Sunday, October 8, 2023

छोरा छोरीहरुलाई नेपालि सिकाइदिनु होला है "


                                             छोरा छोरीहरुलाई नेपालि सिकाइदिनु होला है !

"नेपाललाई माया गर्नुहोला है। आफ्ना छोरा छोरीहरुलाई नेपालि भाषा सिकाइदिनु होला है। जस्तो सुकै परिस्थिति आइपरेपनि समय निकालेर नेपाल आउनुहोला है।" अमृत गुरुङका यी देशभक्तिले ओतप्रोत  शब्दहरु टोरोन्टोस्थित मेसि हलमा हिंजो साँझ निरन्तर गुन्जिरह्यो। नेपालि दर्शकहरुले भरिभराउ मेसिहलमा नेपालको झण्डा ओडेर हजारौ दर्शकहरु नेपथ्या ब्याण्डको कन्सर्ट हेर्न पुगेका थिए। निलो जिन्स, निलो सर्ट र लामो कपाल पछाडी कँसेर  लोकपप गायक गुरुङ स्टेजमा उपस्थित हुँदा तालीको चौतर्फी गढगढाबले उनको स्वागत गरिएको थियो। नेपालको विभिन्न भुभागबाट स्थाई बसोबास गर्न  होस् या बिद्यार्थीको रुपमा क्यानाडामा  आएका नेपालिहरुलाई आफ्नो प्रस्तुतिको बीच बिचमा उनले यसैगरी  संबोधन गरिरहे। आयोजकलाई धन्यवाद दिए। दर्शकहरुलाई मायाँ र मनोरन्जन। 

"स, जौका बारी, गौका पुला कम्पनी" को म्युजिक भिडियो स्क्रीनमा देखाएर शुरु भएको कार्यक्रममा सम्पूर्ण दर्शकहरु आफ्नो आफ्नो सिटबाट उठेर नाँच्न सुरु गरिसकेका थिए। सबैले भन्दै थिए 'झल्काइदेउ झल्काइदेउ गलैको कम्पनी माला झल्काइदेउ।" यो निकै उत्कृष्ठ म्युजिक भिडियोले डोल्पा जिल्लाको मौलिक परम्परालाई राम्रोसंग संग झल्काएको थियो। सुनेअनुसार चाँदीका सिक्काहरु    उनेर बनाएको कम्पनि मालालाई डोल्पाबासीहरु सम्पनताको संकेत मान्छन। थिन्ले संगै अन्य डोल्पालीहरु घोडा चढेर कर्णालीको किनारै किनार दौडेको देख्दा चंखेज खान र नेपोलियन बोनापार्ट समेत फिका देखिन्थे। 

"मै मरी जाउला जिबन छोटो छ, लेखेको सम्झना चेतेर नफाल सिरानमा फोटो छ" भन्ने गीतका साथ स्टेजमा छिरेका गुरुङ्गले शुरुदेखि नै दर्शकहरुलाई भाबुक गराएका थिए। "छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले" " उडायो रेलैले" जस्ता गीतहरु गाउदै गर्दा हजारौ दर्शकहरुले उनीसंगै तालमा ताल मिलाएर गाए। गाउदा गाउदै नाँचे, नाँच्दा नाँच्दै आफु जन्मेर हुर्केका गाँउघर, लेक बेशीलाई सम्झे। मेरो त ज्यानमा जिरिङ्ग काँडा उम्रियो।मैले पनि  झन् जोड जोडसंग उनीसंगै स्वरमा स्वर मिलाए र मज्जाले नाँचे। 

"हजुरहरुको बुवा आमा नेपालि बोल्नु हुन्छ कि हुन्न ? हजुरबा हजुर आमा नेपालि बोल्नुहुन्छ कि हुन्न?" अमृत गुरुङ्गले मंचबाट प्रश्न सोधिरहेका थिए। हजारौ आवाजहरु एकैसाथ् गुञ्जिरहेको थियो ,"बोल्नुहुन्छ। " त्यसोभए हजुरहरुको छोरा छोरीहरुलाई नेपालि सिकाइदिनु होला है ", उनले मंचबाट एकदम बिनम्रताकोसाथ् अनुरोध गरे। दर्शक दिर्घामा एक्कासी सन्नाटा छायो। छोराछोरी भएकाहरुले मनमनै प्रण गरे होलान अब त नेपालि सिकाउनु पर्छ है। तर के गर्ने उनीहरु बोल्नै खोज्दैनन्। त्यसैले त होला कसैले पनि आफ्ना छोराछोरीलाई  त्यहाँ नल्याएका। 

"तालको पानि माछिले खानि, पिरिमसित जानी कि नजानी" गित गाउदै गर्दा मेरो अगाडिको सिटमा बसेको जोडी निकै खुशी देखियो। सायद उनीहरु भर्खर प्रेमको रंगमंचमा प्रवेश गर्दै थिए होलान। एक अर्कालाई गीतको भाकासंगै आँखाले इशारा गर्दै थिए। तरुण अवस्थाका दिनहरु आँखा अगाडी नाँच्न थाले। आफ्नो पिरिमलाई घरमै छोडेर आइयो, अब कसलाई हेरेर मुस्कुरानु झैँ भयो। कल्पनामै मुस्कुराइयो।

यो गित सकिनासाथ फेरी गाएक गुरुङ्गको  आवाज गुञ्जियो ," तपाइँहरु यति टाढा आएर बस्नु भएको छ। तपाइँ बसेको ठाँउको भाषा, संस्कृति, संस्कार र यहाँका मान्छेहरुलाई माया गर्नुहोला है।"  उनले भनेको यो हैन कि तिमि आफ्नो भाषा संकृति, धर्म सबै  बिर्सेर यहाँका मान्छेहरुले जसो गर्छन त्यसै गर्नुस। उनको संदेश हो तपाइँ जुन समाजमा बस्नुहुन्छ त्यहाँ आफु घुलमिल हुनुस। यदि  तपाइहरुले आफु बसेको ठाँउको तथा त्यहाँ बसोबास गर्ने मान्छेहरुको सम्मान गर्नुभयो भने उनीहरुले पनि तपाईलाई सम्मान गर्छन।  आमालाई माया गर्दैमा श्रीमतीको मायामा कमी कहाँ हुन्छ र? 

फेरी स्टेजमा आगो बल्यो " जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना।" बिच बिचमा भन्दै थिए गायक भन्दै थिए ," देशलाई माया गर्नुहोला है। नेपालि गित संगीतलाई माया गर्नुहोला है। ' यो त सबैलाई थाहा छदैछ तर पनि उनको स्वरमा यस्तो जादु थियो कि सबैलाई जुरुक जुरुक बनाइरहेको थियो। बर्सौ नभेटेका साथीहरुले पछाडीबाट कोट्याई रहेका थिए। टाढैबाट मुस्कान छरिरहेका थिए। सायद त्यहि मुस्कान देखेर होला फेरी पनि स्टेजबाट उनले भन्दै थिए "त्यो नेपालि मुस्कान जोगाइ राख्नु होला है।" संसारका  विभिन्न मुलुकहरुमा कार्यक्रम गरिसकेका गुरुङ्गले  मुस्कुराउन बिर्सेका थुप्रै मान्छेहरु देखेका थिए। 

त्यहाँ उपस्थित  आधा भन्दा बढी दर्शकहरु पढ्नको लागी भर्खरै क्यानाडा छिरेका बिद्यार्थीहरु थिए। नेपालको झण्डा ओडेर पोडियममा नाँचिरहेका धेरै  बिद्यार्थीसंग काम गर्नको लागि जागिर थिएन होला, बस्नको लागि राम्रो कोठा थिएन होला, खानको लागि पुग्ने पैसा थिएन होला तर उनिहरुसंग भर्खरै छोडेको आएको देशको हुर्हुरी माया थियो। आफ्नो देशको भाषा र संकृतिको उधुमै माया थियो। त्यसैले  त दशौ वर्ष क्यानाडामा जागिर गरेर बसेकाले काट्न नसकेको टिकट काटेर गएँ। "रातो र चन्द्र सुर्य जङ्गि  निशान हाम्रो, जिउदो रगत सरि बल्दो यो शान हाम्रो" बोलको  गितमा छाती चौडा गरेर गाए, एकैछिन भएपनि आफु उभिएको  भूगोल बिर्सेर नाँचे। 




0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home