Wednesday, April 10, 2019

केलेची स्मिथ।

केलेची स्मिथ। बर्ष  ३६।  चार छोरी, तिन छोरा। डिभोर्स़ी। दुइ दशक अगी  डोमेस्टिक हेल्परको भिजामा साउथ अफ्रीकाबाट   क्यानाडा छिरेकी उ चारवोटा प्रोभिन्समा सरिसकेकी छे काम खोज्दै । गएको महिना मात्र एड्मोंन्टन आएकी ऊ आउनसाथ काम पाएकी थिई एउटा  गैरसरकारी संस्थामा।

मध्यरात।-३२   डिग्री सेल्सिअस को जाडो। सडकहरु हिउले सेताम्मे मात्र हैन सिसाको सिंगो चिप्लेटी बनेको छन्। सुनसान रातमा एक दुइवोटा गाडीहरु बाहेक मान्छेको त कुरै छोडौ चरो मुसो पनि देखिदैन। घर घरका चिम्निहरुबाट धुवा जसरि बाफ उडिरहेको छ निरन्तर क्षितिज तिर। एउटा हातमा खानाको सानो झोला र अर्को हातमा पर्श समातेर घरभित्र छिर्छे। यो उसको जागिर खाने ठाउँ हो।  त्यो घरमा दुइजना अधबैसे केटाहरु बस्छन।  उमेरले मात्र अधबैसे हुन् उनीहरु। बुद्धि र विवेकका हिसाबले केटाकेटी नै छन्। शरीर सय किलो भन्दा बढी छ। खाना जति खाए पनि नपुग्ने। उठेदेखि नसुतुन्जेल भोक लाग्यो, भोक लाग्यो भनिरहने। फ्रिजबाट  काँचो  माशु  झिकेर खाने भएकोले फ्रिजमा साचो लगाएको छ। बेला बेला होश पाउदैनन्  केटाहरु। यहि बेला चक्कु झिकेर हान्न आउने भएकोले किचन क्याबिनेटमा पनि लक् लगाएको छ। 

घरको एउटा कुनामा एउटा सानो कोठा छ। यो उसको अफिस हो ।  अघिल्लो सिफ्टमा काम गर्ने स्टाफसंग दिनभरिको जानकारी लिन्छे। पैसा , चुरोट गन्छे र कागतमा हस्ताक्षर गर्छे। कम्प्युटरमा हाजिरी गर्छे। डकुमेन्टको काम सकेपछि ऊ  सरासर किचेनमा जान्छे र भाडाहरु माज्छे। झाडु लगाउछे। केटाहरुलाई औषधी खुवाउने बेला भएकोले कम्प्युटरबाट उनीहरुको औषधि रुजु गरेर पालै पालो खान दिन्छे। उनीहरुले औषधि निले ननिलेको कन्फर्म गर्नको लागि उनीहरुलाई आँ गर्न लगाउछे। कम्प्युटरमा साइन आउट गर्छे। केटाहरु आआफ्नो कोठामा सुत्न जान्छन। 

सबै काम सकेर केलेची सोफामा गएर आराम गर्छे। फोनमा फेसबुक खोल्छे र हेर्दै साथीहरुका फोटाहरु लाइक, कमेन्ट  गर्दै जान्छे। कसैले पार्कमा  गएर खिचेका फोटाहरु अपलोड गरेका थिए भने कसैले रेस्टुरेन्टमा खान खादै गरेका फोटाहरु टासेका थिए।  उसको भुतपुर्ब लोग्नेले फोटो उपलोड गरेको थियो नयाँ गर्लफेरेन्ड संग।  उतिखेरै हटाइ साथीको लिस्टबाट।मनभरि कुरा खेले। बितेका दिनहरु आँखा अगाडी नाच्न थाले। रातिको सिफ्ट भएपनि, ऊ सुत्न पाउदिनथि।रातभर जागाराम बस्नु पर्थ्यो। तर कहिले काँही सोफामै निदाइदिन्थि उ। 

सोफामा यसो के पल्टेकी मात्र के थिइ उ, लियो उठेर बाहिर निस्क्यो।  उसले लियोलाई  बाहिर जानबाट रोक्न खोज्दै भनी," लियो, तिमिलाई रातिमा बाहिर जान मनाइ छ। त्यसमा पनि तिमि एक्लै कतै निस्कन पाउदैनौ। "

लियो सुनेको नसुने झैँ गरेर जाकेट र स्नो बुट लगाउन थाल्यो।

" लियो, तिमीले सुनेनौ कि मैले भनेको ? तिमि जुत्ता खोल र कोठामा गैहाल। बाहिर तिमीलाई खतरा हुन्छ।  चिसो र चिप्लो छ। पसलहरु बन्द छन् यतिबेला।"

" तैले मेरो स्वतन्त्रता खोस्न सक्दिनस। म मन लागे जान सक्छु र बस्न पनि सक्छु," केलेचीको मुखमा नहेरी भन्यो उसले र सरासर बाहिर लाग्यो ।

सडक सुन्सान थियो। दुइ दिन देखि हिउ परेकोले गर्दा सडकभरि हिउ थुप्रिएको थियो। केलेचिले ऊ पर पुग्दासम्म झ्यालबाट हेरी। प्रोटोकल अनुसार  उसले आफ्नो म्यानेजरलाई फोन गरेर रिपोर्ट गरि। पुन फोनमा गीतहरु सुन्न थाली।

करिब आधा घण्टा पछि लियो फर्किन्छ र सरासर कोठाभित्र पस्छ।  म्यानेजरलाइ फोन गरेर पुन रिपोर्ट गरि उसले। लियो कोठाभित्र पसेपछि बाहिरको ढोका लगाउछे र अफिसमा जान्छे।  केस नोट बनाउछे र इमेल गर्छे म्यानेजरलाई।

रात बित्दै जादा उसले आफ्ना दुइओटा छोरीहरुलाई सम्झन्छे। उनीहरु एक्लै छन् घरमा।  एउटी दस बर्ष र अर्को आठ। लोग्ने संग छुट्टिएको करिब तिन बर्ष पुग्यो। पहिले पहिले त उ छोरीहरुलाई भेट्न को लागि महिनाको एकदुई चोटी घरमा आउथ्यो। केलेचि एडमन्टन मुभ भएपछी उसले फोन सम्म पनि गरेको छैन। हुनत केलेचीले पनि कहिले फोन गरिन उसलाई।

सोच्दा सोच्दै कुर्चीमा निदाउन लागेकी हुन्छे ऊ, बाहिर टिभीको ठुलो आवाज आउछ। ऊ बाहिर निस्कन्छे हतार हतार। गेरोनिमो उठेर टिभी खोलेको रहेछ।  ऊ चरनाम नाग्गे थियो।

गेरोनिमो वर्ष ३५, नेटिभ। ऊ पी डी डी को बिरामी अर्थात्  मानसिक बिकाश नभएको बिरामी हो। उसलाई बोल्न प्रस्टसंग आउदैन। हात एकोहोरो चलाइरहन्छ अर्थात् दाइने हातले देब्रे हातको औलाहरु भाचिरहन्छ। राम्रो संग हिड्न आउदैन। दिमागको विकास राम्रोसंग नभएकोले गर्दा दिशा पिसाब जहाँ लायो तेही गर्छ। तसैले गर्दा उसलाई बारम्बार डाइपर फेर्दिनु पर्छ। कहिले काँही उसले एक्कासी टाउको टेबल, भुइँ तथा भित्तो मा ठोक्छ।  यस्तो बेला उसले नजिक भएको मान्छेलाइ पनि एकदुई मुक्का ठोक्न भ्याउछ। केलेची कतिपल्ट पछाडिको ढोकाबाट बाहिर भागेर ज्यान बचाएकी छ। बेला बेलामा शरीरमा भएको सबै कपडा फुकालेर तुरी खेलाउदै हिड्छ। हाइ बिहेभियर अर्थात् आक्रामक भएको बेला औषधि दिन्छे उसलाई , तरपनि आजकल औषधिले त्यति असर गर्दैन उसलाई ।

केलेचिले गेरोनिमोलाई कोठामा जान भन्छे। तर उसले टेर्दैन।  गेरोनिमो एउटा खुट्टो भुइमा लतार्दै बैठक कोठामा यता र उता डुलिरहन्छ। कलेची उसलाई पुन कोठामा जान अग्रह गर्दै टिभी बन्द गर्दिन्छे। ऊ खानाखाने टेबलमा गएर बस्छ। उसलाई बोल्न नआउने भएकोले उसको हाउभाउ बुझेर ब्यबाहार गर्नुपर्ने हुन्छ। केलेचिले फ्रिजबाट पुडिंग निकालेर दिन्छे।  खादैन उसले।  एकोहोरो भित्तोतिर हेरेर बस्छ ऊ। एकैछिन पछि एकोहोरो आवाज निकाल्छ। केलेची अलि सतर्क भएर बाहिर निस्कने ढोकानिर गएर उभिन्छे। गेरोंनिमोले एकैछिनमा डंग डंग टाउको ठोक्छ टेबलमा। हेर्दा हेर्दै उसको निधारबाट रगत बग्छ। केलेची डरले बाहिर भग्छे। बाहिरबाटै म्यानेजरलाई फोन गर्छे र तुरुन्त #911 मा कल गर्छे।

 केहीबेरमा एम्बुलेन्स आउछ। त्यतिबेलासम्म गेरोनिमोको अनुहार रगतले लत्पतिएको थियो। बडो होसियारिसाथ स्वाथ्यकर्मीहरुले उसलाई समातेर एम्बुलेन्समा राक्छन। प्राथमिक उपचार पश्चात् उसलाई हस्पिटल लैजान्छन।केलेचीले सबै रिपोर्ट तयार गर्छे। यति गर्दा गर्दै उज्यालो हुन्छ।  लियो उठिसकेको हुन्छ। उसलाई ब्रेकफास्ट बनाएर खान दिन्छे। औसधि पनि दिन्छे।  सात बजे  बिहानको स्टाफ, वोसागी, बिहानको शिफ्टको लागि आउछ। सबै कुरहरुको डीब्रिफिंग  गरेर उ घर फर्कंछे। छोरा छोरीलाइ लन्च तयार गर्छे।  उनीहरुलाई ब्रेकफास्ट खुवाएर स्कुल पठाउछे।

सबै काम सकेर दस बजेतिर सुत्छे तर रातको घटनाले गर्दा उसलाई निन्द्रा पर्दैन। दिनभर के के सोची के के। उठेर बेलुकाको खान तयार गरि र छोरा छोरीलाइ ल्याउन स्कुल गइ। स्कुल नपुग्दै उसलाई हेड अफिसबाट फोन आउछ। केलेचीले चिट चिट पसिना काड्छे। उसलाई त्यो रात काममा नजान र भोलि अफिस आउनको लागि फोन गरिएको थियो। तर पनि केलेचिले आफ्नो जागिर चट भैसकेको महशुस गरिसकेकी छे।

भोलि बिहान उ केटाकेटी लाइ स्कुल पुर्याएर अफिस जान्छे। केहीबेरको कुराइ पश्यात उसलाई एउटा सानो कोठाभित्र लगेर म्यानेजरले सोध्छ," हिजो राति के के भयो सबै कुराहरु रिपोर्टमा छैन। टेल मि एभ्रिथिंग इन डिटेल। " 

उसको छातीमा धक धक बढ्न थाल्छ। चिट चिट पसिना छोड्दै भन्छे, " आइ ह्याव मेन्सन अलरेडी इन द रिपोर्ट। "

"डीड यु फलो द पर्सिडुर?"

"एस, आइ डीड। "

" नो, यु डीड  नट। "

केलेची चुप्प लाग्छे।  एकमनले सोच्छे मुखभरिको जवाफ दिन्छु।  यसै जागिर गयो, उसै गयो। फेरी अर्को मनले भन्छ, 'कुल डाउन'। अर्कोको देशमा भोलि पनि जागिर खोज्नु पर्छ। 

म्यानेजरले फाइलबाट एउटा कागत निकाल्छ र साइन गर्न भन्छ, "दिस इज योर फस्ट रिटन अप।  इफ यु डोन्ट लर्न फ्रोम दिस, आइ हाभ टु टर्मिनेट योर एम्पोलोइमेन्ट। "

उसलाई रिंगटा लाग्छ। अध्यारो मुख बनायर साइन गर्छे। 

" इ ह्याभ यु इन द नेक्ट् हाउस फ्रम टूमोरो। यु क्यान रेफुज इफ यु डोन्ट लाइक", चिसा आखाले केलेचिलाई हेर्दै भन्छ। 

केलेचीलाई एकैछिन पनि तेहा बस्न मन लागेन। बाइ पनि नभनी निस्की। 

केलेची भोलिपल्ट काममा गइन।  बरु बायोडाटा बोकेर लागि अर्कै काम खोज्न। वाल्मर्ट , होम डिपो , सबवे , म्याक्डोनाल्ड कता कता मात्र पुगिन ऊ।  "जागिरमा कसैले  बोलाएनन्।  काम खोज्दा खोज्दै महिनौ बित्यो। रातिको काम मात्र भेटिन्थ्यो , तर दिनको काम पाइन। छोरीहरुलाई एक्लै घरमा छोडेर रातिमा काम नगर्ने निर्णय गरेकी थिई उसले। 

काम छोडेको करिब एकमहिना पछि 'हेनरी केयर सेन्टर' बाट इन्टरभिउ को लागि फोन आयो। बाक्लो हिउ परेको र बाटो चिप्लो थियो। आधा बाटो नपुग्दै गाडी चिप्लियो र सडक छेउको सानो रुखमा ठोकियो। रुख सानो थियो।  गाडीको ठक्करले गर्दा रुख भाचियो।  पुलिसलाई कल गरि। नजिकैको पुलिस अफिसमा गएर रिपोर्ट गरि उसले।  पुलिसले उल्टै रुख भाँचेको भन्दै दुइसय पचास डलरको टिकट  हातमा थमाएर पठायो।  इन्टरभिउ पनि छुट्यो। दशा लागे दश थोक हुन्छ भने झैँ भयो उसलाई । 

गाडीको एकापट्टी अर्थात् थर्ड पार्टी इन्सुरेन्स मात्र भएकोले मर्मत गर्न करिब तिन हजार डलर  खर्च गरि उसले। पैसो सबै क्रेडिट कार्डको जिम्मामा छोडी। एकहप्ता पछि पुन फोन गरि हेनरी केयर सेन्टरलाई र आफु दुर्घटनामा परेकोले गर्दा इन्टरभिउ दिन नपुगेको बताई। उत्तर आयो ," सोरी म्याडम, यु  क्यान ट्राई  नेक्ट् टाइम। "

उसलाई रातमा निन्द्रा पर्न छोड्यो।  भोक लाग्न छोड्यो।  छोरीहरुको भबिश्यको चिन्ताले दिन दिनै गल्दै गई । डाक्टरले डिप्रेसनको औषधि खाने सुझाब दियो।  एन्टीडीप्रेसान्ट खान थाली।  उसका साथीहरुले काम गर्यो भने सबै ठिक ह्न्छ, हामि काम खोज्दिन्छौ भन्थे , तर काम खोज्नु कुरा गरे जस्तो सजिलो थिएन।  तरपनि आफ्नो कम्युनिटीमा कुरो पुर्याएपछि कतै न कतै जागिर मिल्थ्यो।  'आइल्याण्ड ग्रिल' नामक जमैकन रेस्टुरेन्टले काम दियो। 

रेस्टुरेन्टमा राति  बाह्र बजेसम्मको शिफ्टमा काम गर्न थाली। काम जे पनि गर्न पर्थ्यो। भाडा धुने , भुइँ पुछ्ने, कुकलाई सहयोग गर्ने, खान सर्विस गर्ने सबै काम गर्न पर्दथ्यो। तर पनि ऊ खुसि नै थि। ट्याक्स कटाएर दुइहजार डलर हात पर्दथ्यो। त्यो पैसाले भाडा, ग्रोसरी र अन्य खर्च चलाउथि। काम गर्दा गर्दै तेही काम गर्ने कुक ब्रान्ट्ले संग माया पिरिम बसेछ। छोरा छोरी हुदैमा र उमेर ढल्कदैमा माया पिरिम गर्न नहुने त कहाँ पो थियो र। फेरी प्रेम भन्ने जातै अनौठो न उमेरले छेक्ने, न जातले।   केलेचीले पनि डेटिङ्ग सुरु गरि ब्रान्टले संग ।  डिप्रेसनको गोलीहरुसंग डिभोर्स गरि।  छोरा छोरीहरु पनि हुर्कदै गए। काम गर्दा गर्दै पुराना दिनहरु बिर्सदै गई उसले। 

रेस्टुरेन्ट प्रत्यक सोमबार बन्द हुन्थ्यो। रेस्टुरेन्ट बन्द भएको दिन उनीहरु कहिले सस्काचेवन नदीको किनारमा गएर कन्चन पानीसंग आफ्नो प्रेम मिसाउथे भने कहिले शहरका विभिन्न मलहरु घुम्न निस्कन्थे। तर छोरीहरुको स्कुल छुट्ने बेला घर फर्की सक्थे उनीहरु। ब्रान्टले पनि उसका छोरीहरुलाई  आफ्नै जस्तै गरेर माया गर्दथ्यो। त्यो माया स्वतस्फुर्त थियो। कुनै दिन पनि केलेचिले उसँग सर्त राखेर प्रेम गरेकी थिइन। छोरीहरुलाई स्विकार्छौ कि स्वीकार्दैनौ भनेर पनि सोधिन।  सायद उसलाई राम्रोसंग थाहा थियो सच्चा प्रेममा कुनै सर्त हुदैन भनेर। छोरीहरुलाई लिएर ट्री हाउस घुम्न निस्कन्थे। उनिहरुसंगे आइसक्रिमको मज्जा पनि लिन्थे। ट्री हाउसमा लुकामारी गर्दै गर्दा लुकेर सुटुक्क चुप्पा चाप्पी गर्न पनि भ्याउथे। 

एकदिन केलेचीले ब्रान्टलेसंग आफ्नै रेस्टुरेन्ट खोल्ने प्रस्ताब राखी। उसको प्रस्ताबले ब्रान्टलेलाई सोच्न बाध्य बनायो। काम गर्ने रेस्टुरेन्टको साहु पनि उसको आफन्त  थियो। सजिलै काम छोड्न नमिल्ने थियो।  तर केलेचीले उसलाई " बिजनेसमा कोहि  पनि आफन्त हुदैन।  सधैभरि आफन्त भन्दै काम अर्कोको काम गरेर मात्र पनि हुदैन।  यो दुनिया सबै स्वार्थी छ।  हामि दुवै जना काम गर्न सक्षम छौ। आफ्नै रेस्टुरेन्ट खोलौ" भनेर सल्लाह दिई ।  ब्रान्टलेलाई केलेचिको कुरा सहि लाग्यो। सोच्यो 'आफ्नै अङ्कल भनेर के गर्ने काम गरेको तलब भन्दा कहिले नाफाको एक पैसो दिने हैन। " नो रिक्स, नो गेइन। " अलिकति पैसो लाइन अफ क्रेडिटबाट र अलि अलि दुबैजनाको सेभिङ्गबाट लगानी गर्ने सल्लाह गरे उनीहरुले। 

करिब दुई महिनाको निरन्तर खटाइ र खोजाई पछि  केलेची र ब्रान्टले मिलेर "जमैकन इटरी ' नामक रेस्टुरेन्ट खोले । रात दिन खटेर काम गरे।  दुइ जना स्टाफ पनि राखे। रेस्टुरेन्ट  रिभरसाइडमा भएकोले गर्दा स्प्रिंग देखि अटम सम्म बेसरी चल्थ्यो।केलेचिले सक्दो मेहनत गरि क्लाइन्टहरु भित्राउन। रेस्टुरेन्टको इन्टेरियर डेकोरेसन पनि नबिन र मौलिक बनाए। ब्रान्टले किचनको सबै कुरा म्यानेज गर्दथ्यो भने केलेचिले बाहिरको सबै समाल्थी। तिस जनाको डाइनिंग, आइल्याण्ड बारको साथै उबर र स्किप द डीसेस राखेका थिए। एक दुइ महिनाको पापड बेलाई पछि रेस्टुरेन्टले राम्रो पिक अप लियो। टेक आउट पनि धेरै नै बिजी हुन थाल्यो। ब्यापार राम्रो भएकोले गर्दा उनीहरुले बैंकको ऋण पनि समयमै तिर्न सके। दुवैजना मिलेर रिभर भ्यालीमा एउटा घर पनि किने । 

 दुवैजनाले खुब मेहनत गरे। एकदिन चर्चमा गएर दुबैजनाले भब्यसंग बिबाह गरे। केलेचीका दुइ छोरीहरु पनि संगै गए चर्चमा। केलेचिले एक साइडमा आफ्ना छोरीहरु र अर्को साइडमा ब्रान्टलेलाई राखेर कशम खाएकी थिई।  पाँच महिना नपुग्दै केलेचीले छोरो जन्माई। सुत्केरी भए संगै उ घरमा बस्न थाली। ब्रान्टले एक्लै घर र रेस्टुरेन्ट खट्न थाल्यो।  उ बिहान चार बजे उठ्थ्यो। श्रीमतीको लागि खाना तयार पार्थ्यो र काममा निस्कन्थ्यो।  बिहान पाँच बजेदेखि राति बाह्र बजेसम्म लगातार खट्दथ्यो। केलेचीले धेरै कुरा थामेकी थिई किचनमा, तर उसको अनुस्पथिमा किचनमा काम गर्ने दुइजना मान्छेहरु पनि अलमल मात्र पर्दथे। उबर र  स्किप द डिसेस बाट उसको धरै अर्डर आउथ्यो। बाहिर नयाँ स्टाफ राखेको थियो तरपनि बिजी भएको बेला रेस्टुरेन्ट कच्ची सडकको गाडी झैँ लर्खराउथ्यो। 
घरमा पनि केलेचीले एक्लै सबै गर्न परेको थियो भने रेस्टुरेन्टमा भने जस्तो ब्यापार भएको थिएन। भएको ब्यापारबाट घरको मोर्ट्गेज तिर्न पनि धौ धौ पर्न थाल्यो।  एक महिना नहुदै केलेचि रेस्टुरेन्टमा काम गर्न थाली। केलेची काममा फर्के लगतै ब्यापारले पिकअप लिन थाल्यो। घर र बिजनेस दुबैतिर मिलेर संघर्स गरे दुवै जनाले। यो उनीहरुलाई सजिलो पक्कै पनि थिएन, तर उनीहरुको दृढ इक्षा शक्ति र अनुशासनले यो सबै सम्भब भएको थियो। 

एक बर्ष पछि उनीहरुले रेस्टुरेन्टको रिनुभेसन गरे।  किचनलाई फराकिलो बनाए।  काम गर्ने स्टाफ पनि थपे। किचनको लागि राम्रो अनुभबी कुक पनि राखे। त्यसपछि आफै पनि खान डेलिभरी गर्न  थाल्यो ब्रान्टलेले। एक दिन खाना डेलिबर गर्न जाने क्रममा ब्रान्टले गाडी एक्सिडेन्टमा पर्यो। अघिल्लो रात नयाँ बर्षको प्रोग्राममा रातभर काम गरेको थियो उसले। गाडी चलाउदा चलाउदै ऊ निदायो। उसले गाडीको कन्ट्रोल गुमायो र एक्कासि क्यालगरी तर्फबाट आउदै गरेको पिकअप  ट्रकले पछाडीबाट ठक्कर दियो। उ पाँचसय मिटर पर सडक मुनितिर पल्टिन पुग्यो। मान्छेहरु गाडी रोकेर उसलाई निकाल्न नपुग्दै गाडीमा आगो लाग्यो। एकैछिनमा ब्रान्टलेको शरीर धुवाँमा परिणत भयो। 

केहीबेरमा एम्बुलेन्स र दमकल आइपुग्यो।  तेतिन्जेल ब्रान्टलेको शरीरमा हड्डीमात्र बचेको थियो।  मेडिकल टोलीले उसलाई  अस्पताल जाचबुजको लागी लग्यो। गाडी पूर्णतया जलेर ध्वस्त भैसकेकोले गर्दा  पुलिसले उसको परिचय पनि पत्ता लाउन सकेन। उता केलेचीले  ब्रान्टलेलाइ दिनभर कुरिरही। दिनभर फोन गर्ने कोसिस गरि तर फोन उठेन। 

राति अबेर सम्म पनि  ब्रान्टले नफर्केकोले उ पुलिसचौकीमा रिपोर्ट गर्न गइ। प्रहरीहरुले अनुसन्धान गरेर मात्र खबर गर्ने भने घर पठाए।  रातभर निन्द्रा लागेन उसलाई।  उसका साथिभाइहरुलाइ फोन गरेर सोधी।  अह कतै बाट पनि केहि पत्तो भएन।  भोलि पल्ट पुन पुलिस चौकी पुगी केलेची अढाई बर्षको छोरो बोकेर। एउटा महिला पुलिस आएर उसलाई भित्र छुटै अपिसमा लागि। त्यो महिला पुलिसको कुरा सकिदा नसकिदै छोरा संगै बसेको कुर्चीबाट भुइमा लडी ऊ।  धेरैबेर सम्म पनि होस् आएन उसलाई।  तुरुन्त एम्बुल्लेंसमा राखेर उसलाई अस्पताल पुर्रायो पुलिसले। केहिदिन ट्रमा सेन्टरमा उसको उपचार पश्चात ऊ घर फर्की। 

एकपल्ट फेरी खुशी खोसिएको थियो केलेचीको। छोरा छोरीको रेख देख गरोस कि रेस्टुरेन्टको केलेचीलाई  गाह्रो पर्दै गयो। रेस्टुरेन्टमा ग्राहकहरु पनि कम कम हुदै गएका थिए। स्टाफहरुले पनि काम छोड्न थाले। बाध्य भएर उसले रेस्टुरेन्ट बिक्रीमा राखी। रेस्टुरेन्ट पनि भनेको मूल्यमा बिक्रि नाभायपछि त्यहाँ भएका सामानहरु लिलामी गरि उसले। दिन बित्दै गयो। उसलाई घरको किस्ता तिर्न पनि हम्मे हम्मे पर्न थाल्यो। बाध्य भएर घर बिक्रीमा राखी उसले। घर बेचेपछि तिन जना छोराछोरीसंगै  पुन एक कोठाको अपार्मेंटमा फर्की  ऊ। 

भाग्यले जति ठगेपनि जिन्दगिबाट हार मानेकी थिइन उसले। छोरा र छोरीहरुको  सरकारी चाइल्ड बेनिफिट र आफुले पाउने एकल महिला भत्ताबाट घरखर्च चलाएर थोरै भएपनि पैसा जम्मा गरि उसले। छोरा पनि स्कुल जाने भयो।  छोरीहरुले आफ्नो ख्याल गर्न सक्ने भए।  केलेचीले आफु स्कुल जाने निधो गरि। कुनै शिप सिकेर आफै केहि गर्छु भन्ने दृढ आत्मबिश्वाश बोकेर स्कुल भर्ना भई ऊ। सुरुमा फेसियल र हेयर स्टाईलिंग  प्रोग्राम पढी। पछि सरकारी फंडिंगमै एस्थेटिक्समा डिप्लोमा गरि। उसले रात दिन मेहनत गरि। आफ्नै ब्युटी पार्लर खोलेर काम शुरु गरि। रात दिन खटेर काम गर्दै जादा उसका ग्राहकहरु पनि बढ्दै जान थाले। कुनै बेला कामबाट निकालिएकी केलेचीले चार चार जनालाई रोजगारी पनि दिन थाली। निरन्तर प्रयाश, आत्मा बिश्वास र दरो मुटु बनाएर हिडेपछि जतिसुकै ठुलो बिपत आइलागेपनी त्यसलाई सजिलै पार लगाउन सकिन्छ भन्ने कुराको उदाहरण हो केलेची। 'आयुको छोरालाई बायुले खादैन ', भने झैँ केलाचीलाई कुनै पनि बिपदले पछार्न सकेन। ऊ एक सफल उधमी भई। 










0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home