नयाँ बर्ष, जलपरी र बुढो मान्छे
नयाँ बर्ष, जलपरी र बुढो मान्छे
नयाँ वर्षको सुन्दर बिहानी। सुर्यका किरणहरुले लेक ओन्टारियोको विसाल छातीमा चिप्लेटी खेल्दै स्कार्बोरोलाई रंगिन पर्दाले छोपिसकेको थियो। क्रिसमसलाई स्वागत गर्न झरेको हिउँ सबै फर्किसकेको थिएन। बाटोको छेउछाउ तथा पार्कहरुमा अझै साना साना झुण्डमा विभाजित थियो। ब्लू जे र स्नो बन्टिङ्ग म्यापल रुखका नाङ्गा हाँगाहरुमा फुर्र फुर्र तलमाथि गर्दै थिए। नयाँ बिहानीको मनोरम दृश्यलाई आत्मासात गर्ने हेतुले शरीरलाई भारि ज्याकेट र गरुङ्गा जुत्ता बोकाएर म घर बाहिर निस्के।
बिहानको आँठ बजेर दश मिनेट अघि बढिसकेको थियो। ब्रिम्ले, लरेन्स र डान्फोर्थ भित्रको कम्युनिटीका प्रत्यक गल्लि गल्लि हुदै एक फन्को सर्लक्कै लगाए। बाहिरको तापक्रम प्लस पाँच भन्दा माथि नै थियो। एउटा कुराले मलाई अचम्मित तुल्याइरहेको थियो कि 'नयाँ बर्षको पहिलो घाँमको न्यानो स्पर्स लिन किन कोहिपनि आतुर छैन?" कम्तिमा पनि पचासौ घरहरुको आगनबाटै म हिडेको थिए। समसानघाट जस्तै थियो त्यहाँको बस्ति।
अहँ एकजना पनि मान्छे मैले न बाटोमा भेटे, न घरको आगनमा। एक दुइवटा गाडीहरु मात्रै बाटोमा गुडिरहेका थिए। मनमनै सोंचे 'आधुनिक बिकाससंगै मान्छेहरु एउटा बाकसभित्र सिमित बन्दै गैरहेको छ। एक, दुइ र तिन कोठे घरभित्र सिमित छन् मान्छेहरु।'
त्यसपछि म ब्रिम्लेको बाटो हुदै ब्लफर पार्कतिर जादै थिए । ब्रिम्ले र एग्लिंटनको जंक्सनमा केहि रोगी अनुहारहरु बाटो काट्नको लागि उभिरहेका थिए। गाडीहरु एकोहोरो गतिमा हुत्तिरहेका थिए। म बाटोको छेवैछेऊ ब्लफर पार्क सम्म पुगे। शरीर तातेर पसिना चिट्चिटाईरहेको थियो। ज्याकेट खोलेर हातमा लिए। समर दिनहरुमा भोरिभराउ हुने ब्लाफ़र पार्क सुन्यप्राय थियो। केहि पानिहाँसहरु लेकको छेउछाउ चारा टिप्दै थिए भने कतिपय न्यानो घाममा छाती पल्टाएर सुतिरहेका थिए। तर एक जना मानब आकृति त्यहाँ उपस्थित थिएन।
मोबाइलमा समय हेरे। भर्खर नौ बजेर तिस मिनेट उकालो चढ्दै थियो। मनमनै प्रश्न गरे। किन मान्छेहरु बाहिर निस्कन छोडे ? मौसम यतिविधि चिसो पनि त छैन। के मान्छेहरुलाई यसरि हिड्ने फुर्सद नै छैन? के उनिहरुलाई प्रकृति प्रिय लाग्न छोड्यो? मनमा अनेकौ कुराहरु खेल्दै थियो। आखिर किन ? किन प्रकृति संग रिसाइरहेको छ मान्छे ?
हिड्दा हिड्दै कतै बिजुली चम्क्यो। आकासमा ठुलो कालो बादल जम्मा हुदै गयो र केहीबेरमै निस्पट अध्यारो भयो। म म्यापलको रुख समातेर जहाँको त्यहि उभिए। एकपल्ट पृथ्वी पुरै फनक्क घुमेजस्तो लाग्यो।
तलाउको छेउछाउ बाताबरण सुनसान थियो। ‘सबै मान्छेहरु घरमै बसेर आराम गरिरहेको बेला त चाँही किन एक्लै यतातिर ?’ आफैले आफुलाई प्रश्न गरे र हतार हतार घर फर्के।
त्यसपछि पुरै दिन केहि किताबहरु ओल्टाईपल्टाई गरेर बित्यो।
***
लेक ओन्टारियोको पानिले सुस्तरी सुस्तरी छेउमा लमतन्न पसारिएका ढुङ्गाहरुलाई स्पर्स गर्दै थियो। सानो सेतो खरायो कान ठाडा ठाडा पार्दै म तर्फ हेरिरहेको थियो। त्यो सुन्दर प्राणीलाई मेरो हेराइले मनमा भय पैदा गर्ने डरले म किनारै किनार उत्तर दक्षिण पट्टिको एउटा छेउमा उभिएको लाइटहाउस तर्फ अघि बढे।
वरिपरिबाट ठुलाठुला ढुङ्गाहरुले पहरा दिएजस्तो देखिने लाइट हाउसको अलि माथिपट्टी नाङ्गा रुखहरुले बसन्त ऋतु कुरिरहेका थिए। हरियो पातभित्र लुकामारी खेल्ने चराचुरुङ्गिहरुले छोडेर गएकोमा निन्याउरो मुख लगाएर लेकबाट आइरहेको पानीको छाललाई एकोहोरो हेरेजस्तो लाग्थ्यो।
चुच्चो परेको ढुङ्गामाथि उभिएर मैले एकैछिन यताउति भलाके। पश्चिमदिशाबाट बहदै आएको हावाको लहरसंगै तलाउको पानीले लाइटहाउसको फेदीलाइ छप्ल्याङ्ग छप्ल्याङ्ग हान्दै थियो। त्यहि फेदीमा थियो एउटा मानब आकृति। ढुङ्गामा बसेर दुवै खुट्टा पानीमा चोबेको थियो। लामा, मैलो र घुम्रेको कपाल काँधदेखि तलसम्म झरेको थियो। शरीरमा मैलो न मैलो खरानी रंगको कपडा लागाएको थियो भने खुट्टा नाङ्गै थिए।
त्यो देखेर मनमा एकखालको भय जागृत भयो। त्यो अचल मानब आकृति जिउदो हो कि मुर्दा मैले खुट्याउनै सकिन। धेरै बेरसम्म हेरिरहे। ढुङ्गाबाट ओर्लेर बिस्तारै त्यो मान्छेको दायाँपट्टीबाट उसको अनुहार हेर्ने कोशिस गरे। ऊ मुर्ति हो कि मान्छे भन्ने भ्रम जाग्यो मनमा। भुइबाट सानो ढुङ्गा टिपेर ट्याप्प हाने। अहँ ! चलेन।
म त्यहाँबाट कुलेलम ठोके। अलि पर पुगेपछि सम्झे कतै त्यो लाइटहाउस किपर त हैन। तर किन मुर्ति जस्तो चुप छ? के त्यो जोन पल रेडमुलरको आत्मा त हैन?
म सरासर आगाडी बढ्दै गए। तलाउको एकापट्टीको भागमा सयौ डुङ्गाहरु पानीमाथि रोकेर राखेका थिए। सबैजसो डुङ्गाहरुमाथि सेतो कभर लगाइएको थियो। हेर्दा हेर्दै भूकम्पले घरहरु हल्लायजस्तै ति डुङ्गाहरु हल्लिन थाले। म त्यहि रोकियर कतै आफु उभिएको जमिन पनि हल्लिएको छ कि भनेर अनुभब गरे। हल्लेको थिएन।
म झन् दौडिन थाले। मेरो अगाडी केहि सुन्दर स्त्रीहरु देखिए। सुन्दर तर अनौठा। कम्मर देखि माथि परि जस्तै सुन्दर स्त्रीको सरिर तर कम्मर देखि तल माछाको पुच्छर जोडिएको।
लाइटहाउस, किपर र ति स्त्रीहरु। एक पछि अर्को गर्दै ति स्त्रीहरुले मेरो बाटो छेके। म डरले थुरथुर काम्दै जहाँको त्यहि टक्क अडिए। मेरो दायाँ पट्टि बिशाल लेक थियो भने बाँया पट्टि लेकको पानि जमेर बनेको मिनिलेक थियो। त्यहाँ दर्जनौ डुङ्गाहरु अनौठो किसिमले हल्लिरहेका थिए।
‘के चाहन्छौ तिमीहरु? को हौ तिमीहरु? "
‘हामीहरु यो पानीमा बस्ने तिमिहरुजस्तै मानब हौ। हामिलाई समुन्द्र धर्तिभन्दा धेरै सुन्दर लागेर धर्तीलाई छोडेर पानिमा बस्न थाल्यौ। यहाँ बस्दा बस्दै हाम्रो आधा शरीर माछाको जस्तै बन्यो। समुन्द्रिक राक्षसहरुले हामीहरुलाई धेरै दु:ख दिए। हामि अहिले यता न उताको भएर बसिरहेका छौ। ‘
" त्यसोभए तिमीहरु के चाहन्छौ ? किन मेरो बाटो रोकेर बसेका छौ ?
' शरीर र ठाउँ परिबर्तन गर्दैमा इच्छा चाहना मोर्दो रहेनछ। त्यसैले तिमीजस्तो सुन्दर युवकलाई एक्लै हिडेको देख्दा मनले मानेन। त्यसैले तिमीसंग सुटुक्क प्रेम गर्न आएका हौ। '
'अचम्म! अचम्म ! घोर अचम्म। तिमीहरु के चाहन्छौ म बाट? म तिमिहरुसंग प्रेम गर्न सक्दिन।
' गलत ! तिम्रो बुझाई नै गलत छ युबक। यहि गलत बुझाईले नै तिमि खुशी छैनौ। तिमि दुखि छौ। प्रेम सबैसंग गर्न सकिन्छ। जिबनमा प्रेम नै खुशीको मुहान हो। प्रेम नै मोक्षको द्वार हो।
उनिहरुको पछि पछी अलि बृद महिला आइन। सारै बृद, रोगि, जिर्ण अबस्थाकी ति आमाको कपाल सेतै फुलेको थियो। शरीरबाट माछाको गन्ध तिब्र गतिमा फैलिरहेको थियो।
पछि कुरा गर्दै जादा पो थाहा भयो तिनीहरु तिनै बुढीका नातिनीहरु रहेछन।
मेरो शरिमा काँडा निस्के। ' हैन बज्यै तिमि त गङ्गा नदीमा बस्थ्यौ। कहिले देखि यता सर्यौ?'
' कहिले भनौ बुढाले सम्पूर्ण ब्रह्माण्डको भ्रमण गराउछु भनेर हिडाले। धेरै ठाउमा संगै थियौ। अब के जाति रोग आएको छ मानब जातिमा। हामि पनि सचेत हुन पर्छ भन्दै एक्ला एक्लै हिड्दै थियौ। कहाँ छुटे छुटे। '
मलाइ झल्यास्स अघि लाइटहाउसमा देखेको बुढाको याद आयो। तिनै बाजे हुन् कि क्या हो? हैन के अचम्म हुदै छ।
' सुन बज्यै , यदि तिमीले मलाइ यी उरेन्ठेउला केटीहरुसंगबाट छुट्कारा दियौ भने मैले तिम्रो बुढा कहाँ छन् बताउने छु। '
उनले एकटकसंग मेरो अनुहारमा हेरिरहिन। तलाउमा हल्लिरहेका डुङ्गाहरु एकाएक गर्दै पानीभित्रै अलप भए। एक हुल सेता चराहरु उडेर लाइटहाउस तर्फ गए।
ति सुन्दर स्त्रीहरु त्यहि उभिईरहेका थिए। बुढिआमा अन्तत उनीहरु तर्फ फर्केर केहि इसारा गरिन। दुबैजना सुन्दरीहरु पुच्छर हल्लाउदै पानीभित्र छिरे।
त्यसपछि बजै मेरो पछि लागिन। मैले अघि देखेको लाइटहाउसको मान्छेसंग पुर्याइदिए। तिनि रहेछन परासर ऋषि।
‘हैन बजै तिम्रो बुढा सान्तनु कि परासर ?’
धत् पातकी बुढा, डुङ्गामै सुहागरात मनाएका थियौ द्वापर युगमा। कलियुगमा संसार घुमाउन हिडेछौ। तिम्रा साखा सन्तान जति कुरुक्षेत्रमा लढेर मोरे। कोहि स्वर्गको भर्याङ्ग चढे। कोहि भर्याङ्ग चढ्दा चढ्दै खसे र नर्कतीर पसे । कोहि यहि धर्तीमै बसे। हैन तिमीहरुले चाँही के पाप गरेका थियौ र यसरि भौताउनु परेको?
उनीहरुले मेरो कुरा सुनेनन्। एक्कासि एक अर्काको शरीरमा टाँसिन पुगे।
म त्यहाँबाट लुसुक्क निस्के र बगरै बगर पुर्बतिर लागे।
***
तलाउको छेउछाउमा गिज र मलार्ड जातका ठुला ठुला चराहरु भुइँ खोतल्दै थिए।
बाटोको देब्रेपट्टि अर्को मिनी लेक थियो। त्यसकै बीचमा एउटा पुरानो ढुङ्गा थियो। त्यो ढुङ्गामाथि एकजना बृद मान्छे बसेर ह्यामरले भत्कियका पुराना फलेकहरु ठोक्दै थियो। पातलो च्यातिएको एकसरो टिसर्ट लगाएको, सेतो भुवासितको टोपी लगाएको त्यो मान्छेको देब्रे खुट्टा थिएन। मलाई नजिक आउदै गरेको देखेर उसले सेतो नक्कली खुट्टा जोड्यो। मैले हाँत हल्लाएँ। उसले त्यो काठको डुङ्गाबाट सानो प्लास्टिकको डुङ्गा निकाल्यो र एकदम तिब्र रफ्तारमा किनारामा आयो।
"गुड मर्निङ्ग जेन्टलम्यान', मैले हात अगाडी बढाउदै भने।
ऊ केही नबोली मलाई तलदेखि माथि सम्म एकोहोरो हेरिरह्यो।
'ह्वाट इज योर नेम ?' मैले पुन सोधे।
'अहब, पिपुल कल मी क्याप्टेन अहब', उसले खिया लागेको दाँत देखाउदै भन्यो।
उसले यसो भन्दै गर्दा मेरो आँखा उसकॊ आँखासंग जुधे। अचम्म ! उसको आँखाको नानी भित्र ह्वेल माछा नाचिरहेको थियो।
'आई नो नाउ, यु आर अ डिक किलर। '
'नो डिक इज द किलर। '
'डीड द डिक किल्ड योर डिक। '
'यु आर फन्नी बोय। ' ह्वाई डीड यु कल मि ?'
'तिमीले तिम्रो खुट्टा खाने मोबी डिकलाई पक्कै मारेकै हौ त? कि गफ जोत्यौ ?'
'मार्न चै मैले नै हो मारेको। तर गफ चै त्यो हर्मन मेलविल्लेले देको हो।'
‘गफ जोसुकैले जोतेपनि भयो। मैले पनि त गफै जोत्या त हो।’
'अनि त्यो तिम्रो खुट्टा चै के को हो ?'
'यो पनि ह्वेलको हड्डीको हो। '
'तिम्रा दाँत पनि ह्वेल, आँखा पनि ह्वेल। तिमि मान्छे कि माछा? '
ऊ केहि बोलेन।
‘हैन तिमीलाई त ह्वेल माछाले चिउरा चपाए झैँ चपाएको थियो। तर कसरि यहाँ ?’
एकैछिनमा त्यहाँ अर्को अग्लो न अग्लो मान्छे आएर ठिङ्ग उभियो। शरीर भरि ट्याटु खोपेको मान्छे ट्याटुकै कपडा लगाएको जस्तो देखिन्थ्यो। टाउकोभरि पनी ट्याटु खोपेको। हेर्दै खर्लप्पै निल्ला जस्तो।
‘हामि सबैलाई आफ्नै घमण्डले मारेको हो। प्रतिसोधको आगोले भष्म पारेको हो। आफ्नै इगोले निलेको हो। मोविडिकले हैन। तैले पनि जिबनमा कहिल्यै प्रतिसोध, घमण्ड र इगो लिएर नहिडेस्’ , उसले राता राता आँखाले मतिर हेर्दै भन्यो।
डरले मन धुरुरु भयो। बुरुक्क उफ्रेर पछि फर्के। अनि टाँप कसे।
फेरी अर्को आपत आइलाग्यो। अलि पर बगरमा एउटो बुढो बुढो मान्छे लढी रहेको थियो। तर उसको आँखामा निभ्न लागेको अन्तिम पल्ट चम्के झैँ ज्योति प्रज्योलित भैरहेको थियो। चाउरिएका अनुहारमापनि खुसीका धर्सा प्रष्ट देखिन्थे। नजिकै ठुलो डुङ्गा थियो भने डुङ्गामाथि माछाको हड्डीमात्रै। निकै ठुलो माछा हुनुपर्छ भन्ने आँकलन गरे मैले।
'हैन यस्तो बिधि खुशी किन छ यो मोर्न नसक्या बुडो ? उता एउटाले डिक माछा मैले मारे भन्थ्यो। हैन मार्न चै यी बुढाले मारेकी क्या हो ?' मनमा खुल्दुली जाग्यो।
'यो के को हड्डी हो बाजे डुङ्गाभरी ?'
'मर्लिन। हाँ हाँ हाँ आई किल्ड हिम्।'
‘डीड यु किल हिम अर् द सार्क ?’
‘अफ् कोर्स आइ डीड। ‘
'आर यु सान्टियागो?'
‘एस आइ एम।’
'हैन बुढा ! तिमि चौरासी दिन समुन्द्रमा भोकै कसरि बाच्यौ ?'
'लक्ष अनि तिब्र इक्षा शक्ति। '
'हैन साचिकै यो तिमीले मारेकै हौ कि गफ जोतेयौ ?'
'मार्न चै मैले मारेको हो गफ चै हेमिङ्गवेले देको।'
'हेमिङ्गवेले त क्युबातिरको गफ जोतेका थिए। तिमि त लेक ओन्टारियो को किनारामा पो लढ़ीराछौ।
बुढाले फिस्स हाँस्दै मेरो गोडातिर हेर्यो।
मेरो गोडामा चिसो चिसो फिल भयो। छामी हेरे। चिप्लो चिप्लो बस्तु मेरो काखैमा आएर टाँसीसकेको थियो।
‘जलपरी ‘ म जोडले चिच्याए।
कोठा सुनसान थियो। बिहानको तिन बजिसकेको रहेछ। त्यो डरलाग्दो सपनाले मन अझै थर्थरी
काम्दै थियो।
सपनामा भेटेकाहरु एकपल्ट स्मरण गरे। मनमनै सोचे नयाँ बर्षको सुरुवाद राम्रै मान्छेहरुसंगको भेटबाट भयो।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home