संस्मरण (I)
पाइन्टको अगाडिको गोजीमा मोबाइल राखेको थिए। फोन भाइब्रेसनमा थियो। भर्रर्रर्र भर्रर्ररर गर्दै फोन थर्थरायो। कक्षाकोठामा फोन उठाउन मनाई थियो। बिध्यार्थिहरुलाई फोन राख्नसम्म दीदैनथ्यो। यस्तो अबस्थामा आफुले फोन उठाउनु मेरो नैतिकताले पनि दिएन। म कोठाबाट बाहिर निस्के। घरबाट साइलो दाजूको फोन आएको रहेछ। तिन वटा मिसकल थियो। यतिबेला म क्लासमा हुन्छु भन्ने थाहा थियो उहाँलाई। कहिले पनि बिहानमा फोन आउदैनथ्यो। तिन तिन वटा कल केहि मिनेटको अन्तरमा मिस भयको रहेछ।मनमा खै किन किन डर डर थियो। रातको सपनाले अझैसम्म टाउको भारि बनाइरहेको थियो।
तेश्रो पिरियडमा अंग्रेजी बिषयको पढाई हुन्थ्यो।म त्यसको शिक्षक थिए। उनीहरुलाई किताब झोलाबाट निकाल्नै दश पन्द्र मिनेट लाग्थ्यो। बोर्डमा केहि लेखिदियो भने पनि लेख लेख भन्नु पर्ने। कहिले तर्साउनु पर्ने। कहिले जोक सुनाएर फकाउनु पर्ने। भर्खर सोह्र सत्र बर्षमा टेकेका केटाकेटीहरुलाई एकाग्र बनाएर आफ्नो एकोहोरो लेक्चर सुनाउनु साच्चिकै सजायँ नै दिएजस्तो लाग्थ्यो। तर उनीहरुलाई गालि गरेर, तर्साएर भएपनि कोर्ष अगाडी बढाउन पर्ने। जबर्जस्ति भएपनि केहि लेखाउनु पर्ने, केहि घोकाउन पर्ने। तर हप्ताको एकदिन भने मैले प्रोजेक्टरबाट अंग्रेजी फिल्म वा 'ग्याग' जस्ट फर लाफ' देखाउथे। बिध्यार्थिहरु खुशी हुन्थे।त्यो दिन उनीहरुलाई अंग्रेजी फिल्म "कराँते किड्स" देखाइरहेको थिए। केटाकेटीहरु ध्यान दिएर फिल्म हेर्दै थिए।
डरले मन ढक्क फुल्यो। यसो कुनापट्टी गएर फोन गरे। पहिलो रिङ्गमै फोन उठ्यो तर उताबाट "बा' भन्दा बितिकै फोनको आवाज थर्थरायो। प्रष्ट सुनिएन। ब्याकग्रउण्डमा कोहि रोए जस्तो, चिच्याए जस्तो सुने। फोन समाएको हात थर्ररर काप्यो। छातीको धड्कन बढ्यो। सास रोकिएला झैँ भयो। म सरासर बाहिर निस्के र आँपको बोट मुन्तिर गएर पुन; फोन लगाए। फोनको पुरा घन्टी गयो तर फोन उठेन। फेरी फोन लगाए। दोश्रो पल्ट फोन गर्दा बल्ल फोन उठ्यो। फोन उठाएर कसैसंग कुरा गर्दै हुनुहुदो रैछ। "टक्सारमा एम्बुलेन्स छ... फोन गर्न पर्यो ....यस्तै यस्तै कुरा हुदै थियो कसैसंग। धेरै बेर हेलो हेलो भनेपछि बल्ल दाई बोल्नुभयो। उहॉको आवाज काँपेको प्रस्ट सुनिन्थ्यो। "बा बेहोस हुनु भएको छ। धेरै बेर भयो होश आएको छैन। हामिले बुटवल लैजाने ब्यबस्था गर्दै छौ।त तुरून्त बुटवल आइज।” मैले के भयो? कसरि भयो? “ केहि पनि सोघ्न सकिन। थाहै नपाई मेरो पुरा शरिर थररर कॉपेको थियो। क्याम्पस प्रमुख पुरन बहादुर जोशी अलि पर केटाकेटीहरुलाई खै के भन्दै थिए। म सरासर उनि भएको ठाँउमा गएँ। बुवा बिरामी भएको र स्थिति अलि गम्भीर भएकोले आफु तुरुन्त जानु पर्ने कुरा बताएँ । उनले भने "हुन्छ तपाई गैहाल्नुस। पुगेपछि फोन गर्नुहोला।" उनि कडा मिजास भएका मान्छे थिए। परिस्थिति अनुसार छिटो निर्णय गर्न सक्थे। 'के मा जानुहुन्छ? मोटरसाइकलमा नजानुहोला," उनले भने।
म कक्षामा नफर्की सिधै अफिसमा गए। झोला र ह्यालमेट बोके। मोटर साइकल लिएर सिधै बसपार्क पुगे। हेटौडादेखि बुटवलको लागि कुनै पनि बस सिधै लाग्दैनथ्यो। एघार बजे एउटा बस जनकपुरदेखी आँउथ्यो भैरहवाको लागि। त्यो बसमा सिट बुक भैसकेको रहेछ। म संग दुइवटा उपाय मात्र थिए। लोकल बसमा चितवन सम्म जाने र चितवनदखि बुटवलको बसमा चढ्ने या मोटरसाइकल मै हुइकिने। लोकल बसमा जाँदा एक दिन पुरै लाग्थ्यो। बाटोमा रोकेर हैरान पार्थ्यो। त्यसैले प्रयाजसो बुटवल जाँदा म बाइकमै जान्थे। लगभग चार पाँच घन्टामा बुटवल पुग्थे। यस्तो बेलामा मोटरसाईकल त्यति सुरक्षति लागिरहेको थिएन मनलाई। अन्तत कुनै उपाए नभएपछि म बाइकमै जाने निधो गरे। जानु भन्दा पहिले एकपल्ट डेरामा गए। चिसो चिसो भएकोले ज्याकेट लगाए। हिड्नु भन्दा अघि एकपल्ट घरमा दाइलाई फोन गरे। उहाँहरुले बुवालाई एम्बुलेन्समा राखेर घरदेखि हिडाली सकेका रहेछन। बुवाको अझै होस् खुलेको थिएन। भाई निलम आमासंगै घरमा बस्ने भएछ। माइलो दाई बुटवलमा हुनुहुन्थ्यो। खेम भाई भर्खरै जापान गएको थियो। कान्छो भाई पनि बुटवलमै थियो। ठुलो दाजु भने दुबैमा हुनुहुन्थ्यो।
बुवालाई छ सात महिना अगाडी मेडिकल चेकअप पनि गराएका थियौ। प्रेसर, सुगर थिएन। उहाँलाई अलि अलि दमको रोग थियो। औषधी पनि लिइराख्नु भएको थियो। बिरामी हुनुहुन्थेन। दशैमा घरमा गएको बेला उहाँलाई थोरै चिन्तित देखेको थिए। कारण केहि थिएन। काम गर्न नसक्ने र काम गराउने मान्छे पनि नपाउने भएपछि हामीहरु मूल घरबारी सबै छोडेर बेशीमा बस्न थालेका थियौ। उहाँलाई त्यो पहिले देखि नै मन परेको थिएन। जिमिमा भएको खेतबारी पनि बाँजिएको थियो। लेकदेखि बेसी सम्म सबै जग्गा बाँजिदै जानु, राक्सेमा भएको बिस पच्चिस मुरी धान फल्ने खेतमा समेत काम गर्ने मान्छे नहुनु, भकारोमा भएको एउटा दुहुनो भैसी पनि घाँस काट्ने मान्छे नभएर बेच्नु परेकोले गर्दा उहाँको मन खिन्न भएको थियो। कुनैबेला भकारो भरि लैना बकेर्ना भैसी, दुइतिन हल गोरु, खोरमा चालिस पचासवटा बाख्रा पालेर बसेको मान्छे, अहिले आएर निर्धो जस्तो हुनु परेकोले उहाँको आत्मबल घटेको महशुश गरेको थिए मैले। तर छोरा छोरीको अगाडी उहाँले आफुलाई कमजोर कहिले पनि देखाउनु भएन। "छोरो भएर हिम्मत गर्नु पर्छ।आँट हुनपर्छ। जाँठो पानि मरुवाले केहि गर्न सक्दैन", भन्नु हुन्थ्यो बारम्बार। त्यति आँटिलो बाबा कसरि यति छिटै ढल्नुहुन्छ ? मैले बिश्वास गर्न सकेको थिइन।
बाटोमा गाडीहरु एकोहोरो कुदिरहेका थिए । एउटाले अर्कोलाई उछिनेरै अगाडी जाने होडमा देखिन्थे सबै साधनहरु। काठमाण्डौ देखी काकड़बित्ता, इलाम, जापा जाने लामो दुरीका बसहरु महाभारतको कुरुक्षेत्रमा जस्तै धुलो उडाउदै र बिकुल बजाउदै कुदेका थिए। लोकल बसहरुले कालो धुवाको मुस्लो छोड्दै भिरमौरीको चाका झैँ मान्छेहरु ढोकामा झुण्डाएर भागिरहेका थिए मानौ कि त्यहाँ कुनै महाप्रलय हुन गैरहेको छ। ट्रकहरुले साना गाडी अगाडी देख्यो कि पाँचसय मिटर टाडाबाट एकोहोरो हर्न बजाउदथे। मोटरसाइकल हावाको झोक्का संगै उड्न खोज्थ्यो। नारायणी नदि देखि मनोहरा खोलाको पुल सम्म दुइवटा दुर्घटना भैसकेको थियो। न आफ्नो लेनमा कुदेका थिए गाडी, न बाटो काट्दै गरेको मान्छेलाई रोकिदिन्थे।बाटोमा कुखुरा च्यापिएर मोर्यो भने टोलका भुस्तिग्रेहरु मुडा लिएर बाटो थुन्थे। दुइचारवटा गाडीका सिसा फोड्दथे। तर एम्बुलेन्स जाममा परेर बिरामीले बीच बाटामै ज्यान गुमाउदा बोल्ने कोहि हुदैनथ्यो। यस्तै थियो त्यहाँको चलन। म एकतमासले मोटरसाइकल हाँकिरहेको थिए। न भोक लागेको याद छ मलाई न तिर्खा।
"धेरै भाई छौ। सबै एकै ठाँउमा बस्नु पर्छ भन्ने छैन। कोहि भाई कता, कोहि भाई कता गरेर बसे हुन्छ। कोहि नेपाल बस्ने, कोहि जापान, जर्मनतिर गए हुन्छ। मान्छेका छोराहरु काँ काँ पुगिसके। अब तिमीहरुले कर्मकाण्ड सिकेनौ। मेरो लाइन समाउला भन्न परेन। अब मैले जति सक्छु त्यति गर्छु। सकिन भने यजमानले पनि दोष लाउदैनन। सात भाईमा एउटाले भएपनि मेरो पिडो थामेको भए मलाई पनि अलि सजिलो हुन्थ्यो। अब त्यो आशा पनि मोर्यो। मैले यजमान गरेरै तिमीहरुलाई हुर्काए, बढाए। तिमीहरुको कापी किताप त्यसैबाट चलेको हो।अलिअलि आसमिहरु पनि छन्। पुस्तौ देखि चल्दै आएको कर्मकाण्ड कहिले पनि रोकिदैन। सबै कुरा छोडे पनि मान्छेले जन्म र मृतु संस्कार छोद्दैन। अझै पनि सिके हुन्छ। केहि नभए न्वारन र तिथि स्रद्ध गराउन सिक्यो भने आफ्नो धर्म नासिन्न", परारको साल दशैमा घर गएको बेला भन्नु भएको थियो बुवाले।
यदि बुवा बच्नु भएन भने गावै सुन्य हुनेछ। हैन यस्तो पाप सोच्न हुदैन। बुवालाई होश पो आइसक्यो कि ?" भण्डाराको पुल काटेपछि बाटोको छेउमा बाइक रोके। दाईलाई फोन लगाए। फोन उठेन। बाटोमा नेटवर्कले काम गरेन होला। त्यपछि बुटवल माइलो दाईलाई फोन गरे, फोन उठ्यो तर आवाज सुनिएन। ज्वाईलाई लगाए। फोन उठ्यो र कुरा पनि भयो। "बुवाको एकातिरको भाग चल्दैन रे। होश पनि खुलेको छैन रे। मजुवाखोला तिर आउदै हुनुहुन्छ ", ज्वाइले भन्नु भयो। छातीमा ठुलै ढुङ्गोले थिचे जस्तो भयो। तल्लो ओठ टोकेर बल्ल बल्ल आँशु थामे। उहाँले पनि 'बाटोमा नआत्तिकन आउनुहोला। हामि छौ यहाँ। के कसो गर्ने सल्लाह हुदै छ' भनेर फोन राख्नुभयो। उहाँ पनि हतासिएको मैले बुझे। 'हस' भनेर मैले फोन काँटे।
"उठ। जाने बेला भयो। डाँडा माथि घाँम आइसके। भीरको खर सुकेको छ। खेतरा बोलाएको छु। तल तलको सबै बान्नु। चाडै सकियो भने अलिकति बोकेर पल्लो गोठाँ राखे हुन्छ।" ज्यादै दुब्लो देखिनुभएको थियो बुवा। कपाल मुडुलो थियो। सेतो कछाड भिर्नु भएको र कम्मरमा पेटी खुकुलो देखिएको थियो। त्यति भनेर उहाँ पछाडी फर्कदा लामो सर्प जस्तो बस्तु मेरो बेडतिर आए जस्तो देखे। म तर्सेर उठेछु। घडीमा बिहानको तिन बज्न लागेको थियो। मुटुको धड्कन शिरक भित्र प्रस्टै सुनिएको थियो। धरै बेरसम्म निन्द्रा लागेन। उठेर पानी पिए। शिरानिमथिको रयाकमा डायरी थियो। सपनाको न्यारेटिभ लेखे। मैले अनौठा प्रकृतिका सपनाहरु उतिबेलै डायरीमा नोट गर्ने गर्दथे। अस्ति दशैमा घरमा जाँदा बुवालाई पहिलेको भन्दा दुब्लाएको देखेको थिए। "तेरो बाउ सक्किनु भएको छ ऐले। मनमा नचाइदो राँडो बोकेर हिनुन्च। भैसीले दुध पनि सुकायो।लैनो भैसी किन्नलाई घाँस काट्ने मान्छे पनि छैन। हे बाय! पाखुरीमा बल नभएपछि टुलुटुलु हेर्नु सिबाए केहि हुदोरैन्च। एक दुई माना बेसायर ख्वाउन पाए अलि फर्किनुन्तो कि !मरिजाम कसैले बेच्देनन अहिले। कतै पाइयो भने पनि दाल्दा हो कि के जाति मिसाउचन रे", आमाले भन्नुभएको थियो। "तिघ्रा सिग्रा सकिएर मुठीभरका भएका छन्। चिल्लो घस्दा थाहा पाइनस् हिजो ? त्यस्ता हुन् र तिनी तिघ्रा? कस्ता डमक्क परेका तिघ्रा, सर्लक्क परेको ज्यान थ्यो तेरो बाउको। कतैबाट घरमा आउदा चौपारीमै आउदा थाहा पाउथे मैले डम डम गर्दै हिडेको।गोडा माड्दा एकैछिनमा हात गल्थ्यो मेरो। अहिले त हाड छाला मात्रै छ। दमले गर्दा पनि हो कि", आमाले आँगनमा बसेर बत्ति कात्दै गर्दा मलाई भन्नु भएको थियो।
सोच्दा सोच्दै नारायणगड बजारमै पुगीसकेछु। बाटोमा कतिवटा बजार बस्ति काट्दै आँए होश भएन। हाकिम चोकमा रिक्सा, साइकल, टेम्फु मिश्रित जंगलमा रोकिदा मात्र होश खुल्यो। फेरी मन डरायो। कतै बेसुरमा बाइक चलाएको बेला दुर्घटना भयो भने अर्को विपद आइलाग्न के बेर। धेरै मान्छेको जिबनमा एउटा विपद आइलागेको बेला अर्को थपिएको देख्दै र सुन्दै आएको थिए। बिरेन्द्र क्याम्पसको अगाडी बर पिपल हो कि के को रुख मुनि बाइक रोके। मदेशीमुलका दुईजना दाजुभाइले उखुको रस बेच्दै थिए। उखुको खोस्टामा झिंगाको साम्राज्य नै थियो। जे सुकै भएपनि एक गिलाँस जुस पिए। एकछिन चौतारीमा बसेर घरमा फोन गरे। आँमासंग कुरा गरे। खै बाय, लैजान त लए। तेरो बाऊ बाच्नोला जस्तो लाएको छैन", भन्दै रुनुभयो। "केहि हुदैन। म पनि जादैछु। बुटवलमा भएन भने काठमान्डौ लैजान्छौ। सन्चो हुन्छ। नरुनुस," मैले भने। तर आमा मैले सोचेभन्दा बलियो भएको महशुष गरे मैले।" गुरु महाराज अर्थात् प्रेम पल सिंह राउतको प्रबचनहरु सुन्न थाले देखि आमामा धेरै परिबर्तनहरु देखेको थिए। उहाँले मृतुलाई त्रसादिको रुपमा हेर्न छोडिसक्नु भएको हो। बेलाबेलामा भन्नु हुन्थ्यो," महाराजजी को ज्ञान लेऊ, उहाँको प्रबचन सुन। कस्ता कस्ता राम्रा कुराहरु गर्नुहुन्छ।"
"बुवा के गर्दै हुनुहुन्थ्यो ? कसरि भयो एक्कासी यस्तो ? मैले सोधे।
"तुन्डाँडा बाट भैसी किन्नलाई बाका साथीहरु आएका थिए। सेनाले पठाएको रैच। छिनोफानो गरे। मैले खाना बनाउदै थे भित्र। उहाँहरु आँगनमा कुर्चिमा बस्नुभएको थियो। बा पनि मैराको छेउमा कुर्चीमा बस्नोको रैच। मैले खान बोलाएपछि "लौ जाम भित्र खाना खान" भनेर कुर्चीबाट उठ्दा उठ्दै बर्लङ्गै ढल्नु भएच। एक्कासी मान्छे चिच्याएपछि म बाहिर जाँदा त फुर्सा आँखा पल्टाईसक्नु भएको थियो। मैरोतिर मन्टो परेको थियो", भन्दा भन्दै आमा सुक्क सुक्क गर्न थाल्नु भयो। " नरुनुस, सुकौराबाट निलम पनि आउदै होला बाटोमा।उसलाई घरमै बस्न भन्नुहोला। यता हामि हुन्छौ। दाईहरु मजुवा काटीसक्नु भएको छ रे। म पनि बाटैमा छु ", भनेर फोन काटे मैले।
रिक्साहरुको एकोहोरो किरिङ्ग किरिङ्ग आवाज, गाडीहरुको ट्या ट्या र टु टु र सडके ब्यापारीहरुको बिज्ञापनले नारायणगड बजार कम्पित बनेको थियो। सडकको धुलो र धुवाले आकाश छोपेको थियो। एक हुल भुस्याँ कुकुरहरु कवाडी जम्मा गर्दै हिडेको सडक बालकको पछि पछि लुरु लुरु हिड्दै थिए। पन्डोराको बाकसभित्र झैँ अनेकन रहस्यात्मक कथाहरु असरल्ल थिए सडकभरि। कथाको एउटा रहस्य बोकेर हिडिरहेको थिए म। नारायणी पुल काट्दै गर्दा देबघाट को सम्झना बल्झ्यो टाँउको भित्र। "बरा यिनीहरुका पनि छोराछोरी त थे होलान नि। घर थियो होला। आज एक्लै कुटीमा काल कुरेर बसेका छन् यी बुढाबुढीहरु ", दुई बर्ष पहिले घुमाउन ल्याएकोबेला आमाले भन्नु भएको थियो। "बुढेसकालमा हाम्लाई पनि यहि ल्याएर छोड्ने त होलान् यिहरुले", बुवाले हाँस्दै मलाई हेर्नु भएको थियो। चितवन निवासी मेरो साथि रघुनाथ ढकाल हामीसंगै गएका थिए। "ठाँउ देखाउन ल्याको पो हो कि के थाहा भयो र बुवा ?" भन्दै ठट्टा गरेका थिए। बुवाको गफ गर्दा गज्जबको सेन्स अफ ह्युमर थियो। बालक देखि बृदा सम्मलाई ठट्टा गरेर हसाउनुहुन्थ्यो। खेत रोप्ने बेला खेतारिहरु होस् या खर काट्ने बेला खेतलाहरु बुवा मेलामा भएको बेला हाँसी हाँसी काम सक्थे। तर डर पनि उतिकै मान्थे। बुवा नजिक भएको बेला कसैले काम ठग्ने आँट गर्दैनथ्यो। पुजा पाठ गर्न गएको बेला होस् या बैठक बसेको बेला, यदि घरमा खेतराहरु छन् भने बुवा एक पल्ट त्यहाँ जसरि भएपनि पुग्नुहुन्थ्यो। त्यसैले कामठगहरु चनाखो भएर घरि घरि बाटोतिर हेर्थे। तर छोराहरुसंग भने अलि कडा स्वभाब देखाउनुहुन्थ्यो। आमासंग मिठो स्वरले बोलेको मलाई थाहा छैन। जैले रुखो स्वर हुन्थ्यो। हामी अलि ठुलो भैसकेपछि भने बुवालाई सम्झाउथेउ। "मायाँ गर्ने भनेर के लप्लपी चाट्ने हो उसलाई", भन्नुहुन्थ्यो । तर मनमा चाँहि असाध्य माया थियो। कुनै दिन आँमा घाँस काट्न भीरतिर जानुभयो भने उहाँ घर नआउन्जेल बुवाका आँखा उतै हुन्थे। अलि ढिलो भयो भने," म एकछिन बारितिर निस्कन्छु", भनेर आँमालाई खोज्न पुग्नुहुन्थ्यो। केहि सल्लाह गर्नु पर्यो भने' बिहानपख ओंक्षानमा गुनगुन गरेको सुनिन्थ्यो। चौपाया किनबेच गर्दा होस् या घर बनाउदा, भैसीका पाडा पाडी पाल्न कसैलाई दिदा होस् या रोपाइको दिन तोक्दा हाम्रो अगाडी आमासँग सल्लाह गरेको थाहा छैन मलाई। कुनै पनि स्थितिमा एकदम छिटो निर्णय गर्नुहुन्थ्यो। गाउँघरमा कतै झैझगडा भयो भने बुवासंगा उजुरी हाल्न आउथे। कुनै बेला दुवै पक्षका मान्छे एकै चोटी पर्न जान्थे। बुवाले आगनमा बसेर मिलापत्र गर्दिनुहुन्थ्यो। राम्रो संग भनेर नमाने थर्काएर पनि मिलापत्र गराउनुहुन्थ्यो। स्कुल, मन्दिर, पाटीपौवा, सांकृतिक कार्यक्रम जहाँतही बुवाको उपस्थिति र सहयोग हुन्थ्यो। म सानो हुदा बुवा गाँउको राजा हो जस्तो लाग्थ्यो। सबैले नमस्कार गर्ने। धेरैले खुट्टामा ढोगीदिने। सल्लाह सुझाब माग्ने। आपतबिपद पर्दा पैसा, अन्न लैजाने। कार्यक्रमहरुमा अगाडी बोलाएर कुर्चीमा राख्ने।
कावासोती बजार नपुग्दै अलि वरै मान्छेहरुको भिडभाड रहेछ।हाट लाग्दै थियो क्यारे। स्पिड अलि कम गरे। कावासोती बजारको गेट नजिकै एउटा कुकुरले बाटो काट्दै गरेको देखे। मैले उसलाई बाटो छोडीदिएर अर्कोतिरबाट अगाडी बढ्दै थिए। पश्चिमतिरबाट आउदै गरेको बसले जोडसँग हर्न बजायो। कुकुर फरक्क फर्कियो र मेरो अगाडिको टायरमा आएर ड्याम्म ठोकियो। मैले कसो कसो गरेर बाइक ढल्नबाट जोगाए। कुकुर काईकाई र कुईकुई गर्दै बाटोको छेउमा खुट्टा खोच्याउदै गयो। मेरो च्यापु कसरि लुकिङ्ग ग्लासमा ठोकिन पुगेछ सिसा नै बांङ्ग्गिएछ। एक धर्सो रौ बराबरको दुरीबाट बस हुत्तिदै गयो। ओरिपरिबाट मान्छेहरु सडकमा आउदै थिए। मैले एक्सिलेटर जोडसंग बटारे। धेरै पर पुगेपछि बाइक रोके र सिसा मिलाए। च्यापु जोडसंग दुखेको थियो। नयाँ जिबन प्राप्त भएजस्तो लाग्यो।अलि बढी स्पिडमा भएको भए भन्न सकिने थिएन। जिबन नै नयाँ हो कि झैँ गरेर चंगा भयो।हामि कैयौ पल्ट आफ्नै बेहोशिका कारण दुख पाउछौ र त्यहि दुखबाट छुट्कारा पाउना साथ् आफैलाई भाग्यमानी ठान्छौ। धेरै दुख हामीले आफै सृजना गरेका छौ जस्तो लाग्छ मलाई। जीवनभर हामीले आफ्नो असफलतामा, आफ्नो हारमा, आफ्नो दुखमा अरुलाई दोष दिन्छौ। आफुले आफ्नो गल्ति स्वीकार गर्दैनौ। सत्यलाई आत्मसाथ गर्न सक्दैनौ। यसै कारण हामि खुसि हुन पनि सक्दैनौ।
बाइक स्टार्ट गर्दै थिए फोनको घन्टी बज्यो। स्ट्यान्ड लगाँए र फोन उठाँए। साइलो दाइले गर्नु भएको थियो। उहाँहरु रिडी बजार आइपुगेको र बुवाको स्लाइन फेर्न मेडिकलमा रोकिएको बताउनु भयो। "बुवाले दाइने हात र दाइने खुट्टा मात्र चलाउनु हुन्छ। स्वासप्रस्वास नियमित छ। मान्छे चिन्ने, बोल्ने केहिपनि गर्नु हुन्न। हामि सिधै बुटवल आउछौ", उहाँले भन्नु भयो। मैले साथमा को हुनुहुन्छ भनेर सोध्दा छिमेकीहरु टोपनारायण अर्याल र अर्जुन अर्याल साथमा भएको बताउनु भयो। पाको मान्छे त्यो भन्दा पनि आफ्नै नजिकको मान्छे साथमा हुनुहुदो रैछ। अलि भरोसा भयो। अशल छिमेकी वा आफन्त यस्तै बेला त रैछ चाहिने।सधैभरि छोरा छोरीनै साथमा हुन्छन भन्ने हुदैन। सात भाई छोराहरु मध्य एक भाई पनि घरमा थिएनौ बुवा ढल्ने बेला। नजिक भएको साइलो दाई खर्बांङ्ग पशलमा हुनुहुदो रैछ करिब दश मिनेटको दुरीमा। घरबाट फोन आउनासाथ् तुरुन्त राक्से गएर बुवालाई जिपमा राखेर खर्बाङ्ग मेडिकल लग्नुभएछ। गाउकै एकमात्र डाक्टर थिए नारायण धिताल। उनि हाम्रो लागि फेमली फिजिसियन भन्दा पनि हुन्छ। कुनै बेला काठमान्डौमा बिशेषज्ञ डाक्टरलाई देखाउदा पनि उसले दिएको औषधि नारायण धितालजी लाई नदेखाई खानुहुन्थेन बुवा आमा।नारायण धितालले बुवाको प्रेसर चेक गरेछन। दुइ सय बिष थियो रे। स्लाइन चडाएर तुरुन्त पाल्पा या बुटवल लैजान भनेछन। टक्सारमा भएको एउटा एम्बुलेन्स बिरामी बोकेर तम्घास गएको रहेछ। पिकअप भ्यान रिजर्भ गरेर तुरुन्त त्यहाँबाट हिडाउनु भएछ। दाइले यी सबै कुराहरु भन्दै गर्दा लाग्यो कस्तो ठाँऊमा बसेका रहेछौ हामि। न बिशेषज्ञ डाक्टर छन् न एम्बुलेन्स छ। सबैभन्दा नजिकको अस्पताल पुग्न पनि लगभग एक दिन लाग्छ। बाटोमा खाल्डाखुल्डी मात्रै छन्। धन्न कसरि स्लाइन पानि संगै रिडीसम्म आइपुग्नु भएछ। मोटर बाटो पुगेको ठाउँको अवस्था त यति दर्दनाक छ भने जहाँ दोहोरो मान्छे हिड्ने गोरेटो बाटो सम्म छैन, तिन चार दिन लगातार हिडेर सदरमुकाम पुग्छन मान्छेहरु उनीहरुको अवस्था कस्तो होला। मनमा थकथकी लाग्यो।
अघिको घटनाले मलाई सचेत बनाएको थियो। बाइक चालिसको स्पिड भन्दा माथि लगिन। दाउन्नेको घुमाउरो बाटो काटेर दाउन्ने देवी मन्दिरतिर उक्लने बाटैनिर बाइक रोके। बाटैबाट मन्दिरतर्फ फर्केर मनमनै देबीको प्राथना गरे। बुवाको स्वास्थ्यलाभको कामना गरे। खै किन हो कुन्नि जब जब जिबनमा संकट आइलाग्छ त्यतिबेला भगवान प्रति बिश्वाश बढ्दोरहेछ। कैयौपल्ट हिडेको त्यो बाटोमा मन्दिर छ भन्ने सम्म थाहा थिएन। पछि मात्र थाहा पाए नवलपरासीको दुम्कीबासमा रहेको त्यो मन्दिर श्री ३ जंग बहादुर राणाले स्थापना गरेका रहेछन। पौराणिक कालमा दाउन्ने पहाडलाई 'त्रिकुट पर्बत' को नामले चिनिदो रहेछ। यो ठाउँमा बाल्मिकी ऋषी र शाक्यमुनि बुद्धकि माता मायादेवीले समेत तपस्या गरेको किम्बदन्ती सुन्नमा आउछ। हरेक वर्ष बिशेष गरेर श्रावण महिनामा यहाँ भक्तजनहरुको भिड लाग्ने गर्छ । राक्सेमा पनि हालै शिबालयको मान्दिर बनेको थियो। त्यहाँ बुवाले हरेक दिन बिहान पुजा गर्नु हुन्थ्यो। दगाको दुर्गा भगवतीको मन्दिरमा पनि बुवा नवरात्रभर पुजारी बनेर मन्दिरमै बस्नुहुन्थ्यो। मुर्तिहरु र धजै धजाले भरिएको त्यो मन्दिर मैले कखरा पढेको स्कुलको आगनमै पर्दथ्यो। मलाई ढोका भित्र हेर्न सम्म डर लाग्थ्यो। अहिले सम्म थाहा छैन कसरि मेरो मनमा त्यो डर पस्यो भन्ने। एकजना मगर र एकजना बाहुन पुजारी बस्ने त्यो मन्दिर त्यो क्षेत्रकै सांकृतिक धरोहर मानिन्छ। बडादशैको दिन गाँउभरिका मान्छेहरु टिका लगाउन त्यहाँ भेला हुन्थे। सबैले बुवाको हातको टिका थाप्थे। दुई तिन वर्षजति भयो बुवा पुजारी नबसेको। हामि थाँनबाट राक्से बसाई सरेदेखि नै बुवाले पुजारी बस्न छोड्नुभएको थियो। त्यो अन्तिम वर्ष बडा दशैको दिनको घटना अझैपनि मेरो मानसपटलमा जिउका तिउ छ।
टिकाको साइत एघार बजेर पन्द्र मिनेटमा थियो। हामि सबै टिकाको थाली बोकेर मन्दिर गएका थियौ। पुजापाठ सकेर, शुभ साइतमा बाजा गाजा सहित मन्दिरको ढोकामा टिका लगाइन्थ्यो।सबैले पुजारी संग टिका ग्रहण गर्थे। त्यसपछि आफूभन्दा ठुलाबडाहरुसंग बाट टिका साटासाट गर्ने चलन थियो। टिका लगाइसकेपछि एकैछिन सराँय नाँच पनि हुन्थ्यो। त्यो दिन माहोल अलि फरक भयो। मावोबादी आन्दोलनले दलित भनेर बोलाइने दाजुभाईहरुको चेतना जगाएको थियो। दलितहरुले मन्दिरमा पुजारीको हातबाट पहिले कहिलेपनि टिका लगाउदैनथे। एक दुइ जना नेपालि र बिश्वकर्मा थर भएका भाइहरुले पुजारीले आफुहरुलाई पनि टिका लगाइदिनु पर्ने भनेपछि बिबाद शुरु भयो। एकैछिनमा विवाद चर्केर हात हालाहालको स्थितिमा पुग्न लागेको थियो। बुवा मन्दिरको माथिपट्टी सिडीमा उभिएर टाँठो स्वरमा भन्नुभयो," म यो मन्दिरको पुजारी हुम। सबैकुराको परिबर्तन एकैचोटी गर्न खोजेर हुन्न । मैले कसैलाई पनि टिका लगाईदिन्न। सबैलाई हात हातमा टिका दिन्छु आफै लगाउ", भनेपछि माहोल अलि शान्त भयो।
हामि दलित बस्तीमै थियौ। धेरैजसोले बुवाले भनेको कुरा काट्न सक्दैनथे। जातपातमा बुवा कट्टर भएपनि छिमेकिहरुमा पारिबारिक संबन्ध जस्तै थियो। उनिहरु घरमा आउदा टाडै बस्थे। चिया, पानि, खाना खाएको भाडा आफै माझ्थे। हामि भित्र भएको बेला बाहीर बसेर झ्यालबाट भित्र हेर्थे। झ्यालबाटै गफ गर्थे। बुवा घरमा भएको बेला पिडिमा भएको पुरानो खाटमाथि गुन्द्री राखेर बस्नुहुन्थ्यो। दलित छिमेकीहरु दलानमा बस्थे। उनीहरुलाई बस्न दिने चकटी मकैको पोस्करबाट बनेको गोलो आकारको हुन्थ्यो। परालको चकटीमा सम्म बस्न पाउदैनथे।तर पछि पछि जातभातको बारेमा जनचेतना बढ्दै जान थाले पछि उनीहरुलाई गुन्द्री सम्म दिन थालियो। आमा भने यो मामिलामा अलि लिबरल नै हुनुहुन्थ्यो। उनीहरुलाई पानि दिने लोटा सधै बाहिर हुन्थ्यो। तर पछि पछि आमाले भित्रबाटै अम्खोरमा पानि दिने गर्न थाल्नु भयो। उनीहरुले गिलासमा पानि खान थाले।अमर बि क हाम्रो घरमा बाख्रा घाँस गर्नलाई सहयोगीको रुपमा बस्थे। हामी धेरै साना थियौ। रातिमा बुवा उनिसँग राम हेर्न नौटुवा, ओबाङ्ग, राँय, सक्न्यार, ग्वालीचौर, खार बजारसम्म पुग्नुहुन्थ्यो रे। "तिम्रा बा त बैशमा सारै झिल्के हुनुन्तो। तरुनीहरुसँग सल्ला गरेर हाम्लाई साथि लेर जनुन्तो। सारै बाठो मुन्छे।एउटीलाई त घरमै ल्यार आउनुथ्यो पछि बर्जुले लाखट्नो", अमरे बिक ले बेला बेला सुनाउथे। बुवा रसिक स्वभावको हुनुहुन्थ्यो भन्ने कुरा त गाँउका बुवाका दौतरीहरु धेरैले भन्थे। बुवा संग एउटा जिप लाइट र एक जोडी नयाँ एभरेस्ट ब्याट्री हमेसा साथमा हुन्थ्यो। कतै गाँउमा बैठक, कचहरी, पुजापाठ गर्न जादा आफ्नो झोलामा टर्च लाइट कहिले पनि छुट्दैनथ्यो। बुवा छाताको पनि निकै सौखिन हुनुहुथ्यो। घरबाट बाहिर निस्कदा हमेशा छाता पछाडी झुन्ड्याउनु हुन्थ्यो। उकालोमा हिड्दा प्रायजसो गर्दनमा छाँता तेस्रो पारेर त्यसको ओल्लो पल्लो छेउहरुमा आफ्ना दुवै हाँत अडाएर हिड्नुहुन्थ्यो।
सधै जस्तो आस्कोट लगाउनुहुन्थ्यो। गोरो छाला, टलक्क टल्कने निधार, घुम्रिएको छोटो कपाल र त्यसमाथि पाल्पाली ढाका टोपी असाध्य सुहाँउथ्यो बुवालाई। प्रायजसो सेतो सर्ट, त्यमाथि कालो आस्कोट र तलपट्टी सेतो धोति लगाउनुहुन्थ्यो। पछि पछि भने पाइन्ट लगाउन थाल्नु भएको थियो। आस्कोटको बाहिरि पकेटमा प्लास्टिकको डिब्बा भित्र देउराली चुरोटको बट्टा हुन्थ्यो सधैजसो।उहाँ चुरोटको अम्मली हुनुभयो धेरै बर्ष सम्म। तिन बिस कटेपछी बुवालाई दमले फेला पार्यो। आँमा र दाईहरुले उहाँलाई बारम्बार चुरोट छोड्न अनुरोध गरेपनि धेरै दिनसम्म उहाँले कोशिस सम्म गर्नु भएन। उहाँ आफ्नो कुरामा आडिक रहने स्वभावको हुनुहुन्थ्यो। आँमालाई उल्टै, "तेरो सम्पति खाईदेको छु र जान्नी हुन्छेस", भनेर हप्काउनुहुन्थ्यो। ठुल्दाई धेरै जसो बिदेसतिर बस्नुहुन्थ्यो। माइलो दाजुले भन्दा अलिकति सुने जस्तो गर्नुहुन्थ्यो खासै फलो गर्नुहुन्थ्यो। हामि युनिभर्सिटी पढ्ने हुदासम्म पनि बुवाले न कुनै कुराको सल्लाह माग्नुहुन्थ्यो न भनेकै सुन्नुहुन्थ्यो। उहाँ आँफ्नो निर्णयमा पूर्ण जिम्मेबारी ल्याउनुहुथो। झिना मसिना कुराहरुमा अरुलाई दोष लगाउनु स्वाभाविक नै हुन्थ्यो।
आस्कोटको भित्रि गोजीमा वालेट हमेसा हुन्थ्यो। त्यसमा दुइचार हजार पैसा कहिले पनि टुट्दैनथ्यो। आस्कोट हमेशा सिरानीमा हुन्थ्यो। घरको मुलढोका बाहिरपट्टि दलानको भित्तामा काठको किल्ला ठोकेर बुवाको कपडा र छाता झुन्ड्याउने बनाएको थियो। कहिलेकाँही बाहिरबाट आउदा आस्कोट पनि त्यहि झुन्ड्याउनुहुन्थ्यो। मैले कैयौ पल्ट आस्कोटको गोजीमा पैसा चेक गरेको छु। चोरेको चाँही याद छैन। चकलेट, मिठाई भने झिक्थे, तर बुवा थाहापाइहल्नुहुन्थ्यो। " त्यसको अर्को पट्टिको काँठको किल्लामा नाम्ला र दाम्ला झुन्ड्याउने गरिन्थ्यो। बुवा घरमा एकैछिन पनि खालि बस्नुहुदैनथ्यो केहि न केहि गर्नुपर्ने। कहिले जुटको पटुवाबाट नाम्ला, दाम्ला बाट्नुहुन्थ्यो भने कहिले निगालोको चोया काटेर डोका बुन्नुहुन्थ्यो। कहिले गाईको भकारो मिलाउने त कहिले भैसीको। कुन भैसीको दाम्लो चुडिन लागेको छ, कुन भैसीको भकारो हल्लेको छ बुवालाई सबै थाहा हुन्थ्यो। "जाँठा पानि मरुवाहरु, यात्रा भाई घरमा भएर पनि भैसीले दाम्लो चुडालेको होस् छैन। मान्छेका छोराले कस्ता राम्रा दाम्ला बाट्छन्, नाम्ला बुन्छन्। यी जाँठाहरुलाई केईकुराको स्वाद छैन ", भन्दै दाम्लो निकालेर गोठतिर निस्कनुहुन्थ्यो। भैसीको दाम्ला फेर्ने, शरीरबाट किर्नो झिकिदिने, भकारो मिलाउने, ढुङ्गा बोकेर आगनको डिल मिलाउने काम बुवाले नै गर्नुहुन्थ्यो। भैसी र गोरुलाई नुन खुवाउने काम जोसुकैले गर्न सक्दैनथ्यो। बुवा आँटिलो हुनुहुन्थ्यो। हाम्रोमा फुर्के र लाले नाम गरेका एक हाल गोरु धेरै वर्ष रहे। बुवाले च्याप्प सिङ्गमा समातेर देब्रे कोखिलोमा टाउको अड्याई दाइने हातले मुख खोलेर नुनका डल्ला खुवाउनुहुन्थ्यो।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home