Wednesday, September 2, 2026

रसुवा र नुवाकोटमा अचानक आएको बाढी र त्यसको प्रभाब

सेतो कपडाले बेरेको लाशलाई बाँसको घारोमा चारजना मान्छेहरुले बोकेर एकोहोरो संख बजाउदै खोलातिर लैजादै गर्दा डरले छाती जोड जोडले धड्किन्थ्यो। मान्छेहरु दाउरा बोकेर पछि पछि दौडिरहेका हुन्थे। हामी डरले बाटो छोडेर टाढा भाग्थ्यौ वा लुक्नालाई घरभित्र पस्थ्यौ। लाशलाई हेर्न हुदैन भन्थे। मृत्यु भन्ने चिज निकै भयाबह जस्तो लाग्थ्यो। कुनै मान्छे मोरेको समाचारले गाँउ नै स्तब्ध हुन्थ्यो। कहिलेकाँही त एकोहोरो संख बजेको सुन्नासाथ् हात खुट्टा थर्थरी काँप्थ्यो। जब माओंबादी ससस्त्र द्वन्द शुरु भयो,मृतुका समाचारहरु बढ्न थाले। शुरुशुरुमा दुइतिन जनाको मृतुको समाचारले घर घरमा सन्नाटा छाउथ्यो। त्यसपछि मृतु हुनेको संख्या बढ्दै जान थाल्यो। मान्छेहरु दोहोरो भिडन्तमा परि मर्ने दुइचार जनाको त वास्तै गर्न छाडे। अब कुनबेला धेरै हताहती भएको समाचार आउछ भन्दै मान्छेहरु पर्खाइमा बस्न थाले। संचारमाध्यमहरुले छाप्ने मृतकहरुको फोटो हेर्न समेत गाह्रो हुन्थ्यो। 

लमजुङस्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई माओवादी कार्यकर्ताहरूले १७ जनवरी २००२ मा निर्ममतापूर्वक हत्या गरे। उनको बर्बर तबरले हत्या गरिएको तस्बिर पत्रपत्रिका हेर्दा रौँ ठाडा हुन्थे। पछि त्यो भन्दा बिभत्स दृश्यहरु आउन थाले। चितवनको बाँदरमुडे घटनासम्म आइपुग्दा नेपाली समाजले दिनदिनैजसो हुने हत्याहिँसाका घटनाहरुलाई सामान्यरुपमा लिन थाले। सडकमा राज्य बिरुद्द आन्दोलन भयो। धेरै धनजनको क्षति भयो। तर मान्छेहरुले ससस्त्र द्वन्दमा मृतु हुने मान्छेहरुको संख्यासंग तुलना गरे। त्यो संख्या खासै ठुलो लागेन।  नेपाल सरकार र माओबादीबीच शान्ति सम्झैता भयो ।  जेन जी बिद्रोहसम्म आउदा हजारौको संख्यामा नेपालीहरुले एकआपसमा जुधेर मृतुबरण गर्न परेको छ। पहिले पहिले पत्रपत्रिकामा छापिने मृतकहरुको फोटो जेन जी आन्दोलन सम्म आउदा लाइभ छायांकन हुन थाल्यो। सामाजिक संजालको दुरपयोग गरेर एउटा मान्छेले अर्को मान्छेको मृतु नाटक छायांकन गरेजस्तै लाइभ गर्न थाल्यो। शुरु सुरुमा यस्ता श्रब्य दृश्य सामग्रीहरुले हामीहरुले असह्यै पिडा दिन्थ्यो। 

राजनीतिक अस्थिरताले गर्दा निम्तिएका बिपधहरु बाहेक नेपालले थुप्रै अन्य बिपदहरु पनि बारम्बार भोग्नु परेको छ। सन् २००८ मा कोशीमा बाढी आउदा लगभग ५५/६० जना मान्छेहरुको ज्यान गएको थियो भने हजारौ मान्छेहरु विस्तापित भएका थिए। २०१२ मा कास्की जिल्लामा बाढी आउदा चालिस भन्दा बढी मान्छेहरुको मृत्यु भयो भने सयौ हराएको समाचार आयो। २०१४ मा सिन्धुपाल्चोकमा आएको बाढी पैरोमा परि सयौ मान्छेहरुले ज्यान गुमाए। २०१५ मा आएको भूकम्पले दसौहजार मान्छेहरुको ज्यान गयो भने खर्बौको भौकिक सम्पति ध्वस्त भयो। त्यसको दुइवर्ष नबित्दै २०१७ मा तराइका ३५ जिल्लामा आएको मनसुन बाढी पहिरोले लगभग १३४ जना मान्छेहरुले ज्यान गुमाए भने राज्यले  खर्बौको  क्षति व्यहोर्नु पर्यो।

त्यसैगरी  २०१९ मा बारा पर्सा जिल्लामा आएको सक्तिशाली हावाहुरीले ३५ जनाको  ज्यान गयो भने हजारौ घाइते भए। कैयौ घरबार बिहिन हुन पुगे। कोभित १९ को महामारीले झन्डै १२००० मान्छेहरुको मृतु भयो। त्यस्तै २०२१ मा कर्णाली र महाकाली नदीको तटीय क्षेत्रमा आएको बाढीले सयौ मान्छेहरुको ज्यान लियो भने अकल्पनीय भौतिक क्षति हुन पुग्यो। २०२३ मा जाजरकोटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पले एकसय पचास भन्दा बढी मान्छेहरुको ज्यान गयो भने असाध्यै धेरै भौतिक संरचनाहरु ध्वस्त भए। २०२४ सेप्टेम्बरमा आएको बाढी पहिरोले  काठमाण्डौ समेत गरि २४६ मान्छेहरुको ज्यान लियो भने लाखौ मान्छेहरु विस्तापित हुन पुगे। भर्खरै २०२६ अगस्टमा २६ मा हिमपहिरोले अचानक ल्याएको भिषण बाढीले गर्दा रसुवा, नुवाकोट, चितवन सम्म पुर्याएको अकल्पनीय क्षतिले देश पूर्ण रुपले घाइते छ। यो लेख तयार पार्दा सम्म १२०० भन्दा बढीको मृतु भैसकेको छ भने हजारौ हराइरहेका छन्। यो आकडा प्रतिघन्टा बढ्दो क्रममा छ। 

यसरि सरसर्ती हेर्दा के देखिन्छ भने बिगत केहि वर्षदेखि लगातार रुपमा बाढी पहिरो बढ्दै गैरहेको छ। ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ।  तर बिडम्बना के देखिन्छ भने झन् पछि झन् मान्छेहरुको संवेदना हराइरहेको छ। जो मान्छेहरु जलबायु परिबर्तनको उच्च जोखिममा छन् या भनौ बाढी पहिरोको जोखिममा छन्, ति मान्छेहरुमा अलिकति भएपनि सतर्कता देखिनु पर्ने हो। एकअर्कोमा दया माया र करुणाको भाव देखिनु पर्ने हो।  तर त्यस्तो देखिदैन। 

कतिपय मान्छेहरु यहि  विपतलाई उत्सब झैँ मानेर फोटा र भिडियो खिच्न ब्यस्त छन्। उनीहरुलाई जसरि हुन्छ भाइरल हुनु छ। तिनै भाइरल भिडियोहरु डाउनलोड गरेर वा स्क्रिन रेकर्ड गरेर त्यसैको एकछेउमा आफ्नो अनुहार देखाएर बिदेशमा बस्ने छेपारे कन्टेन्ट क्रियटरहरुले  (छेपाराले झैँ  आँखा टल्काउदै र टाउको हल्लाउदै ) भिडियो पोस्टएको देख्दा अचम्म लाग्छ ।  क्यानेडियन लेखिका  मार्गरेट एटवुडले धेरै वर्ष पहिले नै  "Oryx and Crakeमा  हिंसा र दुःखद घटनाहरूलाई बारम्बार देख्दा मानिसहरू कसरी भावनात्मक रूपमा संवेदनहीन  हुँदै जान्छन् भन्ने देखाएकी छन्। उदाहरणका लागि, जिमी र क्रेकले इन्टरनेटमा हिंसात्मक भिडियो तथा मृत्युदण्डका दृश्यहरू बारम्बार हेर्दै जाँदा सुरुमा स्तब्ध हुने  उनीहरुको समबेदना क्रमशः हराउँदै जान्छ र हत्या हिंसा उनीहरुको लागि सामान्य मनोरञ्जनको बिषय बन्छ । 

अहिले सामाजिक संजालमा जुन गतिविधिहरु हामीले देखिरहेका छौ, त्यो यस्तै  कुनै Distopiyan उपन्यासहरुमा देखाइने दृश्य भन्दा कम छैन। के हामि बास्तबमै  Dystopian समाजमा त बाँचिरहेका छैनौ ? रोइरहेको मान्छेलाई राहत बाड्ने अर्को मान्छे हाँस्दै भिडियो बनाइरहेको छ । बाढीले बगाएर ल्याएको लाशबाट मान्छे सुनको सिक्री खोज्दै छ । अर्को मान्छेलाई त्यहि दृश्य कन्टेन्ट बनिरहेको छ । कहिँ कतै देखिदैन समबेदना। कतिपय भिडियोहरु हेर्दा लाग्छ अब  एउटा मान्छेले अर्को मान्छेको माशु खान मात्रै बाँकी छ। 



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home