भाइरल
ऊ झरीले निथ्रुक्क भिज्छ
सडकको पेटीमा रातभर
आफ्नी सानुको प्रेमालिङ्गनमा
भोको पेट र अभागी टाउको
थिच्दै र ठोक्दै
सज्जन महाजनहरुको
महाबाणी सुन्दै
म सुटुक्क छिर्छु
उसको परिधिभित्र
हरियो घाँसको बिटो देखाउदै
निसंकोच
र लिन्छु छायाचित्र
नानाथरि प्रश्नहरु तेर्साउदै
अनि ऊ भाइरल हुन्छ
म दाम र नाम कमाउछु।
उनको अस्मिता लुटिन्छ दिनदहाडै
खुल्ला आकाशमुनि
लुट्ने लुक्छ निर्भय जहाकही
लुक्दिनन उनि
लुक्दैन उनको आँशु
न लुक्छ उनको भय
ब्यकुलित हुदै नर्कस्थानमा
म समाचार बनाउछु
आलो घाउमा प्रश्न चिन्हले ठुन्ग्दै
न्यायको चारो थापेर
उनि भाइरल हुन्छिन
म नाम र दाम कमाउछु।
बर्षौ देखि सडकमा लडिरहेको वियोगी
राता रात भाइरल भैदिन्छ
महिनौ देखि गाँउ गाँउ माग्दै हिड्ने मगन्ते
क्षणभरमै बैज्ञानिक ठहरिन्छ
कोहि च च च गरेर चर्चित हुन्छन
कोहि चटकन खाएर
कोहि धेरै बोलेर
कोहि बोल्न नजानेर
उनीहरु भाइरल भैरहन्छन
म दाम र नाम कमाइरहने छु
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home