Tuesday, January 5, 2021

सपनाहरुको आत्महत्या

'हाम्रो जोडी खुब राम्रो सुहाउछ रे । हाम्रो क्लासका  साथीहरु सबैले भन्छन। तिमीले साच्चै माया गर्छौ नि? कि अरुणले सिर्जनालाई  घुमाए झैँ  दुई  चार दिन घुमाएर छोड्ने विचार छ ?' उषाले सुमनको  हात सुम्सुमाउदै भनि। 

'भोलि कल्ले पो देख्या छ र यार् ?  आज माया गर्छु, भोलिको ग्यारेन्टी लिन्न। सविनाले प्रणयलाइ धोका दिए जस्तो तिमीले पनि हात हल्लाउन के बेर? ' 

'यस्तो भर नभएको मान्छे संग हिड्न भन्दा आफ्नै साथीहरुसंग हिड्न ठिक',  भन्दै उषा उठेर हिड्न लागेकी थिइ । उसले  हात समातेर तान्यो र आफ्नो काखमा बसाल्यो।  

'केटीहरुको यहि बानीले गर्दा त धोका खान्छन। तिमि चन्द्रमुखी, तिम्रा ओठ गुलाबको फुल भन्दा कोमल, तिम्रो कपाल आहाँ कति सिल्की अनि मुलायम , तिमीलाई मैले यो जुनी मात्रै हैन सातौ जुनीसम्म पिरिम गर्छु भन्यो भने मक्ख परेर हाम्फाल्छन्। अनि उखु चुसे झैँ चुसेर बाटोमुनि फाल्दा बल्ल चेत पाउछन।'

'छि : मैले त्यसो भन्न खोजेको कहाँ हो र ? मैले त  तिमीले साच्ची माया गर्छौ कि दुइचारदिन साथीहरुलाई देखाउनको लागि हो पो भनेकी। जैले अरुले देख्ने ठाममा बस्नु पर्छ तिमीलाई। अरु क्लासका केटीहरुले समेत जिस्काउन थालिसके। केटीसंग बस्यो भने के के न गरे जस्तो सबैलाई देखाउने र भन्ने जात हो तिमी केटाहरु।  '

' प्यार कर्नेवाला किसिसे डर्ता नही।  ओंल्ड स्कुलको हो र म यार लुकी लुकी प्रेम गर्न ?  कस्तो कुरा गरेको हौ तिमीले।'  

केहीपर आँपको रुखको ओछेल पारेर  केटीहरुले उनीहरुको गतिबिधि हेर्दै थिए। पानी ट्यांकीमा उभिएका केटाहरुको आँखा पनि उनीहरुतिरै सोझिएका थिए। 

'लाजै नभएको मान्छे तिमि।  हेर माथिबाट सबैले हेर्दैछन्।  बरु अन्त कतै  जाँउ।'

त्यसपछि दुबैजना उठेर गोलपार्क हुदै तिनहु खोलातिर झरे। दिनभर ढुङ्गाको ओछेल परेर रंगिन सपनाहरु बुनिरहे।  

त्यसपछिका दिनहरु कहिले सिद्धबाबाको मन्दिर छेउछाउ त कहिले फुलबारीको जंगलतिर बित्न  थाले। दुवैजना किताब र कापी बोकेर जान्थे। घाममा बसेर सुन्तला र माम्फुली खान्थे, र साँझ धुला मैला कपडा बनाएर डेरामा  फर्किन्थे। 

यो प्रक्रिया धेरै दिनसम्म चलिरह्यो। उनीहरु  दुबैजना बि ए दोश्रो बर्षमा पढ्दै थिए । पढाएको नोट पनि उतै बसेर सार्थे। उनीहरुलाई  दुनियाँदेखि बालमतलब थिएन। आफ्नै अलग संसार थियो। दुबैजनाको साहित्यमा बिशेष रुचि भएकोले अलि बढी चर्चामा आएका उपन्यास पनि उतै लैजान्थे। त्यहाँ भएको प्रेम प्रसंगहरुको बारेमा एकअर्कालाई सुनाउथे। 

एकदिन तल्लो सिद्धबाबाको मन्दिर मास्थिरको जंगलमा  माकुर माकुर गरिरहेको बेला आर्मीको गस्ती टोलीले उनीहरुलाई खै कताबाट देखेछ। त्यतिबेला जंगलमा घाँस दाउरा गर्नेलाई त माओंबादी भनेर बन्दुक सोझ्याउने आर्मीले उनीहरुलाई  के पो छोड्थ्यो; झन्डै ट्रिगर दबाएन। दुइचारपल्ट  बुटले पिछाडमा  छाँप हानेर  त्यहाँबाट लखेट्यो । त्यो दिनदेखि उनीहरु खोला किनार तथा जंगलतिर जान छोडे। 

त्यतिबेला सुमनको डेरा   गोलपार्कमा थियो।  गाँउकै साथि आलोकसंग बस्दथ्यो। त्यो घटना घटेको एक महिना भित्रै  ऊ   खाती मेडिकल नजिकै डेरा सरेर एक्लै बस्न थाल्यो। घरपेटी पनि रमाइला मान्छे परेछन्। पल्टन र तरुनिका गफ गरेर कहिले नथाक्ने। उनीहरुको कुरा खुब मिल्थ्यो। 

 सिद्दबाबाको जङ्गलमा आर्मीको बुट बज्रेपछी न त उनीहरु फेरी फर्केर त्यता गए, न तिनहु खोला किनारतिर।  उनीहरु कलेजमा दोश्रो घन्टीसम्म बस्थे।त्यसपछि दुबैजना सुमनको कोठामा गएर  चेकोभका कथाहरु, वर्ड्सवर्थ, सेली र  बाइरनका कविताहरु पढ़थे र  त्यस्तै सुन्दर 'मेक बिलिभ वर्ल्ड' को कल्पना गर्थे।  

प्रेम गर्दा समय बितेको पत्तै हुदैन रैछ।  छुट्टिने मन नहुदा नहुदै पनि पन्द्र  दिने हिउदे बिदामा उनीहरु आफ्नो आफ्नो घर गए बिदा मनाउन।  उनीहरुकोबिच फोनमा भने निरन्तर कुराहरु भैरहन्थ्यो। उठेदेखि आखाँ नचिम्लिउजेल मेसेज या कल कुनै न कुनै भैरहन्थ्यो। 

बिदा सकिएपछि उनीहरु  बुटवल फर्किए।  बिदा पछिको पहिलो भेट कलेजमै भयो। उषा पहिले भन्दा अलि काली भएकी थिई। तर  सुमनलाई भेट्ने बितिकै भनि  'छि कस्तो काले भएको तिमि त।'  

'ए होर ! तिमि त कस्ती गोरी भैछौ ' भन्दै ऊ  अलिकति कुटिल हाँसो हाँस्यो।  उसले 'होला खुब !' भन्दै मुख बंगाइ। त्यो दिन उनीहरु धेरैबेर कलेजको चौरमा बसेर छुट्टीए। अर्कोदिन उषा केहिदिनको लागी काठमान्डौ गई। 

दुई दिन पछि  उषा काठमाण्डौबाट फर्किइ ।  केही समयदेखी लगातार पानी परिरहेको थियो। ठाउँठाउँमा बाढीपहिरो झरिरहेको थियो। काठमान्डौबाट फर्के लगतै उ सुमनको कोठामा गई । सर्पराइज दिनकै लागी भनेर उसले फोनसम्म  पनी गरेकी थिइन। 

उषाले सुमनको कोठाअगाडी एकजोडा गुलाबी रङ्गका स्यान्डिल  देखी।  ति स्यान्डिल  आफ्नै साथि सुनिताले लगाएको देखेकी थिई। सुमनले सुनितासंग कलेज क्यान्टिनमा हाँस्दै गफ गरेको पनि देखेकी थिई। त्यतिबेला नै उसको मनमा संका पसेको थियो। 

त्यसपछि ऊ सरासर बाहिर निस्की र छाता नखोलिकनै पानीमा भिज्दै दगुरी। अलि पर पुगेपछि बीच बाटोमै जोडसंग चिच्याउदै रोई। नजिकका मान्छेहरुले  झ्यालको पर्दा तानेर हेरे। घरको पेटीमा सुतिराखेको कुकुर खुट्टामुनि पुच्छर लुकाउदै गल्लिभित्र भाग्यो। 

कोठामा पुगीसकेपछि पनि धेरै बेरसम्म रोई ऊ। कैयौ पल्ट सुमनलाई म्यासेज लेख्दै डिलिट गर्दै गरि। 

दिउसो दुइबजे सुमनको फोन आयो। उसले एकै रिङ्गमा फोन काटी। पुन: एकैछिनमा फोनको घन्टी बज्यो। उसैले फोन गरेको थियो। फेरिपनी  दुइ घन्टी बज्न नपाउदै फोन काटी उसले। 

'ह्वेर आर यु स्वीट हार्ट ?' टिंग टिंग गर्दै मेसेज आयो। उसले रिप्लाई फर्काइन। सिरानीमा अनुहार लुकाएर दिनभरी रोइरही। 

घरि घरि फोन गर्दा फोन नउठेको र म्यासेजको रिप्लाई पनि नआएकोले बेलुका पाँच बजे सुमन उषाको कोठामै पुग्यो। ढोका बन्द गरेर भित्रबाट चुकुल लगाएको थियो।  उसले धेरै पल्ट ढकढकाउदा समेत ढोका नखुलेकोले ऊ डरायो।  झ्यालबाट बोलायो।  अहँ! भित्रबाट आवाज आएन। झ्यालमा बाक्लो पर्दा लगाएकोले गर्दा भित्र केहि देखिदैनथ्यो। 

सुमनले तुरुन्त घरपेटीलाई बोलायो। घरपेटी उषाको आफन्त पर्थे। उनले बोलाएपछि उसले ढोका खोली।  उसका आँखा सुन्निएर पाकेको गोलभेडा झैँ  राता भएका थिए। उसले सुमनको मुखमा हेर्दा पनि हेरिन। भित्र पनि बोलाइन। उसको यस्तो अवस्था देखेर सुमन असमन्जस्यतामा पर्यो। पहिले त उसलाई उषाको घरमा कुनै अप्रिय घटना घटेछ कि भन्ने पर्यो।  तर उषा आफुसंग नबोलेको हुदा मनमा चिसो लाग्यो। घरपेटीको अनुरोधमा ऊ आफ्नो डेरामा फर्क्यो। 

रातभर उसले उषालाई फोन गर्ने कोशिष गर्यो। थुप्रै पल्ट टेक्स्ट पनि गर्यो।  न फोन उठ्यो।  न टेक्स्टको रिप्लाई नै आयो।  नानाथरि कुराहरु सोचेर छर्लंगै उज्यालो बनायो।  भोलिपल्ट बिहानै ऊ पुन: उषाको कोठामा गयो।  

कोठाको ढोका बन्द थियो। ढोका ढक्ढकायो।  धेरै पल्ट कोशिष गर्दा सम्म नखुलेपछि फेरी घरपेटीलाई बोलायो। उनले बोलाउदा पनि ढोका नखुले पछि उनीहरु दुबैजनाले  जोडसंग हानेर ढोका खोले। उषा खाँटमा बेहोस अबस्थामा लढीरहेकी थिई। उनीहरुले तुरुन्त अस्पताल पुर्याए।

डाक्टरहरुले उसको शरीरमा पोइजनले असर गरिसकेकोले तुरुन्त आइ सी यु मा राख्नु पर्ने जानकारी दिए। त्यतिबेलै एम्बुलेन्समा राखेर उसलाई भरतपुर अस्पतालमा पुर्याइयो। 

तिनदिनसम्मको लगातार उपचार पश्चात उषाको अवस्था खतरा मुक्त भयो। त्यहाँ पुर्याएर उपचार गर्ने सबै बन्दोबस्त सुमनले नै मिलाएको  थियो। साथीहरुले अलिअलि भएपनि सक्दो सहयोग गरे। गाउँमा भएका उषाको परिवारलाई समेत खबर गरेनन् उनिहरुले। 

उपचार पश्चात उनीहरु बुटवल फर्के। सुमनले उषालाई आफ्नै कोठामा लगेर राख्यो। बिस्तारै उषाको स्वास्थ्य अवस्था पहिलेको अबस्थामा फर्कियो। उषाको मनमा गढेको भ्रमको पर्दा पनि केहिदिनमै च्यतियो। कारण  सुमनको दिदि तिनै गुलाबी रङ्गका स्यान्डल लगाएर भाईको कोठामा आइन। उनी  नयागाँउ  बस्थिन र प्रायजसो  बजार लाग्ने दिन बुटवल आएको बेला भाइकोमा पस्ने गर्थिन। सुमनले दिदिसंग उषाको बारेमा सबै कुरा गरिसकेको थियो। तर उषालाई दिदीको बारेमा कुनै जानकारी थिएन।

यस बिचमा कैयौ पल्ट सोद्धा समेत उषाले बिष् सेबन गरेको कारण भनेकी थिईन। दिदीलाई भेटेपछि आफुले गरेको गल्तिले ग्लानि महसुस भयो। कुरा लुकाएर कति दिन पो लुक्छ। एकदिन सबैकुरा सुमनलाई भनि र आँशुले मनको मैलो सबै पखाली। सुमनले पनि दिदिसंग पहिले नै परिचय नगराएकोमा माफी माग्यो। 

त्यसको एक महिनामै उनीहरुले  बिहे गर्ने  निधो गरे। घरमा कुनै सल्लाह नै नगरी दुबैजनाले  यो कुरो पक्का  गरेका थिए। कारण उषा तथाकथिक  तल्लो जातकी केटी थिई भने सुमन गाँउकै नामुद  पण्डित बाजेको छोरो। दुवैजनाको परिबारले यो बिबाह नस्वीकार्ने पक्कापक्की थियो। सुमनले  दिदिलाई मनायो र केहि साथीहरु बोलाएर  सिद्धबाबा मन्दिरमा उषाको सिउदोमा सिन्दुरको धर्को तान्यो । 

उनिहरुको बिबाहको हल्ला केहिदिनमै घरसम्म पुग्यो। छोराले तल्लो जातकी केटीसंग बिहे गरेको थाहा पाउन साथ  सोमनाथ पण्डितले  श्रीमतिसंग भने 'तेरो छोरो माओबादिमा लागेको रहेछ।आर्मीले बेपत्ता पारेको छ रे, बिर्सी दे त्यसलाई। पण्डितनी आमाले सोझै बुझिन।  दुइ दिनका दिन बल्ल होश खुल्यो उनको। 

उषाको बाउले आरनमा बिष्टको हँसिया, कोदालो मर्मत गर्ने  काम गर्थे। उनलाई कतै आफ्नो छोरीलाई मार्छन कि भन्ने डर जाग्यो। उनले पनि बुढीसंग भनेछन् 'जातिय मुक्ति भन्दै हिद्थी रे ठुलै जातको केटासंग हिडिछ। कुन दिन जीवनबाटै मुक्ति पाउछे थाछैन। ' सोझी साइली केहि नबुझी त्यसै ' चुक् चुक् ' गरी। 

दुवैजनाले  बुटवल बहुमुखी क्याम्पसबाट मानविकी संकायमा ब्याचलर सकाए। घरबाट खर्च आउन छोडेपछि सुमनले  नयाँगाँउमा स्कुल पढाउन थाल्यो। उषाले पनि ब्युटी पार्लरको काम सिकेर मिलनचोकको "मोनालिसा ब्युटी पार्लर"मा  काम गर्न थालि। जनतन  गर्जो टार्दै गए।  यत्तिमै भएपनि खुसीका साथ दिनहरु बिताउन थाले। उनीहरुको प्रेम र संघर्ष देखेर धेरैले प्रसंसा पनि गरे। 

एकदिन अचानक स्कुलबाट फर्किदै गर्दा सुमनको मोटरसाइकल पूर्वपश्चिम  राजमार्गमा  भैरे पेट्रोल पम्पनिर  ट्रकसंग ठोकिन पुग्यो।  ट्रकको टायरले उसको देब्रे खुट्टा नराम्रोसंग पिल्सियो।  एम्बुलेन्समा उसलाई तुरुन्त बुटवल हस्पिटल पुर्याइयो। उसलाई बचाउनको लागि डाक्टरहले उसको खुट्टा काट्नु पर्यो। त्यसपछिको जिबनमा ह्वीलचियर उसको जिबनसाथी बनेर आयो। उनीहरुको खुशीमा ठुलो बज्रपात भयो। उषाले सुमनलाई ह्वीलचियरमा राखेर कोठामा लागि।  त्यसपछिका दिनहरु झन् झन् कष्टकर  बन्दै गए। 

सुमनको जागिर गयो। उसको जागिरसंगै हातमुख जोर्ने उपाए भएन।  उषाले सुमनको स्याहार सुसार थाली। भर्खर फुल्दै गरेको उनीहरुको जिबनमा नराम्रोसंग बज्रपात आयो। तरपनि उनीहरुले हार मानेनन्। उषाले बिहान बेलुका सुमनको सेवा गरेर दिउसो कामलाई निरन्तरता दिई। जनतन उनीहरुले खान र बस्नको लागि गुजारा गरे। 

उषाका साथीहरु भन्थे 'किन कुरेर बस्छेस है उसलाई ? तिमीहरुको सन्तान पनि त छैनन। न उसको परिवारले उसलाई हेर्छ न उसले नै केहि गर्न सक्छ। बेलैमा आफ्नो बाटो हेर। अहिले बिचरो भनेर आफ्नो जिन्दगि बर्बाद पार्न पनि त भएन। पछी पछुताउलीस्।  '

उसले धेरै सुनी।  परिबारका सदस्यहरुले समेत धेरै सम्झाउने कोशिष गरे। तर जब उसले बेडमा सुमन निरिह भएको सुतेको देख्थी, उसप्रतिको माया झन् बढेर आउथ्यो।उसलाई गर्लम्म अँगालोमा बेर्थी र प्रेमले सिंचित गर्थी उसको उजाड मनलाई। उसलाई कपडा फेर्दिने, नुहाइदिने र बाथरुमसम्म लैजाने जस्ता व्यक्तिगत कामहरुमा कहिल्यै झर्को नमानी गरि उसले।  

एकदिन साँझ उषाले सुमनलाई ह्विलचियरमा राखेर डुलाउन निस्की हाटबजारतिर। फर्केर आउदा गोलपार्क चोकैनिर सुमनलाई बाहिर राखेर केहि सामान किन्न भित्र पसी। सुमनले अन्त कतै हेरेको बेला कसैले पाँचको नोट ह्विलचियरमा खसालेर गएछ। सुमनको मन आत्मग्लानिले छिया छिया भयो। त्यो थाहा पाएर उषा अवाक् भई।  

त्यो साँझ उषा धेरैबेर सम्म रोहिरई। समाजले  अपाङ्गहरुलाई हेर्ने दृष्टिकोणप्रति उसलाई हदै सम्मको घृणा जागेर आयो। के अपाङ्गहरु सबै भिख मगुवा हुन्? के अपाङ्गहरुको इज्जत हुदैन? के उनीहरुलाई आत्मसम्मानका साथ बाच्ने अधिकार हुदैन ? के सडक अपाङ्गहरुको होइन? 

ऊ सुमनको छातीमा टाँसिएर धेरैबेर सम्म रोहि। 'कस्तो समाजमा बाँचिरहेका छौ हामी। जातको नाममा हामि आफ्नै परिबारबाट अलग भयौ। समाजको नजरमा हामि कलङ्क भयौ।आज यही समाजले हामीले भिख मगुवा देख्छ। आखिर कहिले सम्म ? कहिले सम्म सुमन। … ? ' ऊ डाँको छोडेर रोई। 

सुमनको मन बेचैनिले पहिले नै छट्पटाई रहेको थियो। उषाको आँखाबाट झरेको आँशुले उसको छाती भिजिसकेको थियो।  उसले रोक्न खोज्दा खोज्दै पनि कोछ कोछबाट आँखा रसाए। 

सधै उषा रुदा नरोऊ 'सबै ठिक हुन्छ' भन्दै सम्झाउथ्यो उसले। तर आज रोकेन। धेरैबेर सम्म उसको कपाल मुसारीरह्यो। 

 त्यो दिनको घटनालाई उसले आफ्नो मात्र अपमान ठानेन। आफुलाई मात्र भिखारीको ताज भिराइएको देखेन। सम्पूर्ण अपाङ्ग व्यक्तिहरुको सामुहिक अपमान भएको ठान्यो। 'दुर्घटनाले दिनदिनै हजारौ लाखौ मान्छे अपाङ्ग बनेको छ। तर उनीहरु भिख माग्ने  भएका त हैनन् । के कुनै व्यक्ति ह्विलचियरमा हिड्न बाध्य हुन्छ , घिस्रेर हिड्नु पर्ने हुन्छ, बैसाकीको साहारामा हिड्ने बाध्यता हुन्छ अनि ऊ यो समाजको नजरमा स्वतः भिकारी भैदिन्छ ? अहँ कतापी हुदैन। बरु कैयौ हदसम्म भिकारि बनाउछ यो समाजले। माग्न बाध्य बनाउछ' सुमनको अन्तरात्माले भन्यो। 

त्यसैदिन उसले मनमा दृढ संकल्प लियो कि जुनसुकै हालतमा पनि समाजको चश्मा परिबर्तन गर्ने । अपांङ्गहरुले पनि साधारण व्यक्ति सरह जिउन पाउने, हिडडुल गर्न पाउने, आफ्नो शारीरिक र मानशिक क्षमताअनुरुप काम गर्न पाउने अधिकारको सुनिस्चित गर्नु पर्छ भन्ने कुरामा। 'आफु नमोरी स्वर्ग देखिदैन मात्रै हैन नर्क पनि नदेखिदो रहेछ' भन्ने लाग्यो उसलाई। 'न सार्बजनिक बसहरुमा यात्रा गर्न सजिलो छ, न सहरका बाटाहरुमा व्हील चियर गुडाएर हिड्न। कलेजहरुमा पनि  अपाङ्गहरुको लागि कुनै संरचनाहरु छैनन्। चर्पी अपाङ्ग मैत्री छैनन्।  रेस्टुरेन्ट अपाङ्ग मैत्री छैनन्। अस्पताल अपाङ्ग मैत्री छैन। 

उ आफै तिरिमिरीमा  पर्यो। यो सबै कुरा त उ सपाङ्ग हुन्जेल कहिलेपनि सोचेको थिएन।

'कति होलान् यति ठुलो शहरमा अपाङ्गहरु? कसरि बाचेका छन् उनीहरु?  खै  कुनै राजनीतिक दलका नेताहरुले उनीहरुको बारेमा बोलेको? खै उनीहरुको लागि आन्दोलन गरेको? बस् खाली सत्तालिप्साको लागी रोइलो मच्चाईरहेका छन्।'  उसको मनमा तुफान मडारिन थाल्यो। उसले उषालाई भन्यो 'हामि अब यो अन्याय सहेर बस्नु हुदैन। जसरि हुन्छ हामीहरुले अपाङ्ग मानिसहरुलाई भएको अन्यायको बिरुद्द आवाज उठाउनु पर्छ। मैले नै यसको सुरुवाद गर्छु।  तिमीले मेरो साथ् देउ। '

त्यसपछि उनीहरुले 'अपाङ्ग आवाज' नामक फेसबुक ग्रुप पेज खोले। ट्विटर, इन्स्टग्राम हुदै सयौ मान्छेहरु संग जोडिन पुगे। कैयौ अपाङ्गहरुको उनीहरुले खोजीनिती गरेर संगठित गरे। ग्रुपमा धेरै सदस्यहरु बढ्दै गैसकेपछि बेला बेला उनीहरुले भिडियो कन्फेरेन्स सम्म गरे। अन्तरास्ट्रिय मानाबधिकारबादी संगठनहरुले पनि उनीहरुको कार्यक्रमलाई सहयोग गर्ने भए। 

त्यसपछिका दिनहरुमा उनिहरुले कैयौ पल्ट जिल्ला प्रसासन कार्यालय अगाडी बसेर धर्ना दिए।  बैसाकी टेकेर भएपनि भेला भएर सबैको अगाडी आफ्ना मागहरु राखे। तर कसैले सुनेन। एकजना टोले नेताले माइक बोकेर चोकमा उभिदा मिनेटभरमा सैकडौ मान्छेहरु भेला हुन्थे।  तर त्यहि ठाँउमा अपाङ्गहरुले आयोजना गरेको त्यो भेलामा उनीहरुलाई साथ दिने  कोहि भएनन्। 

स्थानीय प्रसासनले टेरपुच्छर नलगाएपछि उनीहरुले आफ्ना मागहरु आफै काठमान्डौ गएर  प्रधानमन्त्रिलाई बुझाउने निधो गरे। जानको लागी यातायातको व्यवस्था गरेर बालुवाटारसम्म  पुगे। 

सिंहदरबार अगाडी बैसाकी टेकेर  र ह्विल चियरमा बसेर सयौ अपाङ्ग व्यक्तिहरुले धर्ना दिए।  उनीहरुले प्रधानमन्त्रीलाइ भेट्नको लागि गेटमा बसेका पहरेदारहरुसंग बिन्ति गरे। बरु बेलाबेलामा मन्त्रिहरुका सवारी भित्र बाहिर गर्दा उनीहरुलाई धुलोले ढाक्थ्यो। कसैले बेतोडले हर्न बजाउथे। तर कसैले झ्यालको सिसा सम्म खोलेर उनीहरुलाई हेरेन। 

सुमन दुवै हातले जोड जोडसंग दुवै पांग्रा घिसार्दै गेटमा उभिएको पुलिससंग गयो र उनीहरुलाई नरोक्न तथा भित्र जानको लागि आग्रह गर्यो।  तर बुख्याचा जसरि गेटमा ठिङ्ग उभिएको  पुलिसले उनीहरुको कुरा सुनेन। उल्टै हप्काउन थाल्यो।त्यहाँ जम्मा भएका सयौ अपाङ्गहरुको मन कुडियो।  उनीहरुले आबेगलाई रोक्न सकेनन र सबैले धकेला धकेल गर्दै गेटमा पुगे। अचानक आन्दोलनकारी मध्यकै एकजनाले पुलिसको बन्दुक तान्यो।  त्यतिबेलै त्यहाँ अर्को पुलिसले गोलि चलायो। सुमनको खुट्टामा देब्रे खुट्टामा गोलि लाग्यो। उसको दाहिने खुट्टा पहिलेनै काटिसकेको थियो।  ऊ गर्लम्मै त्यहि ढल्यो। तुरुन्तै अन्य पुलिसहरु आएर जथाभाबी लाठि बर्साउन थाले।  कैयौ व्यक्तिहरु गुहेकिरा झैँ सडकमा पल्टिए। यो बिभत्स घटनाको तस्बिर खिचेर गए पत्रकारहरु। सुमन लगायतदर्जनौ मान्छेहरुलाई पुलिसले भ्यानमा हालेर कता लग्यो कसैलाई पत्तो भएन। 

त्यो दिनको घटनालाई लिएर कैयौ राट्रिय तथा अन्तराट्रिय पत्र पत्रिकाहरुमा खबर छापियो। युट्युब भिडियोहरु भाइरल भए। मानबधिकारबादीहरूले निकै चाँसोका साथ् उनीहरुको रिहाइको माग गर्नुका साथै उनीहरुलाई राखिएको ठाउहरुमा स्थलगत निरीक्षण गरे। 

उषाले सुमनको नेतृत्वलाई अगाडी बढाई। देशैभरि भैरहेको उनीहरुको आन्दोलनलाई समर्थन गर्दै कैयौ अन्तरास्ट्रिय संघ संगठनका मान्छेहरु नेपालमै आएर उनीहरुको आन्दोलनलाई साथ दिए। उनीहरुको कुनै किसिमको राजनैतिक माग नभएर अन्य नागरिक सरह हिडडुल गर्न पाउनु पर्ने, सपाङ्गसरह काममा जना पाउने बाताबरणको सिर्जना गर्नुपर्ने, अपाङ्गहरुलाई विभेदकारी ब्यबहार गर्ने जो कहिँलाई पनि कारबाहीको दायराभित्र ल्याउनुपर्ने। काम गर्न नसक्नेहरुको लागि जिबिको पार्जन गर्नको लागि सरकारले निम्नतम भत्ताको व्यवस्था गर्नुपर्ने। अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी सरकारले लिनु पर्ने। उनीहरुलाई पनि सामान्य नागरिक सरह व्यवहार गरिनु पर्ने। राज्यका भौतिक संरचनाहरुलाई अपाङ्ग मैत्री बनाउने। यस्तै यस्तै ... निकै सरल थिए उनीहरुका माग। न उनीहरुले राज्यको भागबन्डा मागेका थिए न आफुलाई कुनै मन्त्रीको पद। उनीहरु आफ्नो बर्तमान  भन्दा भबिष्यमा  अपाङ्ग व्यक्तिहरु प्रति गरिने दुर्ब्यबहार र उनीहरुले भोग्नु पर्ने सास्तीलाई सधैको निम्ति हटाउन चाहन्थे।  उनीहरुलाई जस्तै भाबी सन्ततिहरुलाई समाजले भिख मागुवा नदेखोस भन्ने उनीहरुको माग थियो। चाहाना थियो। एउटा बिन्ति राज्यप्रति गरियको थियो। 

चौतर्फी दबाब बढेपछि राज्यले उनीहरुको माग पुरा गर्ने घोषणा गर्यो। उनीहरुको बिन्तिपत्रमा हस्ताक्षर गर्यो।आन्दोलनको क्रममा जेलमा थुनेका धेरै मान्छेहरुलाई पनि जेलमुक्त गर्यो। सबैलाई अबको केहि दिनमा यसको कुनै कुनै किसिमको परिणाम आउछ भन्नेमा सबै ढुक्क भए।  सुमन र उषा पनि ठुलो आशा गरेर बुटवल फर्के। 

समय आफ्नै गतिमा अघि बढ्यो। दिनप्रतिदिन बढ्दै गैरहेको दुर्घटनाको कारण अपान्गताहरुको संख्या बढ्दै थियो। नेताहरुले संविधानको धारा देखाउदै अपाङ्गहरुको अधिकारको सुरक्षा गरेको, भौतिक संरचनाहरु निर्माण गर्न बजेट थपेको आदि कुराहरु आफ्ना चर्का भाषणहरुमा गर्दै गरे। एक वर्ष नहुदै सरकार ढल्यो। फेरी अर्को सरकार गठन भयो।  न सडकहरु अपाङ्ग मैत्री बने, न स्कुल, अस्पताल र सरकारी भवनहरु।

बैशाखको चर्को घाममा सुमनले पुरानै मागहरु राखेर आमरण अनसन शुरु गर्यो। रुपन्देहीको क्षेत्रीय प्रशासन कार्यालयको अगाडी आफ्ना मागहरुको ब्यानर टाँगेर ह्विलचियर मै बसेर आन्दोलानको घोषणा गर्यो। आमरण अनसनमा बसेको कुराको त्यति ठुलो मेडिया कभरेज भएन। होस्टेमा हैसे गर्न मान्छेहरु थपिएनन्। उ लगातार पन्द्र दिनसम्म पानीसम्म नपिई अनसनमा बस्यो।  उसको साथमा थिई उषा र केहि अभियन्तहरु। लामो समयसम्मको अनसनले गर्दा सुमनको खुट्टाको घाउमा असर गर्यो।  उसको स्वास्थ्यमा नराम्रो प्रभाब पर्यो। राज्यको तर्फबाट पुरानै खालको आश्वासन बाहेक केहि पहल भएन। 

एकदिन राति अपहरणकारिको शैलीमा पुलिसहरुले उसलाई उठाएर अस्पतालमा पुर्याए।  अस्पताल पुग्दा सुमन बेहोस भैसकेको थियो। प्रहरीहरुले उषालाई समेत भित्र प्रवेश गर्न रोक लगायो। अस्पताल भर्ना गरेको  चौबिश घण्टापछि मात्र उसको होश खुलेको थियो। अस्पताल बाहिर केहि संघसँस्थाका मान्छेहरु बाहेक अरु कोहि थिएनन्। अरु दुइदिन अस्पतालमै राखेर केहि सामाजिक अभियान्तहरुको रोहबरमा पुलिसले सुमनलाई छोड्यो। त्यो रात अबेरसम्म उनीहरु निधाएनन्। 

सुर्यका सुनौला किरणहरुले सुन्दर बुटवल नगरी झलमल्ल देखियो। सडकको दुवैछेउहरुमा झुम्म परेका असोका रुखहरु  लहरै उभिए। सफा अनि फराकिला सडक पेटिहरु। चिल्ला गाडीहरु आफ्नै गतिमा कुदिरहे। न बाटोमा धुलो उडेको छ, न जोड जोडसंग गाडीको हर्नहरु बजेका छन्। ह्विलचियरमा मान्छेहरु निर्धक्कसंग हिडिरहेका छन्। ठुला फराकिला सार्बजनिक बसहरु गुडिरहेका छन्। बसहरु अपाङ्गमैत्री छन्। बस स्टपहरुमा ठिक समयमा बस आउने र जाने क्रम चलिरहेको छ।  

सुमन ह्वीलचियर गुडाउदै आफुले पढेको कलेज बुटवल बहुमुखी क्याम्पस भित्र छिर्यो। ह्विलचियरको लागि रयाम्पहरु बनेका थिए। शौचालयहरु अपाङ्ग मैत्री थियो।  आफुले सुरुवाद गरेको आन्दोलन सफल भएको र भौतिक संरचनाहरुको बिकाश अपाङ्ग मैत्री भनेकोमा ऊ दङ्ग थियो। तिनहु खोलाको किनारामा तलादेखी माथिसम्म सुन्दर पार्क निर्माण गरिएको थियो। नदीको किनारमा राखिएका बेन्चहरुमा जोडी ढुकुर झैँ केटा केटीहरु बसेका थिए। पार्कको तलदेखि माथिसम्म ऊ ह्वीलचियरमै जान सक्थ्यो। अस्पतालहरुको शौचालय देखि, अपरेशन थियटर सबै अपाङ्ग मैत्री भैसकेका थिए। 

मान्छेहरु पनि कति सभ्य र भद्र भएछन। सबैले एक अर्कोलाई सम्मानपुर्बक अभिबादन गर्ने। अपाङ्ग र सपाङ्गमा कुनै भेदभाब थिएन। ऊ खुशीले पुलकित हुदै अटोमेटिक ह्विलचियरमा ट्राफिक चोकतिर हान्नियो। 

अचानक त्यहाँ एउटा भिड जम्मा भयो। उसले हेर्दा हेर्दै त्यो भिड आफूतिर आउदै गरेको देख्यो। त्यो भिडले भनिरहेको थियो 'यो अपराधी हो। आफ्नो स्वार्थको लागि आन्दोलन गर्ने। नचाहिदो काममा राज्यको ढुकुटी सर्बनास पार्ने। पुराना संरचनाहरु ध्वस्त पार्न खोज्ने।' 

'हो म अपराधि हो। अपाङ्गहरु सबै राज्यका अपराधी हुन्। हिटलरले झैँ हामीलाई ग्यास चेम्बरभित्र डडालेर खरानी पारिदेउ। इदी अमिनले झैँ मुटु कलेजो पोलेर खाऊ' ऊ जोडसंग चिच्यायो। 

'के भयो तिमीलाई ? किन एक्लै चिच्याएको ? भन्दै उषा ओक्षानबाट उठी।  सुमनको शरीरबाट पसीना चिट्चिटाएको थियो। उषाले एक गिलास पानी लिएर दिई। पुन: एकपल्ट कोठामा सुन्यता छायो। सुमनकाआँखा सिलिङ्गमा झुन्डिएको पंखामा एकोहोरो ट्वाल्ल परेर रोकिए। सायद उसका सपनाहरुले त्यहि पंखामा झुन्डिएर आत्महत्या गरिसकेका थिए। 









 








 









0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home