संस्मरण (VI)
बुवालाई माछा असाध्यै मन पर्दथ्यो। पछि तिर्थ गएपछि मात्र माछा माशु छोड्नु भएको थियो। माछा माशु नछोड्दैको कुरा हो। एक दिन बुवा झमक्क साँझ परेपछि घर आउनु भयो। त्यो दिन उहाँ लेकमा भएको मूल घरबाट बेशीमा भएको घर झर्नु भएको थियो जहाँ साइलो दाइँ र म बस्थ्यौ। हामीहरुले बेलुका अलि चाडै खाएर सुत्ने गर्थ्यौ। कहिले काँही वल्लो पल्लो घर डुल्दा अलि अबेर पनि हुन्थ्यो। हामीहरु खान खाएर बाटोमा निस्केका थियौ। बुवाले खोलातिर गएर तिउन खोजेर ल्याउन भन्नु भयो। भात बसालेर दाई र म खोलातिर हिड्यौ। कुलानेर पुग्दा पुन बाजे भेटिए। टाउकोमा झुत्रो टोपी, फाटेर भुडी देखीने रातो स्विटर र खुट्टामा बाक्ला मोजा लगाएका पुन बाजेले काँधमा जाल हालेका थिए। हामीले उनीसंगै खोलामा छिर्ने सल्लाह गर्यौ। "तिमीहरु छेउ छेउमा हत्केला खेल, म बिचमा पसेर जाल हान्छु। घोप्टेको पुलसम्म पुगेर फर्किम्ला", उनले खेतको आलीमा ढलफ़लाउदै भने।
त्यसपछि हामिहरु सातको गरामुनिबाट बडीगाड खोलामा पस्यौ। उनले झ्यालै झ्याल भएको जाँय खोलेर टाउकोमा बाने र कम्मरमा जाली भिरे। जालीले उनको कम्मरमुनिको पुरुष अंगलाई ढाकेको थियो। त्यसपछि कम्मर कम्मरसम्म पानि आउने ठाउँसम्म पुगेर जाल हान्दै माथि माथि लागे। हामि हास्दै हास्दै छेउ छेउमा ढुंगामुनि हात छिराउन थाल्यौ। कुरमा बासा बसेका माछा हात लैजान साथ भाग्थे। कतिपय समातेर बाहिर निकाल्न लाग्दै गर्दा फुस्किन्थे। दाइले "ल यता आइज आइज यहा बडेमानको असलो छ "भनेर मलाई बोलाउनुहुन्थ्यो। मैले गएर अर्को पट्टिकोको कुर थुनीदिन्थे। धेरैबेरमा कान्छी औला झैँ खिरो निकाल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो,"यत्रो मुठीभरिको असलो थ्यो फुस्क्यो। " झिकेको माछा बुढी औला भन्दा ठुलो हुन्थेन तर फुस्केको माछो भने नारि भन्दा सानो कहिले भएन। यस्तै गर्दै गर्दै काली रह देखी करिब पाँचसय मिटर तल पुगिसकेका थियौ। पुन बाँजे अलि तलै थिए। हामीले चार पाँच वटा जति खिरा मारेका थियौ। म सबै भन्दा अगाडी थिए।
त्यसैबेला मैले काली रहको छेउमा उज्यालो देखे। मान्छे रहेछन भन्ठानेर अलि अगाडी जादै गर्दा त्यो उज्यालो बस्तु कालि रहको छेउमा अबस्थित ठुलो ढुंगाको तलपट्टि सुतेर बसेको चेप्टो ढुङ्गामा देखा पर्यो। सेतै लट्टा भएको, हातमा निलो, पहेलो रंगको बत्ति समातेको मान्छेको आकृति देखेपछि म रोकिएर दाइलाई बोलाए। दाइले देखेपछि मलाई त्यहि रोकेर पुन बाजेलाई बोलाउनु भयो। पहिले त पुन बाजेले कुमालहरू जाल हान्दै होलान भने। जब त्यो अजिब मान्छेको आकृति रंगी बिरंगी बत्तिको उज्यालोमा देखे, उनले मेरो दाहिने हाँत् च्याप्प समातेर नबोलीकानै खेतमा उकाले। खेतमा पुगेपछि मैले हाँत छुटाएर त्यो आकृति भएको दिशातिर माटोको डल्लो फ्याके। एकैछिनमा त्यो ठाँउबाट राँको जस्तै आठ दशवटा आगोको ज्वाला माथि पाखातिर उकालो लागे। सबैले राँके भुत भन्दै हेर्दै थिए। हामि केहि नबोली घरभित्र गयौ।
त्यसको भोलिपल्टदेखि मलाई ज्वोरो आउने, कपाल दुख्ने हुन थाल्यो। खर्बाङ्ग नारायण धितालको क्लिनिक बाट औषधि पनि लिएर खाए। तर महिनौ सम्म निको भएन। कम्जोर हुदै गए। न खान रुच्ने न खाएको राम्रो संग पच्ने, म दुब्लाउदै गए। जे खाना खाएपनि छेर आउने, हरेक दिन बेलुकापख ज्वोरो आउने, खाना नरुच्ने भयो। त्यसै त दुब्लो म, बिरामी परेपछि सर्ट पाइन्ट लगाउदा बारीमा बाँदर भगाउन राख्ने बुख्याचा जस्तो भएको थिए। जसले देखे पनि 'किन हो यसरि दुब्लाएको भनेर प्रश्न गर्थे। दिक्क लागेर मान्छे देखे लुक्ने भएको थिए। सिटामोल खाएर भएपनि जनतन एकदुइ दिन बिराएर स्कुल भने जाने गर्थे। कोठामा सबैभन्दा पछिल्लो बेन्चमा बस्थे। टाउको टेबुलमाथि राखेर सुत्थे। साथीहरु पनि धेरै थिएनन्।
स्कुल बिदामा म मुल घर थान गएको थिए। त्यो दिन स्कुलमा निर्बाचन थियो। बुवा र भेडीखाको बोमलाल बन स्कुलबाट भोट खसालेर घरमा आउनुभयो साँझपख। बोमलाल बनले अक्षता हेर्थे। रोग खुट्याउन गाँउमा कहालिएका पनि थिए। बुवाले "काईलो बिरामी भएको महिना दिन भन्दा धेरै भयो। दुब्लाएर खरको धर्सो जस्तो भएको छ। कतै मसान लागेको छ कि हेर्देउतो "भन्दै भित्र बाट चरेसको थालमा अलिकति चामल र ओदानको तिन खुट्टाको खरानी झिकेर दिनुभयो। उनले थालमा एक एक दुइ दुइ गर्दै चामलको गेडा खुट्याउन थाले। अनि के के मन्त्र पढे झैँ गरेर थररर काम्न थाले। त्यसपछि कामेको स्वरमा "छि छि म खेतीको छेउमा बस्ने मसान हु। तैले मेरो अपमान गरिस। यदि तैले कालो बोको भोग दीनस भने छि छि छि मैले छोड्ने छैन" भन्दै कामिरहे धेरैबेरसम्म। "जल खेतीको मसानले छोए जस्तो छ बाबुलाई। कतै रातिमा डराएका थियौ र ?" उनले मलाई सोधे। त्यसो भन्दासाथ् मैले कालिरहमा देखेको आकृतिको बारेमा भने।यो कुरा मैले दिन बुवासंग भनेको थिइन। मलाई मसान लाग्छ भन्ने कुरा अन्धविश्वास हो भन्ने लाग्थ्यो।
बुवा किन नभनेको भनेर मसंग एक छिन रिसाउनु भयो। उनले भनेको कुरा ठिक हो भन्दै बुवाले बिधि अनुसार धजा फाल्दिनु भयो र कालो पाठो भाकल पनि गर्नु भयो। नभन्दै त्यो दिन पछाडी मेरो रोग क्रमिक रुपमा सुधार हुदै गयो र लगभग एक हप्तामै म पूर्ण रुपमा निको भएँ। त्यो घटनाले गर्दा अझै पनि कता कता भित्रि मनमा भुत, पिचाश, मसान जस्ता चिजहरुमा बिश्वास लाग्छ। रातिमा घरबाट बाहिर निसक्दा सधै मसानले कतै छल्ने हो कि भन्ने भय सधै भैरहन्छ।
VII.
कार्तिक महिना थियो। दशैँ तिहारको छुट्टीमा सबैजना घरमा थियौ। थालेपोखराको धुरीबाट सुर्य भगवानले चियाईसक्नु भएको थियो। हामि ओक्षानमा हुदै झलमल्ल घाम लाग्थ्यो। संगसंगै रेसुङ्गाको धुरी, मुसिकोट, धुर्कोटको धुरिहरुमा घामका सुनौला किरणहरु सल्बलाइरहेका हुन्थे। बुवा बिहान छिट्टै उठ्नुहुन्थ्यो। सौचकर्म सकेपछि हामीहरुलाई उठाईहाल्नु हुन्थ्यो। ढिलोसम्म सुत्न कहिले पनि पाइदैनथ्यो। यदि खेताराहरु बोलाउन छ भने बिहानै घरबाट निस्कनुहुन्थ्यो। हामीहरुलाई कसले गोरुको लागि घाँस काट्ने, कसले वल्लो गोठलाई घाँस काट्ने, कसले पल्लो गोठालाइ घाँस काट्ने, को को गएर खरबारीमा खर काट्ने सबै कामको बाँडफाँड बिहानै गर्नुहुन्थ्यो। लैनो भैसीलाई कलिलो, र नरम खालको घाँस चाहिन्थ्यो। बकेर्नो भैसीलाई अलिक जिनो भएपनि हुन्थ्यो। गोरुको लागि सुकेको, नमिठो घाँस भए हुन्थ्यो। त्यहि हिसाबले कहाँ कहाँ घाँस काट्न जाने भन्ने निर्णय हुन्थ्यो।
बुवाले मलाइ कोदोको नल काट्न ठुलो पाटोमा पठाउनु भयो। भर्खर अर्जापेको हँसियामा आफैले उदाएर धार लगाउनु भयो। 'ध्यान देर काटेस् , हात काट्लास भन्दै ' आफु पनि पछि पछि आउनु भयो। हामी जे काम भन्यो त्यहि काममा जान्थ्यौ। बुवा भने सबैतिर हेर्दै, कहाँ बिग्रेको छ, कहाँ घाँसको मेलो बाँकी छ भनेर सबैतिर ध्यान दिनुहुन्थ्यो। मैले अलिकति मेसो फालेपछि आउनु भयो। बुवासंग काम गर्न सजिलो हुन्थेन। उहाँलाई सबैकुरा ठिक ठिक हुन पर्थ्यो। मेलो मसिनो बनाएर काट्नु पर्ने, पाँजाहरु मिलाएर राख्नु पर्ने, सुकाउदा पनि एकैनासले सुकाउनु पर्ने। केहीबेर काटेपछि बुवाले काटेको नल भीरतिर लगेर सुकाउन लाग्नु भयो। त्यहि बेला हँसियाले मेरो कान्छी औला काट्यो। नङ्ग आधाभन्दा धेरै च्वाट्टै पारेछ। भलभली रगत बग्न थाल्यो। दाहिने हातले घाउलाई समातेर म बुवा भएको ठाँउमा गएँ। बुवाले देखिहाल्नु भयो। "अलि ढङ्ग पुर्याएर काट्न पर्दैन' भन्दै आस्कोटको भित्रि गोजी हँसियाले काटेर अलिकति कपडा निकाल्नु भयो र त्यसैले घाऊ बाधिदिनु भयो। त्यसपछि मलाइ बिस्तारै नल सुकाउन लगाउनु भयो र आफु काट्न जानु भयो। बेलुका आमाले घाउमा तेल तताएर हाल्दिनु भयो।
VIII.
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home