Sunday, November 8, 2020

संस्मरण (III)

"द तिबेतन बुक अफ लिविंग एण्ड डाईङ्ग " मा सुग्यल रिन्पोचेले अन्तिम अवस्थामा पुगेको बिरामीलाई कस्तो किसिमको ब्यबहार गर्नु पर्छ भनेर विभिन्नखाले उपाए तथा तौर तरिकाहरुको व्याख्या गरेका छन्। उनले भनेका छन् 'सम्भब भएसम्म सम्पूर्ण जिमात्माको मृतु उसको घरमा हुनुपर्छ किनभने सबैको लागि आरामदाई ठाँउ भनेको उसको घर हो। घरमा जति शान्तिको अनुभूति गर्न सकिन्छ त्यो अस्पतालमा गर्न सम्भब छैन। यदि यो सम्भब भएन र बिरामीको मृतु अस्पतालमै हुने भयो भने त्याँहाको बाताबरण सम्भब भएसम्म घरको जस्तो बनाउनु पर्दछ। उसको नजिकको आफन्तहरु साथमा रहनु पर्दछ। यदि बिरामीको मृतु हुने निश्चितप्राय भयो भने उपचार प्रक्रिया रोक्नु पर्छ। बिरामीलाई अनाबश्यक सुइहरु रोप्ने, अनेक प्रकारका टेस्टहरु गर्ने काम बन्द गर्नु पर्दछ। सकेसम्म बिरामीलाई इन्टेन्सिभ केयर युनिटबाट निकालेर प्राइभेट वार्डमा सार्नु पर्छ  किनभने इन्टेन्सिभ केयर युनिटमा बिरामीलाई कृतिम स्वास दिइएको हुन्छ जसले गर्दा बिरामीले अन्तिम अबस्थामा आधात्यमिक चिन्तन गर्न सक्दैन। यसको अलावा बिरामीलाई मन पर्ने संगीत, किताब या चित्रहरु सुनाउनु या देखाउनु पर्छ।" हाम्रो हिन्दु संस्कारमा पनि बिरामिलाई अन्तिम अवस्थामा तुलसीको मठमा राखेर रामनाम जप्ने चलन छ। सायद यसको अर्थ बिरामीलाई भगवानको समिपमा राखरे आधात्यत्मिक अनुभूति गराउने हो। 

अस्पतालमा भर्ना भएको बिरामीलाई पनि अन्तिम अवस्थामा घरमा फिर्ता लैजाने चलन आजसम्म छ। त्यसको अर्थ हो बिरामीको मृतु हुने बेला उसका नजिकका मान्छेहरु साथमा हुनुपर्छ। उसका आफन्तहरु संगै बसेर भजन गाउने, बैदिक मन्त्रोच्चारण गर्ने चलन छ। यदि कार्य घरमा सम्भब भएन भने अस्पतालमा पनि गर्ने परम्परा छ। अन्तिम अवस्थामा निधारमा खरानीको टिका लगाइदिने र सुनपानी खुवाउने चलन छ। यसको अर्थ हो कि ऊ पुन मातृभूमिको गर्भमा जादैछ। भागबात् गीतामा श्रीकृष्ण भगवानले भन्नुभएको छ," जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च |तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि || 27|| जो जन्मिन्छ उसको लागि मृतु अपरिहार्य हुन्छ र जो मोर्दछ उसको पुनर्जन्म निश्चित छ। हाम्रो भौतिक शरीरआगोले जल्न सक्छ। पानीले गाल्न सक्छ। हावाले सुकाउन सक्छ तर आत्मा अविनाशी छ। "देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत |तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि || 30|| आत्मा जो हाम्रो शरीरमा अबस्थित छ त्यो अमर छ। हाम्रो भोतिक शरीर मोरेर गएतापनि आत्मा कहिले पनि मोर्दैन। त्यसैले आफन्तको मृतुमा शोक गर्नु उचित हुदैन। हामीलाई यी सबै कुराहरु भन्न जति सजिलो छ ब्यबहारमा लागु गर्न त्यतिकै गाह्रो पनि छ। 

मनमा अनेकन कुराहरुको हुण्डरी चलिरहेको थियो। बुवालाई  आइसीयु बाट निकालेर जनरल वार्डमा सारियो। प्राइभेट वार्डमा खाली ठाँउ थिएन। न हामीहरुको मनमा शान्ति थियो न त्यहाँको बाताबरणमा। बुवाको स्वास प्रस्वास चलिरहेको थियो। आँखाहरु बेला बेला अलि अलि चलेजस्तो हुन्थ्यो। यस्तो लाग्थ्यो कि बुवाले आन्तिम अबस्थामा धेरै कुराहरु भन्न खोज्नु भएको छ।  ठट्टा गरेर हामीलाई पिडामुक्त गर्न खोज्नु भएको छ। उहाँको दयालु अनुहारमा हेर्दा बिगत दिनहरु फिलिमको रिल झैँ रिवैंड भएको थियो। सबै बेला बेलामा टोहोलाईरहेका थियौ। 'हेर पर अर्जुनले जिमिबाट खनियो झारेर घाँस ल्याएको छ। फलानोले खोलाबाट आठ दश भारि दाउरा निकाल्यो। हाम्राले त्यहि चार पाइला हिडेर डाला झार्न मोरे झैँ गर्छन। सबै पानि मरुवा छन्", बुवाले पहिलो गाँस मुखमा राख्दै भन्नुभयो। म दिउसो स्कुल पढाएर पाँच बजे घरमा पुगेको थिए। भकारोमा दुइहल गोरु थिए। कुलामाथिको दबदबेको घाँस झारेको थिए। थोरै हुने भएकोले अलिकति पराल हाल्दिएको थिए। त्यो उहाँलाई चित्त बुझेको थिएन। घाँसपात गरेर आफै खाना बनाउनु पर्थ्यो। अध्यारो चुलोमा औधी धुवा हुन्थ्यो। जनतन खान बनाएर खाना खाने बेला बुवाको त्यो बोलीले मलाइ रिस उठ्यो। यो भन्दा पहिले जति रिस उठेपनि कहिले बचन फर्काएको थिइन्। " पर कालीपारे बा ब्रिटिश आर्मीमा भर्ति भए, सुब्दार बा इन्डियन आर्मीमा भर्ति भए। तपाइँ किन हुनुभएन? खालि अरुको उदाहरण मात्र देखाएर हुन्छ। मैले पनि आफ्नो काम गरेको छु," मैले अनायासै भन्दिए। त्यो दिन बुवाको मुख अनौठो किसिमले परिबर्तन भएको थियो। उहाँलाई सार्है चित्त दुखेको महशुश मैले गरेको थिए।  सधै थपेर खाना खानुहुन्थ्यो। अन्तिम गाँस दुधसंग मुछेर खानुहुन्थ्यो।  तर त्यो दिन पस्केको भाग सकेर उठ्नुभयो। नबोलि बिस्तारमा गएर पल्टिनुभयो। त्यहि शुक्रबार बुवा र मा संगै जिमीको बाटो हुदै मुलघर थान जाने क्रममा जिमी जेठोबुवाको घरमा रोकियौ। म बेलौती टिप्नको लागि बारीमा गएको थिए, बुवाले जेठोबुवासंग गुनासो पोख्नु भएछ। " आजसम्म मलाइ कसैले बचन फर्काएको थिएन। काइलाले यसो भन्यो मलाई। अब ठुला भए।  यिनीहरुलाई सम्झाउन नसकिने भयो।" पछि जेठोबुवाले "के भनितिस र तेरो बाउले सार्है चित्त दुखाएको छ ' भनेर सोध्नु भएको थियो।  मैले आफुले त्यसो भनेकोमा धेरै पछुतो पनि लाग्यो। त्यसपछि कहिले भनेको कुरालाई काट्ने वा बचन फर्काउने गरिन। आज त्यो गल्तिको लागि माफी माग्न मनलागेको थियो। तर समय थिएन। त्यो दिन हामि नबोली नबोली घर पुगेका थियौ। बुवाले त्यो कुरा आँमासंग पनि भन्नु भएको थियो।  

"छोरो भएपछी हिम्मत हार्न हुन्न। ताकेको काम फत्ते गरेर मात्र छोड्नुपर्छ। आँटी छोरालाई बाघले खादैन", यस्ताखाले शब्दहरु बारम्बार भानिराख्नुहुन्थ्यो। चाहे कुनै पर्ब होस् या हामि लामो बाहिरको बसाइबाट घरमा आएको किन नहोस बुवाले कामलाई प्रमुख राख्नुहुन्थ्यो। पहिले गाइबस्तु, खेतीपातीको व्यवस्था गरेर मात्र चाडबाड मनाउने वा आराम गर्ने काम हुन्थ्यो। आराम त खासै बुवाको डिक्सनेरीमा थिएन भन्दा पनि हुन्थ्यो। बिहानै उठाउनुहुन्थ्यो। त्यसपछि सबैलाई कामको बिभाजन गर्नुहुन्थ्यो। 'दुइ भाइले भैसीलाई घाँस काट। साइलो खर काट्ने खेतरा खोज्न जाँ।  माइलाले मल्खाद पल्टा।" यस्तै यस्तै कार्य बिभाजन हुन्थ्यो।  कसैले पनि उहाँको कुरा काट्ने दृटतासम्म गर्दैनथे। गाँउमा मेला लाग्ने दिन हामि एकाबिहानै सबैजसो काम फत्ते गर्थिम। उहाँले सबैकुराको ब्याबस्थापन गर्नुहुन्थ्यो। दिउसो मेलाबाट पनि छिट्टै घर पठाउँनुहुन्थ्यो। केहि न केहि काम भैहाल्थ्यो।"भाइहरुलाई लएर घर जा। भैसी दुने बेला भयो।  आमालाई सहयोग गर्ने। पानि तताउने दाउरा साउरा खोज्ने ", भन्दै आस्कोट्को गोजीबाट आरारुट बिस्कुट झिकेर दिनुहुन्थ्यो। हामीहरु लुरुलुरु घर फर्किन्थिउ। बुवा भने अबेर सम्म मेलामा बस्नुहुन्थ्यो। कहिलेकाँही बुवाले देख्नुभयो भने छिटो घर पठाउनुहुन्छ भनेर हामि बुवासंगबाट लुक्थेउ। जसरि पनि बुवाभन्दा अगाडी नै घरमा पुग्थेउ हामि। 

राति अबेरसम्म राम हेरेर घर आएपनि अबेर सम्म सुत्ने चान्स कमै हुन्थ्यो। त्यसैले पनि होला अहिले सम्म सबेरै उठ्ने बानि गएको छैन। दिउसोमा सुत्ने बानि छैन।  समयको दुरुपयोग गर्न मन लाग्दैन।  केहि काम नभएपनि कुनै किताब छोपेर बस्न मन लाग्छ। रातदिन दुख गरेर, लेक बेसी उकालो ओरालो गरेर कहिले थाक्नु भएन उहाँ। छोराहरुको कमाईमा कहिले आशा गर्नुभएन। ठुल्दाई धेरैजसो विदेशमा बस्नु भयो। तर कहिले पनि पैसो पठाएन भनेर गुनासो गर्नुभएन। माइलो दाई एस एल सी पास गरेपछि दगाको स्कुलमा पढाउन थाल्नु भएको थियो।  त्यतिबेला बुवा स्कुलको अध्यक्ष हुनुहुन्थ्यो। दाई भारतको पन्जाबमा हुनुहुन्थ्यो। बुवाले बोलाएर शिक्षक नियुक्ति गर्नुभएको थियो। त्यसपछिका दिनहरुमा माइलो दाई बुवाको दाइने हाँतजस्तै हुनुभयो। बिहानको पारिलो घाममा बसेर बुवाले माइलो दाइलाई तमसुकहरु फुकाउन र लगाना गरेको रकम उहाँको डायरीमा लेख्न भन्नु हुन्थ्यो। कसैलाई पैसा लिने दिने बारेमा पनि सल्लाह गर्नुहुन्थ्यो तर त्यसको निर्णय चाही आफै गर्नुहुन्थ्यो।  

करिब रातिको एक बजे दुइजना नर्स हाम्रो वार्डमा आए।  उनीहरुको अनुहारमा प्राकृतिक हाँसो थियो। खै के कुरामा हाँस्दै आएका थिए।  " तपाइहरु एकैछिन बाहिर गैदिनुस। एकजना मात्रै यहाँ बस्नुस।  दश पन्द्र मिनेटमा आउन सक्नुहुनेछ।" मनमा झुसिलो छदै थियो। जिबनको महत्वपुर्ण पाठ सिक्दै थियौ। एकजना मात्र बसेर हामी बाहिर गयौ। उनीहरुले बुवाको तलको कपडाहरु चेन्ज गरिदिए। मुखमा जम्मा भएको थुक सफा गरिदिए। शारीरलाइ अलि सजिलो हुने गरेर बेड  मिलाए।  त्यसपछि उनीहरु हाम्रो ठिक पल्लो पट्टि भएको बिरामीको कपडा फेर्ने, घाउमा ड्रेसिंग गर्न लागे। यदि दुखिहरुको सेवा गरेर धर्म आर्जन गर्ने हो भने सबैभन्दा धर्मको धनि नर्स हुन्थे होलान। उनीहरुले बिरामीहरुको सेवा गरेबापत बेतन लिन्छन।  तर जुन सेवा उनीहरुले गर्छन त्यसको तुलनामा उनीहरुले लिने तलब नगन्य हुन्छ।  

यतिबेलासम्म मनमा अनेकन कुराहरु खेलीरहे। तिब्बतियन चलन अनुसार अन्तिम अबस्थामा बिरामीलाई घरको खाना खुलाउनु पर्छ। फूलको गमलाहरु कोठामा राखिदिनु पर्छ भन्ने कुराहरु पनि खेले मनमा।  तर त्यहाँको बाताबरण त्यस्तो थिएँन। बुवालाई खानाको त कुरा छोडौ पानि सम्म खुवाउने अवस्था थिएन।  मुखबाट पानि हालिदिदा घाँटीमा अड्केजस्तो आवाज आउथ्यो। हामीहरु टुलुटुलु हेर्नु सिबाए केहि गर्न सक्ने अवस्थामा थिएनौ। मुख भेट्नकोलागि बोलाउने अवस्था पनि थिएन। आँमासंग बुवाको यो अबस्थाको बारेमा सत्य बताउने आँट सम्म गर्न सकेनौ हामीले।  फुपू तम्घास हुनुहुन्थ्यो।  खबर गरेपनि तुरुन्त आउने अवस्था थिएन। जेठो  दाई पन्जाब हुनुहुन्थ्यो। उहांसंग कुरा भयो।  उहाँ पनि आफु बिरामी भएर उपचारको लागि जानुभाएको थियो। आकष्मिक रुपमा दुखद खबरले उहाँलाई स्तब्ध बनायो। उहाँले भोलि नै पन्जाबबाट हिड्ने कुरा गर्नुभयो। त्यसपछि जापानमा खिमु भाईसंग कुरा भयो।  ऊ पनि नेपालबाट फर्केको धेरै भएको थिएन। उसले टिकट मिलेसम्म छिटै आउने कुरा गर्यो।  बुटवलमा भएका आफन्तहरु संग पनि कुरा भयो। जिबन कति छोटो छ। बुवाले भन्नुहुन्थ्यो " हामि यो धर्तीका दुइ दिनका पाहुना हौ।  भोलि को अघि को पछि जान्छ   कसैलाई थाहा हुदैन। बाचुन्जेल कसैको आत्मालाइ दुखाउन हुदैन। सबैलाई दायाँ र करुणाको भाबले हेर्नु पर्छ। यो चोला मोरेर गएपनि हामि संगै जाने भनेको हाम्रो कर्म हो। सत्कर्म गर्यो भने स्वर्ग प्राप्त हुन्छ। अरुको कुभलो चितायो भने त्यसको फल आफ्नै भागमा पर्ने हो हामि नर्क मा जान्छौ। "

"नर्क भनेको के हो ?" मैले सानै हुदा एक दिन सोधेको थिए।  बुवा कुरा गर्दा ठट्यौली पारामा भन्नुहुन्थ्यो। त्यहाँ छिमेकि जनु बन, धाब माइलो र कामि साइलो बसेका थिए। 

"सुन ! एकपल्ट एकजना मान्छे मोरेर नर्कमा गएछ। नर्कको गेटमा बसेको सिपाइले भनेछ " पर्ख पर्ख पहिले म तिम्रो नाम दर्ता भएको छ कि छैन हेर्छु"

त्यो मान्छेले भनेछ ," मैले कुनै पाप गरेजस्तो लाग्दैन।  बाटो बिराएर पो यता आएकी क्या हो ?"

"ल ल तिम्रो नाम नर्कमै दर्ता भएको रहेछ। तर तिमिले एउटा मात्र गल्ति गरेका रहेछौ। त्यसैले तिमीलाई एउटामात्र सजायँ हुन्छ," सिपाईले तिरजस्ता आँखा घुमाउदै भनेछ। 

ऊ अचम्म परेछ। मनमनै सोचेछ' जिबनमा धेरै पाप गरेजस्तो लागेको थियो। खासै पाप गरेको हैनछु। के होला त्यो एउटो पाप। सोध्नु पर्यो।' "के होला त्यो पाप भन्न मिल्छ ?" उसले सोध्यो। 

"तिमीले कक्षा पाँचको परिक्षामा चिट चोरेका रहेछौ " सिपाहीले भन्यो। 

"खासै ठुलो पाप त गरेको रैनछु। सजाय पनि सजिलै होला भनेर मनमनै खुसि भएछ।एकैछिनम मनमा खुल्दुली भयो र सोध्यो उसले," के सजाए होला हजुर भन्नुस न ?"

त्यसपछी त्यो मान्छेले नर्कको ढोका खोलेछ।  त्यहाँ ठुला ठुला फलामका कराहीमा तेल भकभकी उम्लिरहेको थियो। पापीहरुलाई उम्लिदै गरेको तेलमा चोबल्दै थिए यमदुतहरु। त्यो सिपाहीले हाँस्दै भनेछ " अब तिमि पनि यी पापिहरुको लाइनमा बस।  तिम्रो पालो आयो भने उनीहरुले तिमीलाई त्यो उम्लिदै गरेको तेलमा चोबेर तिमीले गरेको पाप पखाल्नेछन्।"

जनुबन "हा हा हा ' गर्दै हाँसे। अरुले ट्वाल्ल परेर हेर्दै थिए। मलाई भने डर लाग्यो। "बुझिस पाप सानो ठुलो हुदैन। पाप गरेपछि नर्कको सजाय भोग्न पर्छ।  त्यसपछि भने चिट चोर्ने बेला मैले बुवाले सुनाएको नर्कको जोक जहिले सम्झन्छु। 

"स्वर्गको किस्सा पनि भन्नुस न बराजु ", कामि साइलोले त्यसै बेला सोधेको थियो। उनीहरु बुवाले यस्ता खाले किस्साहरु सुनाउदा झिंगा नै मुखमा छिर्ला जस्तो गरेर ट्वाल्ल परेर हेरिबस्ठे। हास्दा पाखो नै सरंग सरंग बज्थ्यो। 

"स्वर्गको बयान उपनिषदमा विभिन्न किसिमले गरेको पाइन्छ। असल काम गर्ने मान्छे मात्र सुर्य भगवानको दर्शन गरेर त्यो भन्दा माथि अजर अमर दिप्त भएर बस्छन। यसलाई भनेको छ भगवानको बाटो।  अर्को हो पुर्खाहरुको बाटो। यसमा मान्छेहरु आफ्नै पुर्खाले रोकेर राखेको ठाँउमा पुग्छन। त्यसपछि उसको कर्मको आधारमा विभिन्न २१ वटा स्वर्ग र नर्गका स्थानहरु पठाईन्छ। आफ्नो आफ्नो कर्मको फल भोग गरेपश्चात पुनर्जन्म प्राप्त हुन्छ। यो जन्ममा पाप गरेको रहेछ भने अर्को जुनीमा जनावरको योनिबाट जन्म हुन्छ।  यदि धर्म गरेको रहेछ भने ब्राह्मण कुलमा जन्मिन्छ। यदि मान्छेले दान गर्छ, आफ्नो नैतिक आचरणमा बस्छ र भगवानप्रति मन लगाउछ, त्यो व्यक्ति मृतु देखि डराउनु हुदैन। यदि कसैले पाप गरेको छ भने पनि उसले त्यसको प्रायश्चित गर्नु पर्छ। भगवान्ले उसलाई मुक्ति दिलाउनुहुन्छ". बुवाले निकै सजिलो भाषामा स्वर्गको अर्थ बताउदै हुनुहुन्थ्यो। म सानै भएकोले धेरै कुराहरु बुझ्न सक्ने थिइन।  तर स्वर्ग र नर्गका कुराहरु धेरै हुन्थे हाम्रो घरमा। हजुरआमाको मृतु संकारको बेला पनि नर्कको बारेमा धेरै कुराहरु सुनेको थिए। 

सधै पाप के हो ? धर्म के हो ? स्वर्ग के हो ? नर्ग के हो ? मोक्ष के हो ? जस्ता बिषयहरु कुरा गर्ने, किस्साहरु सुनाउने, पुजा पाठ गर्ने, मृतुसंकार गराउने, गरुड पाठ गर्ने, मान्छेहरुलाई बैतरणी, चौरासी गराउने मान्छे अकस्मात इन्तु न चिन्तु भएको देख्नु पर्दा भगवानप्रति कता कता रिस उठेको थियो।  फेरी अर्को मनले भन्थ्यो भगवानको प्यारो मान्छे छिट्टै उहाँको समिपमा जान्छ रे भन्ने पनि सुनियाको थियो।  लाग्यो बुवा भगवानको प्रिय हुनुहुन्छ। उहाँको स्थिर र शान्त अबस्थामा भएको अनुहार हेर्दा एस्तो लाग्थ्यो कि बुवालाई स्वर्गको कुन बाटो लैजाने निर्णय हुदैछ। फेरी मनको अर्को कुनाबाट भन्थ्यो "डाक्टरले मृत घोषणा गरेका मान्छेहरु ब्युतेका थुप्रै घटनाहरु छन्।  उनीहरुको नियर डेथ अनुभबको बारेमा थुप्रै केश स्टडीहरु छन्। के यो सम्भब छ त ? के बुवा अहिले कतै यमराजका दुतहरुसंग बैठक बस्दै त हुनुहुन्न। सधै तार्किक बहश गर्ने बुवा कतै उनीहरुलाई बहसमा हराएर पुनर्जिबन त पाउनुहुन्न ? 

हाम्रो हिन्दु धर्मग्रन्थ अनुसार मृतु पश्चात हरेक मान्छे यमलोकका राजा चित्रगुप्तको अगाडी अन्तिम फैसलाको लागि अनिबार्य हाजिर हुन्नुपर्छ। भुलोकमा गरेका कर्महरुको बारेमा त्यहाँ सुनुवाई हुन्छ। आफुले गरेका असल कर्मको र खराब कर्महरुको बिचमा तुलना हुन्छ। यदि कसैले पाप कर्म गरेको रहेछ भने उसले त्यहाँ स्पस्टिकरण दिनुपर्ने हुन्छ।  महाराज चित्रगुप्ताको अगाडी कुनैपनि झुटो कुरा टिक्दैन किनकि भुलोकमा गरेका हरेक कर्महरुको बैखाता अर्थात् रेकर्ड हुन्छ उहाँको अगाडी। यदि कुनै मनुष्यले जिबनभर पाप कर्म गरेको छ भने उसलाई नर्क प्राप्त हुन्छ। कसैलाई पुन: भुलोकमा पठाइन्छ। यदि उसले सत्य कर्म गरेको छ, लोक परोपकारी काम गरेको छ वा धर्मको पक्षमा काम गर्दा कुनै अधर्मिहरुको हत्या नै गरेको किन नहोस उसलाई स्वर्ग प्राप्ति हुन्छ। त्यसैलाई नै मोक्ष प्राप्ति पनि भानिन्छ।  हरेक कर्महरुको स्पस्टिकरण दिनुपर्छ त्यहाँ। महाभारतको लडाईमा कौरभहरुको पक्षबाट युद्ध गरेका दुर्योधन र दुश्शासनलाई पाप कर्म गरको भनेर थुप्रै आरोपहरु लागेको थियो। सबभन्दा ठुलो आरोप थियो द्रोपदीको चिरहरण। दुश्शासनले एक अबला नारीलाई केशमा समातेर सभामा उपस्थित गराउनुको साथै उनलाई निर्बस्त्र गर्ने प्रयत्न गरेको थियो  भने दुर्योधनले आफ्नो जंघा देखाएर उनको अपमान गरेको थियो। त्यसको साथै उनीहरुले पाण्डबहरुको हत्या गर्ने अनेकन प्रयत्न गरेका थिए। जसको फलस्वरूप कुरुक्षेत्रमा अठार दिनसम्म भिषण युद्ध भएको थियो र त्यो युद्धमा  कौरब पक्षको सबैजना युद्धमा मारिएका थिए। उनीहरुलाई चित्रगुप्तले पापकर्मको भागिदार मानि नर्कमा पठाउएको कथा छ। 






 














0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home