Sunday, April 25, 2021

'उडायो सपना सारा हुरीले---

 किर्तिपुर केन्द्रिय लाइब्रेरीमा उनलाई पहिलोचोटी देखेको थिए। सलक्क परेको लामो अनुहार, ठुला ठुला आँखा र खुल्ला छाडेको कपालमा कालो चश्मा अडाएकी  उनी  जिन्स र टिशर्टमा अल्ट्रामोडर्न देखिन्थिन। म एम ए  थेसिसको लागि रिफ्रेन्स बटुल्न अंग्रेजीका थुप्रै किताबहरु  डेस्कमाथि थुपारेर स्टडी रुममा  बसेको थिए।

उनि नजिकैबाट हिड्दा मैले  जास्मिन फुलको सुगन्ध संगै सर्सर हावा चलेको महशुस गरे। मेरा आँखा किताबबाट त पहिले नै हटिसकेको थियो। अचानक उनको आँखामा निमेसभरको लागि अडिन पुग्यो। एक्क्कासी सयपत्री फुल फक्रिएझैँ उनको अनुहाँरमा मुस्कान छरियो। मेरो छातीको धड्कन एक्कासि बाजा बजे झैं बज्न थाल्यो। 

त्यसपछि उनी  सरासर अगाडी बढीन र अर्को पट्टिको बेन्चमा केहि किताबहरु जम्मा गरेर बासिन। एकैछिनमा उनीसंग एकजना अर्को साथि पनि जोडिन पुगिन। मेरो भने छातीको धड्कन अझै घटेको थिएन। पाँच बर्ष क्याम्पस र दुई बर्ष युनिभर्सिटी पढुन्जेल थुप्रै केटि साथीहरु संग सामान्य बोलचाल त  भएकै  थियो। तर यस्तो महाशुस पहिले कहिले गरेको थिईन। शान्त लाइब्रेरीमा संगीत गुन्जेजस्तो आभास  भैरहेको थियो। 

धेरैबेरसम्म रोक्दा रोक्दै पनि बेमान आँखाहरु जुधिरहन्थे। कतै हाम्रो भेट पहिले नै  भएको थियो कि भनेर सम्झने कोशिस गरे। अहँ कुनै क्लु पाउन सकिन। मेरो सम्पूर्ण ध्यान पुस्तकहरुमा नभएर तिनै जादुगरी आँखा, पुष्ट छाती र बाक्लो कम्मरमा पुगेको थियो। सायद खुल्ला केस, जिन्स र टिसर्टले गर्दा होला उनको उचाई औशत केटीहरुको भन्दा माथि थियो। मनमनै कल्पना गरे ,’ यत्तिको केटीसंग मायापिरिम गाँस्न पाए जिबन सार्थक हुन्थ्यो होला।'

मनमा यस्तो बिचारले हल्का तरङ्ग के ल्याउन मात्र थालेको थियो एकजना मैले चिनेको भाई उनि  बसेकै ठाँउतिर जादै गरेको देखे। उसले मलाई देखेन जस्तो लाग्यो। यदि देखेको भए पक्का बोल्ने थियो। हुनत केटाहरु राम्री केटि देखे भने आफ्नै आगाडी उभिएको हात्ती  त देख्दैनन रे,  म त झन् अलि कुना पट्टि बसेको सानो सानो मान्छे न  थिए के देख्थ्यो उसले।

 ऊ सरासर अगाडी  गएर तिनै केटिहरुसंग हात मिलायो। ऊ पनि अलि मोडर्न टाइपको केटा थियो। केटा र केटि हात मिलाउने चलन खासै चलेको थिएन। म त झन् गाँउको सोझो केटो के को हाँत मिलाउने आँट गर्नु। पहिले पहिले त कलेजको गेटमा केटीहरु उभिएको देखे भने एकछिन बाहिरै बसेर अरु केटाहरु आए भने उनीहरुको पछि लागेर भित्र जान्थे। बोल्ले, हात मिलाउने त परको कुरा। 

मनमा इर्श्या जाग्यो। 'हैन कतै त्यो केटि उसैको गर्लफ्रेण्ड त होइन?’  फेरी उत्तिखेरै सकारात्मक सोच आयो  'आफ्नै गाँउ ठाँउको चिनेजानेको पनि हुनसक्छ। उसकै दिदीबहिनी पनि हुन सक्छ।’ कहिले काँही आफैलाई अचम्म लाग्छ कति छिटै कति धेरै बिचारहरु उत्पादन हुन्छन  यो मस्तिक्समा? 

यस्तै यस्तै सोच्दा सोच्दै उसले मलाई देखेछ। हास्दै हात उठायो। मैले पनि हल्लाए, हात। उसले मलाई राम्रै इज्जत दिन्थ्यो। हामिबीच दाजुभाई जस्तै संबन्ध थियो बुटवलमा बस्दा। म भन्दा एकदुई  बर्षमात्र  कान्छो थियो ऊ। एकैछिनमा ऊ म बसेको बेन्चमा आयो। 

‘हैन दाजु अझै थेसिस सक्नुभएको छैन? हजुर अलि दुब्लाउनु भएछ कि क्या हो ?’ उसले मलाई राम्रैसंग नियालेर भन्यो।

उसको ‘दुब्लाउनुभएछ कि क्याहो ?’ भन्ने शब्दले मन खिन्न पार्दियो। खै किन किन कसैले दुब्लाइचस भन्दा मनमा नजानिँदो किसिमले पिर पर्थ्यो। 

‘हाँ कहाँ दुब्लाउनु। उस्तै हो।  तिम्रो आँखा दुब्लाएको होला’, भन्दै हल्का बनावटी हाँसो हाँसे। 

एकैछिन दुवै जनाले टेबुलमाथि बसेका किताबहरुमा आँखा डुलायौ। 

‘उनीहरुलाई कसरि चिन्छौ तिमि ?’ मैले सोधिहाले। 

उसले केटिहरुतर्फ हेर्दै भन्यो,’ उनीहरु मेरो गाँउको दिदिहरु हो। म हिजो बुटवलबाट आएको। भर्ना छुटेछ। त्यो दिदीले स्ववियुको नेतालाई चिनेकी छन् रे। त्यहि भएर भेट्न आएको।’

‘चश्मावाली पनि तिम्रो गाँउकै हो?’ एक्कासी फुत्किहाल्यो मुखबाट। 

‘हो नि। हजुरलाई मन पर्यो कि क्याहो दाजु ? म कुरा अगाडी बढाईदिउ त ?’ उसले हाँस्दै सोध्यो। 

मनले त ‘बढाईदे भाई कुरा अगाडी, परेको म ब्योहोर्छु’ भन्न खोज्दै  थियो। तर, दाई जस्तो मान्छे भाइलाई कसरी भनि हाल्नु। 

‘कहाँ छ तिम्रो बसाई ? फुर्सद छ भने हिड कोठातिर।  आज हाम्रोमै बसौ’, मैले पनि कतै उसलाई दुइजनाको बीच पुल बनाउन सकिन्छ कि भनेर मनमनै योजना बुने। 

‘भैहाल्छ नि दाई। म एकैछिनमा आउछु है’ भन्दै ऊ केटीहरु भएतिर गयो।

 उ त्यहाँ पुग्नासाथ  चश्मावलीले मलाई पुलुक पुलुक हेर्दै उसँग कुरा गर्दै गरेको देखे। फेरी छातीमा बाजा बज्न सुरु भयो। ‘हैन किन अनायासै धड्कन बड्छ, कतै पन्चे बाजा बजाउने संकेत त हैन ?’ मनमनै सोंचे। ‘पाइन्ट लगाएकिलाई बुहारी बनाएर घर लैजादा बुवा आमाले के भन्नु हुन्छ होला ? हैन साडीमा त झन् राम्री पो देखिन्छे होलि। कति राम्री केटि बिहे गरेछ भनेर गाँउभरि हल्ला चल्ने छ। ‘

सोच्दै गर्दा मनमनै हाँसो पनि उठ्यो। 'अझैसम्म राम्रोसंग नजर त जुध्न पाएको छैन।  बोलेको पनि छैन। धत् के सोचेको होला ‘ भन्दै ध्यान एकैछिनको लागि अन्तै मोड्ने कोशिस गरे। पुन: सलक्क परेको लामो लामो, हल्का गोल्डेन कपाल आँखा अगाडी हावाले सरसर हल्लाए झैँ भयो। ‘अब त अति नै भयो।  यहाँबाट निस्कनु पर्यो भनेर  थेसिस झोलामा हाले।

निस्कनु भन्दा पहिले मैले सुबिनलाई हातको इशाराले बोलाएँ । उ पनि केटीहरुसंग बिदा भएर मतिर आयो। 

‘दाई त्यो दिदीले तपाईलाई को हो ? भनेर सोध्दै थिईन। मैले बुटवलको दाई हो। राम्रो हुनुहुन्छ भनेर भनेको छु। मन पर्यो भने भन्नुस है ‘, भन्दै मलाई जिस्काउन थाल्यो।

एकैछिन है भनेर मा  बाथरुममा छिरे। ऐनामा आफ्नो अनुहार नियालेर हेरे। अलि दुब्लाएको हो कि जस्तो देखे। पानि लगाएर जुल्पी मिलाए। मुसुक्क हाँस्दा आफैलाई ह्यान्डसम देखे। तर आफु अलि केटीजस्तो मोडर्न नभएको जस्तो लाग्यो। कपाल पनि पुरानै स्टायलमा काटेको थिए। मनमनमा सोंच्दै निस्के ‘आजै गएर अलि मोडर्न स्टायलमा रौ काट्न लगाउछु। 

सुबिन भाई शहरको केटा थियो। उसको लगाई, हेयर स्टायल पनि मेरो भन्दा फरक थियो। मैले प्राय कपडाको सर्ट र प्यान्ट धार निकालेर लगाउथे। शहरका केटाहरु जिन्स र टिशर्टमा सधै केटीहरुसंग गफिएका हुन्थे। मलाई पनि लाग्यो आखिर केटीहरु स्टायालिस केटाहरु मन पराउछन भने  यस्तो सर्ट पाइन्ट लगाएर प्रेम गर्न खोज्नु के पी बा को बयलगाडा चढेर अमेरिका गएझै भयो भन्ने लाग्यो। 

कोठामा जादा जादै बाटोमै शैलुनमा पसेर कपाल काट्न भने। सधै उसले सोध्दा 'ठिक्क मिलाएर काट' भन्थे।  तर आज सुबिन भाइको स्टाइल देखाउदै ‘त्यस्तै चट्ट मिलाएर काट है ‘ भने।  सुबिन मेरो पछाडी ऐनामा कपाल मुसार्दै मुसुमुसु हास्दै थियो। कपाल काटिसकेपछि ऐनामा फर्की फर्की हेरे। चिटिक्क सुहाएको जस्तो लाग्यो। दुई रुपिया टिप्स थपेर पैसा दिए। 

बेलुका सुबिनले भन्यो ‘दाई त्यो दिदिको परिवारको सबैजनालाई मैले राम्रोसंग चिन्छु।  म घरमा गएर बसेको पनि छु। दाईहरुको कलंकीमा बिजनेस छ। आँटे हुन्छ है।’

मैले केहि जवाफ फ़र्काइन। बेलुका उसले मलाई मुबाइल नम्बर दियो। नाम पनि उसैले भनेको थियो श्वेता शर्मा हो भनेर। मैले धेरै कुरो सोधिन। उसले आफै बेला बेला भानिरहन्थ्यो। लाग्यो उसले मेरो मनको कुरा बुझिसकेछ। 

मसंग भर्खरमात्र नोकियाको मुबाइल थियो दाइले दुवैबाट पठाइदिएको। नयाँ नम्बरमा मिसकल गर्ने चलन अलि बढी नै थियो। मैले उनलाई मिसकल गरे। उताबाट तुरुन्त मेसेज आयो ‘ हु इस दिस ?’

मनमा हलचल पैदा भयो। गरौ कि नगरौ भैराखेको थियो सुबिनले भन्यो’ के को मिसकल गरेको दाई फोन गर्नुस। ऊ फ़्रेङ्क  छ।’

अरु केटीहरुलाई फोन गर्दा त्यस्तो नर्भस त कहिले हुदैनथे। ब्लफ कल गर्न त पहिले देखि नै अलिअलि सिपालो थिएँ । तर किन किन उसको मेसेज आउना साथ् छातीमा भ्यागुतो उफ्रिन लाग्यो। जोडले स्वास भित्र खिचे र बाल्कोनिमा बसेर फोन गरे। तेस्रो घन्टी नसकिदै ‘हेलो ‘ भन्ने आवाज कानमा संगीतको तरङ्ग झैँ गुञ्जियो। 

'श्वेता  बोल्नु भएको ?’

‘हो अनि तपाई को होला ? मैले त चिनिन नि !’

‘म दिपक हो। सुबिन भाइसंग नम्बर मागेर फोन गरेको। हिजो लाइब्रेरीमा देखेको थिए हजुरलाई।'

 भन्दै कस्तो अड फिल भयो। 'तपाई, 'हजुर'  के भनेको हुँला भन्दै मनमनै सोचे। 

उनले केहि नभनी फोन काटिन। लग्यो केटि घमण्डी रैछ। उतिबेलै सुबिनको मुबाइलमा घन्टी बज्यो। उसैको फोन थियो। म बालकोनिमा बसेर उनीहरुको कुरा सुने। ‘पहाड घर बाग्लुङ्ग  हो। थेसिस लेख्दै हुनुहुन्छ। ह्यान्डसम --- यस्तै के के भन्दै थियो। म कोठामा छिरे। उसले कुरा छोट्यायो। 

‘एकैछिनमा मेरो मुबाइलमा फोन आयो। मैले मेरो परिचय दिए। उनले भोलि दिउसो भेटौ न भनेर प्र्श्ताप राखिन। हेर्दा मात्र मोर्डन हैन, मान्छे पनि मोर्डन नै रहेछ भन्ने लाग्यो। त्यो रातभर राम्रो संग निन्द्रा पनि लागेन। उसको सलक्क परेको लामो अनुहार र टाउकोमा अड्याएको कालो चश्माको झझल्को आइरह्यो। मनमनै सोचे ‘के यहि माया हो ?’

अर्को दिन बिहानै उठेर सेभिङ्ग गरे। नुहाएर कोठामा छिर्दा सुबिन अझै मस्त निन्द्रामै थियो। उसलाई उठाएर चियाँ खायौ। दिउसो स्वेतासंग भेट्ने कुरो उसलाई पहिले नै थाहा थियो। बास्तबमा भन्ने हो भने यो कुरो उसैले मिलाएको थियो। 

‘डेटिंङ्ग जाँदा त जिन्स लाउनुस है।’ भलाद्मी बनेर हैन जाने’, उसले चिया पिउदै गर्दा भन्यो।

 मसंग एउटा पुरानो बेलिबटम स्टाइलको पाइन्ट थियो। उसले 'यस्तो सुहाउदैन।  नयाँ किन्नुस’ , भनेपछि मैले पनि भाडा बुझाउन राखेको पैसो सिरानीमुनिबाट निकाले र दुबैजना पाङ्गा चोकतिर निस्कियौ। नयाँ भर्खर फेसनमा चलेको प्यारालाल पाइन्ट किनेर फर्क्यौ। 

दिउसो बाह्र बजे हामि संगै लाइब्रेरीतिर लाग्यौ। लाइब्रेरिमै भेट्ने कुरो भएको थियो। लाइब्रेरी पुगेपछि सुबिन बाहिर क्यान्टिनमा बस्यो।  म भित्र छिरे। भित्र छिर्दै गर्दा अलि अलि नर्भस भएको फिल भयो। सरासर हिजो बसेकै ठाँउमा पुगे। उनि किताब पढ्दै थिइन। तिनै ठुला ठुला आँखा, सलक्क परेको लाम्चो अनुहार, चिटिक्क परेको नाक, अनि कमलको फुल जस्तो मुस्कान। 

‘हेल्लो! म दिपक ‘भन्दै मैले हात अघि सारे।  उनले पनि ‘हाई म स्वेता’ भन्दै हात अघि सारिन। सारै कोमल हात। पहिलो पल्ट यसरि केटीसंग हात मिलाईरहेको थिए। मज्जा आयो। एकछिनसम्म  दुबैजना चुप भयौ। 

‘तपाई पनि थेसिस लेख्दै हो ?’ मैले आइस ब्रेक गरे। 

‘हो, तपाइ पनि हो र ?' उनले सोधिन। केहीबेर सम्म यिनै पढाइको बारेमा कुरा भयो। कुरा गर्दै जाँदा उनीभन्दा म नै लजाएको जस्तो फिल भयो। 

'बाहिर गएर गफ गरौ न। यहाँ अरुलाई डिस्टर्ब होला ‘ भन्दै हामी त्यहाँबाट निस्कियौ। क्यान्टिनमा बसेर एक एक प्लेट चुकौनि र चिया खायौ। 

‘फर्कनेबेला उनले आफु बेलुका बानेस्वर जाने कुरा गरिन। मैले पनि ‘संगै जाँउ न।  म पनि घट्टेकुलोसम्म पुग्न छ' भने। जाने काम त थिएन तर उनीसंग अलि समय बिताउन मन थियो। त्यसपछि  उनले मलाई होस्टलमा भेटेर संगै निस्कने प्रताब राखिन। 

ठिक चार बजे म किर्तिपुरको लेडिज होस्टेलको गेटमा पुगे। हामीलाई भित्र जान दिदैनथ्यो। एकैछिनमा उनी  आइन। जिन्स माथि कलेजी रंगको टिसर्ट र खैरो रंगको  ओभरकोट लगाएर हल्का गोल्डेन कपाल खुल्ला छोडेकि  उनी कुनै बलिउड सिनेमाको हिरोइन भन्दा कम देखिएकी  थिईनन्। 

‘त्यहाँबाट निस्कदै गर्दा उनले भनिन्  ‘धेरैजसो त म ट्याक्सीमा यात्रा गर्छु। बसमा धेरै भिड हुन्छ।’

म भित्रको पुरुष आत्माले भन्यो ‘अब तिर भाई ट्याक्सीको भाडा। यो खेतिको निको चाल होला जस्तो लागेन। तल गेटमा  पुगुन्जेल ट्याक्सी खोज्यौ। एउटा पनि ट्याक्सी पाइएन।

‘अहिले खालि खाली जस्तो पनि छ लाउडा मै जाऊ गफ गर्दै ‘, मैले भने।

 नभन्दै त्यति नै बेला लाउडा आयो। एक्काइस नम्बरको बसलाई लाउडा भन्ने चलन थियो।  हामि चढ्यौ र पछाडिको सिटमा गएर बस्यौ। संगै बस्दा उनको अनुहार नजिकबाट हेरे। मेकअपले छालाको प्राकृतिक रंग ढाकेको जस्तो लाग्यो। परेला पनि मिलाएर काटे झैँ देखिन्थे। आँखी भौ मार्करले  लाइन कोरे झैँ थियो। उनले लगाईको परफ्युमले हल्का टाउको सम्म दुख्न थालेको थियो। त्यसैमाथि कलंकी पुग्दा बसभित्र टेक्ने ठाँउ सम्म थिएन। 

उनलाई पहिलो पल्ट देखेको त्यो सयपत्री फुल जस्तो मुस्कान ओइलाएको  झैँ लाग्न थाल्यो। उनले आफु पहाडमा नगएको, तर घुम्न मन पर्ने, घाँस काट्न हैन, घाँसको भारीसंग फोटो खिचाउन मन पर्ने कुरा  सुनाइन।  आफुलाई खाना बनाउन नआउने तर बनाउन चाँही मनपर्ने कुरा गरिन। 

‘मलाई आइहाल्छ नि खाना बनाउन इन्डियन, चाइनिज, कन्टिनेन्टल ‘, मैले ठट्टा गर्दै भने। 

'हाउ स्विट!’ उनले मेरो हातमाथि आफ्नो हातले हल्का स्पर्स गर्दै भनिन। सायद म पनि त्यहि मौकाको पर्खाइमै थिएँ  क्यारे मैले आफ्नो हातले उनका औलाहरु खेलाउन थाले। उनले कुनै प्रतिक्रिया देखाइनन्। त्यतिन्जेलसम्म लाउडा रत्नपार्क टेकिसकेको थियो। मनमनै सोंचे बस सिधै जाउलाखेल पुगेर फर्के हुन्थ्यो। सोच्दा सोच्दै बस खालि भैसकेको रहेछ। बसपार्कमा नझरी सुखै भएन। 

बसपार्कमा झरिसकेपछि उनि बानेस्वर जाने बस खोज्न थालिन। म भने पुन: त्यहि बसमा फर्कने सुरमा थिए। घट्टेकुलो जाने त केबल बाहाना मात्र थियो। अबेर भएकोले उनि अलि हतारमा थिईन। साथीकोमा जाने भनेर पहिलेनै भनेकोले मैले को साथि? के साथि? कस्तो साथि? भनेर धेरै सोध्न चाहिन। उनलाई बानेस्वरको बस चढाएर मात्र म मेरो बाटो गर्छु भन्ठानेर  म पनि उनीसंगै बानेश्वरको बस लाग्ने ठाउमा उभिए। कतिछिटै हामि बेस्सरी लब परे झैँ हातै समातेर उभिने भैसकेका रहेछौ। 

एकैछिनमा बानेस्वर जाने बस रोकियो। बसको अगिल्लो ढोकाबाट मेरो साथि अजय ओर्लदै गरेको देखे। ऊ बानेस्वरमा डेरा गरेर बस्थ्यो। उसले हामीलाई संगै उभिएको देखेर हो कि कुन्नि,  देखेर पनि नदेखे झैँ गरि छेउको पशलको पेटीमा उक्लियो। स्वेता बसमा चढीन। मैले हात हल्लाएर 'बाई' गरे। अजय त्यहि उभिएको रैछ, म उ भएको ठाउमा गए। 

‘के हो छुपा रुस्तम? को हो त्यो ?’ उसले कुटिल हाँसो हाँस्दै भन्यो। 

‘छोड यार। भर्खर भर्खर लब पर्दै छ। भिलेन बन्न नआइज। ‘

'लअब ! राम्रै मुर्गा भेटिछ त यो पाली’ उसले अनुहारमा गम्भीर भाब निकाल्दै भन्यो। 

‘किन ? तैले चिन्छस् ?

‘मैले हैन ब्वाज होस्टेलमा बस्ने सबैले चिन्छन्। ‘

'कसरि ?’

'साच्चै तेरो लबै परेको हो त ?’ उसले मेरो आखाँमा आँखा जुधाएर उसले सोध्यो। 

‘हैन यार।  आज मात्रै भेटेको’, मैले भने। 

‘प्ले गर्ल हो, प्ले गर्ल। दर्जन भन्दा धेरै केटाहरु फेरी सकी। संजयलाई चिन्छ्स, स्ववियुको नेता? अहिले बानेस्वरमा सरेको छ। त्यसैकोमा जान्छे यो। त्यहि आगाडीको घरमा बस्छु म। माकसम तेरो टाउकोमा हात राखेर भन्छु यो तेरो टाइपको केटि हैन।’

ऊ मेरो एउटा मिल्ने साथि थियो। बानेस्वरमा स्कुल पढाउथ्यो। उतै डेरा गरेर बस्थ्यो। मैले उसले भनेको कुरामा संका गर्ने ठाँउ देखिन। 

‘ल यार म जान्छु। एउटा ट्युसन क्लास छ बागबजारमा अलिक ढिलो भैसक्यो। फेरी भेटौला नि ‘, भन्दै ऊ बागबजारतिर अगाडी बढ्यो।

एकछिनसम्म म  त्यहि उभीरहें। ढलको पानि ठुस्स गनायो। एकैछिनमा  लाउडा पनि आइपुग्यो। बसको पछिल्लो सिटमा गएर बसे।  सधै बुरुक बुरुक उफ्रिने भ्यागुतो पनि छातीबाट निस्केछ  क्यारे मन उदास थियो। संयोग भनौ या के  बसको स्पिकर मेरो सिटको ठिक माथी थियो जहाँबाट नारायण गोपालको गित बज्दै थियो  'उडायो सपना सारा हुरीले--- 

 


 





0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home