Saturday, July 25, 2020

टुडिखेल देखि ब्लफ्फर पार्क सम्मको साइकलको कथा


पहिलोपल्ट साइकल छुँदा म सोह्र बर्षको थिएँ। पाल्पाको तानसेनमा आइए दोश्रो बर्षमा पढ्दै गर्दा टुडिखेलमा यो मौका मिलेको हो। शिरमा श्रीनगर र पाउमा माँडीफाँट लमतन्न सुतेको तानसेन बजार अत्यन्तै सुन्दर नगरी हो। त्यसको छाती हो टुडिखेल।

तानसेन बहुमुखी क्याम्पस पढ्ने धेरैजसो बिधार्थीहरु  जहाँसुकै बसेपनि दिनको एकपल्ट टुँडिखेल पुग्थ्यौ । छहरा,  खानिछापका सुन्तला र छिमेकी रास्ट्रको  मुंगफली  किनेर बस्थ्यौ चौरमा  घाँम ताप्न। आहा!कति रापिलो हुन्थ्यो पुष माघतिरको  घाँम। 

बिहानको समयमा टुँडिखेलबाट माडीफाँट पटास सेतो कपासले भरिएको मैदान जस्तो देखिन्थ्यो। बिदेशी पर्यटकहरु यसलाई ह्वाइट लेक नामकरण गरेका थिए। टुँडिखेलको पल्लो छेउमा नेपाल सेनाका जवानहरु परेड खेल्थे। राता र गुलाबी रंगका सुट लगाएका केटीहरु लजाउदै टुँडिखेलको छेउछाउबाट हिड्थे। कोही साइकलबाट लडेको  देख्नासाथ  खितितिति  हाँस्थे उनीहरु। 

टुँडिखेलको छेवैमा एउटा साइकल भाडामा दिने पसल थियो। मैलेपनि  एकदिन दिउसो एक घन्टाको पाँच रुपियाँ  तिरेर साइकल भाडामा लिए। टुँडिखेलमा लड्दै र पड्दै आधा घन्टामा अलिअलि हेन्डिल अडाएर गुडाउन सक्ने भएको थिए त्यो दिन।  कम्ता खुसी भएको थिइन म। एक घण्टा जतिमा भुइमा खुट्टो नटेकी गुडाउन सिके। 

भोलिपल्ट अर्को एकजना साथि  र म  मिलेर एक घन्टाको लागि साइकल भाडामा लियौ। त्यो दिन पहिलोपल्ट  टुँडिखेलको फेरो मारेको थिए मैले। त्यसपश्चात पक्कि बाटोमा गुडाउने आँट बढ्यो। त्यसैदिन  साइकल बत्ताउदै टुडिखेल मार्गमा छिराएँ । एक्कासी जोडसंग हर्न बज्यो पछिल्तिर । म्याल्धारातिरबाट  टिपर धुलो उडाउदै नजिकै आएको रैछ। पछि फर्केर  हेर्दा साइकलको ब्यालेन्स गुमाएँ । साइकलसंगै म पनि बाटोको छेउमा पल्टिएँ। भुइँबाट उठ्न नभ्याउदै  चटकेलाई झैँ मान्छेहरुले घेरिसकेका थिए। घुँडामा सेतै हड्डी देखिनेगरी  ठोक्किएको थियो। दुखाइ भन्दा धेरै लाज लाग्यो त्यसबेला। 

त्यो दिन पश्चात करिब चार वर्षसम्म साइकल छुने मौका मिलेन। केहिबर्ष पछि बि ए पढ्नको लागि बुटवल झरे। कलेजमा धेरैजसो केटाकेटीहरु साइकलमै आउथे। म गोलपार्क नजिकै बस्ने हुनाले क्याम्पस जान आउन नजिक पर्दथ्यो। तर साइकलको रहर भने जीउकातिउ थियो। अलिअलि पैसोको जोहो गरेर हिरो साइकल किने। त्यतिबेला लेडिज र जेन्स साइकल भन्ने नै थाहा थिएन। मेरो साइकल परेछ लेडिज। अर्को दिन रमेशले भनेर मात्र थाहा पाए। तर म मात्रै थिइन लेडिज साइकल चड्ने ,अरु पनि थुप्रै थिए। त्यसैले पनि चित्त बुझाए।  त्यो साइकल मैले झन्डै दुइ वर्ष जति चलाए। त्यो साइकल चढेर म फर्साटिकट, मणिग्राम,सालझन्डी, भैरहवा, लुम्बिनी र सुनौली सम्म आइजाइ  गर्थे बेला मौकामा। कैयौ पल्ट 'बाल बाल बचगया' को हिरोइक पात्र बनेको छु। 
 
भारतको नौतनवामा  साइकल बुटवलमा भन्दा  धेरै सस्तोमा पाइन्थ्यो। साथी भिम र  म त्यहाँ पुग्यौ  साइकल किन्नकोलागि।  एकएकवटा साइकल किन्यौ 'मुन्नीको साइकल' पसलबाट । पसलेलाई ग्रिस दल्न लगाएर साइकल पुरानो जस्तै  बनायौ। एक एक किलो काउली किनेर कालो प्लास्टिकको झोलामा राखी हेन्डलमा झुन्ड्यायौ। नयाँ साइकल देख्यो भने भन्सारको पुलिसले समात्ने डर हुन्थ्यो। त्यो दिन डरै डरमा नौतनवा   देखि चलाएको साइकल कतै नरोकी मणिग्राम पुगेर बल्ल रोक्यौ। पसीनाले निथ्रुक्क भिजेको थियो जिउँ। कपडा निचोरेको भए  सायद एक लिटर जति पसीना झर्थ्यो होला। तरपनि भन्सार छलेर साइकल लैजादा ठुलै प्रप्ति भएजस्तो लाग्थ्यो त्यो बेला । 

तिन बर्ष पछि झोला बोकेर बल्खुबाट किर्तिपुरको उकालो चढियो। मास्टर्स डिग्री पढुन्जेल दिनदिनैजसो ढुङ्गा मुडा, नारा जुलुस गर्ने र टाएरको आगो ताप्ने काम भयो।बैसट्ठी त्रिसठ्ठीको आन्दोलनले गर्दा  पढ्ने तथा पढाउने बाताबरण नै थिएन। कलेजबाट फर्कदा एकदुइपल्ट पुलिसले क्याँकेको घटना मानसपटलमा  अझै ताजा छ। तर  चार वर्षको काठमान्डौ बसाइमा साइकल छुने मौका भने  मिलेन। पछि मास्टरी पेशा सुरु गरेपछि धेरै  हेटौडा बसियो। साइकल भन्दा मोटरसाइकलको आबश्यकता देखियो। साइकल त  चढीयो  तर मोटर जोडेको। 

करिब नौ बर्षको हेटौडा बसाइ पछि क्यानाडा पसियो।  हिउँले पुरेको थियो जताततै जुनबेला हामी  ठुला ठुला सुटकेस  बोकेर एड्मन्टन इन्टरनेसनल एअरपोर्टबाट बाहिरिएका थियौ। साइकल र मोटरसाइकलको नामोनिसान थिएन। जब हिउँ  पग्लिदै गयो र घमाइला,रमाइला र हरियाली दिनहरु शुरु भयो।  त्यसपछि मात्र फाट्टफुट्ट साइकलहरु देखा पर्न थाले सडकहरुमा। त्यसपछि मलाई पनि साइकलको रहर जाग्यो। 

साइकल किन्न 'वेस्टर्न साइकल' स्टोर्समा  पुगे। आठसय डलरभन्दा कमको साइकल थिएनन्। सय डलरको बजेट थियो साइकलको लागि। अर्कोदिन  साथी मानिस  खरेलले क्यानेडियन टाएरमा सस्तोमा पाउछ उतै जाउ भने । सबै भन्दा सस्तो साइकल $८५ क्यानेडियन डलरमा किन्यौ। हेलमेट, पानीको बोतल, र घन्टी समेत गर्दा $११० डलर जति पर्यो।

साइकल किनेको भोलिपल्ट दुवैजना साइकल यात्रामा निस्कियौ सस्काचेवन नदि किनारमा। नदीको किनारै किनार साइकलको लागि अलग्गै बाटो थियो। बाटोको दुवै छॆउमा हरियाली रुखहरु थिए। टाउकैमाथि चराहरु फुर्र फुर्र उड्थे।  बाटो धेरै जसो ठाउमा कालो पत्रे गरिएको थियो।  यस्तो बाटोमा  साइकल चलाउनुको  मज्जा बेग्लै थियो। केटाकेटी देखि लिएर बुढाबुढी सबैले साइकलको मज्जा लुटेका  थिए। मलाई भने बागमती नदीको किनारै किनार यस्तै साइकलको लेन भैदिएको भए मोटरसाइकलको भिड अलि कम हुन्थ्यो काठमान्डौमा  जस्तो लाग्यो। पार्क, नदि, सडक जे देख्दा पनि नेपालसंग तुलना गर्न मन लाग्ने। 

साइकल चलाउदै गर्दा बाटोको छेउछाउका बस्तीहरु, सुन्दर पार्क र चराचुरुंगीहरुको मधुर चिरबिरले मनै रोमान्चक पार्दथ्यो। ठाउँ ठाउमा साइकल रोक्दै हरिया जंगलहरुमा आँखा डुलाउथ्यौ र सोच्थ्यौ के जाडो याममा देखेको एड्मन्टन यहि हो त ? नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च र अप्रिल सम्म जताततै हिवै हिउले सेताम्मे पार्ने यो ठाउँ समर सिजनमा अत्यन्तै हरियाली र सुन्दर देखिन्छ। वास्तविक सुन्दर हेर्नको लागि गाडीमा डुलेर हुदैन।  या त पैदल हिड्नु पर्यो जो सम्भब थिएन या साइकल जुन चाही पुरै सम्भब थियो। 

त्यो दिन पछि म एक्लै धेरै पल्ट रिभर भ्याली, भ्याली जु र 'इन्ड अफ द वोर्ल्ड' पुगेको छु। हर्लेकपार्क अहिलेसम्मकै मनपर्ने ठाँउ हो मेरोलागि।  यो सस्काचेबन नदीको किनारमा अबस्थित अत्यन्त सुन्दर पार्कहरु मध्य एक  हो। यसको  बिचमा सानो लेक  छ।  यो पोखरी नै बास्तबमा भन्ने हो भने यो पार्कको गहना हो। बसन्त श्रीतुको सुरुवात संगै क्यानेडियन गिज यो पार्कमा भित्रिने गर्दछन। सयौ पल्ट साइकलमा फेरो मर्दा पनि धित मोर्दैन।

एक दुइ वर्ष सम्म नयाँ नयाँ साइकलको बाटो खोज्दैमा बित्यो। त्यसपछि भने मौसम राम्रो भएको बेला काममा पनि साइकलमै जान थाले। म एड्मन्टको डाउनटाउनमा बस्ने हुदा अन्य ठाउहरुमा भन्दा साइकलको बाटाहरु धेरै थिए। तर एडमन्टनको मौसम एकदम अपत्यारिलो हुन्थ्यो। छिनमै अत्यन्त गर्मि हुन्थ्यो भने छिन भरमै मौसम माइनसमा झर्दथ्यो। जसले गर्दा काममा लगातार साइकलमै जान पनि सम्भब थिएन। बिहान आकाश छ्याङ्ग हुन्थ्यो।  घाम रापिला हुन्थे। तर त्यहि मौसम कठ्यांग्रिने जाडो भैदिन्थ्यो दुइ चार घन्टामै।  तर पनि जाडो यामका चार महिना बाहेक साइकल मज्जाले चलाइयो। पाँच बर्षको  सहयात्रामा यसले कहिले धोका  दिएन। 

करिब पाँच बर्षको एडमन्टन बसाई पछि हामि टोरोन्टो सर्ने भयौ। साइकल लैजानको लागि त्यति सहज थिएन। तर पनि सामानहरु संगै लैजान मिल्ने भएसम्म लानुपर्ला भन्ने सोच बनाएको थिए। सर्ने भनेको अगिल्लो दिन मुलढोका बाहिर साइकल राखेर म घरभित्र छिरे।  पछि एक घण्टा जातिमा बाहिर निस्कदा साइक गायब थियो।  साइकलको चोरी भैसकेको थियो। निर्जीव बस्तु भएपनि त्यो साइकल संग गहिरो प्रेम बसेको थियो। एक्लै भएको बेला मन भुलाउने साथि थियो। प्रकृतिसंग एकाकार गराइदिने साधन थियो। मेरो प्रिय बस्तु चोरि भएकोमा ठुलो दु:ख लाग्यो।  

२०१९ अगस्ट महिनामा हामि सपरिवार भीया रेलमा चढेर एडमन्टनबाट  टोरोन्टो मुभ गर्यौ। टोरन्टो झरेको केहिदिनमै साइकल किने।  किनेकै  दिन बेलिया क्रिसेन्ट टोलको भित्रि बाटो हुदै डयान्फोर्थ रोड सम्म पुगे । साइकलमा डुल्दा  बास्तबिकरुपनै त्यहाको बस्ति, भूगोल र संरचना  हेर्न मिल्छ जुन गाडीमा सम्भब हुदैन। पैदल हिडेर पनि सबै ठाउहरुमा पुग्न सम्भव हुदैन। 

स्कार्बोरोमा थियो बसाई।  एकजना दाई  हुनुहुन्थ्यो चन्द्र पौडेल कहिले काही साइकलमा हिड्न रहर गर्ने।  तर उहाँलाई फुर्सद अलि कम मिल्थ्यो। एकदिन उहाँसंगै उडबाइन बीच जान भनेर निस्कियौ। गर्मि र साइकल लेनको राम्रो जानकारी नभएको हुदा  भिक्टोरिया एभेनिउबाटै फर्कियौ। त्यो दिन हामीले झन्डै १२ किलोमिटर जति मात्र साइकल चलायौ।  त्यसपछि भने एक्लै एक्लै कहिले थमसन पार्क त  कहिले ब्लफ्फ़र पार्कभित्रको बाटोमा  चलाउन सुरु भयो।   

साइकल चलाउने उत्तम समय निस्कियो लक् डाउन ।  एउटा त समय बिताउनु थियो। अर्को शरीरलाई व्यायाम गरेर चुस्त र दुरुस्त राख्नु। खालि समयमा  किताब पढ्ने तथा  नयाँ नयाँ ठाउँहरुमा साइकल कुदाउने दुइवटा बानि छ। दिनमा चार पाँच घण्टासम्म पनि  मैले लगातार पेडल घुमाएको  छु। यात्रा गर्दै गर्दा सुन्दर र रमणीय ठाउहरू भेटिनसाथ् एकै छिन भएपनि रोकिन्छु। फोटाहरु खिच्छु। प्राकृतिक सुन्दरताको कावा खान्छु। मैले  जिबनमा यो भन्दा धेरै आनन्दको महशुस कहिले  गरेको छैन। हुन त म आफु पहाडी गाउमा जन्मेर हुर्केकोले गर्दा प्राकृतिक सुन्दरताले सानै देखि मेरो शरीरलाई सुम्सुम्याएको छ।

हाइल्याण्ड क्रिक पार्क भित्रको साइकलको बाटो अत्यन्त सुन्दर र रमणीय छ।  सबभन्दा पहिले मा त्यो ठाउमा नियुरो टिप्नको लागि पुगेको थिए। घना जंगलको बिचबाट एउटा खोला बगेको छ। त्यहि खोलाको किनारै किनार साइकलको पक्कि बाटो छ। त्यो बाटो लेक ओन्टारियोसंग जोडिन पुग्छ। त्यहाँदेखि लेकको किनारै किनार पुर्बतिर साइकलको बाटो छ। साँझको बेला साइकल चलाउदा तलाउको पानिमा आएको छाल किनारमा राखिएका ठुला ठुला ढुंङ्गाहरुसंग ठोक्किन पुग्छ र पानीको छिट्टा हाम्रो शरीरमा पर्दछ। त्यो क्षण अति रोमाञ्चक हुन्छ मेरो लागि । 
साइकल चलाउदै जादा छेउछाउ चारा टिप्दै गरेका पानि हाँस, क्यानेडियन गिज, विभिन्न साइज र रंगका लोखर्केहरुले मनै आनन्दित तुल्याइदिन्छ।  त्यो बिशाल छातीमा एकैछिन मात्र हैन सदा सदाको लागि समर्पित भैदिन मन लाग्छ।  प्राकृतिक सुन्दरताले जुन आनन्द दिन्छ त्यो मानब निर्मित कुनै पनि बस्तुले  दिने सक्दैन। म कैयौ पल्ट त्यो रमणीय ठाउमा पुगेको छु। तलाउ किनारमा भएका ठुला ठुला ढुंगाहरुमा एकैछिन भएपनि आखाँ चिम्लेको छु र निमेसभरको लागि भएपनि दैनिक हुने तनाबबाट छुटकारा पाएको छु । कोलेस्ट्रोल घटाएर सामान्य अबस्थामा पुर्याएको  छु। 

साइकलमा बरालिने अर्को सुन्दर ठाउँ हो थमसन पार्क। यो भौगोलिक हिसाबले  आफैमा अत्यत सुन्दर पार्क हो भने, विभिन्न साइकलका बाटोहरु यो ठाउँमा जोडिन्छन।  थमसन पार्कबाट पश्चिमतर्फ गयो भने एल्स्मेयर सडक सम्म झन्डै तिन किलोमीटर बाटो खोलाको किनारै किनार जान्छ। चराचुरुन्गीहरु देखि  लिएर मृग र विभिन्न जातका लोखर्के र खरायोहरु बाटोको तलमाथि देख्न सकिन्छ। थमसम पार्कको उत्तरपूर्वतर्फ  सोहि खोलाको किनारै किनार साइकलको पक्की बाटो छ जुन बाटोले त्यहाँको विभिन्न बस्तीहरुलाई जोडेको छ।  जादै गर्दा अर्को छोटो तर अत्यन्त सुन्दर बाटो छ मकावन पार्क भित्र।  यो बाटो मकावन हुदै ब्रिम्ले सडकमा जोडिन्छ। बाटोको तलमाथि दन्ते लहर झैँ मिलेको बस्ति छ। प्रायजसो बस्तीका केटाकेटीहरु लर्खराउदै  साइकल यताउति  गराइरहेका हुन्छन यो सडकमा। 

हार्बर फ्रन्ट र लेकसोरमा साइकल चलाउदा रानी पोखरी, टुडिखेल र सुन्धाराको याद आउछ। सी एन टावरले मुसुक्क हाँस्दै हेर्दा भीमसेन स्तम्बको याद आउछ। सी एन टावर अझै जवान छ म जस्तै।  हामि एकै सालमा जन्मेका रहेछौ। तर भीमसेन स्तम्भले  कैयौ पल्ट पुनर्जन्म लिइसक्यो। 
 
एकदिन बिहानै हार्बरफ्रन्टमा साइकल चलाउदै गर्दा बेस्सरी थाकेछु। साइकल अड्याएर लेक छेउको कुर्चीमा बसेँ। बिस्तारै मेरो अगाडी उभिएका गगनचुम्बी सिसामहलहरु पग्लिदै गए । सी एन टावर एकैछिनमा विलीन  भयो। त्यहाँ एउटा भिषण आगलागी भयो । आगो निभाउनको लागि मान्छेहरु घोडाका बग्गीहरुमा चढेर कुदिरहेका थिए। घरघरबाट मान्छेहरुले पानी  फालेर आगो निभाउने प्रयत्न गरिरहेका थिए। हेर्दा हेर्दै वेलिंगटन र योङ्ग स्ट्रीटका सयौ घरहरु खरानी भए। नजिकैको होर्डिंगबोर्डमा अप्रिल १९, १९९४ देखाइरहेको थियो। बिस्तारै आगोको लप्काले साइकलको टायर पग्लिन थाल्यो। म आत्तियर भुइमा झरे। 

'हेल्लो सर, आर यु ओके?' भन्ने शब्दले म झस्किए। मेरो अगाडी उभिएका थिए गस्तीमा हिडेका दुइजना पुलीस। लेकको छेउमा भएका कुर्चिहरुमा निधाउन मनाही रहेछ। थाकेको ज्याँन कतिबेला भुसुक्कै भएछ पत्तै भएन। त्यसपछि त्यतातिर खासै जान्न म। 

आजकल ब्लफ्फर पार्क  जान्छु फुर्सद  हुनसाथ। म बस्ने ठाउँदेखि पाँच किलोमिटरको दुरीमा पर्दछ यो । पार्क भित्र साइकलकै लागि बनाएको बाटो नभएपनि लेकको किनारैकिनार कच्ची बाटो छ। राम्रोसंग बाटोमा ध्यान नदिने हो भने फुत्त पानीमा खस्न बेर लाग्दैन। किनारमा लम्पसार परेका ठुला ठुला  ढुंगामा ठोक्किएर पानीका थोपाहरु गाला चुम्न  तछाड मछाड गरिरहेका हुन्छन। खुसीले छाती बुरुक्क  बुरुक्क उफ्रिन थाल्छ। अनि हावामा कावा खान थाल्छु म साइकल चलाउदै। 




टुँडिखेल देखि ब्लफ्फर पार्कसम्मको साइकलको कथा 






0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home