्तहरुलाई कोरोना लागेकोमा चिन्ता प्रकट हुन्छ। लाग्छ, ज्यान बुख्याचा झैँ ठिङ्ग उभिएको छ डेन्टोनिया पार्कमा र तन, मन, पुरुस् नेपालतिरै छ जहाँ हाम्रो बचपना बित्यो, स्कुल, कलेज पढियो, प्रजातन्त्र, बहुदल हुदै गणतन्त्रको लागि लढियो। नेपालि लोकगित, गजल, जोकमा जुन मज्जा छ त्यो बियोंन्सी, र ब्रुनो मार्सको गित होस् या ट्रेभर नोहाको जोक्सले दिदैन। सन्तोस पन्तले चलाएको टेलीसिरियल 'हिजोआजको कुरा' सबैले सम्झिन्छन। कमेडी च्याम्पियन हेरेर सबैले मज्जा लिन्छन।
धेरैले रुचाइएका क्यानेडियन लेखक रोहिन्तोन मिस्त्रीले 'अ फाइन ब्यालेन्स' मा लेखेका छन् ,' नो थिङ्ग इज एज फाइन एज ओन्स नेटिभ ल्याण्ड। ' भारतको मुम्बइमा जन्मेका मिस्त्री तेइश बर्षको उमेरमा क्यानाडा बसाई सरेका थिए। उनि जस्तै थुप्रै इम्मीग्रान्ट क्यानेडियन लेखकहरुले आफ्नो बिगत् तथा जन्मथलोलाई बिषयबस्तु छानेका छन्। अर्का श्रीलंकन क्यानेडियन लेखक श्याम सेल्भादुराईले 'फन्नी बोय' मा श्रीलंकाको सिन्हाले र तामिल समुदायबिचको लढाई र त्यसले निम्ताएको पारिबारिक पलायनलाई जिबन्त पारेको छ। हामीहरु बस्दै आएको टोरोन्टो स्कार्बोरोमा त्यो समय पलायन भएका थुप्रै श्रीलंकन क्यानेडीयनहरु बसोबास गर्छन। अर्का स्पेनिस क्यानेडियन लेखक यान मार्टेलले पनि स्पेन र पर्चुगललाई आफ्ना कथा उपन्यासमा बेस बनाएका छन्।माइकल ओन्दाजेको 'रनिङ्ग इन् टु द फेमिली' त्यस्तै एउटा उदाहरण हो। त्यता थुप्रै लेखकहरु छन् जसले आफ्नो जन्मभूमिलाई लेखनको आधार बनाएका छन्। डेन्टोनिया पार्कमा जम्मा भएका हामि सबैभित्र यस्तै कथाहरु थिए। मिस्त्री र सेल्भादुराईको झैँ डायस्पोरिक अनुभब थियो। हामिसबै यस्तै उपन्यासका जिबन्त पात्र थियौ।
गफ गर्दा गर्दै समय बितेको पत्तै भएन। उद्घोषकले कार्यक्रम अन्त्य भएको घोषणा गरे। सबैजना भोलि फेरी यसरि नै जम्मा हुने बाचा गर्दै मुट्ठी ठोकेर, आआफ्ना भुराभुरिहरुलाई जम्मा गर्न लागियो। केटाकेटीहरुले पनि आफ्ना नयाँ तथा पुराना साथीहरुलाई हात हल्लाएर बिदा गरे। एकैछिनमा रित्तो भयो डेन्टोनिय पार्क साथिहरुसंग छुट्टिदाको हाम्रो मन जस्तै।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home