Thursday, April 25, 2019

मेरो आँखामा आमाको बिदेश भ्रमण


                                                                 १
क्यानाडाले बुवा आमा ल्याउनको लागि 'सुपर भिजा' दिन्थ्यो। सोहि कोटामा आमाको अनलाइन आवेदन प्रक्रिया सकिएको थियो। एक बर्ष भैसकेको थियो आमालाई बोलाउछु भनेको तर केहि कारणबस आबेदन ढिलो भएको थियो।

“ के आम्लार बाय, अब मर्ने बेलामा। ज्यनलाई सधै सन्चो हुन्न। दम बढ्दा त झन परानै जाला जस्तो हुन्छ।” आमाले अलि निरास हुदै भन्नु भयो फोनमा।

“आइन्छ आमा। भिजाको लागि आबेदन हालेको छु। अब एकदुई महिनामा काम हुन्छ,” मैले बिश्वस्त पार्ने कोशिश गरे।

“ एक वर्ष भैसक्यो जानी जानी भनेको। छिमेकीहरुले पनि जिस्काउन लाइसके। खै 'आकाशको फल आखातरी मोर' भने जस्तै हो बाय!’आमाले भन्नुभयो।


  "त्यस्तो कहॉ हुन्छ आमा। अबको एक दुई महिनामा मेडिकल आउछ। मेडिकल गरेपछि त भिसा लागिहाल्छ नि", मैले पुन दोहोर्याए।

"आमाले ‘खै के गर्च  के गर्च  मलाई  के था नि बाबु" भन्दै लामो सास लिनुभयो।

"ढुक्क हुनुस भिसा लाग्छ। आउदो दशै क्यानाडामा मनाउने हो।मैले सपना पनि राम्रै देखेको छु। मिठो मिठो खाएर अलि तगडा हुनुहोला। दुई  तिन दिनसम्म हवाईजहाजमा भोक भोकै हुनुहोला नि।  अरुले छोएको ज्यान गए खान्न भन्नुहुन्छ।त्यसो भनेर जहाजमा सम्भब छैन ", मैले  आमालाई मानसिक रुपमा तयार बनाउनको लागि भने।

 जुन दिन म आमासंग कुरा गरेर कामको लागि पार्किङ्ग लटमा गाडीको ढोका खोल्दै थिए कसैले पछाडी केहि भनेजस्तो लाग्यो। पछि फर्केर हेरे। एक जना मान्छे झुत्रो न झुत्रो कपडामा मेरै अगाडी उभिएको थियो। चिम्सा आखाँ, अनुहारभरि खतै खत भएको, कपालका रौ मैलोले गर्दा गुजुल्टेको,



जुन महिनाको अन्त्य तिर आमाको काठमान्डू बाट एडमन्टन, क्यानाडाको फ्लाइट  थियो। प्लेन चिन र क्यानाडाको भ्यनकुवरमा रोकिएर मात्र एडमन्टन आउथ्यो। अर्थात् एडमन्टन आउनेबेलासम्म तिन ओटा जहाज चड्न पर्थ्यो। चिनको ट्रान्जिट अलि लामो थियो करिब आठ घण्टा हो कि जस्तो लाग्छ मलाई र भ्यनकुवरमा चार घण्टा। काठमाडौँबाट चढेको करिब २२ घण्टामा बल्ल एडमन्टन झरिन्थ्यो।
आमासंगै आउनको लागि एकजना साथी सालिग्राम काफ्लेलाइ सम्पर्क गरेर सबै ब्यबस्था  मिलाएको थिए। काठमान्डूबाट जहाज चडाउने काम गोपाल भाइको जिम्मा थियो। त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट जहाज उडेपछि गोपाल भाइले फोन गरेर खबर गर्यो। मन मेरो उडेर आमासंगै पुग्यो। इन्टरनेटबाट जहाज कहाँ , कुन समुन्द्रमाथि उड्दै छ ट्रयाक गरेर बसे दिनभर। कतै बाटोमा सारै दुख पाउनु पो हुने हो कि , आफै लिन गएको भएपनि हुने रैछ भन्ने जस्ता कुराहरु खेलीरहे मनमा। जहाँ जहाँ ट्रान्जिट पर्छ, त्यहाँ त्यहाँ सालिग्रामसंग फोन गरेर सबै जानकारी लिए।

क्यानाडाको समय अनुसार बिहान साढे दश बजेको ल्यान्डीङ्ग थियो। दुबैजनाको काममा छुट्टी थियो।  छोरा छोरी पनि घरै थिए। चारैजना गाडीमा आमालाई पिक अप गर्न ठिक दश बजे एयरपोर्ट पुग्यौ। छोरा दिभ्यश र छोरी श्रेया हजुरआमालाई कतिबेला देख्न पाइन्छ भनेर यता र उता भलाकी रहेका थिए। जहाज ल्याण्ड भएको करिब पन्द्र मिनेटमा आमा एयरपोर्टबाट बाहिरिनु भयो।

अग्लो कद, सेतो कपाल, सर्लक्क परेको जिउडालमाथि हरियो कुर्तामा फुर्तीका साथ सालिग्रामको पछि पछि आउदै हुनुहुन्थ्यो।  मन खुसीले ढक्क फुल्यो। त्यहाँ भएका गोरेनी भन्दा कम राम्री हुनुहुन्थेन हाम्री आमा त्यति लामो यात्रा पछि पनि। आमाले देख्नु हुन्छ कि भनेर म जहाको त्यहि उभिए, तर आमा सरासर लगेज झिक्ने ठाउमा जानुभयो। म  पनि आमाको पछि पछि गए र ढोग गरे। दिभ्यश र श्रेया लाज मानेजस्तो गरेका थिए  पहिला। एकैछिनमा उनीहरु पनि हजुआमा संग गएर टासिए।

लगेज आउने गोलो रिंगमा धेरै जनाको उस्तै उस्तै लगेजहरु थिए।आमाले ध्यान दिएर आफ्नो लगेज हेर्नुभएको थियो। मलाई संका थियो आमाले सजिलै चिन्नु हुन्न होला भन्ने।  तर उहाले पहिलो पटकमै लगेज समाउनु भयो। यसरि लामो यात्रा पछि पनि आमाको स्फूर्ति देखेर मन खुसि भयो। त्यसपछि मैले लगेज बोके र गाडीमा बसियो। आमाले आफु झुक्किएर बिधुतिय भरयाँङ्गमा लडेको  सुनाउनु भयो।

'कस्सो कस्सो गर्दा गर्ल्याम्मै ढले। गोरेहरु आएर ल ल के भयो, कहाँ लान पर्यो भन्दैथे। मा ठिक छु  भनेर अर्को सिडी चढेर झरे', आमाले ढाडमा हात राक्दै भन्नुभयो।  'धन्न नेपालको ज्यान थ्यो र केहि भएन। यहाँका मान्छे भएका भए इमर्जेन्सीमा दौडाउनु पर्थ्यो ', मनमनै भने। रमाइलो कुरा आमाले गोरेको हाउभाउबाटै कुरा बुझ्नु भएछ।

'प्लेनमा के खानु भयो ?' मैले गाडी पार्किंगबाट बाहिर निकाल्दै गर्दा सोधे। आमा मेरो साइडमा बस्नु भएको थियो। नानि, बाबु र अनिता पछाडी।
'केहि खाइन बाबु। किन किन पेट दुख्यो उहिबाट हिड्ने बेला। पखाला लाएर लखतरान भैछु', आमाले झ्यालबाट बाहिर चियाउदै भन्नुभयो।

'बिस बाइस घण्टाको सफरमा केहि नखाई, त्यसमाथि अझै बिरामी हुदा त आमा यति फ्रेस देखिनुहुन्छ भने सन्चो ज्यान, खाना  खादै आउन पाएको भए कस्ती देखिनुहुन्थ्यो होला ' मनले गुनगुनाउदै गाडी क्यालगरी हाइवेमा छिराए। त्यसपछि सासु बुहारी को भलाकुसारी भयो एकैछिन।

आमा लमतन्न परेका फराकिला बाटा, एकनासले कुदिरहेका गाडी रमाइलो मानेर झ्यालबाट पुलुक्क पुलुक्क बाहिर हेर्दै हुनुहुथ्यो भने, नाति नातिना हजुरआमालाई हेर्थे। करिब बिस मिनेटको ड्राभिङ्ग पछि घरमा पुगियो।
जेटलेग (नेपाल र क्यानाडाको समयको अन्तरले  निन्द्रामा पार्ने गडबडीलाई नै टेक्निकल भाषामा जेटलेग भनिन्छ) र पेटको गडबडीले गर्दा एकदुई दिन आमा बिरामी जस्तै हुनुभयो। तर आमा घुम्न बाहिर जाउ भनेपछि भने तुरुन्त फूर्तिका साथ् कुर्ता लगाएर तयार भै हाल्नुहुन्थ्यो।

                                                                    २.

आएको भोलिपल्ट एडमन्टनकै सुन्दर पार्क हेर्लेक पार्क घुम्न जाने कुरो भयो। गर्मि सिजन भएपनि हावा चल्दा चिसो चिसो नै हुन्छ क्यानाडाको मौसम। आमालाई अलि न्यानो कपडा लागाउन भने र सबैजना पार्कतिर लागियो। बाटोमा डाउनटाउन पर्दथ्यो। क्यानाडा र  अमेरिकामा डाउनटाउन  भन्नाले अग्ला अग्ला घरहरु भएको ठाउलाई बुझाउछ। प्रतेक सिटिमा डाउनटाउन हुन्छ। आमाले ति अग्ला अग्ला घर र चिल्ला बाटाहरु हेर्दै भन्नुहुन्थ्यो, 'के लिला बनाएको छ बरै गोरेको जातले। कति उन्नति गरेको छ। यस्तो त कहिपनि छैन। '

'कहाँ कहाँ जानुभाछ र आमा ?' मैले जिस्कदै सोध्दै।

'भो पन्जाब पनि देखेकी छु।  यस्तो त कहिपनि छैन' आमाले पुरा आत्माबिस्वाशका साथ् भन्नु भयो।

मैले आमाको खुशीमा अड्चन लिन चाहिन। यो भन्दा धेरै सुन्दर र बिकशित शहरहरु थुप्रै छन् संसारमा हेर्नको लागि।  प्राकृतिकरुपमा नेपाल पनि कम कहाँ छ र। तर मानब बसोबास र स्तरिय जिबनयापनको लागि क्यानाडा संसारकै  एक नम्बरमा पर्दछ।

हामि गगनचुम्बी घरहरु छिचोल्दै निकै सुन्दर सस्काचेवन नदि किनारतिर ओरालो लाग्यौ। नदीको वारि परि सुन्दर बगैचाहरु थिए। सलक्क ज्यान परेका युबा युवतीहरु सुन्दर पार्कमा दौडिरहेका थिए भने केटाकेटीहरु साइकलमा कुदेका देखिन्थे। थुपिसल्ला, जंगली गुलाब, सेतो सल्ला, कालो सल्लाका, सेस्काचेवन बेरीले टम्म भरिएको नदि पाखाको जंगल निकै मनमोहक थियो। सधैभरि हरियो देखिने स्पुर्सको रुख (धुपीसल्ला) आमालाई सारै मन परेको थियो।
बिस्तारै सस्काचेवन नदि माथिको पुल तरेर हर्लेक पार्क छिर्यौ। मशिनले काटेर एकनासले मिलाएको हरियो घास हरियो गलैचा बिछ्यय जस्तो थियो हर्लेक पार्क भने सेता र काला  पिपलका (पोप्लर ) रुखहरु बाहिरबाट टपक्क टिपेर त्यहाँ राखेजस्तो लाग्थ्यो। पार्कको बीच भागमा सुन्दर ताल थियो।  कन्चन पानीले गर्दा आकाँस खसेर पानीमाथि अडेजस्तो देखिन्थ्यो। क्यानाडियन गिजहरु  ( हाँस जस्तो ठुलो चारा) तलाउमा पौडिरहेका थिए भने, अन्य विभिन्न प्रजातिका चराचुरुंगीले पुरै पार्क संगीतमय बनाएको थियो। यहि सुन्दर प्रकृतिको मादकतामा आफैलाई बिर्सेर रुखहरुको छहारी तथा तलाउको छेउछाउ थुप्रै जोडी लमतन्न पल्टेका देखिन्थे।
मैले गाडी पार्क गरेर आमालाई अलिकति भएपनि हिडेर पार्क घुमाउने विचार गरे।  किन किन त्यो दिन आमालाई चिसो लाग्यो मौसम।  अलिकति हिडेर पुन गाडीमा बस्यौ र त्यहिबाटै लिला द्रिष्टिगोचर गर्यौ।

                                                                     ३.

मलाई फुर्सद भएको बेला प्रायजसो आमालाई घुमाउन निस्कीहाल्थे।  आमापनि घुम्न भनेपछि निकै उत्साहित हुनुहुन्थ्यो। गाडीमा पुरै शहर घुमाएर घरको पार्किङ्गमा गाडी रोक्दा बल्ल थाहा पाउनुहुन्थ्यो, फर्केर घर पो आइपुगीएछ भन्ने।  पछि पछि भने घर नजिकैको पेट्रोल पम्प र रुखहरुको हेक्का राख्नु भएछ, घर आइपुग्दा भने थाहा पाइहाल्नुहुन्थ्यो। हरिया ठुला ठुला झम्म परेका रुखहरु मुनि लुकेका घरहरु आमालाई असाध्य मन पर्दथ्यो। प्रायजसो झ्यालमा बसेर बाहिर हेरिरहनु हुन्थ्यो। र मलाई भन्नुहुन्थ्यो, 'यहाका मान्छेले सिक्रेट र चाँ त खुब खानी रैचन। ' हुनपनि  प्राय बाटोमा हिड्नेहरु हातमा कफीको कप समातेका हुन्थे। चुरोट फुकिरहेका देखिन्थे। क्यानाडामा अठार बर्ष तलका केटाकेटी हरुलाई चुरोट पिउन कानुनिरुपमा बन्देज छ भने कसैले उनीहरुलाई चुरोट र रक्सि  बेचेको प्रमाण भेटिएमा पचास हजार डलर  सम्मको फाइन लाग्थ्यो। भनसुन सुन्य।  रक्सि जो पाई तेले बेच्न पाउदैन भने जहा पायो तेहा पिउन पनि पाउदैन। जसले गर्दा रक्सीले मातेका मान्छे बाटोमा सुन्य प्राय हुन्छ एक दुइ अपबाद छोडेर। होमलेसहरु प्राय त्यो अपवादमा पर्दछन।
आमालाई भात भन्दा सेतो मकैको  पिठोबाट बनाएको ढिडो खुब मन पर्दथ्यो। मेरो छुट्टीको दिन हामि प्राय ढिडो नै खान्थ्यौ। दुध, केरा, काजु मिसाएर बनाएको स्मुदी पनि आमाको प्रिय पेय पदार्थमा पर्दथ्यो। कहिलेकाही एलोभेरा, आपको तथा सुन्तलाको जुस पनि मिठै मानेर खानुहुन्थ्यो। तर स्याउको जुस तेती मन पराउनु भएन। आमा सुद्ध शाहाकारी भएकोले गर्दा हामीले माशु खाएको खासै मन पर्थेन। 'फ्रिजमा कतिदिन कुहाएको माशु पनि कहिँ खानी चिज हो? टि भी मा सुन तो  प्रबचन  कस्तो भन्दो रैछ। कस्ता कस्ता डरलाग्ने रोग लाग्छ माशुबाट  ', भन्नुहुन्थ्यो बेला बेलामा। पछि हामीले माशु अलि कम नै गर्यौ, तर छोड्न भने सकेनौ। माशु काट्ने र तरकारी काट्ने अचानो छुट्टा छुट्टै बनायौ। सकेसम्म आमाको खाना संग लाटलुट पारेनौ। मैले तेतिबेलै माशु छोड्ने बिचार पनि नगरेको हैन, तर बाबु, नानि लाइ प्रोटिन चाहिन्छ भनेर उनीहरुलाई खुवाउने बहानामा मन थाम्नै सकिएन।

आमाको धर्म कर्ममा आसध्य मन थियो। उहाँ प्रतेक दिन बिहान ४:३० बजे उठ्नुहुन्थ्यो र ध्यान बस्नु हुन्थ्यो। अनिताले बिहान सधै नुहाएर पुजा गर्थिन। त्यो बानि आमालाई असाध्य राम्रो लागेको थियो।  उहाँ पनि नुहाएर पुजा नगरी केहि खानुहुदैनथ्यो। म उठेर प्राय हल्का कसरत गर्थे। आमा भन्नुहुन्थ्यो 'तेत्रो काम गर्छस् ,कसरत त्यहि हुन्छ। तेती गरुङ्गो डल्ला किन उठाउन परो। घिउ खाएपनि के के हुन्छ रे। के गरेर ज्यान लाग्छ बरै।'म मुसुमुसु हास्दै कसरत गरिरहन्थे। त्योबेला म दुइवोता बिल्डिंगको म्यानेजर थिए। घरि घरि टिनेन्टहरुको फोन आइरहन्थ्यो। उनीहरुको समस्यालाई सुल्झाउने, खालि अपार्टमेन्ट भाडामा लाउने, कन्ट्रयाक्टरलाई बोलाएर काम लगाउने, सरसफाई भए नभएको मोनिटरिंग गर्ने गर्नु पर्दथ्यो। आमासंग समयदिन अलि गारो भएपछी एउटा बिल्डिंगबाट राजिनामा दिए।

श्रेयाले आमालाई अंग्रेजी पढाउथि भने आमाले नेपाली। उनीहरु आमासंग खेल्न र आमालाई अंग्रेजी सिकाउन खुब मन पराउथे। आमाले उच्चारण बिगार्दा हाँसी हाँसी जिस्काउथे। हजुरआमासंग नाति नातिना खेल्दा घर बास्तबमै स्वर्ग हुन्थ्यो। दिनभरिको कामको स्ट्रेस झ्यालबाट भागेर कुलेलम ठोक्थ्यो।
                                                                   


                                                                 ४.

आमालाई एकपल्ट समुन्द्र देखाऊने र पानि जहाजमा चढाउने बिचार गरे। त्यसकोलागि ब्रिटिश कोलम्बिया सबैभन्दा सुन्दर ठाऊ थियो। नर्थ प्यासिफिक ओसन को तटमा अबस्थित यो टापु प्रार्कितिक बिबिधताले सम्पन्न हुनुको साथै, मानब बिकाशको ऊत्क्रिस्ट नमुना थियो। हिऊ कम पर्ने र मौसम प्राय एकनासको भैरहने हुनाले मानब बस्तिको मापनमा क्यानाडाको तेस्रो ठुलो मानिन्थ्यो भने सुन्दरताको आखामा नम्बर वान्।

मेरो आत्मिय मित्र बिष्नुको बुवा,आमा, आमाको नजिकको साथि भैसक्नुभएको थियो। उहॉहरूपनि हामिसंगै जाने कुरा भयो। एडमन्टनबाट भ्यान्कुवर करिब १२ घन्टाको ड्राईभमा पर्दथ्यो। आफ्नै गाडिमा जाने सोच बनायौ पहिले। तर लामो यात्रामा आमा तथा नानी बाबुहरूलाई गार्हो हुने डरले जहाजमा जाने कुरा फाइनल भयो।

अगश्ट महिना एडमन्टनमा चिसै थियो। भ्यनकुवर एयरपोर्टमा ओर्लदा तातो महसुस भयो। रेलमा चढेर
डाउनटाउन गयौ। हातमा लगेज बोकेर, केटाकेटी र बुढाबुढीसंग बाटोमा हिड्दा हामि भर्खर गाऊबाट शहर झरेजस्तो देखिन्थ्यौ। तर हु केयर्स। नेपालमा जस्तो रमिता हेरेर अरूको कुरा काट्ने र हास्ने त्यहॉ कसैको फूर्सद थिएन। होटल बुक गरेका थियौ। तर चेक ईन ३ बजेपछि मात्र थियो। एऊटा ईन्डियन रेस्टुरेन्टमा पसेर खाना खायौ।त्यपछि क्यानाडा प्लेस वरिपरी घुम्ने योजना बनायौ। नजिकै भयकोले हिडेरै पुग्यौ त्यासम्म।

क्यानाडा प्लेस समुन्द्रभित्र जग राखेर माथि ऊठाइएको बिशाल तथा भब्य बिल्डिङ थियो। बाल्कोनिमा बसेर समुन्द्रको लिला हेर्न मिल्थ्यो। त्यहि भवनकै अर्कोपट्टि त्यस्तै बिसाल अर्को संरचना खडा थियो र बनोट फरक। पानिमाथि उभियको त्यो भिमकाय घर नै पानीजहाज रहेछ। पछि ठुलो आवाज निकालेर चल्न थाल्दा पो थाहाभयो। मैले धेरै बर्ष पहिले पानिजहाज देखेको थिए बम्बईमा। तर सानो । यति ठुलो देखेको पहिलोपल्ट थियो।

हमिहरू सबै अत्यन्त रोमान्चित भएर जहाज हिडेको दिश्य हेर्यौ र क्यामेरामा कैद गर्यौ। आमाले ‘राम राम कति ठुलो हो। यो खिच खिच बाबु’ भनिरहनु भएको थियो।क्यानाडा प्यालेसको बाल्कोनीमा हामीजस्तै थुप्रै पर्यटकहरु थिए। सबै उतिकै उत्साहित थिए। बिष्णुको बुवा आमा पनि सारै खुसि देखिनुहुन्थ्यो। 'यो पो बल्ल बिदेश जस्तो रैछ, तिमीहरु पनि  यतै सर भो ' भन्दै हुनुहुन्थ्यो छोरालाई। सायद समुन्द्रको मनमोहक दृश्यले उहाको मन जितिसकेको थियो होला। पानीजहाज चिप्लिदै चिप्लिदै पर पर हुदै गयो। हाम्रा आखाँहरु नजिकै बाट उडिरहेका हेलिकप्टर , पानीमा कुदिरहेका मोटरबोटमा परे। आखाँहरु गगनचुम्बी घरहरु भन्दा समुन्द्रमा चलायमान दृश्यमाथि बढी अडिएका थिए।
समय छोटो तर हेर्नु पर्ने कुरा धेरै भएकोले उसै दिन फ्लाई ओभर हेर्ने कुरो भयो। क्यानाडा प्लेसकै माथिल्लो तलामा स्टुडियो थियो। टिकट काटेर हेर्न छिर्यौ। अध्यारो अध्यारो फिल्म हल जस्तो कोठामा लगेर कुर्सिमा बसाल्यो र अगाडिबाट बेल्ट लगायो। 'आच्या किन बेल्ट बानेको होला फिलिम हेर्न पनि' भन्ने लाग्यो। तर जब पर्दा खुल्यो र बस्ने ठाउको बत्ति निभ्यो, ज्यान सिरिङ्ग भयो। बिष्णुको आमा र राधिका म्याडमले जुत्ता खस्छ भनेर हातैमा समाउनु भएछ। खास कुरो के थियो भने 3D पर्दामा सम्पूर्ण क्यानाडा घुमाउदो रैछ। सिङ्गै घर उडेको जस्तो हुने। हिमाल पुग्दा हिमाल संगै ठोकिय जस्तो हुने।  नायग्रा फल्स को झरनामा पुग्दा फिस फिसे पानि मुखैभरि आउने। बिस मिनेटमा क्यानाडाको सम्पूर्ण ठाउमा पुगेर पुन त्यहि सिटमा फर्के जस्तो अनुभब भयो। आमालाई मात्र हैन सबैजनालाई त्यो अत्यन्त मन पर्यो।

बेलुका होटलमा गयर बसियो।

भोलिपल्ट बिहानै क्रुज (पानीजहाज) चढेर बोमन टापु घुम्न जाने योजना बन्यो।दुइओटा टेक्सीमा हर्शुबे भन्ने ठाउमा गयौ। हर्शुबे बन्दरगामा पानिजहाजमा चढीयो।  यो सबैजनाको पहिलो अनुभव थियो। जहाजको तलपट्टी लाइन लाएर गाडीहरु राखेको थियो भने माथि मान्छे। जहाजको अगाडिको भागमा उभिएर समुन्द्रको दृश्य हेर्न मिल्थ्यो। करिब सयओटा जति गाडी अटाएको थियो जहाजको भुइतलामा। जहाज भित्र रेस्टुरेन्ट पनि थियो खाजा खानको लागि। बोमन टापु पुग्न झन्डै बिस मिनेट जति लाग्दो रहेछ।  हामीलाई पानीजहाज चड्ने रहर पुरा गर्नु थियो। 'आमाले ' के चक्ख हो हिडेको थाहै नपाने रैछ ' भन्दै चारै तिर खुब चलाखी पूर्व हेरिरहनु भएको थियो। बिस मिनेटमा बोमन टापु पुगियो। सबभन्दा पहिले गाडी लागेकाहरुले गाडी निकाले। त्यसपछि हामि झारियो। टापुको भिजिटर सेन्टरमा पुगेर जानकारी ल्याइयो। करिब आधा घन्टामा हामीलाई लिन बस आयो। सबैजना बसमा बस्यौ। बस सागुरो चिल्लो बाटो हुदै कहिले उकालो त कहिले ओरालो लाग्यो। जंगलको बीच बीच मा भब्य बंगलाहरु थिए। अत्यन्त धनि मान्छेहरुको थोरै मात्र बस्ति भएको यो टापुको सुन्दरता शब्द चित्रमा उतार्न जो कसैलाई गारै पर्ला। नागबेली जस्तै बाटो हुदै बस समुन्द्रको छेउमा रोकियो। गुरुले 'तपाइहरु समुन्द्र तटमा गएर मस्ती मार्नुस म आधा घन्टामा लिन आउछु 'भनेर गाडीबाट हामीलाई ओराले। हामी समुन्द्रको किनारमा गएर फोटा खिचिक खिचिक पार्यौ। समुद्र पारीको द्रिश्यपान गर्यो आधा घण्टासम्म। त्यसपछि बसमा छाडेर पहिलेकै ठाउमा आयौ। आमाले कालो ऐसेलु टिपेर ल्यानुभएको रहेछ। मलाई खान दिनभयो। तर जंगलको बेरीमा पोइजन भयो भने सरकारले उपचार नगर्ने भएकोले मैले खान मानिन। 'हेर त छोराले खाला भनेर दुख गरेर टिपे। फाल्यो पो त ' भन्नुभयो आमाले दुखमान्दै। त्यहि टापुको एउटा रेस्टुरेन्टमा खाजा खाइयो र पुन त्यहि पानीजहाजमा बेलुका होटेल फर्कियौ।

तेस्रो दिन आकासे रेलमा चडेर बजार घुम्यौ। त्यसपछि स्टान्ले पार्क गयौ। समुन्द्रको किनारमा लमतन्न परेर सुतेको यो पार्क अत्यन्त सुन्दर थियो। पर्यटकले भरि भराउ यो पार्कमा बिशेस गरि साइकलमा घुम्नेहरू धेरै थिए। पारिपट्टि  सुन्दर भ्यान्कुवर बजार हासिरहेको जस्तो देखिन्थ्यो भने बिचमा समुन्द्र थियो। पार्कको बिचमा बिशाल येक्युरम ( विभिन्न प्रकारका समुन्द्री जिबहरू राख्ने सिसाको घर) थियो। आमालाई समुन्द्रमाथि चढाएर भएन समुन्द्रभित्र के के छ त्यो पनि देखाउने बिचार आयो। आमाको बाहानामा आफुपनि घुम्न पाइयो। त्यसैले टिकट किनेर भित्र छिरियो। भित्र सयौ प्रजातिका माछा देखि लिएर अन्य जिबहरू थिए। साना जेली फिस देखि बिसाल किलर ह्वोवल माछा पानीमाथि पौडिरहेका थिए। पुरा हेरेको भए दिन उतै बित्ने थियो होला। हामीलाई अन्य ठाउँहरु घुमेर साँझ एडमन्टन फर्कनु थियो। आमा हिड्दा हिड्दा थकिसक्नुभएको पनि थियो। खानको मेसो पनि  परेको थिएन आमालाई।
त्यहाबाट निस्केपछि भ्यनकुवर बीच जाने कुरो भयो। आमालाई बीच खासै मनपर्ने जस्तो लागेको थियो तर सबैले जाम जाम भनेपछि बस चढेर त्यहाँ पुग्यौ। आम एकठाउमा बस्नुभयो। हामीहरु पानीसंग खेल्न गयौ। खासगरी यस्ता समुन्द्रिक तटहरुमा युवा युबतीहरु बालुवामा ढाड सेकाइरहेका हुन्छन। नानि बाबुले सबै भन्दा धेरै फन गरे। करिब एक घण्टापछि निस्केर एउटा इन्डियन रेस्टुरेन्टमा पस्यौ र खाना खायौ। त्यतिबेलासम्म फ्लाइटको टाइम भैसकेको थियो। रेल चडेर एअरपोर्ट गयौ। तीनदिनको भ्याँन्कुवरको भर्मण अविस्मरणीय भएर टुंगियो। हामीहरुसँग जोरका तोर भएर घुम्नु आमाको लागि चानचुने थिएन। यो आमाको इच्क्षाशक्ति र सहनशील स्वभाब र रुचिले मात्र सम्भब भएको हो।

                                                                      ५.


‘फार्म फेयर’ मेला थियो एक्पो सेन्टरमा। ५२२००० स्क्वायरफुट क्षेत्रफलमा बनेको भबनभित्र टुडिखेल जत्रा हल थिए जहॉ पशु तथा कृषि मेला लागेको थियो। आमाले फार्म हेर्ने रहर गरेकोले मेलामा लैजाने योजना बनाए। सोहि योजना बमोजिम आमा, म र नानी, बाबु भयर मेला हेर्न गयौ। अनिताले नजाने बिचार गरिन। गरिनमात्र हैन गइनन्।
टिकट काटेर भित्र छिर्यौ। मान्छेहरूको ठुलो भिड थियो। अग्ला अग्ला गोरे र गोरेनीको बिचमा हामि होचा साबित भएका थियौ।एक आपशमा छुट्यो भने हराइन्छ भनेर हात समात समात गरेका थियौ। A,B,C,D,E,F,G,H गरि आठवटा हल थिए। कुनैमा कृषि औजार प्रदशनिमा थियो भने, कुनैमा गाई, बाख्रा, भेडा, घोडा, हिमालि च्याङ्ग्रा। हल D मा घोडा दौड थियो। हल छिर्ने बेला  म अघि अघि थिए। नानि,बाबु र आमा संगै थियौ। भित्र पुग्दा आमा त हुनुहुन्न। नानि बाबुलाई गेस्ट सर्भिसमा छोडेर यताउति हेर्छु त आमा कहि हुनुहुन्न। केटाकोटी हरायको रिपोर्ट ठाउमा सम्पर्क गरे। थाहा लागेन। सबै मान्छेहरू अग्ला अग्ला भयकोले पनि भिडमा खोज्न गार्हो भयो। मन आत्तियो। आमा न अंग्रेजी बोल्नु हुन्छ न हाम्रो ठेगाना र फोन नम्बर नै छ। म हतारिदै यताउति दौडे। कोहि नेपालि भएको खोज्न सजिलो हुने थियो जस्तो लाग्यो।

करिब दश मिनेट पछि रेस्टुरेन्टहरू भएको ठाऊमा जादै थिए आमाको टाठो टाठो आवज सुने। यसो फर्केर हेर्छु त आमाले काउन्टरका केटिहरूलाई “दिलिप लाई देख्यौ नानी हो” भन्दै हुनुहुन्थ्यो। केटिहरू अलमल परेर मुखामुख गर्दै थिए। मुटुको धड्कन अलि कम भयो। दौडदै गए र पछिबाट आमाको हात च्याप्प समाते। न आमाले मेरो ऑखामा हेर्न सक्नु भयो न मैले नै सके। म बोल्न पनि सकिन। आमाको ऑखामा ऑशु टिलपिल गर्दै थियो। नानि बाबु एक्लै छोडेकोले हामि सरासर उतै लाग्यौ। उनिहरूले पनि धैर्यताको साथ पर्खिबसेका रहेछन्।

हजुरआमा हराएकोले उनीहरु दुखि थिए त्यसैले गर्दा पनि होला उनीहरु लामो समय नरोइकन पर्खेर बसेका। श्रेयाले ' आइ वान्ट टु पी' भनिछ त्यहाँको कर्मचारीलाई र उसले बाथरुम लगेछ।

पछि ' कसरि छुट्नुभयो आमा' भनेर कुराकानी गर्दा पो  थाहा भयो 'हल छिर्ने बेला मेरोजस्तै कपडा लगाएको मान्छे संग पछि पछि पो जानुभाएछ। म चाहि ढोकैमा कुरेर बसे। किनकि त्यहाँको सिस्टम अनुसार केटा, केटि बुढा, बुढी जो भएपनि एक एक गरेर छिर्नु पर्छ। आमा त नछिर्दै अर्कोतिर मोडिनु भएछ। मैले उतिबेलै बाहिर निस्केर हेर्नु पर्ने , लाइनमा हुनुहुन्छ आउनुहोला भन्ने लाग्यो।  आमा झुक्किएर अन्तै टाप कस्नु भएछ।

नयाँ ठाउमा जादा बुढा बुढी र केटा केटि लाइ घरको ठेगाना र फोन नम्बर साथमा देखिने ठाउमा परिचय पत्र जस्तो बनाएर राखिदिनु पर्ने रहेछ भन्ने शिक्षा पनि मिल्यो।



                         भ्रमणका केहि तस्बिरहरु तल टाँसेको छु स्क्रोल गरेर हेर्नुहोला। 


























































0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home