फेरिपनि एकपल्ट आयो नयाँ बर्ष।
सगरमाथाको चुच्चोमा झुल्किने पहिलो किरणसंगै
सुनौला सपनाहरु बोकेर सधै झैँ
सबैको आगनमा
फेरिपनि एकपल्ट
आयो नयाँ बर्ष।
कहिल्यै नगल्ने दधिचीका हड्डीहरु
कहिल्यै नगल्ने भिमका जङ्घाहरु
अर्जुन र कर्णका पाखुरीहरु
कोरोनाले फतक्कै गलेको बेला
आशाको किरण बोकेर
फेरिपनि एकपल्ट
आयो नयाँ वर्ष।
राजनीतिको कन्टेनरमा
जन्मेका भाइरसहरु
कोभित भन्दा कैयौ गुणा खतरनाक भैरहेको बेला
सडकको छेउमा पसल खोलेर
ख्याउटे छोराछोरीहरुको लागि
सपना बुन्दै गरेका कैयौ आमाहरुलाई
एकचिम्टी भरोसा बोकेर
फेरिपनि एकपल्ट
आयो नयाँ बर्ष।
मृतुको भयले छाती धर्मरायको बेला
बाच्ने रहर हराएको बेला
अचुक बुटी झैँ
पुरानै जिनिस
नयाँ ब्रान्डेड बोतलहरुमा राखेर
फेरिपनि एकपल्ट
आयो नयाँ वर्ष।
सिंहदरबारको डबलीमा
सकुनिहरुले पासा हान्दै गर्दा
देशैभर किचकहरुले
अबोध बालिकाहरुको बलात्कार गरिरहदा
न्याय दिन नसक्ने
कालाकोटेहरुलाई
सद्बुद्दि दिनकोलागि
फेरिपनि एकपल्ट
आयो नायाँ बर्ष।
हाँस्न चाहनेहरुको लागि हाँसो
नाच्न चाहनेहरुको लागि संगीत
मात्न चाहनेहरुको लागि नशा
खुल्न चाहनेहरुको लागि मन
जिउन जान्नेहरुको लागि उमङ्ग
डराउनेहरुको लागि काल
कमाउन चाहनेहरुको लागि माल
यस्तै यस्तै धेरै कुराहरु बोकेर
फेरिपनि एकपल्ट
आयो नयाँ वर्ष।
कसैलाई देखाउनु पर्ने
कसैलाई लुकाउनु पर्ने
कोहि कुदेको कुदै गर्ने
कोहि डेक चल्नु नपर्ने
कोहि राता र निला लेबलहरु खोज्दै
कोहि सस्तो सस्तो चामल रोज्दै
यस्तै यस्तै ....
थुप्रै बिजोडीहरुको माझ
साझा चौतारी बनेर
फेरीपनि एकपल्ट
आयो नयाँ बर्ष।
आर्यघाटमा अस्ताएको
एउटा मुढो
नर्सिङ्गहोममा पलाएको
अर्को टुसो
गरिबलाई चुसेर ढाडिएको
एउटो मान्छे
सडकपेटीमा भोक भोकै
पल्टिएको अर्को मान्छे
अस्पतालको शैयाहरुमा छट्पटाईरहेका
तारे होटेलका रंगमन्चहरुमा लडीबुडी गर्दैगरेका
खै कसलाई के उपहार दिएर जान्छ कुन्नि ?
तरपनि,
सबैको साझा बनेर
फेरिपनि एकपल्ट
आयो नयाँ वर्ष।
भूगोलको सीमारेखाहरू मेटिदै गैरहेको बेला
भाइरसले साम्यवाद ल्याएको बेला
संकृतिको मिश्रण हुदै गैरहेको बेला
भाषाहरु भ्रमित भैरहेको बेला
सुटुक्क झ्यालबाट चिहाउदै
नेपालि पात्रोमा एउटा नम्बर परिबर्तन गरेर
फेरिपनि एकपल्ट
आयो नयाँ बर्ष।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home