Sunday, November 15, 2020

जलन्धरे (I)

                                                                         १
सन्तबिर  कामीको छोरो कृष्णे कक्षा सातमा  फेल भयो। रिजल्टको दिन बेलुका ऊ  घर गएन। कारण उसको  बाऊले  राँगो चुटे झैँ चुट्ने पक्का पक्कि  थियो। "फेल भईस भने घर नमुन्टेस्  मुजी ! भाडा माज्न डील्ली गए हुन्छ", सन्तेले गोबर सोर्दैतस भनेको थियो बिहान। रातिसम्म सन्तेका बुढाबुढी  छोरोको बाटो हेरेर बसे। अबेरसम्म छोरो घर नआएपछि सन्ते हातमा चप्पलको राँको बोकेर गाँउ निस्क्यो। बाटामुनी कान्छो, मस्ते माइलो, कर्ने कामि, जुठे दमाइको घरमा गएर छोरोलाई खोज्यो। कतै पनि भेटिएन ऊ। माइलीको  घरमा पसेर कोदाको तीनपाने एक बोतल ठाडै सुइकायो।

"पैसा भोलि देम्लाकेरे माइली अझै एउटो बोतल देउतो ", सन्तेले पहेला दाँत् निच्च पार्दै भन्यो।

'राति राति उधारो रक्सि धोकेर  भोलिबाट मुख डेखाउनि हैनस् जाँठा। टेरो बानी 'ठा 'छैन र मलाई।  जा घर। टेरी स्वास्नीले कुरेर बसेकी होलि', माइलीले ढोका थुन्दै भनि।

'त्यसो भए लाइट छ भेने देउ केरे भोलि ल्याम्ला', देब्रे हातले मुख पुछ्दै सन्तेले भन्यो। तर माइलीले ढोका खोलिन। अध्यारोमा लर्खराउदै सन्ते घर पुग्यो।

'खै छोरो? हेर तो  छोरो खोज्ने निउमा धोक्न पो निस्केका रैछन।  कस्तो पापी मान्छे ,' सन्तेकि स्वास्नीले  च्याठिदै  भनी ।

'जताकतै खोजे। कैपनि छैन। कता मुन्टेछ।  भोलि त आउलानी , बल्ल भेट्छ जाँठाले।'

'हेर हेर अझै छोरोमाथि रिस पोखेको। तिम्रो यै बानीले गर्दा काँ गयो बिचरा। ब्यान स्कुल जान नपाउदै नानाथरि गालि गर्यो । फेल भयो होला, हिडो डिल्लीतिर', झुम्रिले दाइने हातको बुडी औला र चोर औलाले नाकको टुप्पो च्याप्प समाती र सित्त्त सिगान फाली आगनमा। हात लगेर कम्मरमा बानेको निलो पटुकीमा पुछी।

'टक्सार त गछैन, मुजी जान्छ डिल्ली। कता गोठाँ  लुकेको होला ', भन्दै गोठतिर निस्क्यो।गोठको भारमा गएर यताउति हेर्यो। अध्यारोमा केहिपनि देखेन। दुई  तिन पल्ट बोलायो पनि "कृष्ने, ए गदा, काँ लुकेछस", अहँ केहि आवाज निस्केन। एउटा मुठो खर निकालेर भैसीलाई हाल्दियो। झुम्री दलानमा बसेर सुक्क सुक्क गर्दै थिई। सन्ते सरासर भित्र पस्यो। अगेनाको छेउमा एउटा गुन्द्री र  भुल्लो दक्षना थियो। त्यहि पल्टियो।

केहीबेरपछि झुम्रीले सिरक लेर ओडाइदिई र आफु पनि एकछेउबाट सिरकभित्र घुस्री। सन्तबीरले मस्तसंग छोडेको गन्धले झुम्रीलाइ सास फेर्न समेत गाह्रो भयो। जुरुक्क उठेर छोराको ओक्षानमा गएर पल्टी।

उता त्यो दिन कृष्णेको स्कुलमा रिजल्ट थियो। ऊ  रिजल्ट सुनाउनेबेला गिराउनको छेउमा दुबो चिमोट्दै घोप्टो परेर बसेको थियो। मखनबहादुर सरले रिजल्ट सुनाइरहेका थिए। 'कृष्णे बिक फेल ' भनेपछि ऊ जुरुक्क उठेर ओरालोमुख ब्रताएको गाई  कुदे जसरि कुदेको थियो। उसको पछीपछी थियो देउरालीको लाले। लेती पधेराको बरपीपलनिर पुगेपछि कृष्णेले माथि फर्केर हेर्यो। लाले  उछिट्टीदै तलतिर झर्दै थियो।
दुवै जना नबोली नबोली सरासर हिडे, कतै कुदे। बल्पोखारा पुगेर पानि टंकीको टुटीमा थुतुनो गाडेर पानि पिए। चुहेको पानीले कमिज भिज्यो।  धुलो खुट्टामा मुतको धारा जस्तो रेखा देखियो।

'तैले कति ल्याछस्  पैसा ', कर्नेले लाले झोला तान्दै सोध्यो।

'हिजो बाले आमालाई राक्न देथे केरे पान्सय। आमाले खोपीमा लुकाइथिन तेही पैसो चोर्दे मैले', लालेले भुइबाट सिमलको भुवा टिप्दै भन्यो।
'मैले त आमाको बाकसमा भएको गहना सप्पै चोर्दे। बाटखर्च नपुगे मैले हाल्दिम्ला वहा गएर तिर्लास भनेका छन् केरे ',कृष्णेले दाइने खुट्टाले गोबरको गुइठोलाइ हान्दै भन्यो।

एकैछिनमा चाकको भाग  सुकेको, खुट्टातिर फुकेको सेतो पाइन्ट लगाएको, कालो कपालमा चमेली तेल छापेर देब्रेपट्टि जुल्फी  कोरेको, निलो कमिजको अगाडिको गोजीमा काइयो भिरेको र पछाडी सुर्के छोला भिरेको जलन्धरे माइलो चप्पल पट्काउदै आयो।

दश बर्षको उमेरदेखि जलन्धर बसेको भएर सबैले उसको नाम जलन्धरे राखिदिएका थिए। चार पाँच बर्ष देखि ऊ  बम्बईमा सरेको थियो। बर्षको एकपल्ट घरमा आउथ्यो। टेपरेकर्डर बोकेर, कपडामा अत्तर छरेर गाँउभरि डुल्थ्यो।  केटा जम्मा  पार्थ्यो। सुन्तला मिठाई खुवाउथ्यो र लाउरका गफ दिन्थ्यो। बर्षको एकदुई जना केटाहरु लेर आफूसंगै  पनि जान्थ्यो।

'हेर केटा हो , म त सेठानीको एकदम प्यारो छु। लेकिन तिमीहरु ले के देखेका छौ र ? रानीको फोटो देखेका हौला नि स्कुलमा।  त्यो भन्दानि राम्री हुन्छन। अनि म त प्यारमा छु रे सेठानी संग,' उसले बडो मज्जा संग भन्दथ्यो। अलि ठुला ठुला केटाहरु खितिति हाँस्थे। अलि साना साना झिंगा मुखभित्र छिर्ने गरि आँ गरेर उसलाई ट्वाल्ल परेर हेर्थे।

"जानी भए भन केटा हो। साला जिन्दगिमा गोरुको गे*  कनाएर कति बस्छौ गाँऊमा। जति पढेपनी आखिर एकदिन त  जानै पर्छ नोकरी गर्न" बिजुली खैनी ओंठको चेपमा हाल्दै  लालेले भनेको थियो।

"हाम्लाई पनि लानुन्च  भने जाम्ला केरे। बाटाखर्च उतै  गएर तिरम्ला।' कृष्णेले भन्यो। 

'हेर भाई ! म एकदम खर्चालु मान्छे छु यार ।  पैसो बच्दै बच्देन। बरु तेरो बाले देनन भने एउटा उपाए छ ', जलन्धरेले खुब चासो दिदै भन्यो।

अरु केटाहरु भने टेपरिकर्डर  मसार्दै , भित्र मान्छे छन्  कि भन्दै हेर्दै थिए।

"गन्धा नगर्रे सालाहरू। पच्चिस सयको माल हो", उसले मखमलको खोल ओडाउदै भन्थ्यो, "किन्ने भए भन है केटा हो। लेकिन बाटाखर्च जुटाउन पर्ने छ। मिलाएर दिन्चु यार ", जलन्धरेले भन्यो।

छुट्टिने बेला उसले कर्णेलाई एकजना केटा खोज्न भन्यो सुटुक्क। कर्णेले लालेलाई भन्यो। उनीहरु दुबैले रिजल्टको दिन भाग्ने सल्लाह गरे ।जलन्धरेले त्यहि अनुसार सेटिंङ्ग  मिलाएको थियो।

'ठिक छ केटा हो घरमा कसैले त थाँ पाछैन नि? अनि बाटाखर्च त ल्यायौ ?' बिजुली खैनीको रस पिच्च थुक्दै जलन्धरेले भन्यो।

'मैले त पान्सय चोर्दे। लौनुस यी सप्पै।' लालेले  दश, बिस, पचास र सयको नोटहरू कच्याककुचुक पारेर रुमालमा पोको पारेको थियो। जलन्धरेलाई दिदै भन्यो।

"मैले त आमाका सप्पै गहना चोर्दे। बाले थापाए भने मार्चन। लौनुस तपैले राख्नुस। बरु भागम छिटो। हाम्रो बा त खत्रा छन् " कर्नेले टालोमा बानेको गहना दिदै भन्यो।

"ठिक गरेयौ केटाओं । टक्साराँ  गएर यो गहना बेच्न पर्च। सकेसम्म मजुवा गएर बास बस्ने हो आज। चलो लडका हो जल्दी जल्दी " जलन्धरेले सुर्के झोला भित्र पोका राख्दै भन्यो। ऊ बोल्दा हल्काफूल्का देशी भाषा मिसाउथ्यो बीच बीचमा।

जलान्धरे अघिअघि लाग्यो भने लाले र कर्णे  पछि पछि। पट्याक पट्याक चप्पल पट्काउदै तीनैजना सल्लेरीबाट ओरालो लागे। धुलो हावामा मिसिएर बाटो कुइरिमन्दल भयो। बाटोमा गाग्रीमा पानि र घाँसका भारी बोकेका मगर्निहरुले मन्टो बटार्दै हेरे उनीहरुलाई।

हाँडीखोला पुगेपछि एकछिन थकाल्नीको भट्टीमा पसे। 'चाँ खाम साउनी' जलन्धरेले भन्यो।

'चिसो चाँ खान्छस कि तातो ?' साइली थकाल्निले दुइटै हात कम्मरमा राखेर सोधी।

'तातो खाम भो, चिसो त फर्केर आउदा खाम्ला केरे।  लेकिन आज पैसा कम छ', जलन्धरेले सुर्तिले काला भएका गिजा देखाउदै भन्यो।

साइली थकाल्निले नाक खुम्चाई। चुलोमा दाउरा ठासठुस पारी। धुवाको मुस्लो दलिनतिर मडारियो। कालो कित्लीको पिधमा चियापत्तीको ठेग्रो बाँकी थियो। त्यसैमा पानि थपी उसले र अलिकति दुध र चिनी मिसाई। एकैछिनमा चिया तयार भयो।
केटाहरुले सुरुप्प सुरुप्प पारे चिया।जलान्धरेले पैसा तिर्यो।

'वापस आउदा पसम्ला है साउनी ' भन्दै उनीहरु टक्सारतिर उकालो लागे।

डल्ले  नेवार नामुद ब्यापारी थिए टक्सारमा। उनको दुकान अगाडी घिउका टिनहरु लाइन लाएर बसेका हुन्थे। बार्दलीमा गोरा गोरा तरुनीहरु बाटातिर हेरेर बसेका हुन्थे। खप्पनवाला डोको बोकेका ग्राहकहरु लौरोको आडेस लाएर  एकोहोरो दुकानतिर हेरेर उभिएका हुन्थे।

जलन्धरे अलि अगाडी गयो। बेन्चमा बसेका ग्राहकहरू अलि पर पर सरे।

'नमस्ते साउजी ' जलन्धरेले लेघ्रो तान्दै हात जोड्यो। डल्ले नेवारलाई उसको अनुहारमा हेर्ने फुर्सद थिएनन् । ऊनी कपडा नाप्दै थिए।। 
" साउजी अच्छा माल लेको छु। लेकिन टाइम कम छ हाम्रो पास ' उसले अलि भित्र पस्दै भन्यो।

डल्ले नेवारले चस्माको फ्रेमबाहिरबाट पुलुक्क हेरे। चिनिहाले जलन्धरेलाई। उसले बर्सेनि राम्रै माल दिन्थ्यो डल्ले नेवारलाई।
उनि च्यादा च्यादैको कपडा भुइमा राखेर ' ल हिन भित्र ' भन्दै गोदाम तिर पसे।

'यहि बस है केटा हो ' भन्दै जलन्धरे पछि पछि गयो साउजीको।

'साउजीले माल फर्काइ फर्काइ हेरे। एउटा ढुग्री, एउटा मुन्द्री र जन्तर थियो। उनले माल चिनिहाले। जोख्न थालेनन।  हेर केटा सुन चै नम्मरी हैन। मैले छोए थाहा पाउछु। तलाई बाटाखर्च पुर्याइदिम्ला' उलने क्यालकुलेटर थिच्दै भने।

जलन्धरे केहि बोलेन। डल्ले साउले छ सय पचास गनेर उसलाई दिए।

'लेकिन कुरो गोप्य हुन पर्च है साउजी ' जलन्धरेले भन्यो। डल्ले  साउले मुन्टो हल्लाए। जलान्धरे अरु मान्छेहरुको मुख पनि नहेरी बाहिर निस्क्यो।

'चलो लडका हो। लेकिन बाटाखर्च अलिक कम हुने भयो। तुम लोकको पगार मिल्नेका बात हमको देदेना', सुर्तीको रस पिच्च थुक्दै भन्यो जलन्धरेले।

लाले र कर्नेले कति बुझे कति बुझेनन् , नबोली नबोली लागे पछि पछि।  टक्सार बजारको पल्लो छेउबाट झेदि खोला झर्ने बाटो हुदै तिनैजना ओरालो लागे धुलो उडाउदै।घाम गाडा पहेलो हुदै मुसिकोट डाँडा माथि पुगिसकेको थियो। गोठालाहरु गाइबस्तु खेद्दै घर घर फर्कदै थिए। तलबाट बडिगाड खोला एकतमासले सुस्याईरहेको थियो। उनीहरु यता उति नहेरि सरासर झेदि खोला झरे। झेदिखोलाको सानो झुप्रे बजार सुनसान थियो। भाट्टीवालाहरुले चुलोमा धुवा पुत्याईसकेका थिए।  बाटामाथिको धाराबाट कलकल पानि पिए तीनैजनाले पालै पालो।

'अलि जल्दी चल है केटा हो।  यस्तो पाराले मजुवा हैन भुवाचिदी पनि पुगीदैन ' जलन्धरेले एकमुठी गुड़का मुखमा हाल्दै भन्यो।
'कस्तो टाडा पो रैच। कथ्थेर पुग्चम हामि, दाइँ ' कर्नेले सानो स्वरले सोध्यो जलन्धरेलाई।  जलन्धरे निच्च दाँत देखाउदै हास्यो।

'अरे भाइ क्या बात गर्छ। तिन दिन पुरा लाग्छ।  लेकिन आज मजुवा पुगेन भने हामि भोलि रेल चढ्न मुस्किल छ। '

भिरमाथिको सानो गोरेटो  बाटो अप्ठेरो थियो। त्यसमाथि मोटर बाटो खन्दै गरेको हुदा बाटोभरी ढुङ्गाहरु थिए। जलन्धरे,  लाले  र कर्णे  भन्दा पचास मिटर जति टाढा  पुग्यो हेर्दा हेर्दै ।

'मलाई त गु आयो ' लालेले कर्नेलाई हेर्दै भन्यो।

'अहिले खट्टा । हग्न बस्यो भने हराईन्च फेरी ' कर्णेले लामा लामा पाइला अगाडी सार्दै भन्यो।

'साला हग्न नि नपाइने, खान नि नपाइने। म त हग्चु यै खोलामा। हराए हराइन्च', भन्दै ठुलो ढुंगाको आडमा जाँय खोलेर बसिहाल्यो। कर्ने यता न उता भयो। उसले पनि बाटैबाट मुतको धारो खोलातिर फर्कायो।

जलान्धरे पछाडी नहेरी नहेरी अलि तलै पुगेर पछाडी फर्क्यो। केटाहरुलाई देखेन।  एकछिनसम्म कुर्यो।  केटाहरु आएको नदेखेर  रिसले मुर्मुरिदै गएको बाटो फर्क्यो। केटाहरु तलतिरबाट दौडी दौडी आइरहेका थिए।

'सालाहरु यहि देखि हरान्छन। कसरि पुग्छ बम्बै। रात पर्न लाइसको। अलि जल्दी जल्दी हिड' जलान्धरे रिसले चुर देखिन्थ्यो।

'दाई, आज धेरै थाकेम। यै बसम्न। भोलि खुब दौडिन्चम' कर्नेले भुइतिर हेर्दै भन्यो।'यो त स्याला भन्दा नि टाडा रैच। '

'दाई, अब कति टाडा छ बास बस्ने थाउँ ' दुर्गेले बाटोको ढुंगा टिपेर खोलातिर हुर्याउदै भन्यो।

'देख भाई, हमारा सफर बहुत लम्बे हे। थक जावोगे तो मरजावोगे ' बक बक बन्द करो, जल्दी चलो',  जलन्धरे बोल्दा प्रायजसो हिन्दि र नेपाली आधा आधा मिसाएर बोल्थ्यो। अहिले पुरै हिन्दिमा बोलेकोले दुर्गे र कर्नेले केहिपनि बुझेनन्।  कर्नेले दुर्गेलाई हेर्दै खितिति हास्यो। जलान्धरे अगाडी लाग्यो। उनीहरु पछि पछि।

                                                               २ 


कामीटोलमा केहि समस्या आइलाग्यो भने सबैजना काँइलो मुखियाको घर जान्थे। काँइलो मुखिया सधै जसो बाहिर पिडिमा बसेर तम्सुक हेरिरहेका हुन्थे। साथमा केहि मकैका दाना राख्थे ब्याज र स्याजको हिसाब गर्न। काइली मुखियैलाई घरभित्र र बाहिर भ्याई नभ्याई हुन्थ्यो सधै। हुन पनि किन नहोस र गाउभरिका मान्छे केहि न केहि काम लिएर आउथे। काइलि मुखिया सबैलाई चिया बनाएर दिन्थिन। अलि गरिब छ र भात खाने बेला कोहि  आयो भने भोकै जान दिन्थिनन। 'बरा गरिबलाई खाना दियो भने भगवानले आशिक दिन्चन। हाम्रा पनि धेरै छोरा छन्। भोलि कसले के जानेको छ र। मेरा छोराहरुलाई आपत बिपत पर्दा भौमानले हेर्नुन्च ' काइली मुखियैले भन्थिन।

छोरो हराएको भोलिपल्ट बिहानै सन्ते काइलो मुखियाको घर पुग्यो। निन्याउरो मुख लाउदै दाइने हात निधारमा पुर्याएर अलिकति टाउको झुकायो र ' जदौ ' भन्यो। मुखियाले मकैको पोस्करबाट बुनेको चकटी दिदै सोधे ,' फेरी को संग झगडा गरिस हँ माइला?

'हैन, बराजु कर्ने हिजो देखि घर आएको छैन। कता मुन्ट्यो केहि पता लाछैन।  गाँउ भरि खोजे कतै पनि छैन।  अब क्यार्ने  होला भनेर हजुरलाई सोध्न आएको ,'  यसो भन्दै गर्दा उसको अनुहार निन्याउरो भयो।

'जाड धोकेर कुटिस होला, भाग्यो। जाड खान छोड भनेर कति भने मैले, सुन्दैनस। बारीमा केराऊ छर्ने बेला बोलाउन पठाए, आइनस', मुखियाले तितो पोखे।

सन्ते केहि बोलेन। जेठो छोरो माओबादीले लगेपछि सन्तेलाई पुलिसले लगेर तिन दिन सम्म केर कार गरेको थियो। शरीरभरि लौरोको डामै डाम थियो ।'आरनमा तैले माओबादिलाई हतियार बनाइदिन्छ्स ' भन्दै पुलिसले आरन भत्काइदेको थियो। त्यसपछि हो सन्तेले अलि धेरै जाड खान थालेको।

'काँ गयो होला त त्यो केटो, बरा। कति असल थ्यो। कतै दाईलाई झैँ मौबादीले त लगेनन्। आजकल धेरै केटाकेटी स्कुलबाटै माउबादीले लान्छन रे।  रेडियोले समाचार फुकेको फुकै छ', काइलि मुखियैले संतेलाई चिया दिदै भनिन।

हल्दार माइला त्यसैबेला टुप्लुक्क आइपुगे। उनि खासै घरबाट बाहिर निस्कदैनन। तर पेन्सन लिन जाने बेला भने मुखियाको घर बाटखर्च सापटी लिन आउथे।

'के गर्न मुन्टेको रैछ यो। अस्ति खर काट्न बोलाउन पठाए, आइनस्। के उदिम गर्न लाछस् र घरमा ?' हल्दारले सन्तेतिर हेर्दै भने।  उनको स्वभाब अलि ठाडो खालको छ। तर मनका खास्सा छन् उनि। पेन्सन बुझेर फर्केपछि कामिटोलका सबैलाई एक एक गिलास भएपनि तीनपाने चखाउछन।केटा केटिलाई चकलेट बाट्छन।

'छोरो हराएछ। त्यहि भएर यता निस्केको रैछ', मुखियाले भने।

'यता खाटतिर बस्नुस दाई।  आजकल त यता पनि आउन छोड्नु भएको छ ', मुखीयैले नमस्ते गर्दै भनिन।

'हैन कर्ने हरायो रे ? के भन्छ यो। हिजो देउराली रने को छोरो दुर्गे पनि घरमा आएन भन्थे।माउबादीमा त लागेनन', हल्दार बा ले संका जाहेर गरे।

'तैले स्कुलको मास्टरलाई सोधिस त ? स्कुलबाटै लगेको हो कि ? कुलेन्द्रको घरमा गएर सोध्न। स्कुल त दुइचार दिनलाई छुट्टी छ क्याओ ' हल्दार बाले भने।

'रिजल्ट सुनाउदा सुनाउदै सिमलडाँडाबाट ओरालो दौडेको सबैले देखेका हुन् रे।  तर कहाँ गए कसैलाइ थाहा भएन रे।  मैले हिजै सोधेको हुम कुलेंद्र बनलाई। तिनै त हुन् केरे स्कुलका हेड सर ऐले', सन्तेले भन्यो।

'ल ल पिर नअर। भरेसम्म आइ पो हाल्च  कि। आएन भने एउटो उपाय गरम्ला। जा घर अहिले', मुखियाले तमसुक टालोमा बेर्दै भने।

'बरु रनेलाई गएर भेट्न।  उसले पो केहि पत्ता लायो कि ? तिमीहरुको बेथा एउटै रैच ', हल्दार बाजेले कुरा थपे।

आगनको डिलमा पानीको धारो थियो। सन्ते त्यही गएर चिया खाएको गिलास धोयो र आगनको डिलमा घोप्ट्यायो। 'हस हजुर गए अहिले ' भन्दै मुखियाको घरबाट निस्क्यो।

त्यहाँबाट निस्के पछि सन्ते सरासर देउराली रनेको घर गयो। घरमा रने थिएन। ऊ हिजो देखि नै छोरो खोज्न निस्केको रहेछ। रनेकी श्रीमती रुन्मायाले रुदै भनिन ,' तेरै छोरो माउबादीमा छ रे त। त्यसैले लग्यो होलानी।  तेरो छोराले गर्दा मेरो छोरो पनि हरायो।  सबैले माउबादिमा गयो भन्चन। '

रुन्मायाको बचनले सन्तेको छातीमा ढुङ्गो बसेजस्तो भयो। ' गरिब छ,  दलित हो भनेर जे मन्लायो तै नबोल है बैनी।  मेरो पनि छोरो हराएको छ।  केहि थाहा लाग्यो कि भनेर सोध्न आएको हुम म', सन्ते रिसले भुन्भुनाउदै हिड्यो। एकै छिन पनि बसेन त्यहाँ।
फर्कदै गर्दा रने संग जम्का भेट भयो। सन्तेले नमस्कार गर्यो।  रनेले पनि नमस्कार फर्कायो।

' काँ गएर आइस है माइला ? केहि पत्तो लायो त कर्नेको ?' रनेले दाइने हातले निधारको पसिना पुछ्दै सोध्यो ।

'तै हजुरले केहि मेलोमेसो पाउनोकि भनेर हजुरकै घर निस्केर आएकोउम् । हजुरले पो केहि थाहा पाउनोकि ?'

'केहि मेसो पाइन मैले पनि।  सबैले माओबादीमा गए भन्चन। पुछारे साइलाको छोरो माओबादिको ठुलै मान्छे भएको छ रे भन्ने सुनेर यसो कुरो बुझ्न निस्केको, उसलाई त हिजै पुलिस आएर लगेछन।'

'अब के गर्ने होला हजुर ? पुलिसलाई भन्यो भने उल्टै छोरालाई माओबादिमा पठाइस भनेर दुख मात्र दिन्छ। पुर्नेलाई माओबादिले लग्ने ताका मलाई कति दुख दियो कति, भनि साध्य छैन।  अब त म पुलिस्काँ मोरेपनि जान्न।'

'ल ल केहि कुरो थाहा पाइस भने खबर गरेस है।  घरबाट हिजो हिडेको हुम।  घरमा केटाकेटी आत्तियका होलान।  म गए अहिले ' भन्दै रने उकालो लाग्यो।

सन्तेले रुन्मायाले मन दुखाएको कुरा रनेलाई भनेन।  उ पनि घरतिर ओरालो लाग्यो।

झुम्री आगनमा सुक्क सुक्क रुदै छोराको बाटो हेरेर बसेकी थिई। सन्ते केहि नबोली सरासर भित्र पस्यो। दलिनमा घुसारी राखेको हैसा र नाम्लो झिक्यो र घाँस काट्न बारीतिर निस्क्यो। झुम्रीले केहिपनि सोधिन।  उसले पनि केहि भनेन।

सन्ते बारि तिर गएको करिब दश मिनेटमा दुइजना पुलिस काधमा बन्दुक भिरेर उसको घरमा पसे।  पुलिसलाई देख्नासाथ झुम्रिको सातो पुत्लो उड्यो। जेठो छोरो मने माओबादीमा भर्ना भएताका पुलिसले घरमै आएर संतेलाई लछार पछार गरेर लागेको थियो। उसको बिस्ट कमाई खाने एउटा आरन पनि भत्काई दिएका थिए।

'हिजो कतिजना माओबादिलाई खाना देइस, भन?' बन्दुकको नाल भुइमा टेकाउदै अग्लो अग्लो , पुट्ट भुडी उछेट्टीयको, चिम्सा आँखा गरेको सिपाइले बोल्यो।

'खै तेरो लोग्ने र छोरा ? कि तिनीहरु पनि लागे जंगलतिर?' अर्को कालो,  ग्याँन्टे मुला जस्तो सिपाइ दुइटै हात कम्मरमा राखेर बोल्यो।

झुम्रीको बक्य बस्यो। ओठ, मुख सुक्यो। थ्याच्च भुइमा बसी।

'हिड भित्र।  सालेहरू यहि गुड बनाएर बसेको हुन सक्छ'  ग्याँन्टे मुला जस्तो सिपाइ लात्तीले ढोका खोल्दै भित्र पस्छ। पछि पछि अर्को पनि भित्र जान्छ। केहीबेरमा भाडाहरू बजेको आवाज आउछ बाहिरै सम्म। उनीहरुले सबै सामानहरु भुइभरि बनाएर धेरै बेरमा बाहिर निस्कन्छन।

'माओबादी पालेर नाटक गर्छेस। भन कहाँ छन् उनीहरु?' चिम्सा आखाँ गरेको सिपाइले झुम्रिलाई ड्याम्म बुटले ढाडमा हान्दै भन्छ।
झुम्री डाँको छोडेर रुन्छे। ओरिपरिका मान्छेहरु कोहिपनि घरबाट बाहिर निस्केनन्।



                                                                       ३

घरबाट हिडेको भोलिपल्ट बेलुका जलन्धरे, कर्ने र दुर्गे गोरखपुर पुगे।बसपार्कमा झर्नासाथ जलन्धरेलॆ केटाहरुलाई रिक्साहरुको भिड बाट बाहिर निकाल्यो  हातमा समातेर। 'हेर केटा हो, साला यिनीहरुले  ठग्छ नेपालीलाई। मेरो पिछा गर', भन्दै सरासर बसपार्कबाट बाहिर निस्क्यो। केटाहरु उसलाई पछ्याउदै पछि पछि गए। जनन्धरे बाटोमा निस्केर बुढो रिक्सालाई रोक्यो , "चाचा हमे रेल्वे स्टेसन  जाना हें। कित्ना लोगे ?

'पच्चीस लागेगा।  आप तिन लोग हें, पुलिस तंग करेगा।  दूसरा रास्ता जानापढेगा ' दुर्गेको  खुट्टा नजिकै गाईले मुते जसरी पान थुक्छ। एकदुई रातो छिट्ट उसको खुट्टामा पनि पर्छ।

'साले भैया थुक्देताहे' भन्दै रिक्सावालाको अनुहारमा राता राता आखाँ पार्दै भन्यो दुर्गेले।

भैयाले दुर्गेको कुरा बुझ्यो  कि बुझेन तर दुर्गे रिसाएर हेर्दा चै 'माफ गर बादुर ' भनेर धोतीको दुइवोटा टुप्पो दुई  साप्राको बिचमा बटुल्यो र गाँठो पार्यो।

जलन्धरेले दुर्गेको आँट देखेर एकपल्ट माथिल्ला दाँतले तल्लो ओठ किटिक्क टोक्दै हेर्यो। केहि बोलेन। 

'जाना हें तो जल्दी करो' भैयाले रिक्सा गुडाएर अलि अगाडी लगेर बाटोको छेउमा आड्यायो।

' चाचा बिश मे चलो न ' जलान्धरे रिक्साको पछाडिको छानो समाउदै भन्छ। दुर्गे र कर्ने एकापसमा खासखुस  गर्छन।
भैयाले पैदल घुमाउदै भन्छ ,' चलो बाइस देना। '

जलान्धरेले पहिला झोला राक्छ मिलाएर। आफु एउटा छेउमा बस्छ।  दुर्गे अर्को छेउमा। बिचमा सागुरो ठाउँ बचेको हुन्छ त्यहि बस्छ कर्ने अटसमटस गर्दै। 'नपाद है ' दुर्गे खितिति हाँस्दै जलान्धरेको मुखमा हेर्छ। रिक्सा चयक चुइक गर्दै अगाडी बढ्छ। सागुरो गल्लिको बाटो हुदै रिक्सा गोरखपुर  रेलवे स्टेसनको पल्लो छेउमा पुर्याउछ र रिक्सा पुलिसले नदेख्ने गरेर कुनापट्टी रोक्छ। जलन्धरेले रिक्साको भाडा दिन्छ र तीनैजना आआफ्ना झोला बोकेर टिकट काउन्टरतिर अगाडी बढ्छन।

उनीहरु स्टेसन तिर बढ्दै गर्दा एकजना कालो कालो , आखाँ र कपाल दुइटै रातो भएको, कालो अफिस ब्याग साइडमा भिरेको सेतो सर्ट र कालो पाइन्ट भित्र अस्तिपंजर लुकाएको मान्छे उनीहरुको बाटोमा उभिदै भान्छ, 'कहाँ जानाहे आपलोग, टिकट लेना हे। हमारेपास कन्फमेसनका टिकट हें।'

'हमे नही चाइए', तुमारा टिकट खुद राखों '  भन्दै जलान्धरेले केटाहरुलाई यता उती नहेरी सरासर अगाडी हिड्न आदेस दिन्छ।  केटाहरु घोप्टोपरेर जलान्धरेको पछि पछि लाग्छन। जलान्धरे  टिकट काउन्टरको लाइनमा गएर उभिन्छ। दुर्गे र कर्ने पनि संगै उभिन्छन। त्यहिबेला जलान्धरेको अगाडी एउटा कालो कालो, कानमा टप लगाएको, तल जिन्स र माथि कुर्ता जस्तो घुडासम्म ढाक्ने कपडा लगाएको, नाकको टोटा ठुलो ठुलो भएको उसलाई धकेल्दै पस्छ। एकैछिनमा अरु दुइ तिन जना केटाहरु त्यसको अगाडी घुस्छन। अर्को एकजना लाइन बाहिर पान चपाउदै उनीहरुलाई हेर्दै थियो। जलान्धरे केहि बोल्न मुख खोल्न लाएको मात्र के थियो लाइन बाहिर भएको अधबैसेले बब क्याटको जस्ता आँखा गराउदै उसलाई खाला जस्तो गरेर हेर्छ। जलन्धरेको बोलि भित्रै हराउछ। 

'दाई, त्यो केटाहरु किन हाम्रो अगाडी छिर्यो। पछाडी जान भन्नुसन ', दुर्गेले आवाज अलि ठुलो पार्दै भन्यो। कर्नेले उसलाई चिमोट्दै 'त नकरा, यिनीहरु त खत्रा हुन्चन' भन्छ।  जलन्धरे केटाहरुको अगाडी नामर्द जस्तै केहि बोल्न नसेकोमा मुख चुस्रुक्क लाएर उभिन्छ। लाइनमा यसरि अगाडी छिर्ने काम निरन्तर भैरहन्छ। उनीहरु आधा घन्टासम्म उभिदा पनि काउन्टरमा पुग्न सक्दैनन्। टिकट काउन्टर माथिको स्क्रिनमा ०५०३३ अबध एक्प्रेस रेल गोरखपुर देखि बान्द्रा स्टेशन आधा घण्टामा छुट्ने देखाएको थियो। स्टेशनको कुना कुना बाट माइकमा ' अवध एक्सप्रेस।  गोरखपुर बान्द्रा' भन्दै यात्रुहरुलाई सतर्क बनाउदै थियो। बेला बेलामा 'पाकेटमार से साबधान' भन्दथ्यो ।' केटाहरु आफ्नो दाँया हात पछाडिको पकेटमा पुर्याउथे हत्तपत्त।

करिब पैचालिस मिनेट जति लाइनमा उभिएपछि तीनवटा चालुको टिकट किन्छ जलन्धरेले।

'मेरो पिछा गर केटाहरु, किसिको नसुन। साला ये सब् बिहारी गुण्डा हे,' भन्दै लामा लामा पाइला अगाडी बढाउछ। ट्रेन टर्मिनल -३ मा आएर बसिसकेको हुन्छ। यात्रुहरु झ्याल झ्यालबाट झोला भित्र फाल्दै ट्रेन को पछि पछि कुद्दै थिए। ट्रेनको ढोका खुलेपनि ठेलमठेल गरेर सबै रेलको डब्बाभित्र छिरे। जलन्धरेले केटाहरुलाई घचेट्दै एउटा डिब्बामा पस्छ। ढोकासम्म मान्छेहरु खचाखच भरिएका थिए। बल्ल बल्ल पेलिएर भित्र पुग्छन तर कुनै पनि सिटमा अडिने सम्म ठाउँ थिएन। मान्छेहरु बाँदर जस्तै माथि माथि झुन्डिएर यता र उता गर्दै थिए। कोहि सिटको तल पट्टि घुस्रदै थिए। रेलको डिब्बा औशे किरा जस्तै मान्छेहरुको भिडले गिजिंग मिजिंग देखिन्थ्यो। रेल एकछिन गुडेपछी दुइजना डण्डा समातेका, काला, अग्ला अग्ला पुलिस जस्तै मान्छे पस्छन डिब्बाभित्र। 
मान्छेहरु कोहि सिट मुनि छिर्छन भने कोहि हतार हतार बाहिर निस्कन्छन।

'साले टिकट देखा ' राता राता आखाँ पार्दै र डण्डाले टाउकोमा हान्दै अग्लो न अग्लो पुलिस अगाडी बढ्छ। 

'दाई यिनीहरु को हुन् ?' दुर्गेले जलन्धरेलाई हेर्दै सोध्छ। 

'चुप लाग। टि टि हो साला बहुत पैसा खान्छ मादर्चोदले ' उसले टिकट हातमा निकालेर बस्छ। पुलिसहरु डण्डा हान्दै पैसो उठाउदै उनीहरुको अगाडी आइपुग्छन। जलन्धरेले हातमा टिकट समाउदै उनिहरुतिर बढाउछ। 

'पैसो निकाल' भन्दै एक डण्डा उसको टाउकोमा बज्रिन्छ। अर्को डण्डा दुर्गेको टाउको निसाना लाग्दै थियो, उ थ्याच्च भुइमा बस्छ। 'साला उठ' भन्दै उसले दुर्गेको ढाडमा बर्साउछ। 

'किन हान्ता हे। हाम्रा टिकट हे ' भन्दै उ जुरुक्क उठ्छ। कर्ने कक्रक्क परेर झ्यालतिर फर्केको हुन्छ। जलन्धरेले बीसको नोट दिन्छ। पुलिसहरु सबैलाई ड्याम ड्याम डण्डा हान्दै अगाडी बढ्छन। फेरी एकैछिनमा मान्छेहरु सिट मुनिबाट चोरबिरालो झै निस्कन्छन। ट्रेन पुन गुड्न थाल्छ। मान्छेहरु सलह झैँ ह्वारह्वार्ती भित्र छिर्छन। एकैछिनमा गुड्काको र चुनाको  खार फैलिन्छ डिब्बाभरि। कर्ने र दुर्गेले पालै पालो 'आच्हिउ' गर्छन। 

'माकसम नेपालमा भेटे भने छोड्दिन रन्डीको बान लाई ' अर्को होचो होचो मंगोलियन अनुहार भएको केटो भुन्भुनाउदै थियो उनीहरु को छेउमा। 

'हो दाइँ! माचिक्नेले खत्रा हान्यो मलाई पनि ' दुर्गेले त्यो केटोलाई हेर्दै भन्छ। कर्नेले जलन्धरेको शर्ट समातेर उभिएको थियो । 
'उभेरै बोम्बै पुगिन्छ क्यावो, अर्को नेपाली बोल्छ अगाडिको कुनाबाट। 

'एउटै डिब्बामा पाँच जना त नेपालि रैचम। कति हुम्ला सप्पै गरेर यो रेलमा है दाई ? ' कर्नेले जलन्धरेलाई हेर्दै भन्छ। 

'कल्ले गिनो र। बहुत नेपालि लोग हुन्छ परदेशमा', जलान्धरेले गुड़का प्याट प्याट पार्दै भन्छ। 

'दाई गुड़का नखानुस। खत्रा खार लाग्च', दुर्गे उभिएको ठाउँबाट पछाडी हट्दै भन्छ। मैलोले कपडाको रंग नै नचिन्ने भएको बन्डी र धोति लगाएका मान्छेहरु बेला बेला उनीहरुलाई क्वरक्वारति हेर्दै थिए। जलन्धरे नबोली  नबोली गुड्काको फाक मुखभित्र हाल्छ।
ट्रेन बेला बेला  टोओओओऒओ  . . .   टोओओओओ गर्दै अघि बढ्दै गयो। रातको अध्यारोमा ठेल मठेल गर्दा गर्दा बल्ल बल्ल टुसुक्क सम्म बस्ने ठाउँ भेटे दुर्गे र कर्नेले।  जलन्धरे भुइमै घुर्न थाल्छ। गुड़का, पान मसला, खैनीको गन्धले  सम्पूर्ण डिब्बा नै भरिएको थियो। धन्न धन्न केटाहरुले झ्यालबाट छिर्ने चिसो हावासंग स्वास फेर्न सम्म सकेका थिए। बीच बिचमा मान्छे चड्ने र ओर्लने हुदै जान्छ। रेल कुलेरी, चिकबास, दुर्जनपुर स्टेशनहुदै टोओओओओ. . .   टोओओओओ गर्दै चिप्लिन्छ। ठाउँ ठाउँमा पर्ने साना साना बस्तिहरुमा जुनकिरी जस्तै  बत्तीहरु बलेको देखिन्थ्यो भने स्टेशनमा पुग्नासाथ  झ्याल झ्यालमा  "चायग्राम चायाग्राम गरमा गरम चयगारम" भन्दै मान्छेहरु भित्रै छिर्लान जस्तो गरेर हेर्थे ।

'दाई, पिसाप फेर्न परो। काँ रोक्छ यल्ले', कर्नेले झ्यालबाट बाहिर हेर्दै भन्छ। 'मलाई पनि अत्ताई सकेको छ', दुर्गेले थप्छ।
'रोक्देन रेल भाई, लेकिन उदर लेट्रिन छ', डिब्बाको पुछार तिर देखाउदै भन्छ जलन्धरेले। बाटोभरि मान्छे सुतेका थिए । बुढाबुढी , केटाकेटि ,आइमाई सबै कटकुरोमा दाउरा चिने झैँ सुतेका। ओल्लो पल्लो सिटको डण्डामा समाउदै मान्छेहरु ट्वाइलेटसम्म पुग्थे। दुर्गेले एकछिन उनीहरुलाई हेर्यो र बुरुक्क उफ्रेर माथिको डण्डा समात्यो। झुन्डिदा हात कुहिनोबाट चुडेला झैँ भयो तरपनि  बाँदर झैँ झुन्डीदै झुण्डिदै पर मान्छेहरुको भिड भएसम्म पुग्यो। छ सात जना जति बाहिर उभिएका थिए। धेरै बेर   कुर्दा पनि मान्छे निस्केन ट्वाइलेटबाट।

 'साले कौन हे अन्दर, निकल जल्दी ', पान थुक्दै एउटाले भन्यो।

अर्कोले गएर ढोका ड्याम्म हान्यो । केहीबेरमा दुइजना एकैचोटी निस्के  कालो कपडाले मुख छोपेर। 'मादर्चोद टोइलेमे सोता हें 'भन्दै ढोकाको छेउमा उभिएकोले एक लात चाकमा दियो। सबै गलल हाँसे।  धेरैबेरमा दुर्गेको पालो आयो। टोइलेट सानो कोठा जस्तो बिचमा ह्वाङ्ग प्वाल परेको। तल रेलको लिग देखिने। हगे, मुतेको सब्बै लिगमा खस्ने। दुर्गेलाई रमाइलो लाग्यो। मौवाको रुखको हाँगामा बसेर हगेको सम्झ्यो। स्कुलको तलपट्टी कटुसको फेदमा ठुलो भ्वांग थियो। हाफ छुट्टीमा दगुर्दै गएर त्यहि भ्वाङ्गमा मुतेको सम्झ्यो। निस्केपछि फेरी झुन्डीदै आफ्नो सिटमा गयो। अर्कै मान्छे आएर बसिसकेछ। मिथुनको जस्तो जुल्पी काटेको, ब्रिफकेस हातमा समातेको, सुकिला सर्ट र पाइन्ट लगाएको चालिस वर्ष जतिको मान्छे पान चपाउदै मस्त संग झ्यालबाट बाहिर हेर्दै थियो।

'मेरो ठाँम रोक्देनस मुजी' ,  दुर्गेले कर्नेलाई हेर्दै भन्छ।

'उ दाईलाई भन न, मलाई बोल्न आउच र ', कर्ने अर्कोतिर फर्किन्छ।

'चल इदर वैठ ' भन्दै जलन्धरे आफु बसेको ठाँउबाट उठ्छ र कर्नेलाई लिएर ट्वाइलेट जान्छ।

'तँ त खत्रा छस् यार एक्लै उत्नको टोइलेट गईस', फर्केर आएपछि कर्नेले दुर्गेलाई भन्यो ।' दुर्गे मुसुमुसु हाँस्यो । 'टक्सारमा हग्न बसेको मान्छे पाल्पा पुगेर उठ्छ होला हुन्तो रेलमा त ' कर्नेले दुर्गेको काँधमा हात राख्दै भन्यो।

'मासाला हिरो बनेर बसेको छ मेरो सिटमा' त मुजिले भन्न पर्दैन', दुर्गेले आफ्नो सिटमा बसेको मान्छेलाई हेर्दै भन्छ।

 करिब पन्द्र घण्टापछि रेल भोपाल गएर रोकिन्छ। मान्छेहरु झर्ने र चड्ने अरु स्टेसनमा भन्दा बढी हुन्छन।

'तिनै जना रेलबाट झर्छन र रोटि तरकारी बेच्दै गरेको ठाँउमा गएर उभिन्छन। 'पाँच रुप्पेमे  रोटि भरपेट खावो, गरमा गरम रोटि ' बेल्दै गरेको रोटीमा पसिना चुहाउदै चिच्चाउदै थियो, भैया।

'केटाओं  पाँच रुप्पेमा त सस्तै हो, चलो खाम ' जलन्धरेले भन्छ।  तिनै जनाले चार चार रोटि र तरकारी खान्छन।  खाइसकेपछि जलान्धरेले पन्द्र रुपिया गनेर दिन्छ। भैयाले राता राता आखाँ पार्दै भन्छ, 'तिन लोग का साठ रूप्पे। '

'आगे पाँच रूप्पेमे पेटभर बोलाथा न' जलान्धरे जिब्रोले कट्कटिएको माथिल्लो ओठ चाड्दै भन्छ। त्यहीबेला भिडबाट एकजना कालो न कालो भुडे मान्छे , राता राता आखाँ बनाउदै आएर जलन्धरेलाई धक्का लाउछ। जलन्धरेले कुरो बुझ्यो। पाइन्टको अगाडिको चोरपकेट बाट दुइटा बीसको नोट निकाल्यो। हातमा भएको बिस र त्यो चालिस गरि साठी रूप्पे बुझाएर त्यहाबाट हिड्यो।

'मासालालाई किन सप्पै पैसा देको दाई', दुर्गेले जलन्धरेतिर हेर्दै भन्यो।

'हेर भाई, ये लोग मादर्चोद हुन्च।  हमरा साथ कसैले दिन्न। परदेशमा नेपालि लोगको बहुत ठग्छ।'

उनीहरु सरासर डिब्बा भित्र पस्छन। उनीहरुको सिटमा अरु नै बसिसकेछन। उनीहरु चुप चाप उभीरहे।

टोओओओओ. . .   टोओओओओ गर्दै रेल चिप्लिदै गयो। उज्यालोमा उनीहरु बाहिरको दृश्य हेरेर रोमाञ्चित हुन्थे। लमतन्न परेका फाँट, घोर जंगल, पहाडको सुरुङ्ग हुदै रेल आफ्नै गतिमा चिप्लिरह्यो। रेल सुरुङ्ग भित्र जादै थियो जलान्धरेले भन्यो,' हेर केटा हो यस्तोमा त डाँकु बस्छ। यदि कसैले हाँत झ्यालबाट बाहिर झुन्डायो भने हातै काटेर घडी, औठी चोर्छ।' साला यहाँको लोग हराम हुन्च।' 

 कर्ने दाहिने हाँत झ्यालमा अढेस लगाएर उभिएको थियो, जन्लन्धरेको कुरा सुनेपछि हाँत सट्ट भित्र तान्छ। 'डरान्छ मुजी कुरो सुनेर। साच्चै काटो भने क्यार्चस', दुर्गेले जिस्काउदै भन्छ। 

बिहानको समयमा बस्तीहरुको दृश्य भने अलि फरक हुन्थ्यो। रेलको लिग वारि पारि लक्सरै हग्न बसेका मान्छेहरु।  के आइमाई के छोरामान्छे सबै आआफ्नै गुप्ताङ्गतिर  मन्टो झुकाई कंगारु जस्तै बसेका हुन्थे। कोहि काठको छेस्को टोकिरहेको देखिन्थे। कोहि कोहि त रेलभित्र पनि काठ टोक्दै गरेको देखिन्थे। बिहानको ढुसीले गर्दा अलि टाढाको दृश्य देखिदैनथ्यो। प्रतेक स्टेशनमा दुइ देखि दश मिनेट सम्म ट्रेन रोक्दथ्यो। मान्छे चड्ने र झर्ने पनि भैरहन्थ्यो। 

रेल हविवगंज, इटरशी ,हरदा, खंडवा, भुसावल, नासिक रोड, कल्याण हुदै बम्बैको सेन्ट्रल स्टेसनमा छत्तिस घण्टापछि पूर्णबिराम लिन्छ।
 दुर्गे र कर्नेको बास्तबिक यात्रा अब बल्ल सुरु हुन्छ।


   


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home