कोरोना युद्धको कथा
धने दिनभरी खेतमा काम गर्न ब्यस्त थियो। खेतमा तरकारीहरू अटाई नअटाई जस्तै थियो। कतै घिरौलाहरु लटरम्म झुन्डिएका थिए भने कतै गोलभेडाहरु पाकेर रातमन्दल भएका थिए। तिते करेला, चिचिंन्डा, चिप्ले भिंन्डी, लौका, चटेला अगिल्लो बर्ष भन्दा असाध्यै राम्रो फलेको थियो। धने सबै तरकारीको बोट ओरिपरि गोडमेल गर्थ्यो। फर्सीका डल्लाहरुलाई मुसार्थ्यो र मनमनै भन्थ्यो," अब बन्द खुल्यो भने तुरुन्त बजारमा लैजान्छु र मनग्य पैसा कमाउछु।" उसले तरकारीको बोट ओरिपरि मोलजोल गर्यो। पानि हाल्यो। निधारबाट तर्तरी चुहिएका पसिना दाहिने हातको बाहुलाले पुछ्यो र खुइअ लामो सास फेर्यो। दिनभरीको काम पछि धनबहादुर घर फर्क्यो।
घरदेखि अलि माथिबाट घरको आगनमा केहि मान्छेहरु जम्मा भएको देख्यो। उसलाई मनमा खुल्दुली भयो। "किन मान्छेहरु आगनमा भेला भएका होलान् ? कतै नराम्रो घटना त घटेन ?" उसको मनमा अनेकन बिचारहरु आए। सायद अघि पछि भएको भए उसले यस्तो सोच्ने थिएन होला। तर कोरोनाले गर्दा मान्छेहरु जम्मा हुन छोडेका थिए। ऊ हतारिदै घर गयो। घरमा पुग्दा उसले आफ्ना छिमेकीहरु र छोराका साथिहरु बाहिर बसेको देख्यो। उनीहरुले दुइचार हातको दुरी कायमै राखेर बसेका थिए। सबैजसोले मुखमा मास्क पनि लगाएकै थिए। उसलाई देख्ने बितिकै सबैले जन्मदिनको शुभकामना दिए। ऊ तिन छक पर्यो। छोराहरु मनोज र विनयले उसलाई कपडा फेरेर बाहिर आउन भने। उसले पनि नयाँ कपडाहरु फेरेर बाहिर निस्कियो।धनेकी श्रीमती मालतीले टेबुलमाथि केक राखि र मैनबत्ती सल्काइ। धनेलाई हातमा चक्कु दिएर केक काट्न भन्यो छोरा विनयले। मनभित्र सयथरी कुरा खेले पनि उनीहरुले जसो जसो भने उसै उसै गर्यो धनेले। सबै जनाले मास्क खोलेर केक खाए।
गाउँमा जन्मोत्सब मनाउने चलन चलेको धेरै भएको थिएन। केटाकेटीको रमाइलोको लागि गाँउघरका धेरै जसोले जन्मदिन मनाउन थालेका थिए। छोराछोरीले पनि बाबुआमाको जन्मदिन फाट्टफुट्ट मनाउने चलन चलेको थियो। यस्तो प्रचलन अलि हुनेखानेहरुले बढी चलाएका थिए। धनेको परिवार हुनेखाने बर्गमा नपरेपनि छोरा मनोजले भर्खरै स्कुलमा जागिर गर्न थालेको थियो। रातदिन दुख गरेर आफुहरुलाई पढाएको बुवालाई ऊ हमेशा खुशी देख्न चाहन्थ्यो। त्यसैले पनि उसले बाबुको जन्मोत्सवको कार्यक्रम राखेको थियो।
"यो उमेरमा आएर 'जन्मोत्सव मनायौ दाइँ। तिमि त भाग्यमानि रैचौ", सुनन्दले मिठो मुखले केक खादै भने। सबैजनाले खाना खाए बाहिरै बसेर। खान खाईसकेपछि उनीहरु छिट्टै घर घर फर्के। तर मनोज र बिनयका साथिहरु अलिबेर सम्म रमाइलो गर्दै बसे। उनीहरु चार पाँच जनाजति थिए। सबै मनोजको कोठामा बसेका थिए। छोराका साथीहरु यसरी एकै ठाँउमा बसेको धनेलाई चित्त बुझेन। उसले कोरोनाको महामारी चलेको बेलामा यसरी घुलमिल भएर बस्न हुदैन भनेर छोराहरुलाई घरि घरि सम्झाएपछि मात्र उनीहरु घर घर गएका थिए।
अर्को दिन धने बिहानै बारीमा गयो। थाक्रोमा झुन्डिएका काक्रा, घिरौला र लौकाहरु छिप्पिदै गएका थिए। यस्तो देखेर सबै तरकारीहरू बजारमा लगेर बेच्ने निधो गर्यो। सबैभन्दा नजिकको बजार अर्को गाँउ बिकास समितीमा पर्दथ्यो। लक्डाउनले गर्दा मान्छेहरुलाइ एउटा टोल बाट अर्को टोल सम्म जान समेत निशेध गरिएको थियो। उसले नियम तोडेरै भएपनि तरकारी पारिको बजारमा लैजाने निधो गर्यो। गाँउमा रणबहादुरले ट्रयाक्टर किनेका थिए। धनेले उनैलाई फोन गरेर ट्रयाक्टर बुक गर्यो। तरकारी टिपेर बोरा बोरामा हाल्यो। सबै तरकारीहरू अलक अलक बोराहरूमा भएकोले गर्दा जम्मा जम्मी बाह्रवटा जति बोरा भए। फर्सी जम्मा जम्मी चार डोका जति बनायो।
भोलिपल्ट बिहानै ट्रयाक्टर उसको बारी नजिकैको बाटोमा रोकियो। धनेका बुढा बुढीले सबै बोराहरू ट्रयाक्टरमा हाले। रणबहादुरले ले पनि सक्दो सहयोग गर्यो।त्यसपछि उसले ट्रयाक्टर हिडाल्यो। धने तरकारीका बोराहरू संगै पछाडी बस्यो।उनीहरु बाटो लागेपछी मालती घर फर्की।
"यो तरकारी सबै बिक्यो भने बिउ र औषधि ल्याएको ऋण तिर्छु। आउदो दशैँलाई एउटा खसी किन्छु। छोराहरुलाई एक एक जोर नयाँ कपडा हाल्दिन्छु। बुढीलाई एउटा सुइटर किन्दिनु पर्ला। अर्को खेपको बेचेर कान्छो छोरालाई गितार किनिदिनु पर्ला", उसले मनमनै सोच्यो। लगातारको झरीले गर्दा बाटोमा खाल्टाखुल्टीहरु धेरै थिए। बाटो कतै पहिरोले पुरेको थियो भने कतै बगाएको। कैयौ पल्ट ऊ आफैले ढुंगा सारेर बाटो बनायो। कतिपल्ट आफै झन्डै ट्रयाक्टरबाट खसेन। धेरै सास्ती खेपेर उनीहरु कालिगण्डकीको पुल तरेर निउरे बजारमा प्रवेशमात्र गर्न खोज्दैथिए दुइजना मान्छेहरु अगाडी उभिएर ट्रयाक्टर रोक्न आदेश दिए। रणबहादुरले ट्रयाक्टर रोक्यो। धने पनि तल ओर्लियो।
"लकडाउन छ भन्ने कुरा थाहा थिएन तिमीहरुलाई?" एउटाले मास्क दुइ औलाले च्यापेर माथि सार्दै भन्यो।
"थाहा त थियो, तर हामि किशानहरुले उब्जाएको तरकारी बजार सम्म लैजान पनि नपाउने ?" धनेले बिनम्र स्वरमा सोध्यो।
"कोरोनाको माहामारी फैलेको छ। तिमीहरुले हाम्रो टोलमा सार्न सक्छौ," अर्को भलाद्मी जस्तो देखिने ब्याक्तिले भन्यो। ऊ त्यहाँको ओडा अध्यक्ष थियो भन्ने कुरा धनेले पछि थाहापाएको थियो ।
" बारीबाट भर्खरै टिपेर ल्याएको तरकारीबाट कसरि रोग सर्न सक्छ। तपाइहरु कस्तो बेबकुफ कुरा गर्नुहुन्छ", रणबहादुरले झोक्किदै भने।
"चर्को स्वरले कुरा नगर। संसारभरि लक्डाउन छ। तिमीहरुले समाचार सुनेको छ कि छैन। ट्रयाक्टर फर्काईहाल । नत्र सबै तरकारी खोलामा बगाइदिन्छौ, अधबैसेले देब्रे हातले मास्क निकालेर धनबहादुरलाई धकेल्दै भन्यो।
"भारतबाट रातारात भित्रिने तरकारीले रोग नसार्ने। गाँउबाट ल्याउने तरकारीले कसरि तिमीहरुलाई रोग सार्छ हँ। तिमीहरुलाई खान पर्दैन," धनेले पनि अधबैसेलाई घचेट्दै भने।
एकैछिनमा हात हालाहालको स्थिति आयो। केहीबेरमै दुइजना पुलिस हातमा लठ्ठी हल्लाउदै त्यहाँ आइपुगे। अन्य केहि युवाहरु पनि दगुर्दै त्यहि आए। उनीहरुमध्य धेरैले मास्क लगाएका थिएनन।
वडाध्यक्षले पुलिशसंग रिपोर्टिंग गर्यो। उनीहरु कुरा गर्दा गर्दै कर्ने ट्रयाक्टरमा चढेर सबैलाई बाटो छोड्न भन्यो। जोड संग हर्न थिच्यो। यतिकैमा भ्यात्त भुडी उछिट्टिएको पुलिशले घाँटी तानेर ट्रयाक्टको पछाडी हेर्यो र अगाडी आएर माथि चढ्यो र कर्णबहदुरसंगबाट ट्रयाक्टरको साँचो खोस्यो।
दुइजना केटाहरु पछाडिबाट ट्रयाक्टरमाथि चढे र तरकारीको बोराहरू एक एक गर्दै बाटोमा फाले। धनबहादुर घोप्टो परेर बाटोमा असरल्ल परेका तरकारीहरू मुसार्न लाग्यो। त्यसैबेला दुइतिन जना अरु केटाहरु पनि थपिए। सबैले ति बोराहरू घिसार्दै पुलको छेउ सम्म पुर्याए। घिसार्दै गर्दा लौका, घिरौला, फर्सी र गोलभेडा बाटोभरी छरिए। धनेको छाती चिरियो। सबै मिलेर एक एक गर्दै तरकारीका बोराहरू खोलातिर घिसारे। फर्सीहरु पानीसम्म बुर्लुंग बुर्लुंग गर्दै पुगे। गोलभेडा बाटोभरी छरिए। आफ्नै छोराछोरीलाई झैँ माया गरेर, रात दिन मलजल गरेर हुर्काएका तरकारी फोहोर फाल्ने ठाँउबाट झर्दै गरेको देख्दा उसले आँशु थाम्न सकेन। बाटोमा देख्दै आएका सपनाहरु आफ्नै आँखा अघि कालिगण्डकीमा हाम फाल्दै थिए। त्यहाँ जम्मा भएका मान्छेहरुको अनुहारमा कतै पनि दयाभाव देखेन उसले। हिंस्रक जन्तुहरुको भिड जस्तै लाग्यो उसलाई त्यहाँ जम्मा भएका मान्छेहरु।
कर्णबहादुर आएर धनेलाई भुइबाट उठाउदै भन्यो "कलियुगमा धर्म नासियो दाई। यो सबै बिनासको संकेत हो। यहाँ रोएर केहि हुदैन। घर फर्कौ। 'आँटी छोरालाई बाघले खादैन' भन्छन बुढापाका। यस्ता तरकारी फेरी पनि फ़लाउछौ। यिनीहरुसंग हामीले झगडा गरेर जित्दैनौ। यिनीहरु पापी हुन्। तरकारी यसरि फाल्नु भन्दा बस्तुभाउलाई खान दिएको भएपनि धर्म हुन्थ्यो। सडकमा मान्छे भोक भोकै मोरिरहेका छन्। जनताको सेवा गर्छौ भन्ने जनप्रतिनिधिहरु बुद्दिमा गोबर भरिएको छ। यिनीहरुलाई यिनै तरकारीले सराप्छ दाई। हिड जाम घर। "
धनेले बाटोमा छरिएका दुइ चारओटा घिरौला र तितिकरेला जम्मा गर्यो र ट्रयाक्टर भित्र फाल्यो। दुबैजना अगाडिको सिटमा गएर बसे। कर्णबहादुरले ट्रयाक्टर स्टार्ट गर्यो र फनक्क घुमायो। बाटोभरी दुबैजना मौन रहे। ट्रयाक्टरको घन्द्र्याङ्ग घुन्द्रुङ्ग आवाजमात्र आइरह्यो धेरैबेरसम्म। एक आपशमा कुरा गर्न जागर पनि चलेन। लक्डाउनले गर्दा बाटोमा गाडीहरु गुडेका थिएनन्। बेलुका झमक्क साँझ पर्ने बेलामा उनीहरु गाँउ पुगे।बाटो सुनसान थियो। यसै पनि कोरोनाले गर्दा मान्छेहरु घरबाहिर निस्कन छोडेका थिए।
"ल दाई पछि तरकारी बेच्न पायौ भने तिरौला भाडा, अहिले दिनु पर्दैन। भोलि फेरी फोनमा कुरा गरौला। राम्रो संग घरमा जाऊ", धनेले स्कुलको अगाडी ट्रयाक्टर रोक्दै भन्यो। स्कुलदेखि घरसम्म जाने बाटो भिरालो र चिप्लो थियो। धनेले दुवै चप्पल हातमा समाएर छेउ छाउको घाँस समाउदै बल्ल बल्ल घरमा पुग्यो। छोराहरु सुतिसकेका थिए। मालती बुढाको बाटो हेरेर बसकी थिई।
बुढाकोको निन्याउरो अनुहार देखेर उसले भनि," के भयो र फेरी निधार खुम्चायका छौ?"
धने केहि नबोली सरासर पानीको धारामा गयो। खरानीले मिचिमिची हात धोयो। खुट्टा पखाल्यो। कपडाहरु खोलेर बाहिरै राख्यो। मालातिले भित्रबाट फेर्ने कपडा ल्याइदीई। उसले कपडा फेरेर भित्र पस्यो। मालतीले चिसो भैसकेको ढिडो तताई र खान दीई।
"तरकारी सबै बिक्रि भयो त ? बिनयले यो दशैमा नयाँ कपडा बरु चाइदैन, जसरि भएपनि गितार किन्छु भनेर हैरान पारेको छ। दशैँ पनि मुखैमा आइसक्यो," मालतीले सोधी।
धनेले देब्रे हातले अम्खारा उचाल्यो र घट घट पानि पियो। ढिडो डल्लो पार्यो, बटुकामा राखेको फाँडोमा चोब्यो र मुखमा हाल्यो। हरियो खुर्सानी कडक्क टोक्यो। ऊ केहि बोलेन।
मनमा पिर परेको बेला धने प्राय मौन बस्थ्यो। मालातिले पनि कुनै कुराले धनेलाई चोट पुर्याएको छ भन्ने बुझी र धेरै कुरा सोध्न छाडी। खानपिन पछि दुबैजना बिस्तारामा गए। सुत्नुभन्दा अगाडी धनेले दिनभरिको घटनाको बारेमा मालतीलाई सबै बतायो।
"नियम कानुन नभएको देशाँ जल्ले जे गरे पनि हुन्छ। 'भताभुङ्ग देशको लथालिङ्ग चाला।' नेताहरुले राज्यको ढुकुटीबाट ब्रह्मलुट गर्न हुने। राज्यको सम्पति तोडफोड गर्न हुने, हामि गरिबले आफ्नो बारीको तरकारी बेच्न सम्म नपाउने। यो कस्तो कानुन हो," मलतीले बुढाको टाउकोको रौ मुसार्दै भनी।
धेरैबेर सम्म बुढाबुढी गन्थनमन्थन गरे। भोलि बिहानै धने उठेर बारीमा गयो। सधै झैँ तरकारीको स्याहार सुसार गर्यो। आखाँअगाडी अगिल्लो दिनको घटना झल्झली नाचिरहेको थियो। एकैछिनमा कहिलै थकाई नलाग्ने धन बहादुरका हातखुट्टा फताक फुतुक गले। निधारबाट चिट चिट पसिना आयो । उ बारीको छेउमा दुदिलाको रुखमुन्तिर गएर थचक्क भुइमा बस्यो। केहीबेरमा मालाति खाना बोकेर बारीमा आई। धनेलाई खाना खान मन लागेन। मालतीको करले गर्दा दुइ गाँस मुखमा हाल्यो। मालातिले एकछिन बारीमा गोडमेल गरि र दिउसै घर फर्के उनीहरु।
धनेले साँझको खाना खाएन। उसको शरीरको तापक्रम बढ्दै गएको थियो। एक कप तातो पानि मात्र पियर ओक्षानमा गयो। रातभर निन्द्रा पनि राम्रोसंग लागेन। बिहानपख हल्का खोकी लाग्न सुरु भयो। छाती भारि भयो। उसको मनमा चिसो पस्यो। "कतै कोरोना त लागेन मलाई ", मनमनै सोच्यो। धनेलाई कोरोनाको संका लागेमा या कोरोनाका लक्षणहरु देखापरेमा के गर्ने भन्ने बारेमा राम्रोसंग थाहा थियो। रातदिन रेडियोबाट यसका लक्षणहरुको बारेमा प्रशारण हुन्थ्यो। उसले मालतीलाई बोलाएर भन्यो,
" मलाई हल्का ज्वरो आएको छ। मन्द मन्द खोकी पनि छ। स्वास छातीमै रोकियजस्तो हुन्छ। समय पनि ठिक छैन। तिमीहरु मेरो कोठामा नआउ। छोराहरुलाई पनि भन्देउ। मलाई तातो पानि तताएर ढोकामै राखिदेउ। आत्तिन पर्दैन। सन्चो हुन्छ। "
मालतीका खुट्टा थरथरी काँपे। आँखाको कोछ कोछ्बाट आँशु रसायो। ऊ अवाक भई। त्यति नै बेला छोरा मनोज आइपुग्यो। धनेले छोरालाई सम्झायो। उसले सबैलाई घरबाट बाहिर ननिस्कन पनि भन्यो। बमनले धनेलाई जसरि भएपनि कोरोनाको परिक्षण गराउन जानु पर्छ भनेर सम्झायो। उनीहरुले कहाँ गएर परिक्षण गराउने भन्ने बारेमा एकछिन छलफल गरे । गाउँमा भएको एउटा स्वाथ्यचौकी महामारीको शुरुमै बन्द भएको थियो। माझटारमा घुम्ती टोलि बसेको छ भन्ने सुनेका थिए उनीहरुले। तर पक्का थाहा भने थिएन। गाडीवालाहरुले कोरोनाको लक्षण भएका मान्छेहरुलाई बोक्न पनि मान्दैनथे। उनीहरु के गर्ने के नगर्ने अलमलमा परे।
धनबहादुरको मनमा अनेक बिचारहरु आउन थाले। "कोरोना लागेको थाहा भयो भने गाँउलेहरुले के भन्लान? आँ! यस्तो ज्वरो र खोकी त पहिले पनि लाग्थ्यो। बेसार पानी खाएर ठिक भैहाल्थ्यो। धेरै भएमा सिटामोल सम्म खानुपर्थ्यो। अहिले त मान्छे अनुसारका कुरा छन्। ठुल्ठुला देशमा लाखौ मान्छे मोरे भन्छन। कसैले यो सबै झूटो हो। चाइनाले आफ्नो सामान बेच्न फैलाएको भ्रम हो पनि भन्छन। खै कसका कुरा पत्याउने। भिरमुनिको मुखिया मोर्दा मलामी जाने मान्छे भएनन् रे। पहिले पहिले मुखिया जस्तो मान्छे मोर्दा सात गाँउका मान्छेहरु मलामी जान्थे। घाँटमा खुट्टो राख्ने ठाँउ हुदैनथ्यो। अहिले लाश उठाउने मान्छे हुदैनन्। अस्पतालमा मोरेको बिरामीको त आफन्तले लाश सम्म बुझ्न पाउदैनन रे। 'ऋण लागे नडराउनु, दिन लागे डराउनु भन्छन'। खै दिन लागेकै हो कि ? " धने बिस्तारै उठेर ओक्षानमै बस्यो।
मालतिले बेसार पानि पकाएर ढोकामा राखीदिई। एकछिन टाडैबाट बुढाको अनुहारमा हेरी। बोल्नुभन्दा छिटो उसको आँखाबाट आँशु फाल हाल्थ्यो। मजेत्रोको सप्कोले आँशु पुछी र भान्छा कोठातिर लागि। धनेले बेसारपानि पियो। मनमनै भगवानसँग प्राथना गर्यो "हे भगवान मलाई छिट्टै निको गराइदेउ।" उसको मनमा सिनेमाको दृश्य झैँ अनेकल कुराहरु आइरहे। खोकी लगातार बढ्न लाग्यो। उसले चुलोमा पकाउदै गरेको खानेकुराको गन्ध थाहा पाउन छोड्यो। मालतिले लोकल कुखुराको सुप बनाएर दिई। उसले कुनै स्वाद थाहा पाएन। कोरोनाको बिरामीले कुनै कुराको पनि स्वाद र गन्ध थाहा पाउदैनन भन्ने सुनेको थियो। उसको मनमा झन् ठुलो डर बस्यो। तर उसले मालतीलाई केहि भनेन।
दुइ तिन दिन पछि धने बिरामी भएको कुरा गाँउमा आगो सल्के झैँ सल्क्केछ। धनेको जन्मदिन मनाउन आएका छिमेकीहरु डरले पानी पानी भए। कतिपयले माझटारसम्म पुगेर सुटुक्क स्वाब परिक्षण गरायछन्। सबैको नतिजा नेगेटिभ निस्केछ। कुनचाहीले हो धनेको घर जाने बाटोको मुखैमा 'कोरोनाको बिरामीको घर' भन्ने पोस्टर बनाएर रुखमा टाँसेछ । कर्णबहादुरले बाटोमा हिड्दै गर्दा पोस्टर देख्यो। धनेलाई फोन लगायो। धनेले आफुलाई ज्वरो आएको, मन्दमन्द खोकी लागेको र स्वास फेर्न गाह्रो भएको कुरा उसलाई सुनायो। कर्णबहादुरले पोस्टर च्यात्यो। तर उसले धनेलाई यसको बारेमा केहि पनि भनेन। निउरे बजारमा ऊ पनि धनेसंगे गएको थियो। त्यहीबाट कोरोना सरेको हो कि भन्ने शंका लाग्यो उसलाई। निउरे बजारका चारजना प्रहर्री र केहि समाजका अगुवाहरुमा कोरोना पुष्टि भएको समाचार सुनेको थियो उसले। ति मध्य एकजनाको त मृतु समेत भएको समाचार आएको थियो।
कर्णबहादुर सरासर धनेको घरमा गयो। आगनको डिलमा दश मिटर जति टाढा नै बस्यो। उसले धनबहादुरका छोराहरु मनोज र बिनयलाई बोलाएर कसरि हुन्छ धनेलाई कोरोना अस्पताल सम्म पुर्याउने सल्लाह गर्यो। उनीहरुले एम्बुलेन्सलाई फोन गरे। तर कुनै पनि एम्बुलेन्सले फोन उठाएनन्। त्यहि राति नै धनेलाई ट्रयाक्टरमा राखेर पाल्पा तानसेनमा भएको कोरोना अस्पताल पुर्याउने सल्लाह भयो। छोरा मनोज पनि संगै जाने भयो।
भोलिपल्ट दिउसो बाह्र बजेतिर मात्र उनीहरु पाल्पाको कोरोना अस्पतालमा पुगे। धनेको पी सी आर परिक्षण गरियो। पी सी आर को नतिजा पोजेटिभ आयो। उसको अबस्था गम्भीर भएकोले तुरुन्त अस्पतालमा भर्ना गरियो। कर्णबहादुर र मनोजको पनि खकार परिक्षणबाट कोरोना पोजिटिभ आयो। उनीहरुको रगत लियर तुरुन्त पी सी आर परिक्षणमा पठाइयो। त्यतिन्जेलसम्म उनीहरुलाई अस्पतालको एकान्त कक्षामा राखियो। पी सी आरको रिपोर्टबाट उनीहरुलाई पनि कोरोना भएको पुष्टि भयो। तर लक्षणहरु नदेखिएको हुनाले उनीहरुलाई पन्द्र दिनसम्म एकान्तबासमा बस्न भनेर पठाइयो। उनीहरु पाल्पामा सफल नेपाल नामक संथाले ब्यबस्थापन गरेको 'आइसोलेशन होम 'अर्थात् एकान्तगृयमा बसे।
उता धनेलाई अक्सिजनको आबश्यक पर्ने भयो। ज्वरो बढेर १०४ डिग्री भन्दा माथि गयो। स्वास फेर्न गाह्रो भयो। अस्पतालका भेन्टिलेटरहरु सबै कोरोनाका बिरामीहरुले भरिएका थिए। प्राइभेट अस्पतालहरुले कोरोनाका बिरामीहरु भर्ना लिएका थिएनन्। उता मनोज र कर्णबहादुरलाई एकान्तबासबाट बाहिर निस्कन दिएको थिएन। उनीहरु पनि के गर्ने के नगर्ने अन्योलमा परे। दुइ दिनसम्म अत्यन्त पिडामा छट्पटाई रह्यो धनबहादुर। तेश्रो दिन एकजना बिरामीको मृतु भएपछी एउटा भेन्टिलेटर खाली भयो। त्यसैमा धनेलाई राखे डाक्टरहरुले।
अस्पतालमा बिरामीहरु बत्तीका पुतली झैँ फत्र्याक फत्र्याक मोरिरहेका थिए। ति लाशहरुलाई भित्रैबाट शबबहानमा राखेर अन्त कतै लगेर साबधानीपुर्बक गाडिन्थ्यो। मृतकका आफन्तहरुले बिरामिको न त मुख देख्न पाउथे न सतगत गर्न।अस्पताल बाहिरको चौरमा आफन्तहरुको दिनरात रुवाबासी हुन्थ्यो। अस्पतालका शैयाहरुमा बिरामीहरुको कारुणिक दृश्य देखिन्थ्यो। डाक्टरहरु, नर्सहरु सबै हतास मनस्थितिमा थिए।
धने अस्पताल भर्ना भएदेखि मालातिले उसंग कुरा गर्न पनि पाएकी थिइन। धनेको कोरोनाले मृतु भयो भन्ने गाइगुइ हल्ला पनि चल्न थालेको थियो गाँउमा। कसैले धनेका बाउ छोरा नै अस्पतालमा छन् भन्थे। कर्णबहादुरको परिवारमा पनि डर फैलिएको थियो। उनीहरुले दिन दिनै फोन गरेर आफु सन्चै भएको बताउदै आएका थिए। तर पनि मान्छेहरुका अनेक थरिका हल्लाले गर्दा परिबारका मान्छेहरु आत्तिएका थिए।
पन्द्र दिनको एकान्तबास पछि मनोज र कर्णबहादुर धनेलाई भेट्नको लागि अस्पतालमा पुगे। तर उनीहरुलाई गेटबाटै फिर्ता पठाइयो। अस्पतालमा फोन गर्दा रिसेप्सनमा एउटी केटीले फोन उठाउथी। तर उसले 'म फाइल हेरेर फोन गर्छु भनेर फोन काट्थी तर पछि फोन गर्दिनथी। त्यसले उनीहरुको मनमा चिसो पस्यो। अस्पतालकोआँगनमा दुई दिनसम्म भोकभोकै कुरेर बसे। होटलहरु सबै बन्द थिए। पानी मागेर खाने ठाँऊ सम्म थिएन वरिपरि। उनीहरुले आँश मारिसकेका थिए। तरपनि घरबाट फोन आउदा भने धनेलाई सुधार हुदै छ' भन्थे।
कर्णबहादुर र मनोजले तीनदिनसम्म कहिले सडकमा, कहिले चौरमा बसेर बिताए। तेश्रो दिन मनोज गेटमा बसेको सेक्युरिटी गार्डसंग झगडा गरेर अस्पताल भित्र गयो। काउन्टरमा गएर बिरामी बाबुको बारेमा सोध्यो। त्यहाको कर्मचारीसंग कुरा हुदै गर्दा एकैछिन पछि एकजना डाक्टर उनको अगाडी आए।
"तपाइँ धनबहादुरको छोरा हो ?"
"हो। मैले नै उहाँलाई भर्ना गरेको हुँ", मनोजले आत्तियको स्वरमा भन्यो।
डाक्टरले नर्ससंग रिपोर्ट मगायो। धेरैबेरसम्म रिपोर्ट हेर्यो। बमनको मुख सुक्यो। हातखुट्टा थरथरी काँपे। धेरैबेरमा बल्ल डाक्टरको आँखा चम्केजस्तो देख्यो उसले।
"ल तपाईलाई बधाई छ। धनबहादुरले एउटा ठुलो युद्ध जित्नुभएको छ। उहाको अन्तिम रिपोर्ट आइसकेको छ। उहाको रिपोर्ट नेगेटिभ देखिएको छ। भोलि उहाँको भोलि डिस्चार्ज छ। बाह्र बजे आउनुहोला', डाक्टरले भन्यो।
मनोज एक्कासी बुरुक्क उफ्रियो। दगुर्दै गेट बाहिर गयो। कर्णबहादुरलाई खुशीको कुरा सुनायो। घरमा आमालाई फोन गर्यो। मालती आत्तिएर आधा बाटो आइसकेकी रैछ। कम्ता खुसि भईन ऊ। बेलुका दश बजे हिडेरै तानसेन पुगीछ।
अर्को दिन कर्णबहादुर, मालती र धने बाह्र नबज्दै अस्पताल बाहिर पुगे। ठिक बाह्र बजे अस्पतालका कर्मचारीहरु, डाक्टरहरु , नर्सहरु ले तालि बजाउदै धनबहादुरलाई बाहिर निकाले। ज्यान सुकेर हाडछाला मात्रै भएपनि उसको अनुहारमा बेग्लै चमक थियो।
"तपाइहरु सबैलाई बधाई छ। उपचारको खर्च सबै सरकारले बेहोर्छ। उहाँले एउटा कठिन लडाई जित्नुभएको छ। अब उहाँको आयु सय बर्ष पुग्यो", एउटी महिला डाक्टरले खादा ओडाउदै भनिन। धनबहादुरको आखाँ रसाए। कर्णबहादुर अलमल परेजस्तो गरेर पछि फर्के। मालती भक्कानिदै धनबहादुरको अंगालोमा बेरीन पुगी।
बाटोमा निस्केर सबैजना ट्रयाक्टरको पछाडी बसे।कर्णबहादुरले थरररर गर्दै इन्जिन स्टार्ट गर्यो। धेरै बेरसम्म ट्रयाक्टरको धद्र्याङ्ग धुद्रुङ्ग आवाज मात्र आइरह्यो।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home