संस्मरण (II)
फोनको घन्टी बज्यो। बाटोको छेउमा बाईक रोके। जंगलको बिच थियो। देबदह काटिसकेको रहेछु। दिउसोको चार बजिसकेको थियो। फोन उठाए। " काँ आइपुगिस ? " माइलो दाईले फोन गर्नुभएको रहेछ। "मलाई ठ्याक्कै ठाउको नाम त थाहा भएन, तर बुटवल नजिक नजिक आइपुगे", मैले भने।" बुवालाई पाल्पा ल्याईपुर्याएका छन्।स्थिति उस्तै छ रे। ल त सरासर यतै आइज", भनेर दाईले फोन काट्नुभयो। शिक्षकबाट अबगास लिएर माइलो दाई योगीकुटीमा घर बनाएर स्थाई रुपमै बसोबास गर्दै आउनुभएको थियो। भाउजु भने तुम्डाँडामै हेल्थपोस्टमा जागिरे हुनुहुन्थ्यो। उतै बस्नुहुन्थ्यो। बैनी ज्वाई कालिकानगरमा बस्नुहुन्थ्यो। ज्वाई मणिग्राम संकृत बिद्यालयमा अध्यापन गराउनुको साथै घरमै ज्योतिषी काम गर्नुहुन्थ्यो। म सरासर कालिकानगर ज्वाईको गए। त्यसपछि हामि संगै माइलो दाईकोमा गयौ। के गर्ने कसो गर्ने हामि सबै अन्योलमै थियौ। बुवालाई बुटवल ल्याइपुर्याउन अझै दुई घण्टा लाग्ने थियो। समय जहाँको त्यहि ठप्प रोकिएजस्तो भयो।
साँझपखको धुमिल आकाशमा आशाका किरणहरु अझै बाँकी थिए। शिवालयको मन्दिरका परेवाहरु बाँस बस्ने तरखरमा थिए। बाँसको झाँडीमा लुकेर बसेका एक जोडी भद्राई र बुलबुल चरा फुर्रर उडेर आँपको रुखमा बसे। रिक्सावालाले सिबालय मन्दिरको छेउमा आफ्नो रिक्सा रोक्यो, टाउकोमा बाधेको रातो मैलो कपडा हातमा लियो, निधारमा चुहिदै गरेको पशिना पुछ्यो र देब्रे काँधमा पछाडी पट्टि फाल्यो।कम्मरमा धोति जोडसंग कस्यो र सरासर दाइको पशलमा छिर्यो, एक दर्जन गुड़का किन्यो र धेरै बेरसम्म टोलाएर बाटोतिर हेरिरह्यो। सधैभरि ग्राहकहरुसंग टोलै थर्काउने गरि बोल्ने माइलो दाजु साँझपख कुट्मेराको हाँगामा बसेको लाटोकोसेरो झैँ झोक्राएर बस्नु भएको थियो। हामि सबै त्यस्तै भएका थियौ क्यारे, हाम्रो ओरिपरिको दृश्य पनि मौनतामा कोलाज हुदैथियो। सायद त्यसैले होला आफु जस्तो छ संसार त्यस्तै देखिन्छ भनेर।
सिद्धबाबाको मन्दिर कट्नासाथ् तिलामणि दाईले हामीलाई फोनबाट जानकारी गराउनु भयो। हामि तुरुन्त लुम्बिनी मेडिकलमा पुग्यौ। एकैछिनमा बुवालाई बोकेको भ्यान पिपलको रुखमुनी रोकियो। धुलोले धमिरोको गोलाजस्तो भएको भ्यान भित्र छोराको काखमा मुन्टो अडाएर बुवा अवचेत अबस्थामा पल्टिनु भएको थियो। साथमा अर्जुन र टोपनारायण सर बस्नु भएको थियो। मैले बुवाको मुखमा हेरे कतै ति बन्द आँखाले एकैछिन भएपनि ढकनी अघारेर पुलुक्क हेर्छन कि भन्ने आशामा। तर उहाँ मृतुसंग जुधिरहनु भएको थियो। मुखबाट सेतो फिज निस्केर गालाबाट बग्दै थियो। भित्र देखि पीडाको आवाज ओठमा आउन नपाउदै त्यतै कतै हराएजस्तो लाग्यो। हरमा रातो ब्लान्केट ओडाएको थियो। मैले "बुवा, बुवा" भनेर दुइ पल्ट सम्म बोलाए। उहाँ बोल्न नसकेपनि उहाँको अनुहार बोलेको मैले महशुस गरे। ज्वाई र माल्दाइले पनि 'बुवा' भनेर बोलाउनु भयो। सिंहजस्तो साहसी मेरोबुवा त्यसरी मृतुको अघि लम्पसार परेको देखेर आँखाको कोछ कोछबाट अस्रबुंद खस्न थाल्यो। बैनी कल्पना बुवालाई देख्नसाथ् डाँको छोडेर रुन थालिन।
हामीले बुवालाई तुरुन्त इमर्जेन्सीमा भर्ना गर्यो। बुवाको अवस्था देख्ना साथ् बुवालाई जाँचेको डाक्टरले "केश जटिल छ तुरुन्त काठमाण्डौ अथवा भैरहवा शिक्षण अस्पताल लैजान भनेर भन्यो। मझौलो कद, रातो छालामा छिद्र परेको अनुहार अनि त्यो माथि एकजोडी गोलो फ्रेम भएको चश्मा लगाएको, करिब पाँच फुट छ इन्चको शरीरमा सेतो गाउन भिरेको ऊ त्यो भन्दा धेरै बोल्न चाहेन। उसको रुखो बोलीमा डाक्टरको धर्म निभाएको थियो होला र मानबिय समबेदना सुन्य थियो। मेरो सोचाइमा गल्ति हुन पनि सक्छ। मैले भर्ना गरेको बिरामीसंग मेरो रगतको नाता थियो। सम्बन्ध शब्दमा होइन हाड, छाला, माशु र रगत जताततै जेलिएको थियो। तर उसको लागि मेरो बुवा एक आम बिरामी मान्छे वा एक बस्तु अर्थात् मशिन थियो जसको पाटपुर्जा कामै नलाग्ने भएको छ। उसले हामीलाई आफुले रोगको बारेमा जानेको कुरा भनेर, अथवा उसले प्रयोग गरेका आधुनिक मेसिनले बोलेका कुरा भन्न सक्थ्यो। भनेन। ऊ ब्यस्त भएर पनि हुन सक्छ।
त्यसपछि हामीले एम्बुलेन्स बोलाएर बुवालाई भैरहवा शिक्षण अस्पतालमा लैजाने निर्णय गर्यो। बुवालाई घरि तल झार्ने, घरि माथि राख्ने ,झुन्डाउदै यताउति गराउदा कति दुखेको होला। यदि चेतना हुन्थ्यो भने पक्कै पनि भन्नुहुन्थ्यो होला 'मलाई धेरै दुख नदेउ। शान्तिसंग मर्न देउ'।'अह उहाँसंग बोलि थिएन। एकाएक शब्दहरु हराएका थिए। चेतना शुन्य थियो। केवल थियो त मृतुसंग जुध्दै गरेको एक चिम्टी स्वास बाँकी थियो। अजर अमर आत्मा थियो।आत्मा सुन्यमा बिलिन थियो।एकैछिनमा एम्बुलेन्स नर्सिङ्ग होमको अगाडी आएर रोकियो। बुवालाई स्लाइन पानीसंगै भित्र राख्यौ र हामि पनि संगै बसेर भैरहवातिर लाग्यौ। झमक्क साँझ परिसकेको थियो। सडकको छेउछाउ गाडिएका बिजुलिका पोलमा बोलिरहेका बत्तीहरुमा थुप्रै किरा, पुतलीहरु झुम्मिदै थिए। बत्तिको रापले जलेर प्राण त्याग्दै थिए। सडकमा गाडिहरु तछाड मछाड गर्दै कुदिरहेका थिए। साइकल, मोटरसाइकलहरु बत्ताउदै गन्तब्यतिर जादैथिए। सबैको यात्रा अनिश्चित थियो। सबैले जिबन आशाको बेगमा अगिल्तिर हुत्याइरहेका थिए। मृतुले उनीहरुको पिछा गरेको छ भन्ने सायद कमैलाई थाहा थियो होला। त्यहि धुलो, धमिलो बाटोमा एकोहोरो एमर्जेन्सिको हर्न बजाउदै हामि चढेको एम्बुलेन्स अगाडी बढिरहेको थियो। भित्र सबै मौन थियौ। शब्द अर्थपूर्ण बाक्यहरुको खोजि गर्दै थिए सबैको मनभित्र। जब जिबन जिउनुको कुनै अर्थ भेटिएन शब्द अर्थहीन बनेर भित्र हराइदियो। बोलिरहेका थिए त केवल तेल सकिएको दियो जस्ता आँखाहरु, काला खोपिल्टाहरु।
करिब रातको नौ बजे एम्बुलेन्स भैरहवा शिक्षण अस्पतालको आपतकालीन गेटबाट भित्र गयो, हामि काउन्टरमा बिरामी भर्ना गर्न गयौ। हामिलाई भर्नाको लागि फर्म दिएको थियो।बिरामीको नाम, ठेगाना, उमेर र उसको रोगको प्रकृतिको बारेमा। मैले हतारिदै फर्म भरे। गोरो लाम्चो अनुहारमा हल्का क्रिम दलेकी, पातली, होची होची कर्मचारीले बुवाको भर्नाको लागि दश हजार डिपोजिट राख्नु पर्ने भनेर फर्माइस गरि। साइलो दाईले पैसोको बन्दोबस्त गरेर आउनुभएको थियो। धरौटी बुझाएर हामि एकछिन त्यहि रोक्यौ। त्यसपछि उनीहरुले बुवालाई 'इन्टेन्सिभ केयर युनिट' मा भर्ना को सिफ़ारिस गरे। हामिले चाहेका थियौ कि जतिसक्दो छिटो बुवालाई भेन्टिलेटरमा राखेर उपचारको प्रक्रिया शुरु होस्। सुरुमा बिरामीको टेस्टको लागि रगत निकाल्ने, प्रेसर चेक गर्ने काम भयो। त्यहाँ कुनै पनि भेन्टिलेटर खालि थिएनन। अक्सिजनको सिलिन्डर पाउनको लागि या त प्रयोग गरिरहेको बिरामीको मृतु हुनु पर्यो या डिस्चार्ज। त्यतिन्जेलसम्म बुवालाई बाहिरै राखेर उपचारको प्रक्रिया अगाडी बढाउने कुरा थियो। नर्सहरुमात्र घरि घरि आउन थाले। हामि डाक्टरको तिब्र प्रतीक्षामा थियौ। डाक्टर हाम्रो भगवान हो जसले आफ्नो जादुको छडीबाट बुवालाई जगाउन सक्छ। अह घन्टौ बित्दा समेत त्यसो हुन सकेन। बरु एक हुल डाक्टरी सिक्दै गरेका केटाकेटीहरु आए।
प्रयोगशालामा राखेको कुनै बस्तुलाई झैँ गरि निरीक्षण गर्न थाले। बुवासंगा एकजनालाई मात्र बस्न दिएको थियो। म दाइलाई पालो दिन भित्र छिरे। त्यसै बेला देखा परे एक चिकित्सक घाटीमा बिरामी जाच्ने स्थेस्कोप झुन्डाउदै । उनको पछि पछि आउदै थिए दुईजना सेतो गाउन भिरेका महिलाहरू । डाक्टरसंग सबै जानकारीहरू थियो होला उसले म संग बोल्ने कष्ट पनि गरेन। बुवालाई ओल्ट्याई पल्ट्याई गरेर हेरेपछि ऊसको पछि उभिएका दुईजनालाई केहि कुराहरू भन्यो। ऊनिहरूले आफ्नो नोटप्याडमा सारे। त्यसपछि मलाई कुनै जानकारी गराए बिना ऊनिहरू सरासर बाहिर निस्के। बुवाको सरिरको आधाभाग चल्दैनथ्यो।मुखबाट सेतो फिज निस्किरहेको थियो। मैले घरि घरि रुमालले त्यो फिज पुछिरहेको थिए। माइलो दाई, साइलो दाई पनि पालै पालो बुवाको सेवामा खटिरहनु भएको थियो। बुवाको मुख भित्र फिज धेरै जम्मा भएपछी बुवालाई स्वस फेर्न समेत गार्हो हुन्थ्यो। एक खालको गर्रर्र गर्रर आवाज निस्किन्थ्यों। बेला बेला नर्स आएर मुखमा प्लास्टिकको पाइप घुसाएर मुखभित्र जम्मा भएको थुक तान्थी जस्तो कि दाँत निकाल्ने बेला दाँतको डाक्टरले मुखमा जम्मा भएको थुक प्लास्टिकको नली घुसारेर तान्छ। त्यहाँ ओरिपरि अरु बिरामिहरुपनी रोइरहेका थिए। कतै बिरामीहरु रोदन थियो त कतै आफन्तहरु मुर्छित हुदै चिच्याउदै थिए। सबै बिरामीहरु आकष्मिक रुपमा त्यहाँ ल्याइएकोले पनि होला धेर्रैलाई स्वीकार गर्न गार्हो भैरहेको अवस्था थियो। नर्सहरुले कतै आला खाउहरुमा ड्रेसिङ्ग गरिरहेका थिए भने कतै सलाइन चढाउदै थिए। दृश्य हेर्दा लाग्थ्यो आम मान्छेहरु स्वर्ग वा नर्गको अन्तिम स्टेसनमा बसिरहेका छन्। उनीहरुलाई यमराजले सेलेक्ट गर्दै छ। उसको लिस्टमा नपर्नेहरु पुन उअपचह्र पश्च्यात घर फर्कनेछन।
डाक्टरहरुको आवत जावत र हाउभाउले स्पस्ट देखाइरहेको थियो अब बुवा पुरानो अवस्थामा कुनै हालतमा पनि फर्कन सक्नुहुन्न। 'त्यहि पनि सास हुन्जेल आँस' भनेझै हामीहरुले आफ्नो तर्फ देखि कोशिश गरिरहेका थियौ। यदि काठमाण्डौ वा दिल्ली लगेर भएपनि बुवाको सफल उपचार हुन्थ्यो भने हामि अगाडी बढ्ने सल्लाह पनि गरिसकेका थियौ। तर त्यो सम्भाबना एकदमै कम थियो। त्यसै बीच मैले काठमान्डौमा सम्पर्क गरेर कुनै चिनेको डाक्टर भए नभएको कुरा पत्ता लगाए। एक जना न्युरोको स्पेसलिस्ट हुनुहुदो रहेछ। उहाँलाई भेटेर बुवा बाच्न सक्ने अवस्था रहे नरहेको जानकारी लियौ। उहाँले बुवाको केस हेरिरहेको डाक्टरसंग सम्पर्क गरेर भन्नुभयो "बिरामी भेजिटेबल अबस्थामा छ। दिल्ली नै पुर्याउन सक्यो भने पनि बाच्ने चान्स सयमा एक दुइ प्रतिशत मात्र हो। यदि बाँचिहाले पनि उहाँको आधाभन्दा बढी भाग प्यारालाइसिस भैसकेको छ। " हामि स्तब्ध भयौ। बुवालाई बचाउन सकिदैन भन्ने त मनमा पहिलेदेखि नै थियो तर पनि भित्रि कुनामा कता कता फिलिंगो बाँकी थियो। त्यहि फिलिंगोले आशाको दिप बाल्न सक्छ कि भनेर हामीले पर्खि बसेका थियौ। त्यो पनि लगभग निभ्यो।
"यो अबस्थामा बुवा बाच्नु कतिको सार्थक हुन्छ ? यदि बाच्नु भयो भने पनि जिन्दगिभर अरुको साहारामा जिउनु पर्ने। दैनिक दिशा पिशब गर्न कसैको सहयोग चाहिने। आधा हर जिउदो र आधा हर मुर्दा भएर कसरि सहज होला जिबन। के अर्थ होला बाँचेको ? यस्तो अवस्थामा बुवा बाँच्नु भन्दा सायद मोर्नु भयो भने कमसेकम उहाँको आत्माले शान्ति पाउन सक्छ। त्यो मक्किसकेको भौतिक शरीरले बिस्राम पाउछ", यस्तै यस्तै कुराहारू खेले मनमा। 'के कोहि मोर्दै छ भन्ने थाहा भयो भने उसको पिडालाई कम गरेर उसलाई सान्ति संग प्राण त्याग गर्न दिने उपयहरु छैनन्? तिब्बतियन भिक्षु दलाई लामाले भनेको छन् "यदि बिरामी कुनै निश्चित समय भित्र मोर्दै छ भन्ने थाहा भयो भने उसलाई शान्तिसंग मोर्न दिनु पर्छ। उसको शरिरमा अनाबस्यक किसिमले सुई रोप्ने, बिकिरणहरुको प्रवेश गराउने काम गर्नु हुदैन। जिबनको अन्तिम अबस्थामा हरेक मान्छेले आध्यात्मिक ज्ञानको अनुभूति गर्दछ। उसमा एकखालको स्प्रिचुवल भिजन आउछ जसले आफ्ना पुर्खाहरुसंग भेट गराउछ। उसको अघिल्लो जिबन र पुनर्जिबनको बोध गराउछ।" सायद त्यसैले होला धरै मान्छेहरुले "म मोर्दैछु। फलानो संग यति पैसा लिनु छ फलानोलाई यति दिनु छ भनेर आफन्तहरुलाई भनेको सुन्नमा आउछ। अर्को पनि भनाई छ 'मर्दै गरेको मान्छे कहिले पनि झुटो बोल्दैन भनेर। सायद त्यसैले पनि होला हिन्दु संकारमा मान्छे मोर्दै गर्दा 'तुलसीको मठमा सारिन्छ र रामनाम जप्न भानिन्छ। त्यहाँ बाताबरण त्यस्तो थिएन।
संसारमा विज्ञानको चमत्कारले गर्दा अनौठा खाले चमत्कारी घटनाहरु घटेको पनि हामीले समाचारहरुमा सुन्दै पड्दै आएका थियौ। कैयौ बिरामीहरुलाई डाक्टरले एक बर्ष, एक महिना, एक हप्ता वा एक दिनको आयु तोकेको अबस्थामा पनि बिरामीहरु बाँचेको र पुनार्जिबन पाएर घर फर्केको घटनाहरु प्रमाणको रुपमा हाम्रै अगाडी थिए। त्यसैले पनि होला "मन्दिर, मस्जित र चर्चहरुका भित्ताहरुले भन्दा धेरै भगवानको नाम र प्राथना अस्पतालका भित्तहरुले सुनेका छन्" भानिन्छ।घाटमा पुगेको बिरामी बाँचेर घर फर्केको छ। निकै नहुने खालका रोगहरुसंग जुधेर रोगलाई जितेको छ।
बिरामीहरुलाई अन्तिम अबस्थामा पिडारहित स्याहार सुसार गर्नको लागि संसारभर होस्पाइस सेन्टरहरु संचालनमा छन्। यस्ता खाले घरहरुमा बिरामीलाई ट्युब, इन्जेक्सन वा भेन्टीलेटरमा राखेर उपचार गर्नुको साटो धर्मशालामा राखेर आबस्यक स्याहार सुसार गरिन्छ। उनीहरुको रोगको उपचार बन्द गरिन्छ। उनीहरुको अन्तिम इक्षा परिबारका सदस्यहरुले पुरा गर्दिन्छन। यदि परिवारको सदश्यहरु छैनन् भनेपनि यहाँका कर्मचारिहरुले उनीहरुको इच्छा बमोजिम काम गर्दिन्छन। कतिपय यस्ताखाले घरहरु कतै धर्ममा आधारित छन् भने कतै राज्यको दाइत्वको आधारमा। क्यान्सर, स्ट्रोक, हार्ट फेलियर जस्ता बिरामीहरु जसको आयु छ महिना भन्दा कम तोकिएको हुन्छ या उनीहरुको स्वाथ्य अवस्था निरन्तर खस्किएको हुन्छ तिनीहरुलाई यस्ताखाले होस्पाइस सेन्टरमा राख्ने गरिन्छ। तर नेपालको अवस्था फरक छ। कैयौ प्राण त्याग गरिसकेका बिरामीहरुलाई पनि कैयौ दिन भेन्टीलेटरमा राखेर बिरामीको आफ़न्तहरुसंग पैसा असुलेका घटनाहरु पनि हामीले नसुनेको हैनौ। मनमा यस्तै यस्तै कुराहरु खेलिरहे। एक एक मिनेट घण्टा र घण्टा दिनमा परिबर्तन भैरहेको थियो। एक मनले सोच्यो, यदि बुवाको स्वास्थ्य अवस्थामा सुधार आउदैन भने किन ट्युब र इन्जेक्सनहरु लगाई राख्ने। त्यो भन्दा राम्रो घरमै लगेर तुलसीको मठमा रामनाम जप्दै सान्तिसंग प्राण बिसर्जन गर्न दिने। फेरी अर्को कुनाबाट नयाँ सोच पलाउछ। "डाक्टरहरु भगवान हैनन्। बुवालाई बचाउने या मार्ने जिम्मा भगवानकै हातमा छ। यदि भगवानले चाहेको खण्डमा बुवा पूर्ण रुपमा निको हुनुहुनेछ।"
डाक्टरहरुले बुवालाई अन्तिम अवस्थामा भएकोले भेन्टिलेटरमा नराख्ने सुझाब दिएका थिए। तरपनि कता कता डाक्टर भन्दा भगवानमा बढी बिश्वास जाग्यो। मनभित्र अनौठो द्वन्द चलेको थियो। भाईहरु बसेर सल्लाह गर्यौ। के गर्ने ? अहँ हामि कसैसंग पनि उत्तर थिएन।बुवालाई जहाँ राखेर उपचार गरिएको थियो त्यहाँ शान्तिको बाताबरण थिएन। दुर्घटनामा परेका मान्छेहरु रगतको आलमा डुबेर ल्याइएका हुन्थे। आफन्तहरुको कारुणिक चित्कार थियो। त्यसैले पनि सोच्यौ यदि बुवालाई भेन्तिलेटरमा राख्यौ भने जतिसमय बाँच्नुहुन्छ शान्तिसंग बाच्नु हुनेछ। स्वस फेर्न सजिलो हुनेछ। हामीलाई पनि थुक्क थुक्क हुनेछैन कि यदि भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको खण्डमा बाच्न्नुहुन्थ्यो कि भन्ने। हामीले हाम्रै करबलले भेन्टिलेटर खालिहुनासाथ् बुवालाई सार्न भन्यौ।रातको करिब एघार बजेतिर बुवालाई भेन्टिलेटरमा राखेर उपचार प्रक्रिया अगाडी बढाइयो। तर उपचारमा खटिएका डाक्टरहरुको एकदम क्लियर मेसेज थियो कि केहि समय भित्र बुवालाई मृत घोषणा गरिने छ।
अस्पतालको बाहिर आगनमा झुण्ड झुण्डमा मान्छेहरु उभिएका थिए। सबै बिरामीहरुका आफन्तहरु थिए होलान। कोहि आफन्तहरुको मृत शारिर बुझ्नको लागि शब् बहान तयारी अवस्थामा राखेर पर्खाइमा थिए भने कोहि दुर्घटनाको खबर आफन्तहरु संग साट्दै थिए। रातमामा पनि अस्पताल बाहिरको सडक ब्यस्त थियो। आकाशमा ताराहरु मौन थिए। बाहिरको अन्धकारलाई बिजुली बत्तिहरुले परपर सम्म धकेलिदिएको थियो। बत्ति जिबन थियो र त्यो कालो छाँया मृतु। जस्तो कि जिबन संग मृतु निश्चित रेखा कोरेर बसेको छ। पर्खाइमा छ। आगनको डिलमा थ्याच बसे। माइलो दाई र ज्वई भित्र हुनुहुन्थ्यो। साइलो दाई र म बाहिर। हामि एक्ला एक्लै थियौ। अनुहार भाबसुन्य थियो। बुवाको मृतुले हाम्रो जिबनमा ठुलो भौतिक क्षति त गर्नेवाला थिएन। सबै जसो छोराछोरीहरु एक प्रकारले हुर्किसकेका थियौ। बुवाको भौतिक जिम्मेवारी दाइहरुले बहन गर्न सक्नुहुन्थ्यो। तर मानशिक क्षति अतुलनिय थियो सबैको लागि। बुवा एक्लो छोरा भएकोले हाम्रो ठुलो बुवा सानो बुवा वा अङ्कल कोहि पनि हुनुहुन्थेन। त्यसमा पनि सबैभन्दा ठुलो चिन्ता थियो आँमाको। छोराहरु हुर्किदै गुड छोड्दै गरेको अवस्थामा दुख सुखको मझेरी बुढाको लागि बुढी र बुढीको लागि बुढो हुदो रैछ। हामीले आमालाई कसरी जवाफ दिने कि हामि सात सात भाईले बुवालाई बचाउन सकेनौ। जीबन दिने, बचाउने र लैजाने काम भगवानको हो। के आमाले यसै भनेर चित्त बुझाउनुहोला। दश बाह्र बर्षको उमेरदेखि गर्दै आएको प्रेमको अन्त्य यति छिटै होला भनेर कल्पना सम्म थिएन होला आमालाई। यदि मान्छेलाई आफ्नो काल कहिले आउछ भन्ने थाहा हुन्थ्यो भने अन्तिम दिनका कुराकानीहरु कस्ता हुन्थे होला? मनमा अनेकथरि कुराहरु खेलिरहे।
करिब बाह्र बजेतिर डाक्टरको टोलिले हामीहरुलाई सल्लाहको लागि बोलायो। बोलाउदा पनि मन झसक्क हुन्थ्यो। के के सोचिहालिन्थ्यो। मृतु घोषणा गर्नको लागि बोलायो कि ? कतै चमत्कारी ढंगमा सुधारका लक्षणहरु देखा परे कि ? यदि बाचिहाल्नु भयो भने झनै दुख पाउनुहुनेछ। कसले गर्ला स्याहार सुसार जिबन भरि ? शरीरलाई पिडा नभई सहज जिबन जिउन पाउने भए बाँचेको पनि सार्थक होला। यदि शारीरिक र मानशिक पिडा झेल्दै दशकौ जिउनु पर्यो भने के होला अवस्था ? मन र मस्तिष्कमा द्वन्द चलिरहेको थियो। मन भित्र कुनै कुनामा भन्थ्यो' बुवा कुनै हालतमा बाच्नुहुन्न।कमसेकम दुख त पाउनुहुन्न। यदि बुवालाई समयमा ठाँउमा पुर्याउन सकेको र सहि उपचार पाएको खण्डमा बुवा ठिक हुन पनि सक्नुहुन्थ्यो। तर त्यहाँ ल्याइपुर्याउदा झन्डै झन्डै दस घण्टा भन्दा धेरै भैसकेको थियो।
बुवालाई हृदयघात भएको थियो। बुटवलसम्म ल्याइपुर्याउदा उहाँ भेजिटेटिभ अवस्थामा हुनुहुन्थ्यो। दिमागको स्नायु प्रणालीले काम गर्न छाडिसकेको थियो। केवल आँखाको मुभमेन्ट बाँकी थियो। कहिले काँही अप्ठेरो परेको अवस्थामा मुख चलाउनुहुन्थ्यो।यस्तो अवस्थामा बाँचे पनि आधा सहरी मात्र चल्न सक्थ्यो। सोच्न सम्म डर लागिरहेको थियो। यदि तुरुन्त छातीमा दुईहातले दबाएर मुखमा मुख जोडेर स्वास दिन सकेको भए बुवा बाच्न पनि सक्नुहुन्थ्यो। सिपिआर गरेर तुरुन्त केहि मिनेटभित्र इमर्जेन्सीमा लैजान सकेको भए उहाँको दिमागमा चोट लाग्न पाउदैनथ्यो। बाच्न सक्ने सम्भावना प्रबल हुन्थ्यो। तर भोगोलिक संरचना, अस्पतालको लागी दिनभर लाग्ने हुदा पनि समयमा उपचार हुन पाएन। यस्तो बेलामा बल्ल थाहा हुदो रैछ किन मान्छेहरु तराई झर्छन। किन शहर पस्छन। हुन त तराईमा होस् या पहाडमा यदि हृदयघात भयो भने बाँचा सक्ने चान्स एकदमै कम छ। तर पनि केहि समयमै हस्पिटलमा पुर्याउन सकिन्छ। अन्य रोगहरुको उपचार गर्नको लागि पनि सहज हुन्छ। बाग्लुङ्ग जिल्लामा थुप्रै दुर्गम बस्तीहरु छन्। जहाँबाट मोटरबाटो भएको ठाँउसम्म पुग्नकै लागि पनि एक साता सम्म पैदल हिड्नु पर्छ। उनीहरुको अवस्था के होला ?
"तपाइहरुलाई बिरामीको अवस्थाको बारेमा बताउनको लागि यहाँ बोलाएको हो। हृदयघातको कारणले बिरामीको ब्रेनको नसा फुटेको छ। अत्याधिक रक्तस्राबले गर्दा ब्रेन सेलहरु मोरिसकेका छन्। यसलाई ब्रेन ह्यामरेज भनिन्छ। यसै कारणले गर्दा शरीरको आधाभन्दा बढी अंगहरुले कामगर्न छोडिसक्यो।मृगौलाले काम गर्न छोडिसकेको छ। यस्तो अवस्थामा हामीले भागवन संग प्राथना गर्नु सिबाय केहि छैन। यदि कसैलाई मुख भेट्नको लागि बोलाउनु छ भने छिट्टै बोलाइदिनुस" बुवाको केस हेरेको डाक्टरले भन्यो। "हामीले आबश्यक सबै टेस्ट गर्यौ र रिपोर्ट पनि आइसक्यो। तपाइहरुले बिरामीलाई आइसीयुबाट निकालेर बाहिर क्याबिनमा राख्नु भयो भने भेट्ने मान्छेहरुलाई सजिलो होला। यत्ति नै समय भनेर चाही हामि भन्न सक्दैनौ ", उसले टेबुलमा भएका फाइलहरु पल्टाउदै भन्यो। सत्य जतिसुकै कठोर भएपनि अन्योलको भुमरिबाट भने बाहिर निकाल्दो रैछ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home