दशैँ, अतुअट र कानो मान्छे
"हैन बुढा जौ सौ खोज्नु पर्दैन। आज घटस्थापना हैछ। भरे त जमरा राख्ने होला नि ", रमेशकि दुलही रिताले फोनको स्क्रिनबाट आँखा नहटाई भनिन्।निन्द्राबाट जागे पनि ओक्षानबाट भागेका चाँही थिएनन् उनीहरु। दुबै जनाको हातमा आइफोन थियो। सानो छोरा अझै सुतेकै थियो भने छोरी अर्को कोठामा थिई। पोहोर साल यतिबेला दुवैजनालाई काममा जान हतार हुन्थ्यो। रमेश बिहानै छ बजे काममा पुगिसक्थ्यो। रिताले एका बिहानै खाना पकाउने, टिफिन बनाउने, छोरालाई कर गरि गरि खुवाउने, छोरीलाई स्कुल पुर्याउने र छोरालाई डे केयर छोड्ने काम केहि घण्टाभित्रै सकाउथि। हतार हतार आफुलाई दिउसको खाना डिब्बामा हालेर आठ बजे काममा पुग्थि। अहिले दुवै फुर्सदमा छन्। कोरोनाले गर्दा जागिर चैट् भयो दुवैजनाको। बेरोजगार भत्ताले घर चलेको छ केहि महिना देखि यता । करिब दुई बर्ष पहिले क्यानाडा छिरेका थिए उनीहरु।
"कहाँ पाइन्छ जौ र खोज्न जानु। श्रीलंकेकोमा पोहोर साल खोजेकै हो। पाइएन। गहु मात्र छ। नोफ्रिलमा छैन। चाइनिजकोमा पनि छैन। बम्बई स्टोरमा पनि खोजेको हो, पाइएन", रमेशले पनि स्क्रिनबाट आँखा नहटाई जवाफ फर्कायो।
"घर बसेर पाइन्छ र हजुर ? श्रीलंकेले राखेको छ रे। बिनाले हिजो त्यहीबाट लगेकी हुन् रे। पुजाको अरु सामान पनि ल्याउनु छ। एक पोका दुध पनि ल्याउनुहोला", रिताले सिरकबाट खुट्टा निकाल्दै भनि। रमेशको फोनमा घरि घरि गित बजेको थियो। ऊ बुढीको कुरा सुने पनि नसुने झैँ गरेर बसेको थियो ओक्षानमा।
"बुढो भएर पनि कति टिक टक हेरेको। छोरो उठ्छ र। हिजो ढिलो निदायो, अलि बेरसम्म सुत्न दिनु नि उसलाई।"
उसले सिरक अलि माथि तानेर छोरालाई ओडाईदिई र सरासर बाथरुम तिर लागि। रमेशले फोनको आवाज घटायो तर टिकटकबाट आँखा हटाएन। "हाँ फेसबुक र टिकटक नचलाउने पो के नै गर्याछन र? जसले चलाउदिन भन्छ उसैले झन् धेरै चलाएको हुन्छ।" रमेश मनमनै भन्यो। "नेता, कलाकार, हिरो, हिरोइन, मोडेल, बच्चादेखि पिण्ड खाने बेला भएका हजुरबाहरु सबै छन् टिकटकमा। फेसबुक भन्दा यता धेरै पो देखिन्छन आजकल मान्छेहरु। "
रिताले नुहाएर निस्कदा सम्म अझै बिस्तारामै थियो रमेश। " ढिलो भैसक्यो पुजा गर्नलाई हजुर। छिटो गरेर नुहाई धुहाइ गर्नुस। अनि सुन्नुन्स न कति फोन नछोडेको भने. . . श्रीलंकेकोबाट जौ ल्याउदा एउटा भूत्लासितको नरिवल र आँपको पात ल्याउन नाबिर्नु नि। तरकारिको छेउको फ्रिजरमा हुन्छ आँपको पात। भेट्नु भएन भने सोध्नु नि। "
" अरु केहि छ कि ? " भन्दै रमेश गम्छा बोकेर बाथरूमभित्र छिर्यो। नुहाई धुहाई सकेर ऊ श्रीलंकेको पशलतिर निस्कियो। एकाबिहानै भएकोले पनि होला धेरै ग्राहकहरु थिएनन् पशलमा। कामदारहरुले सामानहरु मिलाउदै थिए। यताउति जौ खोज्यो। कतै पनि भेटेन। त्यहि एकजनालाई सोध्यो "यु गाइज ह्याब बार्ले सीड्स ?" ऊ अलमल परेजस्तो देखियो। त्यहाँ कामगर्ने सबैजसो श्रीलंके थिए। सिन्हाला र तामिल भाषा बोल्दथे। एकदुई जना बाहेक धेरैलाई अंग्रजी भाषा बोल्न पनि आउदैनथ्यो। एउटी महिलाले नबरात्रमा नबदानि लैजान्छन सबैले। जौ हुन्छ यसैमा भनेर दिई त्यहि उठायो उसले पनि। आँपको पात हाल्यो। नरिवल उठायो र घर गयो ।
"यो के ल्याउनु भाको ? यो नबदानी ग्रह पुजाको लागि हो। जमरा राख्छन र यसको पनि? कस्तो मान्छे हो के हजुर", रिताले रिसाउदै भनि।
"यहाँ पनि होला नि जौ। "
"दुई दानाले हुन्छ त ?"
"दुइ दाना भएपनि भैहाल्यो नि। मकै, गहु, धान सबै मिसाएर राखे भैगो नि। नभएको चिजमा तिमी हामी झगडा गरेर हुन्छ त ? "
पुजाको सामान राख्ने डिब्बामा पुरानो जौ रहेछ। रिताले अलिकति गौ, मकै, धान र जौ बनाएर भिजाई। बुढालाई जमरा राख्ने बिधि सिकाई। उसले पनि जमरा राख्ने बिधि जान्दै नजानेको त कहाँ हो र, तर दुलहीलाई चित्त बुझ्दैनथ्यो। "बत्ति पूर्व फर्काएर राक्नुस, एउटा थालिमा चामल र भेटि राखेर गणेश थापना गर्नुस, अर्को थालीमा देबी भगवतीको मुर्ति राख्नुस अनि ऊ त्यो कलशमा जल राखेर माथि नरिवल र आँपको पात राख्नुस ", रिताले आफुले जानेको बिधि भन्दै गई रमेशले पनि उसै उसै गर्यो।
पुजाको थालीमा अलिकति चोखो अबिर राख्यो, एउटा सानो कलसमा जौ, तिल मिसायो। मुर्तिहरुमा माथिबाट बस्त्र भन्दै धागो लगाइदियो। उसलाई एकदुई लाइन बाहेक मन्त्र आउदैनथ्यो। मुबाइलमा यु ट्युब खोल्यो र आरति लगायो। रातो अक्षता चडायो। के के गुन्गुनायो यु ट्युबको आवज संगै। शंख पनि यू ट्युब बटै बजायो र ताल मिलाउदै घण्टि बजायो। होम डिपो बाट घरमा लगाउने फूलहरुमा राख्ने माटो ल्याएको थियो। एउटा भाडोमा माटो खनायो र भिजाइ राखेको जमरा छर्यो।
खै किन हो किन उसलाई दशैँ आएजस्तो लागेकै छैन। गाँउमा हुदा दशैको सुगन्ध मगमग चल्थ्यो। माटोको सुगन्ध, नयाँ बाटोको रौनक, लाउरेहरुको अत्तरको सुगन्ध हुन्थ्यो जताततै। टोलटोलका हल्गौड़ी पनि पुरियका हुन्थे। सिस्नोघारी फाडिएको हुन्थ्यो। गाँउका तरुनीहरुले पधेरोमा ढुङ्गाले पटपटी फुटेका कुर्कुच्चा घोटेर सेता बनाउथे। लोग्ने लाउरबाट आएका श्रीमतीहरु बसाउने साबुन, कपडा धुने धुलो साबुन बोकेर पधेरोमा पुग्थे। एकपल्ट बसाउने साबुनले नुहाउन पायो भने पनि कम्ता खुशी लग्थेन। कसै कसैले अलिकति मसला, चियापत्ती, बसाउने साबुन, अलिकति चकलेट ल्याइदिन्थे घरमा। आमाको बाकसमा बर्षौ सम्म बस्थ्यो बसाउने साबुन। कपडा धुने नाङ्गो साबुनले कपडा धुने र नुहाउने दुवै गरिन्थ्यो। साबुन नहुदा रिठ्ठोले काम चलाइन्थ्यो। सिरकका छ्याउलाहरु खरानी पानीमा भकभकी उमालेर पधेरोमा लगेर पाटीले ड्याम ड्याम पिट्दै बर्ष भरिको मयल निकालिन्थ्यो। कपडा पखाल्दा खोलै धमिलो हुन्थ्यो। धोएका कपडा दिनभर खरबारीमा सुक्थे। सिरकमा सेता खोल हालेर ओंड्दा, अनि खरानीको सुगन्ध हरहर चल्दा बल्ल दशैँ आएजस्तो हुन्थ्यो।
आज दशैको पहिलो दिन पनि उसलाई एक चिम्टी पनि दशैँ आएजस्तो लागेको छैन। न कसैले घर पोतेका छन् न घर अगाडी घोर्ले खशी डोरीले बाधेका छन्। न कतै नगरा बजेका छन्। न कसैको घरमा दशैको मंगल धुन बजेको सुनिन्छ। खाली टिंग टिंग गर्दै बनावटी शुभकामनाका संदेश आएका छन् फोनमा। उसलाई ति संदेशहरु न पढ्न जाँगर छ न त धन्यबाद फर्काउन नै।
दुलहीले खाना पकाई। छोरीको अनलाइन पढाई चलेको थियो। सानो छोरा आफ्नै धुनमा खेल्दै थियो। दिउसोको एघार बजे नेपालमा बेलुकाको नौ बजेको हुन्थ्यो। यतिबेला सबैजनासंग कुरा हुने भएकाले प्राय यसै बेला फेसबुक म्यासेंन्जरमा सम्पर्क गर्दथ्यो। घरपरिबारका सबै सदस्यहरुको एउटा मेसेन्जर ग्रुप थियो। सबै यसैमा जोडीन्थे। बुवा आमा र एउटा भाई घरमै थिए। एउटा दाजु अस्ट्रेलिया थियो। दिदि अमेरिका थिई। प्रयाजसो सबैले समय निकाल्थे यतिबेला र बिगतका सम्झनाहरु साटा साट गर्थे। सानोमा एउटा काँचो अम्बाको लागि झगडा गरेको, दशैमा घाँस चोर्न गएको, संगै तास खेलेको, तास खेल्दा पत्ति लुकाएर गेम जितेको जस्ता कुराकानी हुन्थे। यस्तो बेला रमेशका बुढा बुढी आआफ्नै परिबार संग कुराकानीमा रमाएका हुन्थे। सायद बच्पनको याद जतिको ताजा याद, रमाइलो क्षण कुनै पनि हुदैन होला। सासु बुहारी तथा ससुरा ज्वाईको कुराकानीमा औपचारिकता मात्र झल्किन्थ्यो। आत्मीयता अलि कम देखिन्थ्यो।
कुराकानी गरिसकेपछि रिताले खाना पस्कि सबैलाई। सदै झैँ दाल,भात, तरकारी थियो खानामा। काउलीको तरकारी पकाएकी थिइ उसले आज सधै भन्दा अलिक फरक स्वादको। तरपनि खाली मसलाको स्वाद मात्र हुन्थ्यो। उसले फेरी घरकै तरकारी सम्झ्यो। काउलीको तरकारी अलिकति भुटुन र नुनमा पकाएको स्वाद कति मिठो हुन्थ्यो। मसला पनि सधै भरि हुदैनथ्यो। प्याज, लसुन फुराउने भनेको शिकार पकाउदा मात्र हो। जिरा र धानियको दाना सिलौटोमा अलिकति खुर्सानी, अदुवा हालेर थोरै पानिसंग लसक लसक पिसेको मसलाले माशुको झोल कति स्वादिष्ट हुन्थ्यो। तर यहाको कुनै पनि चिजमा खाट्टी स्वाद भेटेको छैन उसले। चाइनिजको पशलमा पाइने रायोको सागको स्वाद भने उसलाई घरकै साग खाएजस्तो लाग्छ। खाना पनि डराई डराई खानु पर्छ उसलाई। डाक्टरले कोलेस्ट्रोल बढेको छ खानपिनमा र जिबन शैलीमा परिबर्तन गर भनेको छ। त्यसैले गर्दा भात पनि एकछाक मात्र खान्छ ऊ। बेलुका सलाद र केहि हल्का खानेकुरा मात्र खान्छ।
कोठाको एउटा कुनामा माटो राखेको देखेर छोरा छोरीले घरि घरि सोध्थे किन राखेको भनेर। उसलेभन्थ्यो " दशैको लागि जमरा राखेको हो। दशैमा टिका लगाउदा जमरा पनि लगाउनु पर्छ।"
"किन लगाउन पर्छ? टिका लगाएर स्कुल जादा साथिहरुले 'हाउ कम यु हाव ब्लड इन योर फोरहेड भन्छन", छोरिले भनि।
"दशैँ हाम्रो ठुलो फेस्टिवल हो क्रिसमस जस्तै। हामि हिन्दुले दशैँ मनाउछौ। क्रिश्चियनहरुले क्रिसमस मनाउछन। अनि मुस्लिमहरुले इद मनाउछन्। हिन्दु, क्रिश्चियन र मुस्लिम भनेको मान्छेको स्पेसल पहिचान हो। तिम्रो साथि छ नि इशिदा उसले टाउकोमा निलो कपडा लाउछे। किन थाहा छ तिमीलाई? त्यो कपडालाई हिज्जाब भन्छन। त्यो भनेको उनीहरुको भगवानलाई रेस्पेक्ट गरेको हो। त्यो उनीहरुको स्पेसल हो। सबैको आफ्नो आफ्नो स्पेसल कल्चर हुन्छ। हाम्रो पनि आफ्नै कल्चर छ। "
"कल्चर भनेको के हो ?, सानो छोराले सोध्यो।
" कल्चर भनेको आफ्नो कुरा हो जस्तै तिमीले कस्तो लुगा लाउछौ , के खाना खान्छौ , घरमा कुन भाषा बोल्छौ, भगवानलाई कसरि पुजा गर्छौ। मैले कहिलेकाँही टोपी लाउछु नि , त्यो हाम्रो स्पेसल हो। मामुले दिनदिनै पुजा गर्नुहुन्छ। मामुले कहिलेकाँही साडी लाउनुहुन्छ। त्यो हाम्रो स्पेसल कल्चर हो। तिमीले टिका लाउदा साथीहरुले ब्लड भनेको उनीहरुलाई रातो टिका हो भन्ने थाहा नभएर हो। उनीहरुको डिफ्रेंन्ड कल्चर हुन्छ। तिमीले हिजो स्टोरी पढेको थियो नि "प्रउडेस्ट ब्लु " हो त्यसमा एउटा केटीले हिज्जब लगाएर स्कुल जादा केटाहरुले 'टेक अफ योर टेबल क्लथ ' भनेको छ हो। किन थाहा छ ? उनीहरुलाई हिज्जबको बारेमा केहि थाहा छैन। तर उनीहरुले जे जे भनेपनि ऊ स्याड भइन। सि नोज सि इज स्पेसल। हामीले टिका लाउदा, दशैँको जमरा लाउदा, टोपी लाउदा अरुले नराम्रो कुरा गरे भने त्यो कुरालाई गार्बेजमा फाल्नु पर्छ। घरमा ल्याउने हैन। "
"हि हि.…… कुरा पनि गार्बेजमा कसरि फाल्छन। फन्नी बाबा ", छोरीले हाँस्दै भनि।
उनीहरु यस्तै यस्तै कुरा गरे धेरै बेरसम्म। आफ्नो भाषा, संकृति सिकाउनलाई हम्मे हम्मे परेको छ उनीहरुलाई। "छोरा छोरीको पनि के दोष बिचरा घरमा एउटा भाषा बोल्छन, स्कुलमा अर्को। घरमा एउटा चाड मनाउछन् ,स्कुलमा अर्को। किताबमा, टिभीमा क्रिस्मस, हलविन, थ्याङ्क्स गिभिङ्ग जस्ता चाडहरुको बारेमा पढ़छन् देख्छन। तर घरमा तिज, दशैँ, तिहार जस्ता चाडपर्ब मनाएको देख्छन। केटा केटीहरु यी चाडपर्बमा फन छैन भन्छन। हुन पनि हो। बिदेशमा यस्ता चाडपर्बले नयाँ पुस्तालाई समेट्न सकेको देखिदैन। पहिलो कुरा त दशैँमा छुट्टी हुदैन। स्कुल खुलेकै हुन्छ। काम पनि चलेकै हुन्छ। धेरै जसो मान्छेहरुलाई बाह्र देखि चौध घण्टा सम्म काम गर्नु पर्ने हुन्छ। दिनभरी काम गरेर घर फर्कदा मान्छे थाकेको हुन्छ। दशैँको टिका साइतमा लगाउन सम्म पाइदैन। धेरैले शनिबार या आइतबार पारेर चाँड मनाउछन। न केटाकेटीहरुलाई मावलीको माहिमा थाहा हुन्छ। न ज्वाईलाई ससुराली जाने चटारो हुन्छ। दुई चार जना मन मिल्ने साथीभाईको परिवार भेला भएर रमाइलो गर्ने नै दशैँ मनाउनु हो। केटाकेटीलाई टिका लगाइदिदैमा उनीहरुलाई कसरी दशैको महत्व सिकाउन सकिन्छ। बुवाले दुकानबाट नयाँ लुगा किनेर ल्याइदिनुहुन्थ्यो। दर्जीले दलानमा बसेर शरीरको नापजाँप गर्थे, जाँय, कमिज सिलाईदिन्थे र दशैँको महत्व हुन्थ्यो। अघिपछि आँटो पिठोले छाक टर्थ्यो भने दशैमा एका बिहानै उठेर धान कुटीन्थ्यो। जडन धानको चामलको भात सारै मिठो हुन्थ्यो। त्यतिबेला बजारबाट लैजाने चामललाई मदिसे चामल भनिन्थ्यो। त्यो चामलको इज्जत थिएन गाँउमा। पछि पछि सबैले मदिसे चामल खान थाले। केटाकेटिबेलामा परेको दशैँको यस्तै यस्तै छाँप सधैभरीलाई रहदो रहेछ। देउरालीमा रोटे पिङ्ग खेलेको, कालरात्रिमा नाटक हेरेको, नवमीको मेलामा पाडा काटेको, मालसरि जान गाउदा मन्दिरका पुजारी काम्दै हिडेको यो मानसपटलमा ताजै छ। यिनै साना साना घटनाहरुले ठुलो ठुलो खुशी दिएको थियो। टर्च लाइट बालेर पुर्णिमाको मेला हेर्न निस्कदा जिबनको कुनै पनि कुनामा अध्यारो देखिदैनथ्यो। न भोलि काम खोज्ने पिर हुन्थ्यो न जागिरमै जाने हतारो। पछि पछि पुर्णिमाको सराँय नाँच पनि दिनमै हुन थाल्यो। जो मज्जा रातको मेलामा हुन्थ्यो त्यो दिनको मेलामा कहिले पनि भएन। तर त्यसैमा बानि पर्दै गयो।" यस्तै यस्तै कुराहरु खेलीरहे उसको मनमा।
दिनहरु घडीको सुई जस्तै एकोहोरो आफ्नै गतिमा चिप्लिदै गैरहेका थिए । जिबनको बेट्री नसकिउञ्जेल यस्तै गरि निरन्तर बगिरहन्छ जिबन भन्नेमा रमेशलाई कुनै संका थिएन। बिहान उठ। नित्यकर्म पुरा गर। नास्ता खाऊ। काम गर्न जाउ। काम सधै उस्तै। बेलुका घरमा आँउ। खाना बनाउ। खाउ। सुत। फेरी उठ र सोहि काम दोहोर्याऊ। कुनै कुरामा नबिनता थिएन। साथीहरु पनि सबै अटोमेटिक मशिन जस्तै भैसकेका थिए। कामै पर्यो भने मात्र फोन हुन्थ्यो नत्र त्यो पनि महिनौ सम्म हुदैनथ्यो। रिताको नियमित उही थियो रुटिन। यो मिलाउ। त्यो मिलाउ।कोठा सफा गर। भुइँ पुछ। सोफा कहिले यता सार कहिले उता सार। छोराछोरीलाई सधै एउतै अर्थि उपदेश देउ। बुढा संग प्रेम गर, झगडा गर। काममा जाउ। घरमा आऊ। त्यो भन्दा फरक केहि हुदैनथ्यो। कहिले काँही उनीहरु सोच्थे खै के नै पो नयाँ रहेछ र विदेशमा आएर? "जाँऊ भो फर्केर आफ्नै देशाँ", रमेशले रिता संग भन्थ्यो। "हैन फेरी के शुर चढ्यो मेरो बुढोलाई। कति सजिलै जाँउ फर्केर।अलि अलि बन्दै गएको सबै भताभुङ्ग पारेर हिड्ने अनि अहिले के खान जाने हो?"
दशैको टिकाको साइत दिउसो एघार बजेर पैतिस मिनेट जाँदा रहेछ। नेपाल भन्दा क्यानाडाको समय आठ दश घण्टा पछाडी थियो। उनीहरुले पहिले नेपालमा घरमा टिका लागाइसकेपछि मात्र यहाँ टिका लगाउने निधो गरेका थिए। घरमा टिका लागाउदा उनीहरुले विडियोमा कुराकानी गरेर बसे रातिसम्म। उनीहरुलाई घरमै भएजस्तो भयो। "प्रविधिले यो विश्वलाई कति सागुरो बनाइदेको छ। अहिले त कोरोनाको महामारीले गर्दा नेपालमै हुनेहरुहरु पनि आफन्तहरुको टिका थाप्नलाई घरमा जान सकेका छैनन्। यस्तो अवस्थामा नेपालमा बस्ने र बिदेशमा बस्नेहरुबीच खासै फरक केहि छैन। भूगोलको दुरीले माया टाढा हुदो रैनछ। बास्तबमा भन्ने हो भने मनको दुरीले ठुलो महत्व राखेको हुन्छ। मनको दुरी टाडा राखेकाहरू आगन जोडिय पनि कोषौ टाडा छन्," रमेशले मनमनै भन्यो। राति अबेर सुते उनिहरु।
अर्को दिन बिहान उठेर सधै झैँ नित्य कर्म पुरा गरेर टिकाको तयारि गर्न थाले। "एकचोटी घरमा सोध्नुस न कतिबेला लगाउदा राम्रो हुन्छ। साइत कति बजेको छ," रिताले बुढालाई भनि। " मूल घरमा टिका लगाईसकेपछि के को साइत हो। हामीले जति बेला लगाए पनि हुन्छ किन सोध्नु पर्यो," रमेशले योगा गर्ने चकटीमा ज्यान तग्राउदै भन्यो। रिताले टिका थालीमा रातो अक्षता बनाई। जमरा काटेर थालीको एकातिर राखी। "उठ्नुस यहाँ कुचो लाउन पर्यो। पुछ पाछ पार्न पर्यो। यहाँ बसेर टिका लाउने होला नि", रिताले भनि। छोरा छोरीहरु अलि ढिलो सुतेकोले गर्दा होला अझै सम्म सुतेकै थिए। उसले गएर दुवै जनालाई उठाई। उनीहरुलाई नुहाइदी। छोराले खरानी रंगको दौरा सुरवाल र त्यो माथि इस्टकोट लगायो। छोरीले लेंगा जस्तै रातो फ्रक लगाई। सधै भन्दा फरक पोशाक लगाउदा अप्ठेरो मानेजस्तै देखियका थिए। रमेशले छोरा छोरीलाई सोफामा बस्न लगायो। उनीहरुको अगाडी टिकाको थाली र जमरा राख्यो। अर्को थालीमा केहि फलफूलहरु राख्यो। टिका लगाउन सुरु गर्नु अघि क्लिक क्लिक फोटाहरु खिच्यो। टिकाको थालीको फोटो, जमराको फोटो, छोरा छोरीको फोटो, अनि आफ्नो सेल्फी खिचिसकेपछि टिका लगाउन सुरु गरे। त्यतिन्जेल सम्म छोरा छोरीको धैर्य टुटीसकेको थियो। उनीहरुलाई टिका लगाउने कुरामा भन्दा टिभी तिर बढी ध्यान थियो। कराई कराई भएपनि बाबु आमाले छोरा छोरीलाई टिका लगाइदिए। टिका लगाएर सक्दा नसक्दै उनीहरुले इची भयो भन्दै अक्षता निकाल्न थाले।"दशैँको टिका पुछ्न हुदैन, गड रिसाउनुहुन्छ ", भन्दै थिई रिता। तर किन सुन्थे उनीहरु। एकैछिनमा भुइभरि राता अक्षता मात्रै भए। छोरा छोरी मात्र हैन रमेशले पनि एकैछिन टिका फालेर हिड्यो कामको लागि अन्तरबार्ता दिन । "निधारभरि टिका लगाएर दिनभरि घुमिन्थ्यो, खेलिन्थ्यो र बल्ल दशैँको महत्व हुन्थ्यो। अर्को दिन बिहान जसको निधारमा धेरै अक्षता अडिएको हुन्थ्यो ऊ बढी भाग्यमानि हुन्छ भन्ने भनाई थियो। यसरि औपचारिकता पुरा गर्नलाई टिका लगाएर कसरि संकृति जोगाउन सकिन्छ। हाम्रा छोराछोरीले के दशैँ मनाउलान पछि पछि ।"रमेशले यस्तै यस्तै सोच्दै गाडी चलायो। न उनीहरु कुनै मान्यजनको हातबाट टिका थाप्न गए। न कोहि उनीहरुको घरमा नै आए। अन्य दिनहरु भन्दा पनि खल्लो लाग्यो दशैँ उनीहरुलाई।
"एकादशीको दिन पौदिको कोटमा सराय हेर्न गैइन्थ्यो। ताता ताता जेलेबी, सेलरोटी, दुनोट खाइन्थ्यो। सुन्तला, केरा, बेलौती किनेर खाइन्थ्यो। खोर्खोरे, तास खेलिन्थ्यो र दशैँ आएजस्तो हुन्थ्यो। अगेनामा बसेर माशुका चोक्टा पोलेर खरानी संगै चपाइन्थ्यो र त दशैँ आएजस्तो हुन्थ्यो। यहाँ के मिठो के तितो, के राम्रो के नराम्रो सधै एकै हुन्छ। कसरि हुन्छ नयाँ कपडाको महत्व जब फाटेको कपडा लाउनै पर्दैन? कसरि हुन्छ मिठो मसिनोको महत्व जब भात र माशु खानलाई दशैँ कुर्नु पर्दैन? जब कुनै पनि समाज आधुनिक बिकाश तर्फ लम्किदै जान्छ तब यस्ता खाले चाडपर्बहरु लोप हुदै जान्छन। नेपालमै पनि जति दशैंको महत्व गाँउघरमा मात्रै छ। शहर बजारमा त्यति महत्व हुदैन। शहरहरु सुन्य प्राय हुन्छन दशैंमा। घरहरु रित्ता रित्ता हुन्छन। धनीलाई भन्दा गरिबहरुलाई चाडबाडको धेरै महत्व हुन्छ," यस्तै यस्तै सोच्दै गाडी हुकाइरहेको थियो रेडलाइटमा हालेछ गाडी। बिजुली चम्के झैँ रेड लाइट क्यामेराको फ्ल्यासले उसलाई झस्कायो। झन्डैले ठुलै दुर्घटना भएको। ज्यान त बच्यो अब दुइसय बिस डलरको टिकट घरमा आउने कुरामा कुनै संका रहेन। उसको दिमागमा सातसय भोल्टेजको झड्का लाग्यो।त्यसपछि उसले पहेलो बत्ति बोल्ना साथ् गाडी रोक्न थाल्यो। अन्तरबार्ता दिएर साँझ घर फर्क्यो। घरमा श्रीमतीसंग रेडलाइटमा गाडी दौडाएको र दुइसय बिस डलरको टिकट आउने कुरा गर्ना साथ् बुढीको लेक्चर सुरु भयो। यस्ता लेक्चर सुन्नमा पनि ऊ अभ्यस्त भैसकेको थियो।
"हाम्ले मात्र किन दशैँ मनाउन पर्छ बाबा ?" सानो छोराले सोध्यो। छोरछोरीहरु बाबा आमासंग मात्रै भएपनि नेपालीमा कुरा गर्छन। आफुआफु भने उनीहरु अंग्रेजीमै कुरा गर्ने गर्दछन। "हामिहरुले मात्र हैन सबै नेपालीहरुले दशैं मनाउछन।"
" मेरो साथीहरु संजय, डेविड, जोसेफले मनाउदैनन। उनीहरुलाई थाहा पनि छैन। " छोराले भन्यो।
"सबैको आआफ्नो फेस्टिवल हुन्छ। डेविड र जोसेफ क्रिस्चियन हुन्। उनीहरुको दशैं क्रिसमस हो। फस्ट नेसनका मान्छेहरुले 'पो -वो' मनाउछन। इश्लामहरुले इद मनाउछन। सबै मान्छेहरुको आफ्नो आफ्नो फेस्टिवल हुन्छ। "
"क्रिसमस हामीले नि मनाउछौ। हाम्ले प्रिजेन्ट पाउछौ", छोरीले भनि।
रमेश कसरि छोराछोरीलाई आफ्नो संकृतिको बारेमा सिकाउने अलमलमा पर्यो। एक त आफै कन्फ्युजनमा छ। के गर्दा ठिक होला के गर्दा बेठिक। कहिले नेपालि भाषा किन बोल्नु पर्यो? यिनीहरु फर्केर नेपाल जाने हैनन। यहाँ बस्ने भैसकेपछि यहाँकै भाषा संकृतिसंग अभ्यस्त भए भैगयो भन्ठान्छ । कहिले सोच्छ 'हैन यिनीहरुलाई नेपालि भाषा, संकृतिको बारेमा सिकाउनु पर्छ। होइन भने यिनीहरुको सम्बन्ध नेपालसंगबाट सधैको लागि हराएर जान्छ। 'यसै विषयमा सानोतिनो झगडा पनि हुन्छ बुढीसंग। दशैँ, तिहार केटाकेटीलाई हो रमाइलो हुनु पर्ने। उनीहरुलाई नै यसको महत्व थाहा भएन भने कसरि बच्न सक्छन यस्ता चाडबाडहरु विदेशमा।
सुत्ने बेला सधै एउटा कथा सुनाउनु पर्छ उसले। पहिले पहिले सुताउनको लागि कथा सुनाउथ्यो। अहिले दैनिकि जस्तै भएको छ। उसले कनिकुथुनि गरेर भएपनि केहि न केहि सुनाउछ। आज भाषा संकृतिको महत्व बुझाउने कताको कल्पना गर्छ। "आज म तिमीहरुलाई क्यानाडाका सबभन्दा पुराना मान्छेहरुको बारेमा कथा सुनाउछु। उनीहरुलाई इन्डीजीनिअस पिपुल भनिन्छ। ल सुन ," भन्दै उसले कथा सुनाउन थाल्यो।
मेकान्जी नदीको किनारमा सानो बस्ति थियो। त्यो बस्तीमा इनुइट र मोहक जातिका मान्छेहरु बस्थे। उनीहरुको आफ्नै भाषा थियो। आफ्नै पोशाक थियो। उनीहरु प्रकृतिको पुजा गर्दथे। केटाकेटीहरु दिनभर जंगलमै खेल्थे, नदीमा पौडी खेल्थे। बादल छुनलाई आकाशतिर उफ्रिंन्थे, खरायोको पछि पछि कुद्थे र सिल माछा झैँ पौडी खेल्थे। उनीहरुको आफ्नै संसार थियो।
त्यो गाँउमा अतुअट र अन्जिज नाम गरेका दिदि बैनी बस्थे। जंगल, पहाड, झाडी, झरना जताततै पुग्थे उनीहरु। माछा जस्तै पौडी खेल्थे। बगरमा अरु केटाकेटीहरुसंग जिस्किथे। उनीहरुलाई कसैको डर थिएन।
एकदिनको घटना हो। अतुअट र अन्जिज नदीको किनारमा अरु साथिहरुसंग खेल्दै थिए । उनीहरुले गुज चरा जस्तै आकार भएको तर गुज भन्दा ठुलो, टाउको माथि दुइवटा पखेटा घुम्ने बस्तु मेकान्जी खोलाको किनारमा बसेको देखे। यस्तो कहिले नदेखेको अनौठो बस्तु देखेपछि उनीहरु दौडदै उतैतिर गए। त्यो अनौठो बस्तुबाट एकजना मान्छे बाहिर निस्कियो। ऊ इनुइट भाषा बोल्न जान्दथ्यो। उसले सबै केटाकेटीहरुलाई चकलेट देखाउदै त्यो अनौठो बस्तु भित्र बस्न भन्यो। अतुअट बस्न नमानेपछि उसले आफैले उठाएर त्यो बस्तुभित्र हाल्यो र ढोका लगायो। आफु अगाडी बसेर त्यो बस्तु उडायो। केटाकेटीहरु रुन चिच्याउन थाले। उसले खोलै खोला उडाएर तिन चार घन्टामा एउटा ठुलो घरको अगाडी बसाल्यो। त्यो एउटा स्कुल थियो।
हेलिकप्टर रोक्नासाथ घर भित्रबाट सेता कपडा, टाउकामा कालो स्कार्फ लगाएका आइमाइहरु बाहिर निस्किए। उनीहरुको बिचमा एउटा आँखा कानो भएको, सेतो छाला भएको करिब छ फुट अग्लो मान्छे, कालो छाते टोपी लगाएको मान्छे पनि थियो। उनीहरुले सरासर गएर ति केटाकेटीहरुलाई हातमा समाते। उनीहरुलाई देख्ना साथ केटाकेटी सबै डराएका थिए। अतुअट हात झट्कारेर त्यहाँबाट भाग्न लागेकी मात्र के थिई त्यो कानो मान्छे गएर च्याप्प गर्दनमा समात्यो र एक लौरो सोठ्यायो। अतुअट चिच्याई। एकै छिनमा उनीहरुलाई घर भित्र लगियो। त्यहाँ पुर्याएको मान्छेले उनीहरुकै भाषामा "अबदेखि तिमीहरुको घर यहि हो। यहि बस। म आउदै गर्छु। तिमीहरुको बाबा आमालाई पनि भेट्नलाई ल्याइदिन्छु", भन्दै त्यहाँबाट फर्क्यो।
त्यसपछि अतुअट र अन्जिजलाई एउटा कोठामा लगे उनीहरुले । दुईजना महिलाले उनीहरुको सबै कपडा फुकाले। उनीहरुको लामो कपाल काटेर केटाको जस्तै छोटो बनाइदिए। जबरजस्ती नुहाइदिए। उनीहरुले घाँटीमा लगाएको माला चुडालेर फालिदिए। अतुअट र अन्जिज रुदै चिच्याउदै थिए। तर उनीहरुलाई दयाँ गर्ने त्यहाँ कोहिपनि थिएन। नुहाइसकेपछि उनीहरुलाई क्रस चिन्ह भएको एउटा कोठामा लगियो। सेतो कपडा लगाएको, सेतै रौ भएको मान्छेले उनीहरु नयाँ नाम राख्यो र भन्यो " अबदेखि तिम्रो नाम अतुअट होइन 'होशना' भयो। अन्जिजको नाम 'रचेल 'भयो। तिमीहरु यहाँ अंग्रेजी भाषा बोल्नु पर्छ। तिमीहरुको भाषा असभ्य भाषा हो। तिमीहरुको नाम जंगली हो। अबदेखि तिमीहरुको भाषा, पोशाक र नाम सभ्य भयो। तिमीहरुका बा आमा असभ्य छन्। उनीहरुलाई पढ्न लेख्न आउदैन। तिमीहरुलाई यहाँ पढ्न लेख्न सिकाइन्छ। तिमीहरुलाई काम सिकाइन्छ। तिमीहरु आफ्नो बाआमा जस्तै जगली जिबन जिउन पर्दैन। सबैले 'अमेन' भन। केटीहरुले केहि पनि बुझेनन्। उनीहरुको मनमा डर त्रास मात्र थियो।उनीहरुको भाषा बोल्ने एकजना आइमाईले उसले भनेका कुराहरु बुझाई।
अर्को दिनदेखि उनीहरुलाई यशु ख्रिस्टको प्रार्थना गर्न लगाइयो। पढाउनु भन्दा धेरै घरको काम जस्तै भाँडा माझ्ने, भुइँ पुछ्ने, कपडा धुने, कोइलाहरु भर्ने काममा लगाइयो। केटाहरुलाई खेतमा काम गर्न लगिन्थ्यो। धेरै जसो केटाकेटीहरु बिरामी भएर उपचार नै नपाई ज्यान गुमाउथे। अतुअटले बिस्तारै अंग्रेजी भाषा सिक्दै गई। अन्जिज पनि संगसगै त्याँहाको बताबरण संग घुलमिल हुन सिकी। तर पनि उनिहरुलाई घरको याद, बाबा आमाको सम्झनाले सताइरह्यो।उनीहरुको ठुलो फेस्टिवल पोवोमा नाचेको, मिठो मिठो खाएको, खोलामा माछा मार्न गएको सम्झे।
एकदिन त्यहाँ दुई जना सेतो छाला भएका, अग्ला अग्ला मान्छेहरु आए। उनिहरु बिरामी थिए अर्थात् उनीहरुलाई ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्ने हुन्थ्यो। त्यसैको केहिदिनमा त्यो घरमा बस्ने थुप्रै केटाकेटीहरु बिरामी परे। बिरामी परको केहि दिनमै आधा भन्दा धेरै केटाकेटीहरुले ज्यान गुमाए। अतुअटले आफ्नो बहिनि अन्जिजलाई गुमाउनु पर्यो। अज्जिजको मृतुले अतुअटललाई धेरै स्याड बनायो । त्यो दिनदेखि अतुअटलाई त्यहाँ एकछिन पनि बस्न पनि मन भएन।
एक रात त्यो घरका सबै मान्छेहरु पार्टी गर्दै थिए। त्यसै मौका पारेर अतुअट आफ्नो कोठाबाट बाहिर निस्की। अध्यारोमा मैदानको बाटो हुदै भागी।उ भागेको केहि मिनेटमै त्यहि बाटो हिड्दै गरेको एउटा मान्छेले भेट्यो। उसले अतुअटलाई फर्काएर स्कुलमै पुर्याइदियो। यसो गरे बापत उनीहरुले स्कुलको मान्छेसंगबाट धेरै पैसा पाउथ्यो।
अर्कोदिन एउटा आँखा कानो भएको शिक्षकले अतुअटलाई लठ्ठीले हान्ने सजाय सुनायो। सबै केटाकेटीहरु भएको कोठाको अगाडिको बेन्चमा लगेर टाउको घोप्टो पारेर उभिन लगायो। एकहात लामो फलामको लट्ठीले उसको पुठोमा एक लठ्ठी हान्यो। उसले प्यान्टमा पी गरी । कोठामा भएका अरु दुइ तिन जना केटाकेटीले पनि डराएर प्यान्टमै पी गरे ।
त्यो कोठामा भएका मध्ये सबैभन्दा ठुलो थियो पिटर। रियल नेम थियो 'अतिकुअलक। ' उसले मरक्क बंगारा टोक्यो र सरासर अतुअटको अगाडी पुग्यो। उसलाई देखेर त्यो शिक्षक जोडले चिच्यायो। पिटरले उसको हातको लट्ठी च्याप्प समात्यो। पिटर धेरै रिसाएको थियो। उसले त्यो शिक्षकलाई बारम्बार टाउकोमा हान्यो। केहीबेरमा त्यो शिक्षक बेहोस भै भुइमा लड्यो।
केहिबेरमा दुइजना बन्दुक भिरेका मान्छेहरु कोठाभित्र छिरे। उनीहरुले अतिकुअलकलाई हत्कड्डी लगाए। जब ति मान्छेहरुले अतिकुअलकलाई कोठाबाट बाहिर लैजादै थिए अतिकुट दौडदै उनीहरुको अगाडी गई र दुवै जनाको मुखमा थुकी। ति मान्छेहरुले उसलाई लात्तीले हाने। ऊ भुइमा लडी । तिनीहरुले अतिकुअलकलाई घचेट्दै गाडीमा हाले। त्यो दिन अतिकुअलकलाई कहाँ लगे , के गरे कसैलाई थाहा भएन।
एकदिन रातीअतुअट आफ्नो कोठाबाट बाहिर निस्की। ऊ किचनमा गई र माशु काट्ने ठुलो चक्कु हातमा लिई। बाहिर हिऊ परिरहेको थियो। ढोकाको पुलिस कुर्चीमा बसेर झ्यालबाट बाहिर हेरिरहेको थियो। त्यहाँ अध्यारो थियो। अतुअटले पछाडीबाट उसको ढाडमा जोडले चक्कु रोपी। ऊ भुइमा ढल्यो।
सुनसान रातमा कहाँ जाने उसलाई बाटो थाहा थिएन।अतुअट दुई दिन, दुइ रात निरन्तर हिडेर स्लेब नदीको किनारमा पुगी। त्यहाँ मोहक जातिका मान्छेहरु बस्थे। ऊ त्यहि उनीहरु संग बस्न थालि। उसलाई आफ्नो बाबा आमा भएको ठाँउको कुनै सम्झना थिएन। उसले त्यहाँका मान्छेहरुलाई आफु भागेको स्कुलको बारेमा सुनाई। त्यहाँका मान्छेहरुले आफ्ना छोरा छोरीहरु पनि स्कुल पठाएको र उनिहरु कहिले नफर्केको कुरा सुनाए। अतुअटले मोहक जातिका केटाहरुलाई आफुले देखेको र कतिपयको मृतु भैसकेको कुरा सुनाई। बस्तीको मुखियाँलाई राखेर छलफल गरे उनीहरुले। अतुअट भागेको स्कुलमा गएर आफ्ना छोराछोरीलाई निकाल्ने योजना बनाए।
अर्को दिन सबैले काठको तिखो भाला, तिखो ढुङ्गा, जनावरको हड्डी जस्ता घरेलु हतियार जम्मा गरेर स्कुलतिर लागे। । करिब सयजना जतिको ग्रुपले रातीमा स्कुलमा आक्रमण गरे। मान्छेहरु तुरुन्त घरभित्र पसे। सबैले आआफ्ना छोरा छोरीहरुलाई समाते। पुलिस थिएन त्यहाँ।
केटाकेटिहरुलाई त्यहाँबाट निकालिसकेपछि बाजा बजाउदै उनिहरु आफ्नो आफ्नो घरतिर लागे। उनीहरुको फेस्टिवल पोवो आएको थियो। स्लेब नदीको किनारमा सबैजनाले "पो वो " भन्ने फेस्टिवल मनाए। यो फेस्टिवल हाम्रो दशैँ जस्तै हो। त्यो दिन सबैले सालमन माछा र दुम्शी पोलेर खाए। आफ्नो आफ्नो कपडा लगाए। सबैजना धेरै खुशी भए। अतुअटको बाबा पनि पोवो मनाउन त्यहि आएको थियो। उसले आफ्नो छोरीलाई चिन्यो। अतुअटले आफ्नो बाबा मोरिसकेको ठानेकी थिई। बाबाले उसलाई समातेर सबै कुरा भनेपछि ऊ धेरै खुशी भई। उनीहरु अर्को दिन मेकाञ्जि नदीको आफ्नो बस्तीमा फर्के।
सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुण्ठमा जाला भन्ने बेला तुरुन्त मुखमा आउला।
कथा सुनाइसक्दा छोरा छोरी दुवैजना जागै थिए। "तिमिहरुले यसको मेसेज बुझ्यौ ?" उसले सोध्यो।
"इम्पोर्टेंस अफ द फेमली", छोरीले भनि। " नो उनीहरुले ति केटाकेटीहरुलाई निकालेन " छोराले भन्यो।
'हो उनीहरुलाई आफ्नो भाषा, आफ्नो चाड, आफ्नो परिवारबाट टाढा लगेको थियो। त्यसैले उनीहरु खुशी थिएनन्। आफ्नो घरमा पोवो' मनाउने बेला कति खुशी भए उनिहरु। हाम्रो दशैँ पनि उनीहरुको पोवो जस्तै हो," उसले भन्यो। उसलाई अझै धेरै कुरा भन्नु मन थियो। तर उनीहरु धेरै बुझ्ने भैसकेका थिएनन्। "पिटरलाई उनीहरुले के गरे ? अतुअटको मम्मी कहाँ छ ? अब स्कुलमा के हुन्छ ? अन्जिज कसरि मोरी ? " छोराले सोध्यो।
"हामि किन आफ्नो देश छोडेर अरुको देशमा आएको हो ? हजुरबा, हजुरआमा संगै हुन्थेम। धेरै फन हुन्थ्यो। दशैँमा पनि धेरै फन हुन्थ्यो", छोरी भनि।
बाहिर पानि परिरहेको थियो। पानीका थोपा झ्यालमा ठोक्किएर चिप्लिदै तलतिर खस्दै थियो। बाहिर घरि घरि एम्बुलेन्सको एकोहोरो साइरन बजेको सुनिन्थ्यो। रमेशले एकोहोरो झ्यालमा हेरिरह्यो धेरैबेरसम्म।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home