"१.५ मिलियन डलरको घर सर्दाको दिन मिठो निन्द्रा पर्यो कि डेढसयको टेन्टभित्र ?", मैले संगै क्यम्पिङ्ग गएका एकजना मित्रलाई सोधे।
"निन्द्रा नयाँ घर सर्दा नि परेन यहाँ नि परेन ", उनले अलिकति निधार खुम्च्याउदै भने। सबै कुरालाई ठट्टाको शैलीमा सबैलाई हँसाउने उनले निरस पारामा उत्तर दिएको देख्दा त्यो प्रश्न नसोधेको भए पनि हुन्थ्यो कि झैँ लाग्यो।
" किन र ?" मैले सोधे।
" भोलि एक तारिक। डाले जुकाले खुन चुसेझै बैंकले चुस्ने दिन। सम्झदै मन झसङ्ग भयो। रातभर निन्द्रा परेन ", उनले हाँस्दै भने। तर त्यो हाँसो त्यति खुलेको थिएन। हल्का खग्रास लागेजस्तो।
हुन त उनले मजाक पनि गरे होलान। उनलाई मोर्गेज तिर्नको लागि त्यति गाह्रो मैले देखिन। दुवै जनाको राम्रै छ कमाई। तर यसले आम नेपालीहरु जो जसले महँगोमा घर किने र आर्थिक मन्दीले गर्दा ब्याजको दर बढेको छ उनीहरुको प्रतिनिधित्व गर्दथ्यो।
तर यहाँ मैले कुनै मोर्गेज सोर्गेजको कुरा गर्न खोजेको हैन। महँगा महँगा घर, बिस्तारा, बैठक कोठामा सजिएका लक्जरियस सोफा सबैलाई छोडेर एकान्त जंगलभित्र एउटा काम चलाउ टेन्ट टाँगेर केहि रात बिताउनुको मज्जा कुनै पनि बस्तु संग तुलना योग्य थिएन। पान्डबहरु बनबासमा हुँदा जति मोज गरे सायद कौरबहरु राजगद्दीमा बस्दा गरेनहोलन भन्ने लाग्यो।
हुनत गफै गरे जस्तो हुन्छ। हामि पहाडी गाँउघरमा जन्मे हुर्केको मान्छे। चरा चुरुङ्गिको आवाजले साँझ बिहानीको संदेश दिन्थ्यो। बनमा आगो बालेर पिडालु, सखरखण्ड र बन तरुल पोलेर खाइन्थ्यो। सुकेको गोबरको गुइठा पोलेर ढुंगामा राखी पाखै सरङ्ग गरुन्जेल पड्काईन्थ्यो। गुलेलिले चरा खसालेर पोलेर खाइन्थ्यो। जंगलको बीचमा घर। त्यो पनि बाक्लो कुहिरोले घुप्लुक्क पारेको दिन, अहिले सम्झदा आहाँ त्योबेला छ्या !
न फोन, न फेसबुक। कसैले के अपलोड गर्यो। कसले लाइक गर्यो। दिनभर जंगलकै बास हुन्थ्यो। राति अबेर घरमा पुगिन्थ्यो। कहिले दलानमा खालि गुद्री माथि भुसुक्क निदाइन्थ्यो। बिहान आकाशको तारा हेरेर उज्यालो भएको नभएको थाहा पाइन्थ्यो। प्रकृति र मानब जिबन एक थियो। माटोको सुगन्ध, झरनाको संगीत, जुनकिरीको उज्यालो हाम्रो दैनिकीसंग लपक्कै टाँसिएको थियो। सायद त्यसैले पनि होला माटोको सुगन्ध जति मिठो लाग्छ त्यति केहि चिजको पनि लाग्दैन। गफै त हो सोल्टी भन्ने लाग्ला कसै कसैलाई। तर हैन।
प्रसंग क्यम्पिंङ्ग संग जोडौ। हामीले क्यम्पिंङ्गको लागि घडेरी पहिलेनै रिजर्ब गर्नु पर्थ्यो। लेक अर्थात् ठुला ठुला पानि पोखरीको छेउछाउ, प्राकृतिक रुपले सुन्दर ठाँउहरु रातारात बुक भैसक्थे। हामीहरुले बल्ल तल्ल टोरोन्टो देखि करिब ९०/१०० किलोमिटर नर्थ लेक सिम्कोको नजिक सिब्बल्ड प्रोभिन्सियल पार्कमा दूइ हाल गोरु अटाउने जत्रा पाँचवटा घडेरी किनियो। जंगलभित्र गोरेटो बाटोको छेउ छाउ अलि अलि खोस्रेर एउटा बेञ्च, आगो बाल्नको लागि फलामले घेरा पारेको अगेनो र एउटा फलामे चुलो राखेको घडेरीहरु थिए। एउटा गाडी र तिनवटा सम्म टेन्ट गाड्न मिल्ने घडेरीमा आफ्नो परिबारको सदस्यहरु छ जना भन्दा बढी बस्न नपाइने नियम थियो।
सुक्रबार बिहानै देखि हाम्रो तयारि शुरु भयो। केटाकेटीहरु पनि क्याम्पिंङ्ग भनेर हप्ता दिनदेखि नै उफ्रिरहेका थिए। सुक्रबारको दिन बिहानदेखि नै उनीहरु आफ्नो आफ्नो झोलाहरु प्याक गरिहरेका थिए। बालुवामा खेल्ने खेलौनाहरू , पौडी खेल्दा लगाउने कपडाहरु, घामक्रिम, किराकिरीले नटोक्नको लागि शरीरमा छर्किने झोल औषधि यस्तै यस्तै।
तानसेनको टुडिखेलमा संगै माम्फुली खाएको मित्र हरि जी र म अघिल्लो दिन बिहान देखि नै किनकानमा ब्यस्त भयौ। नुन भुटुन देखि लिएर खानेकुरा सबै थोक जोहो गर्नु पर्ने। केटाकेटीको लागि केहि स्पेसल, साहाकारीको लागि केहि स्पेसल र मांसाहारीको के कुरा गर्नु । सेलरोटी, पानीपुरी, चटपटेको लागि चाहिने सामाग्रीहरु सबै किन्नु पर्ने। जति गर्दा पनि केहि न केहि छुट्ने। किनिसके पछि पनि भण्डारन को समस्या। र तिनै समस्याभित्र लुकेर बसेका केहि थान खुसीहरू पनि जम्मा गर्यौ ।
दिउसो करिब दुइ बजे सबै जना मेरो घरमा जम्मा भयौ। धेरैजसो सामानहरु ग्यारेजमा थिए। आफ्नै घरजम गर्ने सामानहरुले गाडी भरिसकेको थियो। सबैले मिलाएर सामानहरु पुर्याउनु पर्ने। कसैले चुलो, कसैले ग्रिल, कसैले ठुल्ठुला देक्ची र बांटा त कसैले सामुहिक प्रयोजनको लागि किनेको क्लब टेन्ट। अटाउने जति डिक्कीमा लोड गर्यौ। अलि साना साना सामानहरु सिटमुनि, सिटमाथि मिलायौ। कयाम्पिङ्ग जाने भनेपछि केटाकेटीहरु खुट्टा खुम्चाएर बस्न तयार भए। करिब दुइ बजे जन्तीको गाडी निस्के झैँ लाइन लागेर घरबाट गाडीहरु निस्के।
शहरको कोलाहल र भिडभाडबाट खुल्ला फाँटसम्म पुग्न आधा घण्टा पनि लागेन। बाटोको दायाँ बाया हरिया फाँट, गाई र घोडाका फार्म, फुलबारी झैँ आँगनसंग जोडिएका ठुल्ठुला घरहरु, मनै लोभाउने दृश्यले सबैको मन पुलकित भयो।
हामि लगभग बेलुका साढे चार बजे क्याम्प पुग्यौ। रजिस्ट्रेसनको काम सकेपछि आआफ्नो घडेरी तर्फ लाग्यौ। हाम्रो घडेरी अर्थात् क्याम्प साइट प्रवेशद्वारदेखि नजिकै थियो। बाथरूम र फोहोर ब्यबस्थापन गर्ने ठाउँ पनि निकै नजिक।
हामीले ५ वटा साइटहरु बुक गरेका थियौ। सबै साइट बाटोको तल माथि थिए। हामीले एउटामा तीनवटा टेन्ट र अर्कोमा तीनवटा गरेर जम्मा छ वटा टेन्ट गाड्ने निधो गर्यौ। यसो गर्दा हामिसंग तीनवटा क्याम्प साइट खालि हुन्थ्यो। ति मध्य एउटामा क्लब टेन्ट गाडेर सामुहिक भोजन तथा नाचगान गर्ने निधो गर्यौ। यसो गर्दा हामि संग दुइवटा स्पोट खालि नै रह्यो।
त्यहाँ पुग्नासाथ सुरु भयो टेन्ट गाड्न। घरका मुलिहरु धुरिखामो र दलिनहरु गाड्न थाले, भुराभुरिहरुले सहयोगीको काम गरे। टेन्ट गाड्न पनि त्यति सजिलो चै हुदैन भन्ने मलाइ पहिले नै अनुभब थियो। डाँडाभाटा सहि ठाउमा परेन भने निकै झन्झट पो हुन्छ। तर पनि मिलिजुली एक घण्टा भित्र सबैका घर ठडे। त्यसपछि सुत्ने बिस्तारा बनाउने काम भयो। अनेक तालका हुने ति सुत्ने गद्दा पनि। कसैले ढिकी कुटे झैँ खुट्टाले कुटेर हावा हाले। कसले गाडीमा तार जोडेर भर्र्रर्रर गराउदै मिसिनबाट हावा हाले। साना साना पोका फुलेर तिन चार जना सुत्न मिल्ने ठुला र बाक्ला बाक्ला गद्दा बने। केटाकेटीहरु त्यै गद्दामाथि बुरुक बुरुक उफ्रिन थाले। रमाइलो आफ्नो आफ्नो।
त्यतिन्जेल सम्म भोकले पनि लखतरान परिसकेको थियो। केहि साथीहरु बल्ल आउदै हुनुहुन्थ्यो। सबैजना भेला भैसकेपछि खाना बनाउने काममा लाग्यौ। कसैले ग्रिलमा रोस्ट गर्न थाले। कसले दाल भात करी बनाउन। नेपालि जंगलमा पनि भातै दिनुपर्छ। हुन त स्वर्ग गएकालाई त बर्षको एकदिन भात चखाउनै पर्छ। भुलोगको कुरा छोडौ। तर धेरै सिपाला हातहरुले खानाका विभिन्न परिकारहरु बनाउन थाले। सायद धरै जनाको हात भएर पनि होला खाना असाध्यै मिठो।
रमाइलो गर्न जंगल गएका हामीहरु। सबैलाई आफ्नो इक्षा अनुसार जे मन लाग्छ खानको लागि पूर्ण स्वतन्त्रता थियो। बोल्नको लागि पनि स्वतन्त्रता थियो। परिबार संगै भएकोले पनि होला जोक्सहरुपनि अत्यन्त सभ्य। कहिँ कतै ननभेज नमिसाइकन यति धेरै हाँस्न र हँसाउन सकिदो रहेछभन्ने थाहा भयो । परिबार संगै बसेर हेर्ने लाइभ कमेडी शो पनि यति सुद्द हुदैनन् आजकल । एकले अर्कालाई रोस्ट, ग्रिल, छड्के, ब्याङ्गे जे जे भने पनि हुन्छ हानेर मुर्छा परुन सम्म हाँस्न पाइयो। सायद हाम्रो हाँसो र उल्का रमाइलो देखेर छिमेकी खैरे पनि हातमा बियर बोकेर आयो ।
नेपालि गीतमा खुट्टा उचाल्दै नाच्यो मज्जैले। हाम्रा रोस्ट मास्टर हरि पोख्रेलजीले खुब आँखा गाडेर हेरिरहेका थिए। म्युजिक रोकिनासाथ् भने " सिकेर आएको रैछ। म मुनि मुनि नाच्यो। " सबै गलल हाँसे। किनकि दुवैको नाँचमा केहि समानता पक्कै थियो।
घरमा आएको पाउनालाई केहि खुवाउने हाम्रो चलन जहाँ बसे पनि हुन्छ। अलिकति खानेकुराहरु पनि दियौ। खुशी भएर खायो। केहीबेरमा बुढीलाई पनि लिएर आउछु भनेर गयो। दुवै जनाको कुरो मिलेनछ क्यारे 'एफ' वर्डको वर्षा भएको सुनियो। परिबार संग भएकोले हामीहरुलाई अलिक नमज्जा लाग्यो।
केहीबेरमा हट सस् बोकेर आयो। क्याम्प साइटमा म्युजिक बजाउन बन्देज थियो। लाग्यो छिमेकीले कम्प्लेन नगर्दा सम्म पुलिस आउदैन। ऊ हाम्रोमा आउनाले हामि ढुक्क पनि भयौ। नाच गान राम्रै संग चल्यो। राति करिब बाह्र बजेतिर सबैजना आफ्नो आफ्नो झुपडीभित्र छिर्यौ।
दोस्रो दिन एकाबिहानै छिमेकीले ढोका खोलेको सरक सुरुक आवाजले निन्द्रा खुल्यो। सबैजना बाथरुम जाने आउने र पुन सुत्ने क्रम शुरु भयो। मेरो बाबु उठीसकेकोले उसलाई लियर म "बर्ड वाचिंङ्ग अर्थात् चरा हेर्ने काममा निस्के। "
अनौठो लागिरहेको थियो। दिनभर चराका गुड खोज्दै हिडीन्थ्यो। ढुकुरले गुड बनाउनको लागि जग थाप्ने देखि बच्चा हुर्काउञ्जेल लुकी लुकी हेरिन्थ्यो। माउ नभएको बेला बचेर हातमा उठाएर पुन: गुडमा राखिन्थ्यो। तामे ढुकुर, कुर्ले ढुकुर, जुरेली, फिस्टे चरो, लिस्टे चरो, भ्याकुरो, काल्चे, चुप्पी चरो, तित्रो, च्याखुरो, सारी, लाटोकोसेरो, हुचिल, काग, गिद्द प्रत्यक दिन देखिन्थ्यो। माउखानि, स्याल, बाँदर, निउरे बाघ, ढेडु बादर घरवरीपरि घुमिरहन्थे। जिबन प्रकृतिसंग एक थियो। घरका होस् या बनका चराले चाखेका फल मिठो हुन्छ भन्ने मान्यता थियो। भाइरसको कुनै नाम निसान थिएन। चराले खाएर आधा बनाएको बेलौती सबै भन्दा मिठो हुन्थ्यो।
तर यहाँको जंगलमा पाइने चराहरुको नाम पनि ठ्याकै थाहा नहुने। तै पनि छोराले जता चरा देखिन्छन उतै क्यामेराको लेस्स सोज्याउथ्यो। नामै थाहा नभएपनि चराको फोटो कैद गर्न पाएकोमा उल्का खुशी थियो। केहीबेर चराहरुको अबलोकन गरेपछि बासस्थान तर्फ फर्कियौ। त्यतिन्जेल सबै साथीहरु चुलोको वरिपरि बसेर चिया पिउन लागिसकेका रहेछन। गाउघरमा कसैको पुजामा गएर चियाँ खन्दै गफ गर्दै गरेको अनुभब भयो। एउटाले अर्कोलाई रोस्ट गरेर हाँस्नुको मज्जा नै बेग्लै। हाम्रा सन्ततिहरु अब यसरि सामुहिक रुपमा एक अर्कालाई रोस्ट गरेर मज्जा लेलान् ?
चियाँ नास्ता गरिसकेपछि लेकको छेउछाउ घुम्न जाने योजना बन्यो। सबैजना स्विमिङ्ग कस्ट्युम बोकेर लागियो नजिकैको तलाउ किनारा तर्फ। हामीसंग एउटा प्लास्टिकको डुंगा पनि थियो। तलाउमा जानुभन्दा अगाडी हावा हालेर पूर्ण साइजमा ल्याइयो। केटाकेटीहरु बोटमा बसेर मस्ती गरे। पौडी खेल्न जान्नेहरू पौडी खेलर रमाए। खेल्न नजान्नेहरु पौडी खेलेकाहरुलाई हेरेर रमाए। आखिर सबैलाई रमाउनु थियो। जसरि रमाए पनि भयो। कोहि बालुवामा नाङ्गै सुतेर रमाइरहेका थिए। कोहि उनीहरुलाई हेरेर रमाइरहेका थिए।
करिब दुइ बजे हामि पुन क्याम्पमा फर्कियौ। भोक लागिसकेको थियो। सेलरोटी र पानीपुरी खाने योजना बन्यो। सबैजना लाग्यौ खानपिनको तयारीमा। सेलरोटी बनाउने सिप भएकाहरु सेल बनाउन। पानीपुरीमा दक्खल राख्नेहरु पानिपुरिमा। चाख्ने कुरामा दख्खल राख्नेहरु चख्नमा र ग्रिल, रोस्ट गर्नमा दख्खल राख्नेहरु लागे कोइला सल्काउनमा। नाच्न गाउन जान्नेहरू थाले गुन गुनाउन। दिपकजी ले भुराभुरीहरुको लागि केहि प्रोग्राम बनाएका थिए। उनि पनि लागे भुराभुरीहरु नचाउन र खेलाउन।
बेलुकाको लागि सामुहिक चुलो फरक ठाँउमा सारेका थियौ। अलि एकान्त भएकोले म्युजिक पनि अलि लाउड नै थियो। शुरु भयो भजन कृतन बाट। जब चिकेन पाक्न थाल्यो कुरो मिलेन। चिकेन टोक्दै के भजन गाउने। हामीले पनि भजन रोक्यौ र शुरु गर्यौ अन्ताक्षरी खेल्न। जानेकाले मज्जैले गाए। नजानेकाले भाकामा भाका मिलाए। दुइ लाइन भए पनि गाए। रमाइलो गरे। जति रात चिप्लिदै गयो स्पिकरमा म्युजिक पनि चर्को हुदै गयो। पहिलेकै छिमेकीले परिवार नै बोकेर हाम्रोमा आयो। ठिकै छ भनेर हामिले पनि पोलेका कुकुराका खुट्टा खान दियौ। निकै प्रशंसा गर्दै खाए। बाङ्गा खुट्टा गराउदै नाँचे। वरिपरि अध्यारो थियो। हामि नेपालीहरु जन्मजात दयालु। घरमा आएको पाउनलाई बिमुख नबनाउने।
त्यसैबेला टर्च लाइट बालेर दुईजना अग्ला अग्ला पुलिसहरु आएँ। पुलिसहरुले म्युजिक बजाउन नमिल्ने थाहा हुदा हुदै किन बजाएको भनेर प्रश्न सोध्दै थियो हाम्रा साथीहरु झन् साउण्ड ठुलो गराएर नाँचिरहेका थिए। केहीबेरमै म्युजिक बन्द गर्यौ। उनीहरुले पहिलोपल्ट भएकोले वार्निंग मात्र गरेर त्यहाँबाट हिडे। हामीहरु पनि सुत्ने बेला हुदै थियो सरसफाई गरेर आ आफ्नो बासस्थानतर्फ लाग्यौ। खानेकुराहरु गुणराज, दिपक र संजयको क्याम्प साइटमा राख्यौ। खैरेहरू पनि लागे आफ्नो झुपडीतर्फ लागे। पछि म बाथरुमबाट फर्किदै गर्दा मैले उनीहरु कुरा गर्दै गरेको सुने। एउटाले भन्दै थियो " आइ नो द्याट , इट् गोना ह्यपेन। द लास्ट म्युजिक वाज लाउड। दे सुड ह्याब टिकेटेड। "
खैरेहरू पाखण्डी हुन्छन भन्ने थाहा नभएको त हैन। त्यो सुनेपछि हिजो देखि खुलाएकोमा पछुतो लाग्यो। गुन गर्ने जात होइन भन्ने थाहा हुदा हुदै पनि हामि सोझा नेपालीहरु कहिलेकाँही चाहिने भन्दा बढी फ्रेन्डली हुन्छौ। खाएको स्वाद मुखमा बाँकी हुन्जेल पनि राम्रो चिताउन नसक्नेहरु नक्कली मुस्कान देखाउदै निकै असल भएको भ्रम छर्छन।
राति करिब चार बजेतिर म पिसाब फेर्न जंगल पसे। बाथरुम अलि टाढा भएकोले जाने जाँगर चलेन। सबैतिर सुनसान थियो। छिमेकीका घरतिर 'घुर्र फुत्त ' चलिरहेको थियो। आएर झुपडीमा पल्टे। एकछिन निन्द्रा परेन। अर्को क्याम्पमा साथीहरुको गाइगुइ सुने। के गर्ने कसो गर्ने भनेर अत्तालिएको झैँ लाग्यो। कता कता फोन गर्न नेटवर्क छैन भने झैँ पनि सुने। गाडीको बर्गलर आलार्म बज्यो तिन पल्ट सम्म। कुनै इमर्जेन्सी पर्यो कि भनेर म झुपडीबाट बाहिर निस्के। हतारमा लाइट लिन पनि भुलेछु। अध्यारो थियो। उनिहरुको क्याम्प नजिकै गएर सोधे " के भयो ?"
दिपकजीले आत्तिएको स्वरमा भने " सर, फर्किनुस फर्किनुस। "
"किन ? के भयो ?" मैले पुन : सोधे।
कोपिला म्याडमले अलि चर्को स्वरमा भन्नुभयो " सर भालु आएको छ। जानुस। "
म चुपचाप आफ्नो घर फर्के। म केहि नबोली फर्केको भएर होला " साथिहरु हाँसेर पुरै जङ्गल नै थर्काए। कोपिला म्याडमको हाँसोले कतै पुलिस आएर टिकट दिने हो कि भन्ने डर पनि लाग्यो। संजय सरले भन्दै थिए भालुले " पानीपुरी खाएर गयो। " गुणराज सरले सोझो पारामा भने " हैन भालुले बियर खाएर गएको छ त्यतै कतै लर्खराउदै होला। " अनि हाँसोको लहर चल्थ्यो। म चुपचाप सुते।
मनमनै सोंचे भालुको कतै वार्निक छैन। कसरि आयो ? अल्बर्टामा क्यम्पिङ्गको बेला भालुले तर्साएको याद आयो। बिहान सबैजना उठिसकेपछी भालु आएको भनिएको ठाउमा अबलोकन गर्यौ। साच्चिकै पानीपुरीको पोको छिया छिया पारेको रहेछ। अन्य खानेकुरा पनि चिथोरेको थियो। धन्न गुणराज सरको बियर केहि गरेनछ।
बिहानभरि त्यसैको गफले चियागफ ततायो। धेरै दिन यसरि बस्न कहाँ पाइन्थ्यो र। आज फर्कने दिन भनेपछि नमज्जा सबैलाई लागेको थियो। कोहिपनि साथीहरु अघाएका थिएनन्। मन नलागी नलागी लाग्यौ घर भत्काउन।
सामानहरु लोड गरेर खाना पिनामा लाग्यौ। सबैजना कतै पार्कमा बसेर बेलुका मात्र घर फर्कने योजना बन्यो। गाडीहरु लाइन लागेर निस्केको भिडियो खिच्न तल झरेकी कबितालाई सबैले छोडेर हिडेछन। पछि आफ्नै मान्छे फर्केर पिकअप गरेछन।
बाटामा फर्किदै कोलोनिअल डान्फोर्थ पार्कमा बस्ने र अन्तिम रमाइलो गर्ने कुरा भयो। सोहि बमोजिम सबैजना त्यहाँ जम्मा भयौ। लेक सिम्को छेउबाट उठेर लेक ओंन्टारियो छेउ आइपुगेका थियौ। चटपटे खाने कुरा थियो। चटपटे संग छटपटे नाँच जम्क्यो एकैछिन।
त्यसपछि लोअर हाइल्यान्ड क्रिक हुदै सबैजना लेक ओंन्टारियो सम्म हिडियो। बाटोमा जन्ती हिडे झैँ हिड्नुको मज्जा बेग्लै थियो। कोहि टिकटक बनाउदै हिँडे। कोहि फोटो खिच्दै। कोहि गफ गर्दै त कोहि आफ्ना बुढाको हात समाउदै। झमक्क साँझ परेपछि बल्ल फर्कियौ आफ्नो आफ्नो घरमा।
नेपालमा क्यम्पिङ्ग साइटहरु भएको मलाइ थाहा छैन। यदि प्रान्तीय तथा स्थानीय सरकारले यस्ता खाले क्याम्पसाइटहरु निर्माण गर्ने हो भने शहरबजारमा बस्नेहरुलाई केहि दिन जंगलमा बस्ने, रमाइलो गर्ने अवसर पनि जुट्थ्यो होला साथै राम्रो आम्दानी पनि हुन्थ्यो भन्ने लाग्यो। तानसेनको श्रीनगरजस्ता ठाउँहरु नेपालमा थुप्रै होलान्। त्यस्ता ठाउहरुमा राम्रो सुरक्षा मात्र दिन सक्यो भने थोरै लगानीमा राज्यले मनग्य आम्दानी गर्न सक्छ।
समाप्त
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home