संस्मरण (V)
धन बहादुर बि क अल्पभाषी थियो । उ बोल्दा बिचमै सास् थुनिन्थ्यो र धेरैबेरमा खुल्थ्यो। उसको पहिलो बिबाह भत्केपछि दोश्रो बिहे गरेको थियो। चल्ला चल्लीसंगै कसैको श्रीमती उठाएर आएको थियो लेकतिरबाट। घरमा बुढी आमा थिईन। भाईहरु भारतमा नोकरी गर्न गएका थिए। पहिलो श्रीमतीबाट सन्तान नहुदा धेरैले उसको पुरुष अंगलाई दोष लगाउथे। "बुढीलाई खुशी पार्न सकेन त्यसैले हिडी अर्कोसँग", यस्तै कुरा गर्थे पधेर्निहरु। उसले दुई चल्लाकि माउ नै ल्याउदा चाहि "ऊ आफुले पाउन नसकेर अर्काको गोठै उठाएर ल्यायो", समेत भने। जसले जे सुकै भने पनि उसको घर ठीकठाक चलेको थियो। खेतबारीमा काम गर्ने बलियी बुहारी पाउदा धनेकि आमा पनि खुसि थिई। "अलक्षिनी थिई पहिलाकी त। गै खुब ठिक भयो। यस्ती असल बुहारी लेखेको रैच मेरो कर्ममा' भन्दै हिद्थी ऊ पनि।
बिहे गरेको चौथो महिनामा अशान्ति शुरु भयो त्यो घरमा। अशान्तिको कारण मान्छे थिएन। कोहि अदृश्य शक्ति थियो। बेलुका अध्यारो हुदा नहुदै कसैले घर वरिपरि सिठ्ठी बजाउदै हिड्न थाल्यो। गर्दा गर्दै ढोकामा आएर लठ्ठी भुइमा ठोके जस्तै गरि "ढक ढक' 'ढक ढक' गर्न थाल्यो। पहिलो एक दुइ दिन उनीहरुले कसैसंग कुरा पनि गरेनन्। जब आफै बत्ति लियर बाहिर जान्थे, त्यहाँ कोहिपनि हुदैनथ्यो। तेश्रो दिन बाहिर जाँदा बत्ति नै निभाई दियो। त्यसपछि उनीहरुले गाँउलेहरुलाई खबर गरे। धने एकाबिहानै आएर बुवा संग घटनाको बारेमा सविस्तार सुनायो। बुवाले 'कसैको आत्मा घुमेको हुन सक्छ। कतै इन्डियामा भाइहरुलाई केहि दुर्घटना भयो कि बुझ्न सम्म भन्नु भयो। अर्को दिन आधादिन हिडेर मुसिकोट पुगी इन्डिया भाइहरु संग कुरा गरेछ धने ले। सबै ठीकठाक रहेछन। त्यो दिन देखि गाँउबाट मान्छेहरु बेलुका त्यो रहस्यमय घटनाको बारेमा बुझ्न र उनीहरुलाई साथि दिन आउन थाले। बुवा पनि जानु भयो दुई तिन दिन सम्म। प्रत्यक दिन सिठ्ठी बजाउदै हिड्ने र कहिले लठ्ठी ठोके झैँ त कहिले मान्छे हिडे झैँ आवाज आई नै रहेछ। कसैले बत्ति बाल्यो भने पनि बत्ति निभाईदिने रहेछ।
एक दिन बुवाले धनेलाई घरमा बोलाउनु भयो। " हेर जेठा, यो कुनै मसानको खेल हुन सक्छ। तेरो घरमा भूतप्रेतले बास गरेको छ। सिसाखानिमा एकजना खुबै नाम चलेका लामा छन् रे। भोलि नै गएर बोलाएर आइज।यदि तलाई अलिअलि पैसो चाहिन्छ भने मसँगबाट लैजा। पछि काम गरेर कटाउलास्", भन्दै आस्कोटको भित्रि गोजीबाट सय सयका दुइटा नोट दिएर पठाउनु भयो।
अर्को दिन सिसाखानीबाट दुइजना लामाहरु ढेंन्ग्रो बोकेर आए। लामा लामा लट्टासहितको कपाल, चिम्सा आँखा गरेका दुईजना नै दुई बिस काटेका जस्ता देखिन्थे। अक्षता, पाती,अंगार, काला, सेता धजा अगाडी राखेर ड़ेंग्रो बजाउदै कुर्लिन थाले उनीहरु। त्यो दिन नजिकको गाँऊबाट पनि मान्छेहरु ओइरिएका थिए मसान हेर्नलाई।मध्यरात सम्म ढेन्ग्रो ठोक्दै थिए उनीहरु तर सिठ्ठी बजाउने र ढुक ढुकको आवाज रोकिएन। त्यहाँ आएको मध्य एकजना थियो काले सार्की। ऊ आफूलाई देबी उत्रेको भनेर दाबि गर्दै हिड्थ्यो गाँउमा। आफुलाई नबोलाएर आरुलाई बोलाएकोमा उसलाई रिस उठेको थियो। त्यसैमा पनि रातिसम्म मसानको गतिबिधि नरोकिदा उसको घमण्ड झन् बढेछ। त्यतिकैमा ऊ काम्न शुरु गरेछ। कतिपय मान्छेहरु डरले हिडेछन्। ऊ सरासर भित्र गएछ र अगेनाको डिलमा आगो ताप्दै गरेकी बुहारीलाई च्याप्प समातेर "यो बोक्सिनी हो। यो सबै नौटंकी यसैले रचेकि हो" भनेर उसलाई जल्दै गरेको आगोमा हालेछ। ऊ आगोले पोलेर चिच्याउन थालिछ। मान्छेहरुले उसलाई समातेर थाममा बानेर राखेछन् रातभरि।
लामाहरुले भने काम्दै गएर घरको पश्चिमपट्टिको जगमा मान्छेको हड्डी गाडेको छ भनेर खन्न पठाए। नभन्दै त्यहाँ हड्डी भेटिएछ। अर्को दिन बिहानै कुखुराको भाले बोकेर उनीहरु घर फर्के।
आगोले पोलियाकी बुहारीलाई सामन्य घरेलु उपचार गरेछन। अर्को दिन यसै बिषयमा कचहरी बस्यो। म पनि हेर्नलाई गएको थिए साथीहरुसंग। उसलाई सबैले किन त्यसो गरेको भनेर सोध्दै थिए। कसैले चौकीमा लयर जाक्न पर्छ पनि भने।
उसले आफुलाई देबी उठेको। उनीहरुलाई बोलाउदा देबिले क्रोध उत्पन्न गराएको र त्यसले गर्दा घटना घट्न गएको कुरा भन्यो। बुवाले सभा कचारिमा उपयुक्त सिलोक या कुनै नैतिक शिक्षा दिने पौराणिक कथा सुनाएर सबैलाई सन्देस दिनुहुन्थ्यो। त्यो दिन उसलाई सजाय तोक्नुभन्दा अगाडी एउटा कथा सुनाउनुभएको थियो।
"सबैले ध्यान देर सुन। बिचमा कोहिपनि नाबोल्ला। एकादेशमा अम्बरिष नाम गरेको राजा थियो । उ एक कठोर बिष्णु भक्त थियो। उसको भक्तिबाट खुशी भएर बिष्णु भगवानले उसलाई आफ्नो सुदर्शन चक्र दिनुभएको थियो। यसको साथै उनलाई अपराजित हुने आशिर्बाद पनि दिनुभयो।
एकदिन नारद इन्द्रको दरबारमा गए। उनले नारायण नारायण भन्दै भने “इन्द्र महाराज! हजुरले अम्बरिषको बारेमा सुन्नुभएको छ? उनलाई रक्षा गर्ने अस्त्र भनेको भगवान बिष्णुको सुदर्शन चक्र हो।
इन्द्र भगवानले भन्नुभयो,” हो मैले उनको बारेमा सुनेको छु। उनले महाबिष्णुको ब्रत राक्ने गरेको पनि सुनेको छु।”
त्यसपछि नारादले कुटिल भाषामा भने” महाराज अम्बरिषको ब्रत भोलि पुरा हुदैछ। यदि त्यो ब्रत पुरा भयो भने ऊ हजुर भन्दा ऊ बलबान हुनेछ। मैले त हजुरलाई जानाकारी मात्र गराएको हो। अगाडी के गर्ने त्यो हजुरको इच्क्षा।”
यति भनेर ‘नारायण’ ‘नारायण’ भन्दै नाराद आफ्नो बाटो लागे। नारादको कुराले इन्द्र दुबिधामा परे। त्यसैबेला त्यहाँ दुर्बासा ऋषिको आगमन भयो। दुर्बषा सप्त ऋषिहरु मध्य सबैभन्द धेरै क्रोध भएका ऋषि थिए। दुबिधामा परेका इन्द्रजीले दुर्बाषा ऋषिको चरण छुनुभयो। यसले दुर्बषा ऋषि आश्चर्यचकित भए।
इन्द्रजिले भन्नुभयो,” हे महामुनिबर हजुरको दर्शन पाएर मेरो यो राज्य पबित्र हुने भयो।”
दुर्बषा ऋषिले खुशी हुदै भने” हे मुनिबर तिम्रो यो भक्तिबाट मा प्रशन्न भए। तिमि के बर माग्छौ, माग। म दिनेछु।
इन्द्रजीले भन्नुभयो ‘हजुरले राजा अम्बरिषको बारेमा सुन्नुभएको छ? उसले त बिष्णुको ब्रत गरेर आफुलाई निकै ठुलो विष्णुभक्त साबित गर्न खोज्दै छ रे। भोलि नै उसको ब्रत पनि भोलि पुरा हुदैछ रे।”
दुर्बषा ऋषिले निर्भय भावमा भने “हो। त्यो अत्यन्तै बिशिष्ट कार्य हो। म पनि त्यहाँ जान चाहन्छु।”
इन्द्र भगवान अम्बरिष राजा दुर्बषा ऋषिको क्रोधको शिकार होला भन्ने आशामा खुशी हुदै मुन्टो हल्लाए। त्यसपछि दुर्बषा ऋषि अम्बरिष राजाको दरबारमा गए।
अम्बरिष राजाले खुशी हुदै भने “ गुरुबर हजुरको आगमनले म धन्य भए। अब हजुर भोजन गरेर मेरो राज्य र जनताहरुलाई आशिर्बाद दिएर जानुहोला।
“म धेरै टाडाबाट आएको हुँ। अत्यन्तै थाकेको पनि छु। म नदीमा गएर स्नान गरेर आउछु र हामि संगै भोजन गरौला”, भन्दै दुर्बषा ऋषि नदीतर्फ प्रस्थान
गरे। एकछिनको लागि गएका दुर्बषा ऋषि घन्टौ सम्म फर्केनन्। त्यति नै बेला एक बृदा सन्यासी अम्बरिषको दरबार आइपुगे। उनले भने “महाराज हजुरले थोरै तुलसीको जल लियर आफ्नो ब्रत सम्पन्न गर्न सक्नुहुनेछ। जब दुर्बषा ऋषि आउनुहुन्छ तब उहाँसंग भोजन गर्न सक्नुहुनेछ।”
“दुर्बषा ऋषि अतिथि हुनुहुन्छ। उहाँको स्नान पश्चात मेरो ब्रत समाप्त गरेर उहाँसंग भोजन गर्ने मेरो विचार छ”, अम्बरिषले भने।
“महाराज शुभ मुहुर्तको समय समाप्त हुदैछ। यदि तपाइले तुलसीको जल अर्चन गरेर ब्रर्त समाप्त गर्नुभयो भने यसको फल पाउनुहुनेछ। तर यो शुभमुहुर्त काट्यो भने यसको केहि फाइदा छैन। यसको बारेमा सोच्ने समय पनि छैन। त्यसैले तुलसीको जल लिनुस र ब्रत समाप्त गर्नुस”, ति सन्यासीले भने।
त्यसपछि अम्बरिषले एकथोपा तुलसीको पातको जल अर्चन गरे। त्यसैबेला दुर्बाषा ऋषि टुप्लुक्क आइपुगे। “अम्बरिष अतिथिको कसरि सम्मान गर्नुपर्छ त्यो तिमीलाई ज्ञान भएन। अथितिको भोजन गराउनु पहिले नै कसरि तिमीले पानि पिउन सक्छौ। त्यो तिम्रो अकर्म हो। तिमीले अतिथिको अपमान गर्यौ। यसको दण्ड तिमीले अबस्य पाउनेछौ। “, दुर्बषाले रिसाउदै भने।
त्यहीबेला दुर्बाषा ऋषिको अगाडी एउटा राक्षस देखा पर्यो। उसले अट्टहास गर्दै भन्यो,” आदेश दिनुस दुर्बाषामुनि मैले के सेवा गर्नु पर्यो।
“ अम्बरिषले मेरो घोर अपमान गरेको छ। उसको शिर काटिदेउ”, दुर्बषा ऋषिको रिसको झोकमा भने।
आदेश पाउनासाथ राक्षसले अम्बरिष राजातिर क्रोधले हेर्यो। त्यतिनै बेला राजाका सैनिकहरु तलबार लिएर राजाको सुरक्षाको लागि उपस्थित भए। राजाले उनीहरुलाई केहि नगर्न आदेश दिए। उनले बिष्णु भगवानको प्राथना गरे। राक्षस राजाको नजिक नजिक जादै थियो। त्यसैबेला बिष्णुको सुदर्शन चक्र राक्षसको टाउको माथि देखापर्यो र छिनभरमै राक्षसको टाउको उसको शरीरबाट अलग भयो।
त्यसपछि सुदर्शन चक्र दुर्बाषा ऋषितर्फ बढ्दै गयो। दुर्बाषा ऋषिले आफुले त्यो चक्र रोक्न नसक्ने भएपछी त्यहाँबाट भागे। दुर्बाषा ऋषि भाग्दै भाग्दै सत्यलोक ब्रह्माको समिप पुगे र ज्यान बचाउको लागि बिन्ति गरे। ब्रह्माजीले आफुले केहि गर्न नसक्ने भनि कैलाशमा शिव भगवान संग सहयोग माग्न भने।
दुर्बाषा ऋषी घोर जंगल,गुफा र बरफले ढाकिएको पहाड हुदै कैलाश पर्बतमा पुगे र भगवान शिब समक्ष आफ्नो प्राण बचाउन बिन्ति गरे।
भगवान शिबले भन्नुभयो “दुर्बषा तिमिले भगवान बिष्णुको अपमान गरेका छौ। बिष्णु भगवानको समिपमा जाउ र उहाँसंग माफी माग।”
त्यसपछि उनि बिष्णु भगवानको आश्रममा चरण छुन पुगे। “भगवान मा बाट गल्ति भयो। मलाई माफ गरिदिनुहोला”, दुर्बाषा ऋषिले भने।
“ऋषिबर तिमीले आफ्नो क्रोधलाई संयममा राख्न सकेनौ। मेरो भक्तको अपमान गर्यो। अब तिमीले जसको अपमान गरेका छौ उसैसंग क्षमा माग। उसैले मात्र तिमीलाई सुदर्शन चक्रबाट बचाउन सक्छ।
त्यसपछि दुर्बाषा भाग्दै अम्बरिषको दरबारमा पुगे जहाँबाट उनि भाग्न शुरु गरेका थिए। उनले अम्बरिष अघि हाँत जोड्दै क्षमा मागे। आफुलाई सुदर्शन चक्रबाट बचाउन बिन्ति गरे। अम्बरीषले भगवान बिष्णुसंग प्राथना गरेर सुदर्शन चक्र फिर्ता लैजान र दुर्बषा ऋषिको ज्यान जोगाउन बिन्ति गरे।
त्यसपछि बिष्णु भगवानले शुदर्शन चक्र फिर्ता लैजानु भयो। दुर्बाषा ऋषीले अम्बरिष राजालाई सयौ सयौ बर्षको आयु होश भन्दै आशिर्बात दिएर त्यहाँबाट हिडे।
बुझेउ तिमीहरुले? क्रोध र घमण्डले गर्दा कत्रा कत्रा ऋषि महर्षिले समेत दुख पाउछन भने हामि त सामान्य मान्छे हौ। हामीले हरहमेसा क्रोध र घमण्डलाई दबाउन सक्नु पर्छ। नत्र भने रिस नै बिनासको कारक हुन्छ। दिन दिनैको झैझगडा कचहरि किन हुन्छ हाम्रो गाँउमा त्यहि रिस थाम्न नसकेर। बुढाबुढी बीच झगडा, छिमेकी छिमेकी बिचमा झगडा। कहाँबाट हुन्छ शान्ति। त्यो दिन सबैजनाले ओहो! कस्तो राम्रो कुरा गर्नु भयो भन्दै प्रसंसा पनि गरेका थिए।
त्यो दिन देखि धनेको घरमा भूतको हंगामा रोकियो। कसैले भने लामाहरुले गर्दा शान्ति भयो। कसैले भने त्यहि बुहारी बोक्सिनी हैच। आँगोमा झोसेर ठिक भयो। कसरि ठिक भयो अझैपनि मेरो मनमा प्रश्नहरु अब्जीरहन्छन।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home