रूमकान्त सर
होचो, होचो कद। सेतो सर्ट पाईन्ट र कालो ईस्टकोट अनि त्यसमाथि पुर्बेली ढाका टोपी। यस्तै साठी बर्ष जतिको रसिलो र कसिलो छाला।चिल्लोसंग दाडि काटेर त्यसमाथि चिटिक्क मिलेको जुँगा।आफु हिड्ने बाटो भन्दा बढी दाँया र बाँया पट्टि लहरै उभिएका भबनहरुमा पल्याक पुलुक हेर्दै हिडिरहेको नेपालि देखेपछि म रोकिए। बाटोको छेउमा उभिएर दुइहात जोडी नमस्कार गरे। बाटोमा एक्कासी एउटा केटोले नमस्कार गरेको देखेर होला उहाँ एकैछिन अलमल पर्नु भयो। सातसमुन्द्र पारीको यो अपरिचित ठाँउमा यसरि खाट्टी नमस्कार पाइएला भनेर उहाँले सोच्नु भएको पनि थिएन होला।
"नमस्कार र..र... बाबुको घर कहाँ पर्यो होला ?" उहाँले अलि संकोच माने जस्तै गरेर सोध्नुभयो।
"नेपालमा बुटवल हो बुवा। हजुरले ढाका टोपी लगाएकोले पक्कै पनि नेपालि हुनुहुन्छ भनेर रोकिएको", मैले भने।
"हजुर त बिहान बिहान हिड्नुहुदो रैछ। अरु कोहिपनि हिडेको देखिन मैले। सबै गाडी चड्दा रहेछन। बाबुको काम पनि नजिकै छ जस्तो लाग्यो नि हिडेरै पुगिने।"
'हैन बुवा काम त टाडै छ। अहिले त यतिकै बाहिर निस्केको। यहि चार, छ मैना हो यहाँ यसरि बाहिर हिड्न सकिने। अर्को महिनाबाट हिउ झर्न सुरु भैहाल्छ। अनि हजुरको शुभनाम ? "
"मेरो नाम रुमाकान्त सिग्देल हो। म छोरी ज्वाईले बोलाएर अघिल्लो महिना यहॉ आएको हुँम् । निराजनलाई चिन्नु हुन्छ त बाबुले? नेपालमा चाही पाल्पा हो। रामपुर नाम सुन्नुभएको छ ?"
"थाहा छ बुवा नगएपनि। मैले क्याम्पस तान्सेन मै पढेको हो । रामभक्त पराजुली भन्ने मेरो मिल्ने साथि हुनुहुन्थ्यो रामपुरको। अहिले पनि एकदुई जना यतै पनि हुनुहुन्छ। तर निराजन लाई भने मैले चिनेको रैनछु।"
"उहाँलाई कसरि चिन्नुहुन्छ खै जतिबेला पनि काम भन्दै हिडेको हिडै गर्नुहुन्छ। मैले पनि झल्याक झुलुक मात्रै देख्छु। छोरी पनि कहिले राति कहिले दिउसो काममा जान्छे। खै बाबु मैले त यहाँ केहिपनि राम्रो मानिन", उहाँले मुख धमिलो पार्दै भन्नु भयो।
"सबैको त्यस्तै हो बुवा यहाँ। सबै कुरा महँगो छ। काम नगरी कसरि बाच्ने हो र ?" मैले भने। "हिड्नुस बुवा मेरो घरमा पसेर चिया खाएर जानुहोला। आज मेरो पनि बिदा छ। "
"हैन बाबु अहिले नपसौ क्यारे। नातिनी सानी छ। उसलाई हेर्ने जिम्मा मेरो छ। आमाले छोडेर काममा जान्छे। पछि भेटौला नि बरु कुनै दिन। बाबुको पनि नजिकै रैछ। हाम्रो तिर आउनुस न कुनै दिन। छोरी ज्वाईसंग पनि भेट होला।"
"हस त बुवा हिड्नुस। म पनि हजुर संगै जान्छु। घर देखेर फर्कुला। पछि कुनै दिन बिदा पारेर आउला नि। "
त्यसछि म उहाँ संगै हिडे। उहाँ अघि अघि , म पछी पछी ।
हिड्दै गर्दा उहाँले धेरै कुराहरु सोध्नु भयो। बाबुले के गर्नुहुन्छ ? काम कतिको सजिलो छ ? छोरा छोरी कति छन्? नेपालमा बुवा आमा के गर्नुहुन्छ ? नेपाल फर्किने मन छ कि अब यतै बस्ने सोच्नु भएको छ ? उहाँका प्रश्नहरु त्यति जटिल त थिएनन् तर किन हो किन मलाई ति प्रश्नहरुको उत्तर दिन अत्यन्त गाह्रो भयो।
"छोरा एउटा र छोरी दुइटा छन्।" यहि हो मैले दिएको उत्तर सजिलो संग। बुवाले खेति किसान गर्नु हुन्थ्यो। अहिले खेतमा काम गर्न सक्ने अवस्थामा पनि हुनुहुन्न। दमको रोगि हुनुहुन्छ। आमालाई पनि दम छ। छोराछोरी हामि दुइजना मात्र हो। म यहाँ छु। दिदि अमेरिकामा हुनुहुन्छ। म कसरि भनौ बुवाआमा के गर्दै हुनुहुन्छ। पक्कै पनि आफ्नै भाग्यलाई धिक्कार्दै जीवनलाई जनतन घिसार्दै हुन्हुन्छ होला।
"बुवा आमा खेतिकिसानी गर्नुहुन्छ", मैले भने।
काम पनि के गर्छु भनेर भनौ। कामको कुनै टुङ्गो छैन। काम राम्रो हुन्छ तर कतिबेला कम्पनीले लेअफ दिन्छ, पत्तै हुदैन। गाह्रो काम धेरै दिन टिक्न सकिदैन। आज एउटा काम गर्यो। फेरी भोलि अर्को काम खोज्नु पर्ने अवस्था आउछ। न काम गर्ने समय एकनास हुन्छ। न काम को प्रकृति। नेपालमा गरेको कामको अनुभवले धेरैले काम पाउदैनन्, एकाध बाहेक। अहिले काम नगरी फुर्सदमा बसेको छु। बेकामे छु। काम नगरे पनि माम खानै पर्ने। कोठा भाडा तिर्नै पर्ने। नाना थरिका बिल तिर्नै पर्ने। काम कहिले पाइने हो , कति दिनको लागि पाइने हो केहि पनि टुङ्गो हुदैन। कुनै काम सजिलो भएपनि सुपरभाइजर मन पर्दैन। अरु स्टाफहरु संग मन मिल्दैन। केहि न केहि कुराको स्ट्रेस भै नै रहन्छ। अब म के भनौ उहाँलाई।
'काम ठिकै छ बुवा। जस्तो भएपनि देश छोडेर आइसकेपछि गर्नै पर्ने। जनतन चलिरहेको छ।"
"धेरै मान्छेहरु रातिमा पनि काम गरेको देखे बाबु। रातिमा के काम गर्छन होला? मैले त कसैलाई सोधेको पनि छैन। अर्को कुरा बुढाबुढी संगै बसेर खान खाने दिन पनि आउदो रहेनछ यहाँ। न छोराछोरी संग नै संगै बसेर खान खाएको देखे। सधै दौडेको दौडै गरे जस्तो पो देख्छु त बाबु। कतिबेला सम्म चल्छ यसरि खोइ", उहाँले मन अमिलो पार्दै भन्नु भयो।
गफ गर्दा गर्दै हामि ब्रिम्ले र लरेन्सको इन्टरसेक्सनमा पुग्यौ। एकै छिन रोकिए पछि पैदल यात्रीलाई बाटो खुलेको संकेत आयो पारिपट्टिको पोलमा। बाटो काटेर बेरिमोरको भित्रि बाटो हुदै उहाँको घर पुग्यौ।
"बुवा मैले घर देखे। आज अलि फुर्सद छैन। फेरी कुनै दिन सबै संग चिनजान गर्ने गरेर आउछु है। आज गए ल ", मैले हात हल्लाउदै भने। त्यतिनै बेला एउटा महिला काँधमा पर्स भिरेर हतारिदै बाहिर निस्किन। म साइकलमा चढेर आफ्नो डेरातिर लागे।
रमाकान्त सर आफ्नो छोरीले कर गरेर नाति हेर्नको लागि आएका रहेछन अघिल्लो महिना। उनि कति पनि खुसि थिएनन।
"नेपालमा के थिएन र उनीहरुलाई ? स्थाई जागिर थियो। बाउले जोडेको थोर धेर सम्पति थियो। साथीभाई, इस्टमित्र , नाल्नाता सबै थिए। जे भएपनि आफ्नो ठाउँ हो। यसरि कता हो कता , न जात मिल्ने , न भाषा मिल्ने ठाउमा आएर गोरु जोतीय जसरि जोतिएर कति दिन पो चल्लार बाबु ", उनले मेरो आँखामा गहिरो संग हेरेर भनेका थिए। म चुपचाप सुनिमात्रै रहे। यी त उनले छोटो समयमा भोगेको अनुभबका कुरा थिए। त्यो भन्दा भयाबह स्थितिको बारेमा त उहाँ अबगत हुनुहुदैनथ्यो। कति मान्छेहरु डिप्रेसनको शिकार भएका छन्। कतिको यसैको कारणले गर्दा डिभोर्स नै भयो। छोरा छोरीहरु बिचल्लीमा छन्। नयाँ आउनेहरुको कथा एउटा हुथ्यो भने पुराना मान्छेहरुको कथा अर्कै हुन्थ्यो। तर कोहि पनि मान्छे सुख र सान्तिले बाचेको देखिदैन। मनमा अनेक कुराहरुको हुन्डली खेलाउदै म कोठामा पुगे। कोठा सुनसान थियो। फ्रिजबाट चिकेन झिके र माइक्रोवेभमा एकछिन तताए। दुइ पिस ब्रेड झिके र ब्रेड चिकेनले छाक टारे। सधै यस्तै यस्तै गरेर छाक टारिन्छ यहाँ। दाल, तरकारी, माछा, माशु, अचार बनाएर परिबार सबै बसेर संगै खाने दिन भनेको गेट टुगेदर गर्दा मात्रै हो।
सबैको चिन्ता या त जागिरको हुन्छ, या घरको अर्थात मोर्टगेजको। त्यो भन्दा बढी हुन्छ आफ्नो देशको। कहाँ के भयो ? कुन नेताले के भन्यो ? कसले कति भ्रटाचार गर्यो ? यिनै बिषयमा हुन्छन चर्का चर्की गफ। लाग्छ यिनीहरु नै न्यायका पालक हुन्। न्यायधिस हुन् सर्बोच्च अदालतका। कसैले कसैको कुरा सुन्दैनन्। सबैले आआफ्नै कुराको कुतर्क गरिराहेका हुन्छन। कसैले कसैलाई उडाएर गफ गर्छन।कतिबेला त लाग्छ हाम्रो संस्कार नै अरुलाई उडाएर, तल्लो छेउ पारेर गफ गर्यो भने आफु ठुलो भइन्छ भन्ने हो। जो जसलाई आफ्नो ठानेर मनको कुरा गर्यो उसैले कमजोरी फेला पारेर त्यसैलाई हतियार बनाई आफैलाई हिट् ब्याक गरिरहेको हुन्छ। कसैको अगाडी मजाक उडाइरहेको हुन्छ। इमान्दारीताको साथ सच्चा मित्रताको भूमिका निभाउने सयमा एक भेटिन मुस्किल छ यहाँ। मनमा यस्तै यस्तै कुराहरु खेलिरहे दिनभरी।
दिउसोतिर कम्पूटर अन गरेर जब सर्च गर्न थाले। सयौ भ्यकेन्सिहरु थिए। तर आफ्नो कुनै स्किल थिएन। सामान्य कामको लागि पनि रिक्वार्मेंन्ट पुग्दैनथ्यो। नेपालको स्किलले कुन काम पो पाइन्थ्यो र यहाँ? कुनै अपग्रेडिंग पनि गरिएन। पढ्ने भनेर नसोचेको पनि होइन तर पढेकाहरू पनि पढेअनुसारको काम नपाएर सर्भाइभल जब गरेर कलेजको ऋण तिरेको देखेर पढ्न तिर पनि लगिएन। कहिले काही लाग्छ कुनै बिषय पढ्न जाउ। के पढ्ने ? कहाँ पढ्ने? काम पाइने हो कि होइन? कसले के पढ्यो ? के गर्दैछ ? यस्तै यस्तै कुरा मनमा आइरह्यो। कामको लागि अप्लिकेसन पठायो कसैले पनि रेस्पोन्स गर्दैन। पढ्नको लागी इन्क्वायरी गर्नु पर्छ दिनको दर्जन भन्दा बढी कल आउछ। लाग्छ कलेजहरुमा विभिन्न बिषयहरुको सेल लागेको छ। आर्ट्स, कमर्स, साइन्स जस्तै लिमिटेड बिषयहरुमा मात्र जानकारी भएको मान्छेलाई हजारौ बिषयहरुमा के पढ्ने छनोट गर्न पनि गाह्रो। लाग्यो 'जिन्दगि कलस्टर भित्र फस्यो।
कम्प्युटर बन्द गरेर एकछिन बाटोतिर निस्के। किन किन रुमाकान्त सर संग भेटेर नेपालतिरको गफ गर्न मन लाग्यो। अरु घरमा नभएपनि उहाँ त पक्कै घरमा हुनुहुन्छ भन्ठानेर उहाँको घरतिर हिडे।चिसो चिसो हावा चलेकोले गर्दा साइकल चढीन।हिड्दै गए। उहाँ घरको बाहिर सानो बगैचामा हुनुहुन्थ्यो।
'म त हजुरसंग एकछिन भएपनि बस्छु भनेर निस्केको। सरले चै के गर्दै हुनुहुन्छ बाहिर? आज त चिसो चिसो पनि छ। "
"के गर्नु नि बाबु भित्र बस्दा किन किन निसास्सिय जस्तो लग्छ। नातिनी के के खेल्दै छे। मैले चाहि यसो झार गोडेजस्तो गरेको बाबु। हिड्नुस भित्र जाम", उहाँले दाहिने हत्केलो देब्रे हत्केलो माथि प्याट्ट प्याट्ट पार्दै भन्नुभयो।
"हैन बुवा बाहिरै बसेर गफ गरौ न। म यतिकै फुर्सदमा थिए। हजुरसंग यसो गफ गरौ भनेर निस्केको", मैले पनि भुइबाट म्यापल को पात टिप्दै भने।
"चिसो चिसो पनि छ। भित्रै जाउ न। म चिया पनि बसाल्छु। ज्वाई त अलि राति आउनुहुन्छ। छोरी आउने बेला हुन लाग्यो", रुमाकान्त सरले ढोका खोल्दै भन्नु भयो।
उहाँ बाथरुमतिर छिर्नु भयो। म बैठक कोठामा सजाएर राखिएको सोफामा गएर बसे। भुइभरि सानी नानीको खेलौनाहरु यत्रतत्र छरियका थिए। सोफ़ाअगाडी भित्तोमा ठुलो टिभी झुन्डिएको थियो। प्राय सबै नेपाली घरहरुमा सोफा र टिभी उस्तै उस्तै हुन्छ। ति सोफा र टिभी बस्न र हेर्नको लागि भन्दा पनि सजाउनको लागि राखेजस्तो लाग्छ। बिहान उठेपछि काममा जाने हत्तारो। बेलुका घर फर्के पछि भोलिको लागि लन्च प्याक गर्न र सुत्नको हतारो। कतिबेला हो सोफामा बसेर गफ गर्ने र टिभी हेर्ने। मनमनै यिनै कुराहरु खेले।
टिभीको माथिपट्टी नेपालको नक्सा भएको ठुलो फोटो फ्रेम झुन्डिएको थियो। त्यसैको ठिक विपरित भित्तोमा परिवारको फोटो टांगिएको थियो। कर्नरको टेबलमा एउटा गमला थियो। त्यो गमलामा हरियो बाँसको पात जस्तै देखिने बिरुवा राखिएको थियो।एकैछिनमा रुमकान्त सर मेरो छेउ आउनुभयो र "बाबु बस्दै गर्नुस। म चिया बनाइहाल्छु ", भन्दै उहाँ किचन तिर लाग्नु भयो।म एकछिन सुनसान बाताबरणमा यसै रुमलीए। केहीबेरमा सरले चिया लियर बैठक कोठामा आउनुभयो। चिया टेबलमा राख्दै गर्दा उहाँले सोध्नुभयो," बाबु केहि बिस्कुटहरु पनि ल्याउकि ? भोक पनि लाग्ने बेला त भैगो। "
"पर्दैन पर्दैन बुवा। यो पनि दुख नगर्नुभाको भए पनि हुन्थ्यो। म त बुवा संग यसै गफ गरौ भनेर पो निस्केको। अनि बुवा हजुरलाई कस्तो लागिराछ नि क्यानाडाको बसाई ?"
"कस्तो लागेको छ भन्नु बाबु सबै ठिकै चलिराको छ। बिरामी भयो भने गाह्रो छ भन्छन। भाषा बुझिदैन यताउति जाऊ भने। दिनभरी यहि झ्यालखानामा बस्यो। नातिनी हेर्यो। यस्तै हो बाबु। हामीलाई त उतै ठिक छ। खुल्ला ठाउमा कमसेकम सास फेर्न त पाइन्छ। आफ्नो इस्टमित्र भनेपनि साथिभाई भनेपनि सबै उतै छन्। यहाँ त छोरी ज्वाई संग बोल्ने त फुर्सद हुदैन अरु को के कुरा गर्नु। "
"हो नि बुवा। आफ्नो देश, भाषा, संकृति भनेको धेरै ठुलो कुरो रहेछ। त्यसको महत्व यहाँ आएपछि बल्ल थाहा हुदो रैछ। हामि पनि राम्रै जागिर छोडेर के के न होला भनेर हाम फालियो। आखिरमा ऐले यता न उता जस्तो पो भैयो।कैले हाँ फर्किउ कि क्या हो भन्छ यो मनले। फेरी के के सोचिन्छ र मन बुझाइन्छ। यहाँ बसेपनि दिनदिनै उतैको न्युज हेर्न मन लाग्छ। टाठो, पिरो चटपटे मनपर्छ। कहिलेकाही यसो बाहिर गएर खाना खाउ भनेपनि तिनै इन्डियन रेस्टुरेन्टमा गइन्छ। कहिलेकाही सोच्दा लाग्छ यो सबै त उतै पनि त थियो। किन यहाँ आउनुपरेको होला। न मनग्य पैसो कमाइन्छ यो ठाउमा। थोरै कमायो खान र बस्न बल्ल बल्ल चल्छ। राति र दिन गरेर कमायो झन् धेरै ट्याक्स तिर्नु पर्छ।"
आफ्नै देश हो अब फर्किदा पनि त के बित्छ र बाबु। गर्ने ले उता पनि दुइ चार बर्षमा बिल्डिंग खडा गरिसके। मेरो छोरो पनि अस्ट्रेलियामा छ। एउटा बस्ने बास त जोड नेपालमा विदेशको कमाइले भन्छु म। पैसो बच्दै बच्दैन भन्छ ऊ। जाबो एउटा घडेरी पनि किन्न सकिन्न भने यत्रो बर्ष बिदेशमा बसेर के को लागि रात दिन मेसिनले झैँ काम गर्ने हो", उहाले दुबै हातले टोपी मिलाउदै भन्नु भयो।
" हो नि बुवा। तर के गर्नु सोचेजस्तो हुदैन सबैलाई। कसै कसै राम्रै पनि गरिराका छन्।'लिखितम ललाटे' भनेको त्यहि होला," मैले चियाको सुर्को तान्दै भने।
" गेंजाको घनश्याम पनि मिसिसागा भन्ने ठाउमा रैछन। अस्ति खाना खान बोलाएका थिए र गाथिम। घर किनेका रैछन। बैकमा ऋण छ रे। रातिदीन काम गरेर ऋण तिर्नै पच्चिस बर्ष लाग्छ बुवा भन्थे। घरमा कहिले बस्दैनन् रे आफु। खाली काम को काम। म त कुरा सुन्दै छक्क पर्छु। "
"हो नि बुवा। घर किन्ने भनेको बैंकले चर्को ब्याजदरमा ऋण उपलब्द गराएर महिनै पिच्छे किस्ताबन्दीमा तिर्ने सर्तमा लिने हो। यदि बेलामा बैंकको किस्ता तिर्न सकेन भने घर बैंकले लिलामी गर्दिन्छ। आफ्नो लगानी सबै डुब्छ। जसरि तसरी काम गरेर बिसौ वर्षसम्म किस्ता तिर्न सक्यो भने घर आफ्नो हुन्छ। नेपाल सरकारको जस्तो कहिले नफुस्कने जागिर हुदैनन्।अर्कोतिर एउटा जागिरले घरको किस्ता तिर्न पनि मुस्किल हुन्छ। त्यसैले धेरैजसोले डबल शिफ्ट काम गर्छन। त्यो मिलेन भने पनि सनिबार र आइतबार पनि काम गर्छन।"
"हैन बाबु मैले नबुझेको कुरा चाही नि , न आफुलाई सुख छ। न परिवारलाई समय दिईयको छ। न टाइममा खाना खानु छ। न टाइममा सुत्नु छ। खालि कुदेको कुदै गरेर कहिले सम्म चल्छ? र यो सब आखिर के को लागि ?"
"यो घनचक्कर हो बुवा। यो जालो भित्र फसे पछि यहाँको सिस्टमले मान्छेलाई घुमाको घुमाई गर्छ। घर, गाडी, फोन को बिल जता ततै पैसो तिर्न पर्यो। पैसो तिर्न काम गर्नै पर्यो। नेपालमा त काम नगरेपनि दुइचार बर्ष चलिहाल्छ। तर यहाँ एक महिना पनि चल्दैन बुवा। यहाँ कसैलाई न कसैको कुरा काट्ने फुर्सद हुन्छ। न कुनै राजनीतिक दलको बारेमा बिबाद गरेर बस्ने फुर्सद हुन्छ।जताततै भागाभाग र मारामार छ। "
"मैले त बाबु कुनै अर्थमा पनि ठिक मानिन है यहाँ। खाना पनि कहिले न महिलेको फ्रिजमा राखेको खान्छन। विकेन्डमा खाना बनाएर पोका पोका बनाएर फ्रिजमा राखे। अनि त्यहि खाना हप्तै भरि जिक्दै खादै। के को स्वाद होला त्यसमा। अनि प्लास्टिकको डब्बामा हालेर गए। उतै माइक्रोवेभमा तताउछ्न रे।त्यो "क्यान्सर हो कि जाती यता धेरै हुन्छ भन्छन नि हो त्यहि भएर हो बाबु।अर्को कुरा कसैको मनमा शान्ति देखिन बाबु मैले। सधै तनाबै तनाबमा देखिन्छन सबै जना।"
"हो नि बुवा। त्यहि भएर त होलानी प्रत्यक पाँच जनामा एकजनालाई मानशिक रोग लागेको हुन्छ यहाँ। धेरै नेपालीहरुले पनि डिप्रेसनको औषधि नै खान्छन। कसैको घरबार नै छिन्न भिन्न भाका छन्। हुन त नेपालमा पनि बिकराल समस्याहरु छन्। नभएको भए हामिहरु आइदै आइदैनथ्यो होला। तर यहाँ झन् धेरै छन् जस्तो लाग्छ मलाई। "
रुमाकान्त सर केहि नबोली उठेर चियाका कपहरु उठाएर किचनतिर लाग्नु भयो। म पनि फेरी भोलि भेट्ने बचन दिदै निस्के घरबाट।
भोलिपल्ट एउटा कम्पनिले इन्टरभिउको लागि बोलायो। घर फर्कदा रात परिसकेको थियो। त्यो दिन म रुमाकान्त सर संग भने बमोजिम भेट हुन पाइन। तेस्रो दिन दिउसो म उहाँको घरतिर निस्के। शनिबार भएकोले गर्दा निराजन पनि घरमै थिए। उहाँसंग मेरो भेट अनौपचारिक रुपमा पहिले नै भएको थियो दशैँको कार्यक्रममा। तर पनि हाम्रो सम्पर्क थिएन। निराजन मझौला कदको गहुगोरो बर्णका थिए। उनि अत्यन्तै मिजासिला स्वभावका थिए। चार पाँच बर्ष जति कहिले के कहिले के काम गर्दै बिताए। कुन्नि के बिषयमा डिप्लोमा पनि गरेका हुन् भन्नुहुन्थ्यो उनको ससुराले। तर अहिले भने घर किनबेच गराउने काम गर्दा रहेछन। सुरुसुरुमा अलि गाह्रो भएपनि अहिले चाही अत्यन्त ब्यस्त छु भन्थे।
"आलोक जी अब घर किन्न पर्यो है। प्रोपर्टीमा लगानी गर्यो भने अलिकति भएपनि सेभिङ्ग हुन्छ," उनले मेरो आखाँमा गहिरो तरिकाले हेदै भने।
"घर त किन्ने तर डाउन पेमेन्ट गर्नै गार्हो छ। घरहरुपनि अचाक्ली महङ्गा छन्। खै के गर्ने। अहिले त किन्ने अवस्था छैन। बेला आयो भने सम्झुला नि ", मैले उनको आसय अनुसारको जवाफ दिए। उनि फोनमा कसैसंग च्याट गर्दै थिए। एकैछिनमा उनि सोफाबाट उठेर फोन उठाउदै बाहिरतिर निस्के।एकछिन पछि भित्र आए।
"सोरी आलोक जी, म एकैछिन बाहिर निस्कनु पर्यो। एकजनालाइ घर देखाउने टाइम दिएको थिए भसक्कै बिर्सेको पो रैछु। के गर्नु यस्तै छ काम। हजुरहरु बस्दै गर्नुस म पुगेर आइहाल्छु नि।"
उनि हतार हतार घरबाट निस्के। रुमकान्त सर अलि मनिलो अनुहारमा देखिनु हुन्थ्यो। "बुवालाई अलिक सन्चो छैन कि कसो? त्यति फ्रेस देखिनुहुन्न", मैले बुवातिर फर्किदै भने।
"ठिकै छ बाबु। छाती अलि भारि भारि जस्तो भाको छ हिजोदेखि। डाक्टरसँग चेक गराउन जानेकी भन्दै थि छोरी। हामीलाई त हेरेको पनि धेरै पैसो लाग्छ रे। तातो पानि खाईराको छु।निको होला नि एकदुई दिनमै।"
"हेल्थ इन्सुरेन्स गर्नुभएको होला नि। खर्च धेरै आयो भने इन्सुरेन्सले कभर गरिहाल्छ। एकपल्ट देखाउनु भए हुन्छ नि। स्वास्थ्य जस्तो कुरामा हेल्चेक्राई गर्नु हुदैन है। धेरै जसो बुवाआमाहरु यहाँ आएर बिरामी भएका घटनाहरु छन्। नेपाल र यहाँको हावापानी, खानपिन फरक पर्ने हुदा छिटो बिरामि पर्ने सम्भावना हुन्छ।"
उहाँ केहिपनि बोल्नुभएन। एकैछिन बाताबरण सुन्य भयो। सानी नानि दौडिदै हजुरबाको काखमा आएर बासिन। हातभरी खेलौना बोकेकी नातिनी हजुरबालाई के के भन्दै थिइन्। "ऊ अंकललाई नमस्ते गर," हजुरबाले आदेश दिनुभयो। नानि पुलुक्क मेरो मुखमा हेरिन र घोप्टो परिन।
"हजुरबालाई नसता है। सन्चो छैन," कोठाभित्रैबाट नलिना भाउजुले भन्नु भयो। म गएदेखि नै कोठाभित्रै हुनुहुन्थ्यो।
"अनि बुवा अझै कति जति बस्नुहुन्छ त यहाँ ?"
"कति बस्नु बाबु। यस्तै भयो भने जानुपर्ला । अलि प्रेशर पनि बढेको छ रे। हिजो ज्वाईले नाप्नु भाथियो। बुढेशकालमा यहाँ बसेर काम छैन बाबु। मर्नु परे पनि आफ्नै ठाउमा मरौला। यहाँ त मोरेपछी पनि गाह्रो छ रे। "
"कहाँ मोर्ने कुरा गर्नुभएको। यहाँ झन् राम्रो राम्रो हस्पिटलहरु छन्। केहि भयो भने तुरुन्त उपचार हुन्छ।"
"खै के को उपचार हुनु बाबु। अघिल्लो महिना चितवनको एकजना महिला क्यान्सर लागेर हस्पिटल भर्ना भएकी समयमा उपचार नपाएर बितिछन।सुरु सुरुमा केहि देखाएन रे। एक्कासी अति भएपछी हस्पिटल भर्ना गरेको निको नभएर मृतु भएछ। भिजिट भिसामा आएकी रैछ। हस्पिटलले बिल पनि थुप्रै पो पठाएको छ रे। परिबारलाई धेरै गाह्रो भएर खै के जाति संस्थाहरुले पैसो पो उठाउदै छन् रे। यहाँ त केहि भैहाल्यो भनेपनि डाक्टरलाई भेट्न पनि महिनौ कुर्नु पो पर्छ रे। सानो तिनो रोगलाई मात्र हेर्छ रे यिनी क्लिनिकहरुमा। नेपालमा पैसो भयो भने कमसेकम टाइममै उपचार त पाइन्छ।विदेशको सुविधाहरु भनेको पनि हाम्रो लागि त सपना जस्तै हो।"
कुरा गर्दा गर्दै समय बितेको पत्तै पाइन मैले। नलिना भाउजु पनि अहिले सम्म आफ्नै कोठामा खोइ के के गर्दै हुनुहुन्थियो। सायद नेपालमा कसैसंग कुरा गर्दै हुनुहुन्थियो। म यतिकै बुवा संग बिदा भएर निस्के।
त्यो दिनपछि धेरै दिन सम्म रुमकान्त सर संग भेट भएन। मैले पनि काम सुरु गरे। कामको ब्यस्तताले गर्दा चाहेर पनि लामो समयसम्म भेट हुन पाइन। निराजन संग भने बेला बेला कुराकानी हुन्थ्यो। एकदिन बिहान म काममा निस्कने बेलामा निराजनको फोन आयो। " बुवालाई अचानक हस्पिटलमा भर्ना गरेको छ। एक हप्ता जति भयो। हिजो हजुरलाई सोध्नु भएको थियो त्यसैले फोन गरेको।"
मन झसङ्ग भयो। एकछिन के भन्ने सोच्न पनि सकिन। छोटै समयमा पनि उहांसंग निकै आत्मियता बढेको थियो। उहाँको हसिलो अनुहार आफ्नै अनुहार ऎनामा देखेजस्तै आखाँमा नाच्न थाल्यो।अघिल्लो महिना उहाँसंग कुरा गर्दा बिदेशमा बिरामी पर्दा गाह्रो पर्ने कुरा गर्नुभएको थियो। यहाँ भिजिट या सुपर भिसामा बस्नेहरु बिरामि पर्दा आइपर्ने झंजटको बारेमा उहाँ आफैले मलाई सुनाउनु भएको थियो। आज आफै बिरामी हुदा कस्तो मन आत्तियको होला। मन मनै कुराहरुको हुन्नरि मच्चिन थाल्यो। 'के भयो उहाँलाई ? कुन हस्पिटलमा हुनुहुन्छ?", मैले हतारमा सोधिहाले।
स्कार्बोरो जनरल हस्पिटलमा उहाँको भर्ना गरेको रहेछ। एकहप्ता अघि अचानक छाती दुखेर सोफाबाट लड्नु भएछ। त्यो दिन भाग्यबस निराजन घर भएकोले एम्बुलेन्स बोलाएर इमार्जेंन्सीमा भर्ना गरेकोले उहाँको ज्यान बाचेछ। तर मुटुको भल्व फेर्न पर्ने भएकोले तुरन्त अर्को मेजर अपरेसन गर्नु परेछ। मैले धेरै कुराहरु फोनमा सोध्न चाहिन। तुरुन्त अफिसमा फोन गरेर बिरामी भएकोले काममा आउन नसक्ने भनि त्यो दिनको बिदा स्वीकृत गराए र सरासर हस्पिटलतिर लागे। सुर्य, बिनोद र आलोक पहिलेनै त्यहाँ पुगेका रहेछन। उनीहरु बाहिर लाउञ्चमा बसेका थिए। मैले सबभन्दा पहिले निराजन कता हुनुहुन्छ भनेर सोधे। निराजन अफिसको कामले गर्दा बाहिर गएको र छिटै आउने कुराको जानकारी विनोदले दिए। "नलिना भाउजु खोइ त ?", मैले यताउति भलाक्दै सोधे। "एकहप्ता जति काममा जानुभएको थिएन। आज वार्निंग गरेर इमेल पठाको रहिछ 'नो शो ' भए कामबाट निकाल्दिने भनेर। त्यहि भएर काममा जानुभयो। छोरी पनि साथीको घरमा छोड्नुभएको छ रे ", सुर्यले भने।
उनीहरुले रुमाकान्त सरलाई बयालीस नम्बरको कोठामा राखिएको कुरा गरे। म रिसेप्सनमा गएर सोधे। उसले कोठाको स्वाइप कार्ड हातमा दिई। म सरासर उहाँलाई राखेको कोठामा पुगे। एउटा महिला भित्रबाट निस्कदै थिई। उसले मलाइ हेरेर मुस्कुराई 'हाइ ' भन्दै। म भित्र पसे। उहाँलाइ बेडमा सुताइएको थियो। बेडको बायाँ पट्टि अक्सिजनको सिलिन्डर झुण्डाइएको थियो। सिलिन्डरबाट दुइवटा पाइप लगेर उहाँको नाक र मुखमा जोडिएको थियो। मैले उहाँलाई 'नमस्ते ' भने। उहाँले आखाँमा अलिकति उज्यालो निकालेर पुलुक्क हेर्नु भयो। कतिछिटै उहाँको कसिलो अनुहार झोलिएर हाडछाला मात्र भएको थियो। 'मलाई चिन्नुभयो त बुवा', मैले उहाको आँखामा हेर्दै सोधे। उहाँले तलमाथि मुन्टो हल्लाउनु भयो। म बेडको पुछारमा राखिएको एउटा कुर्सीमा बसे। उहालाई बोल्न गाह्रो हुने भएकोले धेरै कुरा सोध्न चाहिन। केहीबेरमै एउटा डाक्टरको टोलि आयो। म कोठाबाट बाहिरिए।
लाउञ्चमा आउदा निराजन पनि आइपुगेका थिए। सधै सुटमा चिटिक्क परेर हिड्ने निराजन खरानी रंगको ज्याकेटमा मगन्ते जस्तो भेषमा थिए। छुस्स दाडी त्यो पनि सेतै फुलेको उनको अनुहार उदेक लाग्दो थियो। मैले नमस्कार गरे। सायद उहाँ अरु कुनै सोचमा हुनुहुन्थ्यो होला कुनै रेस्पोन्स देखाउनु भएन। पछि मात्र हात मिलाउनुभयो। एकछिन सबैजना बसेर गफ गर्यौ। डाक्टरले अझै दुइवटा अपरेसन गर्न पर्ने बताएको रहेछ। हस्पिटलको खर्च बसेको मात्रै एकदिनको पाँचहजार डलर जति आउदो रहेछ त्यो पनि डाक्टरको फिस छोडेर। अपरेसन गर्दा सत्तरी हजारजति खर्च भैसकेछ। जम्मा एक मिलियनको इन्सुरेन्स गरेको रहेछ उहाँको । अझै दुइ वटा अप्रेसन गर्दा खर्च निकै हुने देखिन्थ्यो। छातीमा इन्फेक्सन अलि बढी भइसकेकोले स्थिति जटिल हुदै गएको कुरा पनि निराजनले गर्नुभयो। सबैजनाले के कसरि हुन्छ उपचारलाई रोक्न भएन भन्ने कुरा गर्यौ। आफ्नो ठाउबाट जेजस्तो सहायोग गर्न सकिन्छ र नपुग भएको खण्डमा के कसरि सहयोग जुटाउने बारेमा पनि केहीबेर सल्लाह गर्यौ। त्यसपछि म त्यहाँबाट निस्के।
त्यो दिनभर मनमा खरल खरल मात्र भयो। मान्छेको जिबनमा कुन बेला कस्तो आपत्ति आइलाग्छ केहि पनि भन्न सकिदो रैनछ। आखिर जिबन जहाँ गएपनि भोग्ने आफैले हो। सुख भन्ने कुरा सपना जस्तै क्षणिक हुदो रैछ। बास्तबिक जिबन भनेको दुख, संघर्ष, रोग, मानशिक तनाब, झैझगडा, लोभ, मोह आदि मै बित्दो रहेछ। सकुन्जेल हो मान्छे यो गर्छु र त्यो गर्छु भन्दै भागा भाग गर्ने। न समयमा खाना खाने फुर्सद हुन्छ, न परिवारसंग बसेर गफ गर्ने। सधै पैसा थोरै हुन्छ।को भन्दा को कम भन्दै हामि निरन्तर दौडिरहेका हुन्छौ लिगलिगे कोटका राजाहरु जस्तै। जब अकल्पनीय विपद आइपर्छ जिबनमा, तब सम्झन्छौ आफ्नै बिगतलाई। निराजनलाई हिजोसम्म घरमा ससुराबा संग संगै बसेर खाना खाने फुर्सद थिएन। तिन बर्षकी छोरिसंग बसेर खेल्ने फुर्सद थिएन।आज एकाएक अकल्पनीय बिपत्ति आइलाग्यो।जसरि भएपनि फुर्सद निकाल्नै पर्ने भयो। रुमकान्त सर हिजो सम्म जे कुरामा चिन्तित हुनुहुन्थ्यो आज आफैलाई त्यो घटना घट्ला भनेर कसले कल्पना गर्ने। आज उहाँ जिबन मरणको दोसाधमा हुनुहुन्छ। न बोल्न सक्नुहुन्छ, न मनको कुरा भन्न सक्नुहुन्छ। न भोक लागेको बेला खाना खान सक्नुहुन्छ। न कसैसंग दुख नै साट्न सक्नुहुन्छ। कहाँ न कहाँ पुगेर यसरि हस्पिटलमा बस्नु पर्दा उहाँको मनभित्र के बितेको छ कसलाई के थाहा?
यिनै कुराहरु मनमा खेलाउदै कतिबेला केनडि स्टेसन पुगेछु पत्तै पाइन। मान्छेहरु सबै ट्रेनबाट ओर्ली सक्दा पो झसङ्ग भएर उठे। भोक पनि लागेन। तिर्खा पनि लागेन। नजिकैको टिम हर्टनमा पसेर एक कप कफी लिए, र घरमा गए।
भोलिपल्ट कामबाट फर्के पछाडी निराजनलाई फोन गरे। बुवाको स्वास्थ्य अवस्थाको बारेमा बुझे। 'बुवाको अवस्था झन् झन् नाजुक हुदै गएकोले गर्दा डाक्टरहरु अर्को सर्जरी गरिहाल्नु पर्ने अवस्थामा पुगेको जानकारी उनले दिए। मैले 'पैसो के कति लाग्छ ? केहि सहयोग गर्नु परे भन्नुस है' भनेको थिए तर उहाँले 'पैसोको कुरा पछि गरौला। अहिलेलाई उहाँको स्वाथ्यलाभको कामना मात्र गरौ' भन्नुभयो। मैले नलिना भाउजुलाई पनि फोन गरेर कुराकानी गरे। यो भन्दा अघि मैले कहिले पनि फोन गरेको थिइन। उहाँ धेरैबेरसम्म रुनुभयो। 'मैले परिवारमा को को कहाँ कहाँ हुनुहुन्छ?' भनेर सोधेको थिए। रुमाकान्त सरका दुई छोराहरु र छोरी एउटी मात्रै रहेछन। एउटा छोरा अस्ट्रेलिया र अर्को छोरा जापानमा रहेछन। नेपालमा नालिनाकी आमा एक्लै हुनुहुदो रहेछ। 'अझैसम्म बुवा बिरामी भएको खबर दिएका छैनौ। यतिका दिन भयो, नराम्रो खबर हावाले पनि पुर्याउछ भन्छन। आमाको हालत के होला यो खबर सुनेर' भन्दा भन्दै हिक्क हिक्क गर्दै रुनुभयो नलिन भाउजु । 'छोराहरुलाई नि ? ' मैले सोधे। 'दाईहरुलाई त उसैदिन खबर गरेको हो। के गर्ने उहाँहरुले नै आमालाई खबर नगरौ भन्नु भएको थियो। 'बुवा आमालाई संगै बोलाएको थियौ। तर उहाँ दमको रोगि भएकोले आउन मान्नु भएन। अहिले यस्तो बित्यास पर्यो। '
अर्को दिन पब्लिक होलिडे थियो। म खाना खाएर हस्पिटलमा पुगे। निराजन र नलिना भाउजु संगै हुनुहुन्थ्यो। बिदाको दिन भएपनि खासै मान्छेहरु आएका थिएनन्। निराजनको अनुहारमा अत्यास लाग्दो रंग पोतिएको थियो। मैले सामान्य 'हाई हेलो' भन्दा अरु कुरा तुरुन्त सोध्न सकिन। 'डाक्टरहरुले मुटुको प्रत्यारोपण नै गर्नु पर्ने कुरा गरेका छन्। मुटु प्रत्यारोपण गरेको एक मिलियन भन्दा पनि बढी लाग्छ रे। हामीहरु त अल्लमल्ल परेको छौ। ढिलो भयो भने गाह्रो हुन्छ भनेका छन् ', निराजनले भन्नु भयो। ' मैले जसरि भएपनि उपचार गरौ। छोराहरु संग पनि सरसल्लाह गरौ। खर्च इन्सुरेन्सले नपुग भयो र हामीले पनि सक्ने अवस्था भएन भने सहायोग उठाउला। 'रात बिते अगरात पलाउछ',भन्ने सल्लाह दिए। सल्लाह दिन जति सजिलो हुन्छ, काम गर्ने मान्छेलाई त्यति नै गाह्रो हुन्छ। तर के गर्ने। सल्लाह दिनु भन्दा म संग दिने कुरा नै पो के थियो र।
त्यो दिन मैले बुवालाई भेट्न पनि पाइन। निराजनले 'यदि तपाइको फुर्सद छ भने एकैछिन भाउजुसंग बस्नुस। म बैंक सम्म पुगेर आउछु', भन्दै बाहिर निस्किनु भयो। उहाँ निस्केको एकैछिनमा सुर्य र रमेश आइपुगे। हामि गफ गर्दै थियौ ठिक त्यतिबेला नलिना भाउजुकोमा नेपलबाट फोन आयो। फोनमा कुरा गर्दा गर्दै उहाँ रुन थाल्नु भयो। एकैछिनमा भुईमा गर्लम्म ढल्नुभयो। निधारमा चिट् चिट् पसिना थियो भने आँखा को मुभमेन्ट रोकिएको थियो। हामि सबै अत्यासमा पर्यौ। हस्पिटल कै स्टाफले उहाँलाई तुरुन्त विलचियरमा राखेर आकष्मिक सेवा कक्षमा लागि भर्ना गरे। मैले निराजनलाई फोन गरेर 'आउन कतिबेर लाग्छ' भनि सोधे तर अरु केहि बताइन। अर्को दुर्घटना हुने डर लागेको थियो मलाई।'दशा लाग्यो भने दश थोक हुन्छ भनेको यहि हो। ' पछि थाहा लाग्यो नेपालबाट नलिनाको अङ्कलले फोन गरेर आमा बिरामी परेर काठमान्डौ टिचिंग हस्पिटलमा भर्ना गरेको कुरा सुनाएका रहेछन। फोनमा कुरा गर्दा गदै ढलेकी थिईन उनि। केहि घण्टा भित्रै सामान्य अबस्थामा आएकी नलिनाको अनुहार फ्युज गएको बल्ब जस्तै भएको थियो। यस्तो विपतको बेला सम्पूर्ण परिवार नै छिन्न भिन्न थियो।पाँच जनाको परिवार पाँच देशमा जस्तै भएको थियो। यता रुमाकान्त सर छोरीज्वाईको सरणमा जिबन मरणको दोसाँधमा थिए भने उता नेपालमा तिन छोराछोरीको आमा एक्लै हस्पिटलको बेडमा मृतुसंग जुध्दै हुनुहुथ्यो। जिबन सैलिको खोजीमा होस् या बढी पैसाको खोजीमा बिदेशिएका हामि जस्तै लाखौ मान्छेहरुको बास्तबिक जीवन संग साक्षात्कार हुदै थिए म।
भोलिपल्ट रुमकान्त सरको मुटुको प्रत्यारोपण गरियो। भाग्यबश उहाँले जिबनदान पाउनुभयो।उहाँको जिबनदानले सबैलाई खुशी दियो। नलिना भाउजु भने आमाको पिरले गर्दा सार्है मर्माहक देखिन्थिन। निराजन हस्पिटलको बिल हेरेर झन्डै बेहोश जस्तै भएको थियो। हामीहरुले सक्दो चन्दा उठाएर सहयोग गर्ने भन्दै अलिकति भएपनि आड भरोसा दियौ।
तर मान्छेको खुसि कर्कलाको पानि जस्तै कति छिटै चिप्लिएर जान्छ कसलाई के थाहा। नेपालमा उनकी धर्मपत्नीको मृत्युको खबर पनि एकसाथ आयो। क्यानाडामा छोरिको निम्तोमा गएका आफ्नो लोग्ने सिकिस्त बिरामी भएको सुनेपछि एक्कासी ढलेकी उनि तिन दिनदेखि महाराजगन्जको शिक्षण अस्पतालमा भर्ना भएकी थिइन। अस्ट्रेलियाबाट क्यानाडा आइपुगेका जेठो छोरा दिलेन्द्रको खुसि पनि पानिको फोका जस्तै भयो। न उनले बुवालाई आफुसंग लिएर नेपाल फर्कन सक्थे तुरुन्त न आमाको मृतुको कुरा बुवालाई सुनाउन नै। डिस्चार्ज भएको भोलिपल्ट उनि काठमाडौँ फर्के। उनले बुवालाई आमाको बारेमा केहि पनि सुनाएका थिएनन्। बुवाको स्वास्थ्य अवस्था राम्रो नहुदा सम्म मृतुको खबर कसैले पनि नसुनाउने सल्लाह पनि भयो। नलिना भाउजु पनि दाजु संगै नेपाल जान खोज्नुभएको थियो। तर परिस्थिति त्यति सहज थिएन। तिन बर्षकी छोरि र बिरामी बुवालाई हेरचाह गर्न त छदै थियो अर्कोतिर काम नगरी घरको किस्ता तिर्ने पैसा हुदैनथ्यो। निराजनको पनि रियल स्टेटको काम स्लो चलिरहेको थियो। उसँग भएका ग्राहकहरु पनि सबै अन्तै लागेका थिए। समस्या परेका बेला उसका आफ्नै भन्ने साथीहरुले पनि खासै मद्दत गरेनन्।
परिस्थितिको नंग्राले निराजनलाई झन् पछि झन् अठ्याउदै लग्यो। ऋण लाग्यो।पारिबारिक संबन्धमा पनि दरार देखिन थाल्यो। छोरी ज्वाईको बिचमा खटपट परेको कुरा रुमाकान्त सरलाई बुझ्न कत्तिपनि बेर लागेन। आफु त्यसको कारक बनेको जस्तो लाग्न थाल्यो। उहाँले छिट्टै नेपाल फर्कने निर्णय गर्नु भयो। छोरी ज्वाईसंग सल्लाह गरेर उहाँ एक्लै भएपनि नेपाल फर्कने कुरा पक्का गर्नु भयो। सोहि बमोजिम निराजनले नेपालको प्लेन टिकट काटिदिए। अर्को महिना उहाँ एक्लै नेपाल फर्कनु भयो।
नेपाल फर्के पछि उहाँले केहिदिन काठमान्डू मै बिताउनु भयो। आफन्तहरुले पनि कति दिन पो राख्न सक्थे र। एकदिन उहाँलाई आफ्नै घर पाल्पा फर्कनु भयो।
घरको मूल ढोकामा भोटे ताल्चा लगाएको थियो। श्रीमतीको मृतुसंगै त्यो घरको पनि प्राण गएको थियो। घरको दलान सम्म बनमारा पलाएको थियो। घरका भित्ताहरुमा लेउ लागेका थिए। आगनमा हावाले जम्मा गरेका प्लास्टिक, कागत र पातहरु जम्मा भएका थिए। रमाकान्त सर गाँउ पुग्ने बितिकै धेरै मान्छेहरुले खासखुस गर्न थालिसकेका थिए। रुमाकान्त सर घरको आगनमा पुग्दा नपुग्दै तल माथिबाट केहि छिमेकीहरु जम्मा भए। हर्कबहादुरले "दाई हिड्नुस आज हाम्रो घरमै बसौ। भोलि सबै मिलेर घर सफा गरौला र बल्ल तपाइँ बस्नुहोला। महिनौ देखि कोहि नबसेको घरमा किरा किरिहरु होलान। " रुमाकान्त सर चुपचाप एकोहोरो घरको ढोका हेरेर बस्नुभयो। केहि बोल्नु भएन। महिनौ देखि दारी नाकाटेकाले गर्दा अनुहार बारुलाको चाको जस्तो देखिएको थियो। कपडाहरु पनि मैला थिए। सधै चिटिक्क परेर हिड्ने हसिलो फरासिलो अनुहारको मान्छेको एकाएक माग्नेको भेषमा देख्दा गाउलेहरु कानेखुसी गर्दै पनि थिए। एकछिन पछि रुमाकान्त सर हर्कबहादुरको पछि पछि उनकै घर जानुभयो।
त्यो रात 'मलाई खाना खाने मन छैन' भन्दै उहाँ सुत्नको लागि बाहिरको एउटा कोठामा जानुभयो।अर्को दिन बिहान घरका सबैजना उठे। गाइबस्तुको स्याहार सुसार गरिसकेर घरका सदस्यहरु आआफ्नो काममा निस्के। रुमाकान्त सर अबेरसम्म पनि नउठ्दा हर्कबहादुर एकछिन 'थाकेको मान्छे सुत्नुभयो होला ' भन्ठानी आफ्नै काममा ब्यस्त भए । तर अबेरसम्म पनि साइसुइ केहि नभए पछि उनि ढोका ढक ढक गर्दै बोलाउन थाले। धेरैबेर सम्म बोलाउदा पनि भित्र केहि आवाज नआउदा, हर्क बहादुरको मनमा चस्को पस्यो। पापी मनले के के सोच्यो के के। केहिबेर पछि ढोका खोलेर भित्र हेर्दा बिस्तारा रित्तो थियो। हर्कबहादुर एकछिन स्तब्द भयो। यताउति हेर्यो र बाहिर निस्किए र सरासर रुमाकान्त सरको घरतिर लागे । घरको ढोकामा भोटे ताल्चा पहिलेदेखि नै लगाइएको थियो। घरको वरि परि हेरे। उनि कतै पनि थिएनन्। हर्कबहदुर्ले कतै गाउतिर गएका छन कि भनेर सबै तिर सोधे। उनि कतै पनि थिएनन।
रमाकान्त सर त्यो दिन देखि गाँउमा कहिले पनि देखा परेनन। आफन्तहरु संग सम्पर्क गर्दा पनि कतै मोर्दो जिउदो थाहा नलागेपछि अन्तत हर्कबहादुरले सबै विवरण खुलाएर गाउकै पुलिस चौकीमा निबेदन हाले। तर उनि कतै पनि भेटिएनन। गाउलेहरु 'कतै बिरक्तिएर आत्महत्या पो गरेकी ' भनेर सबैतिर चनाखो भै खोज तलासी पनि गरे। तर कतै पनि केहि अत्तो पत्तो भएन। रुमाकान्त सर एकाएक मध्यरातमा गुमनाम हुनुभयो।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home