Wednesday, November 11, 2020

संस्मरण (IV)

"गोरु फुकाएर चराउन लएस। अयपोखरातिर लय पनि हुन्छ। पानि पनि उतै खान्चन । अलि सजिलो रुखमा चढेर खन्यु झारेस। तारे गोरुको पेट सधै खोपटी परेको हुन्छ। फुर्के गोरुले सबै आफूतिर तानेर खान्छ।  घाँस हाल्ने बेलामा अलि कुनातिर हाल्देस। म भरे आउछु। घिरौलाको तिउन अलि नुन भुटुन मिलाएर चट्टको बनायस् । हिजोको जस्तो टंगले झोल बनाउलास् ", भन्दै बुवा नयपानीबाट  ओरालो लाग्नुभयो। एकहप्ता अघि लेकबाट एकहल गोरु नयपानी झरेका थियौ। थान, जिमी र राक्से गरेर तिन ठाँउमा थियो हाम्रो खेतबारी। मूल घर लेकमा पर्थ्यो। मकै छर्ने बेला र खेत रोप्ने बेला हामीले एक दुई हल गोरु जिमी हुदै राक्से झार्थ्यौ। राक्से बढीघाट खोलाको किनारमा पर्दथ्यो भने जिमी त्यो भन्दा अलि माथि मध्य भागमा पर्दथ्यो। त्यहाँ एउटा गोठ थियो। गोठको एकापट्टि ढुङ्गा र माटोबाट एउटा कोठा निकालेको थियो। त्यो कोठामा एउटा चुलो र एउटा परालको गुन्द्री ओक्ष्याउने ठाँउ थियो। सुत्नलाई त्यसैको माथि माटोले छापेर चिल्लो पारेको थियो। एकजोर सिरक र कम्मल थिए। एक्लै हुदा छिमेकी ओबाँय जेठा बा आउथे सुत्नलाई। अरु घरहरु अलि टाढा टाढा पर्दथे। 
"हुन्छ। बरु अलि चाँडो आउनोला। रात पर्यो भने एक्लै बस्न डर लाग्छ ," मैले उदीन ढुङ्गामा हँसिया उदाउदै भने। गोठ वरिपरि घाँसले डमक्कै ढाकेको थियो। कुलौसोमा पनि घाँस थियो। वरिपरि झाडी हुदा सर्पको डर हुने भएकोले मैले गोठ वरिपरिको घाँस काटे। मसिनो गराएर काटेकोले मेलो पनि राम्रो देखियो। मल्खाद वरिपरि पनि चिटिचट्ट पारे। दशबजेतिर घाँसको मुठा कसेर गोठको एउटा कुनामा थुपारे। हातखुट्टा धुन, जुठा भाँडा पखाल्न र गोरुलाई खुवाउनको लागि  बाटोतिर निस्कने ठाँउमा पोखरी खनेको थियो। त्यहाँ धमिलै भएपनि आकाशबाट झरेको पानि जम्मा हुन्थ्यो। त्यहि पानिले हातखुट्टा धोए। एकमाने कसौड़ीमा पाँचमुठी आँटो बसाले।बारीबाट सोस्टा टिपेर ल्याए र दुइवटा आलु मिसायर तिउन पकाए। छिमेकी साइलोबाको बाट ल्याएको अमिलो मुई थियो। त्यहि मुई र तिउन संग आँटो खाए। त्यसपछि गोरु फुकाय। गोठ वरिपरि बाक्लै घाँस भएकोले धेरैबेर सम्म गोरु त्यहि चरे। धेरैबेरपछि पानि खुवाउन अयपोखारातिर लगे। एकैछिन गोरु अयपोखराको सालघारीमा  चराए। घाँम अस्ताउन लागेपछि गोरु घर फर्काए। बाटोमा पाठखर्के माइला भेट भए। होचो होचो ज्यानमा थोत्रो आस्कोट भिरेका उनि सधै गेरु जस्तै पहेला दाँत देखाउदै खिसिक्क हाँसिरहेका हुन्थे। "कति मोटा हुन् यिनी गोरु। के ख्वौचौ र ?" भन्दै कुरा सुरु गर्थे। उनले अघिल्लो रात बस्नेतको गोठबाट किराले गाई लगेको कुरा सुनाए। हाम्रोतिर चितुवालाई किरो भन्ने चलन छ। उनको कुराले मनमा डर पसाल्यो। उनीसंग धेरै कुरा नगरी छिटो छिटो गरेर गोरु भकारोमा पुर्याए। फुर्के गोरुको दाम्लो चुडिन लागेको रहेछ। भारबाट नयाँ दाम्लो झिकेर बाने। 
खानेपानी थिएन। गाग्री काँधमाथि हालेर नयपानीको ओडारमुनिको कुवामा गए। पानि थोरै मात्र जम्मा भएको थियो। दुइवटा कुवा बाट निखार नुखुर गरेर एक गाग्री पानि निकाले। काँधमाथि गाग्रो बोकेर घरमा पुर्याइसकेपछि छिटो छिटो खन्यु झार्न गए। यति सबै काम गरुन्जेल मनमा बाघको डर झाँगिदै थियो। हतार हतार गरेर साँझ नपर्दै एकमाना चवलको भात पकाए। सत्तरीको घरबाट ल्याएको घिरौला थियो त्यसैको तरकारी पकाए। जब जमक्क साँझ पर्न थाल्यो, म बाहिर उभिएर बुवा आउने बाटो हेर्न थाले। गोठ वरिपरिको जंगलमा झ्याउकिरि कराउन थाले। अधेरी रात थियो। हेर्दा हेर्दै बाटो कालो पर्दाले छोपेजस्तै देखियो। बुवा आउनुहुन्छ भनेर छिमेकि जेठोबालाई बोलाएको पनि थिइन। धेरै बेरसम्म "ए बा ...बा हो. ओं .ओं .ओं ...गर्दै चिच्याए। केहि साइसबत भएन। बरु तल गाँउमा कोडरे माइलो कुर्लेको सुनियो। त्यतिनै बेला "घुकुर्र घुकुर्र...गर्दै अयपोखराको जंगलमा बाघ डुक्रेको आवाज आयो। मैले त्यो आवाज पहिलेपनि सुनेको हुनाले त्यो बाघ नै हो भन्ने पक्का पक्कि भयो।  मेरो सातो पुत्लो उड्यो। दगुर्दै भित्र पसे र ढोका लगाए। ढोकामा आग्लो पनि लगाए। गोरु बानेकोतिर झ्याल थियो। घाँस खादै थिए उनीहरुले डड्याङ्ग र डुडुङ्ग गर्दै। डराई डराई भात खाँए। माथिबाट सिरक र डसना तल झाँरे डराई डराई। रेडियोमा अग्रेजीमा समाचार आउदै थियो। त्यहि सुते। मुत्न जान पनि डर लाग्यो। 
कसैले ढोका 'ढक ढक' गर्दै दुइ तिन पल्ट सम्म हान्यो। मैले बा बा भनेर बोलाए। आवाज आएन। एकै छिनमा ढोका आफै खुल्यो। बत्तिको उज्यालोमा अनुहार प्रष्ट देखियो। माथिपट्टीको ओठ आधा चिरिएको र बीचबाट सेता दाँत देखियको त्यो अनुहार चिनेको झैँ लाग्यो। "यिनी त खोडे दाई हुन्। परारै मोरी सकेका। कसरि आए भन्दै मैले खुट्टा खुम्चाउदै थिए उनि झन् माथि माथि गर्दै दुइटा हातले मेरो घाँटी च्याप्प अठ्याए। मलाई स्वास फेर्न गाह्रो भयो।  म जोडसंग चिच्याय। हाँत भित्तामा गएर ठोक्किय्यो। आँखा खोल्दा रेडियोमा सास्त्रीय धुन बज्दै थियो च्यार च्यार गर्दै। ढोका बन्द थियो। गोरुले मरक मरक गर्दै पाउर मार्दै थिए। ज्यानभरि काण्ड फुरे। रेडियो आकाशबाणीमा हिन्दि गित बज्दै रहेछ त्यहि लगाए र धेरैबेर सम्म चाचिए। 
अर्को दिन बिहानै बुवा आउनुभयो। मैले बुवासंगा सबै कुरा बताए। "छातीमाथि हाँत राखेर सुतेको थिइस होला ऐठन भयो", बुवाले भन्नु भयो।  "खेत पटपटी फुटेको रैछ। कुलोजति ठाँउ ठाँउ बाट भत्केर गोरुको मुतको धारो जति पनि पुग्दैन खेतमा। आली जति किराले छेडेर पानि अडिन पाउन्न। बल्ल बल्ल रातभरी बसेर ठुलो गरो र साताको दुइटा भिजाए। पुछ्यारको गरामा सोड्याएर आएको हुन्। कुमालहरू आएर मारे कि ?", बुवाले फुर्केगोरुको हेकुलोबाट किर्ना निकाल्दै भन्नुभयो। मैले भकारोबाट सिठा जिकेर भित्तोतिर जम्मा पारे। गोरुको गोबर सोरेर फाले। माटो दलेर पोखरीको पानीले हात धोए। जतिसुकै घोटेर धोयपनि गोबर गन्याउन चाहि छोद्दैनथ्यो। घरि घरि नाकमा लगेर सुघेको देखेर होला बुवाले भन्नुभयो," जाँठो गोबर पनि सुघ्न पर्छ। किसानकोलागि माटो, गोबर भनेको सुगन्ध हो। हाम्ले बारीमा मोल छरेर हातै नधोई अर्नि खान्थिम। घोटी घोटी हाँत धोएर पनि नाटक गर्न परो। " बुवाको कुराको सवाल जवाफ गर्ने कुरै हुन्थेन। भित्र गएर दिउरिमा चिया बसाले।
 बुवाले भकारो ठोक ठाक गर्दै हुनुहुन्थ्यो। देउराली माइला टुप्लुक्क आइपुगे। चिया खादै गर्दा बुवाले भन्नुभयो," हेर अब त पनि कति ओडारमा बस्छस्। मैले नसक्ने भए। छोराहरुले काँध देलान् भन्न परेन। पोहोरसाल सालघारी मुनिका पाटा बजाए। ऐलेबाट खेत बँजाउने स्थिति आयो हेर्। तेरा पनि चल्ला धेरै छन्। बस्ने बास बनाइदेको छु। गुड यतै सार। बारी बाँजो नराखेस्। मलाई दिनसिन केहि परेन। तैले गर खा। "













0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home