Tuesday, January 16, 2024

कतै गोत्र जुध्यो कि ( भाग २ )

 कतै गोत्र जुध्यो कि ( भाग २ )

साँझपखको समय  थियो। लेक ओन्टारियोबाट सिरसिर हावाले फुलेका  रौलाई फुरफुर गर्दै हल्लाईरहेको थियो। तलाउको छेउछाउ ठिङ्ग उभिएका म्यापलका रुखबाट रंगिन पातहरु नाँच्दै मेरो वरिपरि आशन खोजिरहेका थिए। घरि घरि हावाको झोक्कासंगै पानीका कणहरु मुखमा आएर ठोकिन्थे , र बाताबरणलाई नै रोमान्चित गर्थ्यो।

फोन हातमा निकाल्न साथ बुढी औलाले फेसबुक थिचिहाल्छ। नसा नै लागेको छ। नोटिफिकेसनमा हेरें।  फेसबुक रिक्वस्ट चिनेका भन्दा नाचिनेकाहरुको धेरै थियो। स्क्रोल गर्दै जाँदा चिनेको नाम देखे। क्लिक गरेर फोटो हेरे। बच्चाको फोटो थियो। स्ट्रलरमा बसेर मुसुक्क हाँसेको। पुक्क पुक्क फुलेका गाला, कालो आँखाको नानि धपक्क बोलेको, कति निर्दोष अनुहार, आहाँ। 

मनमा खुल्दुली बढ्यो। प्रोफाइल डिटेल हेर्दा थाहा भयो उनी अस्ट्रेलियाको क्यान्मोरा भन्ने सिटीमा बस्दी रहिछन्। स्क्रोल गर्दै गर्दै केही बर्ष अगाडीसम्म पुगे। उनले यो भन्दा अगाडी अन्तिमपल्ट पोस्ट्याएको फोटो बेबी सावरको रहेछ। थुप्रै साथिहरु उनको पछाडी उभिएर मुस्कुराइरहेका थिए। अगाडी उनी , अनि उनको गोलमोल पेट र त्यसमाथि एक सुन्दर युवकको हात। निकै सुहाएको देखिन्थ्यो जोडी। 

अनुहार नियालेर हेरें। चिनेका आँखा, चिनेको हाँसो, चिनेकै सुन्दर केश। अरु सबै नचिनेका। 

तुरुन्त रिक्वस्ट एक्सेप्ट गरें र त्यहि फोटोमा गएर कमेन्ट गरे," कति राम्री हौ के,  तिमि ?"

दिनभर रिप्लाई कुरी बसें। साँझपख नोटिफिकेसन आयो। क्लिक गरे। हार्टको इमोजी संगै थियो "होला खुबै!" 

पढ़नासाथ् सम्पूर्ण शरीर रोमान्चीत भयो। अनायासै मुस्कुराएछु। राहुलले देखेछ र भनिहाल्यो," कोस्लाई हो यस्तो मुस्कान ?" 

मैले उसको कुरामा खासै ध्यान दिइन। मनमनै के जवाफ फर्काउ भनेर गुद्गुदिएको थिएँ। 

'अझै छोडेकी छैनौ तिम्रो थेगो', लेखे। डिलिट गरें। 

'यतिका बर्षपछि कसरी याद आयो ', लेखें। डिलिट गरें। 

थुप्रै पल्ट लेखे, र डिलिट गरे। र अन्तिममा लेखें,' एक्लै ?'

'किन?' स्माइलको इमोजी संगै आयो। 

'धोकेबाजको अनुहार हेर्न मन लग्यो', लेखें।  डिलिट गरें। 

'तिम्रो मुस्कान हेर्न मनलाग्यो', लेखें डिलिट गरें। 

'तिमीलाई हेरेर कुरा गर्न मन लाग्यो', लेखें र सेन्ड गरें। 

"होला खुबै। यत्रो वर्षसम्म हेर्न मन लागेन।  मैले फ्रेन्ड रिक्वेस्ट पठाए पछि बल्ल ठिक्क पार्न भयो",  उनले लेखिन। 

मनभरिको जवाफ दिउ कि झैँ लाग्यो। जसले मनमा आशा जगाएर, मुटुमा प्रेमको दियो जलाएर केहिबेर बल्न समेत नदिई निभाएर हिड्यो त्यसैले उल्टै मलाइ दोष दिने। तर किन किन रुखो बन्न मन मानेन। सम्पर्क नगरी एक्कासी किन हराएकी थिइन नबुझी दोष लगाउन पनि भएन। अनि मन्दिरको त्यो दृश्य झल्झली याद आयो।  उनका पनि बाध्यताहरु थिए होलान।  जे होस् माया त रैछ। यदि माया नभएको भए यतिका वर्ष पछि फेसबुकमा खोजेर रिक्वेस्ट पठाउने थिइन होली।  मनले यस्तै यस्तै सोंच्यो। 

"बाबु त तिमि जस्तै कति राम्रो हो भन्या। बुढा पनि ह्यन्सम भेटिछौ", मैले लेखें। 

"हजुर जस्तो ह्यान्सम छैन मेरो बुढा," हाँसेको तीनवटा इमोजीसंगै आयो। मेरो पनि त मन हो खुशी नहुने कुरै भएन। के लेखौ के लेखौ भयो। उनले केहि लेख्दै गरेको देखे। तिन वटा थोप्ला धेरै बेर सम्म हल्लेको हल्लै भयो। तर मेसेज केहि आएन हल्लेर यतिकै हराए। 

"किन हो लेख्दै मेट्दै गरेकी ?" मैले लेखे। 

उताबाट हाँसेको इमोजी मात्र आयो। 'तिमीले के गर्दै छौ ?" सोधे।  सोध्न पो नहुने थियो कि ?  एकछिन सम्म मेसेज हेरिनन्। त्यहि मौकामा डिलिट गरे र अर्को मेसेज लेखे, "खाना खायौ ?"

त्यो मेसेज पनि अनसिन नै भयो। त्यसपछि मैले पनि लेख्न छोडेर बाहिर गार्डेनमा निस्के। तरकारीको बिरुवा घामले सुक्न थालिसकेका रहेछन। पानि हाले। जुकुनीको बोटलाई उखेलेर अर्को ठाँउमा सारे। ध्यान  फोनमै थियो। घरिघरी  पकेटबाट निकालेर केहि रिप्लाई आयो कि भनेर हेर्थे। तर मेसेज हेरेको देखियो। रिप्लाई आएन। 

किन किन मलाई उनको पुरानो फोटाहरु हेर्न मन लाग्यो। पातलो शरीर, लामो सलक्क बगेको कपाल, त्यो निर्दोष हाँसो कतै भेटिन्छ कि भनेर फेसबुकका फोटाहरु सबै हेरे। तर कतै पनि भेटिन। प्राय फोटा बिहे पछि खिचेका, अस्ट्रेलियाकै कुनै पार्क या समुन्द्रको छेउछाउ खिचेका थिए। ति सबैमा मैले खोजेको मुस्कान, 'होला खुबै' भन्ने भाव भेटिन। बनावटी हाँसो, मोटाउदै गएको शरीर, तीजमा साडी लगाएर आठदश जना शारिर बाङ्गो बनाएर उभिएका फोटा मात्र भेटिए।  हरियो कुर्तामा चिटिक्क परेको शरीर बिहे पछाडी पुरै लोप भएछ भन्ने लाग्यो।

मनमनै बिहे अगाडिको हँसिलो अनुहार सम्झे। नारायणी नदि  किनारमा माकुरोले तर्साउदा अङ्गालोमै बेरिन आएकी थिइन्।  मकवानपुर गढीमा घुमाउरो पाराले प्रपोज गर्दा लाजले कस्ती राती भएकी थिइन। बिगतका सम्झनाहरु सबै ताजा बनेर आए। शरीर सयौ माइल टाढा भएता पनि मन हेटौडाको त्यहि 'ट्युसन सेन्टर, हुप्रा चौर, डेरा गरेर बसेको कोठा, बन बिज्ञान क्याम्पस वरिपरि नै डुलिरहेको थियो। 

पुन: फोन निकाले र लेखे, " तिमीसंग भिडियो कल गर्न मन लाग्यो। समय कतिबेला मिल्छ भन है'।  कतै बुढाले देखेर उल्टापाल्ट  सोच्ने हो कि भन्ने लग्यो। डिलिट गर्न लागे।  दुइवटा अक्षर डिलिट नगर्दै दिमागले अर्कै सोंच्यो,"हाँ के पो होला देख्यो भने नि। नराम्रो केहि लेख्या छैन। लेख्दै रिमुभ गर्दै गरेको देख्यो भने झन् शंका  हुन सक्छ।" सेन्ड गरे। 

धेरैबेरसम्म रेस्पोन्स आएन।  आउछ कि भनेर कुरी बसें। राती अबेर सम्म फोनको स्क्रिन हेर्दै बित्यो। अर्कोदिन बिहान उठेर कामतिर हिडें। दिनभर कामको व्यस्तताले गर्दा फोन चलाउने फुर्सद मिलेन। बेलुका कामबाट निस्केपछि मेसेन्जर चेक गरे। कुनै रिस्पोन्स थिएन। तर मेसेज चाँही उसले हेरिसकेकी थिइ। अचम्म लाग्यो जिस्काएर भाग्ने पुरानै बानी अझै गएको रैनछ। 

मलाई पनि घरि घरि मेसेज लेख्न मन लागेन। लरेन्स र बेलामीको जन्सननिर स्पोर्ट्स बार थियो त्यतै छिरे। लोकल बियर अर्डर गरेर 'पाउला हकिंन्सले लेखेको 'द गर्ल अन द ट्रेन ' पढ्न लागे। किताब पढ्दै जाँदा महिला पात्रहरुको चरित्र चित्रणले मेरो मन छोयो। मुख्य पात्र  रेचलको मानशिक अवस्था निकै दयनिय थियो। डिभोर्सको पिडा बिर्सनको लागि बिन्ज ड्रिंक्स गर्न थालेकी छे। मनमनै सोचे,  " मेरो म्यासेजले उनीहरु लोग्ने स्वास्नीको बीच ठुलै झगडा हुन के बेर ? यस्तै साना तिना कुराले ठुलै रुप लिएका अरुपनि घटनाहरु मलाइ थाहा थियो। आफुले पनि फोनबाट सबै मेसेहरु डिलिट गरे। 

"आइ एम रियल्ली सोरी। फोनको ब्याट्री नै डेड भएछ", उताबाट मेसेज आयो। 

"फोनको ब्याट्री डेड हुने बहाना त नेपाल देखि कै हो, हैन र ?", मैले लेखे। 

"होला खुबै" हाँसेको इमोजीसंगै आयो। 

यहि थेगो त सारै मन पर्थ्यो मलाइ। पढ्दै कस्तो आनन्द लाग्यो। अर्गानिक फ्लेभर। 

"पुरानो थेगो अझै बिर्सेकी छैनौ" हार्टको इमोजीसंगै पठाए। 

बाङ्गो मुख गरेर हाँसेको तीनवटा इमोजी रिप्लाई आयो। संगसंगै आयो , " हामि नायग्रा फल्स घुम्न आउदै छौ। भेट्ने होइन ?" 

"आर यु स्योर ?" लेखे।  डिलिट गरे।  फेरी लेखे , "होला खुबै!" र  कन्फुजनको इमोजीसंगै पठाएँ। 

त्यतिबेलै उनले टिकटको स्क्रिनसट गरेर पठाईन। अर्को महिनाको पाँच तारिकको टिकट थियो। टिकट दोहोर्याई तेहर्याहि हेरे। उनको मात्र टिकट थियो। 

"को को आउने हो ?" 

"टिकटमा देख्नु भएन। "

'एक्लै।"

"किन?  डर लाग्यो?"

"बुढो र छोरोलाई एक्लै छोडेर आउने ?" मैले सोधे। 

लामो समयसम्म रिप्लाई आएन। मनमा कौतुहलता झन् बढेर आयो। पुन: टिकट हेरे। यु एसको भर्जिनियाबाट पो डिपार्चर रहेछ। मैले उनी अस्ट्रेलियाको क्यन्मोरा मै बस्छिन होला भन्ने सोचेको थिए। फेसबुक प्रोफाइलमा त्यहि ठेगाना थियो।  दिमागमा पनि  अस्ट्रेलियाबाटै च्याट गर्दै होलिन भन्ने थियो। टिकटमा भर्जिनिया देख्ने बितिकै म अक्क न बक्क परे। यदि उनलाई म क्यानाडामा बस्छु भन्ने कुरा पहिले नै थाहा थियो भने टिकट लिनु भन्दा अगाडी नै किन सम्पर्क नगरेकी?  जे जसो भएता  पनि ऊ एक्लै नायग्रा फल्स घुम्न आउने कुरो मलाइ त्यति पत्यार लागेन। 

" इट ह्याज अ लोङ्ग स्टोरी", रोएको इमोजीसंगै रिप्लाई आयो। 

'हर्ड  मेलोडिज आर स्विटर देन अनहर्ड', छोटकरीमा भन न । 

"होला खुबै ! उल्टो भयो" संगै  स्माइलको इमोजी। 

"बुढालाई एक्लै छोडेर के अर्ने विचार छ ", मैले लेखे।  तुरुन्तै डिलिट गरे। मनमा निकै खुल्दुली बढ्यो। 

"पछि कुरा गरौला, बाई" हार्टको इमोजीसंग आयो। 

मैले 'केहि नलेखी 'हार्टको इमोजी' मात्र सेन्ड गरे। 

अर्को दिन उनीसंग पुन कुरा भयो। उनले "लोङ्ग स्टोरी" भन्न चाहिनन्। मैले नायाग्रमा  उनलाई भेट्ने बाचा दिए। 

...................................................................................................................................................................

...................................................................................................................................................................

अगस्ट महिनाको पाँच तारिक। न्यानो मौसम थियो। म्यापल र ओकका रुखहरुमा कल्कलाउदो बैश चढेको थियो। बिहान पाँच बजे नै गाडी स्टार्ट गरे। इन्जिन थर्थराउनसाथ अल्ताफ राजको गित 'तुम तो ठेहेर परदेशी, साथ क्या निभावगे' बज्न थाल्यो। गाडी हाइवेतिर मोडे। दिमागमा भने उसैको तस्बिर झलल थियो। मनमा कता कता डर पनि लागिरहेको थियो। उसको 'लोङ्ग स्टोरी' के होला भन्ने लागिरहेको थियो। एक्लै आएकी  त पक्कै होइन होला भन्ने पनि लाग्छ कता कता ?  ध्यान बाटोमा हुनुपर्ने, एकै छिनमा हावाले उडाएर नायग्रा नै पुर्याउदो रहेछ। घरि घरि जबर्जस्ति फर्काएर बाटोमा ल्याउछु। पुन: फर्केर नायग्रा नै पुग्छ।

 करिब नौ बजे म होटेल 'रामदा' पुगे। ठेगाना त्यहिको थियो। रिसेप्सनमा गएर सोधे। त्यहाँ उनको नाममा कुनै पनि कोठा बुक भएको थिएन। मेसेन्जरमा कल गरे।  उठेन। अरु कुनै नेपालीको नाममा कोठा बुक भएको छ कि भनेर सोधे। त्यो पनि थिएन। पुन: गाडीमा गएर बसे। हिजो त हो उनले "म नायग्रा आइपुगे। म बसेको होटेलको ठेगाना" भनेर 'रामदा होटेलको' अड्रेस पठाएकी। किन ढाँटेकी होलि ? मैले कोठा नम्बर पनि सोध्न बिर्सेछु। त्यहाँ गएपछि भेट भैहाल्छ नि भन्ने लाग्यो। करिब एक घण्टा जति त्यहि गाडीमा बसेर उनीसंग सम्पर्क गर्ने कोशिस गरे।

गाडी निकालेर फल्स भिउको पार्किङ्गमा पार्क गरे। मान्छेहरु त्यहाँको विश्व प्रशिद्द झरना हेर्नको लागि भरिभराउ थियो। त्यतै कतै भेट हुन्छ कि भनेर सबैतिर नजर लगाउदै झरनाको माथि सम्म पुगे। कतै भेटिन। त्यहिको रेस्टुरेन्टमा पसेर खाना अर्डर गरे। खाना पिक अप गर्ना साथ् टिङ्ग गर्दै घन्टी बज्यो फोनमा। 

"आइपुग्नु भन्यो। फोनको ब्याट्री डेड भएको रैछ। बल्ल पो देखे मेसेज। रियल्ली सरि", उसले पठाई। 

जतिबेला उनी गायब हुन्छिन त्यतिबेला सधै बेट्री नै डेड हुन्छ। अब 'दालमा कुछ काला' हे भन्ने लाग्यो भित्रि मनमा। 

"जतिबेला मैले कल गर्छु या टेक्स्ट गर्छु तिम्रो ब्याट्री  डेड हुने कस्तो ब्याट्री हो। भेट्न मन छैन भने म आउने नै थिइन", मैले लेखे। 

"होला खुबै ! जेपीटि ", उनको रिप्लाई आयो। 

"रामादा होटेलमा  तिम्रो नाममा कुनै कोठा बुक छैन भन्यो त। कहाँ हो बसेको?"

"भेटेर कुरा गरौला। तपाई  जहाँ  हुनुहुन्छ, म त्यहि आउछु नि। "

"किन कोठामा बसेर कुरा गर्न मिल्दैन। कि पुरानो सरसंग डर लाग्यो ", मैले लेखे। 

"लामो कथा छ। भेटेर भन्छु ल", उसले भनिन । 

त्यसपछि उसलाई मैले आफु बसेकै ठाँउमा आउनको लागि आफु बसेको ठाँउको ठेगाना दिए। करिब पन्द्र मिनेटमा उनि त्यहाँ आइपुगिन्। हरियो टिशर्ट र निलो जिन्स लगाएकी उनको पेट औसत भन्दा अलि ठुलो देखिएको थियो। सलक्क परेको रौ खुल्ला छोडेर, अनुहारमा हल्का मेकअप गरेकी उनि केटी भन्दा बढी एक आइमाई जस्ती देखिएकी थिईन। मनमनै सोंचे आफु बुढो भएपनि केटीहरु चै सधै तरुनी मनपर्ने जात रहेछ केटाहरुको। 

मलाई देख्नासाथ् उनले मन्द मुस्कान दिदै  नमस्ते गरिन। मैले उठेर अंकमाल गरे।

 " कस्तो मोटी भैछौ है, तिमी" भन्ने आँटेको थिए, तर उनलाई नराम्रो फिल होला भन्ने लाग्यो। फुत्किनै लागेको वाक्य पनि रोंके। 

"कस्ती राम्री भएकी तिमी।  बाटोमा एक्लै कतै देखेको भए चिन्नै नसक्ने मैले," मैले उनलाई बस्नको लागी अनुरोध गर्दै भने।

"होला खुबै!, उनले हाँस्दै भनिन। 

"रामदा होटेलमा तिमीलाई खोजे। तिम्रो नाममा कुनै रुम बुक भएको देखिएन। कहाँ बस्यौ ?", मैले सोधे। 

"मेरो प्रश्नले उनको अनुहारको भाबमा परिबर्तन ल्यायो। उनी एकैछिन अलमलिए झैँ गर्दै भनिन,' त्यै रमदा होटेलमै बसेका छौ।" 

"बसेका छौ?  को सँग ? तिमिले त एक्लै आउने भन्दै थियौ ?"

"एकजना साथि पनि छ। मैले उसलाई यहि आएर भेटेको हुँ ।क्यालगरी देखि आएकी हो। रूम पनि उसैको नाममा बुक छ। त्यसैले होला तपाइले मेरो नाम नभेटेको।"

"खै त तिम्रो साथी ?" 

"किन चाइयो ऊ  ? म भए पुगेन हजुरलाई ", उसले छड्के हाँसो हाँस्दै भनीन । 

"तिम्रो  के भरोसा छ र पुग्नलाई। कतिबेला कहाँ गायब हुने हो थाहै हुदैन", मैले हाँस्दै भने। 

"होला खुबै !", उसले मेरो कुममा मुक्काले टुच्च पार्दै भनिन। 

यहि मौकामा मैले पनि उनको हात समाते। उनले अलि अप्ठेरो मानेझै गरेर हात छुटाउन खोजे झैँ गरिन। तर छुटाइनन्। उनका  औलाहरुबीच मेरा औलाहरु घुसार्दै गर्दा ज्यानाँ हल्का  करेन्ट सल्बलायो। उनको हत्केलामा चिसा पसिना चिटचिटाइसकेको थियो।मैले नजानिँदो तवरले उनका औलाहरु सुम्सुम्याएँ। 

"यहि मात्र हो कि अन्त कतै लैजानुहुन्छ घुमाउनलाई ?"  उनले सोधिन।

 "जाँउ हिड मोटरबोट चढ्न?" 

उनले टाउको हल्लाएर सहमति जनाइन। दुबैजना लाग्यौ टिकट काउन्टर तर्फ। लामो लाइन थियो। करिब आधाघण्टा लाइनमा उभिएपछि हातमा टिकटसमातेर हामि ओरालो लाग्यौ। मोटरबोट चड्ने ठाँउनिर पनि अर्को लामो लाइन थियो। एकजना चुलबुले केटीले प्लटिकको ओभरकोट दीई। दुवैजनाले भिर्यौ।  मोटरबोटको तल लेखिएको थियो,' मेड अफ द मिस्ट।' हाम्रो ठिक अगाडि एकजना बुढीबुढी महिला उभिएकी थिई। मैले अलि आवाज टाँठो गरेर पढेको भएर होला उ हामितर्फ फर्केर मुसुक्क हाँसी। मैले 'हेलो 'भने।  

'डु यु नो द मिथ अफ प्रिन्सेस लेलावाला?', उसले हाँस्दै सोधी। 

प्रसंगबिना के कुरो सोधी होलि भन्ने लाग्यो। 

यो बोटको नामसंग प्रिन्सेस लेलावालाको इतिहाँस जोडिएको छ। 

मैले थाहा नभएको भनेपछि ति महिलाले निकै रोचक तरिकाले भन्न लागिन।  

धेरै वर्ष पहिले यो नदीको छेउछाउ आदिबासीहरुको बस्ति थियो।  उनीहरु सानो सानो समुहमा मिलेर बस्थे। प्रकृतिको पुजारी उनीहरु यो झरनाभित्र कुनै दैविक शक्ति लुकेको भन्ने बिश्वास गर्दथे। यदि कुनै दुर्घटना भयो, गाँउमा कोहि बिरामी भयो भने त्यहि जल देवता रिसाएको भन्ठान्थे। झरनाको पुजा गर्थे। 

 त्यहि  झरानको माथिपट्टिको एउटा गाँउमा आइरोकुस जातकी एउटी निकै सुन्दर महिला बस्थिन । उनको नाम थियो "लेलावाला।" उनलाइ सबैजना प्रिन्सेस लेलावाला भन्थे। गाउकै एक सुन्दर तथा बलिस्ट केटासंग उनको गहिरो  प्रेम थियो रे। 

उनले यति भन्दा नभन्दै हामि बोटमा चढ्ने पालो आयो। उनि शरीरलाई ब्यालेन्समा राख्दै बोटमा चडिन। त्यसपछि हामि चढ्यौ। सबैले क्यामेरा झिकेर फोटाहरु खिच्न थाले। त्यहाँको दृश्य निकै मनमोहक थियो। एकातिर क्यानाडाको झरना हर्सुफल्स  एकतमासले सिंगो हिंउको ताल फुटेर बगे झैँ एकनासले झरिरहेको थियो। अर्को पट्टि अमेरिकी फल्स  र ब्रिडल फल्स। तिनवटै झरना को बिचमा थियो त्यहि झरनाको पानीबाट बनेको खोला भनौ वा ताल। हावाको लहरसंगै पानीको बुँदबुँदले हाम्रो अनुहार निथ्रुक्क भिजेको थियो। आँहा कति रोमाञ्चित थियो सम्पूर्ण बाताबरण। 

ति महिला फेरी हाम्रो नजिकै आइन र भन्न लागिन, " अँ लेलावालाको बारेमा भन्दै थिए नि। त्यो फल्सको पछाडी तिनै लेलावालाको आत्मा बसेको छ भन्ने जनविश्वास छ।"

"कसरि ?", मैले भने। 

लेलावाला र बिस्काने बीच धेरै वर्षसम्म गहिरो प्रेम  सम्बन्ध रह्यो। उनीहरु संगै शिकार खेल्न जान्थे। यहि नदीको मथिल्तिर संगसंगै माछा मार्थे। धेरै टाढाटाढासम्म उनीहरुको प्रेमको बारेमा चर्चा हुन्थ्यो। एकदिन अचानक आकाशमा कालो बादल देखा पर्यो। हेर्दा हेर्दै त्यो बादल एउटा भुमरीमा परिबर्तन भयो र उनीहरु बसेको ठाँउतिर मडारिदै झर्यो। उनीहरु त्यहाँबाट भाग्न खोज्दा खोज्दै भुमरीले बिस्कानेलाई तानेर आँकाशतर्फ लग्यो। लेलावाला रुदै बादलको पछि पछि भाग्न लागिन। हेर्दा हेर्दै  त्यो बादलको भुल्लोले बिस्कानेलाई त्यही झरना माथिबाट तल खसाल्यो। 

"अहो कस्तो डरलाग्दो कथा रहेछ ," मैले मेरी लेलावालालाई हेर्दै भने। ति महिला हामीलाई हेरेर मुसुक्क हाँसिन। सायद उनलाई लागेहोला हाम्रो जोडी पनि लेलावालाको जस्तै होला भन्ने। तर हाम्रो कथा भने फरक थियो। हामि झरनाको नजिक पुगिसकेका थियौ। पानीका कर्ण कर्ण हामीले ओडेको प्लास्टिक निथ्रुक्क भिजेको थियो। 

"त्यसपछि के भयो नि ?", मैले सोधे। 

"बिस्काने झरनाको सिधा माथिबाट खसेको देखेपछि लेलावाला आफ्नो सानो डुङ्गामा चढेर झरनातर्फ लागिन। पानीको बहाब निकै कडा थियो। एकैछिनमा उनी  झरनाको माथि टुप्पोमा आइपुगिन र पानीको लहरसंगै तल खस्दै गइन्। एक्कासी आकाशको बिजुली चम्कियो र त्यो बिजुलीको लहर झरना संग आएर जोडियो।  बग्दै गरेको झरना ठप्प रोकियो। पानीको लहरले लेलावालालाई त्यहाँबाट निकालेर पारीपट्टीको गुफामा लुकायो र पुन: बग्न शुरु गर्यो। त्यसैले आजपनि त्यो गुफाभित्र लेलावालाको आत्मा बसेको छ भन्ने मान्यता छ।"

"अनि बिस्काने ?" 

"अहँ उसको कहिँ कतै चर्चा छैन। उ तलपट्टी एउटा गुफा छ,"उसले हातले देखाउदै भनी।  "कसैले त्यसभित्र बिस्कानेको आत्मा बसेको छ। यदी कोहि मान्छे त्यो गुफाभित्र छिर्ने कोशिस गर्यो भने केहि न केहि अप्रिय घटना घट्छ भन्ने भनाई छ। त्यसैले त्यो गुफा अहिले पनि बन्द नै छ।" 

"ओहो ! कस्तो दरलाग्दो कहानी रहेछ। हेर प्रेमको खातिर मान्छेले के के गर्दो रहेछ," मैले उनलाई हेर्दै भने। "तिमीले धोका  दिदा मलाइ पनि नारायणी मै हाम फालेर मोरौ झैँ भएको थियो। तर सम्हालिए।"

"छि ! कस्तो डरलाग्दो कुरा गरेको। हजुर पानि जहिले मजाक गर्नुहुन्छ भने", भन्दै उनले मेरो दाइने हात च्याप्प समातिन।त्यो देखेर बुढी मुसुक्क हाँसी। 

यतिन्जेल हामि झरनाको ठिक तल पुगिसकेका थियौ। ओहो कत्रो भयङ्कर थियो झरना। हिउका पहाडहरु पग्लिएर बनेको लेक एरि बाट पानि बग्दै लेक ओन्टारियो पुग्दै गर्ने क्रममा बनेको यो बिशाल झरना विश्वको आठौ आश्चर्य सम्पदा सुचिमा पर्दथ्यो। लेक एरिबाट निस्केको पानिले दुइवटा हाँगा बनाएर बग्दै लेक ओन्टारियोमा मिसिने क्रममा दुइवटा झरना बन्न पुगेको थियो जुन लगभग छ सय मिटरको अन्तरमा रहेका थिए। ५७ मिटर अग्लो यो झरनामा ३१६० टन पानी प्रत्यक सेकेन्ड खस्दथ्यो। यो अद्भुभुत दृश्यअबलोकन  गर्न विश्वभरबाट  एकबर्षमा लगभग  १२ मिलियन टुरिस्टहरु आउने गर्थे। 

२०११ को एक रिपोर्ट अनुसार सन् १८५० देखि यता झन्डै ५००० भन्दा बढी मान्छेहरुले झरनाबाट हाम फालेर आत्महत्या गरेको भनिन्छ। कतिपय यस्ता घटनाहरु आफुलाई बहादुरी देखाउने क्रममा समेत घटेको मानिन्छ। सन् १९०१ मा एकजना अमेरिकी महिला रक्सिको ब्यारेलभित्र बसेर यो झरनाबाट खसेकी थिइन्। आश्चर्यको कुरा उनि त्यस घटनामा सामान्य घाइते भएर बाँच्न सफल भएकी थिइन। उनको नाम थियो  यनी एड्सन टेलर।  त्यतिबेला उनि ६३ बर्षकी थिइन रे। यस्तै यस्तै थुप्रै रोचक इतिहाँस बोकेको थियो नायग्रा  फल्सले। 

कतिबेला हाम्रो झरना फेदी सम्मको करिब आधा घन्टाको यात्रा टुंगिएछ पत्तै भएन। त्यहाँबाट निस्केपछि हामि सरासर क्यासिनो तर्फ उकालो लाग्यौ। साँझ पर्न लागेकोले म टोरोन्टो फर्कौ कि नफर्कौ अन्योलमा थिए। उनि साथीसंग बसेकोले त्यहाँ बस्ने आँट गर्न सकिरहेको थिइन। क्यासिनोभित्र हामि यतिकै एक फन्को लगाएर बाहिर निस्कियौ र नजिकैको क्याफेमा छिर्यौ। 

मैले उनलाई आफु फर्कने बेला भएको कुरा भुइमा खस्न नपाउदै उनले भनिन, " आज यतै बस्न मिल्दैन? "

 "तिमि साथीसंग बसेकी छौ।  म चै को संग बस्ने ?", मैले उनको  हात  सुम्सुम्याउदै भने। उनि लुसुक्क गर्दै मेरो नजिकै टाँसिन आइपुगिन। 

"किन अरु होटेल छैनन् ", उनले मेरो हात चिमोट्दै भनिन। 

"आर यु सिरियस ?", मैले उनको बाटुलो नाक दुइ औलाले थिच्दै भने। 

उनले कामुक नजरले हेर्दै टाउको तलमाथि हल्लाइन। अर्को दिन मेरो बिदा नै थियो कामबाट। त्यो रात त्यतै बिताउने विचार गरे।  हामीले एकअर्काको परिवारको बारेमा खासै कुरै झिकेका थिएनौ। पहिलो पल्ट डेटिङ्ग आएको जोडीजस्तै देखिएका थियौ।  

फोन टेबुलमाथि नै  थियो उठाएर होटल रुम सर्च गरे। नजिकैको  हिल्टन होटेलमा कोठा उपलब्ध रहेछ। उनलाई देखाएर कन्फर्म गरे। 

उनले साथीलाई फोन गरेर आफु टोरोन्टो जाने र अर्कोदिन मात्र फर्कने कुरा गरिन। कुरा गर्दा गर्दै उनि म भन्दा अलिकति टाढा गइन एकैछिन मसिनो स्वरमा कुरा गरेर हाँस्दै फर्किन। 

"किन हो मुस्कान ? साथीले तिम्रो बुढालाई कुरा लागाउलिन नि ?", मैले पनि हाँस्दै भने। 

मेरो कुराले उनको अनुहारमा एक्कासी बादल ल्याइदियो। त्यतिन्जेलसम्म हामीले औपचारिक रुपमा बैबाहिक संबन्धको बारेमा कुराकानी गरेका थिएनौ। मैले फोटोमा देखेको भरमा उनको लोग्ने र एउटा सानो छोरा छ भन्ने आकलन गरेको थिए। उनले त मलाइ बिहे भए नभएको सोधेकी पनि थिइनन्। मेरो फेसबुक पेजमा पनि प्रोफाइल फोटो बाहेक अरु कुनैपनि  फोटाहरु थीएनन। उनले बिहेको बारेमा सोध्दै सोधेनिन्।

उनले टेबुलबाट टिस्सु पेपर तानीन र आँखाको कोछ बढो जतनका साथ् पुछिन। मैले उनको मन दुखाएको जस्तो लाग्यो। मैले अगाडी केहि भनिन। यस्तो रोमान्टिक बाताबरण एकैछिनमा एकदम नमिठो भैरहेको थियो।

"सोरी मैले तिम्रो मन दुखए जस्तो लाग्यो", मैले उनको हात समाउदै भने। 

"छैन छैन। मैले त केहि भनेकै छैन।  हजुरलाई के दोष।  यसको बारेमा पछि कुरा गरौला।"

"त्यसोभए जाँउ कोठा तिर। उतै बसेर गफ गरौला", भन्दै म उठे। उनीपनि मेरो पछि पछि आइन। दुवै जना लाग्यो होटेल तर्फ। 

होटेल निकै आकर्षक थियो। प्राय धेरै दिन अगाडी नै बुक हुने हिल्टन होटेल भाग्यबस हामीले केहि घण्टा अगाडी बुक गर्न सफल भएका थियौ। त्यसैले होला काउन्टरमा साँचो लिदै गर्दा इन्डियनमुलको कर्मचारीले भनेको थियो," यु आर  द लक्की कपल। " भाग्यमा बास्तबिक जोडी हुन नलेखेपनि आज किन किन सबैले नासोधिकनै जोडी घोषणा गरिदिएका थिए। 

साँचो लिएर हामि कोठामा गयौ। कोठाको भिउ भने सोचेजस्तो थिएन। फल्सभिउ भनेर भनेतापनि फल्सको आधा भाग पनि राम्रोसंग देखिदैनथ्यो। एक बेडरुम को कोठा भएता पनि सानो टेबुल र दुइजना बस्ने सोफा थियो। उनि भित्र पस्नसाथ् सोफामा पल्टिन। हामि दुवैजना निकै थाकेका पनि थियौ। म झ्यालबाट बाहिरको दृश्य हेर्दै थिए।

"अझै थाक्नु भएको छैन", उनले भनिन। 

मैले मुन्टो घुमाएर उनीतर्फ हेरे। दुइवटै सिट कभर गरेर उनि पल्टिएकी थिइन्। म उनको खुट्टातिर गएर टुसुक्क बसे। उनी उठेर मलाई स्पेस दीइन। उनका आँखामा प्रेमको रंग छ्चल्कि सकेको थियो। मैले उनलाई तानेर आफ्नो काखमाथि टाउको अड्याए। उनले कुनै प्रतिक्रिया जनाइनन। दुधे बालक झैँ लुसुक्क परेर बासिन। मैले उनको टाउकाको रौ खेलाउदै उनको गालामा एक चोटी चुप्प गरे। 

"उनले मेरो हातका औलाहरु अलि जोडले दबाउदै भनिन " हेरन, हतारिएको, ऐले भाइरस छिर्छ मुखबाट। "

"होला खुबै !" भन्दै मैले उनको नाक पिन्च गरे। 

"म नुहाउछु पहिला ल", भन्दै उनि उठिन र सरासर बाथरुमतर्फ गइन। 

मेरो दिमागले सयौथरि कुराहरु एकैचोटी रोलरकोस्टरले झैँ घुमाइरहेको थियो। बर्षौ भएको थियो हामि बीच कुराकानी नभएको। अघिल्लो महिना मात्र फेसबुकबाट जोडिएका थियौ। के उनलाइ मेरो जिबनमा फर्काएर ल्याउन सम्भब छ त ? के उनि कुनै बेला मेरी थिइन् त ? जुन दिन उनलाई मैले मनोकामना मन्दिर परिसरमा देखेको थिए, त्यसै दिन देखि मैले उनलाई बिर्सेको थिए। के यो  उनीप्रतिको आशक्तिमात्र हो ? 

"कसैको श्रीमती भैसकेको भूपू मायालुसंग यसरि रात बिताउन के उचित होला ? के उनी आफ्नो बिबाहबाट खुशी छैनन्। केहीबेर अघि बुढाको कुरा निकाल्दा निकै दुखि देखिएकी थिइन् उनी।  के उनीहरुबीच संबन्ध बिच्छेद भैसकेको छ?" यस्तै यस्तै सोच्दै थियो दिमागले, उनि कम्मरदेखि तल टाबेल बाधेरै बाहिर आइन। 

" हजुर गैसिन्न", उनले मतिर हेर्दै नहेरी भनिन। कति निर्धक्कसंग बोलिकी उनी। उनलाई हेर्दा लाग्थ्यो हामि बास्तबमै बिहे गरेर हनिमुनको लागि आएका जोडी हौ। उनको अनुहारमा न कुनै डरको भाब देखिन्थ्यो न कुनै पश्च्य्ताप। "फेर्ने कपडा सबै उतै रह्यो" भन्दै उनले अघि लगाएकै कपडाहरु लगाइन, त्यो पनि मेरै अगाडी। कता हरायो लाज? मैले उनको पुक्क उठेको पेटमा अलि आँखा गाडेर हेर्न पुगेछु क्यारे, "के हेर्नुभएको त्यसरी " उनि अर्को तर्फ फर्किन। मैले सुटुक्क कोखिलामुनिबाट हात छिराएर छाती माथि राखे। 

"छि, नुहाउन जानुस्", भन्दै उनले मेरा हातहरु हटाइन। म लुसुक्क बाथरुम भित्र छिरे। मेरो शारीरमा हलचल पैदा भैसकेको थियो। छाती जोड जोडले धड्कदै थियो। दिमागमा रोलरकोस्टर पनि संगसंगै चल्दै थियो। चिसो पानीको धारा खोले र रन्किरहेको टाउकोलाई शितल बनाए। 'राम्रो नराम्रो के गर्दैछस् भाई', भन्दै ठण्डा दिमागले सोंचे। मन र मस्तिष्कबीचको लडाइमा मनले जित्यो आखिर। 

म पनि टाबेल बाँधेरै बाहिर निस्के। मेरो पनि चेन्ज गर्ने कपडा थिएनन्। उनी बिस्तारामा पल्टिसकेकि थिइन्।  म  सरासर उनको छेउमा गएर बसे। उनि निधाएको बहाना गरेकी थिइन्।  मैले उनको तिशर्टभित्र चिसा हात छिराए। उनी ' आछ्छु भन्दै जुरुक्कै उठिन। मैले धैर्य गुमाइसकेको थिए। तत्कालै उनलाई अंगालोमा बेरेर ओठहरु चुस्न थाले। बिस्तारै उनका हातहरु सल्बलाउदै मेरो गोप्य अंगहरुमा प्रबेष गरिसकेका थिए। हाम्रा सिमानाहरु क्रमश भत्किदै गए। हामि एकार्कामा पूर्ण रुपमा समाहित हुन पुग्यौ। अस्ताउदो सुर्यका किरणहरुले झ्यालको चरहरुबाट चिहाइरहेको थियो। 













0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home