Sunday, April 18, 2021

कामरेड श्यामबहादुर जिन्दाबाद !



                                            चुनाबी सभाबाट कामरेडको बिदाई 


श्यामे चानचुने कम्न्युष्ट थिएन। सबैले उसलाई चे गोभारा भन्थे। राम्रो संग उच्चाहरण गर्न नजान्नेले  छि! कस्तो नाम हो 'गोबर' भन्दै हाँस्थे। खयर जे होस् उसले चे गोभाराको तस्बिर छातीमै टाँसे झैँ देखिने टिशर्ट लगाएर हिड्थ्यो। कुरैपिच्छे मार्क्स, लेलिन र माओको कुनै न कुनै रिफ्रेन्स दिएर तर्क गर्थ्यो। हाते तानमा बुनेको रातो झोलामा साना साना कम्युनिष्टका किताबहरु बोकेर गाँउ डुल्थ्यो। 

श्यामे नेपाल कम्न्युष्ट  पार्टीको  गाँउ स्तरको नेता थियो क्यारे। एक बर्ष पुरानो हाँक पत्रिका सधै उसको झोलामा हुन्थ्यो। गाँउका दुइचारजना केटाहरु जम्मा गरेर मोहन बिक्रम सिङ्गको बारेमा दन्त्य कथा जस्तै कथा सुनाउथ्यो। "हेर नेपालमा कम्न्युष्ट पार्टी भनेको हाम्रो मसाल पाटी मात्र हो। अरु सबै दक्षिणपन्थी दलाल, गद्दार हुन्। यहाँ हेर, मोहन बिक्रम सिङ्गले लेख लेख्नुभएको छ' भन्दै  हाँक पत्रिका  खोल्थ्यो। सबैले झुम्मेर पत्रिका हेर्थे। उसले झोलाबाट बुकलेटहरु झिक्थ्यो र बढो गर्बका साथ् आफुले सबै पढेको भनेर सुनाउथ्यो। 

'मैले मोहन बिक्रमलाई आफ्नै आखाँले देखेको छु। ओहो! उहाँ त ठ्याक्कै माओ जस्तै हुनुहुन्छ’, भनेर आफैले माओंलाई भेटेर आए जसरि गफ चुट्थ्यो। 

एकदिन उसले गाँउका अधबैसेहरुलाई बेलुका स्कुलमा भेला हुन भन्यो। दिनभर खेतबारीमा काम गरेर देउराली कान्छो, बाटामुनी जुठे, सन्ते, जन्तरे लगाएतका आठ /दश जना मान्छेहरु बेलुका स्कुलमा भेला भए। उसले झोलाबाट केहि प्रति हाँक पत्रिका र केहि मोहनविक्रमले लेकेका किताबहरु निकाल्यो। त्यहाँ भेला भएका धेरैलाई पढ्न समेत आउदैनथ्यो। अलि अलि पढ्न जान्नेहरुलाई किताब बाड्यो र पार्टीको रसिद कटायो।  

लुते, जन्तरे र मनेले हाँक पल्टाई पल्टाई हेरे। रनेले गोजीबाट बिजुली सुगन्धित खैनीको डिब्बा झिक्यो र चोर औलाले प्याट्ट प्याट्ट पार्दै  बिर्को खोल्यो। खैनीको हर्रर बास्ना चल्यो चारैतिर।

जन्तरेले 'तेरो त कडा रैछ अलिकति यता हाल्' भन्दै दाइने हात पसार्यो। सबैले एक एक चिम्टी झिके, तल्लो ओठ बाहिरतिर लेप्राए र खैनी च्यापे। त्यसपछि सबैले पिच्च पिच्च गर्दै आफ्नै ओरिपरि थुक्न सुरु गरे। 

'मोहनविक्रमले कम्निष्टको कखरा सिकाएकाहरु अहिले आफुलाई बढो महान क्रान्तिकारी भन्दै हिड्छन। प्रचण्ड, बाबुराम, झलनाथ सबै उनैका चेला हुन्', दाइने हातले अगाडीको कपाल माथितिर सार्दै उसले भन्यो। सबैले आँखा तन्काएर उसलाई हेरे।

केहीबेरमा दुइजना पातला पातला, न होचा न अग्ला मान्छेहरु त्यहाँ आइपुगे। श्यामले उनीहरुको परिचय गरायो। उनीहरु जिल्लाबाट  प्रशिक्षण दिन आएको भनेर सबैलाई सुनायो। सबैको नाम कापीमा टिपेर सहि गर्न लगायो। उनीहरुले पालै पालो कम्न्युष्टको विश्व इतिहाँस सुनाए।आफुहरुमात्र सच्चा कम्युनिस्ट भएको ठोकुवा गरे। 

चिनको सांकृतिक आन्दोलनको बारेमा माओको गुनगान गाए र मोहनविक्रमलाई नेपालको माओ भनेर तुलना गरे। बिचरा सोझा गाँउले किसान दुखका दिन जाने भए भनेर कल्पना गर्न थाले। श्यामेले गाँउ कमिटि गठन गर्यो र उनीहरुको नाम पढेर सुनायो। सबैजनाले तालि पिटे र घर घर लागे। 

त्यसपछि श्यामे धेरै दिनसम्म गाँउमा देखा परेन। धेरैले  श्यामे ठुलै नेता बनेर काठमाण्डौमा गएको भन्ठाने। तर कसै कसैले श्यामेलाई माओबादीले अपहरण गरेर लुकाएको छ भने, कसैले माओबादीका किताब र चन्दाको रसिद बोकेर हिड्दै गर्दा आर्मिले पक्रेर लग्यो रे भने।  कसैले रानीबनमा आर्मीले माओबादि भनेर गोलि ठोकेर मार्यो सम्म भने।  तर बास्तबिकता कसैलाई पनि थाहा थिएन। 

दिन, हप्ता, महिना हुदै वर्षदिन बित्यो श्यामे घर फर्केन। श्यामेका बुवा आमा छोराको शोकले ब्याकुल बने। एउटो छोरो एकाएक लापत्ता भएकोमा उनीहरुलाई पर्नु पिर परेको थियो। उनीहरु खोज्न जाने ठाँउ कतै पनि थिएन। पुलिस चौकीमा रिपोर्ट गरे, तर लापत्तो भएन। 

श्यामे लापत्ता भएको ठिक चौध महिनामा गाँउमा रहेको पुलिस चौकीमा एक्कासि माओबादि आक्रमण भयो। पन्द्र  जना पुलिस मारिए। सात जनाले भागेर ज्यान बचाए। माओबादि तर्फ पनि थुप्रै मारिएको हल्ला चल्यो। तर न कसैले लाश देखे, न घाइते नै। अर्कोदिन हेलिकप्टरबाट भागेर बाच्न सफल भएकाहरुलाई जिल्ला लगियो। गाउलेहरु हेलिकप्टर हेर्नलाई टाढा टाढा बाट समेत कुदेर त्यहाँ पुगे। 

'माओबदिहरुले थुप्रै लाश आफैले बोकेर लगे रे ', चौकी नजिकै पशल गर्ने एक व्यापारीले सुनाए। 

'घाइतेहरुलाई बोक्न गाह्रो भएर गोलि ठोकेर मारीहुरी त्यतै जंगलमा गाडी छाडेका पो छन् रे ', अर्का एकजना चिया पशलको  दिदीले भनिन्। 

'कहाँबाट आएका होलान त्यति धेरै माओबादी ? खोलाभरि छरिएका थिए रे ', ज्याद्रो जात रैच', अर्को एकजनाले थपे। 

एकैछिनमा पुलिसहरु आएर उनीहरुलाई त्यहाँबाट लखेट्यो। मखनलालले पशलमा गएर रेडियो खोले। समाचारको बेला भएकोले सबैजनाले रेडियोमा कान चनाखो पारे। 

'हिजो राति भएको दोहोरो भिडन्तमा परि माओबादि कमान्डर चट्टान भनेर चिनिने श्याम बहादुर  सहित करिब असि जना आतंककारीहरुको मृतु। प्रहरीतर्फ सामान्य हातहति भएको जानकारी। पूर्ण विवरण आउन बाँकी।'

 समाचार सुनेर सबैले एकअर्कालाई ट्वा परेर हेरे। चौकीको आगन पसारिएका लाशहरु आफ्नै आँखाले देखेकाहररुले आँखा झिम्झिम पारे। 

भोलिपल्ट गाँउमा सबैले श्यामे माओबादिमा गएको, लडाकुहरुको कमान्डर बनेको र प्रहरीद्वारा मारिएको कुरा सुने सुनाए। उसका बाउआमको खाटो बसिसकेको घाउ पुन बल्झियो। 

'हामीलाई माओबादि कमुनिस्ट नै हैनन् भन्ने आफै त्यतै लागेको रैच।  बल्ल खायो साला गद्दारले', जन्तरेले मनेसंग भन्यो। 

माओबादिको चौकी आक्रमण दिन दिनै बढ्दै गयो। गाबिस भवनहरु खरानी बन्दै गए। गाबिस अध्यक्ष र  सचिवहरुको  जिल्लामा बास भयो। किसानहरु खेतबारीमा कम जान थाले। रातिमा बत्ति बोल्न छोड्यो। साइलि माइलिहरुले सुरिलो भाकामा रनबन गुञ्जाउन छोडे। तरुनी तन्नेरीहरू एकाएक हराए।

दिनमा आर्मी र रातमा माओबादिको डरले गाँउ पुरै थर्किमान बन्यो। न कसैको बिहेमा बाजा बज्थे, न चौरासी पुजामा भजन किर्तन। दिउसो आर्मीले कन्चटमा बन्दुकको नाल सोझ्याउथ्यो भने रातिमा बन्दुक सिरानीमा राखेर आफ्नै ओक्षानमा माओबादि सुत्थे।  

माओबादिले घेराबन्दीमा पार्दै लगेपछि सेना र पुलिसहरु जिल्ला सदरमुकाममा केन्द्रित हुन थाले। गाँउमा माओबादी लडाकुहरु परेड खेल्न थाले। माओबादिहरुले आफ्नो सरकार बनाउने हल्ला चल्यो। गाँउमा अन्य राजनीतिक दलहरु सबै दुलाभित्र पसे। 

माओबादिको स्थानीय सरकार घोषणा गर्ने दिन गाँउ गाँउबाट हँसिया हतौडा अंकित झण्डा बोकेर मान्छेहरु फाँटमा भएको स्कुलतिर ओरालो लागे। पूर्व एमाले, मसाल, काग्रेस सबैजना जुलुसमा मिसिए। लुते, जन्तरे, मने सबैले माओबादि जिन्दाबादको नारा लगाए। 

स्थानीय सरकार घोषणा गर्ने क्रममा उद्घोषकले फर्माइस गरे,'स्थानीय सरकारको अध्यक्षमा तथा प्रमुख अथिति कमरेड चट्टान। सबैजनाले जोडले ताली पिटे। अबिरले पुरिएको अनुहार धेरैले प्रष्टसंग देख्न सकेनन्। तर कमरेड चट्टानको बास्तबिक नाम के हो भनेर धेरै जना जान्न उत्सुक भए।

 त्यतिकैमा अर्का बक्ताले भाषण ठोके,' हाम्रा अत्यन्त जुझारु, कामरेड श्यामबहादुरलाई पार्टीले  स्थानीय सरकारको जिम्मेबारी दिएकोमा हामि अत्यन्त हर्षित छौ। '

गाँउलेहरुले एकपल्ट फेरी ट्वा परेर फूलमाला र अबिरले पुरेको कमरेड चट्टानको अनुहार हेर्न खोजे। एकार्कामा मुखामुख गरे। दुइचारजना खासखुस गरे। पार्टीले बाँडेको चिउरा बुकाउदै लुरुलुरु घर फर्के। 

अर्कोदिन गाँउभरि हल्ला चल्यो, 'श्यामे त जिउदै रैछ।  माओबादीको ठुलो नेता पो भएको रैछ। 

'जे भएपनि गाँउकै मान्छे नेता बनेको छ। माओबादिको सरकार आयो भने यो गाँउकोलागि केहि त अबस्य गर्ने छ', गाँउलेहरुले सकारात्मक नै सोचे।  

माओबादिहरुले गाँउ, शहर र सदरमुकाम कब्जा गर्दै गैसकेपछि देशैभरि ठुलो आन्दोलन चल्यो। एमाले, कांग्रेस पनि माओबादिसंग मिलेर राजाबिरुद्द आन्दोलन गरे। अन्त्यमा राजाले हारे। नयाँ सत्ता आयो। चुनाब आयो। माओबादि बिजयको सुनामी नै ल्यायो। श्यामले गृह्यमन्त्रि पड्कायो। गाँउलेहरुले दिप प्रज्वलन गरेर खुशी साटे। 

गाँउलेहरु कहिले श्यामे गाँउ आउला र दुखेसो सटौला भनेर कुर्दा कुर्दा बर्षौ बित्यो। कतिबेला माओबादिको सरकार पनि चिप्लेछ कसैले पत्तो पाएनन्। दुलाभित्र पसेका एमालेहरु, कांग्रेसहरु पुन निस्कन थाले। अर्को चुनाब आयो। माओबादिले स्वात्तै हारेछ। एमालेसंग मिलेर नयाँ खरानी धसेछ। 

शिवरात्रिको दिन स्थानीय मन्दिरमा जातियताको बिषयमा बिबाद सुरु भयो। दुवै पक्षको ठोकाठोकमा कसैको टाउको फुट्यो, कसैको दाँत झर्यो।  चारजना दलित युवाहरुलाई भीरबाट ठेलेर हत्या गरियो। यो घटनाले देशैभरि सनसनी फैलायो। संसारभरिका नेपालीहरुले राज्यको आलोचना गरे। 

घटनाको बस्तुस्थिति बुझ्न र घटनास्थलको अबलोकन गर्नको लागि गृहय मन्त्रीको टोलि हेलिकप्टरमा गाँउ झर्यो। एमालेका स्थानीय नेताहरुले खादा ओडाए मन्त्रीलाई।  उनले घटनास्थलको अबलोकन पनि हेलिकप्टर बाटै गरे।  उनले को कसलाई भेटे, के के निर्देशन गरे गाँउलेहरुले  केहि थाहा पाएनन्। 

 ' हाम्रो देशमा अन्य देशहरुको तुलनामा अपराधहरु धेरै कम भैरहेको छ। अमेरिकामा यहाँभन्दा कैयौ गुणा बढी अपराध हुन्छ। हाम्रै छिमेकमा हेर्नुस दिनदिनै हत्या हिँसा भैराहेको हुन्छ। त्यसको तुलनामा यिनी घटनाहरु केहि पनि हैनन्। हामीहरुले अझै धेरै बिकास गर्नु पर्ने छ उनीहरुको बराबरी हुनलाई। '

'हत्याको दोषीहरुको न खोजि नै भयो कारबाही। दिनदिनै जसो पत्रकारहरुले पिडित परिवारलाई झन् पिडित पार्दै गए। न पिडित परिवारले न्याय पायो र सरकारबाट कुनै राहत। गाँउलेहरु बीच एकापसमा कटुता बढ्दै गयो। हिजोसम्म मिलेर बसेको गाँउ कतिबेला कसले कसको घरमा आगो झोस्ने हो, कसले कसको बंगारा खसाल्ने हो जल्तारास बढ्दै गयो। 

उता  आयु नपुग्दै सरकार ढल्यो। चुनाबको घोषणा भयो। बर्षोदेखि गुमनाम नेताहरु गाँउ पस्ने क्रम सुरु भयो। गाँउमा एमालेका सन्तानहरुले चुनाबी सभाको आयोजना गरे। गाँउगाँउबाट मान्छेहरु भेला भए। एमालेको उमेदबार कमरेड श्यामबहादुर मुट्ठी उठाउदै मन्चमा चढे। झोलेहरुले तालि ठोके। 

'यो गाँउमा बाटो बनाउनको लागि मैले ठुलो पहल गरे। यो गाँउलाई मात्रै यो भेगको समुन्नत बिकासको लागि तपाइहरुले मलाई भोट दिनुहुनेछ भन्ने आशा गरेको छु। यो पालि मैले चुनाब जितेर यिनी डाँडाकाँडामा गाडिहरु मात्रै हैन तल रेल र माथि केबुल कार चल्नेछ। अब किसान दाजुभाईहरुले हलो जोत्न पर्दैन। तपाइहरुका खेतहरूमा रोबोटहरुले बालि छर्नेछ। खेतमा मोल पुग्यो पुगेन , बालि उम्र्यो उम्रेन भनेर चिन्ता गर्नै पर्देन। सबैको मुबाइलमा यस्तो एप हुनेछ जसले गर्दा घरबाटै सबै कुराको निगरानी गर्न सक्नुहुनेछ।' फेरी पनि झोलेहरुले परर तालि ठोके। 

भाषण सकेर कमरेड श्यामबहादुर मन्चबाट तल झर्दै थियो, एक्कासी चारपाँच जनाको समुहले उसको कठालोमा च्याप्प समातेर स्कुलको पछाडी लगे। त्यहाँ विभिन्न पार्टीका कार्यकर्ताहरुबीच  हात हालाहालको स्थिति आयो। प्रहरिहरुको संख्या सानो भएकोले उनीहरु आफ्नो ज्यान जोगाउनको लागि त्यहाँबाट भागे। उनीहरुले श्यामबहादुरको आँखामा कालो पट्टि बाँधे र घिसार्सै घोप्टे भीरतिर झारे जुन भीरबाट केहि महिना अगाडी चार जना दलितहरुलाई घचेटेर मारिएको थियो। त्यसको निरीक्षण गर्न गृहयमन्त्रि को हैसियतमा श्यामबहादुर त्यहाँ आएको थियो। तर त्योबेला  उसले दोषीहरुलाई कारबाही गर्नुको साटो उल्टै बचाउ गरेर बक्तब्य जारि गरेको थियो। 

भीरको थाप्लोमा पुगेपछि उनीहरुले श्यामबहादुरको आँखाको पट्टि खोलिदिए र भने हाम्रो देशमा हिँसा अन्य देशको तुलनामा धेरै कम छ काम्रेड । त्यसैले बराबरी गर्नको लागि हामीले तपाईलाई  यहाँ ल्याइपुर्याएका छौ। यति भनेर उनिहरुले श्यामबहादुरलाई बिदा गरे। आकाशमा चराहरु एकैचोटी भुर्र उडे। एक जोडी गिद्धरु भीरको पल्लो पाखामा पखेटा हल्याप हल्याप पार्दै तलमाथि गर्दैरहे। 









0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home