पिटर ब्राउन।
ट्रेकिंङ्गमा हिडेको टुरिस्टले झैँ भुक्क पछाडी सुन्निएको झोला भिरेको, हिप्पिको झैँ गुजेल्टीएको रौ पछाडी लगेर बानेको, मैलो र प्वलै प्वाल परेको प्यान्ट र ट्याटु खोपेको नाङ्गो ज्यान बकैनाको रुखलाई जलमग्न पारेर पशुपती तर्फ लाग्दै थियो। एक हुल भुस्याह कुकुरहरु पनि उसको पछि पछि लागे उसंगै।
गौशाला चोकदेखि दुइसय मिटर भित्र पशुपति मन्दिर जाने बाटोको छेउमा पदमको घर थियो। अगाडिको अग्लो पर्खाल भूकम्पले पुरै भत्काइदिएको थियो भने एक एक गर्दै इँटाहरु पनि रातारात हराईसकेका थिएँ।
आँगनमा बकैनाको रुख ठिंग उभिएको। कुनैबेला दरबारको जासुसी विभागमा काम गर्थ्यो उ। नोकरीमा हुँदा जम्मा गरेको अलिकति चल पुँजी र चितवनको माडीमा भएको पुर्खेउली खेत बेचेर किनेको थियो त्यो घर। राजनीतिले उसको जागिर खुइलाइदियो, भुकम्पले घरलाई।
पदमले त्यो मान्छेलाई धेरै दिनदेखि रातिको बाह्र देखि एक बजेको समयमा सोहि बाटो हिडेको देख्थ्यो। ऊसंग कहिले सडकका केटाकेटीहरु संगै हुन्थे त कहिले पशुपतिका जोगीहरु। कहिले सेतो छाला गरेका केटीहरुसँग खित्किदै संगै पशुपतितर्फ लागेको देख्थ्यो।
आज पदमलाई भुक्का टुरिस्टले बकैनाको जरामा मुतेको मन परेन उसलाई। निकै रिस उठ्यो। बकैनाको रुखका हाँगाहरु सर्पको काँचुली झैँ सुक्दै गएका छन्। बर्षेनी गुड बनाएर चल्ला कोरल्ने काठे ढुकुर र जुरेली अन्तै बसाई सरिसकेका थिए। टुडिखेलमा परेड खेल्न लाइन बसेका सिपाही झै पर्खालमा ताँती लाएर बस्ने बाँदरहरु फाट्ट फुट्ट मात्रै देखिन्छन। तरपनि त्यो रुखलाई उति नै माया गर्छ उ जति तिस बर्ष अघि गर्थ्यो।
पदम सरासर बाहिर निस्कियो र त्यो मान्छेको पिछा गर्दै बागमती तर्फ गयो । पशुपति मन्दिरको मूल ढोकाको नजिकै अरु तीनचार जना जोगीहरु पिटरसंग थपिए।
बिजुलीको पोलमा आड लाएर पदमले उनीहरुको गतिबिधि नियालीरह्यो धेरैबेरसम्म। पिटर ब्राउनले झोला खोल्यो र केहि बस्तु निकाल्यो। त्यहाँ उभिएका दुइजनासंग केही साटासाट गर्यो र उनीहरु संगै बागमतीको पुलतर्फ अघि बढ्यो।
त्यति नै बेला पदमको टाउको एक्कासी पोलमा ठोक्किन पुग्यो। कसैले उसलाई पछाडीबाट कठालोमा च्याप्प समातेको थियो। उसलाई सास फेर्न समेत गाह्रो भयो। उ बोल्न पनि सकेन। कसैले उसको मुख छोपिदियो। आँखामा पट्टि बाँधीदियो।
भोलिपल्ट घरपरिवार र आफन्तहरुले पदमको खोजि गरे। आफन्त साथिभाई सबै तिर फोन लगाए। एकहप्ता सम्म कतैबाट पनि अत्तो पत्तो नलागेपछि उनीहरुले नजिकैको प्रहरी कार्यालयमा गएर पदम हराएको बारेमा निबेदन दर्ता गरे। प्रहरीले पनि चाहिने हुलियाँ संकलन गर्यो।
पदम हराएको अर्को दिन बागमतीको पुलमुनि बेवारिसे लाश फेला पर्यो। मृतकको आधा शरीर पानीमुनि आधा बाहिर थियो । लाश हेर्नको लागि थुप्रै मान्छेहरुको भिड लाग्यो। कसैले पुलबाट हामफालेर आत्महत्या भएको हुन सक्ने लख काटे, भने कसैले हत्या भएको हुन सक्ने जनाएँ। केहीबेरमै यो खबर प्रहरीले थाहा पायो र त्यहाँबाट लाश बरामत गर्यो।
प्रहरीले लाशको पोस्टमार्टम गर्यो। फोक्सोमा पानि नभएको हुनाले उसको मृतु पानीमा डुबेर नभई अरु नै कारण भएको प्रहरीको निस्कर्ष आयो। शरीरमा कतै पनि चोट पटक नदेखिएकोले उसको हत्या कसरि भयो भन्ने पत्ता लगाउन प्रहरीलाई गाह्रो भयो। मेडिकल टोलिले अत्यधिक ड्रग्सको सेबनले मृतु भएको घोषणा गर्यो। लाशको परिचय भने खुल्न सकेन।
भोलिपल्ट प्रहरीको एक टोलि पदमको घरमा आयो। घरको खानतलास गर्यो। पदमकी श्रीमती देउमायासंग उनीहरुले कसैसंग पदमको दुश्मनी भए नभएको जानकारी लिएँ। उनीहरुको एउटा छोरा अनमोल अस्ट्रेलियामा बस्थ्यो। छोरी अनामिका प्राइभेट बैङ्कमा काम गर्थिन। उनको बिहे एकजना शंकर नाम गरेको ब्यापारीसँग भएको थियो। उनीहरुको दुकान भोटाहिटीको एउटा गल्लीमा थियो। त्यहिँ नजिकै एउटा पुरानो घरको तेस्रो तल्लामा थियो डेरा गरेर बस्थे उनीहरु। पुर्खौली घर लम्जुङ्ग पर्थ्यो। शंकर ससुराली खासै जादैनथे। उसलाई दाइजोमा चित्त दुखेको छ भनेर परिवारले अड्कल काटेका थिए। पदम हराएको अघिल्लो दिन शंकर र उसका केहि साथीहरु पशुपतिनाथको दर्शन गर्ने क्रममा घरमा पसेका पनि थिए।
पदमको छिमेकी मानकाजी ठेक्कापट्टाको काम गर्थे। देउमायाका अनुसार उनीहरुबीच खासै राम्रो संबन्ध थिएन। पदमको ललितपुरमा दुई रोपनी जग्गा थियो। पछि सोहि ठाँउमा प्लटिंग गर्ने ठेक्का मानकाजीले लिएका थिएँ। बाटोले आफ्नो जग्गा धेरै काटेको भन्ने बिषयमा मानकाजी र पदमको बीच झगडा भएको थियो। त्यसैबेला देखि उनीहरुबीच बोलि बाराबार समेत भएको थियो।
प्रहरीले उनीहरु दुबैजनालाई आफ्नो कार्यालयमा बोलाएर सोधखोज गर्यो। घटनामा संघ्लघ्न सबैजनासंग प्रहरीले आबस्यक जानकारीहरु संकलन गरिसकेपछि आफ्नै किसिमले अनुसन्धान आगाडी बढायो। देशब्यापी पदमको खोजी कार्य भयो। कतै पनि पदमको न सास भेटियो न लाश। धेरैले त पुलमुनी भेटिएको लाश उसैको भएको तर प्रहरीको मिलेमतोमा लाशलाइ गायब पारेको समेत भने।
घटना घटेको ठिक एक महिना पछि घटनास्थलदेखि करिब पाँचसय मिटर पूर्व बागमती नदी किनारमा एउटा ट्रेकिंग ब्याग फेला पर्यो। झोलामा केहि थान कपडा र एउटा थोत्रो पासपोर्ट थियो। नाम पिटर ब्राउन। प्रहरीले पासपोर्टको फोटो र मृतकको हुलिया मिल्दो जुल्दो भेट्यो। पिटर जर्मन नागरिक थियो। प्रहरीको अनुसन्धान टोलीले मृतक पिटर ब्राउन नै भएको घोषणा गर्यो।
उता पदमको परिबारले प्रहरीमा बारम्बार ताकेता गरिरह्यो। अस्ट्रेलियाबाट छोरो अनमोल घर फर्कियो। बाबुको कुनै पत्तो नलागेपछि आफन्तहरुले काजक्रिया समेत गर्न सुझाब दिए। तरपनि उनिहरुको मनले मानेन। बाबुको खोजि कार्य जारि गरे। फेसबुक, टिकटक जस्ता सोसल मिडियाहरुमा सूचना जारि गरे।
एकदिन अनमोलको मुबाइलमा कसैले फोन गर्यो र भन्यो ," पदम जस्तै देखिने मान्छे यु ट्युबमा भाइरल भएको छ। संगसंगै उसले युट्युबको लिङ्क पनि सेयर गर्यो।" अनमोलले भिडियो हेर्यो। भिडियो कसैले बुटवलबाट अपलोड गरेको थियो। परिबारका अन्य सदश्यहरुले पनि त्यो भिडियो हेरे। कपाल लामो, मैलो र लट्टा परेको थियो। अनुहारमा खतै खत भएको, भ्यात्त उछिट्टीएको भुडी, मैलो न मैलो थोत्रो सर्ट र खैरो ट्राउजर लगाएको मान्छे मानशिक सन्तुलन गुमाएको जस्तो देखिन्थ्यो। त्यो मान्छे पदम नै हो भनेर उनीहरुले बिश्वास गर्नै सकेनन्। उसले आफ्नो नाम पदम भएको र एकबर्ष भित्र देशमा राजतन्त्र फर्किने ठोकुवा गर्दै हिड्थ्यो।
तर पनि अनमोलको भित्रिमनले मानेन र तुरुन्त प्रहरीमा जानकारी गराए, र खोजि कार्यमा निस्के।
अर्को दिन प्रहरीको एक समुहले उसलाई तिनहु पुलमाथिबाट पक्राउ गर्यो। काठमान्डौबाट अनमोल परिवारका अन्य सदस्यहरु सहित त्यहाँ पुग्यो। परिबारले ऊ पदम नभई अरु कुनै व्यक्ति भएको बताएँ। पदमसंग हुलिया मिलेपनि ऊ वास्तविक पदम थिएन। प्रहरीले उसलाई पुन सडकमै छोड्यो।
उता काठमान्डौमा त्यहि बेला कसैले शंकरको हत्या गरेको खबर आयो। अनामिका बाबु हराए लगतै आमासंगै माइतीमा बस्दै आएकी थिइ। उनीहरुबीच बेला बखत मनमुटाब पनि भैरहन्थ्यो। जायजन्म भएको थिएन। प्रहरीले शंकरको हत्याको अनुसन्धानको लागि भन्दै अनामिकालाई पक्राउ गर्यो। लगतै घरको खानतलासी पनि गर्यो। शंकरको कुर्ता र साडीको होलसेल व्यापार थियो।
घरको खानतलास गर्ने क्रममा प्रहरीले गोदामबाट एक दर्जन भन्दा बढी पुराना मुर्तिहरु फेला पार्यो। ति मुर्तिहरु काठमाडौका विभिन्न मन्दिरहरुबाट चोरी गरिएको प्रहरीले अड्कल काट्यो र सोहि अनुरुप अनुसन्धानलाइ अगाडी बढायो। यसले घटनालाई अर्को मोडमा पुर्याइदियो।
साथसाथै प्रहरीले शंकर एक महिनादेखि यता काठमान्डौको कुन कुन ठाँउहरुमा पुगेको र को को संग उसको सम्पर्क भएको बारेमा अनुसन्धान अगाडी बढायो। यसै क्रममा कोटेश्वरको एक होटेलबाट बिदेशी नागरिक पनि पक्राउ पर्यो। प्रहरीले पासपोर्ट जाँच गर्यो। एक महिना अगाडी भेटाएको पासपोर्टको नाम र फोटो र पक्राउ परेको नाम र फोटो एउटै व्यक्तिको थियो। पिटर ब्राउन।
घटनाले सोचेभन्दा जटिल मोड ल्याइसकेपछि अनमोल आफन्तहरुको सल्लाह अनुरुप बुवाको काजक्रिया नगरिकनै अस्ट्रेलिया फर्कियो। देउमायालाइ ठुलो मानशिक तनाब आइलाग्यो। एकातिर बुढो बेपत्ता हुनु। अर्कोतिर प्रहरीले छोरीलाई पक्रेर थुनामा राख्नुले उनको मानशिक स्थिति झन् नाजुक बन्दै गयो। उनी रातमा निदाउन छोडिन। एक्लै घरमा बस्दा कोठाहरुमा मान्छे रोए जस्तो, कतै चिच्याए जस्तो लाग्थ्यो। कतिपल्ट उनले पुलिसलाई फोन गरेर घरमा कोहि लुकेर बसेको छ भनेर उजुरी समेत गरेकी थिइन।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home