कहिल्लै भुल्न नसकेको रात्रि बसको यात्रा
रातिको दश बजिसकेको थियो । वामीटक्सारबाट बुटवल जादै गरेको लु ए क २५२५ नम्बरको बस जलगैडा झैँ मजुवा खोलाभित्र पस्यो। बस धुलोले पुरै छोपेको थियो। खोलाको संग्लो पानि एकैछिनमा धमिलियो। बस भित्रका यात्रीहरुको परेला, आँखी भौ र टाउकोको रौ बाटो तलमाथिका बोट बिरुवा झैँ धुलोले लपक्कै ढाकेको थियो। कसैको पनि असली अनुहार देखिदैनथ्यो। खोला तर्दै गर्दा बस कहिले दायाँ त कहिले बाँया ढलफल ढलफल गर्दै अघि बढिरहेको थियो।
बसको एक नम्बरको सिटमा काखमा झोला च्यापेर झ्यालबाट बाहिर हेर्दै बसेको थिएँ म । त्यसैबेला कसैले मेरो दाँया पाखुरीमा च्याप्प समात्यो। एकैछिनमा ति हातहरु बिस्तारै त्यहाँबाट हटे। म झसङ्ग भए। मुन्टो घुमाएर दाँयातर्फ हेंरे। भर्खरै मजुवा बजारबाट चढेकी एक अपरिचित यात्री थिइन् उनी। राम्रो सँग मुख समेत नदेखाएकी ति युवती कलेजी रङ्गको पछौराले टाउको पुरै छोपेर मेरो छेउको सिटमा बसेकी थिईन। एकदम शान्त र मौन थिइन् उनी । त्यसपछि मैले उनको अनुहारमा हेर्ने कैयौ कोशिस गरे। कसै गरे पनि उनको मुहार देख्न सकिन। उनी ढोकातिर फर्केर बसिरहिन्।
यदि अपरिचित ब्याक्तिलाई झुकिएर छोइयो भने सबभन्दा पहिले 'सोरी भन्ने शब्द प्राय सबैको मुखबाट निस्किने गर्छ। सायद मैले पनि त्यहि शब्दको अपेक्षा गरेको थिएँ होला ? तरपनि खै किन किन उनि असभ्य होलिन झैँ पटक्कै लागेन। चिटिक्क परेकी युवती छेउमा बस्दा तरुण मन रोमाञ्चित नहुने त कुरै भएँन। अनुहारै नदेखे पनि एउटा सुन्दर रुपको चित्र मेरो मस्तिकमा बसिसकेको थियो। गोरो छाला, डिम्पल परेको गाला, चिटिक्क परेको नाक, लामा लामा परेला भित्र हाँसिला आँखा र छातीमा लुकेका एकजोर मार्फाली स्याउ। यस्तै यस्तै कल्पना गर्दै बस चोरकाटे पुगेको पत्तै भएन। बजारको पल्लो छेउको एउटा भट्टी अगाडी पुगेर बस रोकियो।
'ल ल भात खान झर्नुस। तातो तातो मासु भात खानुस,' भन्दै बसको सहयोगी ढोकामा उभिएर चिच्याउदै थियो। मान्छेहरु पहिले देखि नै गल्लीमा उभिएका थिए। एकै छिनमा बस खालि भयो। त्यसपछि दुवै खुट्टा गल्लितिर फर्काएर ति युवतीले मलाइ बाहिर निस्कने बाटो दीइन।
'तपाई नझर्ने ?', मैले सिटमा उठेर सोधेँ।
कुनै प्रतिक्रिया आएन। म सकेसम्म उनलाई नछोइकनै सिटबाट निस्कने कोशिस गर्दै थिएँ। तरपनि उनको नरम जंघासंग संग मेरो घुँडा छोइन पुग्यो। मैले 'सोरी ' भने। तर कुनै रेस्पोन्स आएन। सबै यात्रुहरु झैँ म पनि थकाली भान्सा घर भित्र छिरे। हात धोइहुरि बाटोतिर फर्केर टेबुलमा बसे। बस्दै गर्दा मनमनै सोंचे 'ति युवती आएर यहि टेबुलमा बसेपनि हुन्थ्यो।
तर उति नै बेला अर्कै भ्यात्त भुँडी उछिट्टियको अधबैसे आएर मेरो अगाडी बस्यो। गोजीबाट सिसि निकाल्यो। एकछिन हल्लायो र क्र्याक्क पार्दै बिर्को खोल्यो। रक्सीको गन्ध नाकैमा आएर ठोक्कियो। नमिठो तरिकाले ठुस्स गनायो। एकैछिनमा होटलकी रुपवती नानीले भात र खसीको मासु ल्याएर टक्राइन। भोकले तिरिमिरी झ्याई पारिसकेको थियो। दायाँ बायाँ नहेरी एकैछिनमा भात तुरे र बाहिर निस्केर बाटोको छेउमा उभिए।
धेरैबेर पछि ति युवती पनि बसबाट झरिन । करिब पाँच फुट चार इन्च अग्ली उनी तिघ्रा टपक्क समाएको रातो कुर्तामा औसत केटीहरुभन्दा धेरै राम्री देखिएकी थिईन। सबैका आँखा उनीमाथि घोप्टिएका थिए। हेर्दा हेर्दै उनी ठिक पारिपट्टिको एउटा पशलमा छिरिन। एक पोका लेज र एक बोतल पानी किनिन्।
सबै यात्रुहरुले खान खाइसकेपछि बसको कन्डक्टरले सबैलाई बसभित्र जान आग्रह गर्यो। एकैछिनमा सबैजना बसभित्र छिरे। युवतीले सायद मलाइ अगाडी जावस भन्ने चाहन्थीन् होला, उनी अर्कोतिर फर्केर उभिएको देखे। मेरो सिट झ्यालतिर भएकोले पनि म अगाडी बसमा छिरे। त्यसपछि बल्ल उनि छिरिन तर कसो कसो गरेर आफ्नो अनुहार नदेखाई सिटमा बासिन।
हाम्रो ठिक माथि सानो टिभी थियो। कन्डक्टरले एउटा पुरानो हिन्दि फिल्म 'भुलभुलैया' लगायो। सबैले टिभीमा आँखा गाडे। मैले पनि अप्ठ्यारोसंग माथि फर्केर हेरिरहेको थिए। तर ति युवती भने सलले पुरै टाउको घुप्लुक्क ढाकेर आफ्नो सिटमा गुटुमुट परेर सुतिन। फिल्ममा अक्षकुमार र अमिसा पटेलको लिड रोल थियो। हेर्दै जाँदा पो थाहा भयो यो त एक खालको 'हरर सिनेमा' रहेछ। भुतमहलमा कसैको आत्माले बदला लिएको जस्तो डरलाग्दो फिल्म। हेर्दा हेर्दै शरीरमा जिरिङ्ग काँडा पो उठ्न थाल्यो। मैले पनि हेर्न छोडे बिचैमा। बस कतिबेला साघाट कटिसकेछ पत्तै भएन।
रिडी पुग्ने पुग्ने बेलामा गुरुजीले गाडी रोके। सबैजना पिसाब फेर्न निस्किए। मेरो छेउमा सुतेकी ति युवती चलमल गरिनन्। दुइ पल्ट सम्म 'एक्स्क्युज्मी' भने अँह उनि चलमलाइनन्। अलि अलि लागेको पिसाब च्यापेर सिटमै बसे। केहीबेरमै सबैजना पुन: बसभित्र छिरे। गाडी ढलफ़लाउदै ओरालो लाग्यो। रिडी बजारका केहि भट्टीहरु बाहेक सबै सुनसान थियो। बसपार्कबाट केहि मान्छेहरु बसमा चढे। धेरैबेर नरोकी बस अगाडी बढ्यो। कन्डक्टरले टिभी बन्द गर्यो। भित्रको सबै लाइट अफ गर्यो। सबैजना आफ्नो सिट ढल्काउदै सुत्न थाले।
मैले पनि झोलाबाट टाबेल झिके र मुख ढाकेर झ्यालमा मुन्टो अडाएर सुते। एकैछिनमा मेरो काधमा भारि महशुस भयो। मुन्टो उठाएर हेरे। ति युबतिको टाउको मेरो काँधमा अडिएको थियो। अनुहार अझै पनि ढाकिएकै थियो। मनमनै सोंचे 'सल खोलेर अनुहार त हेरु। अध्यारोमा अरु कसैले देख्ने पनि होइनन्। बिस्तारै दाहिने हाँत माथी उठाएँ। खै मनले के सोच्यो उठेको हातलाई सिरानी बनाएर पुन आँखा चिम्ले।
बस अर्गलीबाट उकालो चढ्दै गर्दा चिसो सिरेटो झ्यालका चरचरबाट ठेलमठेल गर्दै भित्र पस्यो। ति युबतिको टाउको अझै मेरो देब्रे कुममाथि अडिएको थियो। सोचें 'काखमै सुताईदिऊ कि? बोलाउदा समेत नबोलेकी अपरिचितलाई कसरि काखमा सुताउनु? निकै असमन्जस्यमा पर्यो मन। हात बिस्तारै लगेर उसको थाइमाथि राखें। चिसो हात एकैछिनमा रनक्क तात्यो। बस हार्थोकमा पुगेर रोकियो।
बस रोकिनासाथ दुइजना मान्छे पुलिस बर्दीमा हातमा बन्दुक बोकेर भित्र छिरे। मैले हत्तपत्त केटीको थाईबाट हात झिकें।
'बत्ति बाल', अग्लो अग्लो सिकुटे पुलिसले राता राता बल्ढ़ेङ्ग्रे आँखा घुमाउदै भन्यो।
बसका सहचालकले सबैतिरको बत्ति बाले। पुलिसहरु सरासर पछाडिको सिट सम्म पुगे। सबैको अनुहारमा अपराधीलाई झैँ गरेर हेरे। ढोकैमा भएकोले हो कि किन हो, उनीहरुको नजर हाम्रो सिटमा परेन। क्याबिनतिर टर्चलाइट घुमाएर बसबाट ओर्ले उनीहरु । केहि यात्रुहरु पनि उनीहरुसंगै बसबाट ओर्ले। एकैछिनमा बस अगाडी बढ्यो।
बस बतासेडाँडाबाट ओरालो झर्दै गर्दा तानसेनबजारको नाइटभिजन अत्यन्त सुन्दर देखिएको थियो। भिरालो ठाउमा बसेको बाक्लो बस्ति रातमा जुनकिरी झैँ पिलपिल देखिने बत्तिहरुले केहिबर्ष पहिले भ्रमण गरेको दार्जलिङ्ग बजारको तस्बिर मेरो मानसपटलमा झुल्कियो। सायद गाँउका मान्छेहरु उठ्ने बेला भएकोले होला पारि पारि गाँउहरुमा बत्तिहरु थपिदै थिए। हेर्दा हेर्दै तानसेन बजार पनि पछाडी छोडिएछ।
पर्बास पुग्नै लाग्दा पछाडिबाट आइरहेको बसले जोडले हर्न बजायो। पोखरातिरबाट आएको रात्रि बस थियो त्यो।बाटो साँगुरो र घुमाउरो भएकोले गर्दा गुरुजीले बाटो दिन सकेनन्। धेरैबेर सम्म एकोहोरो हर्न बजाएकोले गर्दा गुरुजीले बस अलिकति साइड गरेर गति कम गरे। पछाडीबाट आउदै गरेको बस हुइकिदै अगाडी गयो। धेरै बेरसम्म हामि चढेको बस र त्यो बस अगाडी पछाडी भए।
केराबारी कटिसकेपछि एउटा निम्छरो घुम्ती बाट ड्याम्म केहि ठोक्किए जस्तो आवाज आयो। हाम्रो बसका चालकले उतिबेलै बस साइड गरेर रोके। बाटोको तलतिर बाट धुलो माथि चढ्दै थियो। भर्खरै हाम्रो अघि अघि गएको बस बाटोबाट तल खसेको पो रहेछ।
बसका सबैजना तल झर्यौ र घटनास्थलतर्फ दौडदै गयौं। बस तल खोलामा पुगिसकेको थियो। बुटवलतिरबाट आउने र पाल्पातिरबाट जादै गरेका सबै यात्रुहरु उद्दारको लागि खोलातर्फ लागे। म पनि बल्लतल्ल तल झरे। तर स्थिति निकै भयाबह थियो।
बस झर्दै गर्दा झ्यालबाट खसेका केहि मान्छेहरु रुखमा अड्केको अवस्थामा थिए भने कोहि ठुलै चोटले रन्थनिदै घिसृदै बाटोतिर उक्लने कोशिस गर्दै थिए। बसमा सवार यात्रुहरुमध्धे धेरैजसो बसमै अड्केका थिए। मेरो सम्पूर्ण शरीर पातिको झुसिलकिरो झैँ काँपिरहेको थियो। म के गर्ने, कसो गर्ने कुनै मेलोमेसो पाइन। कतिपयले घाइतेहरुलाइ माथि बाटोतिर लैजादै थिए भने कसैले मरिसकेकहरुलाई बगरमा जम्मा गर्दै थिए। यस्तो बिभत्स दृश्य म सिनेमा पनि हेर्न नसक्ने मान्छे आफ्नै आँखा अगाडी देख्दा कस्तो भएहोला आफै विचार गर्नुस।
बल्ल बल्ल म फर्केर बाटोमै पुगे। प्रायजसो सबै महिलाहरु बसभित्र थिए। म सरासर बसभित्र गएँ। रातभर मेरो छेउमा बसेर यात्रा गरेकी ति युवती त्यहाँ थिइनन्। बस भित्र तलदेखि माथि सम्म आँखा घुमाएँ, अहँ कतै पनि थिइनन् उनी। त्यसपछि म पुन: तल ओर्ले। तीनजना सिकिस्त घाइतेहरुलाई हाम्रो बसमा हालेर बुटवल अस्पताल लैजाने कुरो बसका चालकले सुनाए।
बसको सहचालक र तिनै मेरो छेउमा बसेर यात्रा गरेकी युवतीले एकजना महिला घाइतेलाई दुइतिरबाट झ्याइकुटि पर्दै बसतिर ल्याउदै गरेको देखें। रगतले लतपतिएको ति घाइते महिलाको अनुहार हेर्न समेत सकिन मैले। रिंगटा लाग्ला झैँ भयो। तर ति युबतिको त्यो आँट देख्दा भित्रैबाट सम्मान जाग्यो। रातभर उनको बारेमा नानाथरि दृष्टिकोण एकैछिन अलाप भए। उनीहरुले ति महिला लाई बसभित्र राखेर अर्की महिला घाइतेलाई उठाउन पुन तर ओर्ले।
धेरैबेरपछि बुटवलतिरबाट एम्बुलेन्स पनि आइपुग्यो। घिसृदै बाटोसम्म आइपुगेका र कतिपय ल्याइएकाहरुलाई बोकेर एम्बुलेन्स एकैछिनमा फर्कियो। कतिपय घाइतेहरुलाइ पाल्पाको मिसन हस्पिटल पनि पठाइयो। बाटोमा घाइतेहरुको चित्कार अझै बाँकी थियो। चालकले सबै यात्रुहरुलाई बसमा चढ्न आग्रह गरे।
हामि पनि आफ्नो आफ्नो सिटमा बस्यौ। केहीबेर अघिको विभत्स दृश्यले दिमाग झङ्गकृत बनाइरहेको थियो। छेउमा बसेकी युवती संग केहि त बोल्छु भन्दै उनीतर्फ फर्केर सोधे, 'बैनी कहाँसम्म होला जाने ?'
अहँ कुनै प्रतिक्रिया छैन। झनक्क रिस पनि उठ्यो 'कस्ती घमण्डी केटी रहेछ' भनेर। सिद्दबाबातिर फर्केर मनमनै भने,' एँ बाबा यी नानिलाई बोल्नेसम्म बनाइदेउ। ' मन्दिरका घन्टीहरु बज्न सुरु भैसकेको थियो। तल तिनहु नदि सुस्याइरहेथ्यो। बाटोको छेउछाउ मन्दिरतर्फ हिड्दै गरेका जोडीहरु तथा नवबिबाहित जोडीहरुको लर्को थियो। बस आफ्नै गतिमा कुदिरहेको थियो।
गोलपार्क पुग्दा बिहानको सात बजिसकेको थियो। बसका चालकले बाटोको देब्रेपट्टी बस रोके। सहचालक चिच्याउन थाले 'गोलपार्क झर्नुस है छिटो छिटो। बस सिधै बसपार्क जान्छ। '
ति युवतीले तनक्क घाँटी तन्कायर झ्यालबाट बाहिर हेरिन र सिटबाट उठिन। उनले मुख छोपेको सल घाँटीमा बेरिएकोले पहिलो पल्ट उनको अनुहार राम्रोसंग देख्न पाँए। हाम्रो आँखा पनि पहिलो पल्ट नै जुधे। उनि मुसुक्क हाँसिन। लाग्यो, शिद्दबाबाले मेरो पुकार सुनेछन्।
"तिमि यहि झर्ने ?' मैले तुरुन्त प्रश्न सोधे।
उनले झोला झिकेर सिटमा राखिन र दाइने हातले कान र मुख देखाउदै मुन्टो हल्लाइन। म झसङ्ग भएँ। के भनु, के इसारा गरौ सोच्ने सकिन। रिंगटा लागे झैँ बनायो। उनले हाँस्दै हात हल्लाइन र बसबाट ओर्लिन। मैले पनि उनलाई एकोहोरो हेर्दै धेरैबेरसम्म हात हल्लाई रहे। झर्नु पर्ने गोलपार्क नै थियो मेरो पनि। होसै नपाई बसपार्क पुगेछु।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home