Thursday, April 2, 2020

कोरोनाले सम्झाईदिएको परिबार।

आज देखि म काममा नजाने निर्णय गरे। यो निर्णय गर्नु भन्दा पहिले धेरै कुराहरु सोचे। रातभर सोचे। दिनभर सोचे। काम गरेर महिनाबारी खर्च चलाउने ठाउमा थियौ हामि। घरभाडा, रासनपानि, गाडीको इन्सुरेन्स, गाडीमा तेल सबै कुरा त्यहि जागिरले धानेको थियो। त्यो भन्दा पनि ठुलो कुरा जागिर पाउनलाई ठुलै युद्ध जित्नु पर्दथ्यो। घरपायक मिलेको जागिर थियो। त्यो पनि घरदेखि पाँच मिनेटको ड्राइभमा। काम छोडेको अर्को महिना देखि माषिक $२२०० को दरले ऋण त थपिदै जाने हो। अर्को कुरा सरकारले दिने राहतको कुनै ग्यारेन्टी पनि त छैन। इम्प्लोयमेन्ट इन्सुरेन्स लिनको लागि कम्पनीले ले अफ दिनुपर्ने हुन्छ।  कम्पनि भन्छ " यो अत्याबस्यक बिजनेस हो बन्द गर्न मिल्दैन।" उसलाई बिजनेसको मात्र मतलब छ।  कामदारहरुको स्वास्थ्य शुरक्षामा ध्यान रत्तिपनि दिएको छैन। म्यानेजर एकदम बकम्फुसे छ। काम गर्ने स्टाफ शहरका विभिन्न स्थानहरुबाट आउछन। धेरैजसो सार्बजनीक यातायातको साधन प्रयोग गर्दछन। लन्च रुम शेयर हुन्छ।ड्रेसिङ्ग रुम सेयर हुन्छ। कसले भाइरस बोकेर आउने हो थाहा हुदैन। त्यसैले मैले कडा निर्णय गरे, ज्यान बाँचे काम खोजौला। सरकारले बारम्बार भनिराखेको छ,"घर बस्नुस, घर बस्नुस, घर बस्नुस।"
संसारभरी महामारी फैलिएको छ।  चाइना बाट फैलिएको महामारीले युरोपलाई नराम्रोसंग सुताएको छ। इटाली, स्पेन, जर्मन, फ्रान्स, इन्लैंड कोरोना भाइरसको एपिसेंटर बनेका छन्। केहिहप्ता देखि अमेरिकाका मुख्य शहरहरुमा संक्रमितहरुको शंख्या अरुदेश्हरुको भन्दा माथि चढीसक्यो। दैनिक हजारौ संक्रमितहरु अस्पतालमा भर्ना हुनथालेका छन् भने दैनिक ५०० भन्दा बढीको मृतु भैरहेको छ। हालै अमेरिकन मेडियाहरुका अनुसार यो रोगले संक्रमण गर्नेहरुमा बुढाबुढी, दिर्घ रोगि मात्र नभएर बयस्क व्यक्तिहरुको संख्या पनि उति नै छ। प्रत्यक सेकेण्ड सेकेण्डमा अपडेट हुने खबरहरुले मनमा तुफान ल्याएको छ। ओन्टारियोमा पनि संक्रमितहरुको संग दिनदिनै जसो डबल हुदै गैरहेको छ। कोभिद-१९ को कारणले मोर्नेहरुको संख्या पनि ८५ नाघिसक्यो। मनमा डर र त्रास छ। परदेशमा आफ्नो परिबार भन्दा ठुलो केहि हुदैन र आफ्नो पनि कोहि हुदैन।  यदि कसैलाई केहि भैहाल्यो भने त्यो भन्दा ठुलो बिपत केहि हुदैन।  न कोहि भेट्न आउछ।  न कोहि सहयोग गर्न। सोच्दा पनि मन सिरिङ्ग हुन्छ। तर पनि हरेक कुरा सोचेर गर्नु पर्ने हुन्छ। जागिर आफ्नो ठाउमा ठुलो होला तर ज्यान भन्दा ठुलो त पक्कै पनि हैन। भोलि के हुन्छ कसैलाई केहिपनि थाहा छैन। यो महामारीबाट बाँचियो भने, जसरि पनि ज्यान पाल्न सकिएला। देशको आर्थिक अवस्थानै डामाडोल भयो, जागिर पाइएन भने पनि बाआमाको सम्पति बिष पच्चीस मुरी धान फल्ने खेत छदै छ नेपालमा। एक कठठा भएपनि तराइमा घडेरी छ। यिनै कुराहरु खेले मनभित्र। 
धेरै साथीहरु जोखिम मोलेर काममा गैराखेका छन्। सबैको आआफ्नै बाध्यताहरू छन्। स्वास्थ्य सेवामा काम गर्नेहरुको अवस्था झन् दर्दनाक पो छ अहिले। उनीहरु युद्धमा लडिरहेका शिपाईहरु भन्दा कम छैनन्। युद्धमा लड्ने सिपाइहरुले आफ्ना सत्रुहरुलाई तारो ताकि ताकि हान्न पाउछन। तर यी बिचरा स्वास्थ्यकर्मिहरुले अदृश्य शत्रुसंग अन्धधुन्द भिडिरहेका हुन्छन। आफ्नो ज्यानको भन्दा परिवारको ठुलो माया छ यिनीहरुलाई। कामबाट फर्केपछि न छोराछोरी संग बस्न सक्छन, न आफ्नो लोग्नी वा स्वास्नीसंग अँगालो मार्न सक्छन। खोकी लाग्दा पनि भय उब्जिन्छ मनमा। इटाली, स्पेन र इग्लैंडमा सयौको शंख्यामा मा हेल्थकेयरमा काम गर्ने डाक्टर र नर्सहरुको मृतु भैराहेको छ। त्यो खबर पढ्दा वा हेर्दा के बित्दो हो उनीहरुको मनमा। के सोच्दाहुन उनीहरुको परिवारले। यो भन्दा अगाडिको महामारीमा पनि हजारौको संख्यामा डाक्टर र नर्सहरुको मृतु भएको रिकर्ड इतिहासको पानामा ताजै छ।  हो त्यो बेलादेखि आजसम्म आउदा बिज्ञान र प्रबिधिले ठुलै फड्को मारिसकेको छ। तरपनि मानबिय स्वास्थ्यलाई प्राविधिकको बिकाशले खासै ठुलो टेवा दिएको महशुस गराएन यतिबेला। क्यानाडा र अमेरिका जस्ता ठुला र प्रविधिको हिसाबले सम्पन्न मानिएका देशहरु माहामारीको शुरुवातमै PPE को अभाब भएको कुरा खुलेरै मिडियाहरुमा आयो। अमेरिकाको न्युयोर्कमा नर्सहरुले गार्बेज ब्याग नै ओडेर बिरामीहरुको सेवा गरेको पाइयो। टोरोन्टोको प्रिमियर आफ्नै ट्रकमा डोनेसन गरेका मास्क हस्पिटलहरुमा पुर्याए। स्वथ्यकर्मिहरुले खुलेरै जनताहरुलाई आफुसंग भएको मास्क स्वास्थ्यकर्मीहरुले  डोनेसन गर्नको लागि अनुरोध गरे।
जे जस्तो परिस्थिमा पनि सबभन्दा ठुलो पिर आफ्नै हुदो रहेछ।  आफ्नै सन्तानको हुदो रहेछ। हामीलाई हाम्रै छोराछोरीको पिर धेरै छ। हाम्रो बुवा आमालाई हाम्रो पिर सबभन्दा बढी छ। आमालाई फोन गर्यो बोल्न नपाउदै भक्कानिनुन्छ। धरधरी रुनुहुन्छ।
"आमा सन्चै हुनुहुन्छ?" मन कसिलो बनाउदै सोध्छु।
हत्केलाको पछाडिको भागले आशु पुछदै भन्नुहुन्छ," सन्चै छ। तिमीलाई कस्तो छ ? बुहारी, नातिनातिनाहरूलाई कस्तो छ? " सुक्क सुक्क गर्दै बोल्नुहुन्छ। राम्रोसंग क्यामेरामा पनि हेर्न सक्नु भएको थिएन।
"यहाँ ठिकै छ आमा।  काम छोडेर घरमै बसेका छौ। आतिनु पर्दैन आमा।  बाहिरतिर गयो भने मात्र डर छ,' मैले अलिकति ढुक्क भएर भने।
"बाबु बिदेशमा नानाथरिको रोग आएको छ भन्छन।  तिमीहरु नगएको भएपनि हुन्थ्यो। गैहाल्यौ।  जापानतिर पनि त्यो रोग गएको छ रे। राम्रो संग बचे है बाबु। यो ज्यान छ र सबथोक छ। खान बस्न यहि पनि पुग्थ्यो।  हाम्फ़ालिहाल्यौ। "
आमाको आखाँमा आशु थामिएको थिएन। सालको टुप्पोले आशु पुछ्दै हुनुहुन्थ्यो।
"हाम्रो पिर चिन्ता लिनु पर्दैन आमा। हजुरको ख्याल राख्नुहोला। बाहिर बाटोतिर नानिस्कनुहोला। गाउघरतिर त्यति डराउनु त पर्दैन ", मैले सान्त्वना दिदै भने।
" खै के हो बाबु दम बढेको छ यै बेला। साठी बर्ष काटेका बुढाबुढीलाई त राख्दैन रे। सबैले त्यसै भन्छन। "
" त्यो सत्य होइन आमा। हल्लाको कुरामा डराउन हुदैन। रोगले बुढाबुढी, केटाकेटी, तन्देरी  केहि भन्दैन। सबै उमेरका मान्छेहरुमा लागेको छ यो रोग। धेरैको निको पनि भएको छ।  तर आफु अलि सतर्क हुनुपर्छ," मैले पुन सान्त्वना थप्दै भने।
धेरै बेरसम्म आमाछोराको भलाकुसारी भयो। मनले चाहन्थ्यो यै बेला घर जाउ।  आमासंग बसेर रातभरी दुख सुखका कुरा गरौ।दाजुभाई संगै बसेर बिगतका दिनहरु उत्खनन गरौ।  दुइचार हात कल्ब्रेक खेलौ। केवल कल्पना मात्र सिमित हुदै थिए यिनी दिनहरु। जेठो दाजु, माइलो दाजु र बहिनि बुटवलमा काइलो म क्यानाडामा। राइलो भुवाचिदी। ठाइलो जापान। कान्छो सानो हाकिम कहिले काठमान्डू, कहिले बटौली।बुढो घरमा साइलो दाजु हुनुहुन्छ। त्यो पनि दिनभरजसो पशलमा हुनुहुन्छ।  सबैजना आआफ्नै काम धन्दामा ब्यस्त छन्। सबैलाई आफ्नो भारीले थिचेकै छ।
धेरैबेर आमासंग बोलेपछि साइलो दाईसंग कुरा भयो। दाईको बोलीमा पनि तनाब सुनिन्थ्यो। "घरको तला थपेको पैसोले केहि गरे पुग्दैन। ऋण छ जताततै। ब्यापार फिटिक्कै  छैन। टेन्सनमात्र छ", भन्दै लामो सुस्केरा तान्नु भयो। लाग्यो दाजुलाई कोरोनाको भन्दा ऋणको चिन्ता छ। मन खोलेर "दाइँ चिन्ता नलिनुस। म दुइ चार लाख छिट्टै पठाईदिन्छु" भन्ने मन त थियो।  तर महिनाभरि घण्टा गनेर मुस्किलले दुइ हजार हातमा पर्छ। एकहजार तीनसय भाडा तिर्नु पर्छ। पाँच सय जति गाडीको इन्सुरेन्स र तेलमा जान्छ। ग्रोसरी कम्तिमा पनि पाँचसय जति लाग्छ। छोराछोरी सानै भएकोले श्रीमतीले उनीहरुलाई हेरविचार गर्ने। स्कुल पुर्याउने र ल्याउन ठिक्कै हुन्छ। सरकारले दिएको अलिकति पैसो ग्रोसरी र नानिबाबुको लत्ताकपडा गर्दै सकिन्छ। एक महिना काम भएन भने माम खान मुस्किल छ। यो मेरो यथार्थ यदि मैले सुनाय भने पैसो माग्छन कि भनेर पहिल्यै रुन्छन भन्नुहुन्छ पक्कै पनि। त्यसमाथि कोरोनले गर्दा एउटाको जागिर त्यै पनि चैट भयो।
"यस्तै हो दाई टेन्सन धेरै नलिनु।  मेरो पनि खासै अवस्था राम्रो छैन। पछि राम्रो भयो भने म पनि सहयोग गरौला नि।  धेरै चिन्ता नलिनुस", लामो सास तान्दै मैले भने। रमाइला कुराहरु हुदैनन् आजभोलि। संगै बडीगाड खोलामा हत्केला खेल्न जाँदा राँके भूतले तर्साएका कुरा, लसुनको झोल नउमाली तताएर मात्र आटोसंग खाएर स्कुल गएको कुरा, डोकामा संगै मुला र साग बोकेर खर्बांङ्ग  बजारमा बेच्न हिडेका कुरा हुदैनन् आजकाल।
अस्ति ठुल्दाइको फोन आयो। "दाइँ ढोग गरे।  आरमै हुनुहुन्छ ?"
"ठिकै छ त भनमकेरे। ठिक त के ठिक हुनु।  टेन्सन छ। कहिले के को, कहिले के को ? तेरो के छ भन?"
"मेरो पनि ठिकै छ दाइँ। अलि काममा बिजी बिजी भएर फोन गर्न पनि पाईन अस्ति अस्ति। यस्तै छ।"
"त त बरु ठाउमा छस्। दाम राम्रै छाप्चस। मैले त जागिर सागिर छोडेर आए। खै कसरि चल्ने हो ? धन्न अहिले अलिकति स्ट्रेस कम भएको छ नेपालमा आएर", सुस्त कास्दै भन्नु भयो।
"के हो दाई खोकी लाएको छ त, कोर्नोले भेट्ला है ", मैले जिस्किदै भने।  दाईले हाँस्दै भन्नुभयो," यहाँ त अलि सारो खोक्न पनि हुन्न अहिले त। बाहिर निस्केका मान्छेहरु पनि भित्र छिर्छन। हिजो बाटोमा हाकछिउ आयो। म तिर आउदै गरेका दुइटि आइमाई फरक्क फर्केर दगुर्दै घरभित्र छिरे। "
धेरैबेर सम्म हाँसो उठ्यो। 'हस् दाजु अहिले सुत्ने बेला भैसक्यो राखे है' भन्दै मैले फोन काटे। ठुल्दाईले बम्बईबाट पार्सल पठाएको चकलेट कति मिठो हुन्थ्यो। आफुले लगाएको भएपनि सर्ट र पाइन्ट भएपनि पठाइदिनुहुन्थ्यो दशैमा। कम्ति राम्रा हुन्थेनन। दशैँ तिहारमा लगाएर हिरो बनेर हिडिन्थ्यो। ठुलै भएपनि कम्मरमा भोल्टे पेटी कसेर बानिन्थ्यो। दाईले पठाउने चिठीहरु पनि कम्ता रसिला हुन्थेनन पढ्न शुरु नगर्दै आमाका आँखा रसाउने। आँहा कति रमाइला थिए ति दिनहरु।
 अहिले हामीलाई त्यो बिगतलाई सम्झने फुर्सद पनि छैन। फलानो दिल्ली गयो। फलानो बम्बई गयो। फलानो भर्ति भयो। यति पैसो पठायो रे उति पठायो भनेको सुन्दा सुन्दै ठुल्दाई पनि परदेश लाग्नु भयो। त्यसपछि माल्दाई, त्यसपछि साल्दाई दिल्लीतिर लाग्नु भयो। मेरो पालो आयो। सुनौलीदेखि गोरखपुर जाने बसमा गीत बज्दैथियो," परदेशी परदेशी जाना नही, मुझे छोडके। " अलि अलि भएपनि हिन्दि गीतहरु बुझ्थे।  घरमा अल इंन्डीया रेडियो,  दुर्दर्शन सुनिन्थ्यो त्यतिबेला। गीत सुन्दै मन भक्कानियो। गोरखपुरबाट बोम्बाई जाने रेलमा चडीयो। खोरमा बाख्रा हुलेझै मान्छे हुल्यो। न समाउने ठाँउ, न राम्रो संग टेक्ने ठाउ। हग्न, मुत्न पनि बादर झैँ सिलिङ्गको डण्डामा समातेर जानु पर्ने। छत्तिस घण्टामा बल्ल पुगियो क्यारे बोम्बाई।
मनमा यिनै कुराहरु सिनेमाको रील घुमेझै घुमिरहेको थियो। त्यसैबेला जिबन भाइको फोन आयो।
"दाई सारै बोर भयो।  यो कोरोनोले कति दिन थुनाउने हो यार। काम पनि छोडे। मेरो त इम्प्लोयमेन्ट इन्सुरेन्स दिन्न होला। टेन्सन भएको छ", उनले मलाई बोल्ने समय पनि नदिई मनको पिर पोखे। जिबन क्यानाडा आएको भर्खर चार पाँच महिनाजति भयो। बल्ल बल्ल एउटा पार्ट टाइम काम पाएका थिए। त्यो पनि कोरोनोले धराप पार्यो। सानो अध्यारो कोठामा उनको तीनजनाको परिबार बसेका छन्। नेपालमा सरकारी बैंकको म्यानेजर थियो जिबन। उनकी श्रीमती नर्स थिइन। सुनिताले बालबालिकाहरुलाई हेर्ने काम गर्दथिन। कोरोनाले गर्दा उनको जागिर पनि गयो। दुवै जना बेरोजगार भएका छन्।  सरकारले दिने राहतपनि मिल्छ कि मिल्दैन ग्यारेन्टी छैन।
"जिबन यता पनि बोर छ। मैले पनि काम छोडेर बसेको छु। के को पिर लिनु यार। खान र बस्न दुइचार महिना सरकारले देला। ज्यान बाँच्यो भने देखाजाएगा। संसारलाई हेरेर चित्त बुझाउनु पर्छ। कमसेकम हामीलाई सरकारले त हेर्छ," मैले सकारात्मक भाइब दिए। के गर्नु आफ्नो मनले मान्दैन। घरि घरि के के सोचीरहन्छ। महँगो बसाई। अनिश्चित भबिष्य। न नेपाल नै फर्केपनि सुनिश्चित भबिष्य, न यहाँ बस्दा नै। विदेशको जिन्दगि यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ भन्दैमा बित्दो रहेछ। मन सधैभरि आफ्नो जन्मस्थलतिरै डुल्दो रहेछ। जबर्जस्ति सम्झाउने कोशिश गर्छु। बिगतबाट फर्काएर बर्तमानमा बाध्न खोज्छु। अहँ मान्दैन एकै ठाउँमा रोकिन। भबिष्यको चिन्ता गर्छ। स्ट्रेस बढ्यो भनेर ध्यान गर्ने कोशिश गरे। पाँच मिनेट पनि घन्टौ जस्तो लाग्ने। भुसले थुनेको कुलो जस्तो उतिखेरै भत्कीहाल्ने। धेरैबेर सम्म अनिश्चित भबिष्यको बारेमा कुरा गरेर छुट्यौ जिबन र म।
दिनभरी नानाथरिको खबरहरु हेर्दा हेर्दै मन बिरक्त भयो। इटालीमा यति मान्छेको मृतु भयो, स्पेनमा यति, अमेरिकामा यति भन्ने बाहेक अरु केहिपनि छैनन खबर। साथिहरु संग कुरा गर्यो सबैका कुरा 'हरेश खेति' बाहेक केहि छैनन्।  कतिपय साथिहरु खतरा मोलेर पनि काममा गैरहेका छन्। किन ? कसरि ? कसैलाई सोध्नु आबस्यक छैन।  सबैका आआफ्नै परिस्थितिहरु हुन्छन। बाध्यता छन्।
"ए बुडो, ग्रोसरी गर्ने हैन ," उताबाट बुढीको आदेश आयो। आदेशको पालना गरेन भने खान पनि नपाइएला भन्ने पिर छ यो बबुरोलाई। " जाने हो जाने, तर कता जाने बुडी? कोर्नोको डर छ जता गएपनि। आजलाई जनतन चलाउ भोलि बिहानै गर्नु पर्ला।  अनलाइन पनि हेर्दै गर", सुस्तरी बोले।
"नानी बाबुको लागि दुध छैन। अरु त भोलि ल्याएपनि हुन्थ्यो। तर दुध त आजै ल्यानुपर्छ। "
ग्रोसरी नगई सुख नमिल्ने भयो।  ए  बाबै कसरि बच्ने हो यो क्रिपि जातबाट। हिडे नजिकैको ग्रोसरी 'नोफ्रिल ' तिर। मास्क लगाएरै चढे आफ्नै गाडीमा पनि। सबैले त्यसै गरेका छन्। पार्किंग लटमा गाडी रोकेर ग्रोसरीको गेटतिर हेरेको' बिस, तीस जना एक एक मिटरको दुरीमा सोपिंग कार्ट समातेर उभिएका रहेछन। लाग्यो भित्र पसेर निस्कदा करिब दुइ घण्टा बित्ने भो। कतिपयले मुखमा रंगी चंगी मास्क लागयेकै थिए भने कतिपयले बालै नदिएको जस्तो लाग्यो। म पनि एक मिटरको दुरीमा ठिङ्ग उभिए उदाश मन बनाएर। ढोकाबाट भित्र छिर्नेबेला सेक्युरिटी भाइले हातमा पन्चामृत जस्ता गरि चिप्लो पदार्थ खसाले। दायाँ हत्केलो बायाँ माथि राख्दै एकछिन सम्म मसाज गरे। भित्र भने मान्छेहरुले खासै एक अर्काको बीच दुरी राखेको जस्तो लागेन। आफुले मात्र दुरी राखेर हुदो रैनछ। अर्को आउछ नजिकै। कतिलाई भन्नु।  कतिलाई सम्झाउनु। हतार हतार गरेर निस्के बाहिर।  बाहिर निस्कदा लाग्यो आगो लागेको घरभित्रबाट निसासिधै निस्केजस्तो लाग्यो। गाडीमा सामान राखेर अघि बसे। हात स्टेरिंगमा नाराख्दै सानिटैजरले सफा गरे। हे प्रभु, कसरि हो जोगिने।  जे देख्दा पनि भाइरस नै छ कि जस्तो लाग्छ। घरमा गएर ग्रोसरीका प्लास्टिकजति बाहिरै निकाल्दिए। सबभन्दा पहिले हात धोए मज्जाले। ग्रोसरी धुन मिल्ने जतिलाई साबुन पानीले धोए।  एकछिन सम्म छोराछोरीको नजिक बस्न पनि डर लाग्यो। तर यो कुरा सम्भब नै थिएन भन्ने कुरा पहिले नै थाहा पाएको थिए।
बेलुका मोबाइलमा तिनै खबरहरु पड्दै थिए माइलो दाईको फोन आयो। "के गरेका छौ? त्यहाँ कतिको छ कोरोनो भन्ने जाति ?"
"बढ्दै छ दाइँ। हामि सबै घरमै छौ।  काम छोडेर घरमै बसेको छु मा पनि", मैले ढोग गरिसकेपछि भने।
"त्यहाँ त बरु राज्यले जिम्मा लिन्छ।  यहाँ त बर्बाद छ। केहि सिस्टम छैन। दुकानमा मान्छेहरु अलि टाडा टाडा बस भन्दा पनि सुन्दैनन्। यतिकै रिसाउछन। के लाग्छ र नबुझे पछि", दाइले यथार्थ कुरा राख्नु भयो।  हुन पनि हो मान्छेहरु आफैले बुझेर एक अर्काको बिचमा दुरी राखेर हिड्ने हो या पालो कुर्ने हो भने कुनै समस्या हुदैन थियो होला। चेतनाको कमि यहाँ पनि छ। त्यो त मैले अघि भर्खर ग्रोसरिमा भोगेरै आएको हो।
" अब दुकान सुकान बन्द गर्नुस दाई। पहिले ज्यान जोगाउनु पर्यो नि। भाउजुको पनि हेल्थपोस्टमा ड्युटी लागेकै होला।  अलि जोगिनु होला है। "
अरुलाई सबैले जोगिनु है त भनिन्छ तर आफै कसरि जोगिने हो थाहा नै हुदैन। 'भाउजुले त डबल डबल मास्क लगाएर जान्छिन' भन्दै हुनुहुन्थ्यो दाईले। धन्न राख्नु भएको रहेछ मास्कहरु। यहाँ फ्रन्ट लाइनमा काम गर्ने हेल्थ केयर वर्करहरुले सम्म पाएका छैनन। 'ए टेन्सन छ यता त बाबु", भन्दै फोन काट्नुभयो दाईले। आज दाइले घाँस काट्ने मेलोको बारेमा कुरा गर्न बिर्सनु भयो। "केटा लाइफ भनेको च्यालेन्ज हो ' भन्न पनि बिर्सनु भयो। दाइले काट्ने सोत्तरको भारीको याद आयो। बिहान बिहान बिरालो जत्रो मुसो ओदाने मुसरिमा बोकेर  सितले निथ्रुक्क हुदै पुछारको पाटोबाट निस्केको सम्झना भयो। दाइले लेख्ने दैनिकी अझै कतै छ कि जस्तो पनि लाग्यो। हे बरै कति छिटै यी सबै क्षणहरु इतिहाँसको गर्भमा पुरिन लागेछन। तारेपराबाट फलामे ढुंङ्गा बोकेर दुई कोठाको चर्पी बनाएको दुख पनि बिर्सिसकीयछ। पन्चे बाजामा नाच्दै हरिचौर भाउजु लिन गएको दिन सम्झदा अझै नाचौ नाचौ लाग्छ। भगिरथ सरले उल्टो जाकेट लगाएर उठबस गर्दै नाचेको भर्खर जस्तै लाग्छ। अर्को दिन जन्ती फर्कदा  गल्यांङ्ग यदुमणि दाइकोमा चिउरा बाडेको रमाइलो दृश्य, दाइ भाउजु संगै नाचेको देख्दा त लाग्थ्यो भाउजु त खत्रा पाइयो। आज हेर्दा हेर्दै छोराछोरी पनि कति छिटै ठुला ठुला भैसकेछन। संग संगै मेलापात गर्थे भाउजु संग। माइतजादा छोड्न जाने र लिन जाने गर्थे। अति आत्मियता थियो। तर आज यति टाडा टाडा भैयो। फोन गर्ने फुर्सद पनि छैन।
सोच्दा सोच्दा रात त भुसुक्कै गएछ। निधाउनु पर्यो भनेर सिरकले मुख ढाके घुप्लुक्क। धेरैबेर पछि मात्र निन्द्रा पसेछ।  बिहान उठ्दा टाउको भारि भएको थियो। उठेर एकैछिन ध्यान बसे। अनुलोम विलोम र भ्रामरी योग गरे। नुहाइधुहाइ गरेर एउटा किताब लियर बसे। नपढे पनि खालि हुदा किताब समात्ने बानी परेको छ। किताबमा भन्दा धेरै फोनमा जान्छ ध्यान। एकछिन सोग्योल रिन्पोछेको THE TIBETAN BOOK OF LIVING AND DYING किताब पढेर ब्रेकफास्ट गर्दै थिए जापानबाट खेम भाइको फोन आयो।
"सन्चै हुनुहुन्छ दाई ? घरतिर कुरा गर्नु भयो कि छैन ?"
'ठिकै छ बाबु। के छ जापानतिर को खबर ? कोरोनाको जोखिम कत्तिको छ ?", मैले नेप्किन्ले मुख पुछदै सोधे।
'ए यहाँ त्यस्तो खतरा त छैन। भएपनि काम गर्न त जानै परो,' साइकलमा घन्टी बजाउदै भन्यो।
जापानको ब्यस्त जिबनमा साइकल चलाउदै भएपनि फोन गर्छ खेम भाइले। साइकल चलाउदा हावाको झोकासंगा बोलेका शब्दहरु पनि छरिन्छन् बेला बेला।  तर जम्मा गरेर बुझ्ने कोशिस गर्छु। बुहारी शुधा पनि साइकल चलाउदै फोन गर्छिन। कलेजबाट निस्कन नपाउदै भाइले टिपेर जापान पुर्यायो। शुरु शुरुमा त आत्तिएकी पनि थिइन्।  तर पछि पछि पैसो झ्याप्प झ्याप्प छाप्न थालेपछि भने रमाएकै जस्तो लाग्यो। बेला बेला दाई के गर्नुभएको छ भन्दै सोध्छिन।  आफ्नै बैनी जस्तै लाग्छ।
"दाई कस्तो डर लाछ काममा जान पनि। एउटा काम त छोडिसके। अर्को पनि ट्रेन चढेर जान पर्छ। भिडभाड हुन्छ। छोड्छु होला दाई" भन्दै थिइन् हिजो हो क्यारे।
कल्पना बैनीको पनि मेसेज आएको रैछ, 'दाई आरामै हुनुहुन्छ ? भाइ बैनीलाई के कस्तो छ ? भाउजुको खबर के छ ?" भनेर। ऊ पनि धेरैजसो ब्यस्त हुन्छे।  भान्जा भान्जी पनि ठुलै भैसके। भान्जी त टिकटक सुपरस्टार नै छन्। सारै राम्रो हुन्छ उनको एक्टिंग। धेरै भयो बहिनी संग पनि कुरा भएको छैन।  ज्वाई संग पनि कुरो भएको छैन।  सायद ज्वाई बिजी भएर हो कि तालमेल नमिलेको।  जे होस् ज्वाई जेठानको माया र संबन्ध भने एक कदम अगाडी नै छ।
दिउसो खाना खाएर बाहिरतिर निस्के। मनमा बेचैनी थियो। पार्कतिर गएर एकछिन भएपनि मन बराल्न पर्यो भनेर 'थमसन ' पार्कतिर हानिएको गेट नै बन्द गरेको रहेछ यहि कोरोनाको कारणले। त्यहाबाट फर्केर सेमिनोल देखि अलि माथि चर्चको लटमा गाडी पार्क गरे। गाडीको सनरुफ खोलेर एकछिन किताब पढेर बसे। एकैछिनमा बुडिको फोन आयो ,"कता हो र हजुर?' भन्दै।
करिब आधा घण्टा जति बसेर फर्के घरतिर। आजकल न साथीसंग भेट हुन जान हुन्छ न घरमै बोलाउन। सारै अप्ठेरो छ। दिउसो बाबु दिव्यशसंग घरको पछाडी एकैछिन फुटबल हाने। साँझतिर जिबनले फोन गरे ,'दाई लास्टै बोर भयो।  गाडी लेर आउनुस अलि माथि सम्म पुगेर आउला।' हुदैन भन्न पनि गाह्रो।  फेरी संगै हिड्ने जस्तो अवस्था पनि छैन अहिले। हुन्छ निस्कदै गर म आइहाले भनेर मास्क लगाएर गए। जीवनलाई गाडीमा राखेर ब्लफर पार्क तिर ड्राइभ गरेर गइयो। तर पार्किङ्ग बन्ध गरेको रैछ। यतिकै फर्केउ। जीवनलाई घरमै छोडेर करिब पन्ध्र मिनेटमै घर फर्के म। खै के को हो केको मनमा डर लागिरहने। साथि भनेर पनि भएन।
बेलुका कान्छोलाई फोन गर्न पर्यो भनेको बिजी देखायो। सानो हाकिम बिजी नै होला भन्ठाने दुबरा फोन गरिन।  निलम संग हिजो मात्र कुरा भएको थियो।  ऊ पनि भुवाचिदी रैछ। 'क्यारम तो दाई, लकदाउनमा परियो', भन्दै हासेको थियो। रसिलो कमेडियन टाइपको छ राइलो भाई। बेला बेला मिठा मिठा गजल लेख्छ। शब्द बिगारेर बोल्ने शैलीले गर्दा परिबारमा छुट्टै खाले पहिचान छ उसको। सानामा करेलाको तरकारीमा बियाँ भेटियो भने खान नखाएर आमालाई कम्ता दुख दिन्थेन। भातमा ढुङ्गो भेटिन पनि नहुनी। सानै बाट सृजनशील छ।  गीत संगीतमा बिशेष रुचि थियो सानै बाट। हार्मोनियम, मुरली, बासुरी बजाउन सिकेको थियो सानैबाट। पत्रमित्रतामा पी एच डी नै गर्थ्यो होला यो फोन भन्ने जन्तु नआएको भए। अहिले अंग्रेजीको मास्टर छ केटो। बुहारी रिता पनि अंग्रेजीकै टिचर हुन्। सारै मिलेको छ जोडी। केटि माग्न जाने त मै हु। राम्रो नहुने कुरै भएन।
आज पनि ढिलो भैसकेछ सुत्नलाई। घर परिबारलाई सम्झदा सम्झदै म आफु क्यानाडामा छु भन्ने पुरै बिर्सेछु। फ्रिज सुसाएको रैछ, बढिगाढ सुस्याएझैँ लाग्यो। सिरकले घुप्लुक्क मुख ढाकेर सुते। फेरी मन त उतै पुगेछ रातभर सपनीमा।

















0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home