Thursday, June 2, 2022

सोल्ड ओभर आस्किंङ्ग

                                                                     

                             डाउनटाउनको उडुस र  मेरी बुढीको डिट्याच घर 


"लौ न  फेरी उडुसको औषधि छर्ने रे भोली । अस्ति भर्खर साँङ्लाको दबाई छरेको हैन भने। दिक्क पारिसक्यो।  घरि किचनका समान निकालेर सुत्ने कोठामा थुपारेको छ घरि बेड बिस्तारा लेर किचनमा थुपारेको छ।  केटा केटीलाई पनि बिरालोले पाठा सारेझै घरि कसको घर, घरि कसको घर। वाक्क भैसक्यो भनेको", प्रमिला हातमा नोटिस लेखेको सेतो  कागज समातेर लोग्ने सुतेको कोठामा पसी । 

बरुण राती  अबेरसम काम गरेकोले ओक्षानमै पल्टिरहेको थियो। बुढीको गुनासो सुन्नासाथ जुरुक्कै उठ्यो र हातबाट नोटिस तानेर पढ्न लाग्यो। "

"हैन हाम्रोमा पनि उडुस परेछन्  कि क्याहो? 

"कैले चै उडुस परेको छैन यहाँ आएदेखि?  औषधि छरेको दुइचार दिन  हराए झैँ हुन्छ। त्यसपछि फेरी जागिहल्छ। यहाँ त औषधिले पनि कामै गर्दो रैनछ।"

"मेरो पनि जिउ चिलाएर हैरान परेको छ। नानीको पनि दाइने हरमा चाला मात्रै छन्। बाहिरबाट देख्नलाइ मात्र राम्रा, भित्र भित्र उडुसका पोका पो रैछन यी डाउनटाउनका अपार्टमेन्ट।"

  हैरान पारिसक्यो भने।' संगै आएकाहरु सबैले घर किनेर सरिसके। सानो तिनो भएपनि घरमा जानपाए यो जातबाट अलिकति भएपनि मुक्ति त पाइन्थ्यो होला।"

" घर किन्नलाई पैसा जम्मा हुन पर्यो नि।  घरको मूल्य बढेर आँकास छोईसक्यो। जाबो चलिस वर्ष पुराना कुहेका घर लाई मिलियन भन्दा माथि भन्न लागिसके। भाडा  तिर्न मुस्किल भएको बेला मिलियन को मोर्गेज कसरि तिर्ने हो। नदुखेको टाउको बिनासित्ती किन दुखाउने।" 

"सबैले तिरेकै छन् क्यारे जसरि भएपनि। घर किनेर गएकाहरु मोर्गेज तिर्न सकिएन भनेर फेरी अपार्टमेन्ट फर्केका छैनन्। "

" ठिकै छ।  मैले नकिन्ने भनेको कहाँ हो र ? तर घर किन्ने बजेट पनि त पुग्न पर्यो। "

"दलबहादुरले फोन गरेका थिए घर किन्ने भए अलिअलि सहयोग म पनि गरौला भनेर । घर किनबेच गर्ने एजेन्ट  भएका रैछन । "

"त्यै लाइसेन्स लेर त फोन गरेका होलान्।  नत्र अहिलेसम्म कहिले फोन गर्या थे। पैसो हल्दिन्छु भनेको तिम्रो मायाँले हैन कमिसनको मायाँले हो। " 

"जे सुकै होस् न।  लाइन अफ क्रेडिट पनि छ। अलीअली  साथीभाईले सहयोग गर्लान। भगवानले पनि 'त आँट , म पुर्याउछु'  भन्नुहुन्छ, हैन र ?"

"अब त्यस्ता भनाइ  सनाइका कुराले केहि हुदैन। अहिले अत्यधिक मूल्य बढेको बेला घर किन्न सकिदैन। अलि समय कुरौ।  त्यसपछि सोंचौला", बरुणले भन्यो र सथिहरुसंग मिटिंग छ भन्दै  टिमहर्टनतिर लग्यो। 

दिउसो दुबैजना काममा गए।                                                                    

बेलुका कामबाट फर्के पछि उनीहरुले आफुहरु सुत्ने बिस्तरा बाहेक सबै सामानहरु लगेर बैठक कोठामा थुपारे।  धेरैबेर सम्म कति बजेटको घर किन्ने। बैंकको खातामा कति रकम जम्मा छ।  साथीहरुसंगबाट कति माग्न सकिन्छ भन्ने कुरामा सल्लाह गरे।

 प्रमिला सकेसम्म सिङ्गल अर्थात् दिट्याच  , नभए  दुइटा घर जोडिएको अर्थात सेमी डिट्याच सम्म  किन्न पाँए हुन्थ्यो भन्नेमा थिई।उसलाई पनि अरुहरुले झैँ  उसलाईपनी घर पछाडीको आँगनमा माटो खोस्रेर तरकारी लाउने रहर थियो। अरुहरुले झैँ समर सुरु हुनासाथ घर पछाडी खुल्ला ठाँउमा  कुकुराका सपेटा पोलेको देखाउने रहर थियो।  साग,सिमि र लौकिसंगै टिकटक बनाउने रहर थियो। तर दिन दुगुना रात चौगुना भने झैँ घरहरुको मूल्य आँकासिदै गएकोले आफुसंग जम्मा भएको बजेटले यी सबै रहरहरु पुरा नहुने पक्का पक्कि थियो। 

दुवै जनाको बैंकमा संयुक्त खाता थियो। कति जम्मा छ भन्ने त दुबैजनालाई थाहा थियो तैपनि मन बुझाउन भएको चालु र बचत खाता चेक गरे। कतै सापटी दिएको पैसो पनि जोडे। पक्कै सहयोग गर्लान भन्ने  साथीहरुसंग माग्न मिल्ने रकम पनि जोडे।  डाउन पेमेन्टको लागि कनिकुथनि दश प्रतिशत मात्र पुग्ने देखियो एक मिलियन  सम्मको घरलाई।  आम्दानीको हिसाबले बैङ्कबाट सिधै घर कर्जा  पास हुदैनथ्यो। त्यसको लागि पनि एजेन्ट मार्फत नै जानु पर्थ्यो।  घरको कर, कर्जा मिलाइदिने एजेन्टको फि, वकिलको फि।  हिसाब गर्दा गर्दै दुबैजना तिरिमिरी झ्याई परे। 

"एकचोटी दलबहादुरसंगै बसेर कुराकानी गरौ न।  उनिहरुले केहि उपाय  दिन्छन कि ?" 

" उपाय  त देलान। पैसो  दिदैनन क्यारे।  पहिले पैसोको जोहो गरौ। त्यसपछि घरको बारेमा कुरा गरौला। "

" पैसो पैसो भन्दा यतिका वर्ष बितिसक्यो। हामि संगै आएकाहरु सबैले आँट गरेर ठोकिसके। तिमि चै लोटरी कुरेर बस।" 

एकछिन सम्म दुबैजना चुपचाप बसे।  बरुण पनि के गरोस। जिबनको आधा आधिमा आइपुग्दा एउटा छानो आफ्नो पनि होस् भन्ने रहर कसलाई पो हुदैन र।  राति अबेरसम्म निदाएन ऊ। आएदेखि एकदिन काम नगरेर कलेज पढ्नेहरुले त जसोतसो गरेर घर किनिसके। उनीहरुको दुवै जनाको सानोतिनो भएपनि जागिर छ।  डाउन पेमेन्ट अर्थात् बैना  गर्ने पैसो जुटाउन सके मोर्गेज तिर्न त्यति गाह्रो थिएन।  तर सुरुमै धेरै पैसा लाग्ने देखेर तर्सेको थियो ऊ । 

अर्कोदिन दुवैजनाको छुट्टी थियो। दलबहादुरलाई घरमै बोलाएर सल्लाह गर्ने निधो गरे। फोन गर्नासाथ दलबहादुर पनि घरमा आइपुगे।  मझौलो कद गरेको, चिम्सा तर रिठ्ठा जस्ता आँखा, हँसिलो अनुहार, देब्रे कान अलि ठुलो र तलतिर घोप्टिएको थियो। जे होस् निकै फुर्तिलो देखिन्थ्यो।  

" आज वार्डेनमा एउटा घर देखाउने काम थियो।  घर एकदम राम्रो छ।  अहिले मार्केट पनि ठिकै थियो।  तर मान्छे अफर हाल्नै डराउछन। टाउन हाउसको मूल्य नै मिलियन भैसक्यो", उसले निकै फुर्तीका साथ  कुरो निकाल्यो। 

"त्यसो भए अब हामीले घर किन्न नसकिने भयौ हैन ?" बरुणले सोध्यो। 

" जागिर नभएकाहरुको त काम भैराछ। किनिराछन।  तपाइहरु त दुबैजनाको जागिर छ। घरकर्जा मिलाउने काम म गरिहाल्छु।  अब त ढिला भैसक्यो। अब धेरै कुर्न हुदैन। दुइबर्ष अघि मैले सात लाखमा किनेको घर अहिले पन्द्र लाख भैसक्यो। अब पनि सोचेर हुन्छ।"

"खै हाम्रो बजेटले एक बेडरुमको अपार्टमेन्ट पनि नआउला जस्तो भैसक्यो। बुढीले डिट्याच घर चाहियो भन्छे।  कसरि सकिन्छ हामीजस्ताले घर किन्न।  न नेपालमा बेचबिखन गरेर पैसो आउने ठाँउ नै छ।  धेरै ले त नेपालबाट पैसा ल्याएर पनि किन्दा रहेछन", बरुणले भन्यो। 

" सबै कुरो मिल्छ।  तपाइँ नआत्तिनुस।  घर हेर्दै गरौ।  भन्ना साथ घर पाइने पनि त हैन।  कोशिश गरौ।  अलिकति घरको भाउ घटेको बेला पनि छ। घर जस्तो चिज अलि राम्रोसंग हेरेर किन्न पर्छ। "

" हैन एक मिलियनको घर किनेर कसरि धान्न सकिन्छ ?"

" हामीले बैना गर्ने र क्लोजिङ्ग  गर्दा लाग्ने पैसा जुटाउनु पर्छ। मोर्गेजको चिन्ता लिनु पर्दैन।  दुइवटा कोठा भएको बेसमेन्ट भयो भने दुइ हजार जती आइहाल्छ। तपाइले आधा पैसा तिरे पुग्छ। धेरैले  माथिको पनि एउटा कोठा भाडामा लाउछन। त्यति भयो भने 'फ्री' मै बस्न पाउनुहुन्छ ", उसले स्वाभाविक आत्मविश्वासका साथ् भन्यो। 

"त्यसो भए हामीले जम्मा जम्मी एक लाख सम्म जुटाउन सक्छौ।  सकिन्छ त सिङ्गल घर किन्न ?"

" खोजौलानी नपुग रकम। नेपालतिरको पनि बेच बिखन गरेर  दुइ लाख डलर जति जम्मा गर्नुस। म तपाईलाई बेच्न राखेका घरहरुको लिस्ट  पठाउछु। हजुरहरुले ओके गर्नासाथ हेर्न सुरु गरौला", दलबहादुरले भन्यो। त्यसपछि एकजनालाई समय दिएको छु,  हतार छ भन्दै उ छुट्टियो। 

                                                                

दोश्रो दिन…… 


"हेरत घर त थुप्रै पो पठाएका छन्। मूल्य पनि ठिकै छ। टोलका नाम पनि कस्ता कस्ता हुन्", प्रमिलाले फोनको स्क्रिन तलमाथि गराउदै भनिन्। 

एकछिन दुबैजनाले बेच्न राखेका घरहरुको लिस्ट  आँखा तानी तानी हेरे।

 "हेर त यो घर राम्रो लाग्यो मलाई।  ब्याकयार्ड पनि ठुलो रहेछ।  किचन पनि नयाँ बनाएको। मिलाएर दियो भने हान्दिम," प्रमिलाले ओठमा मुस्कान छर्दै भनिन्। 

"बेसमेन्टमा किचन छैन। झ्याल पनि सानो छ। त्यसै हान्दिम् । त्यसैमाथि कता यहाँ लेखेको मूल्यमा दिने झैँ।  हाम्रो मुल्यमा अपार्टमेन्ट पनि  पाउन नि मुस्किल भैसक्यो। दलबहादुरका कुरा सुनेर हुन्छ।"

"जे सुकै भन बुढा  घर त डिट्याचै किन्न पर्छ। नसके तल माथि भाडामा दिने हो। तर किन्न चै डिट्याचै किन्न पर्छ। "

" आफ्नो चै काम गर्दा गर्दा  ढाड नै डीट्याच होला जस्तो छ। तिमि चै घर डीट्याच भन्दै बस। किनिदैन यस्ता थोत्रा घर मिलियन हालेर।  गईन्छ नेपाल। "

"नेपालमा चै बसी बसी खान पुग्छ होला नि। भएका आफन्तहरु त पैसा पठाएन, आइफोन पठाएन  भनेर ठुसुक्क परेर बसेका छन्। यहाँ बसेर छोडेर आएको गाँउको सपना देख।"

"त्यसो भए खोज न त पैसा। तिम्रा पनि साथीहरु छन्।  तिमि चै आदेश मात्रै दिने ", बरुण झनक्क रिसायो। 

"यी यो एभरेस्ट रोडमा रैछ डीट्याच आठ लाखमा लिस्ट गरेको। किचन पनि फराकिलो छ। चुलो, फ्रिज पनि नयाँ रैछ। बुक गर्न भनन।  भोलि नै हेर्न जाँउ। "

बरुणले निकै ध्यान दिएर फोटाहरु सबै हेर्यो। 

"बेसमेन्टमा एउटा मात्रै कोठा  छ। अनि किचन पनि बनाएको छैन। त्यसै डीट्याच डीट्याच। भाडाबाट कति आउछ यति सानो कोठाको ?", ऊ चिडियो।  

"मंद्रास रोडमा जोडिएको सातलाखमा राखेको छ। बेसमेन्ट पनि नयाँ बनाएको रैछ। हेर त एकचोटी", उसले बुढीलाई भन्यो।

"यस्तो जोडिएको घरमा त गैदैन।  त्यै पनि  घरको ठेगाना मंद्रास रोड। इन्डिया बस्या हो कि क्यानाडा आफै झुक्केला जस्तो। त्यसै त जता गएपनि इन्डियनमात्रै छन्। एभरेस्ट रोडमा  घर भयो भने कमसेकम तिम्रो नेपाल जाने रहर त पुरा हुन्छ", उसले हाँस्दै भनी। 

"नचाइने कुरा नगर। मेरो जिस्किने मुड छैन।" 

"अरु कुरा छोड्नुस। बरु अठार घण्टा काम गरिन्छ। घर त सिङ्गलै  किन्ने हो। ऐलेको दशैँ आफ्नै घरमा मनाउने हो  "

"हैन अपार्टमेन्ट  किनौ न अहिलेलाई।  ऋण खोज्न नि पर्दैन। भाडा साडा लाउने झन्झट पनि हुदैन। अस्ति कुन चाहिँ नेपालीलाई बेसमेन्ट बस्नेले चिसो भयो भनेर मुद्दा हाल्देछ।कसको घरमा त  भाडामा बस्ने न पैसा दिन्छ रे, न घर छोड्छ रे। भाडा लगाएर खान त्यति सजिलो चै छैन। "

" हेर न हेर मेरो बुढाको मोटो  बुद्धि। यो हुन्छ त्यो हुन्छ भन्दै बस्यो भने पार्कमा गएर पाल टाँगेर बसे भैगो नि। छोरो भएर पनि ढुकुरे छाती गराएर हुन्छ।  आँटे पछि जसरि पनि पार लाग्छ। घर त डीट्याचै ठोक्न पर्छ। "

" ठोक, जे जे ठोक्न मन लाग्छ, ठोक। आफु लागियो घण्टा ठोक्न।  घण्टा नठोकी माड चल्दैन। घरका कुरा फुर्सदमा गरौला," भन्दै बरुण आफ्नो कोठातर्फ लाग्यो। 


                                                                             

तेस्रो दिन …


" भोलिको लागि मैले आठ दशवटा जति घर बुक गरेको छु। तपाइहरु नौ बजे नै रेडी हुनुहोला',   दलबहादुरले फोन गरेर जानकारी गरायो। 

उसले हेर्ने भनेर पठाएका घरहरु सबै आठ नौ लाखमा लिस्टिंग गरेका घरहरु थिए।  फोटोमा हेर्दा सबै घरहरु चिटिक्क नै देखिन्थे। प्राय: घरहरु एक मिलियन हाराहारिका थिए।  बरुणलाई कुनै घरहरुमा पनि रुचि जागेको थिएन।  किनकि बिक्रि भएका सबै घरहरुको अगाडी ' सोल्ड ओभर आस्किङ्ग" लेखेको बोर्ड राखिएको थियो।  घरहरु राखेको मूल्य भन्दा दुइ तिन लाख डलर बढीमा बिक्रि भएका थिए। 

" ठिकै छ हेर्न त हेरौ।  हाम्रो मूल्यमा अफर हालौला।  मिल्यो भने ठिक,  नमिले अर्को कोशिष गर्ने हो। बाटोमा लडिन्छ कि भनेर डरायो भने त घरबाट बाहिर निस्कनै सकिदैन। पाइलो त सार्नु पर्यो यात्रा गर्नलाई", प्रमिलाले  भनी। 

अर्को दिन छोरालाई स्कुल छोडेर दुबैजना घर हेर्न जान तयार भए।  दलबहादुर पनि भनेकै समयमा उनीहरुलाई लिनको लागि घरमा आइपुग्यो।  

" पहिले मोर्निंगसाइडबाट शुरु गरौ।  आजका सबै घरहरु डीट्याच नै हुन्।  यदि यी घरहरु मन परेनन्  भने अरु घरहरु हेरौला", दलबहादुरले स्टेरिंग घुमाउदै भन्यो।  

बाहिरबाट हेर्दै पुरानो देखिने घर अगाडी उसले गाडी रोक्यो। ढोकामा झुन्डाएको लकबक्सको  नम्बर थिचेर ढोकाको साँचो निकानल्यो। ढोका खोल्ना साथ नक्कली सुगन्ध नाकको पोराबाट भित्र छिर्यो। ढोकामा राखेको टेबलमा रियल्टरहरुको बिजनेस कार्डको थुप्रो थियो। दलबहादुरले पनि वालेटबाट एउटा कार्ड निकाल्यो  र टेबुलमा थप्यो।  त्यसपछि उनीहरु लिभिङ्ग रुममा छिरे। पुरानो  काठको फ्लोरिंग रङ्ग लगाएर चम्काएको प्रस्टै देखिन्थ्यो।  भित्तामा ठुलो पोस्टर टाँगेको थियो।  नयाँ सोफा र टि टेबल चिटिक्क सजाएर राखको थियो भने अगाडिको भित्तोमा बडेमानको  सामसुंग टिभी झुन्डिएको थियो। लिभिङ्ग कै एकापट्टी डाइनिंङ्ग टेबुलमाथि  प्लास्टिकको फुल राखेर सजाइएको थियो। 

त्यहिबाट अलि अगाडी  गैसकेपछि दायाँ बायाँ कोठाहरु र उनीहरुसंग सटेको बाथरुम थियो। किचन, डाइनिङ्ग, लिभिङ्ग, मास्टर बेडरुमसंगै  अरू दुई साना कोठाहरु , बाथरुम सबै एउटै फ्लोरमा थिए। उनीहरु सबै कोठाहरुमा छिरे। मास्टर बेडरुम बाहेक अन्य कोठाहरु एउटा खाट समेत मुस्किलले अटाउने खालका थिए।  

बरुण माथिको कोठाहरु राम्रोसंग नहेरि  बेसमेन्टतिर ओर्लियो। सीडीबाट तल झर्नासाथ मोल्ड अर्थात् ढुसीको गन्ध नाकबाट भित्र छिर्यो।  दुइवटा कोठाहरु भएको भुइतला  अध्यारो थियो।  एउटा कोठामा चकटी साइजको झ्याल थियो त्यो पनि बाहिरको रुखले घामको प्रकास छिकेको।  मेकानिकल रुमको एकाछेउमा सानो किचन निकालेको थियो भने मझौलो कद भएको मान्छे बल्ल तल्ल अट्नसक्ने बाथरुम थियो।  बरुणले हेर्दै गर्दा दलबहादुर पनि आइपुग्यो।  

"राम्रो पोटेन्सियल छ है यो घरको। यसमा यसो दुइचार सय खर्च गरेपछि झ्याल राख्न सकिन्छ।  पन्द्रसय त कहिँ नजा", उसले यताउति प्ल्याक पुलुक भलाक्दै भन्यो। प्रमिला भने तल नझारि किचन वरिपरि हेर्दै थिई।  उसले फ्रिज खोली  र किचनको आल्मीरा  सबै तिर हेरी।  तर भुइतलमा  झरिन।  त्यसपछि उनीहरु घर पछाडिको आँगनमा  घुमे। 

"हेर्नुस यसले फुल लागाएको सबै ठाउमा तरकारी लगाउन मिल्छ। रुख पनि रहिन्छ।  राम्रो छ," दलबहादुरले भन्यो। उनीहरु केहि बोलेनन्।  

दलबहादुरले मोबाइलको स्क्रिनमा चोर औला तलमाथि गरायो र भन्यो " पाँच सय मिटरमा स्कुल रहेछ।सोपिंग सेन्टर पनि नजिकै छ।"  

बरुण भने पहिले नै गाडीको नजिक पुगेर उभिएको थियो। उसलाई घर बाहिरबाटै मन परेको थिएन। 

"  यसको लागि पछि सल्लाह गरौला।  पहिले अरु पनि हेरौ", प्रमिलाले भनिन।  

त्यसपछि उनीहरु फार्मेसी रोड, मद्रास रोड, क्रो ट्रेल, गल्फ क्लब रोड, ब्रिम्ले, लरेन्स र मिडल्याण्ड आसपासका दश वटा घरहरु हेरे। सबै घरहरु पचास देखी असि वर्ष पुराना थिए।  कुनै घरहरु बेच्नु भन्दा अगाडी पेन्ट गरेका, अलि अलि देखिने ठाँउमा टाला टाँसे  झैँ  टालेका। धेरै जसो घरहरु भाँडामा भएकोले घर वरिपरि लामो लामो घाँस, अव्यस्थित र फोहोर देखिन्थे भने कुनै घरहरु दुलही सिगारे झैँ सिगारेका थिए। दलबहादुर भन्थे," यो स्टेजिंग गरेको हो। पछि सबै निकालेर लैजान्छन।"

त्यसपछि प्रत्यक हप्ता शनिबार र आइतबारको दिन घर हेर्ने काम जारि रह्यो। सबै घरहरु उस्तै उस्तै नै थिए।  तिन बेड रुम , लिभिङ्ग, किचन , एक , दुइ बाथ रुम।  नुहाउने ठाउँ नभएको, ट्वाइलेट  मात्रै भएकोलाई हाफ बाथ, नुहाउने र सौच कर्म गर्न मिल्ने भएकोलाई फुलबाथ। धरैमा मान्छेहरु बसेका हुन्थे।  हेर्न गएको बेला मात्र उनीहरु बाहिर निस्कन्थे।  दलबहादुरले उनीहरुलाई चार पाँच वटा घरहरुमा अफर हाल्न निबेदन पनि गर्यो।  " मैले सेलर को एजेन्टलाई चिनेको छु। काम बन्न सक्छ। अफर पठाऊ",उ भानिरहन्थ्यो। 

तर जहिले पनि लिस्ट गरेको भन्दा कम्तिमा एकलाख बढेर अफर हाल्न भन्थ्यो।  तर बरुण भने उसले भने झैँ एकलाख बढेर हाल्न इच्छुक  थिएन।  एकदुई वटा अफर पचास हजार सम्म बढेर हाल्यो।  तर अफर परेन।  अफर हाल्ने बेला उनीहरु निकै कन्फ्युजनमा पर्थे। बढेर हाल्दा महंगोमा परिने डर नहाल्दा पनि मन परेको घर अर्कैले उछिट्याउने डर।  

" हैन दलबहादुरले जहिलेपनि बढी बढी अफर मात्र हाल्न भन्छन् । अलिकती कम अफर हालेर  कोशिस गर्दा के जान्छ उसको।  एउटा इमेल फल्दिने न हो। जुन घर हेरे पनि ठिक छ।  पोटेन्सियल छ।  लोकेसन राम्रो छ ", मात्रै भन्छ।  सुकुम्बासी जस्तो टोलकोको घरलाई नि गुड लोकेसन भन्दै थे।  किन गुड भयो, न नजिक सबवे छ , न सपिङ्ग मल नजिक छ। न त्यहाँका घर नै राम्रा छन्क। कमिशन धेरै आउने  देखेर गुड भने कि क्याहो " बरुण व्यङ्ग्य गर्दै भन्यो। 

" हाइवे नजिक भनेर होला नि।  तपाइँ पनि अरुलाई तिन्छेउ पारेर बोल्नुहुन्छ।  उसले पनि आफ्नो काम गर्नु पर्यो नि। उनीहरुले घर नदेखाए, किन्नलाई जोडबल नगरे यत्ति धेरै नेपालीले घर किन्थे त ?" 

"तिम्रो लागि अरु सबै ठिक मै मात्र बेठिक लाग्छ हैन।  त्यसो भए उसले जति भन्छ त्यति अफर हाल न।  म संग किन सल्लाह गर्न पर्यो।"

" हस् हजुर नै महान होइसिन्छ।  म केहि बोल्दिन।  केहि बोल्यो कि खाली झगडा सुरु हुन्छ। "

" भो भो धेरै घुर्की नदेखाऊ।  तिम्रो डीट्याच घरले कतै हाम्रो सम्बन्ध नै डीट्याच नहोस।" 

" यस्तो पाराले हुन पनि के बेर? " 

त्यसपछि प्रमिला किचनतिर लागी।  बरुण भने फ्रिजबाट एउटा बियर निकालेर बल्कोनितिर गयो।      

                                                                                           ५. 

करिब पाँच  पछि…. 


"आठ लाखमा लिस्ट गरेको घरलाई नौ लाख पचास हजार भन्दा बढी कति हाल्ने हो।  डेड लाख त बढी सकियो," बरुणले हातभरिको ग्रोसरिको झोलाहरु भुइमा राख्दै भन्यो। 

" अफर धेरैको परेको छ।  सेकेन्ड चान्स नदिन सक्छ।  अलि बढ्नु पर्यो भनेका छन्।  दश जति बढेर हालौ न।  घर मन परेकै छ क्यारे। "

"दश दश गर्दा गर्दा डेड लाख भन्दा माथि गैसकियो। यो भन्दा माथि गए जावस। जति भन्यो त्यति हालेर हुन्छ।  बरु एकदुई बर्ष अपार्टमेन्टमा बसिन्छ।"

" एक्लै बस्नुस।  म त एक बस्दिन।  दुइ बस्दिन।  तिन बस्दिन। "

त्यसै बेला दलबहादुरको फोन आयो बरुणको मोबाइलमा। 

" सर अलिकति बढेर हालौ।  धेरै घर हेरियो।  यतिको सबै कुराहरु मिलेको घर नपाउन  सकिन्छ। तिस बर्षको मोर्गेज हुन्छ।  धेरै नसोच्नुस।  अफर डेट कुर्दा बढीमा जान सक्छ।  मैले कुरा गरेको छु। दश जति बढेर आइज म सेलर संग कुरा गर्छु भनेको छ। "

" दश त अलि धेरै हुन्छ कि, पाँच जति हालेर हेर्नुस।"

" हात्ति छिर्यो पुच्छर अड्क्यो किन गर्ने।  पाँच हजारले गर्दा फुत्किन सक्छ", प्रमिलाले जोड दिदै भनी। 

अन्तत उनीहरु दलबहादुरले भनेको मूल्य अफर हाल्नेमा पुगे।  घर हेर्न थालेको चार पाँच महिना भैसकेको थियो। उनीहरु हेर्दा हेर्दा थाकिसकेका थिए। लगभग एक घण्टापछि पुन: दलबहादुरको फोन आयो।  

" अर्कोले बढेर आयो रे।  त्यसमाथि पनि अझै बढ्नु पर्यो।  अझै दश हजार बढेर हाल्दिम।  एकपल्ट लास्ट कोशिश गरौ। "

" छोड्दिनुस, अब अफर सफर नहाल्ने।  कति बढ्ने हो।  बढ्नेको पनि सिमा हुन्छ,'' बरुणले अलि झर्केको स्वरमा भन्यो। 

प्रमिला पनि थाकिसकेकी थिई।  उसले केहि भनिन। एकछिन दुबैजना मौन बसे।  

" त्यसो भए त्यो नै हाम्रो फाइनल अफर हो भन्दिन्छु," दलबहादुरले भन्यो। 

त्यसपछि उनीहरुको अगाडी कुराकानी भएन।  दुवैजना दलबहादुरको कामबाट खुशी भएनन्।  उनीहरुलाई लाग्यो कतै दलबहादुरले कमिसनको लोभमा उनीहरुलाई बढेर आउन भनेको त हैन? एजेन्टहरुले त्यसो गर्छन भनेर उनीहरुलाई धेरै भुक्त भोगिहरुले सुनाइसकेका थिए। 

राति बाह्र बजे बरुणको मोबाइलमा घन्टी बज्यो। फोन दलबहादुरले गरेको थियो। बरुणलाई फोन उठाउने जाँगर पनि चलेन। पहिलो पुरा घन्टी बजिसक्दा पनि उ फोन उठाउने नउठाउने दोधारमै रोमलियो। फोनको घन्टी संगै उसको छातीको धड्कन पनि तिब्र गतिमा बढिरहेको थियो।  किनकिन उ चाहन्थ्यो कि त्यो अफर रिजेक्ट भैदिए हुन्थ्यो। तर त्यसो भएन।

 "बल्ल बल्ल अफर पारियो सर। मैले चिनेको एजेन्ट हुनाले कुरो मिल्यो। हाम्रो भन्दा धेरै हाल्ने मान्छे आइसकेका थिए। " दलबहादुरले बढो फुर्तीका साथ भन्यो

आए कि आएनन त्यो त दलबहादुरले नै जान्ने कुरा भयो। तर बरुण भने खुशी भएन। उसले त्यो भन्दा अगाडी हेरेको घरको तस्बिर दिमागबाट हटाएको थिएन जुन उसलाई असाध्यै मन परेको थियो। 

त्यो रातभर उसले अफर परेको घरको  सबै भागहरुलाई दिमागमा उतार्यो। बेसमेन्ट झर्दै गर्दा नाकैमा ठोकिएको मोल्डको गन्ध, लिभिङ्ग रुम र किचन संगै जोडिएको, साँघुरो बाथरुम, चर्केको ड्राइभ वे सबै आँखा अगाडी नाच्न थाल्यो। कतै छानो चुहिने पो छ कि ? इस्पेक्सन गर्न पनि नपाइने र।  कतै फँसियोकी ?" यस्तै यस्तै कुराहरु मनमा खेली रहे।  भोलि धरौटी जम्मा गर्नु छ। खै के गरौ , गरौ", उसको मन दोधारमा पर्यो। त्यो अफर उसको लागि "नखाउ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार" साबित भयो। 

प्रमिला भने अफर परेकोमा खुसि नै थिई।  उसले मनमनै किचन कसरि सजाउने, बेडरुममा कस्तो रंग लगाइने, गार्डेन कसरि सजाउने जस्ता कुराहरु सोच्न थालिसकेकी छे। पैसो कसरि म्यानेज गर्ने हो भन्ने बारेमा उसलाई कुनै पिर चिन्ता छैन भन्ने चै  हैन।  तर बरुणभने बुढीलाई केही टेन्सन छैन। जति छ आफुलाई मात्रै छ जस्तो ब्यबहार गर्थ्यो। सायद पितृसतात्मक सोचले होला पैसाको जोहो गर्ने काम आफ्नो मात्रै हो भन्ने लागेको थियो उसलाई। 

"अर्को  महिनाको अन्तिम क्लोजिंग छ। तिमि पनि आफ्नो एक दुइ जना साथीहरु संग सापटी माग। मैले मात्रै खोज्नु पर्छ भन्ने छ ", बरुणले बुढीलाई भन्यो। 

"साथीहरु हजुरकै छन् धेरै। मेरा त त्यस्तो पैसा माग्ने जस्तो को छ र।  भएपनि पैसाको कारोबार सबै बुढाहरुले गर्छन। मै जस्तै त हुन् सबै", प्रमिलाले हाँस्दै भनी । 

"सरोजले सबै नेपालमा लगानी गरेको भन्यो।  बिनोदलाई मागेको 'सबै पैसा स्टकमा डुब्यो भन्छ। राजुले  पनि भर्खर घर किनेको छ।  कसलाई माग्ने हो। दिनेजस्ता तिनै थिए।  सबै पन्छिए। "

दिनहरु तिब्र गतिमा बित्दै गए। उनीहरुले सकेसम्म पैसा जम्मा गर्ने कोशिष  गरे। प्रमिलाले पनि अमेरिकामा भएकी बैनीसंग अलिकति भएपनि सहयोग मागी। कतिपय साथीहरुले लाइन अफ क्रेडिट चलाउनुस, ब्याज तिर्नुस भने। 'नपुग भएको खण्डमा बाँकी पैसा मा खोजिदिउला', भनेको थियो दलबहादुरले।  तर पन्द्र प्रतिशत ब्याजको दरमा। 


 सातौ महिना  ……                   

                                                     

"सर मोर्गेज साइन गर्नुभयो", अच्युतले बिहान बिहान फोन गरेर सोध्यो बरुणलाई। 

"हुन्छ हुन्छ भनेका छन्। खोइ यार क्लोजिंग आउन एकहप्ता मात्रै छ", बरुणले भन्यो। 

"अलि चनाखो हुनुस है। सुर्यको लास्टमा लगेर प्राइभेट मोर्गेजमा पारेछन। सात  प्रसेन्ट भन्दा पनि महँगो पर्यो रे ब्याज। कुन बैंक बाट गराउछु भनेका छन्। रेट यति उति त भनेका होलान् नी। "

"पहिले त तिन  प्रसेन्ट भन्दा माथि पर्दैन भन्थे। अहिले फेरी बैंकले ब्याजदर बढाएको छ भनेका छन। खै के खै के ?"

"चुप लागेर नबस्नुहोला सर। बिष्णुको त  पचास हजार थप जम्मा गर्नुस भनेछ लास्टाँ  आएर। अनन्तको पनि क्लोजिंग गर्न नसकेर केस कोर्टमा पुगिसक्यो रे। एजेन्टहरुको मात्र भर परेर हुदैन।  आफु पनि अलि चनाखो हुनुपर्छ", अच्युतले फोन राख्दै गर्दा भन्यो। 

बरुण निकै अलमलमा परेजस्तो देखियो। ऊ सबै कुरामा एजेन्टसंग मात्रै भर परेको थियो।  एजेन्टले जे जे भन्यो त्यहि त्यहि गर्यो। त्यो बाहेक कहाँ जाने, के गर्ने , कसलाई सोध्ने केहि मेसो पाएको थिएँन।  साथीहरुलाई सोध्यो भने सबैले डर मात्र देखाउने।  उ आत्तियो। 

दलबहादुरले पनि पहिले जसरि  फोन उठाउदैन्थ्यो । बारम्बार फोन गरेपछि मात्र उठाएर 'सबै काम हुन्छ, नअत्तिनुस' मात्रै भन्थ्यो। तर कहिले हुन्छ, कुन बैङ्कबाट हुन्छ, कति ब्याजदरमा हुन्छ केहि भन्दैनथ्यो। यसले गर्दा जति जति क्लोजिंग डेट नजिक आयो  उति उति उनीहरुलाई स्ट्रेस बढ्दै गयो। 

क्लोजिंगको दिन बिहान सम्म पनि मोर्गेज साइन नहुदा  दुवैजना निकै आत्तिएका थिए। एकातिर बुझाएको पच्चीस हजार  डलर डुब्ने डर थियो भने अर्कोतिर कानुनि झन्झट पनि पर्न सक्थ्यो।  दिउसो अबेरसम्म उनिहरु कुरिरहे।

 " सर तपाइको मोर्गेज अहिले सम्म पठाएको छैन।  आजको क्लोजिंग छ, " करिब दिउसो एघार बजे वकिलको फोन आयो,'

"बरुणले तुरुन्त दलबहादुरलाई फोन गर्यो। दुइ तिन पल्टसम्म पुरा घन्टी जाँदा समेत फोन उठेन।  दुवैजना निकै आत्तिए।  कतै तिरेको रकम डुब्ने पो हो कि ? उनीहरुले केहि सोच्न सकेनन।  

उनीहरुलाई अगिल्लोदिन देखि नै खाना  समेत खाएका थिएनन्। मोर्गेज हुदैनकी भन्ने तनावले धेरै दिनदेखि राम्रोसंग निदाएका पनि थिएनन्। एकातिर बल्ल बल्ल जम्मा गरेर बैना गरेको पैसो डुब्ने, अर्कोतिर घर बेच्नेवालाले मुद्दा हाल्ने डर। घरीघरी बुढाबुढीको बिचमा ठ्याक्क ठुक्क मात्र परिरहन्थ्यो।

एघार बज्यो।  फोन आएन। 

बाह्र बज्यो।  फोन आएन। 

एक बज्यो। फोन आएन। 

दुइ बज्यो। फेरी वकिलले फोन आयो  ," के भयो सर, खै मोर्गेज त आएन ?"

करिब दुईबजे दलबहादुरको फोन आयो , " सरकारी बैंक बाट काम नहुने भयो। एउटा प्राइभेट बैङ्कबाट बल्ल बल्ल पास गराइयो। बधाई छ। म लिन आइहाले। "

 दलबहादुरका कुराले उनीहरु तीनछक परे। कति प्रसेन्ट ब्याज हो ? ऋणका सर्तहरु के के हुन्  नबुझी, नबुझाई कसरि साइन कसरि गर्ने?  अर्कोतिर  साइन नगर्नु भने आजै क्लोजिङ्ग छ। अर्को लफडा आइलाग्न सक्छ।  

"अब धेरै सोचेंर हुदैन। धन्न काम भयो। बैधानिक हिसाबले ऋण निकालेको भए पो सोध्ने ठाँउ हुन्थ्यो। कुन चाँही इन्डियनले नक्कली कागजात बनाएर बैकमा हालेको छ। अब दलबहादुरले जे जे भन्छन त्यहि गरौ", प्रमिलाले भनिन।    

एकैछिनमा दलबहादुर त्यहि आइपुग्यो। बरुण केहि बोलेन। दलबहादुर ले जे जे भन्यो त्यहि त्यहि गरौ।  जहाँ जहाँ साइन गर्न पठायो त्यहि त्यहि गर्यो।

"त्यसो गर्दै गर्दा वकिलले भन्यो," सर त डबल ब्याजमा पो पर्नुभएछ। 


 घर सरेको एक महिना पछि ……


बरुण लिभिङ्ग रुमको सोफामा बसेर जम्मा भएका चिठीहरु हेर्छ। कुनै चिठी बैंकले पठाएको थियो , कुनै सिटि अर्थात् नगरपालिकाको ट्याक्स कार्यालयले, कुनै क्रेडिट कम्पनीले, कुनै ग्याँस कम्पनिले, कुनै फर्निचर कम्पनीले। सबैले बिल पठाएका छन्। खुरुक्क पैसा तिर भनेका छन्।  दुइसय, चार सय, तीनसय, पन्द्रसय, तीनहजार उ जोड्दै जान्छ। 

त्यतिकै अनमोलले फोन गर्यो।  उसले उठाएन। एक महिनाको लागि भनेर पैसा सापटी ल्याएको ल्याएको थियो। पक्कै पैसो माग्न हो भन्ने उसले बुझ्यो। तिर्ने उपाए केहि थिएन। बैंकमा मोर्गेज तिर्ने पैसा समेत थिएन। 

  "बुढा, कपडा धुने मेशिनले त राम्रोसंग पानी  नै निचोर्दैन। न राम्रोसँग कपडा नै सुक्छ", प्रमिला लन्ड्रिरुमबाटै चिच्याइन। 

"डिट्याच घर हो। मेशिनको पाटपुर्जा पनि डिट्याच परेहोला", बरुणले भन्यो। 

"बूढा बाथरुमको पानी चहिएको छ, हेर्न जानुस् त ?" प्रमिला। 

"डिट्याच घर हो। पाइप पनि डिट्याच नै होला।  तिमि नै हेर, मैले किन हेर्न पर्यो " बरुण। 

"बाबा, फ्रिजको जुस चिसै भएको छैन।" 

"कतै तार डिट्याच भएको होला, मम्मिलाई भन। " 

"हैन। के भयो एक्कासी, बुढालाई । कतै दिमागको तार नै डिट्याच भयो कि क्याहो ", प्रमिलाले  लिभिङ्गतिर आउदै गर्दा  भन्छे। 

"अहिले सम्म त सेमीडिट्याच मात्रै छ। यस्तै चाल  हो भने अर्को महिनासम्म डिट्याच नै हुन बेर छैन। "





 

















 




0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home