Thursday, May 16, 2024

कतै गोत्र जुध्यो कि ( भाग- 3 )

बिहान करिब चार बजेतिर गद्रयाम्म  गर्दै ठुलो आवाजले मेरो निन्द्रा खुल्यो। यताउति छामछुम गरे। उनि बेडमा थिनन।' मल्लिका' भन्दै दुइ तिन पल्ट सम्म बोलाए। आवाज आएन। उठेर बत्ति बाले। कोठामा कतैपनि उनलाई देखिन। सिरानीको एका छेउमा उनको फोन थियो। म आत्तिदै बाथरुममा गए। भित्रबाट ढोका लक् भएको थियो। मैले पुन: ढोका ढकढकाउदै चिच्याए ,"मल्लिका, आर यु ओके ? '' कुनै आवाज आएन। मन निकै आत्तियो। तुरुन्त रिसेप्सनमा फोन गरे। फोन गरेको केहि मिनेटमा सेक्युरिटी कोठामा आयो। उसले पहिले बाथरुमको ढोकामा उभिएर 'हेलो हेलो ' भन्यो र आफुसंग भएको टुल प्रयोग गरेर ढोका खोल्यो। मल्लिका बाथरुमको भुइमा बेहोस अवस्थाले लढेकी थिईन। म अत्तालिदै सिपिआइ गर्न थाले।  उसले  ९११ कल गर्यो। त्यसको पाँच मिनेटमा  दुइतिनजना इमर्जेन्सी सेवाका मान्छेहरु भित्र आए। 

तिनीहरु मध्य एकजनाले बोलाउदै उनको आखाँ, मुख हेर्दै हामीलाई त्यहाबाट हट्न भन्यो। उतिबेलै दुइजना पुलिसहरु पनि त्यहाँ आइपुगे। उनीहरुले मलाई सोधपुछ गर्न सुरु गरे। स्वास्थ्यकर्मिहरुले उनको छातीमा डिफेब्रिलेटर टाँसेर स्वासप्रस्वास सुचारु गर्ने कोसिस गरे। त्यसपछि उनीहरुले अस्पतालमा लैजानको लागि स्ट्रेचरमा राखे। दुइजना प्रहरीमध्ये एकजना मसंगै एम्बुलेन्समा चढ्यो र अर्को त्यहि बस्ने भयो।  मेरो बिचारमा उनीहरुले मैले कुनै षड्यन्त्र गरेर मंजिताको हत्या गर्ने प्रयास गर्ने सक्ने भन्दै प्रमाणहरु खोजिरहेको झैँ मलाइ लागिरहेको थियो।  

मेरो दिमागले केहि सोच्न सकिरहेको थिएन। उनीहरुले हाम्रो रिलेसनको बारेमा बारम्बार सोधिरहेका थिए। उनि बिदेशी नागरिक भएको हुनाले अस्पताल लैजानको लागि पनि मेरो सहमति चाहिने रहेछ। मैले सहमति दिएँ। एम्बुलेन्स नायग्रा जनरल हस्पिटलको आपतकालीन ढोकामा रोकियो। उनीहरुले तुरुन्त भित्र लगेर उपचार गर्न सुरु गरे। म प्रहरीसंगै बाहिर बसे।  प्रहरीले पन्द्र मिनेटजति उनिसंग भेटभएदेखिको सबै जानकारी लियो र सानो नोटबुकमा टिप्यो। मेरो घरको ठेगाना र ड्राइभर लाइसेन्स समेतको जानकारी लिएर उ गयो। 

एकजना गोरी नर्सले मलाई काउन्टरमा बोलाएर बिरामीको कुनै स्वास्थ्य बिमा भएको नभएको बारेमा सोधी।  मलाई पनि उनको बारेमा सबै कुराको जानकारी त कहाँ पो थियो र। मैले जे कुरा सत्य हो त्यहि भनिदिए। उनको अस्पतालमा उपचार खर्च म तिर्छु भनेर मलाइ कागज गराई र एकहजार डलर डिपोजिट राख्न भनि।  मैले भबिस्यको परिणाम बारेमा केहि सोच्न सक्ने अवस्थामा थिइन। बर्तमानमा सबैभन्दा ठुलो कुरा मंजिताको ज्यान कुनै हालतमा पनि जोगाउनु पर्ने थियो।  मैले क्रेडिटकार्डबाट हजार डलर तिरे।  त्यसपछि आपतकालीन सेवाको बाहिर भिजिटरहरु बस्ने ठाउमा बसे। मंजितालाई भेन्टिलेटरमा राखेर उपचार हुदै छ भनेर एकजना नर्स आएर भनी। उनि खतरा मुक्त भए नभएको कुरा सोधे। तर उनले  धेरै कुरा गर्न चाहिनन। 

केहीबेरपछि आग्लो अग्लो पाकिस्तानी मुलको झैँ देखिने डाक्टर आएर मेरो नाम सोध्यो।  मैले आफ्नो नाम बताए र, मल्लिक  बारेमा सोधिहाले। उसले चश्माको फ्रेम बाहिरबाट मलाई निकै नियालेर हेर्यो, र भन्यो, 'सी  इस ब्रिदिङ्ग नॉव।" मलाइ संसार जिते झैँ लाग्यो। 

उसले सम्पूर्ण टेस्टको रिपोर्टहरु आइसकेपछि मात्र के कारणले बिहोस भएको बताउन सक्ने भन्यो र  त्यहाँबाट गयो।

 करिब चार घण्टा कुरेपछि मलाई डाक्टरको क्याबिनेटमा बोलाइयो। उसले ब्रेनमा ब्लड फ्लो कम भएको कारणले गर्दा उनि अङ्कन्सियस भएको बतायो। तर उनि भुइमा ढल्दा टाउको भुइमा ठोकिएको र त्यहाँ सुजन भएको हुनाले, तुरुन्त अर्को सिटि स्क्यान गर्नुपर्ने पनि बतायो। मैले मल्लिकालाई भेटगर्न अनुरोध गरे।  तर उसले उनि पूर्ण रुपले होसमा आइनसकेको हुँदा केहि समय कुर्नको लागि सुझयो।  

मेरो दिमागमा अनेक दृष्टान्तहरु नाँचीरहेका थिए। काममा जानु पर्ने। ढिलो भैसकेको थियो। कल गरेर बिरामी भएको बहाना गरे। त्यसको लागि पनि डाक्टरको एउटा पत्र बुझाउन पर्ने हुन्थ्यो। यता मल्लिकाको जिबनमरणको सवाल छ।  उता आफ्नो पेटको सवाल छ।  त्यसैमाथि मल्लिकाको उपचार खर्च के कति हुने हो थाहै छैन।  कस्तो घनचक्करमा फंसे, हरे शिब !

करिब चार घण्टापछि उनीहरुले मलाइ डाक्टरको क्याबिनेटमा बोलाए। डाक्टरले मल्लिकाको ब्रेनमा थोरै रगत जमेको र तुरुन्त अपरेसन गर्नु पर्ने भन्यो। अपरेसन खर्च बिस देखि पच्चिस हजारसम्म लाग्ने कुरा पनि पहिलेनै जानकारी गरायो। यो कुराले मलाई रिंगटा लाग्ला झैँ बनायो। उनीसंग के कति पैसा छ छैन त्यो पनि मलाई केहि थाहा थिएन। सोधु भने डाक्टरले अझै बोल्न दिएको छैन। मैले नै सबै कुराको निर्णय गर्नु पर्ने थियो। आफुसंग सेभिङ्ग जिरो छ।  काम गरेर खान बस्न जनतन पुर्याइरहेको अवस्थामा लाइन ओफ क्रेडिट नै सेभिङ्ग भइरहेको हुन्छ धेरैजसोको। म पनि त्यही वर्गको मान्छे न थिए। के गर्नु, कसलाई फोन गर्नु, को सँग सल्लाह लिनु, म निकै ठुलो धर्मसंकटमा परे। म संग कुनै उपाए थिएन।  मैले सहमति पत्रमा साइन गरे र अपरेशनको लागि अनुमति दिएँ। त्यहि दिन नै उनको सफल अपरेशन भयो। 

मैले हस्पिटलको सबै बिल तिरिदिए। डिस्चार्ज भैसकेपछि हामि टोरोन्टो फर्कियौ। उनले हस्पिटलमा लागेको खर्च के कति भयो भनेर सोधिन। मैले उनलाई सबै कुराको जनाकारी  दिए।  लाइन अफ क्रेडिटबाट सबै पैसो भुक्तानी गरेको पनि जानकारी गराए। उनि मलाइ गर्ल्याम्म अँगालो हालेर धेरैबेर सम्म रोइराखिन। मैले उनलाई सम्हालिनको लागि अनुरोध गरे। उनले भन्दै थिईन,' त्यति धेरै पैसो कसरि तिर्नुभयो। मैले हजुरलाई ठुलो दु:ख दिए।" 

त्योदिन बेलुका उनले आफुसंग दश पन्द्र हजार जति पैसा बैंक मा भएको र त्यो पैसा ट्रान्सफर गर्न चाहेको कुरा गरिन। त्यसले मलाई थोरै भएपनि राहत मिल्यो। उनलाई डाक्टरले कम्तिमा पनि पन्द्र दिन सम्मको लै कम्प्लिट रेस्ट गर्नको लागि सुझाएको थियो। उनि त्यो अवधिभर मेरै कोठामा बासिन। 

"मैले गर्दा हजुरलाई निकै गाह्रो भयो। म फर्किन्छु।  मलाई माफ गर्दिनु होला। यु एस फर्केपछि बाँकी पैसो पठाउने छु। हजुरले अनायासै ठुलो झन्झटमा पारे", एकदिन साँझ उनले भनिन। 

"मलाई लैजान्नौ ?", मैले जिस्काउदै भने। 

"यतै बस भन्न नसकेर 'मलाई लैजान्नौ रे ' हेर हेर कति बेला जाली झैँ भैसक्यो हैं",   उनले हाँस्दै भनिन। 

जिबनमा कतिपय यस्ता कठिन क्षणहरु आउछन कि जिस्किन न कै लागि बोलेका केहि शब्दहरु बम झैँ बिस्फोट भैदिन्छन र जिन्दगि भरको  सम्बन्ध नै तहसनहस पार्न सक्छ। यस्ता थुप्रै दृष्टान्तहरु मैले देखेको थिए। एकछिन चुप लागे। 

"तिमीले अप्ठेरो मान्दिनौ भने एउटा कुरो सोध्न मन लाग्यो। सोधौ ? " मैले भने। 

"के कुरामा अप्ठेरो मानेकी छु र प्रश्न  सोध्न पनि अप्ठेरो लाग्यो, हजुरलाई ', उनले हाँस्दै भनिन।  

"सजिलोसंग त के कुरा मानेकी छौ र ?" मैले हाँस्दै भने। 

"होला खुबै ! जे पी टि !

"तिमि यतिका दिन मसंग हुँदा कहिले पनि आफ्नो बुढाको बारेमा कुरा गरिनौ। कता हुनुहुन्छ ?", मैले सोधे। 

मेरो प्रश्नले उनको अनुहारको रंग परिबर्तन गर्यो। पुर्णिमाको जुन झैँ झलल्ल बलेको अनुहार एकएक ग्रहण लागे जस्तो देखियो।  उनि झ्यालबाट बाहिर हेरिरहिन।  बोल्दा पनि बोलिनन।

"मैले कतै तिम्रो मन त दुखाइन ?", मैले पुन सोधे। 

मेरो कथा लामो छ। मेरो आँशुको कथा भएर हजुरकोसंगको यो स्वर्णिम क्षणलाई म निराश बनाउन चाहन्नथे। हजुरले सोधिहाल्लु भयो। त्यसो भए जानुस एक बोतल भोड्का लियर आउनुस।  अनि म कथा शुरु गरौला। 

उनको कुराले म त तीनछक परे। हिंजोसम्म बियर सम्म पिउन आनाकानी गर्नेले एकैचोटी भोड्का रे। पहिले त जिस्केकी होलिन झैँ लाग्यो। तर उनले त साँचिकै भनेकी रहेछन। रक्सि पनि कस्तो अचम्मको जिनिस रहेछ गाँठे, खुशी हुँदा नि तिमि, दुखि हुँदा नि तिमि। माने प्रभु।  म हिंडे एल्सिबियो तिर भोड्का लिनलाई। 





























Saturday, May 11, 2024



गजल १ 

उनी 

हिजो राति सपनीमा मातिएर आएकी थिइन

नछोउ  मलाई भन्दा भन्दै च्वाप्प किस खाएकी थिइन 

आधा कपाल कालो आधा कपाल रातो पारेर 

भित्र  छ्याङ्गै देखिने लुगा लाएर आएकी  थिइन 

पिउदा पिउदै छोडेको बोतल थियो शिरानिमा 

सोध्दै नसोधी आफैले  रित्याएकी थिइन 

खोलेर बस्त्र मेरै अगाडी, हरे शिब !

जलेको छातीमाथि टाँसिन आएकी थिइन 

मैले भनेकै थिए, धनिको धन मात्र ठुलो  हो 

सुन्दै नसुनी मलाई लत्याएर अर्कैसंग भागेकी थिइन 


गजल २ 

बिश्वासघाती 

संगै बसी ब्रान्डी पिउ  भन्दा छि!  भन्दै नखरा गर्ने कस्ती तिमि 

एक्लै पिउदा होसै भएन त क्यारु जड्याहा भन्दै हेप्ने कस्ती तिमि। 

एकान्तमा एकदुई हात मारौ  भन्दा संन्किएर माइत हिड्यौ 

दुइचार दिन क्यसिनोमा बित्यो होला जुवाडे भन्दै हेप्ने कस्ती तिमि। 

प्रेम गर्ने बेला बढो गर्बको साथ् भन्ने गर्थ्यौ भोले बाबाको भक्त हुँ भन्दै 

तलतल लागेको बेला एकदुई सर्को ताने हुँला गजड़े भन्दै हेप्ने कस्ती तिमि। 

आज मुड बनेको छ प्रिय संगै सुतौ भन्दा छोरी च्याँपी कोठा साट्यौ 

छिमेकीले सुइँको पाई र त आइ पातकी भन्दै हेप्ने कस्ती तिमि। 

बियर, चुरोट, तास, केटी कसैसंग मेरो संबन्ध छैन भनेकै थिए बिहे गर्दा 

देख्यौ, छदै छैन मरिजाम कुरै नबुझी बिश्वासघाती भन्दै हेप्ने कस्ती तिमि। 


गजल ३ 


हिंजो उनलाई मैले आँखा झिम्काए  आफ्नै दिलको रानी ठानी 

तर्केर हिडिन बालै नदिई अर्कैले तापेको  खरानी ठानी। 

अस्ति  अस्ति  त निकै लाइन मार्थिन मलाई 

खै कस्ले के सुनाएछ क्यारे चाख्नै खोज्दिनन जुठो जवानी ठानी। 

निकै जतनको साथ सम्हालेकी छन् रे बैश 

छुन समेत दिदैनन् आजकल उनले कर्कलाको पानी ठानी। 


गजल ४ 

तिमि 

सुन्छु, आजकल निकै  बदलियएका  छौ अरे 

आधा नाङ्गै, खुट्टा बाङ्गै बनाएर हिड्छौ अरे। 

जान्न भनेकी थिए तिमीलाई एक्लै छाडेर परदेश 

पल्लो गाँउकी गौथलीलाई घरको साँचो दिन्छौ अरे। 

तिम्रो माया ओथारेर बसेकी छु म यहाँ 

अर्कै संग सल्कि भन्दै गाउभरी डुल्छौ अरे। 

मैले पठाएको पैसो भट्टीमा सकेहौला हैन 

कौडी पठाएकी छैन भन्दै माइतीलाई सुनाउछौ अरे। 

बिश्वास गरेकी थिए भगवानलाई साँची राखेर 

मैले पुजा गर्ने तुलसीको मठमा आजकल तिम्ले थुक्छौ अरे। 


गजल ५ 


कति राम्री हौ  तिमि सधैभरि हेरु हेरु झैँ लाग्छ 

च्याप्प समातेर ति हातहरु अंगालोमा बेरु बेरु झैँ लाग्छ। 

खुल्ला केश, पुष्ट छाती, रसिलो त्यो ओठ 

अंग अंग निचोरेर स्वाद  फेरु झैँ लाग्छ। 

कस्तो मधकता छ तिम्रो हिडाईमा 

दोबटोमै  रोकिएर हेरु हेरु झैँ लाग्छ 

फूलबारीमा फुतली नाँचे झैँ फुरफुर गर्ने तिम्रा परेलीहरु 

त्यै भित्र सुटुक्क छिरेर नाचुँ झैँ लाग्छ 

कति राम्री हौ  तिमि सधैभरि हेरु हेरु झैँ लाग्छ 

च्याप्प समातेर ति हातहरु अंगालोमा बेरु बेरु झैँ लाग्छ। 


गजल ६ 

























Wednesday, May 8, 2024

मेरो कुरा 

भनिन्छ आफुभित्र भएको अथाह सम्पतीलाई चिन्यो भने, जिन्दगी अत्यन्त महत्वपुर्ण र

आनन्दित हुन्छ। चिन्न सकेन भने जिन्दगिमा दुख, कष्ट र विषाद मात्रै बाकि रह्न्छ।जिबन

अन्यौलमा बल्झिरहन्छ। तर भने जस्तो पनि हुदैन जिबन।सबैको सोच फरक फरक

हुन्छ।सबैको जिबनकथा एउटै हुदैनन्। जसरि मान्छे मान्छे बिचमा रुप फरक हुन्छ, त्यसैगरि

उसको भोगाइ फरक हुन्छ। सोचाई फरक हुन्छ। हुर्केको समय र ठाँऊ फरक हुन्छ। खाएको

पानि र पिठो फरक हुन्छ। परिबार, समाज र भेग फरक हुन्छ। अझै बिस्तारमा हेर्दै  जाने हो

भने भाषा, धर्म र संस्कृति फरक हुन्छ। यति धेरै कुराहरुको फरक हुदा हुदै पनि मानब

शरीरका अंगहरु र तिनले गर्ने काम लगभग समान हुन्छ। भोक लाग्छ सबैलाई। दिशा पिसाब

लाग्छ सबैलाई। रोग लाग्छ सबैलाई। खुशी, दुखि सबै हुन्छन। मायाँ प्रेम सबैले गर्छन। बसेर,

उठेर, सुतेर, कुदेर जसरि भएपनि जिबनको लिगलिगे दौडमा लागेकै हुन्छन सबैजना। यहि

समानता भित्रको फरक फरक भोगाइहरुको संग्रह हो ब्लफर पार्क डायरी। 

हुन त म अलि पहिले देखि नै डायरीमा बिशेष खालका घटनाहरु कोर्ने गर्थे। कतिपय

हराएर गए। पछि कम्प्युटरको जमाना आएदेखि भने ब्लग बनाएर त्यतै लेख्न शुरु गरे। २०१४

सालमा क्यानाडा छिरे संगै ब्लग लेख्ने क्रम अलि बढ्यो। जब मार्च ११, २०२० मा विश्व

स्वास्थ्य संस्थाले कोभित १९ लाइ एक महामारीको रुपमा घोषणा गर्यो।  यसले सबैलाई

आफ्नै घरभित्र बन्दी जस्तै बनाएको थियो। बिहान देखि बेलुकासम्म भाग दौड नगरी नचल्ने

हाम्रो जिबन घरभित्र यता उता गर्दै बितिरहेको अवस्थामा मनमा अनेकन कुराहरुले हुण्डरी

मचाईरहेको हुन्थ्यो। बर्तमान समयको अप्ठेरो परिस्थिति र अनिश्चित भविष्यको चिन्ताले

तनाब बढ्दो थियो। त्यहि समयलाई सदुपयोग गर्दै मनमा गुम्सिएको उकुमुकुस कहिले ब्लग

त कहिले डायरीको पानाहरुमा पोख्न सुरु गरे। 

यसरि लेख्दै जाँदा “पब्लिस अर पेरिस’ अर्थात्  ’लेखकका सृजनाहरु पाठकसमक्ष पुगेनन् भने

तिनीहरुको मृतु असम्ब्यभावी छ’ भन्ने कुरालाई मनन गरेर लेखहरु फाट्टफुट्ट अनलाइन

पत्रिकाहरुमा पठाउन थाले। उनीहरुले प्रकाशन गर्न थालेपछि मनमा हौसला बढ्न

थाल्यो।सोसल मिडियामा पनि  सकारात्मक कमेन्टहरु आउन थाले।लेख्दै जादा मानशिक

तनाब कम हुनुको साथै आत्मासन्तुटि बढेको महशुस गरे। बाहिर बाहिर खुशी खोज्दै

भौतारिएको यो मन जुनदिन एउटा कथा जन्मिन्थ्यो त्यसै दिन सबैभन्दा खुशी

हुन्थ्यो।यसरि लेखन कार्यले एक थेरापीको काम गर्यो।  हुन त म अंग्रेजी साहित्यमा मास्टर्स

गरेर करिब एक दशक साहित्य नै पढाएकोले अंग्रेजीमै कथाहरु लेखेको भए नि हुने हो।

अधिकांश  डायरीका पानाहरु अंग्रेजीमा नै भरिएका छन। तर जब नेपालिमा लेख्न थाले, बल्ल

मन तृप्त भएको महशुस हुन थाल्यो। जहाँ बसेपनि, कामको शिलशिलामा जुनसुकै भाषा

बोलेपनि नसा नसामा नेपालि भाषा सलबलाई रहेको हुदो रहेछ। नेपालिमा बोल्दा र लेख्दा

जुन आत्मसन्तुष्टि मिल्छ त्यो अन्य भाषा बोलेर मिल्दो रहेनछ। यसरि लेख्दै जादा एउटा

किताब नै निकालौन त भन्ने आँट बढ्यो।र यसरि जन्मियो ‘ब्लफर पार्क डायरी।’

यसका पात्रहरु नब्बे प्रतिशत काल्पनिक छन्। लगभग दश प्रतिशत बास्तबिक होलान्। कथाका

प्रसंगहरु धेरैजतो वास्तविक घटनामा आधारित छन् भने कतिपय काल्पनिक पनि छन्।

अधिकांस पात्रहरु नेपालबाट क्यानाडा वा अन्य कुनै देश पुगेका, त्यहाँ पुगिसकेपछिको

उनीहरुको भोगाइ, बिगतको याद र भविष्यको अन्यौलतालाई देखाउन खोजेका छन्।

त्यस्ताखाले पात्रहरुमा बिद्यार्थी, पी आरमा गएका तिस देखि पचास वर्षभित्रका हुँदाखादाको

जागिर छोडेर भासिएका नेपालीहरु र त्यहाँ छोराछोरी नातिनातिना भेट्न गएका आमाबुवाहरु

छन्।म बाटोमा हिड्दा देखेको, काम गर्दा भोगेको, साथिभाइहरु संग गफिदै गर्दा सुनेको

घटनाहरुलाई अलिअलि फूलबुट्टा थपेर लेखेको छु। कोरोना महामारीको आसपासमा

लेखिएको हुनाले अधिकांश पात्रहरुमा कोरोनाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाब परेको छ। कुनै

व्यक्ति, समाज, वर्ग, जाति, धर्म सम्प्रदाय, देश र राजनीतिक दलको नाम उल्लेख भएता

पनि घटनाहरु काल्पनिक हुन्। कहिँ कतै गल्ति भएकोमा क्षमा चाहन्छु। शुझाबहरु दिनुहोला

अर्कोपल्ट सुधार्ने कोशिश गर्ने छु। समग्रमा यसले नेपाल र क्यानाडामा भएका नेपालिहरुको

अनुभव र  मनोदशा आंशिक रुपमा भएपनि पाठकहरु समक्ष पुर्याउने कोशिस गरेको छ भन्ने

मलाइ लागेको छ। बाकि पाठकहरुमै छोडे। 

मेरा लेख रचनाहरु बारम्बार प्रकाशित गरेर पाठकहरुमाझ पुर्याइदिनुहुने नेपाल टच कयानाडा 

टिमका साथीहरु बेनुप भट्टराई, जयराम गौतम र यम घिमिरेप्रति निकै आभारी छु। त्यस्तै

नेपालबाट प्रकाशित हुने सेतोपाटीका सम्पादक अमित ढकाल ज्युप्रति पनि आभार व्यक्त

गर्दछु जसले मेरा कथाहरुलाई हजारौ पाठकसामु पुर्याइदिनु भयो। आभारी छु, गाँउशहर


अनलाइन पत्रिकाका संचालक रुद्र भट्टराई खोजि खोजि मेरो लेखहरु प्रकाशन गरिदिनु 

भएकोमा। 

चोभार ब्लुज जन्मिनु भन्दा पहिले नै प्रकाशित भएका  ‘फ्लानर फेन्टासी’ धिर्बाको विदेश

यात्रा’ कथाहरु  पढेर म यसका लेखक बिक्रमभक्त जोशीसंग फेसबुकमा जोडिएको थिए।

त्यसपछि उहाँले  मेरा कथाहरु पढेर बारम्बार हौसला दिइरहनु भयो। बिक्रमजीले ‘‘तपाईका

कथाहरु राम्रा छन्। किताब निकाल्न ढिलो नगर्नुस’ नभनेको भए सायद यति चाडै मेरो यो

पहिलो कृति जन्मिने थिएन।  उहाँले नै प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल , सम्पादक

राजकुमार बानियासंग जुडाइदिनु भयो। यो सबै तारतम्य मिलाइदिने बिक्रमभक्त

जोशीजीलाई जति धन्यबाद दिए पनि कमि हुन्छ। मेरो पहिलो कृतिलाइ भरोसा गरेर आफ्नो

प्लेटफर्म उपलब्ध गराउनुहुने पुष्पराज पौडेलजीलाई मुरी मुरी धन्यबाद दिन चाहन्छु।

बहरगोरुको मेलो झैँ उबडखाबड मेरो लेखनलाई उत्कृष्ट सम्पादन गर्नु हुने बरिष्ट सम्पादक

राजकुमार बानियाजी प्रति गहिरो आभार प्रकट गर्दछु। 

बेला बेला मेरा कथाहरु सुनेर ‘अलि गफ लाइस क्यो’ भन्दै लेख्न उत्प्रेरणा दिने मेरी ममतामयी

आमा सधै मेरो उर्जाको स्रोत हुनुहुन्छ। श्रीमती अनिता गौतम, छोरा दिब्यश  पौडेल र छोरी

श्रेया पौडेल मेरा पहिलो पाठकहरु हुन्।उनीहरुलाई न्यानो माया छ। बिशेष आभारी छु,

साहित्यानुरागी भाई निलम पौडेलप्रति पनि जसले मलाई बारम्बार लेख्न प्रोत्साहित गरिरह्यो।

मेरा दाइहरु चेतनारायण पौडेल, दयानिधि पौडेल, तिलामणी पौडेल  र  भाइबैनीहरु कल्पना

पौडेल, खेम पौडेल र गोपाल पौडेल, महलाल पौडेल र ज्वाई नारायण पॊख्रेल र बुबुज्यु

जगतप्रसाद गौतम प्रति गहिरो आभार प्रकट गर्न चाहन्छु निरन्तर साथ र सपोर्टको लागि।

साथै मेरा अनुभूतिहरु पढेर लेख्न उर्जा दिइरहने डा होमनाथ चालिसे, नवराज न्यौपाने, तिलक

सिंह, हरि के सी, बिष्णु अर्याल, शंकरबाबु आचार्य, उत्तम गिरी, चन्द्र पौडेल,रघुनाथ  ढकाल,

देबराज तिवारी  लगायत सम्पूर्ण साथिहरुलाई हृदयदेखि नै  धन्यबाद दिन्छु। धेरै धेरै आभारी

छु, फेसबुकमा जोडिएर लेखनको लागी सधै उर्जा दिइरहने सम्पूर्ण साथीभाई तथा

आफन्तहरुलाई। 


स्वर्गीय बुवा काशिराम पौडेल प्रति समर्पित।