Saturday, August 5, 2023

क्यानाडाको सबैभन्दा ठुलो शहर टोरोन्टोमा अहिले बस, रेल, सोपिङ्ग मल जता जानुस, एउटा न एउटा नेपाली भेटिन्छ। आज भन्दा दुइ चार वर्ष पहिले यो अवस्था थिएन। नेपालि अनुहार भेट्न या त कसैले खाना खान बोलाउनु पर्थ्यो या आफुले अरुलाई। त्यसपछि कहाँ बिलाउथे उनीहरु पत्तै हुदैनथ्यो।अहिले भने यहाँको फास्ट फुड रेस्टुरेन्टहरु जस्तै म्याकडोनाल्ड, टिमहर्टनमा पनि नेपालिहरु बाक्लै भेटिन्छन चाहे चिया कफी बेच्ने काम होस् या किन्ने काम होस्।  यो सबैको मुख्य कारण भनेको पछिल्ला दिनहरुमा नेपालि बिद्यार्थीहरु आगमनले गर्दा नै हो भन्दा फरक नपर्ला। बिगत दुइ तिन बर्ष यता थुप्रै नेपालि बिध्यार्थिहरु टोरोन्टो आसपासका कलेजहरुमा आएका छन्। देशको निराशाजनक भबिष्य र विदेश मोहले गर्दा भर्खर अठार उन्निस वर्ष टेक्दै गरेका कलिला युबा युबतीहरु आफ्नो घरदेखि करिब साढे छ हजार माइल भन्दा टाढा आएर आफ्नो भबिष्य खोजिरहेका छन्। 

केहिदिन अगाडी नेपालीहरुको एक संस्थाले आयोजना गरेको हिमालय मेलाले यहाँ लामो समयदेखि बस्दै आएका नेपालीहरुलाई चक्मा दिएको छ। नेपाली कला र संस्कृतिलाई प्रमोदन गर्ने उद्देश्यले गर्ने गरिएको कार्यक्रममा आधा भन्दा धेरै नेपालबाट भर्खर प्लस टु सकेर कलेज पढ्नको लागि यहाँ आएका बिद्यार्थीहरु थिए। म पहिलो पटक २०१९ मा हिमालय मेलामा सहभागी भएको थिए। त्यतिबेला त्यहाँ भेला भएका अधिकाँस मान्छेहरु नेपालमा स्कुल, कलेज पढाएर फेडरल स्किल्ड वोर्कर बाट क्यानाडा छिरेका मास्टरहरु तथा रेस्टुरेन्टमा वोर्क परमिटमा आएका उमेरले दुइचारवटा रौ पाकेका, आँखाका कोछ कोछमा मुज्जा परेका, गम्भीर पाराले ठिङ्ग उभिएर कार्यक्रम हेर्नेहरुको बर्चस्व थियो। त्यसपछि कोरानाले गर्दा यो कार्यक्रम पनि रोकियो। केहिदिन अगाडी २०२३ को हिमालय मेलामा सहभागी हुँदा मलाई नेपालको कुनै कलेजको प्रोग्राममा भएजस्तै भान भयो। मन्चको अगाडी हाते साङ्लो बनाएर ति बिस् बाइसे युबा युबतीहरु केहि कुराको प्रबाह नगरी बुरुक बुरुक उफ्रिरहेका थिए। 

टोरोन्टो डाउनटाउनको बिचोबिचमा भएको यो कार्यक्रममा यसरि बिद्यार्थीहरु सहभागी होलान भनेर मैले सोचेको थिइन। 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home