Saturday, October 1, 2022

अहिले क्यानाडाको मुख्य शहर टोरोन्टो नेपालीमय बनेको छ। एकातिर बिद्यार्थीहरुको घुइचो नै छ भन्दा हुन्छ।  बस, सबवे , मल जताततै भेटिन्छन कलिला अनुहारहरु। कसैले आफन्तका छोराछोरीहरुलाई बैठक कोठामा सुताएर कोठाको बन्दोबस्त गरिरहेका छन् भने  कसैले बेसमेन्ट प्लस टु सकेर उच्चशिक्षाको खोजीमा क्यानाडा अहिले नेपालि बिध्यार्थीहरुको रोजाइमा परेको छ।  अर्कोतिर रक्तिमपरिवारका गीतहरु अर्थात् जिबन शर्माका गीतहरुले सम्पूर्ण नेपालिहरुलाई जोडेको छ। सबैको अतित ब्युझाइदिएको छ।  


 " जनै लाछैनौ। आउ भित्र, पाडाको माशु चाख", सुबेदार्नी आन्टीले हाँस्दै भनिन।

म अलमलमा  परे। भर्खर सात कक्षा उतिर्ण गरेर माध्यमिक शिक्षाको लागि लेकको घरबाट बेसीको घर झरेको थिए। कहिलेकाँही बुवाले थाहा नपाउने गरेर कुखुराकोसम्म त चाखेकै थिए। आमाले "बर्तबन्द नगर्दासम्म कुखराको चिची चल्छ " भन्नु हुन्थ्यो। लागो , मसानलाई बलि दिदा  छिमेकी हवल्दार बाजेले तिर्तिरे खोलाको मुहानमा जंगी भालेको माशु हामीहरुलाई पनि दिन्थे। निकै स्वादिलो चिज खान नहुने कस्तो जात हो बाहुनको भनेर कहिलेकाहिँ अचम्म लाग्थ्यो। 

"भो पाडाको त खान्न। बाले थाहा पाउनुभो भने मार्नुन्च ", भन्दै म माथि बाटातिर उक्ले। सुबेदार कान्छाबा पछि पछि आए  र च्याप्प हातमा समाते।   "हिड, कसैले थाआ पाउन्न " भन्दै तानेर घर भित्र लगे।हाम्रो घर संगै जोडिएको थियो। साइलो दाई र म मात्र बस्थ्यौ घरमा। त्यसबेला दाईको बर्तबन्द भैसकेको थियो। उहाँ घरमा पनि हुनुहुन्थेन। 

भित्र धुवाले उभिन सक्ने स्थिति थिएन। भुइमा बस्यो भने अलिक राहत मिल्थ्यो। चुलोको छेउमा मकैको पोस्करले बुनेको चकटी थियो। त्यहि तानेर बसें। सुबेदारनी आन्टीले ठुलै कराहीमा माशु पकाउदै थिइन। डाडुले झिकेर कटौराभरि माशु मेरो अगाडी राख्दिन। 

सुबेदार बाले स्टिलको गिलासमा तरल पदार्थ दिदै भने  ' लौ यो चिसो स्वाट्ट पार। " इन्डियन आर्मीको सुबेदार बक्सिङ्ग खेल्दा पाखुरामा डल्ला निस्केका थिए। डम्मको शरीर "खान्न भन्यो भने एक बक्सिङ्ग ठोकिहाल्छ्न कि झैँ लाग्थ्यो। 

नाकले थाहापाइहाल्यो। थाहा पनि कसरि नपाउने। लेकमा होस् या बेसी सिंगो गाँउमा उपाध्य बाहुन भन्ने हामि मात्र थियौ। छरछिमेकी सबै मतवालीहरु। चाडबाड आउनै नहुने हरहर बास्नाले टोलै ढाक्थ्यो। हामि मोही पार्थेउ, उनीहरु रौसि। 

"मनमा कता कता डर पनि लागेको थियो। एकातिर, त्यो जिनिस खायो भने जात जान्छ भन्ने छाप थियो दिमागमा भने अर्कोतिर मान्छे हँसाउने र फसाउने त्यो जिनिस एकपल्ट चाख्ने कौतुहलता पनि थियो। 

"सट्ट पार, केहि हुन्न " सुबेदारबाले आधा गिलास एकैचोटीमा स्वाट्ट पार्दै भने। टिमुर हालेर परपर भुटेको माशु पनि निकै स्वादिष्ट थियो। गिलास उठाएर पानि पिए झैँ मुखभरि हालेछु थुक्नु न निल्नु भयो। आँखा चिम्लेर घुटुक्क पारे।  मेरो खुम्चेको अनुहार देखेर आन्टि खित्का छोडेर हाँसिन। 

दशैँ सुरु भैसकेको थियो। दशैँको बेला रक्तिम परिबारको नाटक निकै चर्चित थियो। नजिकै गाँउमा रक्तिम परिबारले सास्कृतिक कार्यक्रम राखेको थियो। तिनपानेले रिनिनी परिसकेको थियो। रक्तिमको नाटक हेर्न जान भनेर  एभ्रेडी बेट्री घरको पालीमा दिनभरी सुकाएर राखेको थियौ दाजुभाइले। " जताततै खोजेँ, यहाँ पो मुन्टेको रैच', भन्दै दाई भित्र पस्नु भयो। मेरो सातो  पुत्लो उड्यो। स्टिलको गिलाँसमा अझै बाँकी थियो। जर्फराउदै उठें। 

हाम्रो घरअगाडी पाँच सातजनाको ग्रुप भेला भैसकेको थियो नाटक हेर्न जानको लागि। हामीले पनि टर्चलाइटमा बेट्री हाल्यौ र उनिहरुसंगै राम हेर्न तयार भयौ।  कार्यक्रम स्थल घरदेखि करिब आँधा घन्टाको उकालोमा पर्दथ्यो। जुनेली रात थिए।  खोल्साखाल्सीमा बाहेक अन्त खासै टर्च बाल्नु पर्दैनथ्यो। हामि स्कुल पुग्दा दुइतिन जनाले स्टेज मिलाउदै थिए। कसैले माइक मिलाउदै थिए। घरि घरि "सिमली छायाँमा बसी भरिया लामो सास फेरेको" भन्ने बोलेको गित घंकिन्थ्यो र एकैछिनमा कानै खाने गरेर  टेर्रर्र टेर्रर्र  गर्दै चुईइइअँ को आवाज निस्कन्थ्यो। मन्चको एउटा कुनामा कसैले मेन्टोललाइ दम दिराखेका हुन्थे। एक्कासी ह्वार्र गर्दै पाखै उज्यालो पार्थ्यो भने, एकै छिनमा निभेर अन्धकार छाउथ्यो। कुर्कुरे बैसले मत्त केटाकेटीहरु घरि गुरुरु गर्दै पाटाको कोदो माड्न पुग्थे, घरि स्कुलको कोठाभित्र छिरेर रक्तिमका गित गाउदै नाच्न थाल्थे। 











0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home