Monday, April 19, 2021

 'कमेडी च्यापियन हेर्छस् ?’ अमेरिकामा बस्ने कलेज पढ्दादेखिको साथी नबिनले  सोध्यो। धेरैदिन भएको थियो कुराकानी नभएको। मैले नै मेसेन्जरबाट भिडियो कल गरेको थिए। ऊ स्टोरमा सामान मिलाउदै रहेछ। 

‘हाँ उहिले जमानाको किन नहेर्नुं नि। त्यो रोल्पाली केटाले लास्टै हसाउछ यार’, मैले भने। 

‘तिमि कुन जमानामा छौ यार? नयाँ शो आइसक्यो। टप एलेभेनमा पुगिसक्यो। अहिलेका केटाहरु झन् कडा पो छन्। काँको रोल्पालीको कुरा गर्छौ ?’

‘हो र ? हैन कतिबेला फुर्सद हुन्छ हौ तिमीलाई।  नेपालको रियालिटी शो सबै हेर्न भ्याउछौ। नेपालको राजनीति पनि सप्पै भन्छौ। अस्ती कल्ले टिकटकमै स्वास्नी कुट्यो भन्थ्यौ। तिम्रो ज्यान यता मन चै उतै छ कि क्या हो ?’

‘गफ नदे मुजी। तैले हेर्दैनस भनेर मैले पताउछु। खशी परेर विदेश छिरेका सबै नेपालिहरुले युटुबमा हेर्ने भनेकै नेपालि शो हो। कसैले लोक गित, कसैले रियालिटी शो, कसैले लोग्नेस्वास्नीको झागडा, कसैले नेताको भाषण यस्तै यस्तै त हो हेर्ने। कल्ले हेर्छ यहाँको शो? ‘

‘धेरैले हेर्छन होला , तर सबैले हेर्छन भन्न चै मिल्दैन है। यता दिनको अठार घण्टासम्म काम गर्नेहरु छन्। बिचरा तिनीहरुले कहिले हेर्छन के ?’

‘कस्तो लामो जस्तो कुरा गरेको तैले यार।  नेपालीको बानि थाहा छैन यार। ब्रेकमा ट्वाइलेटमा गएको बेला भएपनि हेर्न चै भ्याउछ। सबैको घरका बुढाबुढी हातमा मुबाइल समातेर एउटाले 'भ्वाइस अफ नेपाल’ अर्कोले ओलीको चुट्किला सुनीराहुन्छन।’

किन फोनमा? घरभन्दा ठुला टिभी राखेका हुन्छन है सबैले त्यसैमा हेर्छन होला नि। 

'टीभी त राखेकै हुन्छन नि। त्यो त दशैँ तिहारमा लोक गीतमा नाच्न र छोराछोरीले कार्टुन सार्टुन हेर्नलाई हो। आफुले बसेर ढुक्कसंग हेर्न त फुर्सद हुन पर्यो नि।अलि अलि फुर्सद भयो भने आजकल सबै टिकटक तिरै हुन्छन। बुढाबुढी बसेर बच्पनाका कुरा, गाइबस्तु चराउदा कुरा, स्कुल, कलेज पढ्दा मन परेका तर आफ्नो भाग्यमा नलेखेका साथीहरुको कुरा गर्ने सायद हुदै हुदैनन् भन्दा पनि हुन्छ।’


'ठिकै भनिस यार। अरुको कुरा के गर्नु, आफ्नो पनि हालत त्यहि हो। बसेर आनन्दसंग कार्यक्रमहरु हेर्ने त फुर्सद पनि निस्कनु पर्यो नि। खालि काम काम भन्यो। हप्तामा एक दिन छुट्टी भयो भने पनि कतै पार्ट टाइम भएपनि गर्न मन लाग्छ। खर्च चलाउनै पर्यो। ‘

'तैले भनेको कुरा त सहि हो। तर सातै दिन मोरेर काम गर्नु पर्छ भन्ने मलाई लाग्दैन। हप्तामा चारै दिन काम गरेपनि खान बस्न र गाडी चढ्न पुगिहाल्छ। आखिर चल्ने हो। जति घण्टा हाने पनि आखिर लुतो उही रैछ। ट्याक्स फाइल गर्दा लैहाल्छ। खै त्यताको कस्तो छ?’

‘त्यहाँ र यहाँ उस्तै त होला नि।  तर भन्नलाइ मात्र हो। मनले कहाँ मान्छ यार। एकदुई पैसा भएपनि अलि बढी कमाउन पाए हुन्थ्यो भन्ने हुन्छ। लोभले त कैले कसलाई पो छोडेको छ र।  त्यहि पैसाकै लोभले त यहाँ ल्याएको। यो स्टोर किनेपछि त झन् एकछिन फुर्सद छैन यार। कैले के सामान सकिन्छ कहिले के? पशलमा पनि कुर्ने पर्यो। मान्छे राख्यो पनि तलब दिने पैसा हुन्न। आफै खट्यो भने एक दुइ पैसो भएपनि बचाउन सकिन्छ कि भन्ने हुन्छ। कोरोनाले गर्दा मान्छेहरु पनि स्टोर छिर्न डराउछन्। आफुलाई पनि डर हुने।’

'पसलमा त अनेकथरि मान्छे आउछन।  अलि होसियार भएर काम गर है। यता पनि स्टोरहरुमा  काम गर्नेहरु धेरैलाई कोरोना लागिसकेको छ। कतिपय त भेन्टीलेटर मै छन् भन्छन। आफु त आजकल घरमै बसिएको छ। ज्यान बाच्यो भने कुनै उपाए निस्केला’, मैले कफी सुर्काउदै भने। 

सायद त्यतिनै बेला स्टोरमा कोहि ग्राहक आयो क्यारे, उसले 'फेरी कुरा गरौला है’ भनेर फोन काट्यो। 

धेरैदिन पछि ऊ संग यति धेरै भएको थियो। आजभोलि कसैसंग पनि लामो कुराकानी नै हुदैन। सोध्नु पर्ने पनि केहि हुदैन। सुनाउनु पर्ने पनि केहि हुदैन। केहि नयाँ राम्रो कुरा भयो भने सबैभन्दा पहिले फेसबुकबाटै थाहा हुन्छ। नराम्रो कुरा छ भने साथीहरुबाट थाहा भैहाल्छ। 'फलानोले त घर नयाँ घर किन्यो रे। डिस्कानोले स्टक मार्केटमा यति कमायो रे। यस्तै यस्तै कुरा मात्र सुन्न किन फोन गर्नुपर्यो झैँ लाग्छ। धेरैजसो साथीहरु कुनै उपलब्धि हात लाग्यो भने फोन गर्छन र कुरो घुमाएर भएपनि प्रगति सुनाइहाल्छन।

त्यसपछि ऊ कहिले पनि सम्पर्कमा आएन। उसले फेसबुक पनि डिएक्टिभेट गरेको छ। अन्य सामाजिक मिडिया उसले कहिले प्रयोग गरेन। फेसबुकमा पनि उसका साथीहरु धेरै कम थिए। कहिले कुनै फोटोहरु अपलोड गरेको पनि थिएन। कहिलेकाही स्टाटस अपडेट गर्थ्यो त्यो पनि कुनै चाडबाडमा शुभकामना दिनको लागि। 

उसलाई चिन्ने अरु साथीहरु कोहि थिएनन अमेरिकामा। मेरा अन्य साथीहरु त थिए तर उनीहरुले उसलाई चिन्दैनथे। मैले उसले कुनै फरक आइडीबाट फेसबुक चलाउछकि भनेर समेत खोजे कतै भेटाईन। दिनहरु आफ्नै रफ्तारमा चल्दै गए। समयले उसको याद बिस्तारै सुकाउदै गयो। 

एकदिन अचानक मिचिगन स्टेटमा बस्ने साथि सुधीरले नाबिनको फोटो फेसबुकमा अपलोड गरेर समावेदना राखेको देखे। अरु पो कोहि हो कि भनेर अझै नियालेर फोटो हेरे। उही हसिलो अनुहार गरेको साथि नबिन नै रहेछ। छाती ढक्क फुल्यो। रिंगटा लाग्ला लाग्ला जस्तो बनायो। धेरैले कमेन्ट गरेका थिए। सबैले रिप मात्रै लेखेका थिए। कसरि मोर्यो होला भनेर निकै खुल्दुली लाग्यो।तुरुन्त सुधिरलाई मेसेन्जरमा कल गरे। 

‘कसरी बताउ यार ऊ मोर्यो भन्ने कुरामा आफैलाई बिश्वास गर्न गाह्रो छ। स्टोरमा काम गर्दा गर्दै कोरोना लागेछ। अलिक दिनसम्म घरमै आइसोलेसनमा बस्यो। हामीले हस्पिटल गएर भर्ना होऊ भन्दा पनि मानेन। निको भैहाल्छु भन्थ्यो। पछि धेरै गाह्रो भैसकेपछि एम्बुलेन्स बोलाएर हस्पिटल भर्ना त गरेका थियौ। फोक्सोमा धेरै असर गरिसकेको रहेछ। त्यसै राति बितेछ। हामीलाई अर्को दिन मात्र खबर गर्यो’, यति भन्दै गर्दा ऊ रोकियो। 

फोन काटेको थिएन। एकछिनमा भारि स्वरमा भन्यो,’ परिवारको बिचल्ली छ। उनीहरुपनि आइसोलेसनमा छन्। नेपालमा खबर गर्न पनि धेरै गाह्रो भयो। हिजो मात्र उता सुनायौ।’

मैले त्यो भन्दा धेरै सुन्न सकिन। 'पछि कुरा गरौला है ‘ भनेर कल ड्रप गरें। 

रातभर निन्द्रा लागेन। कोरोनाको महामारी फैलिएको पनि झन्डै एक बर्ष भैसक्यो। कतै दोश्रो लहर चल्दै छ भने कतै तेश्रो लहर चल्दै छ। दिनहु जसो जसरि पानीमा करेन्ट लगाएर माछा मारिन्छ, त्यसरी मान्छेहरु मोरिरहेका छन्। दोश्रो लहरसंगै भारत र नेपालमा पनि कोरोनाले भयङ्कर रुप लिदैछ। घरमा बुढी आमा हुनुहुन्छ। फोन गर्दा भन्नुहुन्छ,’ कोरोना हो कि जातिले भवसागर मान्छे मारेको छ रे बाबु। बुढाबुढीलाई त च्याप्पै पार्छ रे। अझै दमका रोगीहरुलाई खतरा हुन्छ भन्छन। के हुने हो कुन्नि। ‘

आमाको कुरा सुन्दा मनै जिरिङ्ग हुन्छ। तर पनि सान्त्वना दिदै भन्छु,’ अरुले भनेको कुरा सुन्न हुदैन आमा। समाचारहरु धेरै जसो नकारात्मक हुन्छन। घरबाट बाहिर नानिस्कनुहोला। बिस्तारै सबै कुरो ठिक हुदैजान्छ।’

हुनत आमाले आँ गर्दा अलंकार बुझ्नु हुन्छ। हामीले सान्त्वना दिनुपर्ने कुनै आबस्यकता पर्दैन। तरपनि किन किन भन्न मन लाइहाल्ने। 

दिउसो सुजनको घरमा बाहिर भएपनि एकैछिन भेट हुन भनेर निस्के। उसको घरमा केहि मान्छेहरु ब्याकयार्डमा भेला भएका थिए। सबै आफन्त तथा साथीहरु थिए। किन किन मान्छेहरुको जमघट देख्दा आजकल मनै जिरिङ्ग हुन्छ। फोन गरेर सुजनलाई रोडसम्म बोलाएँ। उसले एकजना आफन्त पर्ने मान्छे कोरोनाको कारणले मिसीसागा बितेको खबर आएकोले के गर्ने कसो गर्ने भनेर सल्लाह गर्नको जम्मा भएको कुरो सुनायो। 

मन एकदम कमजोर भएको महसुस गरे। फर्केर कोठामा गएँ। तनमन जति नेपालमै थियो। खोक्रो शरीर फगत यहाँ सोफामा लढेको थियो। जतिबेला पनि उतैको समाचारहरु हेर्ने आदत नै भएको थियो। संसारको जुनकुनामा बसेपनि आँखा चिम्लिदा बितिकै आउने विचार होस् या तस्बिर त्यो तिनै घर खेत, खोला, खोल्साहरुको हुन्थ्यो। अचम्म लाग्छ कहिलेकाँही जब सपनामा पनि उतै कतै डुलिरहेको हुन्छु। 

अर्कोदिन बिहानै मुबाइल थर्थरायो। एकछिन पछि रोकियो। फेरी दोश्रो पल्ट थर्थरायो। चन्द्र दाईले फोन गर्नुभएको रैछ, उठाएँ। ‘ कतै घुम्न निस्कने हैन घुम्नलाई ? घर बस्दा बस्दा दिक्क भैसक्यो। कोरोनाले भन्दा पनि यसको डरले थला पारिसक्यो।’

‘लक डाउन झन् कडा पारेको छ। पुलिसले गाडी रोकेर कहाँ जाने, के गर्ने भनेर हैरान पार्छ रे। केटाकेटीहरु बोकेर कता जानु हो?’, मैले भने। 

‘के गर्नु यार मलाई त यहाँ एकैछिन पनि बस्ने मन छैन। नेपाल गएर दुइचार मैना बसेर भएपनि फर्किनु पर्ला। अनलाइन क्लास उतैबाट पढ्दा भैहाल्छ’, उहाँले भन्नुभयो। 

मैले हँ मा हँ मिलाए। बर्षौ सम्म कसैसंग नभेटी एक्लै एक्लै बसिरहदा दिक्क लाग्दो रहेछ। सायद त्यसैले होला ‘मानिस सामाजिक प्राणि हो' भनेर भनेको। जस्तोसुकै दुख सुख आइपरेपनि बेला बेलामा साथीभाई बसेर रमाइलो गर्दा दिक्दारीबाट छुटकारा मिल्दो रहेछ। काम गर्ने जाँगर चल्दो रहेछ। जिबनको सार्थकता मिल्दो रहेछ।  यसरि एक्लै एक्लै बस्दा साना साना छोराछोरीहरु पनि भोलि कतै भिडमा जाँदा डराउलान भन्नु पर्ने।  

उहाँसंग धेरैबेर सम्म यस्तै यस्तै भलाकुसारी भयो। हामि कतै जाने कुराको निर्णय नै गर्न सकेनौ। यतिकैमा हाम्रो कुराकानी रोकियो। 

दिनप्रतिदिन कोरोन संक्रमितहरुको संख्या बढ्दो थियो छर छिमेकमा। थुप्रै चिनेका नेपालीहरु पनि कोहि घरमै आइसोलेसनमा थिए भने कोहि भेन्टिलेटरमा पुगिसकेका थिए। तिनीहरुको परिवारको हालत कस्तो होला ? कति स्ट्रेस  होला। सोच्दै दिमाग रन्थनियो। समाचारहरुमा भारतमा कोरोनाको महामारी विश्वमै तिब्र गतिले बढेको खबरहरु आइरहेको थियो। फेसबुक युट्युब जताततै अस्पतालहरुमा अक्सिजनको अभाबले मान्छेहरु करेन्टले खोलाका माछाहरु पल्टिए झैँ पल्टिएका थिए। जताततै लाश जलाएको भिडियोहरु मात्र थियो। नेपालमा पनि महामारी अत्यासलाग्दो किसिमले बढिरहेको थियो। नेपालगंजमा डाक्टरहरु आफु संक्रमित हुदाहुदै पनि बिरामिहरुको उपचारमा खटिनु परेको कुरा समाचारमा आइरहेको थियो। बुटवलको स्थिति पनि भयाबह नै थियो। 


फेसबुकमा जताततै आफन्तहरु मोरेको खबर तस्बिर सहित टाँसिएको थियो। कतिबेला लाग्थ्यो कस्तो युगमा जन्मेछौ हामि।  स्कुलले जिबनदेखि अस्थिरतासंग जुध्दा जुध्दै बिदेशमा समेत अस्थिर अबस्थामै परियो। 





0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home